Wikipedia

Search results

Monday, March 16, 2015

Geeta Chapter 12



भागवत गीता अध्याय १२
(भक्ति योग)

अर्जुन उवाच
एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते।
ये चाSप्यक्षरमव्यक्तं तेषां के योगवित्तमा:।।१।।

अर्जुन बिन्ति गर्छन्
(यस प्रकार योगयुक्त जुन भक्तहरु हजूरको उपासना गर्दछन् तथा जो अव्यक्त ब्रह्माको नै उपासना गर्दछन्, यी दुई थरिमा उत्तम योगवेत्ता को हुन?)

श्रीभगवानुवाच
मय्यावेश्य मनो मां नित्युक्ता उपासते।
श्रद्धा परयोपेतास्ते मे युक्ततमा मता:।।२।।

भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो
(जसले ममा मन लगाएर निरन्तर ध्यानमा रहि अति नर्गुणा श्रद्धाद्वारा मेरो उपासना गर्दछन् तिनीहरु मेरो विचारमा अति उत्तम योगी हुन्।)

ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते।
सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं ध्रुवम्।।३।।

सन्नियम्येन्द्रिग्रामं सर्वत्र समबुद्धय:।
ते प्राप्नुवन्ति मामेव सवरभूतहिते रता:।।४।।

(तर जसले आफ्ना इन्द्रियहरुलाई नियन्त्रण गरी सबै वस्तुहरुमा समदृष्टि राखि तथा सबै जीवहरुमा कल्याण भाव राखेर अचिन्त्य सर्वव्यापी, अप्रत्यक्ष र कूटस्थ, अचल, नित्य, निराकार अक्षर ब्रह्मको उपासना गर्दछन् तिनीहरु सबै ममा नै प्राप्त हुन्छन्।)

क्लेशोSधिकतरस्तेषामव्यक्ताSSसक्तचेतसाम्।
अव्यक्ता हि गतिर्दु:खं देहवद्भिरवाप्यते।।५।।

(ती निराकार ब्रह्ममा आसक्ति राख्नेहरुलाई दु:ख अधिक हुन्छ किनभने देहधारीहरुलाई अव्यक्तको मार्गले कष्ट प्राप्त हुन्छ।)

ये तु सर्वाणि कर्माणि मयि संन्यस्य मत्परा:।
अनन्येनैव योगेन मां ध्यायन्त उपासते।।६।।
तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात्।
भवामि न चिरात् पार्थ मय्यावेशितचेतसाम्।।७।।

(तर ती मेरा परायणहरू जसले आफ्ना सबै कर्महरु ममा अर्पण गरेर अति ध्यानयोगले केवल मेरो मात्र चिन्तन गरेर मलाई भज्छन्, हे पार्थ, ममा चित्त लगाउने तिनीहरुलाई म यो मृत्युरुप संसार सागरबाट छिटै नै पार लगाइ दिन्छु।)

मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय।
निवसिष्यसि मय्येव अत ऊर्ध्वं न संशय:।।८।।

(त्यसकारण श्यामसुन्दर आकार ममा मन लगाऊ र आफ्नओ बुद्धिलाई पनि ममा नै अर्पित गर। यस्तो गर्दा गर्दे तिम्रो मृत्यु भएमा तिमी ममा नै निवास गर्ने छौ। यो निश्चय हो, कुनै सन्देह छैन।)

अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम्।
अभ्यासयोगेन ततो मामिच्छाप्तुतुं धनञ्जय।।९।।

(हे धनञ्जय, तिमी यदि आफ्नो मनलाई ममा स्थिर राख्न सक्दैनौ भने अभ्यासयोगले मलाई प्राप्त गर्ने इच्छा गर। प्रयत्न गर।)

अभ्यासेSप्यसमर्थोSसि मत्कर्मपरमो भव।
मदर्थ कर्माणि कुर्वन् सिद्धिमवाप्स्यसि।।१०।।

(यदि तिमी अभ्यास गर्न पनि सक्दैनौ भने केवल मेरो निमित्त कर्म-भजन, किर्तन, ध्यान गर्ने होऊ। मेरो निमित्त कर्म गरेर पनि सिद्धि लाभ गर्न सक्ने छौ।)

अथैतदप्यशक्तोSसि कर्तुं मद्योगमाश्रित:।
सर्वकर्मफलत्यागं तत: कुरु यतात्मवान्।।११।।

