आर्थिक विकास: रूपान्तरण र कर्ता
आर्थिक
विकास के हो? आर्थिक विकासमा रूपान्तरण कसरी हुन्छ? रूपान्तरणकर्ताहरू को–को हुन्? कुनै पनि क्षेत्रको समुचित विकासका
लागि यस किसिमका प्रश्नको उत्तर खोज्न आवश्यक छ। तर उत्तर खोज्नुपूर्व यी
प्रश्नहरूको अर्थ थाहा पाउनु उचित हुन्छ।
आर्थिक
विकासको परिभाषा आफैंमा ज्यादै कठिन छ। कुनै एक व्यक्ति जोसँग सवारीका लागि एउटा
मोटरसाइकल मात्र छ, ऊ
सवारीका लागि हेलिकप्टर भएको व्यक्तिको तुलनामा गरीब हो। तर त्यही मोटरसाइकल हुने
व्यक्ति एउटा साइकल मात्र हुनेको तुलनामा भने धनी हो। यसरी एउटा व्यक्ति एकै समयमा
धनी पनि र गरीब पनि हुने रहेछ। यस्तो कसरी भयो?
गरीब
र गरीबीको परिभाषा सापेक्षिकरूपमा दिन कठिन छ। सापेक्षिक परिभाषा सही पनि हुँदैन।
त्यसकारण गरीब र गरीबीको परिभाषा निरपेक्ष रूपमा दिनुपर्ने हुन्छ। तुलनाको आधारमा
गरीब र धनी छुट्याउन कठिन हुन्छ।
यथार्थमा
गरीब त्यो हो, जोसँग घर छैन। वर्षभरि केवल एक समय वा
धेरै दिन दुई छाक खान पाउँछ, केही दिन मात्र एक छाक खाना पाउँछ, शिक्षा र स्वास्थ्यमा पहुँच छैन। बिरामी भएपछि औषधि खरीद गर्ने पैसा
छैन। स्वास्थ्य सेवामा लाग्ने खर्च भुक्तान गर्न पैसा छैन। हो, यस्तो स्थिति भएको व्यक्ति गरीब हो। यो
गरीबीको निरपेक्ष परिभाषा हो। यस्तो स्थिति कुनै व्यक्ति वा परिवारमा नहुनु भनेको
त्यो व्यक्ति वा परिवार गरीब नहुनु हो।
आर्थिक
विकास भनेको निरपेक्ष गरीबीबाट मुक्ति पाउनु हो। साथै सापेक्षिक गरीबीबाट पनि
मुक्ति पाउनु हो। उच्चतम विन्दुमा आमदनी गर्ने व्यक्तिसरह आमदानी गर्ने स्थितिमा
पुग्नु हो। सापेक्षिक गरीबी यथार्थमा गरीबी होइन, केवल मनोभाव हो। तर अर्थ व्यवस्थामा यसको पनि अध्ययन महत्वपूर्ण
हुन्छ।
अधिकांश
मानिस अहिले पनि के भ्रममा छन् भने आर्थिक विकास भनेको एकल क्रियाकलाप हो। त्यस्तो
होइन, आर्थिक विकास सामूहिक क्रियाकलाप हो।
अनेक अन्तर्निर्भर काम गरेर मात्र कुनै पनि गाउँ वा शहरको आर्थिक विकास हुन्छ।
कुनै पनि व्यक्तिको एकल सक्रियता वा प्रयासमा कुनै पनि क्षेत्रको आर्थिक विकास
सम्भव छैन।
माथिको
भनाइलाई सरल पार्नका लागि एउटा उदाहरण प्रस्तुत गर्नु उपयुक्त हुनेछ– कुनै शहरमा
प्रत्येक वर्ष (स्कूल वा कलेजको शिक्षा समाप्त गरेर) ५० जना युवा श्रम बजारमा प्रवेश गर्छन् वा जागीरको
खोजी गर्छन् भने त्यस शहरका व्यापारी वा उद्योगपतिहरूले बर्सेनि ५० वटा रोजगार
सृजना गर्न आवश्यक हुन्छ। अर्थात् रोजगारका लागि श्रम बजारमा प्रवेश गर्ने र
रोजगार पाउने कार्य त्यस शहरका व्यापारी एवं उद्योगपतिहरूको क्रियाकलापमा निर्भर
गर्दछ। यसरी आर्थिक विकास अन्तर्निर्भर कार्य हुन पुग्दछ। कामदार खोज्ने व्यापारी
एवं उद्योगपति व्यवसाय सञ्चालनका लागि रोजगार खोज्नेहरूमाथि निर्भर रहनुपर्दछ भने
रोजगार खोज्ने व्यक्ति व्यापारी एवं उद्योगपतिहरूको क्रियाकलाप (रोजगार सृजना
गरिदिने कार्य) मा निर्भर रहनुपर्दछ।
आर्थिक
विकास सामूहिक क्रियाकलापमा निर्भर हुन्छ भन्ने कुरा आर्थिक विकाससँग सम्बद्ध सबै
पक्षले बुझ्न आवश्यक हुन्छ।
मुख्यगरी
गरीब वा विकासशील राष्ट्रमा बहुसङ्ख्यक व्यक्तिले एउटा अर्को ठूलो भ्रम के पालेको
देखिन्छ भने देशमा रोजगार दिने वा रोजगार सृजना गर्ने कार्य सरकारको हो। सरकारले
नै आफ्ना कार्यालयहरूमा नागरिकलाई रोजगार (जागीर) दिनुपर्छ। यस्तो होइन । रोजगार
सृजना गर्ने कार्य पनि सामान्य जनताको हो। उद्योगीहरूको हो। व्यापारीहरूको हो।
