अर्जुन उवाच
प्रकृतिं पुरुषं चैव
क्षेत्रं क्षेत्रज्ञमेव च।
एतद् वेदितुमिच्छामि
ज्ञानं ज्ञेयं च केशव।।१।।
अर्जुनले विन्ति गरे
(हे केशव, मलाई
प्रकृति, पुरुष र क्षेत्र तथा क्षेत्रको ज्ञाता, ज्ञान र ज्ञानको वस्तु बारे थाहा
पाउने इच्छा छ।)
श्रीभगवानुवाच
इदं शरीरं कौन्तेय
क्षेत्रमित्यभिधीयते।
एतद् यो वेत्ति तं
प्राहु: क्षेत्रज्ञ इति तद्विद:।।२।।
भगवान श्रीकृष्णले
आज्ञा गर्नु भयो
(हे कौन्तेय, यो
शरीरलाई क्षेत्र भन्ने गरिन्छ। जसलाई यो शरीरको बारेमा थाहा छ त्यसलाई क्षेत्रको
ज्ञाता भन्न गरिन्छ।)
क्षेत्रज्ञं चापि
मां विद्धि सर्वक्षेत्रेषु भारत
क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं
यत्तज्ज्ञानं मतं मम।।३।।
(हे भारत, म सबै
शरीरहरुमा ज्ञाता पनि हुँ भन्ने थाहा पाइ राख। यो शरीर र यो शरीको ज्ञाता बारे
थाहा पाउनुलाई ज्ञान भन्ने गरिन्छ। यो मेरो बिचार हो।
तत् क्षेत्रं यच्च
याद्क् च यद्विकारि यतश्च यत्।
स च यो यत्प्रभावश्च
तत् समासेन मे शृणु।।४।।
(त्यो क्षेत्र के
हो, कस्तो छ, त्यसको बिकार के हो, त्यो कुन प्रयोजनका लागि केबाट उत्पन्न भएको हो,
तथा त्यो क्षेत्रज्ञ जुन खास स्वरुप भएको र प्रभाव राख्ने छ, यी सबै कुराहरु बारे संक्षेपमा
मबाट सुन।)
ऋषिभिर्बहुधा गीतं
छन्दोभिर्विविधै: पृथक्।
ब्रह्मसूत्रश्चपदैश्चैव
हेतुमद्भिर्विनिश्चितै:।।५।।
(ती तत्वहरुलाई
विभिन्न किसिमका वेदका मन्त्रहरुले विभाजित गरी भनिएका तथा ऋषिहरुले अनेक किसमले
सम्झाएका पनि छन्। ती तत्वहरुलाई ब्रह्मसूत्रका पंक्तिहरुले पनि युक्तियुक्त
किसिमबाट निश्चित गरिएको छ।)
महाभूतान्यहंकारो
बुद्धिरव्यक्तमेव च।
इन्द्रियाणि दशैकं च
पञ्च चेन्द्रियगोचरा:।।६।।
इच्छा द्वेष: सुखं
दु:खं सङ्घातश्चेता धृति:।
एतत् क्षेत्रं
समासेन सविकारमुदाह्रतम्।।७।।
(पाँच महाभूतहरु, अहंकार, बुद्धि, प्रकृति, दस इन्द्रियहरु,
शब्द स्पर्स आदि पाँच इन्द्रियहरुका विषय, इच्छा, द्वेष, सुख, दु:ख, शरीर, ज्ञान
तथा धैर्य यी बिकारहरुको सार संक्षेप, क्षेत्रका विषयहरुको बारेमा भनिएको छ।)
अमानित्वमदम्भित्वमहिंसा
क्षान्तिरार्जवम्।
आचार्योपासनं शौचं
स्थैर्यमात्मविनिग्रह:।।८।।
इन्द्रियार्थेषु
वैराग्यमनहंकार एव च।
जन्ममृत्युजराव्याधिदु:खदोषानुदर्शनम्।।९।।
असक्तिरनभिष्वंग:
पुत्रदारगृहादिषु।
नित्यं च
समचित्तत्वमिष्टानिष्टोपपत्तिषु।।१०।।
मयि चानन्ययोगेन
भक्तिरव्यभिचारिणी।
विविक्तदेशसेवित्वमरतिर्जनसंसदि।।११।।
अध्यात्मज्ञाननित्यत्वं
