Wikipedia

Search results

Sunday, March 15, 2015

Geeta Chapter 11

भागवत गीता अध्याय ११
विराट रुप दर्शन

अर्जुन उवाच-
मदनुग्रहाय परमं गुह्यमध्यात्मसंज्ञितम्।
यत्त्वोक्तं वचस्तेन मोहोSयं वगतो मम।।१।।

अर्जुनले बिन्ति गरे
(मलाई अनुग्रहित गर्नका लागि  हजूरले अति गोप्य आत्म विभूति विषयमा जुन कुराहरु गर्नु भयो ती कुराहरु थाहा पाएर अज्ञानताबाट उत्पन्न भएको मेरो मोह समाप्त भयो।)

भवाSप्ययौ हि भूतानां श्रुतौ विस्तरशो मया।
त्वत्त: कमलपत्राक्ष महात्म्यमपि चाSव्ययम्।।२।।

(हे कमलनयन, हजूरबाट नै मैले प्राणीहरुको श्रृजना र विनासबारे विस्तारमा सुने। हजृरको अक्षय गौरव महसुस पनि गरे।)

एवमेतद् तथाSSत्थ त्वमात्मानं परमेश्वर।
द्रष्टुमिच्छामि ते रुपमैश्वरं पुरुषोत्तम।।३।।

(हे परमेश्वर, हजूले आफ्नो ऐश्वर्य रुपको जस्तो वर्णनन् गर्नु भयो हजूर त्यस्तै हुनुहुन्छ। त्यसकारण हे पुरुषोत्तम, म हजूरको त्यो ऐश्वर्यमय रुपको दर्शन गर्न चाहन्छु।)

मन्यसे यदि तच्छक्यं मया द्रष्टुमिति प्रभो।
योगेश्वर ततो मे त्वं दर्शयाSSत्मानमव्ययम्।।४।।

(हे प्रभु, मैले हजूरको त्यो ऐश्वर्य रुप हेर्न सम्भव छ भन्ने कुरा हजूरलाई लाग्दछ छ भने मलाई हजूरको त्यो अविनाशी रुप देखाउनु होस।)

श्रीभगवानुवाच
पश्य मे पार्थ रुपाणि शतशोSथ सहस्रश:।
नानाविधानि दिव्यानि नानावर्णाकृतीनि च।।५।।

भगवान श्रीकृष्णबाट आज्ञा भयो
(हे पार्थ, मेरो धेरै किसिमका एवं अनेक वर्ण तथा आकृतिहरु भएका सयौं हजारौं दिव्य रुपहरु हेर।)

पश्याSSदित्यान् वसून् रुद्रानश्विनौ मरुतस्तथा।
बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत।।६।।

(हे भारत, तिमी १२ आदित्य, ८ वसु, ११ रुद्र, २ अश्विनीकुमार र ४९ मरुद्गणहरुलाई हेर। र साथै पहिले कहिले नदेखेका आश्चर्यहरु पनि हेर।)

इहैकस्थं जगत् कृत्स्नं पश्याद्य पश्याद्य सचराचरम्।
मम देहे गुडाकेश यच्चान्यद् द्रष्टुमिच्छसि।।७।।

(हे गुणाकेश, अब, मेरो यो शरीरमा जम्मा भएका चराचर सहित सारा जगतलाई हेर तथा अरु जे जति हेर्न मन लागेको छ त्यो पनि यस विश्वरुपमा हेर।)

न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा।
दिव्यं ददामि ते चक्षु: पश्य मे योगमैश्वरम्।।८।।

(तर निश्चित रुपले तिमीले आफ्ना यी प्राकृतिक आँखाहरुले मलाई देख्न सक्ने छैनौ। त्यसकारण म तिमीलाई दिव्य आँखाहरु दिन्छु। ती दिव्य आँखाहरुले तिमीले मेरो ऐश्वर्यिक योग शक्ति हेर।)

सञ्जय उवाच-
एवमुक्त्वा ततो राजन् महायोगेश्वरो हरि:।
दर्शयामास पार्थाय परमं रुपमैश्वरम्।।९।।

सञ्जयले भने
(हे राजन, यी कुराहरु भनेर महायोगेश्वर हरिले अर्जुनलाई आफ्नो परम ऐश्वर्यमय विश्वरुप देखाउनु भयो।)

अनेकवक्त्रनयनमनेकाद्भुतदर्शनम्।
अनेकदिव्याभरणं दिव्यानेकोद्यतायुधम्।।१०।।
दिव्यमाल्याम्बरधरं दिव्यगन्धानुलेपनम्।
सर्वाSSश्चर्यमयं देवमनन्तं विश्वतोमुखम्।।११।।

१०-११
(विभिन्न मुख र आँखाहरुले युक्त, अनेक आश्चर्य पार्ने आकृति भएको, विभिन्न दिव्य आभुषणहरू लगाएको, अनेक दिव्य अस्त्रहरु बोकेको, दिव्य अस्त्रहरुले सुसज्जित, दिव्य गन्धको लेप लगाएको, सबै किसिमका आश्चर्यले भरिएको, कान्तिले पूर्ण, अनन्त र सर्वत्र मुख भएको भगवानको अलौकिक रुप अर्जुनले देखे।)

दिवि सूर्यसहस्रस्य भवेद्यु गपदुत्थिता।
यदि भा: सदृशी सा स्याद् भासस्तस्य महात्मन:।।१२।।

(सयौं हजार सूर्यहरुको प्रकाश एकैपटक आकासमा पर्दा जति ज्योति उत्पन्न हुनेछ त्यो भन्दा बढि ज्योति त्यो महात्मा विश्वरुमा देखिएको छ।) 

तत्रैकस्थं जगत् कृत्स्नं प्रविभक्तमनेकधा।
अपश्यद्देवदेवस्य शरीरे पाण्डवस्तदा।।१३।।

(त्यस बेला अर्जुनले देवताहरुको देवता विश्वरुपको त्यो विराट् शरीरमा अनेक किसिमले बाँडिएको सम्पूर्ण संसारलाई एकै ठाउँमा स्थित भएको देखे।)

तत: स विस्म़याविष्टो हृष्टोमा धनञ्जय:।
प्रणम्य शिरसा देवं कृताञ्जलिरभाषत।।१४।।

(त्यसपछि, आश्चर्यले रोमांचित एवं शरीरका रौहरु ठाडा भएका अर्जुनले आफनो शीर भक्तिमा निहुर्याए अनि दुबै हात जोडेर भगवानलाई यस प्रकार भन्नथाले।)

अर्जुन उवाच
पश्यामि देवांस्तव देव देहे
सर्वांस्तथा भूतविशेषङ्घान्।
ब्रह्माणमीशं कमलासनस्थम्
ऋषींश्च सर्वानुरुगांश्च दिव्यान्।।१५।।

