Wikipedia

Search results

Friday, August 19, 2011

कथा ६ - सम्झौता



चालिस वर्ष पहिले म पाच कक्षामा पढदा एउटा कथा रघुबीर मास्टर साहेबले हामीलाई सुनाउनु भएको थियो। त्यतिबेला त्यो कथा मैले केवल समय बिताउने कथाको रुपमा सुनेको थिएँ, बुझेको भने थिन। अब  भने त्यो कथा बुझ्दै छु। कथा यस्तो थियो –
सोमरियाले आँखा रातो रातो पारी आफ्नो पति बलदेवतिर हेर्दै भनी ‘मलाई किचकिच गरेको पट्कै मन पर्दैन। जे कुरामा पनि किचकिच। अब त अति भयो। जहिले पनि किचकिच गर्ने तिम्रो बानी छुटेन भने ………….……’
सोमरियाको कुराले बलदेवलाई झनै उत्तेजित पार्यो। पत्नीको भन्दा चर्को आवाजमा भन्यो ‘के गर्छेस, बढी से बढी भागेर जालिस नहिरा। कि यो उमेरमा पनि उढरने बिचार छ, कसैसँग? सरम धरम सब छोडेर। दु लैकाको मतार भएर पनि त्यस्तो गर्ने बिचार छ भने गर, रोक्नेबाला छैन म। घरि घरि अब बोलाउन जानेबाला पनि छैन म तेरो नहिरामा। थाकी सके। कति जाने बोलाउन? अस्तिको पटक पनि म बोलाउन जाने पक्षमा थिन। तर के गर्नु, मेरो कुनै जोर चल्न सकेन मतारीको अगाडि। मतारीले भन्न थाली – जा जसरी पनि बोलाएर ल्या, बहुअरीबालीलाई। पोल्हाइ फुस्लाइ गरेर भए पनि। परे नेहोरा भाँति गर्न पनि बाँकी नराख्नु। के गर्ने, बौआहरु सफासफी टुगर जस्तो भएका छन्, मतारलाई नदेखेर’।
बलदेवले प्रस्तुत गरेको पत्नी पटक पटक भागेर जाँदा पनि बोलाउनु पर्ने विवसता सहितको कारणलाई सोमरियाले पनि आफ्नो पक्षमा पार्दै भनी ‘यै बौआहरुको मुख हेरेर त म पनि फर्किन्छु, तिम्रो व्यवहारले त…….। कहिले फर्केर आँउथिन यस्तो…….. । बस्थे सँधै नहिरामा नै। जहाँ गए पनि आफ्नै हात उठाएर खाने हो भने के को चिन्ता के को फिकरी। नहिरा जो बेटी ससुरा जो जाँगर चला बेटी कतहुँ खो’।
सोमरियाको कुरा सुनेपछि बलदेव एक छिन चुप लागेर बस्यो। आफ्नो अगाडि रहेको कठौत माथिको पिट्नालाई हेर्यो केही बेर आँखा रातो रातो पार्दै। केही क्षण भने कुनै बेला पिट्नातिर कुनै बेला पत्नीतिर हेर्यो। केही क्षण त्यस्तो गरेपछि मुन्टो बटार्यो पिढीतिर पत्नी बसेको ठाउँमा अनि करायो ‘बसैर खाने बिचार थियो भने किन बिआह नगरेको धनीकसँग, कोठाबालासँग। म जस्तो  टुटल मडैयामा बस्ने हरबाह चरबाहसँग किन गरेको? बेकारमा दुख पाउन ……….’।
बलदेवको कुराले घिउमा आगोको काम गर्यो। घिउ पाएपछि ज्वाला आगो माथि आए झै सोमरियाको रीस पनि ज्वाला बनेर निस्को उसको मुखबाट। बलदेवको भन्दा चर्को स्वरमा कराउँदै भनी ‘फँसाइदिए नि तिम्रै पिउसाले मलाई यस्तो जालमा। बनाइ दिए धोबीका कुत्ता, घरका न घाटका । कान भरिदिएका थिए।  मति फिरिगयो मेरो बापमतारीको पनि, उनैको कुरामा लागेर। मति नफिरोस पनि कसरी? सधै आएर भन्थ्ये – लडका बडा कमासुत छ, आ बढिया सोभावको पनि। त्यस्तो कुनै अलम उलम पनि छैन। गाँजा भाँगमा त कहिले एकचोटी हातसम्म पनि हालेको छैन। देहमा अलिकति पनि आसकत ओसकत छैन। चार सेर बनिहारी गरेर आफ्नो बालबच्चा सजिलै पाल्न सक्छ’।
यति भनेर सोमरियाले आँगनमा राखेको घैलातिर हेरी। केही मात्र पानी बाँकी रहेको त्यो घैला काग त्यसमाथि बसेर उड्दा घोप्टिन पुगेको थियो। उसले त्यो घैलालाई त्यस्तो अवस्थामा देखेर पनि उठाइन। घैलाको छेउमा बसी कराइरहेको काग लाई पनि अरु दिनको जस्तो न त हिर्काइ नै न त कुनै गाली नै गरी मुझौसा, जुअन्ढाहा भनेर ।
केही क्षणदेखि शान्त भइ बसेको बलदेवलाई सोमरियाका अघिका ती कुराहरुले उत्तेजीत पारे। बसेकै ठाउँबाट हात लम्क्यायो कठौत छेउमा रहेको पिटना लिन। तर किन हो हात पछाडि तान्यो र केवल गर्ज्यो ‘तेरो मुख धेरै चल्न थाल्यो, हजामको छुरा जस्तो। कहाँ कहाँका कुराहरु ल्याउन थालिस। कुराका पेटारी धेरै न खोल, आ न निकाल बिषैला साँपहरु त्यसबाट। चाहिने भन्दा बढी बोले भने निकाली दिन्छु तेरो त्यो एक हात लामो जिभ’।
सोमरियाले बलदेवको कुराको वास्ता नगर्दै आँगनतिर हेरेर फतफताई ‘यस्तो पनि कही मरद  मानुष हुन्छ, जे गरे पनि किचकिच। फोरन हाल्न मात्र अलिकति तेल किन्नु पर्यो, धान बेचेर त्यो पनि उसलाई सोध्नु पर्ने। सिधरी ल्याएको थियो गाउँमा बेच्न, टोलाका सबैले किने, मलाई पनि अलिकति किन्न मन लाग्यो, किने, किन उसलाई नसोधी किनेको भनी त्यसमा पनि किचकिच। होइन हरेक कुरा उसलाई सोध्नु पर्ने। मेरो मतारीले दिएको एउटा पाठी , पालपोस गरेर ठूलो बनाए, त्यसबाट जन्मेको खसी बेचेर गहना बनाउन खोजे, बेच्न पाइन। अस्ति डुमरिया बजार गएको थिएँ बौआहरुका लागि कटु किने , किन किनेको भनी त्यसमा पनि किचकिच। होइन कति किचकिच। अरुको घरमा भने, हेर त पल्टुआबाली कहाँ, जे कुरा माग्नु परे पनि पल्टुआबालीसँग माग्नु पर्दछ। उसैसँग सोध्नु पर्दछ। जाबो आगो मागे पनि उसको मरदले भन्छ – पल्टुआबालीलाई भनन्। त्यस्तो पो हुनु मरद मानुष भएर। घरभित्रको काम त जनीजातले हेर्न पाउनु पर्छ। त्यस्तो काममा पनि किचकिच, हत। हुँदा हुँदा अब भोलि तरकारीमा कति तेल हाल्ने त्यो पनि सोध्नु पर्ने होला। कति चामल हाल्ने भात पकाउन, त्यो पनि सोध्नु पर्ने होला। यस्तो सोभाव त कसैमा देखेको थिइन। मेरो नहिरामा त……………….’।
पति पत्नी बीचको झगडा लामो समयसम्म चल्यो। बलदेवकी आमाले दुबैलाई गाली नगरेको भए दुबै बीचको झगडा कतिसम्म चल्ने थियो भन्न सक्ने स्थिति थिएन किनभने हार्ने पक्षमा दुबै थिएनन्। झगडामा विजय दुबैको प्रतिष्ठाको बिषय बनेको थियो। अझै बलदेवलाई त आफू तल परौला भन्ने विषेश डर थियो।
दिउँसो कलउ सबैले  एकअर्का सँग नबोलेर नै खाए। त्यति मात्र बोले सम्वादका लागि जति बोल्न आवश्यक थियो। आमाले पनि छोरा बोहारी बीच सहज किसिमबाट वार्तालाप गराउने प्रयास गरिन। आफूले पनि उनीहरुसँग सहज किसिमले बोल्न खोजेको चेष्टा प्रस्तुत गरिन। कलउ खाएपछि बलदेव कसैलाई केही नभनी घर बाहिर निस्क्यो। आमाले छोरा जङ्गलतिर दाउरा लिन गएको अनुमान गरी। सोमरिया पनि पति निस्केको एकै छिन पछि निस्की। उसले पनि कता जान थालेको हो केही पनि बताइन। तर उसको हातमा रहेको डेली र हँसुवा भएकोले बाख्रीलाई घाँस लिन गएको अनुमान सहजै किसिमबाट गर्न सकिन्थ्यो।
गोधुलिसाँझभन्दा पहिले नै फर्क्यो बलदेव टाउकोमा दाउराको  भारी बोकेर। तर बहुअरीबाली भने फर्किन। एक पहर रात बित्यो त्यै पनि बहुअरीबाली फर्किन। त्यतिबेला सम्म पनि नआएकोले बहुअरीबाली फेरि माइत भागेकी अनुमान आमा छोरा दुबैले सहजै किसिमले गरे। तर बोलाउन जाने बारेमा भने दुबैले केही कुरा गरेनन्। केटा केटीहरुले पनि आमालाई खोजेनन् हजुरामाले फसल्यङ्ग फुसलुङ्ग पारेकी हुनाले।
भोलि पल्ट बिहान, पनपिआइ खाने बेलामा बलदेवकी आमाले क्रोध मिस्रित भावमा छोरातिर हेर्दै भनी ‘अब एक चोटी जा बौआ, म नेहोरा गर्छु तेरो, गइ दे। त्यस पछि फेरि भागे भने चाँहि नजानु बोलाउन। बहअरीबाली बसोस सँधै नहिरामा नै। तर यो एक चोटी र अन्तिम चोटी चाँही गइदे। मेरो कुरा मानेर होइन कि यी बौआहरुको  मुख हेरेर।
आमाको अनुरोधको अगाडि केही जोर चलेन बलदेवको। ऊ जान तयार भयो बहुअरीबालीलाई बोलाउन। तर जाँदा एक रात अर्को गाउँमा रहेको फुफाको घर हुँदै मात्र जान्छु भनी आमा समक्ष प्रस्ताव राख्यो। आमाले छोराको प्रस्तावमा हँ न केही नबोली मौनम स्वीकृति लक्षणम् प्रदर्शित गरी।
ससुराली पुगेपछि बलदेवले थाहा पायो बहुअरीबाली त्यहाँ नपुगेको। बरु ससुराले उल्टो प्रश्न गरे ‘दमाद एक्लै आउनु भयो? आ बालबच्चा ……………. ? कुशल मँगल त……….. ?’
बलदेवले हाँस्दै उत्तर दियो ‘मैले त यहीँ होली भनेर लिन आएको ठगवामतारीलाई, घरबाट त हिँजै साँझमा हिँडेकी,कहाँ गइ त? हिँजै साँझमा यहाँ आइपुग्नु पर्ने होइन र’?
यति भनेर पत्नी कहाँ गएको हुन सक्छे भनी घोरियो बलदेव। ज्वाइ घोरिएको देखी केही बोल्न मात्र के खोजेका थिए ससुरा शिउपुजन, छोरी आँउदै गरेको देखे। सोमरिया आँगनमा पुगेकी मात्र के थिइ उसलाई बाबु र पति दुबैले एकसाथ प्रश्न गरे ‘हिँजै आउनु पर्ने थियो’?
