आर्थिक विकासका
बाधक: सामाजिक नियमका जालोहरु
नेपाली समाज
वास्तविक आवश्यकताको पूर्ति भन्दा गर्व प्रदर्शनमा बढी विश्वास गर्दछ। जीवनलाई
सरल बनाउने नियमहरुको निर्माण भन्दा जीवनलाई जटिल बनाउने नियमहरुको निर्माणमा जोड
दिन्छ। अनि आफैले बनाएको जटिल नियमहरुको जालो भित्र बेरिएर, गुम्सिइर बस्छ। यो
जालोबाट निस्केर तिब्र गतिमा विकास गर्ने प्रयास गर्दैन। यो कार्य विगतमा पनि भयो
र अहिले पनि जारी। नेपाली समाजलाई आधुनिक विकासले अझै राम्रो गरि छोएको छैन।
सामाजिक विकासको
गतिलाई अवरुद्ध पार्ने प्रतिकूल सामाजिक नियमहरु हटाउने ठोस कृयाकलापहरु भएका
छैनन्। बरु नेपाली समाजले चहिने भन्दा बढी राजनीतिमा जोड दिएको पाइन्छ। राजनैतिक,
सामाजिक, धार्मिक सबै किसिमका नेताहरुले केवल राजनीतिलाई नै केन्द्र बिन्दु मानेर
आफ्ना विभिन्न किसिमका गतिविधिहरु यसको वरिपरि संचालन गरेको पाइन्छ। नेपाली समाज, अनावश्यक सामाजिक नियमहरुको जालोमा यति नराम्रो
गरि बेरिएको छ कि यस जालोबाट बाहिर सहजै आउन सकिरहेको छैन। र यो जालोले गर्दा
आर्थिक विकासको गति अवरुध हुन पुगेको छ। आर्थिक विकास, तिब्र त टाढाको कुरा हो,
स्वभाविक गतिमा पनि हुन सकिरहेको छैन्।
नेपाली समाजले
वास्तविक आवश्यकता भन्दा प्रदर्शन वा हैसियत झल्काउन गर्ने विभिन्न क्रियाकलापहरु
मध्ये एक हो, आवासीय भवनको निर्माणमा गरिने अनावश्यक खर्च। नेपालमा भवन निर्माण
गर्दा घर भित्र बस्दा प्राप्त हुने सुरक्षा, सुविधा र सरलता भन्दा निर्माण गरिने
घरबाट निर्माणकर्ताले आफ्नो आर्थिक एवं सामाजिक हैसियत देखाउनमा बढी जोड दिएको
हुन्छ। घरको केवल बाहिरी एवं भित्री श्रृंगारमा अत्यधिक जोड दिएको हुन्छ, पैसा पनि
उत्तिकै खर्च गरेको हुन्छ। तर पश्चिमी समाजमा खास गरी अमेरिका र क्यानाडामा भवन
निर्माण गर्दा भवनमा बस्ता प्राप्त हुने सुविधा, सुरक्षा एवं सरलतालाई महत्व
दिइएको हुन्छ। त्यसकारण यहाँका आवासीय भवनहरु बिना कुनै थप उपकरणहरुको सहयोग बिना
पनि जाडोमा सामान्य न्यानो र गर्मीमा सामान्य सितल हुने किसिमका हुन्छन। भवन
निर्माणको एक स्तर कायम गरिएको हुन्छ त्यही अनुसार भवनहरु निर्माण गर्नु पर्ने
हुन्छ। अमेरिका, क्यानाडामा आवसीय भवनहरु प्राय: सबै एकै किसिमका हुन्छन्। परबाट
हेर्दा सबै भवनहरु एकै किसिमका देखिन्छन्, निर्माणकर्ता पृथक पृथक भएता पनि।
नेपाली समाजलाई जाति
प्रथाले पनि अति नै नराम्रो गरी पिरोलेको छ। एउटै समाज भित्र अनेक किसिमका जातिहरु
छन्। कोही तल्लो जाति कहलिएका छन् भने कोही माथिल्लो जाति। तल्लो जाति कहलिएकाहरु
मध्ये पनि वा तल्लो जातिको श्रेणीमा पर्ने जातिहरु बीच वैवाहिक सम्बन्ध समबन्ध
कायम हुन सक्तैन। एउटा जातिले छोएको अर्को
जातिले खाँदैन। माथिल्लो जाति कहलिएकाहरुमा भने स्थिति अलिकति केही पृथक किसिमको छ।
माथिल्लो जातिको श्रेणीमा पर्ने जातिहरु बीच पानी त चल्छ तर बिहेबारी भने हुँदैन।
जाति प्रथाले गर्दा समाज भावनात्म रुपम यति धेरै टुक्रिएको छ कि, यथा अवस्थामा, यी टुक्रहरु
बीच एकता हुने सम्भावना टाढा टाढासम्म पनि
देखिंदैन। तर यस किसिमक जातिय विभाजनले गर्दा विभिन्न किसिमका सामाजिक कुरितिहरुले
जरा गाड्न पाएका छन्। यी जातिय कुरुतिहरुले गर्दा समाज र मुलुकले न त सामाजिक न त
