ऊर्ध्वमूलमध:शाखमश्वत्थं प्राहुरव्ययम्।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स
वेदवित्।।१।।
पन्द्रौं
अध्यायको व्याख्या
यो क्षर (नाश भएर जाने प्राणीहरू बसोबास
गर्ने स्थान) संसार अति नै दु:खदायी छ। र क्षर संसार दु:खदायी भएकोले नै अनौठो
पनि छ। अर्थात अनौठो भएको कारणले यो
दु:खदायी छ। यो संसार अनौठो र दु:खदायी भएको हुनाले नै यस संसारलाइ अनौठो किसिमको
पिपलको रुखसँग तुलना गर्दै यस अध्यायमा भनिएको छ, “यो संसाररुपि पिपलको वृक्ष
अविनाशी छ भनी शास्त्रहरूमा भनिएको छ। यो वृक्षको माथिको जरा आदि पुरुष, तलको शाखा
ब्रह्मरुप र पातहरु वेद हुन्। यो वृक्षलाई जसले जान्दछ त्यो वेदवेत्ता हो। तिन
गुणहरूद्वारा बाँधिएको त्यस संसार-वृक्षको विषयरुप पातयुक्त शाखाहरू मनुष्य, पशु
इत्यादि निम्न योनीहरूमा र देवताहरू उच्च योनीमा फैलिएका छन्। कर्मफल- कर्म
प्रवाहजनक भोग वासनारुपी जराहरू तलतिर र निरन्तर विकसित भइरहेका छन्।
यस वृक्षको वास्तविक स्वरुपलाई यस संसारमा बुझ्न
सकिंदैन। यो कहाँ समाप्त हुन्छ, कहाँ सुरु हुन्छ र कहाँ अवस्थित छ भन्ने कुरा
कसैले बुझ्न पनि सक्दैन। तर मोहत्याग रुपि हतियार द्वारा दृढ निश्चय भएको
व्यक्तिले भने यो बलियो गरी जरा गाडेको रूखलाई काटेर ढाल्न सक्छ। त्यसकारण त्यस्तो
स्थानको खोजी गर्नुपर्दछ जहाँ पुगेर फर्किनु पर्दैन र त्यहा पुगेर आफूलाई त्यो
परमेश्वरमा समर्पित गर्नु पर्दछ जसले अति प्राचीन समयदेखि सम्पूर्ण कुराहरूको
विस्तार गर्नु भएको छ।”
यस पन्द्रौ अध्यायको यो पहिलो श्लोक अति नै
अर्थपूर्ण छ। पहिलो श्लोकमा भगवान भन्नु हुन्छ, “यो संसाररुपि पिपलको वृक्ष
अविनाशी छ भनी शास्त्रहरूमा भनिएको छ। यो वृक्षको माथिको जरा आदि पुरुष, तलको
शाखा ब्रह्मरुप र पातहरू वेद हुन। यो वृक्षलाई जसले जान्दछ त्यो वेदवेत्ता
हो।” सामान्यतया कुनै पनि वृक्षको जराहरू तल हुन्छन र रूखको मुल संरचना र शाखाहरू
माथि वा अकासतर्फ फर्केका हुन्छन्। तर यहाँ भगवान्ले विश्वरुपि पिपलको वृक्षको
अनौठो प्रकृति प्रस्तुत गर्नु भएकोछ। भगवान् भन्नु हुन्छ कि यो संसाररुपि वृक्षका
जराहरू माथि आकासतिर फैलिएका छन्। यो भनाइको अर्थ के हो भने आकासतर्फ फर्केका
जराहरू इश्वरका नै रुपहरू हुन। ती आत्माहरू हुन जो परमात्मामा मिल्दछन्। यी जराहरूको
सृजना भगवान स्वयंबाट भएको हो। यिनलाई रक्षा र स्थिरता भगवानले प्रदान गर्नु भएको
छ। जराहरूले
