Wikipedia

Search results

Friday, April 10, 2026

Nepal: Economic Development Bases and Opportunity-Article 624

 आर्थिक विकासको अवसर तथा आधार

कुनै पनि देशको आर्थिक विकासका लागि भ्रष्टाचार नियन्त्रण पूर्व शर्त हो। भ्रष्टाचार नियन्त्रण नभएसम्म कुनै पनि देशले आर्थिक विकास गर्न सक्दैन। व्यवहारले त्यस्तै देखाएको छ। भ्रष्टाचार नियन्त्रण गर्न नसकेको हुनाले नै साधन र स्रोतले भरिपूर्ण भए तापनि अफ्रिकी देशहरूले आर्थिक विकास गर्न सकेका छैनन्। सुन, हीरा, पेट्रोलियम पदार्थ लगायत अनेक बहुमूल्य खनिजका स्रोतहरू अफ्रिकी देशहरूमा छन्। घाना, दक्षिण अफ्रिका, माली, सुडान, ग्युनी, तान्जानिया, जिम्बाब्वे, कोट डे’ आइभरी, कंगो आदि देशहरूमा सुनका धेरै खानीहरू छन्। ती देशहरूमा राम्रो मात्रामा सुन उत्पादन हुन्छ पनि। बोत्सवाना, अंगोला, दक्षिण अफ्रिका, जिम्बाब्वे, लेसोथो, सिएरा लियोन, कंगो, तान्जानिया, लाइबेरिया आदि देशहरूमा ठूलो परिमाणमा हीरा पाइन्छ। यसैगरी लिबिया, नाइजेरिया, अल्जेरिया, अंगोला, सुडान, दक्षिण सुडान, इजिप्ट, कंगो, युगान्डा, गाबोन आदि देशहरूमा ठूलो मात्रामा तेल (पेट्रोलियम पदार्थ) भण्डार (रिजर्भ) हरू छन्।

साधन र स्रोतहरूले भरिपूर्ण भए तापनि कुशासन र गरीबीले उत्पन्न गरेका अनेकौं द्वन्द्वहरूले गर्दा सुरक्षित जीवन बाँच्न अफ्रिकी देशका लाखौं नागरिकहरू आफ्नो देश त्यागेर परदेशमा शरणार्थी भएर बस्न बाध्य भएका छन्। देशभित्र हुने राजनीतिक (पदीय) र आर्थिक भ्रष्टाचारले अफ्रिकी देशका नागरिकहरूलाई शान्तिसँग बस्न दिएको छैन। आर्थिक समृद्धि त उनीहरूको लागि परको कुरा हुन पुगेको छ।

अर्कोतिर देशभित्र भ्रष्टाचार नियन्त्रण गर्न सफल भएको हुनाले युरोपका देशहरू तुलनात्मक रूपमा धनी छन्। युरोपका देशहरूले राजनीतिक र आर्थिक दुवै किसिमका भ्रष्टाचारहरूलाई निर्मूल पार्न नसके तापनि ठूलो मात्रामा नियन्त्रण भने गर्न सकेका छन्। भ्रष्टाचार नियन्त्रण गर्न सकेका हुनाले युरोपेली देशका नागरिकहरूले आर्थिक समृद्धि उपभोग गर्न पाएका छन्। युरोपेली राष्ट्रका नागरिकहरू गरीबी र द्वन्द्वले गर्दा एशिया वा अफ्रिकाका राष्ट्रहरूमा शरणार्थी बनेर बस्नुपरेको छैन।

अब आफ्नै देशको कुरा गरौं। नेपालको कुरा गरौं। हाम्रो देश आर्थिक भ्रष्टाचारको दलदलमा भासिएको धेरै भयो। २०४७ सालमा भएको राजनीतिक परिवर्तनले नेता र तिनका परिवारलाई भ्रष्टाचार गर्न एक किसिमको लाइसेन्स नै दियो। दल र केही नेताहरूले सत्ता साझेदारीद्वारा राजनीतिक र आर्थिक भ्रष्टाचार चरम चुलीमा पुर्याए। केही नेताहरूले दस पुस्तालाई पुग्ने गरी कमाए पनि । राजनीतिक र आर्थिक भ्रष्टाचारले ‘बिचौलिया’ भन्ने गिरोहको सृजना गर्यो। बिचौलियाहरू सत्ता परिवर्तन गर्ने हैसियतका बन्न पुगे।