सोमरियाले बाबु र पति दुबैलाई पालै पालो गरी हेरी। एक छिन चुप लागी। ती दुबैले उसलाई आश्चर्य भावले हेर्दै थिए। सोमरियाले बाबुतिर हेर्दै भनी ‘हिँजै आउँथे तर के गर्नु, बाटोमा मामीलाई भेटे, मामीले आफ्नो घर हिँडन एकदम जोड गर्नुभयो, जान्न भन्नै सकिन, के गर्ने मामीसँगै गएँ, वहाँको घर’।
बाबुले आश्चर्य मान्दै सोधे ‘मामीसँग कहाँ भेट भयो नि’?
सोमरियाले जबाफ दिइ ‘मामी डुमरिया बजारबाट आँउदै हुनुहुन्थ्यो, बजार गरेर, गाँवबाट म बाहिर निस्के पछि देखे वहाँलाई बरहमथाननिर पिपरको गाछीतल। राती वहाँकै घरमा बसे। बिहान पनपिआइ खाएर हिँडेको, छिटै आइपुगेँ।
सोमरियाले बलदेवतिर हेरी, ज्यादै सामान्य भावले। र केही बोलिन पनि। बलदेवले पनि सोमरियाको मुहारमा हेर्यो त्यस्तै भावले। उसले पनि सोमरियासँग बोलेन। दुबैको मुहारमा क्रोध रहेको भाव रत्ति पनि झल्केन। सोमरियाको मुहारमा देखिएको भावले लाग्दथ्यो उसले पतिसँग सोधिरहेको होस – घरको हाल खबर कस्तो छ? बलदेवको मुहारमा पनि त्यस्तै किसिमको प्रश्न सुचक भाव झुल्केको थियो।
राती सुत्ने बेलामा दुबै बीच सामान्य कुराकानी मात्र भयो। दुबै बीच कुनै विवाद भएन। अति सौहार्दता पनि देखिएन। रात सामान्य किसिमले बित्यो।
भोलि बिहान पति पत्नी दुबै घर जान निस्के। आँगनमा ती दुबैलाई देखेपछि बाबुले छोरीतिर हेर्दै आश्चर्य मानेर सोधे ‘किन यति चाँडै जान थालेको, हँ, सोमरिया? दुइचार दिन बसेको भए हुन्थ्यो। दमादलाई जान दिएर तँ दुइचार दिन बसेको भए हुन्थ्यो’।
यति भनेर बाबुले छोरीको त्यसपछि ज्वाइको मुहारमा हेरे। ज्वाइको मुहारमा उनको प्रस्तावप्रति सकारात्मक वा नकारात्मक कुनै किसिमको भाव नरहेको अनुमान ससुराले सहजै गरे।
सोमरियाले आफू छिटै जानु परेको कारणको औचित्य प्रष्ट्याउँदै भनी ‘होइन, बाबु, केटाकेटीहरुले खोजिरहेका होलान मलाई। रीसको बेगलाई रोक्न सकिन, हिँडे तिनीहरुलाई छाडेर। कसैलाई केही पनि नभनेर, निस्के घरबाट एकदम चोर जस्तो’।
पत्नीको कुरा सुनेर बलदेव हाँस्यो एक छिन सम्म। बलदेवको ससुरा पनि हाँसे। ती दुबै हाँसेको देखेर सोमरिया पनि हाँसी र हाँस्दै बाबु र पति दुबैलाई पालै पालो गरी हेरी । समसामयिक त्यो घटनालाई सबैले सामान्य बनाउन खोजे झै प्रतीत भयो।
लमहा नदी पार गर्दासम्ममा पति पत्नी दुबै खुलिसकेका थिए। बिगतको घटनामा नअल्झिएर अन्य कुराहरुमा नै केन्द्रित थिए ती दुबै। तर एकै छिन पश्चात चलिरहेको वर्तमानको प्रशंगमा परिवर्तन ल्याउँदै सोमरियाले पुरानो कुरा कोट्याउँदै सोधी ‘यो पटक त मलाई गाली गलौज गरेनौ नि, पहिले जस्तो? नहिरामा पनि केही भनेनौ, देख्ने बितिक्कै, किन’?
पत्नीको कुरा सुनेपछि एकै क्षण केही पनि बोलेन बलदेव। सोमरिया पनि चुप लागेकी थिइ। केही बेरदेखि कायम रहेको मौनतालाई तोड्दै बलदेवले भन्यो ‘एक चोटीको लागि माफ गरिदिएँ। अब त्यस्तो नदोहरिएला पनि, होइन त’?
सोमरियाले प्रश्नको जबाफ दिन ।एक छिन केही नबोलेर केबल अगाडिको बाटोलाई हेरी मात्र रही। बलदेबले फेरि भन्यो ‘तैले पनि त जिद गरिनस् नि, एक चोटी पनि तेरो मुखबाट घर जान्न भनेर निस्केन, बरु फटाफट तयार भइस घर जान्छु भन्दै, किन’?
दुबै लामो क्षणसम्म केही पनि नबोली हिँडि मात्र रहे। केवल आफू अगाडिको दृश्यलाई मात्र हेरे। दुबै अतीतको सम्झनामा हराइ झै लागद्थ्यो। मौनताको त्यो सिलसिलालाई सोमरियाले नै तोडी र हाँस्दै भनी ‘अस्ति राति मामीको घरमा चैनसँग कहाँ सुत्न पाउनु, रातभर हुँडरहो मच्चिरह्यो। मामा मामीको बीचमा साँझमा शुरु भएको झगडा बडका भोरसम्म चलिरह्यो। हाम्रो मामा त बडका भारी कसाइ पो रहेछन्। बेमतलबको झगडा शुरु गरे मामीसँग। गाली गलौज मात्र हो पिट्न पनि थाले। हातले, खुट्टाले पनि। मामी त्यति जोडले रुँदा पनि कोही आएन झगडा छोडाउन। मैले पनि मामालाई रोक्न सकिन। तिनमनको पहलमान जस्तो देह भएको मान्छेलाई म एक्लैले कसरी रोक्न सक्नु? एउटा पडोसिया त आएको पनि थियो, झगडा छुटाउन, तर उसको मौगीले हात तानेर पुर्याइ उसको आफ्नो घरतिर। त्यो झगडा छुटाउन आउन नै दिन उसले आफ्नो मरदलाई। बरु उल्टो आफ्नो मरदलाई गाली गर्दै भनी – रे मरद मौगी के झगडा फरिआए जाए से लबरा। कोही पनि आएन छुटाउन। पछि त लाठीले पनि हिर्काए, मोटो बाँसको लाठीले। मामीले टाउको दुबै हातले नछोपेको भए फोडिदिन्थ्ये सायद कपार सपार। हाम्रो मामा त बडका भारी पापी पो रहेछन्, एकदम अधर्मी , सफासफी दयमया नभएको सैतान, डाँकु। मामी त एकदम सिधा साधा बाँस जस्तो, बदमास, त हरामी मामा नै हो। धन्य मामी त्यस्तो पराछुतसँग पनि बस्न सकेको।
यति भनेर सोमरिया एक छिन सान्त भइ। पतिले थाहा नपाउने गरी उसको मुहारतिर हेरी पुलुक्क। पत्नी धेरै बेर शान्त रहेको देखी उतिर हेर्दै बलदेवले भन्यो ‘म पनि कहाँ सुत्न पाउनु, अस्तिको राति चैनसँग। सुत्न पनि पाइन आ घटना पनि देखे, बडका भारी गजबको’।
पतिको कुरा सुनेपछि सोमरियाले आश्चर्य मान्दै प्रश्न गरी ‘आफ्नै घरमा पनि किन सुत्न सकेनौ रात भर, आ के त्यस्तो चिज देख्यौ गजबको’?
बलदेवले पत्नीतिर हेरेर हाँस्दै भन्यो ‘म पनि त रामबचन फुफाको घर गएको थिएँ, यहाँ आउनु भन्दा पहिले। एकरात त्यहाँ बसेर भोलि पल्ट यहाँ आएको। राति फुआ र फुफा बीच पनि कम झगडा भएन’।
सोमरियाले व्यग्रता प्रदर्शन गर्दै भनी ‘के भयो त्यस्तो छिटै खुलस्त पार न’।
बलदेवले भन्यो ‘फुफाले फुआको चानीको हँसुली बन्हकी राखिदिएका रहेछन्। कटहरिया बजारको कुनै कपडा दोकानमा। बस त्यही हँसुली थियो कारण त्यो झगडाको। फुफाले पनि बन्हकी नराखेर के गरुन, महाजनको करजा चढेको थियो कपारमाथि। पानी परेन, एक बुन्द पनि। रौदीले गर्दा रोपेको धान जरेर भयो खत्तम, उल्टा करजा चढ्यो शीरमा। त्यै करजा तिर्न फुफाले फुआको हँसुली बन्हकी राख्नु परेको थियो। फुआको कहनाम कि मेरो हँसुली नै किन बन्हकी राखेको, अरु चिज किन नराखेको। रात भर चल्यो त्यो घर झगडा’।
यति भनिसके पछि बलदेवले सोमरियाको मुखमा पुलुक्क हेर्यो। केही क्षण पत्नीको मुहारमा झल्किएको भावको अध्ययन गर्ने प्रयास गर्यो। सोमरिया शान्त देखिएकी थिइ। बलदेवले पत्नीतिर हेर्दै भन्यो ‘ओह, हाम्रो फुआ, सफासफी डाँकु जस्तो। एकदम दयामया नभएको, बिषैला साँप जस्तो, रहि रहि फोँफ काढने। फुफाले एक थपड हिर्काउँदा फुआले दस थपड। फुफाले एक लाठी त फुआले दस लाठी। केही छिन त झगडा शान्त भएको थियो। तर त्यो चुरइन फुआको करतुतले गर्दा फेरि झगडा शुरु भयो’।
सोमरियाले प्रश्न गरी ‘कसरी’?
बलदेवले भन्यो ‘फुआले पिँढिया चलाएर हिर्काइन, फुफाको टाउकोमा, चोटले कपार फुटेर खुन बहन थाल्यो। मैले हल्ला गरेर बोलाए अडोसिया पडोसियाहरुलाई। फुआका दुइवटा छोराहरुले त हेरी मात्र रहेका थिए टुकुर टुकुर। गर्न सकिरहेका थिएनन् केही पनि, मतारीको डरले। अडोसिया पडोसियाहरुले छोडाए पछि मात्र छुट्यो त्यो झगडा’।
पतिको कुरा सुनिसकेपछि सोमरियाले प्रश्न गरी ‘फुफाले पनि फोडेनन् कपार सपार फुआको’?
बलदेवले शान्त स्वरमा जबाफ दियो ‘कहाँ हुनु हाम्रो फुफा त्यो चुरइन फुआ जस्तो। एकदम सिधा साधा छन सफासफी  गाइ जस्तो, हाम्रो फुफा। चपाट त हाम्रो फुआ नै हो। आफ्नो खुन भएर के गर्नु, खराबलाई खराब नै भन्नु पर्छ। इमान धरम छोड्नु हुँदैन। फुफाले त्यस्तो नराम्रो केही पनि गरेनन् चंडालिन फुआलाई’।
वार्तालाप गर्दा गर्दै पति पत्नीले आफ्नो घरको आँगनमा प्रवेश गरे। आँगनमा प्रवेश गरेपछि बलदेवले भन्यो ‘कुरामा यति व्यस्त भइयो कि एक कोष जमीन  कटेको ज्ञान नै भएन। उसको भनाइमा सोमरियाले पनि शीर हल्लाएर सहमति जनाइ। दुबैले बसेर केही क्षण विश्राम गरे। केही स्मरण भएझै गरी सोमरिया चुल्होतिर लागी। बलदेव हिँड्यो मचानमा राखेको दाउरा लिन।
 ती दुबैको, बाँकी सबैको दिनचर्या चल्न थाल्यो पूर्ववत। धेरै समयसम्म उनीहरु बीच फेरि झगडा भएको भने सुनिएन।


