Friday, May 3, 2024

Will Foreign Investors Invest in Nepal? -Article-451

 के नेपालमा वैदेशिक लगानी आउला?

वर्तमान युग पूँजीको युग होइन। वर्तमान युग विचारको युग हो। सोचको युग हो। योजनाको युग हो। अनुसन्धान र खोजको युग हो। वर्तमान वैश्य युगमा व्यापार गर्नका लागि पूँजी होइन, नयाँ विचार चाहिन्छ, नयाँ सोच चाहिन्छ।

वर्तमान युगमा पूँजी होइन, नयाँ योजना, नयाँ सोच र नयाँ खोजको आधारमा अनेक व्यक्ति सफल व्यवसायी बनेका अनेकौं उदाहरण छन्। नयाँ खोजको आधारमा विभिन्न कम्पनीहरूले करोडौं रुपियाँ कमाएको उदाहरण थुप्रै छन्।

माथिका कुराहरू नेपालको आर्थिक विकासको सम्बन्धमा भनिएको हो। स्रोत र साधनले भरिएको नेपालको आर्थिक विकासको लगि पूँजी होइन, नयाँ सोच र नयाँ विचार आवश्यक छ। नयाँ सोच र विचार प्रयोग हुने हो भने पूँजी स्वतः उत्पन्न हुन्छ। नयाँ सोच, विचार एवं योजना प्रयोग गरेर नेपालको आर्थिक विकासको गतिलाई तीव्र पार्न सकिन्छ।

यस्तै किसिमको सोच हाम्रा नीति निर्माता र नेताहरूमा पलाएको सङ्केत देखिएको छ। यस्तै सोचको उपज थियो नेपालमा लगानी–सम्मेलन हुनु। सरकारले लगानीलाई उच्च महत्व दिनु। स्वदेशी तथा विदेशी लागनीकर्ताहरूलाई लगानी सम्मेलन मार्फत नेपालमा लगानी गर्न अनुरोध गर्नु।

नेपाल सरकारको आयोजनामा हालै काठमाडौमा दुई दिने, तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न भएको छ। यसै महीनाको १६ र १७ गते (April 28–29, 2024) सम्पन्न भएको उक्त सम्मेलनमा पचीस सयभन्दा बढी मानिस सहभागी भएका थिए भने आठ सयभन्दा बढी विदेशी प्रतिनिधि सहभागी थिए। सो सम्मेलनमा भाग लिन ५५ देशबाट विभिन्न व्यक्ति आएका थिए। उक्त सम्मेलनमा सहभागी हुन विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमजस्ता संस्थाका प्रतिनिधिहरू पनि काठमाडांै आएका थिए। यसैगरी नेपालस्थिति विभिन्न देशका राजदूतहरूको पनि उक्त सम्मेलनमा सहभागिता थियो।

अर्थमन्त्री वर्षमान पुनले काठमाडौमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन – २०२४ भव्यरूपमा सफल भयो भनेका छन्। यो सम्मेलनलाई आफ्नो सरकारले प्राप्त गरेको महत्वपूर्ण उपलब्धिको रूपमा प्रस्तुत गरेका छन्।

हालै सम्पन तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सरकारी तवरबाट नै स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गरिएको थियो। साथै उत्प्रेरित पनि गरिएको थियो। स्वदेशी एवं विदेशी लगानीकर्ताहरूले नेपालमा लगानी गर्दा उत्पन्न हुन सक्ने प्रशासनिक बाधा (Bureaucratic Barriers) तथा कानूनी बाधा (Legal Barriers) हटाउन सरकार तत्पर रहेको घोषणा पनि सरकारी तवरबाट नै गरिएको थियो। सरकारी तवरबाट नै नेपालमा यी–यी क्षेत्रमा लगानी गर्न सकिन्छ भनी लगानीकर्ताहरूलाई जानकारी दिने कार्यसमेत भएको थियो। निष्कर्षतः स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले नेपालको अनेक क्षेत्रमा बढी लगानी गरिदिऊन् भन्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको सन्देश विश्वभरिका सम्भाव्य लगानीकर्ताहरूलाई सम्मेलनमार्फत दिइएको थियो।

स्वदेशी एवं विदेशी लगानी कुनै पनि राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण हुन्छ भन्ने कुरा वर्तमान सरकारले राम्ररी बुझेको र सोको प्रमाण सरकारले सम्मेलनलाई अति महत्व दिएको कुराबाट प्रस्टिन्छ। सरकारले गरेको यो कार्यलाई राम्रो मान्नुपर्छ। सम्मेलन सम्पन्न गर्न अर्थमन्त्री पुनले देखाएको सक्रियताको पनि प्रशांसा गर्नुपर्छ। विगतमा पुनले के के गरे, कस्ता कस्ता ध्वंसात्मक कार्यमा संलग्न रहे भन्ने कुरालाई क्षणभरको लागि बिर्सिदिनु पनि पर्छ।

अब मूल विषयमा प्रवेश गरौं– नेपालको आफ्नै किसिमको भूस्थिति र निकटका छिमेकी देशहरू– चीन एवं भारतको आर्थिक स्थिति र ती छिमेकीहरूले नेपालप्रति देखाउने व्यवहारलाई मध्यनजर गर्दा नेपालमा विदेशी लगानीकर्ताहरूले लगानी गर्न चासो र इच्छा प्रदर्शित गर्लान् कि नगर्लान् त्यो आउने भविष्यले देखाउने छ। तर केही कुरामा भने सम्मेलनले महत्वपूर्ण प्रकाश पारेको छ।