रुखलाई अड्याउने काम गर्छन। भगवानले नै जरा बनेर यो रुखलाई अड्याउनु भएको छ।
भगवान् भन्नु हुन्छ कि त्यस वृक्षको तलको शाखा
ब्रह्मरुप हो। यहाँ ब्रह्मरुप भनेको (तलतिर रहेका यस वृक्षको ) मूल संरचन र
शाखाहरू शरीरधारी जीव आत्माहरू फैलिएको भौतिक संसार हो। यो भौतिक संसारका
प्राणीहरू आफ्नो कर्मफलद्वार बाँधिएका हुन्छन्। यिनीहरूमा मोह,लालसा, घमण्ड आदि
भएकोले यिनीहरू यो संसारमा नै फेरि फेरि जन्म लिन्छन। यी गुणहरूले नै यो संसारमा
बस्न यिनीहरूलाई बाध्य पार्छन्। अर्थात जन्म मृत्युको यो अटुट चक्रबाट बाहिर आउन
सक्तैनन्।
भगवान्ले विश्वरुपि यो पिपलका पातहरूलाई वेद हुन
भन्नु भएकोछ। यो भनाइको आशय के हो भने ती पातहरु ज्ञान हुन। सत्य र असत्य, यथार्थ
र भ्रम, लालसा र त्याग आदि बीच भेद छुट्याउन आवश्यक पर्ने महत्वपूर्ण ज्ञानहरू हुन्।
यी ज्ञानरुपि पातहरूलालई जसले अध्ययन गरेका छन्, जसले यो भौतिक संसारलाई बुझेका
छन् ती ज्ञानीहरू हुन, महात्माहरू हुन। उनीहरूले क्षणभंगुर यो भौतिक संसारलाई
बुझेका छन्। त्यसकारण यिनीहरू वेदज्ञ पनि हुन। र यिनीहरूले यो मायारुपी संसारको
प्रकृति बुझेर मायरुपि गुणहरूद्वारा नबाधिएर मोक्ष प्राप्त गर्छन्। यहाँ मोक्ष
प्राप्त गर्छन भनेर के भन्न खोजिएको हो भने त्यागी वा सन्यासीको जीवन बिताएर
जीवनभर र मृत्युको समयमा पनि मानसिक पीडा भोग्ने स्थिति बेहोर्दैनन्। सुख र दु:खमा
समान भाव राखि आनन्दित जीवन यापन गर्छन्।
यहाँ बुझ्नु पर्ने अति महत्वपूर्ण कुराहरू के छन्
भने यस पिपल वृक्षका आकाशतिर फर्केका जराहरू पहिलेदेखि नै ऐश्वर्य संसारमा छन। यो
त्यस्तो संसार हो जहा जीवन र मृत्यु छैन्। सुख र पीडा पनि छैन्। यो संसार ईश्वरमालीन
छ। आध्यात्मवादी दृष्टिकोणले हेर्ने हो भने त्यो देवताहरू बस्ने स्वर्ग हो वा
स्वर्ग सरह हो। भौतिकवादी दृष्टिकोणले हेर्ने हो भने त्यो संसार ऊर्जाको भण्डार
हो। यो त्यस्तो ऊर्जाको भण्डार हो जुन शरीरधारी जीवहरूको शरीर भित्र प्राण बनेर
बसेको हुन्छ। प्राण आफैमा एक ऊर्जा हो। प्राण ऊर्जा भएको हुनाले नै यसले सुख र
पीडाको अनुभूति गर्न सक्तैन। यो आधुनिक भौतिकशास्त्रले पनि विश्वास गर्दछ। पाठकहरूले
आध्यात्मवादी वा भौतिकवादी दृष्टिकोण राखेर यो पिपल वृक्षको अकाशतिर फैलिएका
जराहरू वा माथिको संसारबारे धारणा स्वयंले बनाउन सक्नु हुन्छ पनि।
यसैगरी यस पिपल वृक्षको तलतिर फर्केका वा भूमितिर