विश्वराज अधिकारी

कविता - २ विश्व कविता

विश्वराज अधिकारी
२०११ मार्च ८
कालो रात आयो

फेरि  कालो एक्लो रात आयो
याद मीठो वात आयो
अतीतको थालमा
सम्झनाको सौगात आयो

रूपको गित आयो रङ्गको संगित आयो
पोखिएर मन भरी वशन्त वहार छायो

म छु एक्को कोठा छ टिल पिल तारा आकास छ
मनमा आज त्यसै त्यसै इन्द्रेणीको बास छ

आँखा भरि रातको कालो छाँया छ
तर म देख्दै छु चारैतिर कसैको माया नै माया छ

सुतिसकै सबै दिवाचरहरु अल्झिएर जोड घटाउको जालमा
आँखामा निद्रा छैन मेरो मस्त छु कल्पनाको तालमा

पुगौला कुनै दिन त सपनाको त्यो गाउँमा
भेटौला कसैलाई फेरि त्यही ठाउँमा

ती दिनहरु

आज फेरि गीत त्यही गाउँदै छु
सुतेका यादहरुलाई ब्युझाउँदै छु

ती दिनहरु मधुर मधुर
म र कोही मेरो साथमा
डुबेका ती मनहरु
आनन्दको उन्मादमा

धरतिमा पाइलाहरु
आकाश माथिको आभाष थियो
चाँदनी त्यो रातमा
मनभरि हिरा मोतिको संसार थियो

मनहरु कहिले फूलहरुमा
कहिले पात पातमा
हाँसोका लस्करहरु
हरेक बात बातमा

सम्पत्ति झै ती यादहरु मनको हरेक काप कापमा
एकलै छु सुन्य छ चारैतिर तर पनि छ कोही मेरो साथमा

कुरा कुनै खास गर

फूलको बात गर
सुगन्धको बात गर
तर आज कुरा कुनै
अलिकति खास गर

जुन छरिएको छ चारैतिर
चम्किलो आकाश छ
यो मनको कुना कुनामा छैन अध्यारो कुनै
त्यो मनलाई साथ साथ गर
तर आज कुरा कुनै
अलिकति खास गर

मनको आँखामा
आँखाको मनमा
छाया नै छाया छ
यो आँखामा हेरेर
बुझिदिने प्रयास गर
तर आज कुरा कुनै
अलिकति खास गर

सुनसान छ चारैतिर
आँखाहरुमा निदरीको राज छ
रातको यो प्रथम प्रहरमा
केवल यी आँखाहरुमा अनिन्द्रको बास छ
भत्किने हो कि मनको पर्खाल
अलिकति त्रास छ
बुझाउँदै छु मनलाई
केही त विश्वास गर
तर आज कुरा कुनै
अलिकति खास गर

खोली बस ढोका मनको

खोली बस ढोका मनको
कोही आउँदै छ
मुटु भरि कोसिली सम्झनाको
मुरी मुरी ल्याउँदै छ
खोली बस ढोका मनको
कोही आउँदै छ

ओट भरी गीत छ
आँखा भरी छाया
ढुकुटी भरी नरित्तिने
न्यानो न्यानो माया
साथमा केही नयाँ
खास ल्याउँदै छ
खोली बस ढोका मनको
कोही आँउदै छ

जीवनको उकाली ओराली
ओर्लिदै चढ्दै
कहिले थाक्दै कहिले रम्दै
आशाको सुन चाँदी
धेरै धेरै ल्याउँदै छ
खोली बस ढोका मनको
कोही आउँदै छ


मधुपर्क

आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा
बुनिँदै छ जीवन डोरी सपनाको पातले
चढदै छ मात आशै आशले
आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा

कल्पनाको रथ चढी सयर छ संसारको
सुन्दै छु मधुर संगीत वरपर
चारैतिर पायलु झंकारको
आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा

इन्द्रेणीको सातरङ्ग
मनको आकाशमा
चहकिलो मुहार छ
सात सूर्यको प्रकाशमा
आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा
आगमनमा चीर प्रतीक्षा पनि लाग्ने छ छोटो घडी
समीप त कति भनु अमूल्य रत्न मणी
सुवासले भन्छ कोही आउँदै छ
विश्वासको आकाशमा कोही उदाउँदैछ
आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा

म छु धरतिमा

म छु धरतिमा मन छ आकाशमा
चम्किलो मुहार छ यादको प्रकाशमा

सम्झनाको सागरमा उर्लदो छाल छ
किनार पर्दैछन जीवन सिपीहरु मोहक हाल छ

खोज्दै छु जीवनका ती अमूल्य लिलाहरु
भत्काउन चाहन्छ मनले मर्यादाका किलाहरु

भो कति साँच्ने जीवनका ती कडिहरु
तर पनि भुल्न कसरी सक्नु उमेरका ती घडिहरु

बादलुको पङ्खमा यात्रा सात समुन्द्रपारको
हुँदैछु अति समीप मायाको संसारको

मनको शूल

सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ कहिले तिल जत्रो भूल
कथा जति व्यथा बने पतझड वशन्त वहार भयो
मेरो लागि यो दिलको रहर
अर्कै ग्रहको संसार भयो
सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ तिल जत्रो भूल

थुन्न खोज्छु कति कति उमेरो खोला
बगिसकेको पानी हजूर कसरी फर्किने होला
भ्रममा छु बग्ने हो कि उल्टो उमेरको गंगा
भ्रममै बनी दिन्छ यो मन आकाशमाथिको चङ्गा
सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ तिल जत्रो भूल

भूलको कथा भूलको व्यथा कसैलाई सुनाउनु छ
चिरा चिरा परेको मन खोलेर देखाउनु छ
भूलमा छटपटिएको यो मन कसैले देख्ने होला
कथा मेरो थोरै भए पनि कसैले बुझिदिने होला
सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ तिल जत्रो भूल

बितिसक्यो रात सबै

बितिसक्यो रात सबै एक पहर बाँकी छ
भनी सक्यौ कुरा सबै मन खोल्न बाँकी छ

गरी सके बयान सबै भन्नु नै के छ र
तिमी भन्छौ अझै केही भन्न बाँकी छ

विश्वासमा विश्वास हुन्छ अविश्वासमा हुन्छ के
नाप्न केवल अब मेरो विश्वासको सीमा बांकी छ

संकाको सीमा हुँदैन तर देख्न सके ढुंगामा पनि भगवान देख्छिन्
अब केवल महावीर झै छाति चिर्न बाँकी छ

आँशु

सुखमा हाँस्छ आँशु
दुखमा रुन्छ आँशु
थाहा नै नपाइ कति खेर
आँखाबाट झर्छ आँशु

दुख पखाली दिन्छ आँशु
सुख उचाली दिन्छ आँशु
सुख दुखको साथी बन्दै
हरपल साथ दिन्छ आँशु

छैन आँशु बसमा मेरो
आँखामा उसैको अधिकार छ
आँखासँग यसको
अटुट प्यार छ

एक्लोमा साथी आँशु
भीडमा पनि साथी आँशु
सुख दुख मेरो भोग्दै मसँग
सँग सँगै हिंडछ आँशु

मेरो कथा बोकी दिन्छ
मेरो व्यथा बोकी दिन्छ
कस कसले पीडा मलाइ दिए
सबलाई चिन्छ मेरो आँशु

बैरिलाई देख्दा रुन्छ आँशु
मित्रलाई देख्दा हाँस्छ आँशु
कहिले बनी मोतिका दाना गाला भरि
कहिले बन कांढा झै चसक्क घोच्छ आँशु

मन आगो

सल्की रहन्छ धुँवा नआइ
भित्र भित्रै मन आगो
डर लाग्दो हुन्छ बन भन्दा
नदेखिने मन आगो

छिटै फैलिन्छ बन भन्दा मन आगो
निभाउन गार्हो हुन्छ बन भन्दा मन आगो
डर लाग्दो हुन्छ बन भन्दा
नदेखिने मन आगो

लाख कोसिस गरे निभ्ला बरु
विशाल फैलिएको बन आगो
निभदैन सात बादल झरे पनि
दन दनी सल्केको मन आगो
डर लाग्दो हुन्छ बन भन्दा
नदेखिने मन आगो

नबाल मनमा मेरो आगो
तिमीतिर थाहै नपाइ सर्न सक्छ
मैलै रोक्न खोज्दा खोज्दै
तिम्रो अस्तित्व खरानी बन्छ
निर्दयी हुन्छ अति अति
बन भन्दा मन आगो
डर लाग्दो हुन्छ बन भन्दा
नदेखिने मन आगो

१०
मनको आँखामा

मनको आँखामा आँखाको मनमा कसैको बास छ
छाया छ चारै तिर मन मोहकता अलि खास छ

हावामा उमङ्ग छ अनौठो सुगन्ध छ
सीमाहीन कल्पनामा कोही मेरो संग छ

सुन छ चांदी छ हिरामोति जबाहरात छ
सजिएर हिँडेको भावना जन्ति उफ क्या बात छ

मनको आकासमा इन्द्रेणी झुलेको छ
छात भरि मन मेरो त्यसै त्यसै फुलेको छ

११
चाँदनी आकाश थियो                   

चाँदनी आकाश थियो
शितल बतास थियो
भदौरे रातमा
समझ्नाको बरात थियो

बेली चमेलीमाथि सुगन्धको राज थियो
घरि घरि आकाशमा बिजुलीको प्रकाश थियो
बादलको डोली चढी
एक्लो त्यो शून्य रातमा
कोही आउने आश थियो