(यदि तिमी मेरो निमित्त कर्म गर्न पनि सक्दैनौ भने विजित मनले मेरो प्राप्तिरुप योगको आश्रयमा परेर कर्महरुका फललाई त्याग गर।)

श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते।
ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम्।।१२।।

(किनभने शारीरिक अभ्यास भन्दा ज्ञान श्रेष्ठ छ। ज्ञान भन्दा ठूलो मेरो स्मरणरुप ध्यान श्रेष्ठ छ। ध्यानले गर्दा कर्म फलको परित्याग गर्न सकिन्छ।  र कर्म फलको परित्यागले गर्दा नै शान्ति पाउने बाटो खुल्छ।)

अद्वेष्टा सर्वभूतानां मैत्र: करुण एव च
निर्ममो निरहंकार: समदु:खसुख: क्षमी।।१३।।
सन्तुष्ट: सततं योगी यतात्मा दृढनिश्चय:।
मय्यर्पितमनोबुद्धिर्यो मद्भक्त: स मे प्रिय:।।१४।।

१३-१४
(सबै प्राणीहरुमा सत्रुता नराख्ने, मित्र भाव भएको, कृपालु, पुत्र स्त्रीमा ममता नराख्ने, देह आदिमा अहंकार नभएको, सुख तथा दु:खमा समान भाव राख्ने, क्षमा गर्न सक्ने, सँधै प्रशन्न चित्त रहने, भक्तियोग युक्त, इन्द्रियहरुलाई संयमित राख्न सकेको, दृढ संकल्प गरेको, केवल ममाथि नै मन र बुद्धि अर्पण गर्ने मेरो भक्त मेरो प्रिय हुन्छ।)

यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च य:।
हर्षाSमर्षभयोद्वेगैर्मुक्तो य: स च मे प्रिय:।।१५।।

(त्यस्तो एक व्यक्ति जसले न अरु कसैलाई दु:खी पारको छ न त ऊ आफू कसैबाट दु:खी पारिएको छ तथा जो प्राकृतिकगुणहरु- हर्ष, असहिष्णुता, भय र दु:खबाट मुक्त छ ऊ मेरो प्रिय हो।)

अनपेक्ष: शुचिर्दक्ष उदासीनो गतव्यथ:।
सर्वारम्भपरित्यागी यो मद्भक्त: स मे प्रिय:।।१६।।

(मेरो त्यो भक्त, जो इच्छारहित छ, पवित्र छ, वुद्धिमान छ, निष्पक्ष छ, चिन्ताबाट मुक्त छ, तथा समस्त कार्यहरु परित्याग गरेको छ र फलहरुको आशा त्यागि मेरो भक्तिमा लागेको छ, मलाई प्रिय छ।)

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति।
शुभाSशुभपरित्यागी भक्तिमान् य: स मे प्रिय:।।१७।।

(जो हर्षित तुल्याउने लौकिक वस्तु पाएर हर्षित हुँदैन, न त दु:खी तुल्याउने वस्तु पाएर दु:खी नै  हुन्छ, जो प्रिय वस्तु गुमेकोमा दु:खी हुँदैन र प्राप्त हुन नसकेको वस्तुको लागि चिंता पनि गर्दैन, जो पाप र पून्य परित्याग गर्ने छ र मप्रति भक्तिमान छ, त्यस्तो भक्त नै मेरो प्रिय हो।

सम: शत्रौ च मित्रे च तथा मानाSपमानयो:।
शीतोष्णसुखदु:खेषु सम: संगविवर्जित:।।१८।।
तुल्यनिन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित्।
अनिकेत: स्थिरमतिर्भिक्तिमान्ये प्रियो नर:।।१९।।

१८-१९
(जो भक्तिमान पुरुष, सत्रु र मित्र, मान र अपमान, सर्दी र गर्मी, सुख र दु:खमा समान रहन्छ र कसैप्रति आसक्ति राख्दैन, निन्दा र स्तुतिलाई समान सम्झिन्छ, मननशील छ, जति प्राप्त हुन्छ त्यतिकैमा सन्तुष्ट हुन्छ, कुनै खास स्थान प्रति ममता रहित छ, स्थिर छ र बुद्धिमान छ, त्यस्तो भक्तिमान परुष मेरो प्रिय हो।)

