Wikipedia

Search results

Showing posts with label Nepali Fiction. Show all posts
Showing posts with label Nepali Fiction. Show all posts

Monday, August 22, 2016

Waterloo, Manju Madam, And Kaka-A story

बाटरलु, मन्जु म्याड्म र काका

(कथा) 

वाटरलु जाने योजना अप्रत्यासित रुपमा बनेको थियो।
म न्युयोर्कबाट टोरन्टो घुम्न पुगेको  थिएँ। मेरो बसाइ टोरन्टो स्थित नरेश काकाको घरमा थियो। टोरन्टो पुगेको भोलि पल्ट नै मलाई एक नया ठाउँमा लग्ने उद्देश्यका साथ विहान कफि खाँदै गर्दा काकाले भन्नु भएको थियो, “श्रीभव, वाटरलु जाने हो? म भोली छोरीलाई भेट्न त्यसतर्फ जाँदैछु, जाने हो? टोरन्टोबाट मात्र डेढ घण्टामा पुगिन्छ, त्यहाँ। अनि, राति फर्केर टोरन्टो नै आउने हो।”
“पूर्वा, वाटरलु स्थित युनिभर्सिटी अफ वाटरलुमा पढ्छिन। उनलाई भेटेको धेरै दिन भएकोले त्यसतर्फ जान थालेको हो” काकाले अझै प्रष्ट पार्नु भएको थियो। “हप्ता वा दुई हप्ताको को एक पटक म वा तिम्री काकी पूर्वालाई भेट्न नाजने हो भने उनी रिसाएर चिउरा छै ढाडिन्छिन्” काकाले थप रहस्य पनि खोल्नु भएको थियो।
“अवश्य जान्छु। यो, त्येही वाटरलु होइन जहाँ नेपालियन बोनापार्ट एक भीषण युद्ध हारेका थिए। त्यो युद्धमा दुवै पक्षको गरेर करिब चालिस हजार व्यक्तिहरू मारिएका थिए रे।”
“विश्व इतिहासमा वाटरलुको युद्ध निकै प्रचलित छ। सन् १८१५ मा भएको यो युद्ध पछि नोपोलियनको शक्ति क्षिण हुन शुरु मात्र भएको थिएन, उनको फ्रान्सको बादशाहको पद पनि खोसिएको थियो। भनिन्छ, नेपोलियन यो संसारको नै बादशाह बन्ने उद्देश्यका साथ युद्ध गर्दै हिँडेका थिए। नेपालियनले भन्ने गर्थ्ये रे- नेपोलियन भनको फ्रान्स हो अनि फ्रान्स भनेको नै नेपोलियन हो।”
“यस्तो ऐतिहासिक स्थान हेर्न पनि कसैले छुटाउँछ त? म अवश्य जान्छु। हेरौ न नेपोलियनले युद्ध गरेको स्थान कस्तो रहेछ। ऊ हारेको स्थान कस्तो देखिन्छ।” बीचमा काकालाई बोल्ने पालो नदिएर नै मैले यी सबै कुरा भन्न सक्याएको थिए।
“हामी जान थालेको वाटरलु त्यो भीषण युद्ध भएको वाटरलु होइन। यो वाटरलु अर्को वाटरलु हो। यो क्यानाडाको भित्र पर्ने वाटरलु हो। यो वाटरलु सहर सानो भएता पनि यहाँ राम्रो युनिभर्सिटी भएकोले यो सरह निकै प्रख्यात छ। तिमीले बयान गरेको वाटरलु, जहाँ नेपोलियन बोनापार्टले ठूलो युद्ध लडेका थिए, अहिले भने बेल्जियमा पर्दछ। त्यसबेला भने निरदलैण्ड्सको एक भागमा पर्थ्यो। काकाले हाँस्दै भन्नु भएको थियो। उहाँले थप्नु भएको थियो, “क्यान्डामा तिमीले वाटरलु मात्र होइन, लण्डन सहर पनि देख्न पाउँछौ। एउटा कुरा थाहा पाइराख, अमेरिका र क्यानाडामा तिमीले युरोपका धेरै सहरहरूको नाम भएका सहरहरू देख्न पाउँछौ।“
काकाको कुरा सुनेर आफूलाई विश्व भूगोलको अल्प ज्ञान भएकोमा म अलि लज्जित पनि भएको थिएँ।
भोलि पल्ट, अर्थात शुक्रवार, एप्रिल १५, २०१६ का दिन हामी टोरन्टोबाट वाटरलु पुग्न हिँडेका थियौ। बाटोमा नरेश काकाले एउट रोचक प्रशंग सुनाउनु भएको थियो।
नरेश काकाले त्यो रोचक प्रशंग यसरी सुनाउनु भएको थियो:
“बुझ्यौ श्रीभव, एक महिना पहिले अर्थात मार्च २०१६ मा म काठमाडौ पुग्दा निकै रमाइलो भएको थियो नि।”
“मैले पढाउने कलेजमा स्प्रिग सेमेष्टर सकिएर केही समय बिदा भएकोले म टोरन्टोबाट काठमाडौ पुगेको थिए। टोरन्टोबाट अब्बु धाबी पुगेर म काठमाडौको लागि उड्ने प्लेन कुरेर एक टर्मिनल एरियामा चुपचाप बसिरहेको थिए। मेरो छेउमा नै एक महिला म जस्तै कुनै फ्लाइटको बाटो कुर्न टुप्लुक्क आइपुगेको देखें। साथै ती महिलाई नेपालको कुनै सरहमा मैले देखेको याद मेरो मष्तिष्कमा बलियो गरी ताजा पनि भयो।”
“परिचयको क्रम मैले नै अगाडि बढाएँ। मेरो छेउको ती महिलालाई मैले भने- मेरो नाम नरेश अधिकारी हो। अनि, तपाइँको नाम मन्जु ………………।आज भन्दा करिब चालिस वर्ष पहिले तपाइँ बीरगंजको ठाकुर राम कलेजमा पढ्ने गर्नु हुन्थ्यो। तपाइँको घर पनि वा भनौ माइती, श्रीपुरमा थियो। होइन त? मन्जुले भनिन्- तपाइँले भन्नु भएका सम्पूर्ण कुराहरू सत्य हुन तर तपाइँलाई यी सबै कुरा कसरी थाहा भयो? मलाई निकै आश्चर्य लाग्यो।”
“मन्जु म्याडम, जति खेर, त्यो समयमा तपाइँ आई ए पढ्दै गरिरहनु भएको थियो, म पनि आइ यस्सी पढिरहेको थिएँ, त्येही क्याम्पसमा। भवन पनि एउटै थियो। र अर्को रोचक कुरा पनि छ। म तपाइँलाई त्यो बेलामा नै राम्रो गरी चिन्थ्ये तर मलाई तपाइँले चिन्नु हुन्थेन। मैले पनि, तपाइँले मलाई चिन्ने कुनै ठोस प्रयास गर्न सकिन।”  