गीत थियो
संगीत थियो
सुर थियो ताल थियो
बाजा गाजा केही थिएन
तर मिठो गीतको आभास थियो

आँखामा उमङ्ग थियो
मनमा तरङ्ग थियो
नदेखिए पनि त्यहाँ
कोही मेरोसङ्ग थियो

१२
याद

म थिए केवल मेरो छाया थियो
तर चारैतिर उसको माया थियो

यादको बाढीमा डुबेको थिए म
टाउको माथिसम्म मात्र पानी पानी थियो

जीवन नाटकमा कहिले नायक कहिले खलनायक के के म भए
कहिले बिर्सिन नसकिने मसँग अनौठो एउटा कहानी थियो

छाती भित्र राखिएको एलबम मात्र हेर्न किन मन लगेको होला
छरिएर रहेको तस्विर हेर्दा आँखा भित्र उन्मादको जवानी थियो

मनले घरि घरि स्पर्स गरिरहेको थिए 
सजीव तस्विर उसको मेरो अगाडि थियो।

१३
खोज्दै थिए                                     

जुन तारा जागा थिए बेली चमेली सुबास साथमा
सम्झना छरिएका थिए चारैतिर एक्लो कालो रातमा

खोज्दै थिए म मेरा पंक्तिहरु अलि अलि मेटिएको
आफ्नै कथा पढदै थिए म कसैद्वारा लेखिएको

गुन्द्रीमाथि म छु मेरो आँखा भरि फैलिएको आकास छ
घरि घरि मलाई छोएर जाने पूर्वैया सितल बतास छ

बटुल्दै थिए सम्झनाका मोतीहरु राख्न मनको पेटारीमा
चारैतिर को को थिए मेरा कालो बादलको छहारीमा

समयको खोलामा बगेको मेरो आँशु हाँसो जिन्दगानी
खोज्दै थिए उमेरमा एकचोटी मात्र फुल्ने फूल त्यो जबानी


१४
जीबन
                   
कहिले गतिहिन पहाड
कहिले सागर छाल
जिबन एक गीत
अनिस्चित कुनै‌ सुर ताल

कसैको भागमा जोड्ने मन्त्र
कसैको भागमा केबल घट्ने जन्त्र
जिन्दगी राज्यमा
धेरै  धेरै तन्त्र

जिबन गणित
समाधान गर्ने आफ्नै आफ्नै सुत्र
जस्तो जस्तो जोगी
उस्तै उस्तै मन्त्र

चाँदीको छतमुनी सुनको डस्नामा
जीबन मायाको प्रेंमपत्र
सीमाहिन गरिबीमा जिबन
केबल निर्जिब यन्त्र

१५
पोखिएको जिन्दगी

कहिले भरिएर पोखिने कस्तो यो जिन्दगी
बाँच्न खोजे झै तर बाँच्न नसकिने जिन्दगी

यसका लागि उस्का लागि कस्का लागि बाँचेको रहस्य भयो जिन्दगी
जिन्दगीको छेउ पुग्दा खोसिने अचम्म यो जिन्दगी

आशै आशको पहाड कस्तो यो जिन्दगी
प्यासै प्यास अपार कस्तो यो जिन्दगी

जहिले पनि मागिनै रहेँ दिँदा दिँदै थाकेको जिन्दगी
मोह र लोभले श्रापेको जिन्दगी 


१६
खोइ के जिन्दगी

अलिकति फूल धेरै सूल हो
जिन्दगी सहि थोरै  धेरै भूल हो

आफ्नतमै बिझ्ने बढी जिन्दगी यो काँढा
नजिकका  नै भइदिने झन झन टाढा

बाँच्ने तयारी गर्दा गर्दै  सकिने यो जिन्दगि
मुठ्ठी भित्र कस्न खोज्दा बालुबा झै पोखिने यो जिन्दगी

किरा फट्याँग्रा मन्द बुद्धि तर सरल तिनको जिन्दगी
चेतनाको सिखर छुने मानिसको जटिल किन जिन्दगी

रहरको शहरमा सधै अति डुल्ने यो जिन्दगी
आशाको रुखभरि लटरम्म फल्ने यो जिन्दगी

हिरा मोति सबै छुट्छन यही जादैन केहि साथमा
बिर्सिएर यो सधै  भोलिको लागि साँच्ने यो जिन्दगी
               

१७
मेरो खबर

आज फेरि आकाश भरि बादल छाएको छ
कसैको यादले मनलाई उज्यालो बनाएकोछ
घरि घरि कालो घुम्टोबाट हेर्ने बिजुलीले
उसको झझल्को ल्याएको छ

म छु छैन वरिपरि कोही
सन्देश पठाउँ कसरी उसलाई
पुर्याइ दिन्छु सन्देश भन्ने तर
आकाशभरि बादलको लस्कर छ

बादल मेरो दूत भएर पुर्याउने छ खबर
मायालाई हाम्रो उसले बनाई दिने छ अमर

१८
बेली चमेली सुगन्ध वरिपरि

बेली चमेली सुगन्ध वरिपरि
जुनकिरीको मुस्कान थियो
टिल पिल टिल पिल तारा पनि लुकेका थिए कालो बादलमा
तर हृदयभरि अति उज्यालो प्रकाश थियो

म एक्लै थिएँ
तर मसँग सम्झनाको लस्कर थियो
मेरो खबर कोही समक्ष पुर्याइदिने
बादलको माया अपार थियो

डुबेर अतीतमा केलाउँदै थिएँ ती क्षण कहिले
कहिले भविष्यमा यस्तो हुने त्यस्तो हुने कल्पनाको रफ्तार थियो
वर्तमान त सातै रंगले पोतिएर
मनभित्र छुट्टै मोहक संसार थियो

कालो अन्ध्यारो चारैतिर
किट पतङ्गको स्वरको साम्राज्य थियो
भदौरे शितल रातमा
कोही आउने आश थियो

१९
खुला आकास

जुन ताराको साथ थियो
खुला सफा आकास थियो
कोइ मेरो साङ्गमा
क्या गजवको बात थियो

आँखामा उमङ्ग थियो
मनमा तरङ्ग थियो
बितिरहेको हरेक पलमा
बेली चमेली सुगन्ध थियो

आन्नदको पहाड थियो
जीवनको सार थियो
जता ततै रङ्ग उमङ्ग पोखिएर
अनौठो संसार थियो

सून्य एक्लो रात थियो
हातमा हात थियो
कल्पनाको सागर उर्लिएको
उफ् अचम्मको साथ थियो

२०
बगैचा

बगैचा भरि सयपत्री
मनभरि फुलेको छ सम्झना
भुलेका सपनाहरु पनि
आँखा भरि बनेका छन बिपना
लाग्छ यो जिवन कहिले केवल सम्झनाको भारी
बितेका क्षणहरु सँगालेको विसाल त्यो भकारी

२१

केवल एक पहर बाँकी छ


रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ
नसोँचेको कहाँ हो र तारा टिपि निधार भरि सजाउने
इन्द्रेणीको सातै रंग मुहारमा फैलाउने
आकास छुने रहरमा केवल पछारिए यसरी
पिडै पिडा सरीर भरि बेस्सरी
जीवन केवल दुखै दुखको सार भयो
घाटामा रित्तिएको वेपारीको वेपार भयो
रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ
इच्छाको सागर फेलिएको थियो सुदुर सुदुर देशमा
लालसा चारै तिर जिवनको भेषमा
समयको आगोमा जलेर आकांक्षाको महल खरानी भयो
जहिले पनि ओर्हालो देख्न अब त बानी भयो
रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ
उमेरको राजमार्गमा दौडिरहेको यो जिन्दगी
गन्तव्यहीन दिसामा भौतारिएको यो जिन्दगी
दौडिंदा दौडिंदै केहि त पाउला अझै एउटा आश छ
नमेटिएको मसँग अझै एउटा प्यास छ
रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ

२२
हराएर आफैले

हराएर आफैले जीन्दगी खोजिरहेछु
खुसीमा बाध्यतामा जिन्दगी भोगिरहेछु
खोज्न जिन्दगीको सार संसार पुगेँ
कहिले लडेर उठे कहिले उठेर लडें
मोहमा धनको जति हुन्छु धनको वर वर
आनन्द जिवनको उति नै भइ दिन्छ पर पर
सुन चाँदी छाना मनमा धोको थियो
उच्च आकाँक्षा मनमा पोको थियो
बुझे पछि जिन्दगीको भेद सबै पानी पानी भयो
लालसाको ज्वाला बलेर खरानी भयो
घटना सबै जिन्दगीका केवल हुन अविरल गति
रोकेर कसैको बलले  रोकिन्न यो रति
अनुभूति नै यो जिवनको सार हो
जगत केवले मायाको संसार हो

२३
मातको बात गर

होसको होइन आज मातको बात गर
केही छिन भए पनि आउ मेरो साथ गर
चिन्तामा रात बित्यो चिन्तामा बित्यो दिन
रित्तिन थाल्यो जिन्दागानी घट्दै छिन छिन
दुखलाई पन्छ्याएर केहि छिन भए पनि सुखको साथ गर
होसको होइन आज मातको बात गर
केही छिन भए पनि आउ मेरो साथ गर

सुख भित्र दुख धेरै दुख भित्र सुखको रास छ
खोजी हेर आँखाले मनको अनि यो देखिन्छ
सुन चाँदी हिरा मोति छलको संसार यो
माया प्रेम मात्रै जिन्दगीको सार हो
ओठभरि हाँसो नै हाँसो सीमाहीन बिस्तार गर
होस होइन आज मातको बात गर
केही छिन भए पनि आउ मेरो साथ गर

जति जति रमाउँछ मन जवान हुन्छ तन
खुशीमा त यो तरूण हुन्छ झन झन
पुलकित पारी मन अलि अनी मेरो विश्वास गर
दुनियाको कारोवारबाट भइ देउ अलि पर
आनन्दको यता उता चारै तिर बर्सात गर
होस होइन आज मातको बात गर
केही छिन भए पनि आउ मेरो साथ गर