तत्त्वज्ञानार्थदर्शनम्।
एतज्ज्ञानमिति
प्रोक्तमज्ञानं यदतोSन्यथा।।१२।।
(मानशून्यता, घमण्डहीन, अहिंसा, क्षमता, सरलता, सत्
गुरुसेवा, भित्र बाहिरको पवित्रता, चित्त स्थिरता, मनोनिग्रह, इन्द्रियहरुका
विषयमा वैराग्य, अहंकाररहित, जन्म, मृत्यु, बृद्ध अवस्था, रोग, दु:ख-दोषहरुको
निरन्तर बिचार, घर, पुत्र, स्त्री, आदिमा रहेको आसक्तिको परित्याग, दु:ख र सुखमा
समान भाव रहनु, ममा अनन्य ध्यानयोगले अटल भक्ति तथा एकान्त र शुद्ध स्थानमा बस्नु,
विषयमा आसक्ति राख्नेहरुको सम्पर्कमा नरहनु, आध्यात्म ज्ञानमा नित्य स्थित रहनु,
तत्व ज्ञानका लागि परमात्मालाई सर्वत्र देख्नुलाई ज्ञान र जो यसको विपरित छ
त्यसलाई अज्ञान भनिएको छ।)
ज्ञेयं
यत्तत्प्रवक्ष्यामि यज्ज्ञात्वामृतमश्नुते।
अनादि मत्परं ब्रह्म
न सत्तन्नासदुच्यते।।१३।।
(जो जान्ने योग्य छ
तथा जसलाई थाहा पाएर मोक्ष-परम आनन्द प्राप्त हुन्छ त्यो म तिमीलाई भन्छु र त्यो
जान्ने योग्य अनादि परम ब्रह्मलाई न त सत् न त असत् भन्ने गरिन्छ।)
सर्वत: पाणिपादं तत्
सर्वतोSशिरोमुखम्।
सर्वत:
श्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति।।१४।।
(त्यो ब्रह्म चारैतिर हात, गोडा, आँखा, शिर, मुख,
कान भएको छ र जगत् मा सबै वस्तुहरुमा व्याप्त भएर अवस्थित छ।)
सर्वेन्द्रियगुणाभासं
सर्वेन्द्रियविवर्जितम्।
असक्तं सर्वभृच्चैव
निर्गुणं गुणभोक्तृ च।।१५।।
(त्यो ज्ञेय वस्तु सबै इन्द्रियहरु एवं गुणहरुलाई
जान्ने छ तर स्वयं भने प्राकृतिक इन्द्रियहरु नभएको छ। त्यो अनाशक्त भएर पनि सबैको
पालक छ र प्राकृतिक गुण रहित भएता पनि संधै ऐश्वर्य गुणहरुको भोगकर्ता छ।)
बहिरन्तश्च
भूतानामचरं चरमेव च।
सूक्ष्मत्वात्तदविज्ञेयं
दूरस्थं चान्तिके च तत्।।१६।।
(त्यो तत्व वस्तु सबै प्राणीहरुमा भित्र र बाहिर
उपस्थित छ। त्यसैबाट चर अचर जगतको अस्तित्व छ। त्यो ज्यादै शुक्ष्म भएकोले देख्न
सकिंदैन तथा एकै पटक टाढा र नजिक अवस्थित रहेको छ।
अविभक्तं च भूतेषु
विभक्तमिव च स्थितम्।
भूतभर्तृ च
तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च।।१७।।
(त्यो वस्तु अविभक्त
भएता पनि सबै प्राणीहरुमा विभक्त झै भएर अवस्थित छ। तिमी त्यो वस्तुलाई सबै
प्राणीहरुको श्रृष्टिकर्ता, पालक एवं संघारक हो भनी जान।)
ज्योतिषामपि
तज्ज्योतिस्तमस: परमुच्यते।
ज्ञानं ज्ञेयं
ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम्।।१८।।
(ऊ सबै चम्किला वस्तुहरुमा उज्यालोको स्रोत हो। ऊ अन्धकारदेखि पर छ। ऊ ज्ञान र ज्ञानको विषय वस्तु हो जुन सबैको
