आठौ अध्यायको
व्याख्या
यस आठौ अध्यायमा मुख्य गरी दुई महत्वपूर्ण
पक्षहरूमाथि प्रकाश पारिएको छ। पहिलो पक्ष हो मानव समुदायलाई असल कार्य गर्न
प्रेरति गर्नु र अर्को पक्ष हो विभिन्न शब्दहरूको अर्थ खुलाउनु।
यस अध्यायमा अर्जुनद्वारा राखिएका प्रश्नहरू, “हे
पुरुषोत्तम, ब्रह्म के हो? अध्यात्म के हो? कर्म के हो? अधिभूत तथा अधिदेवत कसलाई
भन्ने गरिन्छ? हे मधुसूदन, अधियज्ञको हुन? अधियज्ञ देहमा कसरी स्थित हुन्छन्? संयमित
चित्त भएका पुरुषहरूलाई उनीहरूको मृत्युको समयमा अधियज्ञ कसरी ज्ञात हुन्छ?”
अर्जुनदवारा राखिएका ती प्रश्नहरूको उत्तरम भगवान् श्रीकृष्ण भन्नु हुन्छ, “सँधै
विद्यमान, कहिले नष्ट नहुने परमतत्व जीव ब्रह्म हो। परम तत्वको अनादि प्रकृति
आध्यात्म हो। जीवहरूको भौतिक शरीरको विकाससँग सम्बन्धित कार्य नै कर्म हो। हे देहधारीमा
सर्वश्रेष्ठ अर्जुन, निरन्तर परिवर्तन भइरहने भौतिक प्रकृति अर्थात सबै नाशवान
वस्तुहरू अधिभूत हुन। ईश्वरको सर्वव्यापी रुप अर्थात देवताहरू जस्तै सूर्य, चन्द्र
अधिदेव हुन र म, महाईश्वर, जो प्रत्येक जीवधारीको शरीरमा परमात्माको रुपमा छु,
अधियज्ञ हो।”
यस सृष्टिमा दुई तत्वहरू छन्। अनादि, जसको न त
जन्म भएको हो न मृत्यु नै हुन्छ। चन्द्रमा, सूर्य, पृथ्वी, आकाश इत्यादि अनादि
हुन। पशु, पक्षी, जलचर, वृक्ष, वनस्पति इत्यादि आदि हुन। आदि तत्वहरूको प्रारम्भ
पनि हुन्छ र अन्त पनि हुन्छ। अर्थात आदि तत्वले जन्म लिन्छ र मृत्युमा प्राप्त
हुन्छ पनि। आदि तत्वहरू जीवन मृत्युको चक्रमा बाँधिएका रहन्छन। तर अनादि तत्वहरू सर्वकालीन
छन्। आयुहीन र मृत्युहीन छन्। र आदि तथा अनादि तत्वहरू भन्दा माथि पनि एक तत्व छ र
त्यो तत्वको रुपमा ब्रह्म रहेको छ। ब्रह्म तत्व सर्वश्रेष्ठ छ, सर्वकालीन छ र
सर्वव्यापी छ। ब्रह्मतत्व परम परमेश्वरको रुप हो।
भौतिकवादी सिद्धान्तले पनि यस सृष्टिमा जड
(प्राणहीन) र चेतना (प्राण) रहेको तथ्यलाई स्वीकार गर्दछ। यो सिद्धान्तले कहिले
नष्ट न हुने, केवल रुप मात्र परिवर्तन हुने वस्तुहरू यो पृथ्वीमा रहेको तथ्य
स्वीकार गर्दछ। यस किसिमका पदार्थहरूको अस्तित्वलाई नकार्दैन र आत्मा एक शक्ति हो
भन्ने कुरामा विश्वास पनि गर्दछ। आत्मा एक शक्ति वा ऊर्जा रहेको र यो कहिले पनि नष्ट
नहुने भनी भौतिकवादी चिन्तनले स्वीकार गरिसकेपछि आध्यात्मवादको विश्वास- आत्मा
परमात्माको अंश हो भन्ने विश्वाससँग भौतिकवादी चिन्तन ठ्याकै मिल्न आउँछ। रह्यो