अनेक किसिमका व्यवसाय गर्नेहरूको हो। यस अवधारणा अनुसार एउटा चिकित्सकले पनि देशमा
रोजगार सृजना गर्ने जिम्मेवारी लिनु पर्दछ। वकिलले पनि रोजगार सृजना गर्ने
जिम्मेवारी लिनुपर्दछ।
कुनै
पनि देशमा रोजगारको सृजना सरकारले गर्ने होइन। सरकारको दायित्व पनि होइन। सरकारको
दायित्व के हो भने त्यस्ता नियम, कानून, ऐनको
तर्जुमा र कार्यान्वयन, जसले
गर्दा देशमा रोजगार सृजना होस्। यस किसिमबाट हेर्दा के देखिन्छ भने सरकारको
दायित्व भनेको देशमा बेरोजगारी हुन नदिनु हो। ठूलो मात्रामा रोजगार सृजना गर्ने
वातावरण निर्माण गर्नु हो। निष्कर्षमा रोजगार सृजना गर्ने कार्य निजी क्षेत्रको हो, व्यवसायीहरूको हो। यो कारणले गर्दा पनि
पूँजीवादी अर्थ व्यवस्था वा बजार अर्थ व्यवस्थमा व्यवसायीहरूको भूमिका ज्यादै महत्वपूर्ण
मान्ने गरिन्छ। देशको अर्थतन्त्र उनीहरूको काँधमा हुन्छ भन्ने गरिन्छ।
अब
कुरा गरौ रूपान्तरणको, आर्थिक
विकासको। प्रारम्भ गरौं एउटा प्रश्नबाट। कसरी एउटा सामान्य गाउँ, प्रारम्भिक चरणमा एउटा व्यावसायिक
गाउँमा रूपान्तरित हुन्छ? पछि कसरी त्यो व्यावसायिक गाउँ एउटा सानो शहरमा रूपान्तरित हुन्छ? उदाहरणका लागि वीरगंज वरपरका सानासाना
गाउँ पछि कसरी शहरमा रूपान्तरित भए त्यसबारे कुरा गरौं। वीरगंज नजीक रहेका साना
शहरहरू–पोखरिया,
जीतपुर, चन्द्रनिगाहपुर प्रारम्भमा साना गाउँ
थिए। पछि क्रमिकरूपमा यी साना गाउँ व्यावसायिक गाउँ र झन् पछि साना शहरमा
रूपान्तरित भए।
यहाँ मननयोग्य कुरा गरौ। चन्द्रनिगाहपुर, पोखरिया, जीतपुरलाई शहरको रूपमा कसले विकास गर्यो? ककसको सक्रिय योगदानले गर्दा यी गाउँहरू शहरमा रूपान्तरित भए? सरकारको नीति, नियम, योजनाले गर्दा यी गाउँ शहरमा रूपान्तरित भएका हुन्? होइन। कुनै समयका सुविधाहीन गाउँहरू स्थानीय बासिन्दाको प्रयासले शहरमा रूपान्तरित भएका हुन्। शहरको विकासकर्ता स्थानीय नै हुन् । स्थानीयकै सक्रिय प्रयासमा ती गाउँहरू शहरमा रूपान्तरित भएका हुन्।
एउटा
सानो गाउँ व्यवस्थित शहरको कसरी बन्छ भन्ने कुराको उदाहरणको रूपमा बरहथवालाई पनि
लिन सकिन्छ। कुनै समयको एउटा सामान्य बजार अहिले एउटा व्यवस्थित नगरको रूपमा
स्थापना हुन पुगेको छ। यहाँ फेरि त्यही प्रश्न दोहोर्याउन मन लाग्यो। के बरहथबा
सरकारको नीति, नियम वा योजनाले गर्दा गाउँबाट
व्यवस्थित शहर बनेको हो? होइन।
बरहरथवाका कर्ताहरूले यस शहरलाई सामान्य गाउँबाट व्यवस्थित शहरमा रूपान्तरित गरेका
हुन्। आफ्नो गाउँलाई शहर बनाउन महत्वपूर्ण योगदान पुर्याएका हुन्।
माथि, गाउँहरू कसरी शहरमा रूपान्तरित भए
भन्नेबारे अनेक चर्चा गरियो। यो कुनै पनि क्षेत्रको आर्थिक विकासमा स्थानीय
कर्ताहरूको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा प्रमाणसहित दर्शाउनका लागि गरिएको
हो। सरकारले होइन,
स्थानीय
कर्ताहरूले नै कुनै पनि क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने
गर्दछन्। पश्चिमा देशहरू यसै अवधारणा अनुसार कार्य गर्दछन् र आफ्नो क्षेत्रको
विकासमा आफैं जुट्छन्, सरकारको
मुख ताक्दैनन्। सरकारलाई सहजकर्ता मात्र मान्दछन्।
क्षेत्रीय विकासमा कर्ताहरूको भूमिका
स्थानीय
वा क्षेत्रीय विकासमा कर्ताहरूको भूमिका नै महŒवपूर्ण हुन्छ। यसबारे माथि नै चर्चा गरिसकियो। अब थप दुई कुरा गरौं।
हामीकहाँ ठूलो सङ्ख्यामा कर्ताहरूको उदय किन हुँदैन? कर्ताहरूको विकास गर्न कुन विधिको अनुपालन गर्नुपर्छ?