गएका शाखाहरू भौतिक संसार हो। यो भौतिक संसारका जीवहरू आफ्नो कर्मद्वारा बाँधिएर
यो संसारमा नै पटक पटक जन्म लिन्छन र पटक पटक मर्छन पनि। यो संसारका प्राणीहरू
जीवन मृत्युको चक्रमा रुमलिएर सँधै भरि यो संसारमा बस्छन। अर्थात लोभ, मोह,
स्वार्थको संसारमा रुमलिएर जीवनभर मानसिक कष्ट पीडा उठाउँछन् साथै मृत्युको समयमा
पनि अनेक किसिमका पश्चाताप र चिन्तामा घेरिएका हुन्छन् पनि। किनभने जीवनभर जीवनको
लडाइ जित्न अनेक किसिमका छल, कपट, धृर्त्याइ एवं अनेक पाप कर्महरू गरेका हुन्छन्।
तर यो पिपलरुपि वृक्षका पातहरू जुन वेदहरू भनी
उल्लेख गरिएका छन वा ज्ञानका संग्रहहरू हुन भनी प्रतिकात्मक रुपमा प्रस्तुत गरिएका
छन तिनीहरूले भने मोक्ष प्रदान गर्छन। अर्थात यी वेद वा ज्ञानहरूको अध्ययान गरेर
यो भौतिक संसारका जीव आत्माहरूले मोक्ष प्राप्त गर्न सक्छन्। यी ज्ञानहरूको अध्ययन
गरेर मानव समुदायले के बुझ्न सक्छ भने यो लोभ, मोह, लालसा, स्वार्थले भरिएको संसार
केवल क्षणिक सुखमा अल्झिएको छ। मानिसका पाँच इन्द्रियहरू आँखा, कान, नाक, छाल र
जिब्रोले केवल भोग विलास गर्न सिकाउँछन। जस्तै मोटो उसिना चामल खाए पनि पेट भर्छ,
भोक मर्छ र शरीरमा ताकत आउँछ नै तर मानिसलाई उसको जिब्रोले मसिनो बासमतीको चामल
खान भन्छ। जबकि बासमती चामलले पनि मोटो उसिना चामलको जति नै काम गर्ने हो। केवल बासमती
चामलले एउटा बढी काम गर्छ त्यो के भने यसले तृष्णा मिटाउँछ। यसरी जिब्रोले
अनावश्यक तृष्णाहरू सृजना गराउँछ। यसै गरी सवै इन्द्रियहरूले केवल शरीरलाई जीवित र
स्वस्थ्य राख्न तोकिएका कार्यहरू मात्र होइन, तृष्टा जगाउने कार्यहरू समेत पनि गर्छन।
यस अध्यायको पहिलो श्लोकको व्याखा धैरै
विद्वानहरूले लामो लामो गरेका छन्। ती सबै भनाइहरूको संक्षेपीकरण गर्ने हो भने, र सारमा
भन्ने हो भने यो पहिलो श्लोकको अर्थ हो यो भौतिक संसार अन्धकारमय छ। यसलाई उपयुक्त
किसिमले बुझ्नका लागि ज्ञानमय आँखा चाहिन्छ। त्यसकारण यसै संसारमा भएका (पिपलका
पातरुपि) ज्ञानहरूको राम्रो गरी अध्ययन गरेर जीवनलाई आनन्दित तुल्याउन सकिन्छ।
लोभ, मोह, क्रोध, घमण्ड, स्वार्थ आदि त्यागेर, सन्यासी जीवन बिताएर, जीवनलाई सुखमय
बनाउन सकिन्छ।
यो संसार लोभमोह, मारकाट, सक्ति संघर्ष, सक्ता
लिप्सा आदि आदिले भरिएको छ। जता ततै लडाई झगडा छ। आज, यो अध्यायको व्याखा
लेखिरहेको दिन (सन् २०१५) मा नै हेरो न, यमनमा मारकाट रोकिएको छैन्। नाजेरियामा