अर्जुनले बिन्ति गरे
(हे देव, हजूरको शरीरमा सम्पूर्ण देवताहरु, अनके किसिमका प्राणीहरुका समुदाय एवं कमलासनमा बसेका ब्रह्मा, शिव, सम्पूर्ण दिव्य ऋषि एवं सर्पहरुलाई देख्दैछु।)

अनेकबाहूदरवक्त्रनेत्रं
पश्यामि त्वां सर्वतोSनन्तरुपम्।
नाSन्तं न मध्यं न पुनस्तवादिं
पश्यामि विश्वेश्वर विश्वरुप।।१६।।

(हे विश्वेश्वर, हजूरलाई धेरै हात, पेट, मुख र आँखा भएको अनन्तरुपमा चारैतिर देख्दैछु। हे विश्वरुप, हजूरको आदि, मध्य र अन्त्य केही पनि देखिरहेको छैन्।)

किरिटिनं गदिनं चक्रिणं च
तेजोराशिं सर्वतो दीप्तिमन्तम्।
पश्यामि त्वां दर्निरीक्ष्यं समन्ताद्
दीप्ताSनलार्कद्युतिमप्रमेयम्।।१७।।

(म, हजूरलाई मुकुट, गदा र चक्र धारण गरेको, पूर्ण रुपमा प्रकाशमान, तेजको पुञ्ज, हेर्न कठिन,  दन्केको आगो एवं सूर्यको जस्तो ज्योतिले युक्त भएको, सीमाहीन अवस्थाको रहेको चारैतिर देख्दैछु।) 

त्वमक्षरं परमं वेदितव्यं
त्वमस्य विश्वस्य परं निधानम्।
त्वमव्यय: शाश्वतधर्मगोप्ता
सनातनस्वत्वंम पुरुषो मतो मे।।१८।।

(मेरो बिचारमा हजूर जान्नेयोग्य परम अक्षर एवं यो संसारको परम आधार हो। हजूर अविनाशी, अनादि, धर्मका रक्षक र सनातन परुष हो।)

अनादिमध्यान्तमनन्तवीर्यम्
अनन्तबाहुं शशिसुर्यनेत्रम्।
पश्यामि त्वां दीप्तहुताशवक्त्रं
स्वतेजसा विश्वमिदं तपन्तम्।।१९।।

(म हजूरलाई, आदि, मध्य र अन्त्य नभएको, अनन्त शक्तिले युक्त, असंख्य हातहरु भएको, चन्द्र सूर्य झै आँखा भएको, बलेको आगोझै मुख भएको र आफ्नो तेजले यस संसारलाई तातो दिने देख्दैछु।)

द्यावापृथिव्योरिदमन्तरं हि
व्याप्तं त्वयेकेन दिशश्च सर्वा:।
दृष्टाद्भुतं रुपमुग्रं तवेदं
लोकत्रयं प्रव्यथितं महात्मन्।।२०।।

(हे महात्मन, यी स्वर्ग र पृथ्वीका बीचमा रहेको सम्पूर्ण भाग, अन्तरिक्षका सबै दिशाहरु केवल हजूरदवारा मात्र व्याप्त छन्। हजूरको यो अद्भुत र डरलाग्दो रुप देखेर तिनै लोक-भूलोक, अन्तरलोक, र सिवलोक वा स्वर्गलोक, मृत्युलोक र पातालकोक अति भयभीत तथा व्यथित भइरहेको छ।)

अमि हि त्वां सुरसङ्घा विशन्ति
कोचिद् भीता: प्राञ्जलयो गृणन्ति।
स्वस्तीत्युक्त्वा महर्षिसिद्धसङ्घा:
स्तुवन्ति त्वां स्तुतिभि: पुष्कलाभि:।।२१।।

(यी सम्पूर्ण देवताहरु हजूरमा प्रवेश गर्दैछन्। कसैकसैले भयले हात जोडेर हजूरको स्तुति गर्दैछन्। कल्याण होस भन्दै उत्तम उत्तम सतोत्रले महर्षि र सिद्धहरुले हजूरको स्तुति र दर्शन गर्दैछन्।)

रुद्राSSदित्या वसवो ये च साध्या
विश्वेSश्विनौ मरुतश्चोष्मपाश्च।
गन्धर्वयक्षाSसुरसिद्धसङ्घा
विक्षन्ते त्वां विस्मिताश्चैव सर्वे।।२२।।

(जुन एघार रुद्रहरु, बारह आदित्यहरु, अष्टवशुहरु, साध्यदेवहरु, विश्वदेवहरु, दुवै अश्विनिकुमारहरु, मरुदहरु, पितृहरु, गन्धर्व, यक्ष, राक्षसहरु र सिद्धहरू, सबै अचम्म मानेर हजूरलाई हेर्दैछन्।)

रुपं महन्ते बहुवक्त्रनेत्रं
महाबाहो बहुबाहुरुपादम्।
बहूदरं बहुद्रंष्ट्राकरालं
दृष्ट्वा लोका: प्रव्यथितास्तथा Sहम्।।२३।।

(हे महाबाहो, हजूरको  धेरै मुख, आँखा, हात, तिघ्रा, खुट्टा र पेट भएको, दार्हाहरुले युक्त भइ विकराल देखिने विराट् रुपलाई देखेर सम्पूर्ण संसार व्यथित भइरहेको छ। म पनि व्यथित भइरहेको छु।)

नभ:स्पृशं दीप्तमनेकवर्ण
व्यात्ताSSननं दीप्तविशालनेत्रम्।
दृष्ट्वा हि त्वां प्रव्यथितान्तरात्मा
धृतिं न विन्दामि शमं च विष्णो।।२४।।

(हे विष्णो, आकाशमा चम्किएका विभिन्न वर्णहरुले युक्त, ज्यादै ठूला मुखहरु, तेज नेत्रहरु भएको हजूरको विराट रुप देखेर मेरो अन्तर आत्मा भयभित भएको छ। म धैर्य र शान्ति पाउन सकिरहेको छैन)

दंष्ट्राकरालानि च ते मुखानि
दृष्ट्वैव कालानलसन्निभानि।
दिशो न जाने न लभे च शर्म
प्रसीद देवेश जगन्निवास।।२५।।

(हजूरका विकराल दाह्राहरू भएका एवं प्रलयकालको आगो जस्तो प्रज्वलित मुखहरुलाई देखेर म दिशाहरु चिन्न सकिरहेको छैन र सजिले पनि अनुभव गर्न सकिरहेको छैन्। हे जगन्निवास, हे देवेश, प्रशन्न हुनुहोस।)

अमी च त्वां धृतराष्ट्रस्य पुत्रा:
सर्वे सहैवाSवनिपालङ्घै:।
भीष्मो द्रोण: सूततुत्रस्तथाSसौ
सहाSस्मदीयैरपि योधमुख्यै:।।२६।।