Thursday, August 18, 2011

कथा ५ - चप्पल




कथा चार दशक पहिलेको हो।

बुटाइ माझीले ससुरारी  ढेंग जान विशेष  तयारी गरेको थियो। उसकी घरबाली माइती ढेंग जाँदा पतिलाई खास निर्दशन दिएर गएकी थिई। माइती जानु एक दिन पहिले उसले प्रष्ट पारेकी थिई ‘बिदागरी गराउन आउँदा राम्रो गरी सजधज भएर आउनु, भिखमङ्गा जस्तो भएर होइन नि। सैन गुप्ता मर्दानी लगाउनु, अम्रपाली छाता हातमा, अनि खाली खुट्टा होइन चप्पल लगाउनु, टाउकोमा गम्कौआ तेल। हजमा कहाँ गएर दाढी ओढी बनबाई लिनु’।
ढेंगबालीको खास निर्देशन भएको हुनाले नै बुटाइले विषेश तयारी गर्नु परेको थियो ससुरारी जान। र त्यसै तयारीको क्रममा उसले छाता बन्हु, चप्पल कैलाश अनि सैनगुप्ता मर्दानी चुल्हाइसँग मागेको थियो दशदिन भित्रमा जसरी पनि फर्काउने सर्तमा। ससुरारी जान ती कुराहरु अनिवार्य रुपमा हुनु पर्ने ढेंगबालीको आग्रह कम निर्देशन बढी भएकोले ती कुराहरु दुइचार जनाको दाढी समातेर अनुनय विनय गरेर माग्नु परेको थियो उसले। विषेश तयारीका ती सामानहरु माग्ने बेलामा उसलाई ठूलो भयले सताएको थियो। अरु भन्दा पनि कैलाशसँग। उसले मनमनै भनेको थियो –आ, त्यस्तो मुह छुट्टु मान्छे मान्छेसँग के माग्नु कुनै सामान, त्यो पनि चप्पल। बेकारमा कहिँ तँ जस्तो गैबारलाई किन चाहियो चप्पल? चप्पल चाहिए किने हुन्छ नि भनेमा के जबाफ दिने। तर उसले चप्पल कैलाशसँग नमागी कुनै धर नै थिएन। त्यो टोलमा सिर्फ उसँग मात्र चप्पल थियो। अर्कोतिर, चप्पल किन्न सक्ने उसको ओकात थिएन पनि। जसै तसै चप्पल किनी हाले पनि कहाँ र कुन किसिमले लगाउने। के जंगलमा गाई चराउन जाँदा त्यहाँ लगाउने। जंगल झाडीमा चप्पल लगाएर हिँडदा मान्छेहरुले सुने भने हाँस्ने एकतिर झोँझी झाँझी हिलो पानीमा चप्पल लगाएर हिँडदा सानो तिनो सजाएँ झै हुने अर्कोतिर जस्ता उसले देखेका यथार्थहरु उसका मगजमा धरै पहिले मडारिएका थिए। त्यसैले उसले चप्पल किनेको थिएन गाँउका केही केटाहरुले लगाएको देखेर पनि।
छाता र मर्दानीका लागि उ ढुक्क थियो किनभने ती सामान दिनेहरु बचन लगाउने किसिमका थिएनन्। चुल्हाइ त झन उमाथि सहानभूति राख्ने खालको थियो। खासमा, कुनैपनि सामान माग्ने बिचारमा थिएन ऊ। उसकी आमाले बेला बलामा भन्ने गरेकी – अनकर गहना साजेमे छिन लेबेत लाजेमे, उसलाई राम्रो स्मरण थियो। तर के गर्नु , यति सबै थाहा हुँदा हुँदै पनि उसले अरुको सामान माग्नु परेको थियो ‘जस्तो पायो त्यस्तो लगाएर आएमा मेरो नहिरामा देख्नेहरुले हाँस्ने छन् र भन्ने छन् फलनमा दमाद त दरिदर रै छ अनि हुनेछ मेरो बाप मतारीको सिकायत’ भनी बेला बेलामा ढेंगबालीले घोचपेँच गरेको हुनाले। उसले ढेँगबालीलाई भनेको थियो पनि ‘हेर, गरीब हुनु सिकाएतको बात होइन बरु कसैसँग मागेर धाक देखाउनु सिकाएतको बात हो। मैले यी सामानहरु माग्नु आफ्नो पगरी गिराउनु हो’।
ससुरारी पुगेदेखि शुरु भएको उसको मान मर्यादा घट्नु त कहाँ कहाँ झन बढ्ने क्रममा थियो दिन प्रति दिन। ससुरारी पुगेकै साँझमा ससुरले उदारता प्रकट गर्दै भनेका थिए ‘पहुना, यो घर आफ्नै हो। लाज ओज , सँकोच ओँकोच केही मान्नु पर्दैन। चाहिएको कुरा मागे हुन्छ। अझै आफै झिके भने त बडा बढिया’।
ससुरको यो उदारताले गर्दा नै ससुरारी पुगेकै दिनको राति बेओकाति खापइलिएको थियो। बासमति चामलको भात, रहरीको दाल, आलुको भुजौटा अनि माथिबाट आमको डुबौआ अचार। साथमा नून मरचाइको  झुरी। यी सबै कुराहरु थालमा देख्दा उसले चाहेर पनि आफूलाई रोक्न सकेन। पेट भरिएर पनि थपी थपी खाएको हुनाले तुम्मा जस्तो फुल्न पुगेको थियो उसको पेट। पेट पेटारी जस्तो भएर निद्रा छिटै नपरेका हुनाले नै उसले आधा रातसम्म गफ गरेर बिताउनु परेको थियो ढेँगबालीसँग, बाटोको थकाइको बाबजुत ।
ससुरारीबालाले मङ्गरको दिन धरेका थिए बिदागरीका लागि। बुटाइ आएको दुई दिन बितिसकेको थियो। अब तीन दिन पछि , मङ्गरको दिन उसले बिदागरी गराएर आफ्नो घर लग्नु परेको थियो ढेँगबालीलाई। सासले त फगुआ पछि बिदागरी गरी दिने प्रस्ताव राखेकी थिइन। भनेकी थिन् पनि ‘दमाद, यो आउने फगुआमा आउनु होला, रङ्ग अबिर खेल्नु होला। फगुआको दु दिन पछि नै विदागरी गरिदिन्छु। जानेबेलामा अलिकति पुआउआ पनि बाँधिदिन्छु, हुँदैन?’ तर बुटाइका घरबालाहरुले ‘जसरी भएपनि बिदागरी गराएर ल्याउनु, नछोड्नु’ भनेका हुनाले उसले सासको प्रस्तावलाई स्वीकार गरेन। मन मनै त ऊ फगुआसम्म बस्न पाए हुन्थ्योमा थियो। ससुरारीको बसाई निकै रमाइलो लागिरहेको थियो। लाग्ने कारणहरु पनि थिए-एकातिर गाइहरुको पछाडि पछाडि यो जङगल त्यो जङ्गल घुम्नु पर्ने , त्यसमाथि पनि हरहा गाइले दिने दुख: बाट दुइ चार दिनकै लागि भए पनि मुक्ति पाएको थियो भने अर्कोतिर ससुररीमा पाएको स्वागतले घरलाई बिर्साई दिएको थियो। सार सारिनले हल्क, खुला गाली सहित जिस्काएको उसलाई खुब मन परेको। कसैले मेहमान कसैले पहुना भनेको पनि कम मन परेको थिएन उसलाई। ससुरारीमै आएर उसले गम्कौआ मेहिअक्का चाउरको भात, अघाउँनजेल रहरीको दाल खाएको थियो पहिलो पटक। यी सबै कारणहरुको सेरोफेरोमा रहेर नै काँढामा लुगा अड्के झै बुटाइको मन अड्केको थियो ससुरारीमा।
पण्डिजीले पतरा हेरेर निकालेको जतरा अनुसार नै बुटाइ र उसकी पत्नी घरबाट निस्केका थिए भोरमा। ढेँगबाट हिँडदा दुवैको मनस्थिति विपरित थियो। बुटाइलाई ससुरारी छाड्न मन लागिरहेको थिएन त्यहाँ पाएको स्वागत,सत्कार र मेहमानीले गर्दा, ढेँगबालीलाई कहिले घर पुगौ भएको थियो धेरै दिनदेखि पतिसँग छुट्टिएर माइतिमा बसेको कारणले।
बिदा गर्ने बेलामा बुटाइको ससुरले दुबैलाई सचेत गराउँदै भनेका थिए ‘बङमती नदी हेले पछि मात्र कलउ ओलउ खानु आ छिन भर सुस्ताएर फटाफट हिँड्नु। घर टाइममै पुग्नु। सुरुज डुब्नु भन्दा पहिले पुगे बडा बढिया’।