आर्थिक विकास गर्न सकिरहेको छ। जातिय प्रथाले जन्माएका विभिन्न कुरुतिहरु मध्ये एक
हो तिलक एवं दहेज प्रथा।
उच्च आर्थिक प्रगति
गर्ने पश्चिमी समाजमा कुनै पनि किसिमको जाति प्रथा छैन। कुनै किसिमको छुवा छुत
छैन। बिहेबारी गर्दा जाति पाति हेरिदैन। यसरी उच्च आर्थिक प्रगति गर्ने पश्चिमी
समाज जाति प्रथा बिना चलेको छ। तर आर्थिक प्रगतिको पथमा ज्यादै पछाडि परेको नेपाली
समाजलाई जाति प्रथा चाहिएको छ। किन होला? अझै, एक कदम अगाडि बढेर, जातिय पहिचान समेत
चाहिएको छ। जातिय पहिचान किन चाहिएको होला? कस्तो अचम्म! जुन कुराले नेपाली
समाजलाई गरिब बनाउनमा सक्रिय भूमिका खेलिरहेको छ नेपाली समाजलाई त्येही चाहिएको छ।
यस्तो किन भएको होला? जातीय पहिचान वा जातिय विभाजन भिना नेपाली समाज बाँच्न
नसक्ने स्थितिमा पुगेको छ। के भएको होला यस्तो? यही कुराहरुलाई आधार मानेर नेताहरु
पनि जातीय पहिचानका लागि मरिमेटिरहेका छन। जबकी यी नेताहरु नेपाल समाजबाट जाति
प्रथालाई हटाउन सक्रिय रुपले लाग्नु पर्ने होइन र? जातिय विभाजन बिना पश्चिमी समाज
चल्न सक्छ भने नेपाली समाज किन चल्न नसक्ने? यस बारे गंभिरतापूर्वक कहिले सोंचने?
कहिले सम्म जातियताको जालोमा बेरिएर बस्ने?
जातिय प्रथाले नेपाल
समाजमा फष्टाएको तिलक वा दाइजो प्रथा बारे छोटो चर्चा गरौ। तिलक वा दाइजो प्रथाले
नेपाली समाजमा छोरीका आमा बाबुलाई पार्ने आर्थिक एवं मानसिक बोझको लेखा जोखा गरौ।
अनि तिलक वा दाइजो प्रथाले गर्दा भ्रुण हत्या र आपराधिक क्रियाकलापमा भएको बढ्तोरी
बारे विवेचना गरौ।
तिलक वा दाइजो
प्रथाले खास गरी तराइका परिवारहरुलाई अत्यधिक सताएको छ। निम्न एवं मध्यम आर्थिक
स्थितिका परिवारहरुलाई त यो एक पीडाको रुपमा स्थापित भएको छ। सामान्य आय भएका
परिवारहरुले छोरीको बिहे गर्न आफ्नो जीवनभरको बचत खर्च गर्नु वा चल अचल सम्पत्ति
बेच्नु पर्ने स्थिति छ भने बचत वा सम्पत्ति नहुनेले ऋण लिनु पर्ने स्थिति छ।
वहु जातिय विवाह
अभियान चलाउने हो भने तिलक प्रथालाई हतोसाहित गरेर कालान्तरमा समाप्त पार्न समेत
सकिन्छ। अन्तर जातिय विवाह हुने हो भने एक युवतीले विवाहका लागि एक युवक पाउने
सम्भावना ह्वातै बढेर जान्छ किनभने केवल समान जातिमा विवाह गर्दे यो सम्भावना
साँघुरो भएर भएको हुन्छ। हुन पनि समान जातिमा विवाह हुँदा समान जातिको (वर) संख्या
कम हुने हुनाले विवाहका लागि योग्य मानिएको वरको मोलमोलाई क्षमता (Bargaining power) चुलिएर जान्छ। यही कारणले गर्दा समान जातिमा
विवाह गर्दा पढे लेखेका वा धनी वरका पक्षले वधु पक्ष संग कार, मोटर साइकल, थुप्रै
सुन चाँदी, लाखौ रुपैमा माग्न सक्ने स्थिति उत्पन्न भएको हो। यही कारणले गर्दा
छोरीको विहे बाबु आमाका लागि संकट भएको हो। प्रत्येक व्यक्तिले आफूले गरेको आर्जन
आफुले स्वतन्त्रपूर्वक उपभोग गर्न पाउनु पर्दछ। तर नेपाल वा भारतको
परिप्रेक्ष्यमा, आमा बाबुको वचत, समत्ति वा आर्जन केवल तिलक दिनमा नै समाप्त
हुन्छ। तिलक प्रथालाई हेर्ने हो भने यसले एक वरलाई वस्तुको रुपमा प्रस्तुत गरेको
पाइन्छ। आमा बाबुले आफ्नो छोरीका लागि योग्य वर धैरे पैसा हालेर वस्तुको रुपमा
खरिद गर्नु पर्ने हुन्छ। यो आधुनिक युगमा के वर एक महँगो वस्तु हो?