वक्त्राणि ते त्वरमाणा विशन्ति
दंष्ट्राकरालानि भयानकानि।
केचिद् विलग्ना दशना Sन्तरेषु
सन्दृश्यन्ते चूर्णितैरुत्तमांगै:।।२७।।

२६-२७
(ती सम्पूर्ण धृतराष्ट्रका छोराहरु र साथमा राजाहरुका समूहहरु पनि, भीष्म, द्रोण, कर्ण, तथा हामी तर्फका पनि प्रमुख योद्धाहरू हजूरका विकराल दार्हा भएका डरलाग्दो मुखको खाडलमा स्वत: तिब्र गतिमा दौडेर पसिरहेका छन्। कोही कोही धूलो भएको रुपमा टाउँको सहित हजूरको दाँतमा अल्झिएका पनि देखिन्छन्।)

यथा नदीनां बहवोSम्बुवेगा:
समुद्रमेवाSभिमुखा द्रवन्ति
तथा तवाSमी नरलोकवीरा
विशन्ति वक्त्राण्यभिविज्वलन्ति।।२८।।

(जसरी अनेक नदीहरूका जलका प्रवाहरु अत्यधिक बेगसहित समुन्द्र तिर बग्छन र समुन्द्रमा नै मिल्छन त्यसै गरी यस संसारका नर वीरहरु हजूरका सर्वत्र प्रज्वलित मुखहरुमा चारै दिशाबाट पसिरहेका छन्।)

यथा प्रदीप्तं ज्वलनं पतंगा
विशन्ति नाशाय समृद्धवेगा:।
तथैव नाशाय विशन्ति लोकास्
तवापि वक्त्राणि समृद्धवेगा:।।२९।।

(जसरी मर्नका लागि किराहरु अति बेगका साथ प्रज्वलित आगोमा पस्दछन् त्यसै गरी यस लोकका जीवहरु पनि नाश हुनका लागि हजूरको मुखमा प्रवेश गरिरहेका छन्।)

लेलिह्यसे ग्रसमान: समन्ताल्
लोकान् समग्रान् वदनैर्ज्वलद्भि:।
तेजोभिरापूर्य जगत्समग्रं
भासस्तवोग्रा: प्रतपन्ति विष्णो।।३०।।

(हे विष्णु, हजूरले सम्पूर्ण संसारलाई चारैतिरबाट आफ्ना प्रज्वलित मुखहरुले चाटिरहनु भएको छ, चारैतिरबाट निलिरहनु भएको छ। हजूरको उग्र तेजले सम्पूर्ण संसारलाई तेज पारि तातो पारिरहेको छ।)

आख्याहि मे को भावानुग्ररुपो
नमोSस्तु ते देववर प्रसीद
विज्ञातुमिच्छामि भवन्तमाद्यं
न हि प्रजानामि तव प्रवृत्तिम्।।३१।।

(हे देवश्रेष्ठ, हजूरलाई नमस्कार छ। हजूर प्रसन्न हुनुहोस। मलाई यो भन्ने कृपा गर्नुहोस कि यस्तो उग्र रुपधारी हजूर को हो? आदिकारण हजूरलाई जान्ने मेरो तिब्र इच्छा छ किनभने हजूरको प्रवृति मेरो ज्ञान भन्दा बाहिर छ।)

श्रीभगवानुवाच-
कालोSस्मि लोकक्षयकृत्प्रवृद्धो
लोकान् समाहर्तुमिह प्रवृत्त:।
ऋतेSपहि त्वां न भविष्यन्ति सर्वे
येSवस्थिता: प्रत्यनीकेषु योधा:।।३२।।

भगवान् श्रीकृष्णबाट आज्ञा भयो
(यी लोकहरुको संघार गर्ने म सर्वश्रेष्ठ काल-समय हुँ। म अहिले सम्पूर्ण जीवहरुको संघार गर्न क्रियाशील भएको छु। यहाँ उपस्थित भएका प्रतिपक्षी योद्धाहरुलाई तिमीले नमारे पनि तिनीहरु बाँच्ने छैनन् किनभने तिनीहरु स्वत: कालद्वारा मारिने छन्।)

तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व
जित्वा शत्रून् भुङ’क्ष्व राज्यं समृद्धम्।
मयैवैते निहता: पूर्वमेव
निमित्तामात्रं भव सव्यसाचिन्।।३३।।

(त्यसकारण तिमी उठ। सत्रुहरुमाथि विजय प्राप्त गरेर प्रसिद्धि प्राप्त गर। धनधान्यले सम्पन्न राज्यको उपभोग गर। यी सम्पूर्ण योद्धाहरु मबाट पहिले नै मरिसकिएका छन्। तसर्थ हे सव्यसाचिन्, निमित्त मात्र बन।)

द्रोणं च भीष्मं च जयद्रथं च
कर्णं तथाSन्यानपि योधवीरान्।
मया हस्तांस्त्वं जहि मा व्यथिष्ठा
युध्यस्व जेतासि रणे सपत्नान्।।३४।।

(द्रोण, भिष्म, जयद्रथ, कर्ण र अन्य महान योद्धाहरु मबाट पहिले नै नाश भइसकेका छन्। त्यसकारण विचलित न भएर तिनीहरुको हत्या गर। युद्धमा तिमीले सत्रुहरुमाथि विजय प्राप्त गर्ने छौ। त्यसकारण युद्ध गर।)

सञ्जय उवाच-
एतच्छ्र त्वा वचनं केशवस्य
कृताञ्जलिर्वेपमान: किरिटी।
नमस्कृत्वा भूय एवाSSह कृष्णं
सगग्ददं भीतमीत: प्रणम्य।।३५।।

सञ्जयले भने
(भगवान श्रीकृष्णको यस्तो आदेश सुनेर कांप्दै हात जोडेर अर्जुनेल नमस्कार गरे अनि पुन: भयभीत हुँदै प्रणाम गरेर दूर्बल स्वरमा भने।)

अर्जुन उवाच
स्थाने हृषीकेश तव प्रकीर्त्या
जगत् प्रहृष्यत्यनुरज्यते च।
रक्षांसि भीतानि दिशो द्रवन्ति
सर्वे नमस्यन्ति च दिद्धसङ्घा:।।३६।।

अर्जुनेल बिन्ति गरे
(हे ऋषिकेश, हजूरको नाम, रुप, गुणहरुको किर्तन गरेर संसार अति नै हर्षित भइरहेको छ।  हजूरप्रति सबै अनुरागी भइरहेका छन्। सिद्धहरुले हजूरलाई सद्धापूर्वक नमस्कार गरिरहेको भएता पनि राक्षसहरु भने डराएर यता उता चारैतिर भाग्दैछन्। यी सबै कुराहरु मलाई उचित लागिरहेको छ।)

कस्माच्च ते न नमेरन्महात्मन्
गरीयसे ब्रह्मणोSप्यादिकर्त्रे।
अनन्त देवेश जगन्निवास
त्वमक्षरं सदसत्तत्परं यत्।।३७।।

(हे महात्मन्, हे देवेश, हे अनन्त, हे जगन्निवास, हजूर ब्रह्मा भन्दा पनि श्रेष्ठ हुनुहुन्छ। हजूर आदि र सृष्टिकर्ता पनि हुनुहुन्छ। हजूर नै सत् र असत् भन्दा पुरानो अक्षर तत्व ब्रह्म हुनुहुन्छ। त्यसकारण तिनीहरुले हजूरको वन्दना कसरी नगरुन?