उनीहरुले निर्देशन पाएको अनुसार नै भयो। सोँचेकै टाइममा बङमती नदी पार गरे। बङमती नदी पार गर्न डेँगीमा चढ्दा भने दुबैलाई डर लागेको थियो तर नदीमा दाहार नआएकोले दुबैको डर डेँगीको हिँडाइसाथ समाप्त भएको थियो। बुटाइ डेँगीको छेउमा बस्यो डेँगी खेबेको र किनार लागेको हेर्न। किनार लाग्दा डेँगीको दुई छेउ मध्येको एउटाले किनारको जमीनलाई ठक्कर दिएर किनार लागेको दृश्य उसलाई खुब राम्रो लागेको थियो। घरबाट ढेँग जाँदाको बेला उसले यो दृश्य घित मरुनजेलसम्म हेरेको थियो। उसले आफ्नो गाउँ छेउमा यति ठूलो नदी र डेँगी कहिले देखेको थिएन। लमहा नदी देखेको त थियो तर कहाँ बङमती कहाँ लमहा…………..
बङमती नदी पारगरेर कलउ खाए दुबैले एउटा पाकडको रुखमुनी बसेर। छेउमा रहेको मठ नजीकको कुआँमा पानी पिए डोलले तानेर। बङमती नदी पार गर्नु भन्दा पहिलेसम्म देखिएको बुटाइको हँसिलो मुहारमा भने नदी पार गरेपछि एकाएक परिवर्तन आएको थियो।  नदी पार गरेपछि उसको मुहारमा भय मिश्रित उदासीनता देखिएको थियो। मुहार मलिन हुनुको कारण ढेँगबाले कतिपटक सोद्धा पनि बताएन उसले । न त मुहार उज्यालो नै पार्यो। ढेँगबालीले गर्ने कुराहरुमा केवल हँमा हुँकारी मात्र भर्यो।
 बुटाइ र उसकी घरबाली साँझ झमक्क पर्नुभन्दा पहिले घर पुगे। लामो बाटो हिँडेर आएको हुनाले दुबै थकाइले चुर थिए। रातीको खाना खाएर ओछ्यानमा पर्ने बित्तिकै दुबै भुसुक्क निदाए केही बेर मात्र पनि कुराकानी नगरी कनै।
भोलिपल्टको बिहानी ढेँगबाली कोठा भित्र पनपिआइ बनाउँदै थिइ। पनपिआइ बनाइ रहेकै बेलामा केही व्यक्तिहरु दुरामा चर्को स्वरमा कराइरहेको सुनी उसले।  बाहिर आएर हेरी कैलाश र उसको मरद बीच झगडा भइरहेको थियो। केही अन्य मानिसहरु भने छेउमा उभिएर झगडा हेर्दै थिए। मुहारमा आश्चर्यको भाव झल्काउँदै ढेँगबालीले आफ्नो घरबालालाई प्रश्न गरी ‘के भएको हो? झगडा भएको हो कि क्या हो? के हो कारण , झगडा रगडाको?’
बुटाइले केही क्षण पनि बिलम्ब नगर्दै भन्यो ‘कैलाश भाइले आफ्नो चप्पल माग्दै छन्’।
ढेँगबालीले सहज किसिमले भनी ‘देऊ  न त त्यो चप्पल , काम सकिए पछि अर्काको चप्पल किन राख्नु?’
‘भए पो दिनु। नभएको सामान कहाँबाट ल्याएर दिनु?’ बुटाइले ढेँगबालीतिर हेर्दै भन्यो।
ढेँगबालीले आश्चर्य मान्दै प्रश्न गरी ‘के भयो त्यो। चप्पल? ससुरारीमा त मात्र दुईचार चोटी लगाएको देखेको थिएँ, त्यो पनि घरबाट बाहिर जाँदा। बडा भारि जतनका साथ राखेका थियौ त्यसलाई। एकदम जन्तर जस्तो। अहिले आएर के भयो?’
बुटाइले तत्काल उत्तर दियो ‘जन्तर जस्तै गरेर राखेको थिएँ नि, खाली लटको मात्र थिन् घेँटमा’।
‘अनि के भयो त? छिटै खुलस्त पार न’ ढेँगबाले क्रोधित हुँदै भनी।
‘दहाई गयो नि बङमती नदीमा’ बुटाइले डराउँदै छोटो उत्तर दियो। आफ्नो छोटो उत्तरको खुलासा गर्दै बुटाइले फेरि भन्यो ‘यहाँबाट जाँदा त त्यस्तो केही पनि भएन। आउँदाखेरि भने, बङमती नदी पार गर्दा म डेँगीको छेउमा बसेको थिएँ, डेँगी किनार लागेको हेर्न। चप्पललाई बडा हिफाजतले राखेको थिएँ एउटा झोरामा, त्यै झोरा, डुमरिया बजारबाट किनेर ल्याएको। झोरा थियो डेँगीको छेउमा, ठीक मेरो सोझामा, जुन बेला पनि नजर पर्ने किसिमले, कसैले चोराइ ओराइ नलिने किसिमबाट। तर जब डेँगी किनार लाग्न थाल्यो, छेउको जमीनलाई धक्का दियो बडा जोडले, त्यही टुप्पाले जुनमा मैले चप्पल राखेको थिएँ। किनारमा धक्का दिए पछि डेँगी बडा जोरले हिल्यो, आ त्यो चप्पल खस्यो पानीमा झोरा सहित। आँखा अगाडि चप्पल दहाई गयो, तर केही गर्न सकिन। के गर्ने नदीमा भरमनुष पानी थियो, आफूलाई पौडी खेल्न नआउने’।
केही क्षण रोकिएर बुटाइले फेरि भन्यो ‘त्यसैले त बङमती नदी हेले पछि मेरो मन खराब भएको थियो’।
चप्पल पानीमा खस्ने बित्तिकै मलाई किन नभनेको, म कुनै उपाए ओपाए निकाल्थ्येँ’ ढेँगबालीले आँखा ठूलो पार्दै भनी।
‘भनिन् नि, तिमी रिसाउने छेउ र मानिसहरुको सोझामा मलाई भला बुरा भन्ने छेउ भनेर’ बुटाइले पत्नितिर हेर्दै आफूले नभन्नुको कारण पेश गर्यो।
चप्पल बगेको रोचक घटना सुनेर ती दुई पति पत्नी र कैलाश बाहेक छेउ छाउका मानिसहरु गलल हाँसे।
केही समय पहिलेदेखि चुप लागेर बसेको कैलाश गर्जियो ‘अथामाईको कथा सबेलाई सुनाएर केही पनि हुनेबाला छैन। त्यो बाटाको चप्पल, मैले बरगिनियाबाट किनेर ल्याएको थिएँ, मलाई त्यस्तै ल्याई   देउ , दुमहिना पनि लगाएको थिन मैले त्यो’।
छेउ छाउमा उभिएका मानिसहरुतिर हेर्दै ढेँगबालीले तत्काल उत्तर दिइ ‘पुरानो त थियो त्यो चप्पल। खिआएर ठाउँ ठाउँमा छेद परेको थियो कतिओटा। त्यस्तो पुरानोको लागि पनि यति कसी कसाऊ ……………। तिमीसँग हराएको भए के गरथेउ? ह?’
ढेँगबालीको भनाइलाई बीचमै रोक्दै कैलाशले भन्यो ‘मेरो चप्पल नया होस या पुरान, या छेद परेको, खत्तम……..हराए पछि  अरुको सामान …..ताओन त दिनै पर्यो नि’।
छेउ छाउमा उभिएक मानिसहरुतिर हेर्दै उसले थप्यो ‘ससुरारी जानबेलामा त्यही चप्पल लगाउन नपाएर इज्जत जान थालेको थियो। अहिले आएर दश किसिमका कुरा…….’।
कैलाशको यो भनाइमा बुटाइ र उसकी घरबालीले कुनै प्रतिक्रिया व्यक्त गरेनन्। छेउछाउका मानिसतिर केही बेर हेरे, त्यस पछि मौन बसे। उनीहरुको मौनतालाई तोडदै कैलाशले फेरि भन्यो ‘मलाई मेरो चप्पल चाहियो, ठीक त्यस्तै। आजै, आजै नभए भोलि। भोलि हुन नसके पर्सि जसरी भए पनि’।
ढेँगबालीले केही बेर पहिलेदेखि कायम राखेको मौनतालाई तोडी। मुहारमा क्रोध तथा विवशताको मिश्रित भाव झल्काउँदै कैलाशतिर हेरेर भनी ‘ठीक छ त्यस्तै चप्पल किनेर दिउँला, बरगिनियाबाट ल्याएर भए पनि। गहना जस्तो गरेर लगाउनु कान नाकमा। तर अहिले होइन, आउन थालेको धनकटनी पछि’।
दुई पक्षहरु – चप्पलबाला र चप्पल हराउने बीच लामो समयसम्म झगडा चलिनैरह्यो। छेउको स्कूलको मास्टर साहेबले ती दुई पक्षहरुलाई सम्झाइ बुझाइ गरे पछि मात्र त्यो झगडा सकिएको थियो साँझ पर्नु केही क्षण पहिले मात्र।