“मैले थपे- तपाइँलाई यदि असजिलो लाग्दैन र अनुमति दिनु हुन्छ भने……………..म त्यो बेलाको, ठाकुर राम कलेजको जमानाका केही कुराहरू भन्न चाहन्छु। अनुमति छ? मेरो प्रश्नको उतरमा मन्जुले भनिन्- हुन्छ, अवश्य भन्नु होस्। म पनि एक्लै बोर भइरहेको थिए। तपाइँको कुराले मेरो कुर्नु पर्ने जस्तो निरस समय त सजिलै गरी कट्न सक्छ, केही समयको लागि नै भए पनि। मेरो छोरीलाई भेट्न, खासमा सुत्केरी भइकी छोरीलाई सेहार्न,  म अमेरिका गएकी थिए, त्यहाँ छ महिना बसेर फर्किंदै छु।”
“मन्जुको वर्तमानको कुरामा मलाई दिलचस्पी नभएर विगतको कुराले तानिरहेको थियो। त्येही परिप्रेक्ष्यमा मैले भने- मन्जु म्याड्म, तपाइँ आइ ए मा पढ्दा एकजना सरिता नाम गरेकी युवती तपाइँको ज्यादै घनिष्ट साथी थिइन, हो? मन्जुले भनिन्- हो। मैले थपे- त्यो बेला म सँग नै आइ यस्सी पढ्ने एउटा युवक, जो ज्यादै नै मेरो घनिष्ट थियो, तपाइँको साथी सरिताप्रति ज्यादै आकर्षित भएको थियो। आकर्षित पनि कस्तो भने फलामको एक अति नै सानो टुक्रा ठूलो चुम्बकमाप्रति आकर्षित भए जस्तो गरी। लैलाप्रति मजनु आकर्षित भए जस्तो, भनौन। मेरो त्यो साथी, सतिस, सरिताप्रति सीमाहीन किसिमले आकर्षित भएको थियो। छातीमा सरिताको तस्वीर नै हरदम साथमा लिएर हिँडेझै गर्थ्यो। भन्ने हो भने मेरो त्यो साथी सरिताको लागि एक किसिमले पागल नै भएको थियो।”
“मन्जुले आश्चर्य व्यक्त गरिन्- तर मलाइ सरिताले कहिले पनि भनिनन् उनलाई कुनै युवकले अति नै मन पराउँछ भन्ने कुरा। न त कलेज वा वीरगञ्जका अन्य स्थानहरूमा म सरितासँग घुम्दा उनलाई कुनै युवकले कहिले पछ्याएको वा कुरा गर्न खोजेको देखें मैले। जबकि म र सरिता अति मिल्ने मात्र होइन, ज्यादै घनिष्ट र प्राय: जुन बेला पनि साथ रहने साथी थियौ। हामी दुई कलेजको लाइब्रेरीमा साँझ ढिलो गरी पढ्ने पनि गर्थ्यौ। कलेजबाट सँगै फर्किने पनि गर्थ्यौ। म सरिताको र सरिता मेरो घरमा आउने जाने, सुत्नेसम्म पनि हुने गर्थ्यो। मलै बीचमा नै भने- सतिसको व्यवहार चाहिने भन्दा पनि, अति नै भद्र थियो। मैले कहिले काँहि उसलाई रिसाएर भन्ने पनि गर्थ्ये- हेर बाबु धेरै भद्र हुनु पनि कायर हुनु हो। कहिले काँहि आफ्नो भद्रतासँग विद्रोह गर्नु पर्दछ। हुन पनि ज्यादै भद्र हुनु कहिलेकाहिं कायरताको पर्यायवाची हुन पुग्दछ। तेरो स्थिति पनि त्यस्तो नै हुँदैछ। कलेजमा नै कतै भेटेर एक पटक सरितालाई भन्ने आँट गर। भेटेर भनि पनि दे- सरिता आइ लभ यु, डु यु लभ मी? तर भद्रताको पालना यसैगरी नै तँबाट हुने हो भने तेरो र सरिता बीचको कथा कहिले पनि अगाडि बढ्न सक्तैन। भद्रताको हरेक नियमहरू पालना गर्ने हो भने जीवन निरश हुन पुग्छ, बाबु। र अर्को कुरा, प्रेममा भद्रताका धेरै नियमहरू टुट्ने पनि गर्दछन, नया नया नियमहरू बनेझै। प्रेमको इतिहास हेर न …………….
“बुझ्नु भयो मन्जु म्याड्म, कस्तो अचम्म, निर्मलालाई हेर्न पाउने आशमा प्रत्येक साँझ शतिस बिर्ताटोल स्थिति निर्मलाको घर पुग्ने गर्थ्यो। साथमा मलाई पनि तानेर लग्ने गर्थ्यो। तर त्यहाँ पुगेर उसले गर्ने काम भने एउटै थियो, आफ्नो घरको छतमा आएकि निर्मलालाई निकै बेर एकटकले हेर्ने। त्यसपछि घर फर्किने। निर्मलालाई हेर्ने उनको घर नजिक पुगेको शतिस कहिले काहिं निराश पनि हुन्थ्यो किनभने शतिसले धेरै समय कुर्दा पनि, एकतर्फी नै सही, उसको देखादेख निर्मलासँग हुन्थेन। बिचरा शतिस! लडाइ हारेको सेना झै मनमा ग्लानी लिएर फर्किन्थ्यो, भेट हुन नसकेको दिन।”
“बुझ्नु भयो, मन्जु म्याड्म, केलजमा पनि सतिसको व्यवहार अनौठो हुन्थ्यो। आफ्नो कक्षामा पस्न ढिलो गरेर भए पनि सरितालाई हेर्न, उनी कक्षामा प्रवेश गर्न थालेको दृश्य, एकटकले हेर्थ्यो। आफू कक्षाबाट छिटै निस्केर भए पनि, सरिता  कक्षाबाट निस्कन थालेको दृश्य हेर्न, पुग्थ्यो पनि। तर यी सबै कुरा उसले केवल सरितालाई हेर्नका लागि गर्थ्यो। सतिसले आफू सरिताप्रति त्यति बढी आकर्षित भएको कहिले पनि भन्न भने सकेन।”
“सरितालाई हेर्न चक्करमा सतिसले आफ्नो पढाइ नै बिगार्यो। त्यति राम्रो विद्यार्थी सतिस! दोस्रो सेमेष्टरमा सबै विषयमा पास हुन सकेन। दुई विषयमा फेल भयो। सतिसले, साइन्समा अध्ययनका लागि बढी समय दिनु पर्ने भयो भन्दै, कमर्स पढ्ने विचार पनि गर्यो। तर ऊ सरिताको एकहरो प्रेमबाट बाहिर आउन सकेन। सतिसले सरितालाई एकहरो प्रेम गर्ने, आफ्नो त्यो स्थिति, सरितालाई भन्न नसक्ने स्थिति, दुई वर्षसम्म निरन्तर रुपमा चल्यो।