त्वमादिदेव: पुरुष: पुराणस्
त्वमस्य विश्वस्य परं निधानम्।
वेत्तासि वेद्यं च परं च धाम
त्वया ततं विश्वमनन्तरुप।।३८।।

(हजूर आदिदेव, पुरातन पुरुष, यो जगत्को एक मात्र परम आधार र जान्ने तथा जान्ने योग्य परमधाम हुनुहुन्छ। हे अनन्तरुप, यो विश्व हजूरबाट व्याप्त छ।)

वायुर्यामोSग्निर्वरुण: शशांक:
प्रजापतिस्त्वं प्रपितामहश्च।
नमो नमस्तेSस्तु सहस्रकृत्व:
पुनश्च भूयोSपि नमो नमस्ते।।३९।।

(हजूर, वायु, यम, अग्नि, वरुण, चन्द्र, प्रजापति र ब्रह्माको पनि पिता हुनुहुन्छ। हजूरलाई हजार पटक नमस्कार छ। हजूरलाई फेरि पनि पटक पटक नमस्कार छ।)

नम: पुरस्तादथ पृष्ठतस्ते
नमोSस्तु ते सर्वत एव सर्व।
अनन्तवीर्यामितविक्रमस्त्वं
सर्वं समाप्नोषि ततोSसि सर्व:।।४०।।

(हे सर्वस्वरुप, हजूरलाई अगाडि, पछाडि र सबैतिरबाट नमस्कार छ। हे अनन्तवीर्य एवं महापराक्रमी हजूर सम्पूर्ण चराचरमा व्याप्त हुनुहुन्छ। त्यसकारण हजूर सर्वरुप हुनहुन्छ।) 

सखेति मत्वा प्रसभं यदुक्तं
हे कृष्ण हे यादव हे सखेति।
अजानता महिमानं तवेदं
मया प्रमादात् प्रणयेन वापि।।४१।।

यच्चावहासार्थमसत्कृतोSसि
विहारशय्यासनभोजनेषु।
एकोSथवाप्यच्युत तत्समक्षं
तत् क्षामये त्वामहमप्रेयम्।।४२।।

४१-४२
(हजूरको यो महानतालाई मैले थाहा नपाइ मैले हजूरलाई साथीझै मानेर प्रमाद वा प्रेमपूर्व हठमा हजूरलाई हे कृष्ण, हे यादव, हे मित्र इत्यादि जे बाट पनि सम्बोधन गरेको छु तथा हे अच्युत ठट्टामा मैले एकान्तमा वा अन्य व्यक्तिहरुको समक्ष मनोरञ्जन, विश्राम, बसाइ वा भोजन इत्यादिको  समयमा हजूर मबाट जुन असम्मानित हुन पुग्नु भएको छ त्यसका लागि म हजूरसँग असीमित क्षमा माग्दछु।)

पिताSसि लोकस्य चराचरस्य
त्वमस्य पूज्यश्य गुरुर्गरियान्।
न त्वत्समोSस्त्यभ्यधिक: कुतोSन्यो
लोकत्रयेSप्यप्रतिमप्रभाव।।४३।।

(हजूर यस चराचर जगतको पिता, गुरु, गुरुका पनि गुरु एवं पूजनीय हुनुहुन्छ। हे अप्रतिम, प्रभावशाली, हजूर जस्तो यी तिनै लोकहरूमा कोही पनि नभए पछि हजूर भन्दा ठूलो कसरी कोही हुन सक्छ?)

तस्मात् प्रणम्य प्रणिधाय कायं
प्रसादये त्वामहमीशमीडयम्।
पितेव तुत्रस्य सखेव सख्यु:
प्रिय: प्रियायाSर्हसि देव सोढुम्।।४४।।

(यसकारण म आफ्नो शरीरलाई हजूरको पाउमा राखेर प्रणाम गर्दै वन्दनीय हजूर इश्वरलाई प्रशन्न हुन आग्रहसहित प्रार्थना गर्दछु। हे देव, जसरी पिताले पुत्रलाई, एक मित्रले अर्को मित्रलाई र एक प्रेमीले प्रेमिकालाई क्षमा गरिदिन्छ त्यसैगरी हजूर पनि मलाई क्षमा गर्न सक्षम हुनुहुन्छ।)

अदृष्टपूर्वं हृषितोSस्मि दृष्टवा
भयेन च प्रव्यथितं मनो मे।
तदेव मे दर्शय देव रुपं
प्रसीद देवेश जगन्निवास।।४५।।

(पहिले कहिले पनि नदेखेको हजूरको यो रुप देखेर म हर्षित भइरहेको छु र साथै अज्ञात भयले मेरो मन व्याकुल पनि भइरहेको छ। हे देव, हजूरको देव स्वरुप मलाई देखाइदिनु होस। हे देवेश, हे जगन्निवास, प्रशन्न हुनुहोस।)

किरीटिनं जदिनं चक्रहस्तम्
इच्छामि त्वां द्रष्टुमहं तथैव।
तेनैव रुपेण चतुर्भुजेन
सहस्रबाहो भव विश्वमूर्ते।।४६।।

(हजूरलाई म उस्तै नै मुकुट धारण गरेको, हातमा चक्र र गदा लिएको रुपमा हेर्न इच्छुक छु। हे सहस्रबाहो, हे विश्वमूर्ते, उही चतुर्भुज रुपमा आउनुहोस।)

श्रीभगवानुवाच
मया प्रसन्नेन तवाSर्जुनेदं
रुपं परं दर्शितमात्मयोगात्।
तेजोमयं विश्वमनन्तमाद्यं
यन्मे त्वदन्येन न दृष्टपूर्वम्।।४७।।

भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(हे अर्जुन मैले प्रशन्न भएर आफ्नो योगशक्तिले मेरो यो परम तेजोमय, अनन्त, आद्य विश्वरुप तिमीलाई देखाएँ जुन तिमी बाहेक अरुले पहिले कहिले पनि देखेको थिएन।)

न वेदयज्ञाSध्ययनैर्न दानैर्
न च क्रियाभिर्न तमोभिरुग्रै:।
एवंरुप: शक्य अहं नृलोके
द्रष्टुं त्वदन्येन कुरुप्रवीर।।४८।।