हृदयमा व्याप्त छ। यसलाई ज्ञानद्वारा प्राप्त गर्न सकिन्छ।)
इति क्षेत्रं तथा
ज्ञानं ज्ञेयं चोक्तं समासत:।
मद्भक्त एतद्विज्ञाय
मद्भावायोपपद्यते।।१९।।
(यस किसिमले क्षेत्र
र ज्ञान तथा ज्ञेयको बारेमा संक्षेपमा वर्णनन् गरियो। मेरा भक्तहरुले यी विषयहरु
जानेर प्रेमा भक्ति प्राप्त गर्न सक्षम हुन्छन।)
प्रकृतिं पुरुषं चैव
विद्ध्यनादी उभावपि।
विकारांश्च
गुणांश्चैव विद्धि प्रकृतिसम्भवान्।।२०।।
(प्रकृति र
पुरुष-जीव आत्मा यी दुबैलाई अनादि जान। बिकारहरु र गुणहरु पनि प्रकृतिबाट नै
उत्पन्न भएको जान।)
कार्यकारणकर्तृत्वे
हेतु: प्रकृतिरुच्यते।
पुरुष: सुखदु:खानां
भोक्तृत्वे हेतुरुच्यते।।२१।।
(प्रकृतिलाई भौतिक
शरीर र अंगहरुको उत्पादक भनिएको छ र पुरुषलाई सुख र दु:ख अनुभवको कारण भनिएको छ।)
पुरुषा: प्रकृतिस्थो
हि भुंक्ते प्रकृतिजान् गुणान्।
कारणम गुणसंयोSस्य सदसद्योनिजन्मसु।।२२।।
(प्रकृतिमा अवस्थित भएर नै पुरुषले प्रकृतिबाट
उत्पन्न भएका गुणहरुको आनन्द- भोग प्राप्त गर्दछ। प्रकृतिको गुणहरुसितको सम्बन्ध
नै जीव आत्माहरु असल र खराब गर्भमा जन्मिनुको कारण बन्दछ)
उपद्रष्टानुमन्ता च
भर्ता भोक्ता महेश्वर:।
परमात्मेति
चाप्युक्तो देहेSस्मिन् पुरुष: पर:।।२३।।
(पुरुष, यो शरीरमा
जीवआत्मादेखि भिन्न रहेता पनि पुरुषलाई साक्षी हुनाले उपद्रष्टा, सम्मति दिने
हुनाले अनुमतिदाता, सबैलाई धारण गर्ने हुनाले भर्ता, जीव रुपमा भोक्ता, ब्रह्मा
आदिको स्वामी भएको हुनाले महेश्वर र सच्चिदानन्द हुनाले परमात्मा पनि भन्ने
गरिन्छ।)
य एवं वेत्ति पुरुषं
प्रकृतिं च गुणै: सह।
सर्वथा सर्तमानोSपि न स भूयोSभिजायते।।२४।।
(जसले यसप्रकार
पुरुषलाई र गुणहरुका साथ प्रकृतिलाई जान्दछ ऊ जड जगत् मा रहेता पनि उसले पुनर्जन्म
प्राप्त गर्दैन। यही स्थितिमा पनि मोक्ष प्राप्त गर्दछ।)
ध्यानेनात्मनि
पश्यन्ति केचिदात्मानमात्मना।
अन्य सांख्येन योगेन
कर्मयोगेन चापरे।।२५।।
(भक्तहरुले भगवत –चिन्तनद्वारा
आफैले आफ्नो हृदयमा परमपुरुषको दर्शन गर्छन्। ज्ञानीहरुले साँख्ययोग, योगीहरुले
असाँख्ययोग द्वारा तथा कसै कसैले निष्काम कर्ययोगद्वारा पनि परमपुरुषकोदर्शनको कोसिसि गर्दछन।)
अन्ये त्वेवमजानन्त:
श्रुत्वान्येभ्य उपासते।
तेSपि चातितरन्त्येव मृत्युं श्रुतिपरायणा:।।२६।।
(तर कसै कसैले भने यी तत्वहरु नजानेर, अरु आचार्यहरुद्वारा
सुनेर नै पनि परमपुरुषको उपासना गर्दछन्। तर त्यसरी उपासना गर्नेहरुले पनि मृतलाई