विश्वराज अधिकारी

कथा ४ - रामसेबकबाबा



कथा यसरी शुरु हुन्छ। चालिस वर्ष जति पहिलेको कुरा हो। म र बा गौर जाँदै थियौ। बाटोमै साँझ परेर कुनै मठमा बास बसेका थियौ। त्यसताक बस ट्रक आदि थिएनन्। पुरै एक दिन हिँडे पछि बल्ल घरबाट गौर पुगिन्थ्यो। तर त्यस दिन अबेला हिँडेकोले बास बस्नु परेको थियो। बालाई किन हो एउटा गाउँको छेउको मठ ज्यादै मन पर्दथ्यो बास बस्न । त्यही कारणले गर्दा हामी त्यसै मठमा बसेका थियौ। हुन त अरु गाउँका घरहरुमा पनि बास बस्न सकिन्थ्यो। तर किन हो, आक्कल झुकक्ल कुनै स्कूलमा बाहेक प्राय: त्यसै मठमा बा बास बस्नु हुन्थ्यो। मैले कारण सोधेको थिन्। बाटो मै साँझ पर्ने जस्तो भएमा म प्राय: यसै मठमा बस्छु भनी वहाँले भन्नु भएकोले त्यो मठमा बास बस्न सजिलो हुन्छ होला भनी मैले अनुमान मात्र गरेको थिएँ। त्यो मठबाट तीन चार घण्टा हिँडेपछि गौर पुगिन्थ्यो।
हामीसाँझमा त्यो मठमा पुग्दा रामसेबकबाबा त्यहाँ थिएनन्। कुटियामा धुनी बलिरहेको थियो। बा र मैले डोलले कुआँबाट पानी तानेर हात खुट्टा धोयौ र धुनीको नजीक पुगेर आगो ताप्न थाल्यौ। गाउँदेखि कही पर त्यो मठ रहेको हुनाले साँझ झमक्क पर्नुभन्दा पहिले नै सुनसान हुन्थ्यो त्यहाँको वातावरण। हामी दुई बाबु छोरा रामधुनी नजीक बसेर आगो ताप्दै थियौ। स्यालहरु जोड  जोडले कराउँदै थिए। धेरै स्यालहरु एकैपटक कराएको सुनेर म अलि डराएँ र बाको जिउमै टाँस्सिन पुगेँ। आठ दश वर्षको केटो म , गाउँदेखि टाढा रहेको मठमा  , सुनसान रातमा, धेरै स्यालहरु एकै पटक कराएको आबाजले डराउनुलाई बाले स्वभाविक ठान्दै भन्नु भयो। स्यालहरु धेरै टाढा छन्। यहाँसम्म आउने हिम्मत गर्न सक्तैनन्। बाले मतिर हेर्दै फेरि भन्नु भयो ‘अब रामसेबकबाबा आउने बेला भयो। आए पछि खाउँला,हुँदैन? रामसेबकबाबाले आफ्नै भान्सामा खान भन्छन। जहिले पनि भन्छन –मेरो कुटियामा आएपछि भगवानको परसादी खानु पर्छ। आफ्नो घरको अन खान पाइँदैन। के गर्ने ? उनको कुटियामा आएपछि उनको मन राखिदिनै पर्यो। बडा नाम चलेका बाबा हुन यी। एक पैसाको लोभ लालच नभएको । अति धर्मात्मा बिचारका। साँच्चै, रामसेबकबाबा तन र मन दुबैले जोगी छन्। केही कुरा देखाबटी छैन। र सबै भन्दा ठूलो कुरा त यी बडा भलादमी र अशल बिचारका छन्। यो बाबा यो मठमा बसेको दश वर्ष भयो रे। दश गाउँमा नाम चलेको छ यिनको’।
मलाई भोक लागेको अनुमान गरेर बाले मेरो ध्यान अन्त लग्ने प्रयास गर्नु भयो अनि भन्नु भयो ‘आज तलाई म एउटा अति नै रोचक घटना वा कथा सुनाउँछु, सुन’।
बाले सुनाउने घटनाहरु प्राय: रोचक नै हुने हुनाले म पनि प्रफुल्लित भएँ। तर आफूलाई भोक लागेको तथ्य जाहेर गर्दै भने- हुन्छ भन्न शुरु गर्नुहोस। तपाइँले सुनाउने घटना सकिनु र रामसेबकबाबा टुपलुक्क आइपुग्नु एकै पटक हुन सक्छ। मेरो कुरा सुनेर बा एकै छिन हाँस्नु भयो र मेरो टाउको माथि हात राख्दै भन्नु भयो ‘हेर, भोकले यसको टाउको सार्हो र पेट गिलो भएछ। हामी दुबैजना केही छिन हाँस्यौ मुखामुख गरेर।
बाले भन्न आरम्भ गर्नु भयो ‘हेर, एकचोटीको कुरा हो, साउन भदौको औसीको मध्य रातमा एउटा अपरिचित व्यक्ति यस्तै कुनै मठमा आएछ। त्यो मठमा एक वृद्ध महाराजजी बस्दथे। ती वृद्ध महाराजजी सिबाए दुइ तीन वटा कुकुरहरु मात्र थिए त्यो मठमा। महाराजजीको नजीक पुगेर कुर्ता भित्र लुकाएर राखेको सानो तरबार त्यो व्यक्तिले झिक्यो अनि भन्यो-यो तरबार हेर्दा अति सानो छ तर तेज भने ……..। पेटमा हिर्काए भने एकैचोटीमा आरपार………। त्यसकारण कुनै हल्ला खल्ला नगरेर मेरो कुरा सुन्नु होस र मैले भने अनुसार गर्नु होस। सुन्नुहोस-म एक अति नै खतरनाक , क्रुर र दयामया नभएको  नामी डाँकु हो। प्राय: इण्डियाको गाउँहरुमा डाँका मार्छु। तर यहपारका गाउँहरुमा पनि डाँका मारेको छु। त्यसो नगरेको भए हुन्थ्यो तर के गर्ने चेलबाहरुले कर गरे। दश दिन पहिले यो गाउँको छेउको गाउँमा डाँका मारेको थिए। अरु घरहरुमा त सरासर लुट्न दिए एउटा घरको मालिक, ससुरा बडा ढिठ निसक्यो। बन्दुक निकालेर हामीलाई गोली ठोक्न खोज्यो, त्यो सारको बेटाले। तर भरुआ बन्दुक, धेरै दिन देखि नचलेको , पडकनै सकेन। मैले त्यो मौका छोपेर हातमा रहेको ठूलो तरबार खसाले , छिनरीके बेटाको गरदनमा। एकै चोटीमा दुई टुक्रा भयो, सालेको जिउ। छिन घडीमा बोलिदियो, ससुराले , जय सियाराम। तर त्यसको मौत मेरो लागि मुसिबतको जड बनिगयो। गाउँका सबै मानिस मिले अनि थानामा उजुरी गरे, मेरो नाम किटानी गरेर, मैले नै मारेको हो भन्ने सबुत परमान सहित। अहिले थाना उठेर आएको छ। यो गाउँ घेरेको छ मलाई समात्न। मैले लुक्ने सुरक्षित ठाउँ अन्त कतै देखिन  सिबाए यो मठमा। हुन त अर्कै गाउँमा पनि जान सक्छु तर गएर कहाँ कसको घरमा लुक्ने? अन्हरिया रात छ त्यसमाथि पनि पानी परिरहेको छ टिपटिप। यो मठमा बसे भने कसैले संका पनि गर्न सक्तैन थाहा पनि हुँदैन कसैलाई। मेरो गाउँमा त संका लागेको संका लागेको घरमा खानतलासी शुरु भइसकेको होला मलाई खोज्न’।
‘त्यो डाँकुको कुरा सुनेपछि महाराजजीले भने- तिमीलाई खोज्न यो मठमा खानतलासी हुँदैन भन्ने के छ र?
‘त्यो डाँकुले जबाफ दियो – यो मठमा कोही पनि आउँदैन। यदि आइहाले पनि ……. र कसैले सोधी हाले ……….भन्नु होला अँ हँ यहाँ कोइ पनि आएको छैन। तपाइँ जोगी महात्मा । तपाइँको कुरामा कसैले पनि संका गर्दैन। गाउँका मानिसले कति विश्वास गर्छन तपाइँमाथि। तर याद राख्नुहोस। यदि भन्नु भयो भने ……..यो तरबार सोझै ……। म दयामया भएको मान्छे होइन। सम्पत्तिका लागि कतिको ज्यान लिएँ कुनै लेखाजोखा छैन। अझै आफ्नै ज्यान जोगाउन त के बाँकी राखौला कसैलाई। जेलबाट भागेर भए पनि आउने छु। अनि माग्ने छु पुरानो हिसाब किताब’।
‘त्यो डाँकुको कुरालाई बीचमै काट्दै महाराजजीले भने- हेर , म त सन्त फकिर , मलाई ज्यानको त्यति माया छैन। तल रहेर पनि ठाकुरजीको पूजा गर्ने हो माथि गएर पनि ठाकुरजीकै। तर तिमी मेरो होइन ठाकुरजीको शरणमा आएका छौ। शरणमा आएकोलाई मरण दिनु हुँदैन। ठीक छ बस, यहाँ लुक। तर भोलि बिहानै तिमीले यहाँबाट डेरा डण्टा उठाउनु पर्नेछ। बडका भोरमै गए बड बढिया’।
‘महाराजजीको कुरा सुनेपछि त्यो डाँकुले तत्काल भन्यो –हुन्छ महाराजजी म त्यसै गर्नेछु। तपाइँ ढुक्क हुनुहोस’।
‘भोलिपल्ट बिहानको कुरा हो, त्यो डाँकु त्यहाँबाट नजाने शुर गरेको देखेर महाराजजीले प्रश्न गरे –यहाँबाट जाने होइन? किन न गएको? आफ्नो बचन पूरा गर्दैनौ’?
‘त्यो डाँकुले जबाफ दियो – महाराजजी, बिहान यो मठको छेउमा भैँसी चराउनेहरुको कुरा सुने। गाउँ घरेर मलाई समात्न आएका पुलिसहरु अझै गएका छैनन्। बसछन् अरु चारपाँच दिन। तीन चार जना सुराकीहरु पठाएका छन् यो गाउँ त्यो गाउँमा मेरो पत्ता लगाउन। ममाथि दया गर्नुहोस महाराजजी। दुई चार दिन अझै लुक्न लुक्न दिनुहोस। अब म तपाइँलाई थर्काउदिन आ तरबारको धाक पनि देखाउँदिन। बरु भिख माग्छु दयाको’।
‘त्यो डाँकुको कुरा सुनेर त्यसमाथि महाराजजीले कुनै प्रतिक्रिया देखाएनन्। महाराजजी मौन रहेको देखेर त्यो डाँकु ज्यादै प्रशन्न भयो। आफूले मात्र सुन्ने गरी भन्यो – मौनम् स्वीकृति लक्षणम्।
ठाकुरजीको मूर्ति जुन कोठाम थियो त्यहाँ एउटा खाट थियो। त्यो खाटलाई एउटा ठूलो कम्बलले छोपिएको थियो। महाराजजीले त्यो खाटलाई ठाकुरजीको खाट बनाएका थिए। भन्थे – यो ठाकुरजीको खाट हो। राति यै खाटमा आएर ठाकुरजी सुत्नु हुन्छ। मैले कैयौ पटक सपनामा देखेको छुँ। ठाकुरजीलाई सुत्न राखिएको त्यो खाटको तल त्यो डाँकु दिनभरि लुक्दथ्यो। झमक्म साँझ परेर गाढा अन्ध्यारो भएपछि मात्र कुटियामा जान्थ्यो जहाँ महाराजजी पनि सुत्थे ऊ पनि त्यहीँ सुत्दथ्यो’।
त्यो डाँकुले मठ छाड्ने नाम लिइरहेको थिएन्। ऊ मठमा बसेको तीन चार महिना भइसकेको थियो। एक दिन महाराजजीले त्यो डाँकुको छेउमा गएर भने – यसरी कहिलेसम्म चल्छ? कसैले पोल लगाइदिएर तिमी यै मठमा समातिए भने नि? गाउँभरिका मानिसले भन्ने छन् – यो महाराजजीले यस्तो खुनी डाँकुलाई लुकाएर राखे। यी पनि त्यो डाँकुसँग मिलेका छन्। दिएका होला नि सोना चानी भरपोख। यस्तो महाराजजीलाई यो मठमा राख्न हुँदैन’।
‘महाराजजीको कुरा सुने पछि आफ्नो मुहारमा दयाको याचना प्रदर्शित गर्दै त्यो डाँकुले भन्यो – महराजजी नडराउनुहोस। अब मलाई कसैले मेरो बोली नै नसुनेसम्म टाढाबाट चिन्न सक्तैन। दाढी मोच पनि लामो लामो भइसकेको छ मेरो तपाइँ जस्तै कपारमा तिलक चन्दन लगाउँछु। फाटल पुरान तपाइँको कुनै रामनामी कुर्ता भए दिनुहोस त्यो पनि लगाउँछु। झोली तुम्मा पनि बोक्छु…………….? एउटा सानो तिनो मृगासन छ भने …….त्यो पनि लटकाउँछु काँखमा । कपारमा बनाउँछु ठूलो तिरशूल। यति सबै गरे पछि कसले चन्ने मलाई? आफ्नो गाउँमा जान्न। अरु अरु गाउँमा तपाइँको पछि पछि लागेर जान्छु। कसैले मलाई देखेर महाराजजी यी कुन हुन नि? भनी सोधेमा भनिदिनु होला- यी मेरा चेला हुन शिवदासबाबा। अनि यो पनि भनिदिनु होला- यी बाबा बताहा छन्, बोल्न सक्दैनन्, सुन्दैनन् पनि। मात्र इशारा बुझ्छन। कहाँबाट आएका हुन भनी कसैले सोधेमा भनिदिनु होला –इण्डियाका हुन। घोडासहनको कुनै आसपासको गाउँको’।