अमेरिका
यस्तो देश हो, जहाँ कहिले पनि राजतन्त्र थिएन। आर्थिक
विकासको लागि ‘माथि’ को मुख ताक्ने परिपाटीको विकास भएन। यो उदाहरणलाई सजिलो पार्न
दक्षिण एशियाको मात्र कुरा गरौं। दक्षिण एशिया यस्तो क्षेत्र हो, जहाँ अनेक राज्य थिए, राजाहरू थिए। यसले गर्दा जनतामा आर्थिक
विकासको लागि ‘राजा’ वा केन्द्रीय प्रशासनको मुख ताक्ने प्रकृति र परम्परा विकसित
भयो। जनताले कहिले पनि आफूलाई आर्थिक विकासको कर्ता मानेन। आफूलाई प्रजा मात्र
मान्यो। आर्थिक विकासको लागि जिम्मेवार राजा वा राज्यपक्षलाई देख्यो। यो कारणले
गर्दा दक्षिण एशिया गरीबी र अशिक्षा जस्ता समस्याले घेरियो। दक्षिण एशियाको जनताले
अहिले पनि स्थानीय वा राष्ट्रिय विकासको लागि आफूलाई जिम्मेवार मान्दैन, सरकारलाई मान्दछ।
अमेरिकामा कुनै राजा वा राजसंस्था नभएकोले प्रत्येक क्षेत्रको जनताले आफ्नो क्षेत्रको आर्थिक विकासको लागि आफैंलाई जिम्मेवार देख्यो। आफूलाई नै आर्थिक विकासको कर्ता मान्यो। आफैंलाई नै जिम्मेवार ठान्यो। सरकार वा केन्द्रको मुख ताकेन। स्थानीयरूपमा, कर्ताहरूको सक्रियतामा आआफ्नो क्षेत्रको आर्थिक विकास गर्यो। हरेक शहरलाई आर्थिकरूपले सक्षम बनाउने प्रयास गर्यो। परिणामतः अमेरिका अहिले विश्वमा नै सर्वाधिक ठूलो अर्थ व्यवस्था भएको देश हुन पुगेको छ, सर्वाधिक धनी राष्ट्र हुन पुगेको छ। हातहतियार र युद्धको हिसाबले पनि विश्वमा सर्वाधिक शक्तिशाली राष्ट्र हुन पुगेको छ।
निष्कर्ष:
आफ्नो क्षेत्रको विकास आफैंले गर्ने हो। कर्ताहरूले नै आफ्नो क्षेत्रको विकासमा
सक्रिय योगदान पुर्याउने हो। हामी नेपालीहरूले आआफ्नो
क्षेत्रको आर्थिक विकासको लागि यस विषय Economic Development Model) मा चिन्तन र मनन गर्ने मात्र होइन, व्यवहाररूपमा ल्याउन पनि आवश्यक छ।
कर्ताहरू
आर्थिक विकासका मेरुदण्ड हुन्। त्यसकारण कर्ता तयार पार्ने शिक्षालय बनाउन र त्यस
किसिमको शिक्षा दिन अब ढिलो गर्नुहुँदैन। हाम्रो शिक्षा पद्धतिले ठूलो परिवर्तनको
माग गरिरहेको छ। हाम्रो शिक्षा पद्धतिले कर्ताहरू उत्पादन गर्न आवश्यक छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, October 6, 2023
https://eprateekdaily.com/2023/10/05/57179/
No comments:
Post a Comment