किन हुन सकिरहेको छैन नेपालको आर्थिक विकास?
मतदाताहरूले
आफ्नो फाइदाका लागि बेइमान,
स्वार्थी र पदलोलोलुप नेताहरू चुनावमा
निर्वाचित गर्ने र निर्वाचितत भइसकेपछि ती नेताहरूले जनता र राष्ट्रको शोषण गरेर
देशलाई गरीब पार्ने क्रम २०४७ देखि निरन्तर चलिरहेको छ। मतदाता र नेताहरूले
निर्माण गरेको यो दुष्चक्रले नेपालको आर्थिक विकास हुन दिइरहेको छैन। अन्य देशको
तुलनामा, खासगरी छिमेकी चीन र भारतको तुलनामा
नेपाल झनै गरीब हुँदै गइरहेको छ। मतदाता र नेताहरूले आआफ्नो स्वार्थको लागि
निर्माण गरेको यो दुष्चक्र नतोडेसम्म नेपालको आर्थिक विकास सम्भव छैन। नेपालको
आर्थिक विकासको लागि यो दुष्चक्र तोड्नैपर्छ। मतदाताहरू अब जागरुक हुनैपर्छ।
हालै
नवयुवाहरू (जेनजी) ले गरेको प्रदर्शन (२०८२ भाद्र २३ र २४) यही दुष्चक्र तोड्ने
प्रयास थियो। तर नव युवाहरू सङ्गठित नभएको र उनीहरूको त्यो प्रदर्शन केवल
विद्रोहको रूपमा आएर त्यसले सही दिशा समात्न न सकेको हुनाले उनीहरूको त्यो
प्रदर्शनले ठोस परिणाम दिन सकेन। स्वार्थी एवं सत्तालोलुप नेताहरू राष्ट्रिय
राजनीतिमा रहिरहने स्थिति सृजना भयो।
विद्रोहको
आयु छोटो हुन्छ र त्यसले केवल मौजुदा स्थितिमा परिवर्तन मात्र ल्याउँछ तर त्यो
परिवर्तनको व्यवस्थापन गर्न सक्तैन । मौजुदा स्थितिमा परिवर्तन ल्याउन अर्थात्
स्वार्थी नेताहरूलाई नेपालको राजनीतिबाट विस्थापित गर्न नवयुवाहरूले विद्रोह होइन
सङ्घर्ष गर्नुपर्छ। शान्त र अहिंसक सङ्घर्ष गर्नुपर्छ। अनवरत सङ्घर्ष गर्नुपर्छ। र
त्यो सङ्घर्षको प्रकृति परिस्थितिजन्य र क्षणिक हुनुहुँदैन। नवयुवाहरूले इमानदार
नेता निर्वाचित हुने वातावरण तयार पार्नुपर्छ। नवयुवाहरू निर्वाचनमा सक्रिय
हुनुपर्छ।
नवयुवाहरू
सङ्गठित भएर सङ्घर्ष गरे मात्र स्वार्थी तथा आजीवन राजनीति गर्न खोज्ने नेताहरूलाई
निर्वाचनद्वारा, मतदान प्रकियाद्वारा, नेपालको राजनीतिबाट निकाल बाहर गर्न सकिन्छ। बल
र हिंसाद्वारा पटकपटक निर्वाचित हुने, पटकपटक
मन्त्री हुने, पटकपटक प्रधानमन्त्री हुने स्वार्थी
एवं पदलोलुप नेताहरूलाई राष्ट्रिय राजनीतिबाट बाहिर फाल्न सकिंदैन। र त्यस्तो गर्न
खोज्नु उनीहरूलाई उल्टो बलियो बनाउनु हुन पुग्छ। गत भाद्रमा भएको विद्रोहमा बल र
हिंसाको प्रयोग भएको हुनाले नै पूर्व प्रम खड्ग ओली अहिले पनि बलियो भएर प्रस्तुत
हुन सक्षम भएका छन्। त्यो स्थिति (जन प्रदर्शनमा भएको व्यापक गोली प्रहार) को नैतिक
जिम्मेवारी लिने मनस्थितिमा पनि छैनन्। भदौमा भएको त्यो ऐतिहासिक विशाल जन