१. पूँजीवादलाई गाली गर्ने र लगानीकर्ताहरूलाई दलाल पूँजीपतिको संज्ञा दिंदै विध्वंसद्वारा मात्र राजनीतिक परिवर्तन हुन्छ भनी विश्वास गर्ने माओवादीहरूले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको उपस्थितिलाई राम्रो मान्नु र देशको आर्थिक विकासमा उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ भन्ने तथ्य स्वीकार गर्नु नेपालको आर्थिक विकासको लागि सकारात्मक कुरा हो। माओवादीहरूमा आएको यो सुझबुझले नेपालको आर्थिक विकासको गति तीव्र पार्न सहयोग पुग्नेछ।

२. राष्ट्रको दोहन गरेर मात्र हुँदैन। राष्ट्रको आर्थिक विकासलाई पनि महत्व दिनुपर्छ। यदि महत्व नदिने हो भने आफ्नो र आफ्नो दलको अस्तित्व पनि समाप्त हुन्छ। यो तथ्य सबै दलका नेताहरूलाई अब बोध भएको छ। र यस्तो हुनु यो सम्मेलनको उपलब्धि मान्नुपर्छ। यो अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सबै दल र तिनका ठूला नेताहरूले निकै महत्व दिएका छन्। प्रतिपक्षी दलका नेताहरूले सम्मेलनको आलोचना गरेका छैनन्। उल्टो प्रशंसा नै गरेका छन्। अन्य प्रमुख दलका नेताहरू जस्तै केपी ओली, शेरबहारदुर देउवा आदिले यो सम्मेलनप्रति सकारात्मक धारणा प्रस्तुत गरेका छन्। सम्मेलनको प्रशंसा गरेका छन्। स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई हरेक किसिमको सहयोग गर्न आफू र दल तयार रहेको उल्लेख गरेका छन्।

३. सरकार एवं अन्य राजनीतिक दलहरूद्वारा लगानी अनुकूल स्थिति निर्माण नहुने हो भने देशमा लगानी हुन सक्तैन। लगानीमा वृद्धि नभएसम्म देशको आर्थिक विकास हुँदैन। थप रोजगार सृजना हुँदैन। ठूलो सङ्ख्यामा नेपाली युवाहरू रोजगारका लागि संसारका अनेक देश पुग्ने कार्य रोकिंदैन। यी विषयहरूलाई राजनीतिक दल र तिनका नेताहरूले सम्मेलनमार्फत राम्ररी बुझेको सङ्केत दिएका छन्। 

४. देशको आर्थिक विकासको लागि सबै दलबीच समझदारी आवश्यक छ, समन्वय आवश्यक छ। दलहरू मिलेर कार्य गर्नुको विकल्प छैन। यस कुरालाई राजनीति दलहरूले बोध गरेको सन्देश पनि यो सम्मेलनले दिएको छ। सबै दलका नेताहरूले यो सम्मेलनलाई उच्च महत्व दिनुले यस कुराको पुष्टि हुन्छ।

सबै दलबीच राम्रो समझदारी कायम हुने हो र आर्थिक विकासका विषयमा दलहरूबीच अनेक मतभेद र कलह नहुने हो भने नेपालमा अवश्य पनि स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले लगानी गर्नेछन्। पर्यटन, जलविद्युत्, सूचना र प्रविधि, मनोरञ्जन, व्यापार आदि यस्ता क्षेत्र हुन् जहाँ अहिले स्वदेशी एवं विदेशी लगानी अति जरुरी छ। नेपालमा मौलिक नेपाली वस्तुहरू उत्पादन गर्ने कारखानाहरूको पनि उत्तिकै खाँचो छ। मौलिक नेपाली वस्तु निर्माण एवं निर्यात गरेर पनि नेपालले ठूलो मात्रामा मुनाफा आर्जन गर्न सक्छ। ठूलो मात्रामा वैदेशिक मुद्रा प्राप्त गर्न सक्छ।

नेपालका राजनीतिक दलहरूबीच विकास तथा निर्माण कार्यका लागि साझा सहमति हुने हो र स्थिर किसिमको लगानी नीति निर्माण हुने हो भने नेपाललाई आवश्यक पूँजी नेपाल भित्रबाटै पनि उपल्ब्ध हुन सक्छ। विदेशी लगानी आवश्यक पनि पर्दैन। ज्यादै ठूलो परियोजनाको लागि मात्र विदेशी लगननी आवश्यक पर्न सक्छ। विदेशमा बसेका नेपालीहरूले पनि नेपालमा लगानी गर्न सक्ने पर्याप्त अवसर छ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनले भोलिका दिनमा के कति विदेशी लगानी भित्रिने छ त्यो कुरा अहिले नै भन्न सकिने स्थिति त छैन तर एउटा कुरा भने प्रस्ट भन्न सकिन्छ कि लगानी सम्मेलनले नेपाल लगानी–मैत्री देश हुन अहिले तीव्र गतिमा अग्रसर छ।

एउटा विषय यहाँ उल्लेख नगर्ने हो भने यो आलेख अधूरो रहन सक्छ। नेताहरूले अहिले जस्तो सत्ता र शक्तिको लागि –याल चुहाउने हो, कहिले यो दल त कहिले त्यो दलसँग मिलेर सरकार बनाउने हो, राष्ट्रिय आर्थिक विकासलाई महत्व नदिएर स्वार्थ पूर्तितिर मात्र लाग्ने हो भने यस किसिमको दशौं लगानी सम्मेलन गरे पनि लगानी भित्रिने छैन। यो कुरा पक्का हो।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 3, 2024

https://eprateekdaily.com/2024/05/03/66968/ 

 

No comments:

Post a Comment