अरबौंको आवादी भएको
पश्चिमी समाजमा न जाति प्रथा छ न त छोरी छोरीको विवाह गर्न बाबु आमाले चिंता लिनु
पर्छ न त ऋण, कर्जा जे गरेर पनि ठूलो धन राशी नै खर्च गर्नु पर्दछ। सन्तानहरु
वयस्यक भए पछि आफ्नो लागि वर वा वधु स्वयं खोज्दछन्। पश्चिमी समाजमा छोरा वा छोरी
वयस्यक भए पछि, खास गरी हाइस्कूल (बार्हौ कक्षा) सकिए पछि बाबु आमाबाट छुट्टिएर
अलग बस्छन। बाँच्नका लागि स्वयं आफूले संघर्ष गर्छन्। बाबु आमालाई आर्थिक भार
दिंदैन। आर्थिक स्वावलम्बन सुरुवात गर्छन। पश्चिमी समाजमा विना दाइजोको बिहे बारी
हुन सक्छ भने पूर्वीय समाज, खास गरी भारत र नेपालमा किन हुन न सक्ने?
हामी राष्ट्र र
समाजको आर्थिक विकासको कुरा गर्दा ठूला
ठूला योजना, अर्बौ खर्बौ पूँजी, बडे बडे उद्योगहरु, आदि आदिको कुरा गर्छौ। यी
कुराहरुलाई मात्र आर्थिक विकासका पूर्व सर्तहरु मान्दछऔ। तर परिवार, समाज र राष्ट्रलाई गरिब तुल्याउने,
व्यक्तिको जीवनलाई कष्टमा रुपान्तरित गर्ने अनावस्यक सामाजिक नियमका जालोहरुको
बारेमा पट्क्कै कुरा गर्दैनौ। यी सामाजिक नियमका जालोहरु- जात जाति, उँच, निंच,
दहेज, तिलक, भेदभाव, जसले नेपाली समाजलाई आर्थिक रुपमा सक्षम हुन दिइरहेका छैनन्,
लाई चुंडाल्न सकिरहेका छैनौ। सामाजिक अगुवाहरुले पनि यसतर्फ पटक्कै ध्यान दिएका
छेनन्। राजनैतिक नेताहरुले त अनावस्यक सामाजिक नियमका जालोहरुलाई ठूलो समस्या नै
मानेका छैनन्। नेताहरु त झन, उल्टो, जातिय पहिचानका लागि आन्दोलनरत छन। सामाजिक
भेदभाव, कुप्रथा आदि हटाउन नेताहरुले पटक्कै ध्यान दिएका छैनन्। अहिले सम्म पनि,
अपवाद बाहेक, खास गरि तराइमा जरा गाडेकोले, तराइका नेताहरुले, म वा हामी आफ्नो छोराको
विहे गर्दा एक पैसा पनि तिलक वा दहेज लिंदैनौ भनि सार्वजनिक रुपमा भन्न सकेका
छैनन। नाम चलेका, चर्चामा रहेका नेताहरुले आफ्नो छोराको बिहे गर्दा एक पैसा पनि
दहेज नलिएको सार्वजनिक रुपमा उल्लेख गरेका छैनन्। मोटो रकम दाइजोको रुपमा आउँदा नेताहरु
त पनि चुप म पनि चुप हुन पुगेका छन्। किन यस्तो भएको होला?
तर कटु सत्य त के छ
भने, नेपाली समाजलाई आर्थिक समृद्धिको दिशतर्फ डोर्याउन अनावश्यक सामाजिक नियमका
जालोहरु चुंडाल्नुको विकल्प छैन, यदि सच्चारुपमा आर्थिक विकास गर्ने इच्छा राखिएको
हो भने।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, March 20, 2015
No comments:
Post a Comment