“मन्जुले मलाई प्रश्न गरिन्- पछि के भयो त?  मैले भने- के हुनु! त्यस्तो केही हुन सकेन! सतिसको  भद्रताले उसलाई त्यो आँट नै दिएन जुन प्रयोग गरेर उनले सरितालाई आइ लभ यु भन्न सक्थ्यो।”
“मन्जुले भनिन्, विचारा सतिस! चाहिने भन्दा साँच्चि नै बढी नै भलादमी रहेछन्। साँचै पछि केही पनि हुन सकेन? मैले भने- केही पनि त्यस्तो हुन सकेन नि। पछि, सरिताको विहे भयो। विहे भएर उनी विराटनगर गइन। तर कथा यत्तिकैमा समाप्त भएन। सतिसले आइ यस्सी पास गर्न सकेनन्। सरितालाई देख्न नपाए पछि, अति नै नियास्रो लागेर ऊ काठमाडौतिर लाग्यो। पछि, कमर्स पढ्ने इच्छा गर्यो उसले। अमेरिका गयो। उतै पि यच डि पनि गर्यो। अहिले टोरन्टो, क्यानाडाको एक कलेजमा ‘बिजन्स’ पढाउने गर्छ।”
“मन्जु मेरो छेउ आइपुग्नु र मैले उनीसँग कुरा गर्नुमा धेरै समय व्यतित हुन पाएन। उनी मेरो छेउमा आइपुग्नु र मैले उनीसँग कुरा गर्नुमा केवल छोटो समय खर्च भएको थियो  किनभने मन्जु मेरो छेउमा आएको केही कालपछि नै हाम्रो फ्लाइट उडानको लागि तयार रहेको र हामी काठमाडौ जानका लागि चेकिंग काउन्टरतिर बढ्न सम्बन्धित एयर लाइन्सले घोषण गरिसकेको थियो। हामी चेकिंग काउन्टरको ज्यादै नजिक रहेकोले त्यता ढिलोगरी पुग्ने लक्ष्यका साथ कुरा गरिरहकेका थियौ। एक किसिमको हतार भित्र रहेर। खास गरी म।”
“चेकिंग काउन्टर पार गरेर प्लेन चढ्नका लागि त्यस तर्फ लागि रहेको बेलामा मैले भने- मन्जु म्याड्म, प्लेनमा तपाइँको सिट एकातिर मेरो अर्कोतिर होला। अब हामी बीच कुराकानी काठमाडौ एयरपोर्टमा नै होला जस्तो छ। त्यहाँ पुगेर कुरा गरौला। तर कुरा भने अवश्य गरौला। म करिब एक वा दुई महिना  जति काठमाडौमा बस्छु होला। न्युरोडितर घुम्दा हाम्रो अवश्य पनि भेट हुन सक्छ होला।”
“काठमाडौ एयरपोर्टमा हाम्रो प्लेनले समयमा नै अवतरण गर्यो। इमिग्रेसन, भंसार र अन्य प्रकियाहरू पूरा गरेर निस्किने बेलामा मेरो भेट मन्जुसँग भयो। मैल बलियो आग्रहको शैलीमा भने- मन्जु म्याड्म, आजको पाँच दिन पछि, कुनै दिन, मसँग न्युरोडमा भेट्न रुचाउनु हुन्छ। कुनै तोकिएको रेष्टुरेन्टमा भेटौला। मेरो फोन नम्बर पनि लिनुहोस,म पनि आफ्नो फोन नम्बर दिन्छु। हुँदैन?”
“मैले थपे- म भद्र हुँ भनेर आफूलाई आफैले कसरी भनौ। तर म सँगको भेटमा तपाइँले कुनै अप्रिय अनुभव गर्ने मौका पाउनु हुने छैन्। ढुक्क हुनुहोस। प्रतिक्रियामा मन्जुले भनिन्- त्यस्तो खास के ही कुरा छ भने टेक्सी चढ्नु भन्दा पहिले नै पनि, यहाँ, अहिले नै पनि, भन्न सक्नु हुन्छ। मैले भने- त्यस्तो केही खास कुरा छैन्, तर कुरा अति नै साधरण पनि छैन्। मैले हाँस्दै फेरि भने- खासमा मैले तपाइँलाई भन्न खोजेको कुरा के हो भने, संक्षिप्तमा, अघि मैले तपाइँलाई सुनाएको कथाका पात्रहरूमा, सरिता भनेको पात्र तपाइँ मन्जु दाहाल हो र सतिस भनेको पात्र म, नरेश अधिकारी हो। र त्यो कथा केवल हामी बीचको कथा हो। मन्जु र नरेश बीचको कथा हो।”
मेरो कुरा सुनेर मन्जु म्याड्मको मुखको भाव तुरुन्तै परिवर्तन भएको थियो। तर अचम्म! उनले केही पनि बोलिनन्। मैले नै भने- मन्जु, म तिमीलाई, समयले हामी बीच यत्रो चाक्लो खाडल खनिसकेता पनि, हामीले उमेरको अग्लो पाहाड चढेता पनि, म लामो समयसम्म तिमीलाई एकटकले हेर्न चाहन्छु, र यो पनि ज्ञात गर्न चाहन्छु कि तिमीमा के कस्ता विशेषताहरू थिए जसले मलाई पागल वा दिवाना नै बनाएका थिए, कलेजका ती दिनहरूमा। तिमी प्रति मलाई चुम्बक झै आकर्षित गर्ने तिमीमा रहेका ती तत्वहरू म तिम्रो अति नै नजिक भएर अवलोकन गर्न चाहन्छु। तिनीहरूलाई नजिक, ज्यादै नजिक, अति नजिकबाट हेरेर महसुस गर्न चाहन्छु। कृपया हुन्न नभन्नु ल। म तिमीलाई त्यो अवस्थाम भेट्न चाहन्छु जुन अवस्थमा मैले तिमीलाई  चालिस वर्ष पहिले भेटेको थिएँ। तिम्रो अनुमतिमा, म लामो समयसम्म तिमीलाई हेरिरहन चाहन्छु, आकाशले पूर्णिमाको रातमा, चन्द्रमालाई एकटकले हेरिरहे झै।”
“बुझेउ श्रीभव, काठमाडौ पुगेको सात दिन पछि न्युरोडको एक रेष्टुरेन्टमा मन्जुसँग मेरो भेट भयो पनि।”
काकाको कथा समाप्त हुनु पनि, हामी वाटरलु स्थित युनिभर्सिटी अफ वाटरलु पुग्नु पनि, एकै पटक भयो। कथा समाप्त गरेपछि नरेश काकाको मुहारमा नेपोलियन बोनापार्टले हारेको युद्ध उहाँले जितेको भाव प्रष्ट गरि देखिएको थियो। उहाँको मुहार अति नै चम्किरहेको थियो।