अर्को, कुरा जुन आध्यात्मवादले भन्छ कि जीवन मृत्युको चक्र हुन्छ र प्राणीहरू यो
जीवन मृत्युको चक्रमा बाँधिएका छन्, यो पनि सर्वाकालीन सत्य हो। यो भनाई पनि
भौतिकवादी चिन्तनसँग ठ्याकै मेल खान्छ। त्यो कसरी मेल खान्छ भने भौतिकवादले पनि
पदार्थ कहिले नष्ट हुँदैन भन्ने कुरामा विश्वास गर्दछ। जब यो तथ्यमा विश्वास गर्दछ
भने यो पनि के मान्नु पर्ने हुन्छ भने प्राणीको शरीर यसै पृथ्वीमा रहेको पदार्थहरूबाट
बनेको हो र प्राणीको मृत्यु पछि पदार्थ यसै पृथ्वीमा नै रहन्छ र ती पदार्थहरूको
संयोगले नै फेरि अर्को जीव रूप को लिन्छ र त्यसमा आत्माको प्रविष्ठि हुन्छ। यसरी
पदार्थको कहिले पनि नष्ट नहुने स्थितिले गर्दा जीवहरूको जीवन मृत्यको चक्र हुन्छ
भन्ने कुरा मिल्न आउँछ।
यहाँ उल्लेखनीय कुरा त के छ भने हजारौं हजार वर्ष
पहिले लेखिएको गीतामा पनि पदार्थ र ऊर्जा एवं यिनका प्रकृतिहरूको बारेमा विशेष र
स्पष्ट किसिमले व्याखा गरिएको छ। भौतिकवादी दृष्टिकोण राख्ने व्यक्तिले यो ग्रन्थ
अर्थात गीता कुनै व्यक्तिद्वारा लेखिएको हो भन्ने निष्कर्ष निकाले पनि त्यो
व्यक्तिले यो मान्नु पर्ने हुन्छ कि त्यो प्रचीन युगमा पनि अणु, परमाणु, ऊर्जा,
पदार्थ र तिनीहरूका प्रकृति आदि बारे विशेष किसिमले अध्ययन तथा विश्लेषण गरिएको
रहेछ। तिनीहरूको बारेमा विशिष्ट ज्ञान आर्जन गरिएको रहेछ। यो स्वीकार गरे पछि
भौतिकवादीहरूले पनि गीता एक महान ग्रन्थ हो भनी मान्नु पर्ने स्थिति स्वत: उत्पन्न
हुन्छ। गीताको वैज्ञानिक पक्षलाई स्वीकार गर्नु पर्ने हुन्छ।
अन्य अध्यायहरूमा झै यस अध्यायमा पनि गीताका
उपदेशहरूले मानव उपयोगी एवं असल कार्यहरू गर्न विभिन्न किसिमका सर्वकालीन सत्य
सन्देशहरू दिएका छन्। यस अध्यायमा भनिएको छ, “मनुष्यले आफ्नो अन्तकालमा देहत्याग
गर्दा जुन जुन भाव स्मरण गर्दछ, त्यो त्यो भाव स्मरण गरेको हुनाले त्येही त्येही
भावमा ऊ प्राप्त हुन्छ।” यस भनाइको आशय के हो भने असल कार्य गर्ने व्यक्तिले
मृत्युको समयमा मानसिक पीडा अनुभव गर्नु पर्दैन तर कुकर्म गर्नेले व्यक्तिले
मानसिक पीडा अनुभव गर्नु पर्दछ। कुकर्म गर्नेहरूलाई मृत्युको समयमा उसका आफ्ना विगतमा
गरिएका कुकर्महरू मात्र स्मरण हुन्छ। हुन पनि त्यस्ता व्यक्तिहरूको स्मरणको भण्डार
कुकर्मले भरिएको हुन्छ। जीवनभर कुकर्म गरेको हुनाले सम्झनाको भण्डार कुकर्मले
भरिनु स्वभाविक पनि हो। तर सुकर्म गर्ने व्यक्तिको मानसिक स्थिति सुखद मात्र
हुँदैन ऊ मृत्युको भयबाट पनि डराउँदैन।
कुकर्म र सकुर्म के हो?