लडाई झगडा कायम नै छ। दुवै (विभाजित) सुडानको स्थिति पनि शान्तिमय छैन्। सिरियामा
भएको गृहयुद्धले करिब २ लाख नागरिकहरूको ज्यान लिइसक्यो। अति धार्मिक संगठन आइ. यस. ले हजारौको
हत्या गरेको छ। इरान र इजराइलले एक अर्कालाई शत्रु ठान्छन र एक अर्कोसँग शत्रुवत
व्यवहार गर्छन्। यमनमा पुगेर साउदी अरेबियाले बम वर्षा गराउँछ। गद्दाफीको पतन (मृत्यु
अक्टुबर २०, २०११) पछि पनि लिवियामा शान्ति आउन सकेको छैन्। गरिबी र अशान्तिले
गर्दा एरिट्रियाबाट दिनहु हजारौं व्यक्तिहरूले देश छाडिरहेका छन्। उनीहरूले अन्य
देशहरूमा शरण लिइरहेका छन्। शान्ति त दक्षिण अमेरिकी राष्ट्रहरूमा पनि छैन।
मेक्सिको देशको सरकार ड्रग लर्डहरूबाट पराजित झै देखिएको छ। कोलम्बियामा गृहयुद्ध
अझै चलिनै रहेको छ। एशियाको कुरा गरौं। भारतलाई नक्सलीहरूले दु:ख दिन छाडेका
छैनन्। बर्मामा शैनिक शासकहरूको जगजगी कायम नै छ। शैनिक शासकहरुले मानव अधिकारको
उलंघन ठूलो मात्रामा गरेका छन्। उत्तर
कोरियामा शासकहरूले वर्षौदेखि जनताको शोषण गररे नागरिकहरुलाई दास बनाएक छन्। नागरिकहरूको
मुखमा (वाक स्वतन्त्रता नरहेको) बुजो लगाइ दिएका छन्। युक्रेनको भूगाग, क्रिमियालाई, भ्लादमिर पुटिनका
शेनाहरूले रुसमा मिलाउँदा बाँकि संसारले केहि पनि गर्न सकेन। पाकिस्तानमा नागरिक
होइन वर्षोदेखि सेना नियन्त्रित सरकार छ। अफगानिस्तान अझै शान्त हुन सकेको छैन। त्यहाँ
तालिबानहरूले निर्दोष नागरिकहरूलाई निर्मम
किसिमले हत्या गरिरहेका छन्। इराकमा हरेक दिन कतै न कतै बम पडकेको खबर आउँछ। यसरी
यो संसार जुनबेला पनि युद्धमा छ। युद्ध, घमण्डले गर्दा भइरहेको छ। घमण्डलाई अज्ञानताले
जन्माइ रहेको छ। त्यसकारण असल ज्ञानका लागि असल शिक्षा उपलब्ध हुनु यो काटमारको
युगमा नितान्त आवश्यक भएको छ। गीताले त्येही ज्ञान दिन्छ। सात्विक विचार राखेर,
लोभ, मोह, क्रोध अहङ्कार त्यागेर, एक सन्यासीको जीवन विताउन भन्छ। सन्यासीको जीवन
बिताउनु नै यसै जीवनमा मोक्ष प्राप्त गर्नु हो।
आफ्नो आचारणमा सुधार ल्याएर, आफ्नो जीवनलाई समाज
उपयोगी बनाएर, यो काटमारले भरिएको संसारलाई शान्त पार्दे आफू पनि शान्त र अरु पनि
शान्तिसँग बस्ने तुल्याउन गीताले यो संसारको हरेक क्षेत्रको नागरिकलाई शिक्षा
दिन्छ। हुन पनि, संसार भरिका सबै व्यक्तिहरूले सात्विक विचार द्वारा आफ्नो आचारण
पनि सात्विक पार्ने हो भने, क्रोध, मोह, लोभ, स्वार्थ, घमण्ड, भ्रम आदि त्याग्ने