                                       ****

विश्वराज अधिकारी

Tuesday, August 16, 2016

This Way I Won The Defeated War-A story

यसरी जिते हारेको युद्ध
(कथा)

तिस वर्ष पहिलेको एक रात जस्तो घटना भएको थियो ठिक त्यस्तै घटनाको पुनरावृति भएको थियो। तिस वर्ष पहिले म अविवाहित थिएँ।
अहिले म विवाहित छु।
गएको रातिको घटना हो। म, मेरी छोरी मधु र मधुकी आमा उर्मिला रातिको बार्ह बजे एक कोठामा बसेर गंभिर छलभलम भास्सिएका थियौ। कुराकानीको क्रम यसरी आरम्भ भएको थियो।
उर्मिलाले भनिन्, “हेर छोरी आजसम्म हाम्रो खानदानमा प्रेम विवाह भएको छैन। जसको पनि मागी विवाह भएको हो। तेरो बुआको मात्र होइन, तेरो दाजु र दिदीको बिहे पनि मागीविहे नै भएको हो, तँलाई थाहा नै छ। तेरो बुआले आफ्नो बाको आज्ञालाई सिरोधार्य गरेर, केटी हेर्दै नहेरेर, आफ्नो बाले भने जस्तो केटीसँव बिहे गर्नु भयो। साक्षी म नै छु तेरो अगाडि। तँले भने लभ गरेर हाम्रो नाककाटिने स्थिति परिस नै, तल्लो जाति को केटा रोजेर टोल छिमेकमा मुख देखाउन लायक पनि रहन दिनस्, हामीलाई।”
यति भनेर उर्मिलाले मतिर हेरिन्। मेरो सहमति पाउन भनिन्, “मधुको बुआ भन्नुस न, मैले भनेको ठीक होइन त?” मैले केही पनि बोलिन। उर्मिलाको भनाइमा सहमत भएको प्रदर्शित मात्र गरे।
मधु चुपचाप थिइन। उनको उपस्थिति र प्रस्तुति हेर्दा उनी केवल सुन्न बसेको प्रतीत भइरहेको थियो।
उर्मिलाले भनिन् “हेर मधु, तँ अझै केटाकेटी नै छेस्। आफ्नो बारेमा राम्रोगरी सोंच्ने उमेर भइसकेको छैन् तेरो। त्यो केटाले तँलालई ललाई फलाई गरेको पनि हुन सक्छ। पढेलेखेकी, अति राम्री र सम्पन्न परिवारको देखेर हात पार्न खोजेको हुन सक्छ। यस्ता केटाहरूको कुनै विश्वास हुँदैन। यी आवारा हुन्। यिनीहरू पढ्ने किसिमिका हुन र? अशल केटाहरू यसरी लभ गर्दै हिंडछन्, पढ्न लेख्न छोडेर?”
ऊर्मिलाले फेरि भनिन्, “हेर त्यो केटसँग हाम्रो स्तर पनि पटक्कै मिल्दैन। सोंच, विचार र व्यवहार पनि मिल्दैन। त्यस्तो केटासँग बिहे गरेर जीवन बर्वाद गर्ने इच्छा छ तेरो? के राम्रो अशल परिवारको केटासँग बिहे गरेर सुखसँग बस्न तँलाई मन लागेको छैन्? त्यो केटाले तँलाई सुख सँग राख्न सक्छ? हेर्दा नै दीनहीन देखिन्छ त्यो।”
यो पटक उर्मिलाले मतिर व्यंग गरिन्, “मधुको बुआ, तपाइँ किन चुप लागेर बस्नु भएको? मुखमा दही जमेको जस्तो गरेर, भन्नुस न केही छोरीलाई। भन्नुस न, उसले लिएको निर्णय सही छैन् भनेर। होइन, तपाइँलाई त्यो केटा ज्वाइ बनाउन मन परेको छ भने खुसिपूर्वक बनाउनु होस्। म मात्र किन तित्राको मुख बैरी हुने? मेरो मात्र छोरी हो ऊ?”
उर्मिलाको विचारमा मेरो पूर्ण सहमति रहेको सबल प्रमाण पेश गर्न मधुतिर हेर्दै मैले भने, “छोरी, बिहेवारीको कुरा बजारमा सामान खरिद गरे जस्तो होइन। किनेको सामान मन नपरे बजारमा सो सामान फिर्ता गर्न सकिए जस्तो। एक पटक गाँसिएको सम्बन्ध फिर्ता गर्न सकिंदैन, सामान साटै झै गरी। जिन्दगीको कुरा हो, गंभिरतापूर्वक सोंचेर निर्णय गर।”
मधु चुपचाप थिन्। उनको मुहारमा कुनै किसिमको प्रतिक्रियाको भाव झल्केको थिएन। बरु लागथ्यो उनले आमा बाबुको उपदेस र अर्ति गंभिरतापूर्वक लिए जस्तो। मैले त के पनि अनुमान गरे भने मधुले अब केही छिनमा नै भन्ने छिन- भयो, भयो। जे भयो त्यसलाई बिर्से मैले। म तपाइँहरूको सल्लाह मानेर त्यो केटासँग बिहे गर्दिन। मागी बिहे गर्छु, तपाइँहरूको इच्छा अनुसारको बिहे गर्छु।  
मेले गरेको जस्तै अनुमान उर्मिलाले पनि गरिन। हामी दुबैले एक अर्कालाई हेरा हेर गरौ। छोरीले निर्णय फेर्ने कुरामा हामी एक अर्काको मुहारको भाव पढेर ढुक्क भयौ।
यो स्थितिले उर्मिलालाई हौसला प्रदान गर्यो। मधुतिर हेर्दै भनिन्, “हेर छोरी, ढिलो न गर। भोलि बिहान नै गएर त्यो केटालाई भनिदे म बिहे गर्न तयार छैन। हाम्रो बीच अब कुनै किसिमको सम्बन्ध रहेन पनि। हामी एक अर्कालाई बिर्सीदिऔ,पूर्णतया।”  
अब उर्मिला मतिर फर्किन। अलि क्रोधित भावमा मलाई भनिन्, “भन्नुस न तपाइँ पनि। भन्नुस, भोलि नै गएर मधुले भनिदेओस त्यो केटालाई, म बिहे गर्न तयार छैन। अब हामी बिच कुनै पनि किसिमको सम्बन्ध छैन भनेर। ढिलो गर्नु हुँदैन यस्तो गंभिर कुरामा, बुझ्नु भयो। तपाइँ यस्ता कुराहरू अलि ढिलो गरी बुझ्नु हुन्छ।”
मैले केही पनि बोलिन। प्रतिक्रिया विहीन भएर बसे।
मधुको लामो मौनताको स्थितिले मेरो कौतुहलता झन बढेर गयो। मेरो अनुमान सत्यमा परिणत हुने मैले विश्वास गरे। अब केही क्षणमा नै मधुले हाम्रो प्रस्तावमा स्वीकृति जनाउनेमा म ढुक्क  भए। फेरि मैले र उर्मिलाले आँखामा आँखा जुधायौ। उर्मिलाको आँखा खुसीले चम्मेको जस्तो लाग्यो। उमिर्ला एक विजयी योद्धा जस्तो देखिन पनि।
वातावरण केही बेर शान्त रह्यो। मध्य रातको चकमन्न वातावरणमा त्यो शान्ति झनै बढी बोध भइरहेको थियो। घण्टाघर बाहेक सारा बीरगंज सुतेको थियो। केवल हामी चार मात्रा जागा थियौ, घण्टघरसहित।
तर त्यो शान्तिलाई चिर्दै मधुले भनिन्, “आमा तपाइँको सल्लाहको म कदर गर्छु। तपाइँले यी कुराहरू मेरो भलाइको लागि गरेको भन्नेमा मलाई कुनै शंका छैन् पनि। र मैले शंका गर्नु उचित पनि हुँदैन। तर पनि ..................। तर पनि, म आफ्नो निर्णमा अडिग छु। म केटाकेटी छैन, अब। पच्चिस वर्षकी छु। आफ्नो भविष्यको बारेमा राम्रो गरी सोंच विचार गर्न सक्छु। म त्यो केटासँग नै बिहे गर्छु। म कमल सँग नै बिहे गर्छु। यो मेरो अन्तिम निर्यण हो।”
मधुको प्रतिक्रियाले निभिसकेको आगो दन्केको जस्तो भयो। ह्वार ह्वार आगो बले जस्तो भयो।
उर्मिलाका आँखाहरू राता राता भए। हातमा रहेको सानो तकियाले मधुलाई प्रहार गर्न खोजिन तर के सोंचर त्यस्तो गरिनन्। शान्त भइन्। तर उर्मिलाको त्यो शान्तिमा ठूलो आँधीले आश्रय लिएको प्रष्ट गरि थाहा पाउन सकिन्थ्यो।
अर्कोतिर मधु भने भाव विहीन मुद्रामा सोफमा बसिरहेकी थिइन। मधुको स्थिति एक स्थिर ढुंगा भन्दा रत्ति पनि फरक थिएन। हुन पनि उर्मिलाका शब्दहरू मधुको मष्तिष्कमा असरहीन भएर गएका थिए। मलाई त्यस्तो लाग्यो।
उर्मिला सोफाबाट उठिन्। कराउँदै भनिन्, “मधु, तँ आफ्नो निर्णय परिवर्तन गर्न तयार छैनस, होइन त?”
मधुले तत्काल जवाफ दी, “हो मम्मी।”
मधुको जफावले आगोमा अझै घ्यु हालेको झै गर्यो। उर्मिला क्रोधित हुँदै लिभिंग रूमबाट बाहिर निस्किन। आफ्नो बेडरुमा पसेर उर्मिलाले ढ्याम्म ढोक्का लगाएको आवाज लिभिंग रूमसम्म सुनियो। त्यो चकमन्न रातमा सडकसम्म पनि सुनियो।
अब लिभिंग रूममा केवल मेरो अनि छोरी मधुको उपस्थिति थियो। मधुको मुहारमा भयका रेखाहरू कोरिएको प्रष्ट गरि देखिएको थियो। म मधुको नजिक पुगे। उनको काँधमा हात राखे।
मेरो यस्तो व्यवहारले मधु अलि भयभीत भइन। मतिर नहरेर केवल भूँईमा हेरिन।
मेरा दुबै हातहरूले मधुको टाउको सोझो पार्दै मैले भने, “मधु, छोरी, मैले जुन युद्ध चालिस वर्ष पहिले हारेको थिएँ, त्यो युद्ध तिमीले जितेर देखाइ दियौ।”
आश्चर्यचकित हुँदै मधुले मतिर हेरिन, तर केही पनि बोलिन।
मैले भने, “तिमीले लिएको निर्णय सही छ। मेरो यसमा कुनै गुनासो छैन। बरू खुसी लागेको छ, तिमी आफ्नो निर्णयमा अडिग रहेकोमा। चालिस वर्ष पहिले म पनि तिम्रो जस्तो स्थितिमा थिए। तर म आफ्नो निर्णयमा अडिग रहन सकिन।”  
अब भने मधुले मुख खोलिन। उनले प्रश्न गरिन, “चालिस वर्ष पहिले के भएको थियो, बुआ? र कस्तो निर्णयमा तपाइँ अडिग रहन सक्नु भएको थिएन?”
मैले भने, “यसै सहरको ठाकुर राम क्याम्पसमा पढ्दै गर्दा मैले भावना नाम गरेकी एक केटीलाई मन पराएको थियो। उनले पनि मलाई मन पराएकी थिन। भनन्, एक किसिमले, हामी बीच प्रेम थियो। अति गहिरो प्रेम थियो। तर तिमीलाई, तिम्री मम्मीले  अहिले कन्भिन्स गरे झै मलाई पनि मेरो बाले अति कन्भिनस गर्नु भयो, तिम्रो मम्मीले गरेझै गरी। भावनासँग मेरो बिहे हुन दिनु भएन, बाले। बाका अनेक बलिया तर्कहरूमा जेलिएर म बाहिर आउन सकिन। भावनासँग बिहे गर्छु भनेर अडिग हुन सकिन, तिमी आफ्नो निर्णयमा अडिग भए जस्तो। त्यसकारण तिमीले त्यो युद्ध जितेर देखाइ दियौ जुन मैले हारेको थिएँ।”
“स्यावास”,मैले थपे।
मधुले केवल आश्चर्य मानेर मेरो मुहार हेरेको हेरै गरेको मलाई प्रष्ट गरी बोध भइरहेको थियो।