निसन्देह पार गर्दछन्, मोक्ष प्राप्त गर्दछन्।)
यावत् सञ्जायते
किञ्चित् सत्त्वं स्थावरजंगमम्।
क्षेत्रक्षेत्रज्ञसंयोगता
तद्विद्वि भरतर्षभ।।२७।।
(हे भरतर्षभ, सम्पूर्ण जे जति स्थावर र जंगम
वस्तुहरु उत्पन्न हुन्छन् ती क्षेत्र र क्षेत्रज्ञका संयोगले उत्पन्न भएका हुन भनी
जान।)
(नोट: भरतर्षभ
भन्नाले भरतवंशीहरुमा सर्वश्रेष्ठ, स्थावर एवं जंगम भन्नाले चेतन एवं अचेतन तत्व र
क्षेत्रज्ञ भन्नाले क्षेत्रको ज्ञाता हो। यस अर्थमा क्षेत्र भनेको शरीर र
क्षेत्रज्ञ भनेको आत्मा हो भनेर बुझ्न सकिन्छ।)
समं सर्वेषु भूतेषु
तिष्ठितं परमेश्वरम्।
विनश्यत्स्वविनश्यन्तं
य: पश्यति स पश्यति।।२८।।
(जसले नष्ट हुने सम्पूर्ण प्राणीहरुमा समभावले
अवस्थित, नाशभएर जाने प्राणीहरुमा कहिले नाश नहुने परमेश्वरलाई देख्दछन् तिनीहरु
नै यथार्थ द्रष्टा हुन।)
समं पश्यन् हि
सर्वत्र समवस्थितमीश्वरम्।
न
हिनस्त्यात्मनात्मानं ततो यति परां गतिम्।।२९।।
(किनभने सबैमा
समभावले अवस्थित रहेको परमेश्वरलाई देखेर आफूले स्वयंलाई घात गर्दैन र त्यसले परम
गति प्राप्त गर्दछ।)
प्रकृत्यैव च
कर्माणि क्रियमाणानि सर्वश:।
य: पश्यति
तथात्मानमकर्तारं स पश्यति।।३०।।
(जसले सम्पूर्ण कर्महरुलाई सबै किसिमबाट
प्रकृतिद्वारा गरिएको र आत्मालाई कर्ताको रुपमा देख्दैनन् यथार्थ देख्ने तिनीहरु
नै हुन।)
यदा
भूतपृथग्भावमेकस्थमनुपश्यति।
तत एव च विस्तारं
ब्रह्म सम्पद्यते तदा।।३१।।
(जब उनीहरुले
प्राणीहरुका फरक फरक भावलाई एउटै प्रकृतिमा अवस्थित एवं त्यही प्रकृतिबाट फरक फरक
किसिमले उत्पन्न भएको जान्दछन् तिनीहरुले नै ब्रह्म भाव प्राप्त गर्दछन्।)
अनादित्वान्निर्गुणत्वात्
परमात्मायमव्यय:।
शरीरस्थोSपि कौन्तेय न करोति न लिप्यते।।३२।।
(हे कौन्तेय, अनादि
तथा नर्गुण भएकोले यो अविनाशी परमात्मा जीवहरुको शरीरमा रहेर पनि न कर्म गर्छ र न
कर्मफलमा लिप्त नै हुन्छ।)
यथा सर्वगतं
सौक्ष्म्यादाकाशं नोपलिप्यते।
सर्वत्रावस्थितो
देहे तथात्मा नोपलिप्यते।।३३।।
(जसरी चारैतिर
व्याप्त भएको आकाश सूक्ष्म भएको हुनाले लिप्त हुँदैन त्यसै गरी परमात्मा पनि देहमा सर्वत्र रहेर पनि दैहिक गुण
एवं दोषमा लिप्त हुँदैन।)
यथा प्रकाशयत्येक:
कृत्स्नं लोकमिमं रवि:।
क्षेत्रं क्षेत्री
तथा कृत्स्नं प्रकाशयति भारत।।३४।।
(हे भारत, जसरी एउटा
सूर्यले सारा जगत् लाई प्रकाशित गर्दछ त्यस्तै गरी एउटै परआत्माले सम्पूर्ण
क्षेत्र-शरीर लाई प्रकाशित गर्दछ।)
क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं
ज्ञानचक्षुषा।
भूतप्रकृतिमोक्षं च
ये विदुर्यान्ति ते परम्।।३५।।
(यसप्रकार जसले
ज्ञानका आँखाहरुबाट शरीरमा रहेको क्षेत्र र क्षेत्रज्ञको फरकलाई एवं विकार रहित
प्रकृतिबाट मोक्ष पाउने तरिकाहरु ज्ञानीहरुद्वारा थाहा पाउँछन उनीहरु परब्रह्ममा
प्राप्त हुन्छन्, जन्म-मृत्युको संसारबाट मुक्ति-मोक्ष पाउँछन्।)
तेर्हौ
अध्यायको व्याख्या
यस अध्यायमा आत्मा, शरीर, ज्ञान र ज्ञानका
वस्तुहरूको बारेमा स्पष्ट पारिएको छ।
यस तेर्हौ अध्यायको प्रथम श्लोकमा नै अर्जुनले, “हे केशव, मलाई
प्रकृति, पुरुष र क्षेत्रको ज्ञाता र ज्ञानको वस्तुबारे थाहा पाउने इच्छा
छ” भन्दै ज्यादै गहन र अति महत्वपूर्ण जिज्ञासा राखेका छन्।
अर्जुनको प्रश्नम भगवान् श्रीकृष्ण भन्नु हुन्छ,
“प्रकृति र पुरुष
(पुरुषको अर्थ जीव आत्मा लगाइएको छ), यी दुबैलाई
अनादि जान। विकारहरू र गुणहरू पनि प्रकृतिबाट नै उत्पन्न भएको जान। प्रकृतिलाई
भौतिक शरीर एवं अङ्गहरूको उत्पादक भनिएको छ र पुरूषलाई सुख र दु:खको अनुभवको कारण
भनिएको छ। प्रकृतिमा अवस्थित भएर नै पुरुषले प्रकृतिबाट उत्पन्न भएका गुणहरूको
आनन्द (भोग) प्राप्त गर्दछ। प्रकृतिको गुणहरूसितको सम्बन्ध नै जीव आत्माहरू असल र
खराब गर्भमा जन्मिनुको कारण बन्दछ।”
यहाँ प्रकृति माटो, वायु, अकाश, वर्षा, वनस्पति,
अन्न, वातावरण आदि र यिनीहरूको संयोगलाई भनिएको छ। मनुष्य एवं
जीवहरुमा विकार एवं गुणहरू प्रकृतिबाट नै उत्पन्न हुन्छन् र प्रकृतिले नै भौतिक
शरीरहरुको उत्पादन गर्दछ। यसरी प्रकृतिलाई एक माध्यमको रुपमा बयान गरिएको छ।
पुरुषको अर्थ भने लिङ्गको रुपमा नभइ आत्माको
रुपमा लगाइएको छ। आत्मालाई ईश्वरको अर्को रुपका साथै आत्मालाई एक कहिले नाश नहुने ऊर्जाको रुपमा पनि
बयान गरिएको छ। आत्मालाई एक अविनाशी ऊर्जाको रुपमा बयान गर्नै गीताको यो अति नै
मननीय दृष्टिकोण हो। अहिलेको यो अति भौतिकवादी युगले पनि आत्मालाई एक ऊर्जा
मान्दछ र ऊर्जा कहिले पनि नष्ट हुँदैन भन्ने कुरामा विश्वास गर्दछ। यसप्रकार
अहिलेको यो सत्यलाई गीताले हजारौ हजार वर्ष पहिले नै बयान गरिदिएको छ। यो आफैमा एक
गहन अध्ययनको विषय हो। त्यसकारण गीताले विज्ञानसँग पनि गहिरो सम्बन्ध राख्दछ।
त्यसकारण गीता केवल एक धार्मिक पुस्तक होइन भन्ने तथ्यको पुन: पुन: पुष्टि हुन्छ।
गीतामा पुरुष (आत्मा) लाई ईश्वरको
रुपमा यस प्रकार भनिएको छ, “पुरुष, यो शरीरमा जीवआत्मादेखि भिन्न रहेता पनि पुरुष साक्षी
हुनाले उपद्रष्टा, सम्मति दिने हुनाले अनुमतिदाता, सबैलाई धारण गर्ने हुनाले