आर्थिक र राजनीतिक भ्रष्टाचारले गर्दा हाम्रो देश गरीबीको कुचक्रबाट बाहिर आउन सकिरहेको छैन। तर अब भने देशभित्र आर्थिक र राजनीतिक दुवै भ्रष्टाचार निर्मूल त होइन, ठूलो मात्रामा नियन्त्रण पनि होइन, तर आर्थिक विकासको लागि बाधक नबन्ने किसिमबाट नियन्त्रण हुने सम्भावना देखिएको छ। अब भ्रष्टाचार पहिलेजस्तो सजिलै हुन नसक्ने स्थिति सृजना भएको छ। अहिलेको लागि यत्ति पनि ठूलो कुरा हो।

यो नयाँ परिस्थितिमा रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को उदय एक वैकल्पिक राजनीतिक शक्तिको रूपमा भएसँगै तथा बालेन्द्र शाहले सरकारको नेतृत्व गरेको स्थितिले मुलुकमा भ्रष्टाचार पहिलेभन्दा निकै नियन्त्रण हुने सम्भावना बढेर गएको छ। साथै नेपालमा आर्थिक विकास हुने सम्भावना पनि बढेर गएको छ। अब, नेपालमा आर्थिक विकासको गतिले केही मात्रामा भए पनि तीव्रता लिने आशा पलाएको छ। आउनुहोस्, यस आलेखमा, यो नयाँ परिस्थितिमा नेपालमा आर्थिक विकासका अवसर र आधारहरूबारे चर्चा गरौं।

यो चुनाव (२०८२ साल) ले युवाहरूलाई ठूलो सङ्ख्यामा राजनीतिमा प्रवेश गर्ने मौका दिएको छ। राजनीतिमा युवाहरूको ठूलो सङ्ख्यामा उपस्थिति त छ नै, त्यो उपस्थिति जनमतद्वारा ठूलो मतले अनुमोदित पनि छ। चुनावमा आफ्नो मत दिएर जनताले ठूलो सङ्ख्यामा युवाहरूलाई महत्त्वपूर्ण निर्णय गर्ने तहमा पुर्‍याएको छ। देशको आर्थिक विकासमा सक्रिय हुने मौका प्रदान गरेको छ। यो सुखद र साथै विरलै आउने स्थितिलाई आर्थिक विकासको ठूलो अवसरको रूपमा लिन सकिन्छ। रास्वपाका सांसदहरू ठूलो सङ्ख्यामा युवा नै छन्। ती युवाहरू शिक्षित छन्। अध्ययनशील छन्। तुलनात्मक रूपमा बढी इमानदार पनि छन्।

खासगरी, रास्वपाका नेता (सांसद) हरूले भ्रष्टाचार गर्न खोजे पनि उनीहरूले त्यस्तो गर्न पाउने अवसर पनि छैन र छुट पनि छैन। रास्वपाका नेताहरूले ‘हामी भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिन्नौं’ भनी बाचा गरेको र त्यही बाचाले उनीहरूलाई चुनावमा विजयी गराएको पनि हो। यसरी उनीहरू आफ्नै वाचाद्वारा बाँधिएकाले अब मुलुकमा भ्रष्टाचार कम हुने सम्भावना बढेर गएको छ। यसरी सांसदहरूले भ्रष्टाचार गर्न नपाउने स्थिति, मुलुकको आर्थिक विकासको आधार बन्न सक्छ।