विश्वराज अधिकारी
Saturday, August 13, 2016


Wednesday, November 14, 2012

The Leader-Story-29


नेताको आत्मा

शिक्षित, सुशिल एवं सरल स्वभावको त्यो युवकमा अचानक आएको एक अनौठो परिवर्तनले गाउँका सबैलाई अति नै अचम्ममा पारेको थियो। पहिले, कहिलै झूठो नबोल्ने, कसैलाई नठग्ने, मिलनसार र सहृदयी व्यक्ति परिवर्तन भएर साँचो कुरा कहिले पनि नबोल्ने, अरुलाई झुक्याएर ठग्ने, अति स्वार्थी र अपराधी प्रवृतिको समेत भएको थियो। कहिले, तँ यो जातको म त्यो जातको, कहिले तँ यो क्षेत्रको म त्यो क्षेत्रको, कहिले तँ यो विचारधाराको म त्यो विचारधाराको, कहिले तँ शोषक, शासक, दलाल म शोषित भन्दै गाउँ घरमा हिँड्न थालेको थियो। त्यो युवकको त्यस्तो व्यवहारको बिरोध गर्नेलाई उसले ज्यानै समेत लिन धम्की दिन थाल्यो। अनौठो परिवर्तन त्यो युवकमा आएको देखेर सबैमा चिन्ता चुलिएर गयो। एक दिन गाउँका सबैले बल प्रयोग गरेर नै उसलाई गाउँकै मनोचिकित्सक कहाँ पुर्याए। चिकित्सकबाट न त उपचार नै हुन सक्यो न त कुन रोगले उसलाई सताएको हो भन्ने पत्ता लाग्न सक्यो। ठूलो शहरका कुनै चिकित्सकले रोग पत्ता लगाएर निको पार्न सक्ने हुन कि भने आशमा सबै गाउँलेहरु मिलेर त्यो युवकलाई एक ठूलो शरहरमा पुर्याए, एक प्रख्यात मनोचिकित्सकलाई देखाए। ती ठूला चिकित्सकले पनि न त उपचार नै गर्न सके न त कुन रोग लागेको हो भन्न सके।
त्यस गाउँका एक प्रौढ व्यक्तिले एक अन्तिम उपाय प्रयोग गर्न सबैलाई सहमत पारे। अन्तिम उपायको प्रयोग गर्दै त्यो युवकलाई  एक झाँक्रीको घरमा पुर्याइयो। लामो समयको टुना मुना र झारफुक पछि त्यो झाँक्रीले घोषण गर्यो “यो युवकमा एक मृत नेताको आत्माले प्रवेश गरेको रहेछ।”
गाउँलेहरु मध्ये केहीले पत्याए केहीले पत्याएन। त्यो झाँक्रीले अर्को पनि घोषणा गर्यो “यो युवकको रोग म सँधैका लागि निको पार्न सक्छु। तर त्यस्तो गर्न, यो युवकमा आएको त्यो मृत नेताको आत्मा झिकेर कुनै जिवित तर त्यस्तै स्वभावको नेतामा त्यो आत्मा प्रवेश गराउनु पर्दछ। मृत नेताको स्वभाव र जिवित नेताको स्वभाव एउटै भएकोले केही फरक पर्दैन, मिल्न आउँछ। मृत नेताको आत्मा र जिवित नेता मिलेर बस्न सक्छन, एउटै किसिमको स्वभाव भएको कारणले गर्दा।”
एउटा गाउँलेले संका व्यक्त गर्यो “……………तर त्यस्तै स्वभाव भएको नेता कसरी खोज्ने?”
अर्कोले तत्काल उत्तर दियो “धन्दा, सुर्ता लिनु पर्देन, त्यस्ता नेताहरु थुप्रै देखिएका छन हाम्रो गाउँ घरमा, आज भोलि।”
अचम्म भयो! मृत नेताको आत्मा त्यो युवकबाट झिकेर त्यो झाँक्रीले एक जिवित नेतामा हाले पछि त्यो युवक पूर्ण रुपमा रोगमुक्त भएको थियो। 