‘त्यो डाँकुले अझै थप्यो-तर जे होस,जसरी भए पनि मलाई बचाई दिनुहोस। मेरो जानको रक्षा गरिदिनुहोस। यो मठको छेउबाट हिँडनेहरुले कुरा गर्दा मैले सुने- पुलिस यो गाउँबाट गएपनि जिल्ला भरिमा मेरो खोजी बडा जोडतोडले भइरहेको छ। यहाँ मात्र होइन इण्डियामा पनि। त्यतातिर पनि मैले केही मानिसको जान लिएको थिएँ। मेरो खोजी ओहपार पनि भइरहेको छ, बडाजोडतोडले। सुराकीहरु ओहपार पनि गएका छन् रे मेरो सुराक लगाउन’।
त्यो डाँकुको सम्पूर्ण कुरा सुनेपछि महाराजजीले प्रतिक्रियास्वरुप केही पनि बोलेनन्।
छ महिना जति बित्यो। त्यो डाँकुको गाँउका मानिसहरु बाहेक अरुले उसलाई शिवदासबाबाको नामले चिनिसकेका थिए। धेरैले उसलाई बतहबा बाबा भन्थे’।
‘एक दिन महाराजजीले रातिको समयमा चिलम भरे। हातमा रहेको त्यो चिलम माथि उठाउँदै भगवानलाई चढाए अनि भने- भोले कैलाशपति क्या होगा सम्पत्ति। बम शंकर खाने पिनेको ढङ्गकर। महाराजजीले चिलमलाई फेरि माथि उठाउँदै आफ्नो टाउकोसम्म पुर्याए अनि त्यस चिलमलाई ढोगे, त्यस चिलममाथि भगवान आएर बस्नु भएझै मानेर। भगवानलाई चढाई सकेपछि त्यो चिलम मुखनिर पुर्याएर लामो सर्को दुई तीन चोटी ताने। उनको आँखा भरि आँशु आयो। दुईचार चोटी खोँके। अर्को चोटी फेरि दुईचार सर्को तानेर त्यो चिलम त्यो डाँकुलाई दिए। डाँकुले पनि हातमा चिलम लिएर माथि हेर्दै करायो- जय भोले शंकर दुस्मनको तङ्गकर। यति भनेर दुई चार सर्को तान्यो उसले यति जोडले कि त्यो चिलमको माथि आगो नै बल्यो एक छिन। त्यो आगोको प्रकाशमा दुबेले एकअर्कालाई हेरे केही बेर, त्यो आगो ननिभुनंजेलसम्म’।
‘चिलम तानेपछि महाराजजी एक छिन घोरिए त्यसपछि त्यो डाँकुतिर हेर्दै भने- हेर कसैको सम्पत्ति लुटेर ल्यायो, खायो। त्यसले सुख दिँदैन उल्टो पीडा थपिन्छ। न शान्ति हुन्छ न चैन। बरु भिक्षा मागेर ल्यायो, मैले जस्तो जसले जति दिउन, त्यही खाँदा मनमा शान्ति हुन्छ। आन्नद नै आन्नद। कसैले जति हात उठाएर दिन्छ त्यसैलाई आफ्नो  सम्झन्छु। सम्पत्ति थुपारेर के गर्नु? मरे पछि छातीमा लादेर माथि लग्न पाइँदैन। सबै यहीँ छोडेर जानु पर्छ। मान्छे नाङ्गो आएको हुन्छ नाङ्गो नै जान्छ। सम्पत्ति थुपारेपछि सुखको उल्टो भय आउँछ। सधै डर भइरहन्छ, मेरो सम्पत्ति कसैले लुट्ने हो कि। सम्पत्तिको लागि कसैले मेरो जान नै लिने हो कि। कहिलै चैनसँग सुत्न पाइँदैन। यो दुनिया जहिलेदेखि बन्यो त्यो बेलादेखि सम्पत्तिको लागि झगडा चलिरहेको छ। चलिनै रहनेछ। ठूला ठूला लडाइहरु भए रे सम्पत्तिकै लागि। गरीब र धनिक भनेर छुट्याइदिन्छ यो सम्पत्तिले नै। सम्पत्ति नहुँदो हो त अमिर गरीबको भेद नै रहन्थेन, सबै बराबर। कोइ कसैको सत्रु नै हुन्थेन। हेर भगवानले रचेका ८४ लाख योनी मा केवल मान्छेलाई मात्र सम्पत्ति चाहिएको छ। उसले सम्पत्ति जोडछ। सम्पत्तिको लागि लडाइ गर्छ, अरुको जान लिन्छ। मानिस बाहेक अन्य कुनै पनि प्राणीले सम्पत्ति जोडदैन, त्यसको लागि झगडा रगडा पनि गर्दैन। सम्पत्तिका लागि तुच्छ कुकुरले पनि झगडा गरेको देखेका छौ?’
‘यति भनिसकेपछि महाराजजी चुप लागेर केही क्षण बसे। केही सम्झे झै गरी त्यो डाँकुको मुखतिर हेरेर फेरि भने- अजगर करे न चाकरी पंक्षी करे न काम दास मलुका कह गए सबका दाता राम’।
 ‘महाराजजीले भन्ने क्रम जारी नै राखे- हेर, मसँग सम्मत्ति छैन त्यसैले चोर डाँकुको मलाई भय छैन्।रातभरि चैनको निद्रा सुत्छु। भोलि के खाने भन्ने चिन्ता छैन। भिक्षाले गुजारा चलेको छ। धेरैको लोभ छैन। आनन्द नै आनन्द, शान्ति नै शान्ति। तर तिमी आफूलाई हेर त , न चैन छ, मनमा शान्ति। रातभर दिनभर तिमीलाई डर रहन्छ, कसैले देख्छ कि, पुलिसले समात्छ छ कि भन्ने। जेल जानु पर्ने हो कि या कसैले बदला लिन मेरो ज्यान नै मार्ने हो कि। हरपल यै सोँचिरहन्छौ। सम्पत्तिको कमी तिमीसँग नहोला। कति गाँउमा डाँका मारेउ, एक सेर डेढ सेर सुन होला। चानी त कति कति…..। तर मसँग केही छैन। छ भने सिर्फ यो रामनामी कुर्ता र दुई हातको महाबीरी लँगौटी। रे भाँट कवि जोगी बैरागीको पासमा अरु  हुन्छ पनि के। तर बहुत कुछ छ मसँग। सन्तोष छ, मनमा शान्ति छ। रे हामी त के , तुलसी भरोसे रामके निर्भय हो के सोए…….’।
‘महाराजजीले आफ्नो भनाइ सक्याए पछि डाँकुले हाँस्दै भन्यो- महाराजजी, धनको रोसनीमा बहुत चमक हुन्छ। तपाइँले धनको महत्व नै देख्नु भएको छैन। तपाइँसँग धन  छैन त्यसको महत्व पनि थाहा छैन। जसले फल खाएको हुन्छ त्यसलाई मात्र त्यो फलको स्वाद थाहा हुन्छ। फेरि, अहिलेको जमानामा सम्पत्ति नभइ काम चल्छ? सारा संसार दौडेको छ सम्पत्तिकै पछाडि। यो संसार चलेको छ नै पैसामा। यो सत्य युग हो र? अरे यो त घोर कलियुग हो। कसैले तपाइँलाई खुब उब्जाउ धनहर खेत पाँच बिगहा र हातमा दुई लाख रुपैया दिने हो भने तुरुन्त तपाइँ दाढी मोच फालेर साधुबाट सबाधु भइजानु हुनेछ। झोली तुम्मा चिम्टा र त्रिशुल जानेछ एकातिर लमहाको किनारमा। सैन गुप्ता मर्दानी माथि मलमलको कुर्ता आ बाबडीमा गमकौआ तेल, अलिकति सेन्ट, यो सब गरेर हेर्नुहोस त। अनि थाहा हुन्छ धनको महिमा। रे धन सम्पत्ति नभएको मान्छे पो जोगी हुन्छ। धन सम्पत्ति अफ्रात भएको कुनै मान्छे जोगी भएको देख्नु भएको छ, सब कुछ त्यागेर? महल छोडेर कुटियामा कोही बस्न आएको याद छ तपाइँलाई? रे सुनको जुत्ताले बडेसे बडे बाबुभैयालाई पनि हिर्काएर आफ्नो बसमा लिन सक्नुहुन्छ तपाइँले’।
एक वर्ष बित्यो त्यो डाँकु त्यो मठ छोडेर गएन। महाराजजीसँगै बिहानै उठेर नित्य स्नान गर्नु, घडी घण्टा डोलाएर ठाकुरजीको पूजा आरति गर्नु, टाढा टाढाका गाउँहरुसम्ममा सुनिने गरी शंख फुक्नु, ठाकुरजीलाई भोग लगाउनु, भजन किर्तन गर्नु, प्रसाद खानु, दिउँसो भिक्षा माग्न यो गाउँ त्यो गाउँ जानु, साँझमा फर्केर फेरि ठाकुरजीको आरति गर्नु, रामधुनीमा दाउरा हाल्नु त्यो डाँकुको दिनचर्या बनिसकेको थियो, महाराजजीको जस्तै, त्यो एक वर्ष भित्रमा’।
‘त्यो डाँकु त्यो मठबाट नगएको डेढ वर्ष भइसकेको थियो। महाराजजीले पनि कहिले यो मठ छाड्ने हो भनी सोध्न बिर्सिसकेका जस्तो थियो। यसै बीच मठ छेउकै गाउँ, जुन गाउँको त्यो डाँकु थियो, बाट दुईजना केटाहरु रातको समयमा महाराजजीको नजीक आए अनि भने- डण्डोत महाराजजी। आएका ती दुई केटा मध्ये एउटाले महाराजजीतिर हेर्दै भन्यो- महाराजजी, हाम्रो गाउँको एउटा नामी डाँकु थियो नि, जयमङ्गला, हो त्यसलाई समात्न फेरि पुलिस आएको छ, पुरै दलबल, गाउँमा। छेउकै कुनै गाउँमा जयमङ्गला बसेको छ भनी सुराकीहरुले खबर पुर्याएका थिए रे। आज राति धेरै घरमा खानतलासी हुनेबाला छ। यो पटक जयमङ्गला बञ्चला जस्तो छैन’।
‘त्यो केटाको कुरा सुनिसकेपछि मुहारमा भावशून्यता झल्याउँदै महाराजजीले भने- जसको भागमा जे लेखेको छ, त्यो नै हुन्छ’।
‘महाराजजीसँगको एकै छिनको कुराकानी पछि ती दुबै केटाहरु गाउँतिर फर्कै’।
‘महाराजजीको छेउमा, तर अलि पर अन्ध्यारोमा बसेको त्यो डाँकुले पनि त्यो केटाले भनेको कुराहरु सुन्यो। ती केटाहरु मठबाट धेरै टाढा पुगिसकेको आफूलाई निश्चित भएपछि महाराजजी नजीक पुग्दै त्यो डाँकुले भन्यो- महाराजजी, अघि आएका ती दुई केटा मध्ये , जो चुपचाप बसिरहेको थियो, त्यो सुराकी हो। संजोगले कसरी त्यो पनि आइपुग्यो यो मठमा अर्को त्यो केटासँगै। त्यसले मलाई नदेखे पनि अलि पर कोही लुकेको अनुमान भने पक्कै पनि गरेको छ। मतिर पटक पटक र धेरै बेर सम्म त्यसले हेरेको हेरै गर्यो। अब यो मठमा मेरो खैरियत छैन्। त्यो सुराकीले खबर पुर्याउँछ पुलिसकहाँ, अनि पुलिस आइपुग्छ समात्न मलाई। पुलिस आउनु भन्दा पहिले म यहाँबाट नौ दु एघार हुन्छु’।
बाले केही बेर पहिले आरम्म गर्नु भएको कथा सकिनु पनि रामसेबकबाबा टुपलुक्क आइपुग्नु पनि एकै चोटी भयो। रामसेबकबाबा जयशंकर ओघडदानी, हरहर महादेव, कैलाशपति, बजरङ्गबली तोड दुस्मनकी नली भन्दै बाको छेउमा आइपुगे। अनि बातिर हेर्दे सोधे ‘यी बौआ के है, मास्टरसाहेब’?
‘हमर समाङ है। गौर जायला जिद करे लागल। ले अइली एकरो साथमे’ बाले मतिर हेर्दै रामसेबकबाबालाई भन्नु भयो।
‘बडा बढिया, मास्टरसाहेब। लैकाफैका के देखाओल सुनाओल बढिया होइछइ कि’ रामसेबकबाबाले बाको भनाइमा प्रतिक्रिया जाहेर गरे।
मलाई भने बाले भनेको कथाको केही अंश बाँकी नै रहे जस्तो लाग्यो। चलिरहेको वार्ताको प्रशङ्गलाई मोडदै मैले बालाई प्रश्न गरे -बा अघिको कथा वा घटनामा …… त्यो खतरनाक, खुनी डाँकुलाई पुलिसले समात्यो कि समातेन?
मेरो प्रश्न सुनेपछि रामसेबकबाबातिर हेर्दै बाले हाँसेर भन्नु भयो ‘कह दु ऊ खतरनाक, खुनी, जयमङगला डाँकु पुलिससे पकड्याएल कि न पकड्याएल’?
रामसेबकबाबाले तत्काल उत्तर दिए ‘पुलिस पकडलख कि, चारो ओर से घेर लेलख गावँ के सरेहमे। दश बरिस जेल परल। एक बरिस त सेलमे, हातमे हतकडी आ गोडमे नेल सहित’।
रामसेबकबाबाको भनाई सुने पछि मैले बालाई तत्काल प्रश्न गरे- बा, त्यो जयमङगला डाँकुको कथा रामसेबकबाबालाई पनि थाहा छ र?
रामसेबकबाबातिर हेर्दै बाले भन्नु भयो ‘अघि कथामा भनेको जयमङगला डाँकु यी रामसेबकबाबा नै हुन’।


विश्वराज अधिकारी