(हे कुरुप्रवीर, मानवलोकमा मेरो यो विशिष्ठ विश्वरुप तिमी बाहेक अरु कसैलाई पनि म वेद र यज्ञको अध्ययन, दान, कर्म, उग्रताप, केही द्वारा पनि देखिन सक्तिन।)

मा ते व्यथा म च विमूढभावो
दृष्ट्वा रुपं घोरमीदृङ् ममेदम्।
व्यपेतभी: प्रीतमना: पुनस्त्वं
तदेव मे रुपमीदं प्रपश्य।।४९।।

(मेरो यस्तो भयंकर रुप देखेर तिमी भयभीत र मूर्ख नबन। भय त्यागेर मनलाई प्रशन्न गरी तिमी मेरो उही चतुर्भुज रुपलाई फेरि हेर।)

सञ्जय उवाच
इत्यर्जुनं वासुदेवस्तथोक्त्वा
स्वकं रुपं दर्शयामास भूय:।
आश्वासयामास च भीतमेनं
भूत्वा पुन: सौम्यवपुर्महात्मा।।५०।।

सञ्जयले भने
(यी कुराहरु भनेर भगवान् श्रीकृष्ण आफ्नो चतुर्भुज रुपमा प्रकट हुनु भयो अनि भद्र मानव रुपमा प्रकट हुनु भएको महात्मा श्रीकृष्णले भयभीत अर्जुनलाई सम्झाउनु भयो।)

अर्जुन उवाच
दृष्टेवदं मानुषं रुपं तव सौम्यं जनार्दन।
इदानीमस्मि संवृत्त: सचेता: प्रकृतिं गत:।।५१।।

अर्जुनले बिन्ति गरे
(हे जनार्दन, हजूरको सुन्दर मानव रुप देखेर म प्रशन्न चित्त भएँ र पहिलेको सामान्य स्थितिमा आए।)

श्रीभगवानुवाच
सुदुर्दर्शमिदं रुपं दृष्टवानसि यन्मम।
देवा अप्यस्य रुपस्य नित्यं दर्शनकाङिक्षण:।।५२।।

भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(मेरो यो अति दुर्लभ रुप जुन तिमीले देख्यौ यसरी सजिलै गरी देख्न सकिंदैन। देवताहरु समेतले पनि मेरो यो रुप हेर्न सँधै इच्छा गर्छन्।)

नाSहं वेदैर्न तपसा न दानेन न चेज्यया।
शक्य एवंविधो द्रष्टुं दुष्टवानसि मां यथा।।५३।।

(तिमीले मलाई जुन रुपमा देख्यौ त्यस रुपमा मलाई वेद, तप, दान, यज्ञले देख्न सकिंदैन।)

भक्त्या त्वनन्या शक्य अहमेवंविधोSर्जुन।
ज्ञातुं द्रष्टुं च तत्त्वेन प्रवेष्टुं च परन्तप।।५४।।

(हे परंतप, हे अर्जुन, अनन्य भक्तिले भने म यस्तो देखिन सक्छु। तत्व भावले म जानिन तथा एकभावले प्राप्त नै हुन पनि सक्छु।)

मत्कर्मकृन्मत्परमो भद्भक्त: संगवर्जित:।
निवैर: सर्वभूतेषु य: स मामेति पाण्डव।।५५।।

(हे पाण्डव, जसले मेरो लागि कर्महरु गर्दछ, मलाई नै परमगति मान्दछ, मोह-बन्धनहरुबाट मुक्त छ, मेरो अनन्य भक्त छ, सम्पूर्ण प्राणीहरुमा राग र द्वेष भाव राख्दैन त्यो ममा प्राप्त हुन्छ।)

एघारौं अध्यायको व्याख्या

यस एघारौं अध्यायमा भगवान् श्रीकृष्णले अर्जुनलाई आफ्नो विराट रुप वा विश्वरुप देखाउनु भएको छ। भगवान्ले विराट् रुप देखाउँदा अर्जुनले के के देखे पहिले ती कुराहरूलाई संक्षिप्तमा प्रस्तुत गरौ।

भगवान्ले अर्जुनलाई भन्नु भयो, “तिमीले आफ्ना यी प्राकृतिक आँखाहरूले निश्चितरुपले मलाई देख्न सक्ने छैनौ। त्यसकारण म तिमीलाई दिव्य आँखाहरू दिन्छु। ती दिव्य आँखाहरूले तिमी मेरो ऐश्वर्य योग शक्ति हेर।”

भगवान्बाट दिव्य आँखाहरू पाएर श्रीकृष्णको विश्वरुप देखे पछि अर्जुन आश्चर्यचकित मात्र भएनन् भयभीत पनि उत्तिकै भए। अर्जुनले भगवान् श्रीकृष्णका धेरै किसिमका एवं अनेक वर्ण तथा आकृतिहरू भएका सयौं हजारौं दिव्य रुपहरु हेरे। भगवान्मा १२ आदित्य, ८ वसु, ११ रुद्र, २ अश्विनीकुमार र ४९ मरुद्गणहरूलाई हेरे।  साथै पहिले कहिले नदेखेका आश्चर्यजनक कुराहरू पनि हेरे।  भगवानको शरीरमा जम्मा भएका चराचर सहित सारा जगत्लाई हेरे तथा अरु जे जति हेर्न मन लागेको थियो त्यो पनि भगवान्को त्यस विश्वरुपमा हेरे।

विभिन्न मुख र आँखाहरूले युक्त, अनेक आश्चर्य पार्ने आकृति भएको, विभिन्न दिव्य आभुषणहरू लगाएको, अनेक दिव्य अस्त्रहरू बोकेको, दिव्य अस्त्रहरूले सुसज्जित, दिव्य गन्धको लेप लगाएको, सबै किसिमका आश्चर्यहरूले भरिएको, कान्तिले पूर्ण, अनन्त र सर्वत्र मुख भएको भगवान्को अलौकिक रुप अर्जुनले देखे।