Bishwa Raj Adhikari 

Wednesday, November 7, 2012

The Party is Continue-Story 28


पार्टी चलिरहेछ

‘पार्टी चलिरहेछ, तिमी एक्लो यहाँ?’ निताको यो प्रश्नले रविलाई झस्क्यायो।
‘किन एक्लो बसेको?’ यो अर्को प्रश्नले अलि असहज स्थितिमा नै पुर्यायो, रविलाई। आफूलाई अलि व्यवस्थित पार्दे रविले भने ‘त्यता अलि हुने खानेहरुको मपाईँ गफ सुन्न मन नलागेर यता आएको। त्यता कि त ठूलो पदमा पुगेका घुस्याहा कर्मचारीहरु छन कि त टन्न कमाएका व्यापारीहरु, अनि उनीहरुको म यस्तो म उस्तो, मेरो यस्तो मेरो उस्तो किसिमका गफहरु। तिनीहरुका झ्याउ गफ सुन्न नसकेर यसो वाइन खाँदै सोच्दै बसेको यता।’
‘अनि, तिमी किन यता आएकी नि? सोमेश आइ पुग्ला, मेरो वाइफ कता हराई भन्दै, यता’ रविले हल्का मजाक गरे।
‘के को यता आउनु? एउटी केटीसँग गफ गर्नमा मस्त छ। दुई घण्टा भइ सक्यो गफ गरेको उसले, म छेउमै थिए, एक चोटी फर्केर पनि मतिर हेरेन, झुक्यिएर नै भए पनि। पार्टीमा आए पछि, वाइफलाई लाई पनि समय र साथ दिनु पर्छ नि। त्यसरी लठ्ठिनु हुन्छ केटी देख्ने वित्तिकै। बानी यस्तै हो जहिले पनि उसको, जहाँ पनि। उसको त्यस्तो चाला देखेर म पनि हिंडे यो चोटि’ निताले रवि नजिक आउनुको कारण प्रष्ट पारिन।
रवि उठे। निताको काँधमा हात राख्दै भने ‘वाइन ल्याइ दिउँ, आधा गिलास? दिमाग अलि हल्का पारि दिने छ……………।’
‘के को वाइन? ल्याउने हो भने ह्विस्की नै ल्याइ देउ, दुई पेग।’
***
ल्याएको ग्लास रविले नितालाई दिए अनि भने पनि ‘ह्विस्की नै हो, अलि बिस्तारै खानु, झ्याम्म लाग्ला फेरि।’
‘लाग्न देउ, त्यसरी नै लाग्नु परेको छ पनि।’
‘होइन, आज किन तिमी अलि फरक देखिएकी हँ, निता।’
‘यस्तो स्थितिमा पनि कसैले सामान्य भएर व्यवहार गर्न सक्छ त? हेर त, यहाँ आएर मैले तिमी सँग गफ गर्न थालेको पनि तीन घण्टा भइ सक्यो, सोमेश एक चोटी फर्केर पनि आएको छैन यता, मलाई खोज्दै। त्येता नदेखे पछि यता आउनु पर्ने होइन, ऊ?’
रविले भने ‘म त्यता गएर भनौं, सोमेशलाई, निता बाहिर, मेन गेटको नजिक छिन् भनेर।’
‘भयो, भन्नु पर्दैन। बरु एउटा कुरा भन्छु, मान्छौ।’
तिमी जस्तो घनिष्ट साथीले भनेको नमाने कसले भनेको मान्ने? भनेर हेर।’
‘आज म तिम्रो कोठामा सुत्छु, हुँदैन? तिमी अविवाहित मान्छे, एक्लै त होलाउ नि, कसो।’
निताको यो प्रस्तावले रविलाई अलि असहज स्थितिमा पुर्यायो। केही सोँच्न तल्लिन भए जस्तो देखिए उनी।
‘सोमेशले म सँग त्यस्तो गर्न हुने, अनि मैले किन नहुने उसँग त्यस्तो गर्न? अझै बढी नै गरेर देखाई दिन्छु उसलाई।’ निताको यो भनाइले रविलाई केही प्रभाव पार्यो। उनले भने ‘हुन्छ हिँड जाउँ, मेरो डेरा नजिकै छ यहाँबाट, पाँच मिनेटको बाटोमा। एउटा कुरा चाहिँ याद राख तर, म तिमीहरु-हसबेन्ड बाइफ बीचको टसलमा पर्न चाहन्न, है।’
***
पार्टी चलिरहेको घरबाट अदृश्य भएका रवि र निता, रातिको करिब बार्ह बजे रविको डेरामा प्रकट भए। दुई बजेसम्म एउटै बेडमा रहेर उनीहरु बीच धेरै कुराहरु भए। स्कूल जिवनदेखि कलेजबाट छुट्टिने बेलासम्मको, वर्तमान समयदेखि मौजुदा परिस्थितिसममको। कुरा गर्दा गर्दै कुन बेला निदाए, दुबैले पत्तो पाएनन। त्यस्तो हुनुमा अल्कोहलको हात पनि थियो।  
***
निता चार बजे विहान रविको डेराबाट फर्किदासम्म पार्टी चलिनै रहेको थियो। र त्यो भन्दा पनि अचम्मको कुरा सोमेश पुर्ववत गफ गर्नमा तल्लिन थिए, उही व्यक्ति सँग जो सँग घन्टो पहिले देखि गफ गरि रहेका थिए। गफ गर्ने पात्रहरु उही थिए, केवल समय बदलिएर साँझबाट बिहान भएको थियो। तर यो बदलिएको समयमा धेरै अरु कुरा हरु पनि बदलिएका थिए।
निता आफू नजिक उभिएको देखेर सोमेश झस्किए। नितालाई एक पटक हेरे तर बोलेन, पूर्ववत नै रहे। तर एक छिन पछि कुरा गरि रहेको व्यक्तिको काँधमा हात राख्दै भने ‘रन्जु, पछि फेरि फेटौला। यसो मलाई फोन गरे हुन्छ नि, है।’
सोमेशति हेर्दै निताले भनिन् ‘बल्ल सकियो कुरा, बाँकी भए अझै गरे हुन्छ। छ्यांग विहान भएको छैन क्यारे।’
रवि चर्किए ‘संकाको घेरा भन्दा बाहिर निस्केर पनि कुरा गर्ने गर न कहिले काहिँ,  निता।’ रविले थपे ‘हामीले गरेको कुरा कति गंभिर थियो थाहा छ तिमीलाई? अन्दाजसम्म पनि गर्न गार्हो हुने छ तिमीलाई।’
‘के थियो त्यस्तो, के थाहा हामीलाई? मैले सुनेको भए पो ………….’।
