नवनिर्माण र पुनर्निर्माणः अवसर एवं चुनौती
नव
युवा (जेनजी–पछिल्लो पुस्ता समूह) हरूद्वारा गरिएको हालैको विरोध–प्रदर्शनमा ठूलो
जन र धनको क्षति भयो। यति ठूलो स्तरमा जन र धनको क्षति हुनु उपयुक्त थिएन, तर भयो। ज्यादै दुःखद भयो। जन विरोध वा
जन प्रदर्शनमा, नेपालको इतिहासमा नै यति ठूलो जन र
धनको क्षति एकै दिन वा अति छोटो समयमा भएको थिएन। यो कारणले पनि यो घटनालाई
सामान्य रूपमा लिनुहुँदैन। केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारले यो घटनाबाट जन विरोध वा जन प्रदर्शन
व्यवस्थापनबारे गम्भीरतापूर्वक सोच्न र
सोही अनुसारको कार्यक्रम, योजना एवं रणनीति तयार पार्न आवश्यक छ। नेपालको राजनीतिको प्रकृति र
स्वरूपलाई हेर्दा यस्तो घटना पुनः दोहरिने सम्भावनालाई नकार्न सकिंदैन। ठूलो
मात्रामा जन र धनको क्षति गरेर राजनीतिक परिवर्तन वा सत्ता परिवर्तन गर्नु होम्रो
सामाजिक एवं राजनीतिक संस्कार बनिसकेको छ। नव युवाहरूको विरोध प्रदर्शनमा जे भयो
माओवादीहरूले पनि २०५२ देखि २०६३ सम्म त्यही गरेका थिए। नवयुवाहरूले ठूलो मात्रामा
जन र धनको क्षति हुने गरी सत्ता परिवर्तनका लागि छोटो अवधिसम्म मात्र सङ्घर्ष गरे
भने माओवादीहरूले त्यही काम गर्न १० वर्ष सङ्घर्ष गरे। माओवादीहरूले पनि राजनीतिक
परिवर्तन गर्न ठूलो जन र धनको क्षति गरेका हुन्। माओवादीहरूले मचाएको त्यो हत्या, हिंसामा १७ हजार व्यक्तिले ज्यान
गुमाएको इतिहास ताजा नै छ।
हत्या, हिंसा, तोडफोड आगजनीद्वारा ल्याइएको परिवर्तन दिगो हुँदैन। सत्यको यो एउटा
पाटो हो। तर नवयुवाहरूलाई तोडफोड गर्ने स्थितिमा तत्कालीन सरकार तथा नेका र
एमालेको व्यवहारले ल्याएको हो भन्ने तथ्य पनि भुल्नुहुँदैन। नेका र एमालेका
माथिल्ला तहका नेताहरूले असल व्यवहार देखाएको भए यस्तो विध्वंस नै हुने थिएन।
गत
भाद्र २३ र २४ गते (२०८२) गते भएको त्यो ठूलो राष्ट्रिय क्षति सरकारले तत्परता र
दूरदर्शिता देखाएको भए रोक्न भने सकिन्थ्यो। यदि सरकारले र मुख्यगरी तत्कालीन
प्रधानमन्त्री केपी शर्मा ओलीले, नवयुवाहरूले ठूलो प्रदर्शन गर्दैछन् भन्ने कुरा आफ्ना संयन्त्र
(सुरक्षा सल्लाहाकार, गुप्तचर
आदि) बाट केही दिनपूर्व नै थाहा पाएपछि, नवयुवा पुस्ताका प्रतिनिधिहरूलाई बोलाएर विज्ञको सहयोग लिएर
उनीहरूसँग गम्भीर वार्ता गरेको भए, स्थिति फरक हुने पर्याप्त सम्भावना थियो। स्थिति सामान्य हुने अवसर
थियो। त्यो दुर्भाग्यपूर्ण आन्दोलन वार्ताद्वारा रोक्न सकिने स्थिति थियो। तर
ओलीको हठ एवं अनुभवहीनताले गर्दा त्यस्तो हुन सकेन र राष्ट्रले ठूलो क्षति
बेहोर्नुपर्यो। त्यो ठूलो क्षतिका लागि केवल तत्कालीन सरकार मात्र होइन, सरकारमा रहेका दलहरू नेपाली काङ्ग्रेस
र नेकपा एमालेका माथिल्ला तहका नेताहरूलाई पनि जिम्मेवार ठहर गर्नुपर्छ ।
ठूलो
क्षति नहुनुपर्ने थियो, तर
भयो । अब भने त्यो विध्वंसलाई, आगजनी, तोडफोड
आदिबाट भएका सम्पत्तिको क्षतिलाई कसरी नवनिर्माणमा उपयोग गर्न सकिन्छ र राष्ट्रको
हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे गम्भीर भएर सोच्न आवश्यक छ। त्यो ठूलो
राष्ट्रिय क्षतिलाई एउटा अवसरको रूपमा पनि प्रयोग गर्न सकिन्छ। कसरी?