भर्ता, जीव रुपमा भोक्ता, ब्रह्मा आदिको स्वामी भएको हुनाले महेश्वर र सच्चिदानन्द
हुनाले परमात्मा पनि भन्ने गरिन्छ।”
आत्मालाई एक ऊर्जाको रुपमा भने यस प्रकार बयान
गरिएको छ, “त्यो
तत्व वस्तु (आत्मा) सबै प्राणीहरूमा भित्र र बाहिर उपस्थित छ। त्यसैबाट चर अचर
जगतको अस्तित्व छ। त्यो ज्यादै सूक्ष्म भएकोले देख्न सकिँदैन तथा एकै पटक टाढा
र नजिक अवस्थित रहेको छ। त्यो वस्तु (आत्मा) अविभक्त भएता पनि सबै प्राणीहरूमा
विभक्त झै भएर अवस्थित छ। तिमी त्यो वस्तुलाई सबै प्राणीहरूको श्रृष्टिकर्ता, पालक
एवं संहारक हो भनी जान।”
आत्मालाई एक ज्यादै नै सूक्ष्म वस्तु भएकोले
देख्न सकिँदैन भन्नुले आत्मालाई एक अविनाशी ऊर्जाको रुपमा लिइएको प्रष्ट हुन आउँछ।
आत्मालाई एक ऊर्जाको रुपमा लिनु गीताको भौतिकवादी एवं अति प्रगतिशील दृष्टिकोण हो।
अहिलेको यो अति वैज्ञानिक एवं आधुनिक भौतिकवादी दृष्टिकोणसँग गीतामा गरिएको चिन्तन
ठ्याक्कै मेल खान्छ। यसकारण गीताले समाजलाई रूढीवादी होइन प्रगतिशील बनाउँछ। यदि
कहिँ कतै रुढी, जातीयवादी, कर्मकाण्डी किसिमले गीताको व्याख्या गरिएको छ भने त्यो
व्याख्याताहरूको दोष हो, गीताको होइन। गीता एक आध्यात्मिक साहित्य भएता पनि यसका
विचार र सन्देशहरू यथार्थ र भौतिक दृष्टिकोणमा आधारित छन्। गीता धर्मभन्दा पनि फरक
र माथि छ। धर्मले विभिन्न धार्मिक एवं बौद्धिक व्यक्तिहरूको व्याख्या वा
विचारलाई समेटेको हुन्छ त्यसकारण धर्म विभिन्न व्यक्तिहरूको विचार र
दृष्टिकोणहरुको दस्ताबेज हो। तर गीता भगवान् कृष्ण स्वयंबाट भनिएका सर्वकालीन सत्यहरूको
विशाल सनातन सन्देश-संग्रह हो। ईश्वर अनादि हुन तर धर्म आदि हो। धर्मको आयु हुन्छ।
धर्मको जन्म र मृत्यु दुबै हुन्छ। ईश्वरको मृत्यु हुन्छ भन्नु भूल हो। धर्म
विभिन्न समयमा, विभिन्न व्यक्तिहरूले बनाएका हुन्, व्याख्या गरेका हुन्। धर्म
व्यक्तिको दिमागको उपज हो। त्यसकारण धर्ममा व्यक्ति र समाजको सही र खराब दुबै
कुराहरू समेटिएको हुन्छ। तर ईश्वरको जन्म भएको होइन। विभिन्न शक्तिहरूको रुप नै
ईश्वरहो। ईश्वरको व्याख्या कसैको शब्दभित्र पर्दैन।
गीतामा क्षेत्रको बारेमा यसप्रकार भनिएको छ।
भगवान् श्रीकृष्णले भन्नु भएको छ, “हे कौन्तेय, यो शरीरलाई क्षेत्र भन्ने गरिन्छ।
जसलाई यो शरीरको बारेमा थाहा छ त्यसलाई क्षेत्रको ज्ञाता भन्ने गरिन्छ। हे भारत, म
सबै शरीरहरूमा ज्ञाता पनि हुँ भन्ने थाहा पाइ राख। यो शरीर र यो शरीको ज्ञाता बारे