मैले जोसँग रात भरि कुरा गरे उनको नाम हो कमला। हामी कलेजमा सँगै पढ्ने गर्थ्यौ। उनलाई क्यान्सर भएको छ, ब्रेस्ट क्यान्सर। एउटा ब्रेस्ट काटेर फाल्नु पर्छ, डाक्टरको भनाई अनुसार। अविवाहित छिन। निरास भएर, आत्म हत्या गर्छु भन्छिन्। रात भरि सम्झाए पछि अलि आँट बढेको छ उनको । कमलालाई मैले राति नसम्झाएको भए…………….. त्येही रात आत्म हत्या गर्ने सुर थियो उनको, बुझेउ’
रविको भनाइले सत्य बोल्न उत्प्रेरित गर्यो नितालाई। निताले पश्चाताप बोध गर्दै भनिन ‘मलाई माफ गर, सोमेश। मैले रात भरि अनेक कुराहरु सोँचि रहे, उल्टो उल्टो, तिम्रो बारेमा। तिमीले रात भरि त्यसरी कुरा गरेको देखेर मैले न सोंच्नु पर्ने कुरा सोंचे अनि तिमीले गरेको त्यस्तो कार्यको बदला लिन म पनि हिँडे रविसँग।’
‘अनि, कहाँ नि…………………..।’
‘एक छिन पार्टी मै रहेर हामी लाग्यौ……….।’
‘कता नि………।’
‘रविको कोठामा।’
रविले अलि झोक्किएर भने ‘साँझ देखि नै रविको कोठामा बसेउ त?’
‘होइन, म र रवि उसको कोठामा राति बार्ह बजेतिर पुगेका थियौ। हामी त्यहाँ चार घण्टा जति बसेर पार्टी चलिरहेको ठाउँमा, यहाँ, आयौ फेरि।’
‘रविको कोठामा बस्नु बाहेक अरु पनि काम गरेउ। के गरेउ……..?’
 ‘सोमेश, म तिमीलाई सत्य कुरा भन्न चाहन्छु। रवि र म, एउटै खाटमा सुत्यौ अनि …………..
‘भो, भो, त्यो भन्दा अगाडि सुन्न चाहन्न म। सायद अब हामी सँगै बस्न सक्तैनौ होला।’
‘मैले सत्य बोल्नुको यत्रो ठूलो सजाए? खासमा, मेरो यसमा कुनै गल्ति नै छैन, सोमश।’
निताले आफ्नो भनाइ अझै प्रष्ट पार्न भनिन् ‘तिमीले त्यति लामो कुरा कमला सँग नगरेको भए मैले तिमीहरु बीच यस्तो त्यस्तो कुरा भइ रहेको भन्ने संका नै गर्ने थिन्। अनि तिमीले पनि त मलाई, कमलासँग कुरा भइ रहेकै क्रममा, एकै छिनका लागि भए पनि, आएर भनेनौ कि हामी बीच कुनै अरु कुरा होइन, जिवन मृत्युको कुरा भइ रहेको छ। तिमीले पनि संका लाग्ने गरी कमला सँगै कुरा गरेको गरै गरेउ, मलाई चटक्क पार्टीमा एकातिर एक्लै छाडेर। पार्टीमा त्यसरी एक्लिएर बस्ता रीस उठ्दैन त? अरु सँग कति कुरा गर्नु त, मैले? हुन त अरु सँग कुरा गर्न नै भनेर म रवि नजिक पुगेको थिए। रविको नजिक पुगे पछि नै, झन, मलाई पनि ड्रिंक गर्न मन लाग्यो। ड्रिंक गरे पछि, त्यो ड्रिंकले कता कता पुर्यायो, यो बरालिने मन कता कता गयो, कता कता, मात सँगै बहकेर।’
सोमेश मौन भएर सुन्दै थिए। प्रतिक्रियामा उनले कुनै पनि भनाइ राखेनन्। निताले नै भनिन् ‘एउटा कुरा भनौ सोमेश, यस्तो हुनुमा न त मेरो, न त तिम्रो, न त रविको नै कुनै गल्ति छ। रविलाई त मैले नै उसको डेरामा मलाई लिएर हिँड भनेको हो, तिमीले त्यस्तो गरेको रोषमा, आफूले ड्रिंक गरेको झोकमा। त्यसैले, रवि, म र तिमी यस्तो हुनुमा समय दोषी छ।’
निताले थपिन ‘हेर रवि, समय पनि एक व्यक्ति सरह हो। यसले पनि गल्ति गर्छ। अर्थात समयले व्यक्तिहरुलाई परिबन्धमा पार्छ। समयको दबाबमा आएर व्यक्तिहरुले नचाहँदा नचाँहदै पनि गल्ति गर्न पुग्छन। तर मानिसहरुले समयलाई दोष दिनुको साटो दोष व्यक्ति विषेश माथि नै थुपारी दिन्छन। समय चोखिएर बस्छ। त्यस्तो होइन। समय दोषी हुन्छ। समयलाई हामीले सजाए दिन सक्तैनौ, समयलाई नियन्त्रणमा राख्न पनि सक्तैनौ, समयले जे भन्छ त्यो गर्न बाध्य हुन्छौ, त्यो बेग्लै कुरा हो तर समयलाई हामीले प्रष्ट रुपमा भन्न सक्छौ, र भन्नु पर्छ पनि, एक व्यक्तिलाई भने जस्तो- समय, तँ दोषी होस् र तेरो दोष यो हो। समयले नै तिमीलाई मैले संकाको घेरामा राख्नु पर्ने स्थितिमा पुर्योयो, मलाई पर पुरुषकसँग रात बिताउन बाध्य तुल्यायो। त्यति मात्र होइन, रविलाई समेत पनि समयले गलत काम गर्न उत्प्रेरित गर्यो। त्यसैले यो सारा घटनाको दोष समय माथि लाग्नु पर्दछ। म निर्दोष माथि होइन। हामी सबै निर्दोष घोषित हुनु पर्दछ।’।
लामो समयको मौनता पछि सोमेशले मुख खोले। क्रोध मिश्रित स्वरमा भने ‘भो बन्द गर तिम्रो यो पट्यार लाग्दो लामो भाषण। भो ………….. भो……..।’
निताले रुँदै भनिन ‘अहिलेको यो घटनालाई हटाएर हेर, मैले कहिले पनि यस्तो त्यस्तो काम गरेको छु, यो भन्दा पहिले? छैन ……। मैले गरेको यो ……………समयले गराएको हो। त्यसैले म भन्छु, यस्तो हुनमा पूर्ण दोषी समय नै हो।’
यता सोमेश र निताको  कुरा चलिनै रहेको थियो, टुँगिएको थिएन। उता पार्टी पनि चलिनै रहेको थियो, विहान हुँदासम्म पनि, रोकिएको थिएन। 