सुकर्म र कुकर्म दुबैको परिभाषा दिन सजिलो छैन्।
व्यक्ति, परिवार, समाज एवं देशले दिने परिभाषा यसबारे फरक फरक हुन सक्छ। कुनै
समाजमा विवाहपूर्व कुनै स्त्रीले कुनै पुरुषसँग शरीरिक सम्बन्ध राखेमा त्यस्तो
कर्मलाई जघन्य अपराध मानेर त्यस्तो गर्ने स्त्रीलाई बोरामा राखेर धेरै
व्यक्तिहरूले ढुँगाले हिर्काएर प्राण दण्ड दिने चलन छ। त्यसरी प्राण दण्डको सजाय
सुनाउने, ढुँगा हान्ने कार्य गर्ने र ढुँगा हानेर निर्मम किसिमले हत्या गरिएको
कार्यलाई उचित न्याय दिएको कार्य मानेर रमाउँदै हेर्नेहरुले के सुकर्म गरेको
मान्ने? होइन, यो पूर्णतया कुकर्म हो। प्राण दण्ड दिने, त्यस्तो दण्डमा सहभागी
हुने सबैले कुकर्म गरेका हुन। कुनै पनि व्यक्तिले कसैलाई पनि प्राण दण्ड दिन
पाउँदैन। कुनै पनि बहानामा दिन पाँदैन। जसले सृजना गरेको हो केवल उसले अर्थात
ईश्वरले मात्र प्राण दण्ड दिन पाउनु पर्दछ। ईश्वरका कर्ता कालले मात्र कसैलाई
मृत्युमा पुर्याउने अधिकार राख्दछ।
यसैगरी कुनै व्यक्तिले अति धर्म कमाउन कुनै
मन्दिरमा पुगेर आफ्नो तौल बराबर कुनै मन्दिरको प्रबन्ध समितिलाई सुन दान गरेको
सुनिन्छ। त्यसरी अति पुन्य आर्जन गर्न कुनै धनी मन्दिरलाई त्यति ठूलो परिमाणमा सुन
दान दिनु के सुकर्म गर्नु हो? यो कार्य पनि पटक्कै सुकर्म होइन। आफ्नो धार्मिक
स्वार्थका लागि गरिएको यस किसिमको कार्यलाई कसरी सुकर्म भन्ने?
त्यस्तो हो भने सुकर्म र कुकर्म के हो त? आफ्नो
स्वार्थको लागि नभएर सम्पूर्ण जीव र जगत्को हितका लागि कार्य गर्नु सुकर्म हो।
गरिब एवं दिन दु:खीको सेवा गर्नु सुकर्म हो। कुनै पनि उद्देश्यका साथ गरिएको हत्या
एवं हिंसा नगर्नु सुकर्म हो। अरूको शोषण गरेर धन थुपार्नु कुकर्म हो।
यस अध्यायमा केही अन्य उदेशहरु पनि अति अर्थपूर्ण
छन्। जस्तै, यस अध्यायमा भनिएको छ, “जसले भक्तियुक्त भइ अन्तकालमा पनि योगबलले
भृकुटीका मध्यमा प्राणलाई राख्दै निश्चल मनले ईश्वरको स्मरण गर्दछ त्यो परम पुरुषमा
प्राप्त हुन्छ। महात्माहरू ममा प्राप्त भएर दु:खको आश्रय रहेको अन्तहीन जन्मको
चक्रमा फेरि पर्नु पर्दैन किनभने तिनले परम सिद्धि प्राप्त गरेका हुन्छन्। ज्योति,
अग्नि, शुभदिन, शुक्लपक्ष, उत्तरायणकालको छ महिनामा मृत्यु हुने ब्रह्मवेत्ता
योगीहरू ब्रह्ममा प्राप्त हुन्छन्। धूम रात्री, कृष्णपक्ष, छ महिना रुप दक्षिणायन
काल, यिनका देवताहरूको मार्ग जाने योगीहरूले चन्द्र ज्योति स्वरुप स्वर्ग प्राप्त
गर्छन, त्यहाँ बस्छन बसिसके पछि फेरि यो संसारमा आउँछन्। वेदका अनुसार यस संसारबाट
जाने शुक्ल र कृष्ण गरी दुई मार्गहरू छन्।