हो भने यो संसार शान्त र सबैले समान किसिमले बस्न पाउने हुन्छ। तर स्वार्थ, लोभ,
मोह, अहंम् आदि जस्ता मानिसमा सबार भएका शत्रुहरूले यो संसार केवल बलिया (आर्थिक, शारीरिक,
मानसिक र प्रशासनिक शक्तिहरूले सम्पन्न) व्यक्तिहरूका लागि सुखमय र कमजोर (आर्थिक,
शारीरिक, मानसिक र प्रशासनिक शक्तहरूले बिपन्न) व्यक्तिहरूका लागि दु:खमय हुन
पुगेको छ। हुन पनि यै संसारमा कुनै व्यक्तिसँग बाँच्नका लागि सयौं कोठा भएको र हरेक
प्रकारका भौतिक सुविधाहरूले सम्मपन्न विलासी घर छ भने कुनै अर्को व्यक्ति बेघरबार
त छ नै, सडकमा पनि ऊ शान्तिपूर्वक सुत्न पाउने स्थिति छैन्। यो अन्तरलाई हतियार
द्वारा होइन, विचार द्वारा हटाउन सकिन्छ। व्यक्तिहरूमा असल भावनाहरु जागृत गराएर
हटाउन सकिन्छ। गीताले त्येही असल भावनाहरू व्यक्तिहरूमा जागृत गराउने कार्य गर्दछ।
ज्ञानको बारेमा भगवान भन्नु हुन्छ, “जीव आत्माले
शरीर त्याग गरेको वा जीव आत्मा शरीरमा नै रहेको अज्ञानीहरूले अनुभूत गर्न सक्तैनन
र गुणहरूसँग आवद्ध भएर इन्द्रियहरूका सुखबाट आनन्दित हुन्छन्। तर ज्ञानका आँखा
हुनेहरूले भने देख्न र अनुभूत गर्न सक्छन्। अन्त:करण (हृदय) मा अवस्थित यो
आत्मालाई योगीहरूले यत्नद्वारा देख्न सक्छन तर अविवेकी एवं अज्ञानीहरू, जसको हृदय
पवित्र छैन, ले जतिसुकै प्रयत्न गरेता पनि देख्न सक्दैनन्।”
भगवान्को भनाइको आशय के हो भने ज्ञानीले यो
मायावी भौतिक संसारलाई राम्रो गरी बुझ्द छ र यो छली संसारका मायाहरू (लोभ, लालच,
घमण्ड, अहंकार, स्वार्थ, मोह आदि) लाई परित्याग गरेर सात्विक जीवन यापन गर्दछ तर
अज्ञानीले भने यो मायावी संसारलाई बुझ्न सक्तैन र पाँच इन्द्रियहरूले गराएका
आनन्दहरूलाई परम सुख मानेर भ्रममा बाँचिरहन्छ। आफूलाई सदा असन्तोषी तुल्याएर
जीवनलाई पीडामय तुल्याउँछ।
नित्य सत्कर्ममा लाग्न प्रेरित गर्दै यस अध्याको
करिब अन्ततिर भगवान् श्रीकृष्ण भन्नु हुन्छ, “जो ज्ञानीले मोहशून्य भएर मलाई
यसप्रकारले पुरुषोत्तम भनी जान्दछ त्यो सर्वज्ञ हो र उसले सर्वप्रकारले
मलाई नै भज्दछ।”
यो भनाइको अर्को अर्थ के पनि हो भने जो
निस्वार्थी छ, जसले आफूले गर्ने कार्यमा अरुको भलाई गर्ने उद्देस्य राख्दछ उसले जे
कार्य गरे पनि त्यो कार्य ईश्वरका लागि गरिएको ठहर्छ। त्यस्तो गर्ने व्यक्ति
समाजका लागि समर्पित रहेको ठहर्छ पनि।
No comments:
Post a Comment