अर्जुनले बिन्ती गरे, “हे विश्वेश्वर, हजुरलाई धेरै हात, पेट, मुख र आँखा भएको अनन्तरुपमा चारैतिर देख्दैछु। हे विश्वरुप, हजुरको आदि, मध्य र अन्त्य केही पनि देखिरहेको छैन्। म, हजुरलाई मुकुट, गदा र चक्र धारण गरेको, पूर्णरुपमा प्रकाशमान, तेजको पुञ्ज, हेर्न कठिन दन्केको आगो एवं सूर्यको जस्तो ज्योतिले युक्त भएको, सीमाहीन अवस्थाको रहेको चारैतिर देख्दैछु। म हजुरलाई, आदि, मध्य र अन्त्य नभएको, अनन्त शक्तिले युक्त, असंख्य हातहरू भएको, चन्द्र सूर्य झै आँखा भएको, बलेको आगोझै मुख भएको र आफ्नो तेजले यस संसारलाई तातो दिने देख्दैछु। हे महात्मन, यी स्वर्ग र पृथ्वीका बीचमा रहेको सम्पूर्ण भाग, अन्तरिक्षका सबै दिशाहरु केवल हजुरदवारा मात्र व्याप्त छन्। हजुरको यो अद्भुत र डरलाग्दो रुप देखेर तिनै लोकहरू-भूलोक, अन्तरलोक, र सिवलोक (वा स्वर्गलोक, मृत्युलोक र पाताललोक) अति भयभीत तथा व्यथित भइरहेका छन्। जुन एघार रुद्रहरू, बारह आदित्यहरू, अष्ट वसुहरू, साध्य देवहरू, विश्वदेवहरू, दुवै अश्विनिकुमारहरू, मरुदहरू, पितृहरू, गन्धर्व, यक्ष, राक्षसहरू र सिद्धहरू, सबै अचम्म मानेर हजुरलाई हर्दैछन्। हे महाबाहो, हजुरको  धेरै मुख, आँखा, हात, तिघ्रा, खुट्टा र पेट भएको, दार्हाहरूले युक्त भइ विकराल देखिने विराट् रुपलाई देखेर सम्पूर्ण संसार व्यथित भइरहेको छ। म पनि व्यथित भइरहेको छु।”

अर्जुनले आश्चर्य मान्दै फेरि बिन्ती गरे, “धृतराष्ट्रका ती सबै छोराहरू र साथमा राजाहरूका समूहहरू पनि, भीष्म, द्रोण, कर्ण, तथा हामी तर्फका प्रमुख योद्धाहरू पनि हजुरका विकराल दार्हा भएको डरलाग्दो मुखको खाडलमा स्वत: तिब्र गतिमा दौडेर पसिरहेका छन्। कोही कोही धूलो भएको रुपमा टाउँको सहित हजुरको दाँतमा अल्झिएका पनि देखिन्छन्। जसरी अनेक नदीहरूका जलका प्रवाहरू अत्यधिक बेगसहित समुन्द्र तिर बग्छन र समुन्द्रमा नै मिल्छन त्यसैगरी यस संसारका नर वीरहरु हजुरका सर्वत्र प्रज्वलित मुखहरूमा चारै दिशाबाट पसिरहेका छन्। जसरी मर्नका लागि किराहरू अति बेगका साथ प्रज्वलित आगोमा पस्दछन् त्यसै गरी यस लोकका जीवहरू पनि नाश हुनका लागि हजुरको मुखमा प्रवेश गरिरहेका छन्। हे विष्णु, हजुरले सम्पूर्ण संसारलाई चारैतिरबाट आफ्ना प्रज्वलित मुखहरूले चाटिरहनु भएको छ, चारैतिरबाट निलिरहनु भएको छ। हजुरको उग्र तेजले सम्पूर्ण संसारलाई तेज पारि तातो पारिरहेको छ।”

अर्जुनको भय र चिन्तालाई ध्यानमा राख्दै भगवानले भन्नु भयो, “यी लोकहरूको संघार गर्ने म सर्वश्रेष्ठ काल (समय) हुँ। म अहिले सम्पूर्ण जीवहरूको संघार गर्न क्रियाशील भएको छु। यहाँ उपस्थित भएका प्रतिपक्षी योद्धाहरूलाई तिमीले नमारे पनि तिनीहरू बाँच्ने छैनन् किनभने तिनीहरू स्वत: कालद्वारा मारिने छन्। त्यसकारण तिमी उठ। शत्रुहरु माथि विजय प्राप्त गरेर प्रसिद्धि प्राप्त गर। धनधान्यले सम्पन्न राज्यको उपभोग गर। यी सम्पूर्ण योद्धाहरू मबाट पहिले नै मरिसकिएका छन्। तसर्थ हे सव्यसाचिन्, निमित्त मात्र बन। द्रोण, भिष्म, जयद्रथ, कर्ण र अन्य महान योद्धाहरू मबाट पहिले नै नाश भइसकेका छन्। त्यसकारण विचलित न भएर तिनीहरूको हत्या गर। युद्धमा तिमीले शत्रुहरुमाथि विजय प्राप्त गर्ने छौ। त्यसकारण युद्ध गर।”

यस अध्यायमा चिन्तन गर्नु पर्ने दुई प्रमुख विषयहरू छन्। पहिलो विषय हो, भगवान्ले विश्वरुप किन देखाउनु भयो? दोस्रो विषय हो, भगवान्को विश्वरुप देखे पछि अर्जुनको मनोविज्ञान कस्तो भयो

यो सृष्टिको संचालनकर्ता (प्रकृति) आफूनै रहेको अर्जुनलाई अवगत गराउन भगवान्ले आफ्नो विश्वरुप देखाउनु भएको हो। यो प्रकृतिमा सृजना र विनाशको क्रम चलिनै रहेको हुन्छ र त्यो चलने क्रम भगवान्को लिलाद्वारा हुन्छ। भगवान्को लिला अन्तर्गत नै अर्जुनले मार्नु पर्ने व्यक्तिहरू पहिले नै मरिसकेका थिए। अर्जुनले केवल निमित्त भएर उनीहरूको बध गर्नु पर्ने थियो। तर अब एउटा प्रश्न के उठ्छ भने जब उनीहरूको पहिले नै भगवान्को लिलाद्वारा (कालबाट) हत्या भएर मृत्यु भइसकेको थियो भने अर्जुनले तिनीहरूको बध किन गर्नु पर्यो? कौरवको शिविरबाट युद्द गर्नेहरू अधर्मको पक्षमा रहेको र उनीहरूको कुकर्मबाट लोकमा पाप, व्यविचार, अत्याचार बढ्ने भएकोले उनीहरूको मृत्यु स्वभाविक नभएर दण्डप्राप्त गरेर भएको प्रमाण इतिहास एवं आउने पुस्ताहरूलाई देखाउन भगवान्ले अर्जुनलाई निमित्त नायक मानेर उनीहरूको हत्या गर्न लगाउनु भएको हो। अत्याचारी, पापी र अन्यायीहरूको मृत्यु स्वभाविक किसिमले नभएर दण्ड पाएर हुन्छ भन्ने ‘नजिर’ स्थापना गर्नका लागि भगवान् श्रीकृष्णले शकुनि, दु:शासन, दुर्योधन जस्ता खल पात्र एवं दुराचारीहरूको हत्या गर्न अर्जुनलाई भन्नु भएको हो। हुनत भगवान्को ऐश्वर्य लिला अनुरुप उनीहरूको स्वभाविक मृत्यु हुने त निश्चय नै थियो।  