ये तु धर्माSमृतमिदं यथोक्तं पर्युपासते।
श्रद्दधाना मत्परमा भक्तास्तेSतीव मे प्रिया:।।२०।।

(र ती व्यक्तिहरु, जो मेरो परायण भएर श्रद्धापूर्वक यो भनिएको धर्ममय अमृतको निष्काम भावले पान गर्दछन, मेरा अत्यन्तै प्रिय भक्तहरु हुन।)

बार्हौ अध्यायको व्याख्या

भगवानको उपासना कसरी गर्ने बारे प्रष्ट पार्नमा यो अध्याय केन्द्रित छ। भगवानले भन्नु भएको छ-निस्वार्थी भावमा सुद्ध आचारण गरेर मात्र पनि मेरो उपासन गर्न सकिन्छ। यस अध्यायको प्रारम्भमा नै अर्जुनले प्रश्न गरेका छन्, “यस प्रकार योगयुक्त जुन भक्तहरु हजुरको उपासना गर्दछन् तथा जो अव्यक्त ब्रह्माको नै उपासना गर्दछन्, यी दुई थरिमा उत्तम योगवेत्ता को हुन?” अर्जुनद्वारा राखिएको यस प्रश्नमा श्रीकृष्ण भन्नु हुन्छ, “जसले ममा मन लगाएर निरन्तर ध्यानमा रही अति नर्गुणा श्रद्धाद्वारा मेरो उपासना गर्दछन् तिनीहरू मेरो विचारमा अति उत्तम योगी हुन्। तर जसले आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गरी सबै वस्तुहरूमा समदृष्टि राखि तथा सबै जीवहरूमा कल्याण भाव राखेर अचिन्त्य सर्वव्यापी, अप्रत्यक्ष र कूटस्थ, अचल, नित्य, निराकार अक्षर ब्रह्मको उपासना गर्दछन् तिनीहरू सबै ममा नै प्राप्त हुन्छन्। तर ती मेरा परायणहरू जसले आफ्ना सबै कर्महरू ममा अर्पण गरेर अति ध्यानयोगले केवल मेरो मात्र चिन्तन गरेर मलाई भज्छन्, हे पार्थ, ममा चित्त लगाउने तिनीहरूलाई म यो मृत्युरुप संसार सागरबाट छिटै नै पार लगाइ दिन्छु। त्यसकारण श्यामसुन्दर आकार ममा मन लगाऊ र आफ्नओ बुद्धिलाई पनि ममा नै अर्पित गर। यस्तो गर्दा गर्दे तिम्रो मृत्यु भएमा तिमी ममा नै निवास गर्ने छौ। यो निश्चय हो, यसमा कुनै सन्देह छैन्।”

यहाँ भगवानले के प्रष्ट पार्नु भएको छ भने भगवानलाई भज्ने जुन सुकै तरिका पनि हुन सक्छ। कर्मकाण्डी भएर, पूर्जा अर्चनामा घण्टौ समय लगाएर, भगवानको अगाडि प्रसादको थुप्रो लगाएर, आफ्ना नियमित कर्महरू परित्याग गरी जुनबेला पनि किर्तन गरेर भगवानको उपासना गर्न आवश्यक छैन। कर्मफलको अपेक्षा नगरेर, आफ्नो कुनै मनोकांक्षा वा स्वार्थ पूर्तिका लागि मात्र अर्चना नगरेर, केवल श्रद्धाभावद्वारा मात्र पनि निर्गुणा र निराकार श्यामसुन्दरमा हरदम चित्त लगाउनु पनि भगवानको उत्तम आराधना गर्नु हो। भगवान भन्नु हुन्छ, “यदि तिमी अभ्यास गर्न पनि सक्दैनौ भने केवल मेरो निमित्त कर्म (भजन, किर्तन, ध्यान) गर्ने होऊ। मेरो निमित्त कर्म गरेर पनि सिद्धि लाभ गर्न सक्ने छौ। यदि तिमी मेरो निमित्त कर्म गर्न पनि सक्दैनौ भने विजित मनले मेरो प्राप्तिरुप योगको आश्रयमा परेर कर्महरूका फललाई त्याग गर।”