रास्वपाका नेताहरूले यो चुनावमा विजयी हुन ठूलो धनराशि खर्च गर्नुपरेन। तर पहिलेका चुनावमा नेताहरूले विजयी हुन ठूलो रकम लगानी (खर्च) गर्नुपर्थ्यो र पछि विजयी भएपछि त्यो लगानी उठाउनुपर्थ्यो। त्यो लगानी उठाउन अनेक किसिमका भ्रष्टाचार गर्नुपर्थ्यो। कार्यकर्ता तथा मतदाताहरूलाई पैसा बाँड्नुपर्थ्यो। र त्यो बाँडेको पैसा पनि अनेक भ्रष्टाचार गरेर असुलउपर गर्नुपर्थ्यो। रास्वपाका नेताहरूले भने त्यो स्थिति भोग्नुपर्दैन। यो स्थितिले पनि भ्रष्टाचार नियन्त्रण कार्यलाई सघाउ पुग्छ। यो स्थिति पनि आर्थिक विकासको लागि अर्को आधार बन्न सक्छ।

अहिले यो सरकारको नेतृत्व जसले गरिरहेका छन्, उनी स्वयं कुनै भ्रष्टाचारमा मुछिएका छैनन्। अर्थात् प्रधानमन्त्री बालेन्द्र शाहको विगत, काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा बखतदेखि स्वच्छ छ। प्रधानमन्त्री स्वयंले भ्रष्टाचार नगरे त्यसको असर अन्य मन्त्रीहरूमा पनि पर्छ। मन्त्रीहरूलाई पनि भ्रष्टाचारमुक्त रहन नैतिक दबाब पर्छ। अर्थात् प्रधानमन्त्री नै भ्रष्टाचारबाट मुक्त भएमा प्रशासन भ्रष्टाचारमुक्त हुने वातावरण सृजना हुन्छ।

प्रधानमन्त्रीले ठूला–ठूला काम गर्ने घोषणा गर्नुभन्दा पनि आफू भ्रष्टाचारमा लिप्त नहुनु पनि नेपालको आर्थिक विकासको लागि ठूलो र महत्त्वपूर्ण कुरा हो। २०४७ पछि प्रधानमन्त्रीहरू विवादमुक्त हुन सकेनन्। भ्रष्टाचारको सम्बन्धमा प्रधानमन्त्री बालेनको छवि स्वच्छ हुनु पनि नेपालको आर्थिक विकासको लागि अर्को एक आधार हो, अवसर हो।

यो लेखको उद्देश्य रास्वपाको स्तुति गान गर्नु भने होइन। रास्वपासँग देशको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रशस्त अवसरहरू छन्। र ती अवसरहरूलाई यो दलले प्रभावकारी किसिमले उपयोग गर्नुपर्छ भनी विवेचना गर्नु मात्र यो लेखको उद्देश्य रहेको छ।

भ्रष्टाचार हाम्रो समाजमा संस्कृतिको रूपमा स्थापित भएको छ। भ्रष्टाचारले सामाजिक मान्यतासमेत प्राप्त गरेको छ। समाजले सानातिना भ्रष्टाचारलाई अपराध मान्दैन । हामी आफ्ना सन्तानलाई भ्रष्टाचार गर्न हरपल सचेत गराउँदैनौं। उल्टो, उनीहरूले भ्रष्टाचार गरेर ल्याएको रकम ‘गुपचुप’ स्वीकार गर्छौं। कुनै काम आफूले खोजे अनुसार र छिटो हुने स्थिति छ भने कर्मचारीलाई घूस ख्वाउन तत्पर हुन्छौं। यी र यस्ता कारणहरूले गर्दा आज वा भोलि नै भ्रष्टाचार नियन्त्रण गर्न सकिंदैन। तर पनि भविष्यमा समाज र राष्ट्रलाई भ्रष्टाचारमुक्त बनाउन सक्रिय भएर लाग्न सकिन्छ। भोलिका दिनमा मुख्यगरी प्रशासन क्षेत्रलाई भ्रष्टाचारमुक्त पार्न सकिन्छ। देशको प्रशासन भ्रष्टाचारमुक्त हुनु आर्थिक विकासको लागि ठूलो आधार हो।

आशा गरौं यो दल (रास्वपा) र यो सरकारलाई अहिले प्राप्त आर्थिक विकासका अवसरहरूको राम्ररी उपयोग गर्ने इच्छाशक्ति प्राप्त हुनेछ। अन्य दलका नेताहरूजस्तो यो दलका नेताहरूमा सत्ता र शक्ति मोह हुर्कने छैन।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 10, 2026

https://www.eprateekdaily.com/detail/98227 

No comments:

Post a Comment