प्रदर्शन शान्त र अहिंसक भएको भए, ओली
नेपालको राजनीतिबाट ओझल भइसक्थे। अन्य स्वार्थी नेताहरू पनि राजनीतिबाट ओझल
भइसक्थे।
शान्तिपूर्ण
विद्रोह र प्रदर्शनमा जति शक्ति हुन्छ त्यति विध्वंसात्मक शक्ति र हिंसामा हुँदैन।
नवयुवाहरूले गरेको गत भाद्रको त्यो विद्रोह कसरी हिंसक भयो? हिंसा कसले गर्यो? तोडफोड र आगजनी कस्ता अपराधी तŒवहरूले गरे? कस्ता
कस्ता अदृश्य शक्तिहरूले त्यो विद्रोहको उपयोग गरे? यस्ता प्रश्नहरूको उत्तर भविष्यमा आउने अनुसन्धानहरूका परिणामले
भन्नेछ। तर एउटा कुरा के भन्न सकिन्छ भने गत भाद्रमा भएको युवाहरूको त्यो प्रदर्शन
एवं विद्रोह भ्रष्ट नेताहरूको शासनशैली, कार्यशैली, अत्याचार, भष्टाचारको
विरोध थियो। विरोधको त्यो तरीका हिंसक हुन पुग्यो, त्यो बेग्लै कुरा हो। केही स्वार्थी तत्वले हिंसा र शक्ति प्रयोग गरे, त्यो बेग्लै कुरा हो।
राजनीतिक
व्यवस्थामा कुनै पनि सकारात्मक परिवर्तनका लागि प्रयोग गरिने माध्यम निवार्चन नै
हो, मतदान नै हो। निर्वाचन विधिद्वारा
मात्र इमानदार नेता चयन गरेर देशको राजनीतिलाई स्थिर पार्न सकिन्छ। आर्थिक विकासको
गति तीव्र पार्न सकिन्छ। स्वार्थी र पदलोलुप नेताहरूको चयन हामीले गरि नै रहे हामी
गरीबिको कुचक्रबाट कहिले पनि बाहिर आउन सक्तैनौं अति उत्कृष्ट भनिएको नेपालको संविधान २०७२ तिनै
स्वार्थी नेताहरूले आफ्नो फाइदाका लागि निर्माण गरेका हुन्। यो संविधानमा भएका अनेक
व्यवस्था नेताहरूले आफ्नो फाइदाका लागि राखेका हुन्। आफूहरू शक्तिमा लामो कालसम्म
रहनका लागि गरेका हुन्। आफ्ना कार्यकर्ताहरूलाई रोजगार (प्रान्तीय मन्त्री, मुख्यमन्त्रीजस्ता पदहरू दिएर) दिनका लागि
गरेका हुन्। सङ्घीय नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई रोजगार दिनका लागि गरेको
भन्ने तथ्य त विगतका वर्षहरूमा भएका अनेक राजनीतिक घटनाहरूले प्रस्ट पारेका छन्।
यसैगरी यस संविधानमा भएको समानुपातिकको व्यवस्था पनि स्वार्थी नेताहरूले आफ्नो
फाइदाका लागि गरेका हुन्। समानुपातिक व्यवस्था प्रयोग गरेर नेताहरूले आफ्नो पत्नी, नातेदार, झोले
तथा आसेपासेहरूलाई मन्त्री बनाएको हामीले देखेको र भोगेको तथ्य नै हो।
संविधान
महत्वपूर्ण होइन। चुनावद्वारा इमानदार नेताको चयन महत्वपूर्ण हो। नेताहरू इमानदार
भएमा उनीहरूले भएकै संविधानको कार्यान्वयन असल किसिमले गर्छन्। मौजुदा संविधानमा
कमजोरी देखिए प्रचलित विधि प्रयोग गरेर हटाउँछन्। अर्थात् संविधान संशोधन गर्छन्।