तोडफोड, आगजनीबाट नष्ट भएका संरचनाहरूको
नवनिर्माण वा मरम्मतलाई रोजगार सृजनाको अवसरको रूपमा उपयोग गर्न सकिन्छ । अर्थात्
भत्केका भवनहरूको निर्माण वा मरम्मतमा रकम खर्च गरेर हजारौं व्यक्तिहरूका लागि
रोजगार सृजना गर्न सकिन्छ। अर्थात् यो दुःखद स्थिति (तोडफोड, आगजनी) लाई रोजगार सृजनाको रूपमा उपयोग
गर्न सकिन्छ। यस्तो गरिएमा तत्काल हजारौं व्यक्तिले रोजगार पाउने छन्। उनीहरूको
आम्दानीमा वृद्धि हुनेछ। र त्यो वृद्धि भएको आम्दानीले बजारमा थप माग सृजना हुनेछ।
थप बिक्री भएर, राष्ट्रिय व्यापारको कुल परिमाणमा
वृद्धि हुनेछ।
जति
पनि राष्ट्रिय क्षति भएको छ, कार्यालयहरू भत्केका छन, तिनको निर्माण गर्न सरकारले विदेशी संस्थाहरूबाट ऋण लिनुको साटो वा
अनेक देशहरूलाई गुहार्नुको साटो आफ्नै स्रोत परिचालन गर्नु उपयुक्त हुन्छ। पुनः
निर्माण तथा नवनिर्माणका लागि सरकारले एउटा बृहत् कोष सृजना गर्न ‘राष्ट्रिय ऋण
पत्र’ जारी गर्न सक्छ। राष्ट्रिय ऋण पत्र सामान्य जनतालाई बिक्री गर्न सक्छ।
अर्थात् जनताबाट ऋण लिन सक्छ। जनताको बचत उपयोग गर्न सक्छ। खासगरी विदेशमा काम
गरिरहेका नेपालीहरू तथा गैर आवासीय नेपालीहरूलाई सरकारले राष्ट्रिय ऋण पत्र बिक्री
गर्न सक्छ।
वार्षिक
५ देखि १० प्रतिशतसम्म ब्याज दिने घोषणा गर्दै सरकारले राष्ट्रिय ऋण पत्र जारी
गर्नु उपयुक्त देखिन्छ। यस्तो गरेमा सरकारले विदेशी संस्थाहरूलाई कोषको लागि
गुहार्नु पनि पर्दैन। विदेशी संस्थाबाट ऋण लिनुपर्दैन। विदेशी संस्थाहरूबाट ऋण
नलिएको हुनाले नेपालबाट पैसा (कोष) बाहिर जान पाउँदैन। नेपालले विदेशी संस्था वा
निकायहरूको अनेक राजनीतिक दबाबहरू पनि खप्नुपर्दैन।
यो
राष्ट्रिय सङ्कटको घडीमा, राष्ट्रिय गौरवका भवनहरू (सर्वोच्च अदालत, संसद् भवन, प्रम निवास आदि आदि) ध्वस्त भएको दुःखद
स्थितिमा, नेपालीहरू तथा गैर आवासीय नेपालीहरू ऋण
पत्र खरीद गरेर राष्ट्रलाई आर्थिक सहयोग गर्न तयार पनि हुनेछन्।
हामीले
यो ध्वंसलाई, यो दुःख एवं पीडालाई, पुनः निर्माण र नवनिर्माणको अवसरको
रूपमा लिंदा राम्रो हुनेछ। यो स्थितिलाई सृजनामा रूपान्तरित गर्नु राम्रो हुनेछ।
अब, नयाँ भवनहरू निर्माण गर्दा वा भत्केका
भवनहरूको मरम्मत गर्दा तिनलाई अनेक सुविधाहरूले युक्त पार्न सक्छौं। अनेकौं नयाँ
प्रविधि प्रयोग गर्न सक्छौं। अब हामीले ध्वंसलाई सृजनामा र निराशालाई आशा
रूपान्तरित गर्नुपर्छ । देशको आर्थिक विकासमा थप ऊर्जासहित लाग्नुपर्छ।
विश्वराज
अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, September 26, 2025
No comments:
Post a Comment