थाहा पाउनुलाई ज्ञान भन्ने गरिन्छ। यो मेरो बिचार हो।”
ज्ञान के हो भन्नेबारेमा भगवानले यसप्रकार प्रष्ट
पार्नु भएको छ, “मानशून्यता, घमण्डहीन, अहिंसा, क्षमता, सरलता, सत् गुरुसेवा,
भित्र बाहिरको पवित्रता, चित्त स्थिरता, नियन्त्रित मन, इन्द्रियहरूका विषयमा
वैराग्य, अहङ्काररहित, जन्म, मृत्यु, बृद्ध अवस्था, रोग, दु:ख-दोषहरूको निरन्तर
बिचार, घर, पुत्र, स्त्री, आदिमा रहेको आसक्तिको परित्याग, दु:ख र सुखमा समान भाव
रहनु, ममा अनन्य ध्यानयोगले अटल भक्ति तथा एकान्त र शुद्ध स्थानमा बस्नु, विषयमा
आसक्ति राख्नेहरूको सम्पर्कमा नरहनु, आध्यात्म ज्ञानमा नित्य स्थित रहनु, तत्व
ज्ञानका लागि परमात्मालाई सर्वत्र देख्नुलाई ज्ञान र जो यसको विपरित छ त्यसलाई
अज्ञान भनिएको छ।” यस प्रकार गीतामा ज्ञानको परिभाषा अति अर्थपूर्ण एवं सुन्दर
किसिमले लगाइएको छ। गीतामा उल्लेख गरिएका ज्ञानले सम्पूर्ण मानव समुदायलाई नै
ज्ञानी, त्यागी र कर्ययोगी बनाउँछ। यसले सारा सृष्टि, सम्पूर्ण जीव र जगत्को भलो
गर्ने बाटाहरू देखाउँछ। निष्कर्षमा भन्ने हो भने गीता मानव र जगत् कल्याण सँग
सम्बन्धित छ।
क्षेत्र वा शरीरका कार्यहरूका बारेमा गीतामा
यसप्रकार भनिएको छ। यो संसार, १. पृथ्वी २. पानी ३. आगो ४. वायु ५. आकाश गरी पाँच तत्वहरूबाट बनेको छ। यी पाँच
तत्वहरूलाई पंच-महाभूत पनि भन्ने गरिन्छ। १. आँखा २. कान ३. नाक ४. जिब्रो ५. छाला गरी पाँच चेतना वा ज्ञान प्राप्त गर्ने अङ्गहरु
छन्। यसैगरी १. हात २. खुट्टा ३. आवाज ४. मलद्वार ५. प्रजनन् अङ्ग,
यी पाँच कार्य गर्ने चेतनाहरू छन्। १. घ्राण २. स्वाद ३. आकार ४. स्पर्श ५. ध्वनी गरी चेतनाका पाँच माध्यमहरू छन्। यी
माध्यमहरूलाई पंच-मन्त्र पनि भन्ने गरिन्छ। १. मष्तिष्क २. ज्ञान ३. अहंम् ४. प्रकृति, गरी अन्य चार तत्वहरू पनि छन्। सबै यी २४ तत्वहरूलाई
जोड्दा, तिनीहरूको जोड नै क्षेत्र वा
शरीरका क्रिया अथवा गतिविधिहरू हुन्। यी चौबिस तत्वहरूले नै मानव शरीर सँग क्रिया
एवं अन्तर क्रियाहरू गर्दछन्।
पाँच ज्ञान प्राप्त गर्ने अङ्गमा पाँच कार्य
गर्ने चेतना मिलाएर त्यसमा मन जोड्दा त्यो “दश्याएकम्” हुने भनी भगवान् कृष्णले
भन्नु भएको छ।
यस किसिमले अति वैज्ञानिक दृष्टिकोबाट तार्किक
विवरणका साथ यो जगत्को निर्माण एवं यस भित्रका तत्वहरूलाई गीतामा व्याखा गरिएको छ।
गीतामा, यस सृष्टिको वा जीवन एवं जगत्को अति सूक्ष्म किसिमले अवलोकन गरिएको छ।
गीता एक दर्शन पनि हो।
तेरौ अध्याय समाप्त
No comments:
Post a Comment