भगवान्को विश्वरुप देखे पछि घोर पाप कर्ममा लीन आफ्ना बन्धु बान्धवहरूलाई क्षमा दिने तर उनीहरुको हत्या नगर्ने निर्णयमा पुगी विरक्तिएर शिथिल भएका अर्जुनलाई सत्यको बोध हुन्छ र उनी युद्ध गर्न मनोवैज्ञानिक रुपमा तयार हुन्छन्। पाण्डवको शिविरमा युद्धमा  सबैभन्दा कुसल धनुर्धर अर्जुन भएकोले उनको अनुपस्थितिमा युद्ध जित्न सम्भब नहुने भएकोले नै भगवान्ले अर्जुनलाई मनोवैज्ञानिक रुपमा युद्धका लागि तयार पार्न आफ्नो विश्वरुप देखाउनु भएको हो।

यहाँ एउटा अर्को जिज्ञास पाठकहरूमा उत्पन्न हुन सक्छ। त्यो के भने भगवान् श्रीकृष्ण आफै त्येति महान पराक्रमी र योद्धा भएकोले अन्यायी र अत्याचारी कौरवहरूको बध स्वयंले गरेर महाभारत युद्ध जितेको भए हुनथ्यो नि? यस प्रश्नको सरल उत्तर के हो भने भगवान कौरवहरू लाई पराजय दिने कार्य पाण्डवहरूद्वारा गराउन चाहनु हुन्थ्यो। हुन पनि पाण्डवहरूको प्रत्यक्ष शत्रु कौरवहरू थिए। नैतिकता र अनैतिकताको दृष्टिकोणले मात्र भगवान् श्रीकृष्ण कौरवहरूको शत्रु हुनु हुन्थ्यो।

महाभारतको युग अति नै पतित युग हुन पुगेको हुनाले नै पनि त्यो पतित युग समाप्त गरेर नया सभ्य, सालिन युगको सृजना गर्न भगवान्द्वारा अर्जुनलाई युद्ध गर्ने मनस्थितिमा पुर्याउन आवश्यक थियो। हुन पनि महाभारत युग अति नै व्यविचारी, अपराधी, स्वार्थी एवं लोभी हुन पुगेको थिए। त्यस युगका केही व्यक्तिहरू जस्तै विदुर, सञ्जय, अर्जुन, गान्धारी लगायत अन्य केही बाहेक अरु सबै पात्रहरूले  कुनै न कुनै अपराध र केहीले त अक्षम्य कुकर्म समेत पनि गरेका थिए। जस्तै धर्ममा निष्ठ मानिएका युधिष्ठिरले जुआमा केवल सम्पत्तिहरू मात्र होइन आफ्नी पत्नी द्रौपदीलाई समेत हारेका थिए। तर द्रौपदी उनको मात्र होइन, अन्य चार भाइहरूका पनि पत्नी थिइन। द्रौपदीलाई उनको आज्ञा बिना जुआमा सम्पत्ति सरह राखेर अनादर गर्दा युधिष्ठिरको विवेक कता हराएको थियो?

अर्को प्रसङ्गमा, द्रौपदीलाई पत्नीको रुपमा अर्जुनले भित्र्याएर ल्याएका थिए तर अर्जुनलाई नसोधी, विषय वस्तुको बारेमा पूर्ण जानकारी प्राप्त नगरी, एक वस्तु सरह मानेर द्रौपदीलाई पाँच भाइमा बराबर बाँड्ने आदेश आफ्ना  छोराहरूलाई दिंदा कुन्तीको विवेकले किन काम गरेन?

यसैगरी, के कस्तो स्थितिले कुन्तीलाई बाध्य पार्यो जसले गर्दा उनले विवाहपूर्व नै सूर्यको सम्पर्कबाट कर्णलाई जन्म दिनु पर्यो? त्यसरी कर्णलाई परिचय विहीन (बाबु आमाको नाम उल्लेख नगरेर ) पारेर कुन्तीले कर्णलाई पानीमा बगाउँदा कुन्तीको विवेक पनि किन पानीमा सँगै बग्यो

कलिला उमेरका द्रौपदीका पाँच छोराहरु, प्रतिविन्ध्य, सतानिक, सुतसोमा, स्रुतसेना र स्रुतकर्म, जो पाण्डवका पाँच भाइहरूबाट जन्मेका थिए, लाई रात्रीको समयमा विश्रामगृहमा सुतिरहेको अवस्था घेरा हालेर अश्वत्थामाले पालै पालै हत्या गर्दा उनको ज्ञान किन त्येति तल गिर्न पुगेको थियो? तर दुबै विरोधी पक्षहरू मिलेर बनाएको युद्धको नियम अनुसार रात्रीको समयमा, निहत्था, वालक र आफ्नो दर्जाको नभएको योद्धालाई आक्रमण गर्न पाइन्नथ्यो। अश्वत्थामाले यस्तो घृणित कार्य किन गरे?

यसैगरी आफ्ना जन्मजात अन्धा भतिजा (धृतराष्ट्र) को विवाह गान्धार राजकुमारी गान्धारीसँग बलपूर्वक गराउन भीष्म पितामह (जसको वास्तविक नाम देवव्रत हो) ले गान्धारका राजालाई शक्ति र आक्रमणको भय देखाउँदा उनको बुध्दधिमा किन बिर्को लाग्यो? भनिन्छ एक जन्मजात अन्धासँग गान्धारीको इच्छा विपरित विवाह गर्न भीष्मले बाध्य पारेको हुनाले नै विरोध स्वरुप उनीले विवाह पछि जीवनभर नेहेर्ने भन्दै आँखामा पट्टी बाँधेकी थिइन। अति विवेकी भीष्मले त्यस्तो तुच्छ कार्य किन गरे?

उता, आफ्नो बहिनी (गान्धारी) को विवाह कुरुवंशीहरूले बलपूर्वक आफ्नो खान्दानमा गराएको हुनाले कुरुवंशीहरूले गरेको त्यस्तो अपराधिक कार्यको बदला (कुरुवंश समाप्त पार्न) लिन शकुनिले आफ्नो देश गान्धार छाडेर हस्तिनापुरमा आइ बसोबास गरेका थिए। शकुनिको उद्देश्य थियो- या त कुरुवंश समाप्त पार्ने या त आफ्नो भानिज (दुर्योधन) लाई राजा बाउने। त्यसै कारण उनले मनमनै भन्थे रे पाण्डहरुको जीत भए कुरुवंश सखाप भएर मैले बदला लिएको हुनेछ। यदि कौरवको जीत भएमा उनको भानिज हस्तिनापुरको राजा भएर उनले बदला लिएको हुनेछ। यस्तो गरेर शकुनिले के उचित कार्य गरेका थिए?