संविधानलाई नेता होइन, राष्ट्र उपयोगी पार्छन्।
नेपाललाई
गरीब तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रा नेताहरू नै हुन्। ती
स्वार्थी नेताहरू हुन्, जसलाई हामीले निर्वाचित गरेर पठाउँछौं।
सबै निर्वाचित नेताहरू स्वार्थी भए भन्ने खोजेको पनि होइन। तर हामीले निर्वाचित
गरेका बहुसङ्ख्यक वा ९९ प्रतिशत नेता व्यवहार र सत्तालोलुपताले गर्दा स्वार्थी नै
देखिए।
पटकपटक
पदमा बसेर अनि करीब ४० वर्ष जति शासन गरेर, रोबर्ट
मुगाबेले जिम्बाब्वेलाई अति नै गरीब पारे। मुगाबेले राजनीतिमा प्रवेश भने
अल्पसङ्ख्यक गोराहरूको शासनबाट जिम्बाब्वेलाई मुक्त गर्नका लागि गरेका थिए।
कालाहरूको मुक्तिदाता भएर राजनीतिमा उदाएका थिए। तर कालाहरूलाई झनै गरीब पार्न
जीवनभर सक्रिय रहे। अनेक कुकर्म गरे। नेपालको राजनीतिमा वामपन्थी नेताहरूको प्रवेश
पनि नेपालका शोषित पीडित गरीबहरूलाई गरीबीबाट मुक्ति दिनका लागि थियो। तर नेपाललाई
झनै गरीब पार्नमा वामपन्थी नेताहरूले ठूलो भूमिका खेले। उदाहरणका लागि पुष्पकमल
दहाललाई लिन सकिन्छ। उनको नेतृत्वमा भएको १० वर्षे माओवादी विद्रोहमा नेपाल झन्
गरीब हुने वातावरण निर्माण भयो। अनेक उद्योगहरू बन्द भए। व्यापार अति नै सुस्त
भयो।
अहिले
बर्माका सैनिक नेताहरूले बर्मालाई गरीब पार्ने कार्य गरिरहेका छन्। सत्ता र शक्ति
सदा आफ्नो हातमा राख्न बर्माका सैनिक नेताहरूले बर्मालाई गरीब पारिरहेका छन्, अर्कोतिर चीनलाई धनी परिरहेका छन्। चीनले अहिले
ठूलो परिमाणमा बर्मामा निर्यात गरिरहेको छ। साथै बर्माका सैनिक नेताहरूलाई संरक्षण
पनि दिइरहेको छ।
भेनेजुएलाका
नेता (वर्तमान राष्ट्रपति) निकोलास मदुरोले पनि आफ्नो राष्ट्रलाई गरीब पारिरहेका
छन्। सन् २००० देखि नै राजनीतिमा सक्रिय रहेका र सत्ताको चरम दुरुपयोग गरेर मदुरो
पटकपटक निर्वाचित हुन्छन्।
राष्ट्रलाई
गरीब पार्ने नेताहरूको सूची लामो छ। यहाँ के मात्र उल्लेख गर्न खोजेको हो भने
देशलाई गरीब बनाउन नेताहरूको भूमिका महत्वपूर्ण हुन्छ। नेपाललाई गरीब नेताहरूले नै
पारेका हुन्। नेपाललाई गरीब पारेर भए पनि केही व्यक्ति पटकपटक मन्त्री भएका छन्।
केही व्यक्ति पटकपटक प्रधानमन्त्री भएका छन्। आज दशकौंदेखि नेपालको राजनीति केवल
तीन नेता शेरबहारदुर देउवा,
खड्गप्रसाद ओली र पुष्पकमल दहालको
वरिपरि घुमिरहेको छ। हामीले असल नेताहरू निर्वाचित नगरेसम्म गरीबीबाट मुक्ति पाउन
सम्भव छैन।
विश्वराज
अधिकारी
Friday, October 31, 2025

No comments:
Post a Comment