शुक्ल मार्गबाट जानेले मोक्ष पाउँछ र उसले यो संसारमा पुन: फर्किनु पर्दैन भने
कृष्ण मार्गबाट जानेले फर्किनु पर्दछ।”
यी सबै भनाईहरूको आशय के हो भने जीवनभर सुकर्म
गरेको छ भने अन्त्यकालमा अर्थात मृत्युको समयमा पनि उसले, त्यस्तो व्यक्तिले, थप
पीडा भोग्नु पर्दैन। उसलाई मानसिक छटपटि हुँदैन र मृत्यु पनि स्वभाविक हुन्छ,
डरलाग्दो हुँदैन। यो मनोवैज्ञानिक कुरा हो र प्रमाणित नित्य सत्य पनि हो। हुन पनि
ठूला ठूला अपराधी, धोखेवाज, ठग, हत्यारा, तानाशाहरूको मृत्यु अत्यन्त पीडादायी एवं
अश्वभाविक किसिमले हुन्छ। हालै, केवल केही वर्ष अगाडिको घटनामा, इराकका शासक
सद्दाम हुसेन र लिबिया शासक गद्दाफीको मृत्यु अति नै डरलाग्दो एवं पीडादायी
किसिमले भएको खबर प्रकाशमा आएको थियो। इराकका राष्ट्रपति सद्दाम हुसेन, जसले करिब
पच्चिस वर्ष (१९७९-२००३) सम्म सत्तामा रहेर देशमा तानाशाही कायम गरेका थिए,
पीडादायी किसिमले सत्ताच्युत भए। तत्कालीन इराकी सरकारले उनलाई फाँसीको सजाय दियो।
तर उनले अधिकारीहरूसँग आफूलाई गोली हानी मार्न र एक योद्धाको रुपमा व्यवहार गर्न
अनुरोध गरेका थिए। अधिकारीहरूले उनको अनुरोध अस्वीकार गर्दै उनलाई ३० डिसेम्बर
२००६ मा फांसीमा दिएर उनको हत्या गरेका थिए। यसरी सद्दामले अस्वभाविक मृत्यु वरण
गरेका थिए।
सद्दामको झै स्थिति मुअमर गद्दाफीको पनि भएको
थियो। गद्दाफीले पनि लिबियामा करिब ४२ वर्ष (सन् १९६९- २०११) सम्म एक छत्र
तानाशाही कायम गरेका थिए। लिबियाली जनताद्वारा गरिएको गद्दाफी विरुद्ध सशस्त्र
संघर्षमा उनी सत्ताच्युत भए। त्यति मात्र होइन, आफू समातिनबाट जोगिनका लागि भागिरहँदाको
अवस्थामा गद्दाफी लिबियाको मिस्राटा भन्ने स्थानको एक बिद्रोही मिलिसिया द्वारा
समातिए। त्यो मिलिसियाले नै कुटी कुटी गद्दाफीको हत्या गर्यो। यस्तो भन्नेहरू धेरै
छन्। तर केहीले भने गद्दाफीले प्रतिकार गर्दा उनलाई गोली लागि सो गोलीद्वारा उनको
मृत्यु भएको भन्छन्। जे जसरी होस तर गद्दाफीको हत्या भयो। यसरी २० अक्टोबर २०११ मा
डरलाग्दो मृत्यु वरण गरेर गद्दाफीले आफ्नो दुष्कर्मको सजाए यस पृथ्वीमा नै पाए।
भगवान् श्रीकृष्णको अमृत वचन अनुरुप उनले मोक्ष पाप्त गरेरनन्। नर्कमा परे किनभने
जीवनको अन्तिम समयमा घोर मानसिक पीडा भोगे।
व्यक्तिले गरेका अनेक दुष्कर्म एवं कुकर्महरूले
नै पनि व्यक्तिलाई सजाय दिने हुनाले अमर गीताले सत् मार्गमा हिँड्न तथा असल चरित्र
धारण गर्न मानव समुदायलाई अमूल्य ज्ञान दिएको छ। गीताले मानव समुदायलाई निष्काम
कर्मयोगी हुन शिक्षा र ज्ञान दिन्छ। र प्रेरित पनि गर्छ।
No comments:
Post a Comment