हस्तिनापुर दरबारमा सबैभन्दा बढी मर्यादित व्यक्ति कोही थिए भने ती थिए भीष्म पितामह। तर भीष्मले पनि अति नै उट्पट्याङ्ग कार्यहरू गरेका थिए। सर्वप्रथम उनले आफ्नो विषय लम्पट बाबुलाई बिहे गर्न सजिलो होस् भनेर म आजीवन विवाव गर्दिन भनी “भीष्म” प्रतिज्ञा लिएका  थिए र त्येही बेला देखि उनलाई उनको वास्तविक नाम देवव्रतबाट भीष्म भनेर पुकारिन थालिएको हो। विवाह हुने कन्याले उनको छोरालाई राजा बनाउनु पर्ने सर्त राखेकी थिइन तर राज हुन पाउने अधिकार बाबु पछि भीष्मको थियो। विषयलम्पट बाबुलाई भीष्मले किन त्यस्तो सर्तमा विवाह गर्न दिए? भीष्मले किन प्रचलित नियमको विरुद्धमा कार्य गरे?

यसैगरी यिनै भीष्मले आफ्नो परिवारको सदस्य विचित्रविर्यको विवाह गर्न काशी देशका राजा कश्यका तीन छोरीहरू- अम्बिका, अम्बा र अम्बालिकालाई उनीहरुको स्वयंवर भइरहेको स्थानबाट अपहरण गरेर ल्याएका थिए। एक वस्तुसरह ती कन्याहरूलाई लुटेर ल्याएका थिए। यी कन्याहरूलाई उनीहरूको इच्छा अनुरुप विवाह गर्न दिएका थिएनन्। यिनै अम्बाले पछि शिखण्डीको रुपमा जन्म तेस्रो लिङ्गीको रुप धारण गरेर भीष्मको हत्या गरी आफ्नो बेइज्जतीको बदला लिएकी थिइन। अर्कोतिर भीष्मले ती तीन कन्याहरुको अपहरण आफूसँग विवाह गर्न नभइ आफ्नो सौतेनी भाइ हस्तिनापुरका राजा विचित्रविर्यसँग गराउनका लागि अपहरण गरेका थिए। भीष्म जस्तो महान् योद्धा, विद्वान एवं सर्वाधिक मर्यादित व्यक्तिले त्यसरी तिन कन्याहरूको उनीहरुको स्वयंवर स्थल जहाँ उनीहरू पति रोज्ने शुभमा लागेका थिए त्यहाँबाट अपहरण गरेर आफ्नो दरबारमा ल्याउनु मर्यादित कार्य थियो?

केवल पुरुषहरू मात्र उपस्थित रहेको सभामा द्रौपदीको वस्त्रहरण हुँदा भीष्मले दु:शासनलाई त्यस्तो गर्नबाट रोक्न नसकी त्यो दृश्य हेरेर मात्र रहे। राज्यको वफादारी गर्ने भन्दै भीष्मले अनेक खराब कार्यहरु गरेका छन्, अरुद्वारा खराब कार्यहरू गराएका छन् र खराब गर्नेहरुलाई खराब गर्नबाट रोकेका छैनन् पनि। यस्ता अनेक कार्यहरू गर्ने भीष्मको भूमिका सही थियो त?

अहिलेको यो कलियुगमा पनि कुनै व्यक्तिले आफ्नो भाउजु वा भाइ बुहारीलाई निर्वस्त्र गर्न डराउँछ। त्यस्तो  गर्न महा पाप सम्झिन्छ। कुनै समाजमा त जेठाजुले भाइ बुहारीको शरीर स्पर्श गर्न सम्म मनाही छ। तर त्यस धार्मिक युगमा पनि दु:शासन र दुर्योधन मतियार भएर द्रौपदीको वस्त्र हरण गरेका छन्। वस्त्र हरण गर्न दु:शासन अघि सरेको छ। द्रौपदीको चीर हरण भइरहकै समयमा कर्ण जस्ता महा दानी, ज्ञानी र पराक्रमीले द्रौपदीलाई वेश्या भनेर उनको बेइज्जती गरेका छन्। कर्ण अर्को मूर्ख योद्धा थिए। उनी अति असल भएर पनि गलत व्यक्ति (दुर्योधन) को साथमा लागेका थिए। कर्ण जस्तो महान् योद्ध द्रौपदी-चीरहरण जस्तो घृणित कार्यमा किन सङ्लग्न भए?

 अर्कोतिर द्रौपदी पनि कम थिइनन्। उनले, पानी भनेर झुक्किएर टेक्न खोज्दा त्यहाँ पानी नभएर जमिन भएको र त्यो जमिनमा लड्दा दुर्योधनलाई खिसी गर्दै अन्धाका पुत्र अन्धा भनी धुर्योधनको ठूलो अपमान गरेकी थिइन। आफ्नो घरमा आएको एक आमन्त्रित (दुर्योधन) लाई द्रौपदीले त्यस किसिमबाट बेइज्जती गर्नु ठिक थियो?

भीमले आफ्नै भाइ (दुर्योधन) को तिघ्रा फोडेर, रगत झिकेर, द्रौपदीको खुला राखिएको केशमा हालेर, द्रोपदीको बेइज्जतीको बदला दुर्योधनसँग लिएका थिए। आचार्य द्रोणले शिक्षामा पक्षपात गरेका थिए। उनले केवल क्षत्रीय राजकुमारहरुलाई मात्र शिक्षा दिने भन्दै उनीसँग शिक्षा लिन गएका कर्णलाई सुतपुत्र भन्दै शिक्षा दिएका थिएनन। तर उनको छोरा अश्वत्थामा ब्राह्मण भए पनि अश्वत्थामालाई आफैले शिक्षा दिएका थिए। द्रोणाचार्यले एकल्व्यलाई शिक्षा दिएनन तर एकल्व्यले उनको प्रतिमा राखेर धनुवाणको शिक्षा लिएकोमा कपटपूर्वक किसिमले गुरु दक्षिणा माग्दै एकल्व्यको एक हातको बुढी औला काट्न लगाएर द्रोणाचार्यले एकल्व्यबाट गुरु दक्षिणा लिएका थिए। आचार्य द्रोणलाई उनको शिष्य अर्जुन एकल्व्यबाट पराजय भएमा आफ्नो गुरुत्व बेइज्जत हुने भन्दै उनले एकलब्यलाई मेरो शिक्षा चोरेको भन्दै दण्ड स्वरुप उनको दाहिने हातको बुढी ओला लिएका थिए। आफूले दिएको शिक्षा उच्च देखाउन कपट गरेका थिए। विवेकी, विद्वान र असल कहलिएका व्यक्तिहरूले पनि किन यस्ता अनेक दुष्कर्म गरे?

यसरी महाभारतको युगमा हरेकले कुनै न कुनै किसिमको पाप कर्म, घिन लाग्दो काम र अनेक कुकर्महरू गरेको हुनाले नया सभ्य युगको सृजना गर्न भगवान्ले अर्जुनलाई युद्ध गर्न मनोवैज्ञानिक रुपमा तयार पार्नु भएको हो। न्याय र कानूनमा आधारित एक उन्नत समाजको स्थापना गर्नका लागि अर्जुनलाई रणभूमि छाड्न नदिनु भएको हो।    





















एघारौं अध्याय समाप्त                                           




No comments:

Post a Comment