 असल आचरण राखेर निस्वार्थी भइ समाजउपयोगी कार्यहरु गर्नु र ती कार्यहरूलाई भगवानप्रति समर्पित गर्नु नै मेरो आराधना हो भनी भगवानले भन्नु भएको छ। आफ्ना निस्वार्थी कर्महरूलाई भगवानको आराधना हो भनी हरदम मनमा राक्नु र हरपल भगवानको स्मरणमा बिताउनु पनि भगवानको अर्चना हो। भगवान भन्नु हुन्छ, “ किनभने अभ्यास भन्दा ज्ञान श्रेष्ठ छ। ज्ञान भन्दा मेरो स्मरणरुप ध्यान श्रेष्ठ छ। ध्यानले गर्दा कर्म फलको त्याग गर्न सकिन्छ। त्यागले गर्दा स्वर्गका सुखहरू र मोक्षको लालसा हुँदैन र त्यागले गर्दा नै शान्ति पाउने बाटो खुल्छ।”

भगवानले त्यागलाई पनि एक किसिमको अर्चनाको रुपमा उल्लेख गर्नु भएको छ। हुन पनि यो जीवधारी संसारलाई सुखमय तुल्याउन प्रत्येक व्यक्तिमा त्याग भाव हुन आवश्यक छ। त्याग भाव नभएमा व्यक्तिहरूमा स्वार्थ, लोभ, मोह, घृणा, क्रोध आदिको जन्म, विकास र विस्तार हुन्छ। यी तत्वहरूले मानिसमा धर्म नाश गराउँछ र अपराध बढाउँछ। सबै व्यक्तिहरूमा त्याग भएमा यो संसार अति सुखमय हुन पुग्छ। तर यसको विपरित, मृत्यु पश्चात केवल प्राण मात्र उडेर जाने र शरीरसम्म पनि यो संसारमा छुट्ने भएता पनि मानिसहरु आफ्नो सम्पूर्ण जीवन केवल भौतिक वस्तुहरूको खोजीमा बिताउँछन र ती भौतिक वस्तुहरूमा मात्र आनन्दछ खोज्छन। जवकि आनन्द भौतिक वस्तुहरूमा होइन, आनन्द त मनमा छ। आनन्द, प्रभूमा हरपल लिन र स्थिर रहने चिन्तनमा।

सुख दु:खमा सम भाव राखी प्रशन्न चित्तद्वारा भगवानमा मनलाई स्थिर राख्नु पनि भगवानको उत्तम अर्चना हो। त्यसैकारण भगवान भन्नु हुन्छ, “सबै प्राणीहरूमा शत्रुता नराख्ने, मित्र भाव भएको, कृपालु, पुत्र, स्त्रीमा ममता नराख्ने, देह आदिमा अहंकार नभएको, सुख तथा दु:खमा समान भाव राख्ने, क्षमा गर्न सक्ने, सँधै प्रशन्न चित्त रहने, भक्तियोग युक्त, इन्द्रियहरूलाई संयमित राख्न सकेको, दृढ संकल्प गरेको, केवल ममाथि नै मन बुद्धि अर्पण गर्ने मेरो भक्त मेरो प्रिय हुन्छ। त्यस्तो एक व्यक्ति जसले न अरु कसैलाई दु:खी पारको न त ऊ आफू कसैबाट दु:खी पारिएको छ एवं जो प्राकृतिकगुणहरू- हर्ष, असहिष्णुता, भय र दु:खबाट मुक्त छ ऊ मेरो प्रिय हो। जो हर्षित तुल्याउने लौकिक वस्तु पाएर हर्षित हुँदैन, न त दु:खी तुल्याउने वस्तु पाएर दु:खी नै  हुन्छ। जो प्रिय वस्तु गुमेकोमा दु:खी हुँदैन र प्राप्त हुन नसकेको वस्तुको लागि चिंता पनि गर्दैन, जो पाप र पून्य परित्याग गर्ने छ र मप्रति भक्तिमान छ, त्यस्तो भक्त नै मेरो प्रिय हो। जो भक्तिमान पुरुष, शत्रु र मित्र, मान र अपमान, सर्दी र गर्मी, सुख र दु:खमा समान रहन्छ र कसैप्रति आसक्ति राख्दैन, निन्दा र स्तुतिलाई समान सम्झिन्छ, मननशील छ, जति प्राप्त हुन्छ त्यतिकैमा सन्तुष्ट हुन्छ, कुनै खास स्थान प्रति ममता रहित छ, स्थिर छ र बुद्धिमान् छ, त्यस्तो भक्तिमान् परुष मेरो प्रिय हो।”

 बारहौं अध्याय समाप्त

No comments:

Post a Comment