Bishwa Raj Adhikari

Wednesday, September 26, 2012

The Terrible Election!-Story-27


धन्य! चुनावमा उठिन्    
                                             
छर छिमेकमा घुम्दा, शहरको चोकतिर जाँदा, साथीहरुले भन्न थाले- दिवाकर, उठ, यो पटकको चुनावमा। तिमी अवश्य पनि विजयी हुने छौ। पढे लेखेको मान्छे, भद्र भलादमी अनि, इमान्दार पनि उत्तिकै। जागिरे जिवनमा तिमीले एक रूपैयाँसम्म पनि कहिले घुस खाएको प्रमाण छैन।  सारा जागिरे जिवन अभाव र कष्टमा बितायौ। भन्सारमा दसौं वर्षसम्म काम गर्दा पनि एक पैसा घुस खाएनौ।  सारा जनताको मुखमा छ तिम्रो इमानदारीको कथा। चिया पसलमा गयो, सभा समारोहहरुमा गयो, विवाह उत्सव आदि आदिमा, मान्छेले कुरा गर्ने विषय नै हुन्छ तिम्रो व्यक्तित्व, निष्कलंक छवि। चर्चा गरिने विभिन्न विषयहरु मध्ये तिम्रो व्यक्तित्व पनि एक हुन पुगेको छ, आज भोलि, दिवाकर।
तर मलाई आफू चुनावमा बिजयी हुने भन्नेमा पटक्कै विश्वास लागेको थिएन। मलाई त्यसरी नउचाल भनेर केहीलाई हप्काएँ पनि। मेरो बारेमा मानिसले गरिने गफहरुलाई हावाको रुपमा लिएँ, अर्थहीन ठाने।
चुनावमा खडा हुन मानिसले मलाई दवाब दिने क्रम रोकिएन। मलाई पढाउने, उमेरले ज्यादै पाको, गुरु सम्मले पनि भन्नु भयो ‘दिवाकर,  अहिले राजनीति, सत्ता, शक्ति र धन हात पार्ने व्यापारमा रुपान्तरित भएको बेला, राजनीति र नेताहरुको व्यवहार गन्हाँउने नाली भएको अवस्थामा, यसलाई सफा पार्न तिमी जस्ता इमान्दार र स्वच्छ छवि भएकाहरु राजनीतिमा आउन नितान्त आवश्यक छ, र आउनु पर्दछ पनि। राजनीतिलाई सहि दिशामा हिँडाउन तिमी जस्ता इमान्दार व्यक्तिहरुको खाँचो छ। अहिलेको यो डरलाग्दो समय, गणतन्त्र होइन, गुटतन्त्र र लुटतन्त्र हो।’
राजनीतिमा आउन, चुनाब लड्न धेरै जनाले दबाब दिन थाले पछि मलाई पनि आफ्नो व्यक्तित्वको विश्लेषण गर्न मन लाग्यो। मैले आफूसँग प्रश्न गरे- एउटा नेतामा हुनु पर्ने कुन गुण, विशेषता छैन र म मा? पढे लेखेको छु। समाजशास्त्रमा पि यच डि सम्म गरेको छु। एक बौद्धिक व्यक्तित्वको रुपमा समाजमा स्थापित छु। लोकप्रिय पनि उत्तिकै छु जन समुदायमा।
जनताको दबाबले मेरो मन बिस्तारै चुनावमा उठ्ने पट्टि ढल्किन थाल्यो। मनमा चलेको केही हप्ताको अन्तरद्वन्द पछि चुनावमा उठ्ने निधो गरे मैले। तर कुन राजनैतिक दलमा लाग्ने भन्ने कुराको टुङ्गो लगाउन भने सकिन, तत्काल।
केहीले यो दलमा लाग्नुस भने। कहिले त्यो दलमा। तर धेरैले, कुनै पनि दलमा नलागेर एउटा छुट्टै दलको स्थापना गर्नुस, त्यो दलको अध्यक्ष हुनुस भन्ने सल्लाह दिए। आफूले पनि सोंचे- कुनै राजनैतिक दलको सदस्य हुने हो भने त्यो दलले मलाई चुनावमा उठ्न अवश्य पनि टिकट दिँदैन। कुनै पनि राजनैतिक दल भित्र, त्यसका कार्यकर्ताहरुले चुनाबमा उठ्न, टिकट पाउन, महाभारतको युद्ध झै युद्ध गर्नु पर्छ, यो लुट तन्त्र, गुट तन्त्रको जमानामा। अनेक किसिमका जालझेल गर्नु पर्दछ। दाउपेंच खेल्नु पर्दछ।  राजनैतिक दलका टाउकेहरुले आफ्ना अघि पछि गर्नेहरुलाई नदिएर मलाई के दिन्छन, टिकट। त्यसैले आफ्नो एक छुट्टै राजनैतिक दल दर्ता गराएँ। दलको नाम ‘समाजवादी इमान्दार सर्वपक्षीय दल’ राखे।
मैले राजनैतिक दल स्थापना र दर्ता गराएको खबर जिल्ला भरि, चारैतिर फैलियो। सबैले त्यसमा चाँसो देखाए। र खुसी पनि व्यक्त गरे। त्यस्तो मैले अनुभव गरे। मैले दलको नाम दर्ता गराएको खबर आगो झै फैलियो मेरो चुनाव क्षेत्रमा त। मैले अनुमान पनि गर्न सकेको थिन म यति लोकप्रिय हुन सकौला भनेर। मेरा सुभेच्छुहरुले भने अनुसार म मेरो चुनाव क्षेत्रमा मात्र होइन राष्ट्रियस्तर मै चर्चाको विषय बनेको रहेछु। अहिलेका स्वार्थी नेता र दिशाहीन राजनीतिबाट थाकेको जनताको ठूलो जमात नै रहेछ मेरो पछाडि।
मलाई मेरो लोकप्रियताले निकै हौसला प्रदान गर्यो। चुनाव आउनु दुई महिना थियो, ठाँउ, ठाउँमा भाषण दिन आरम्भ गरे। मैले भाषण गर्न थाले पछि मौरी जस्तो हुल बाँधेर मान्छेहरु सुन्न आउन थाले। देशमा व्याप्त रहेको जातीय मनोमालिन्य, आपसी शंका उपसंका, कलहको कुरा गर्दा श्रोताहरु ज्यादै गंभिर हुन्थ्ये। भविष्यमा निस्वार्थ, कसैको पनि पक्ष नलिएर, इमान्दारीपूर्वक आफ्नो चुनाव क्षेत्र मात्र होइन, सम्पूर्ण राष्ट्रको नै मैले कसरी विकास गर्ने छु भन्दा सुन्नेहरुको आँखामा खुसी र मुहारमा मुस्कान झल्किन्थ्यो। वर्तमानका नेता र तिनका दलहरुको कुकृर्तको बारेमा मैले लामो लामो भाषण गर्दा त तालीको गडगडाहट नै हुन्थ्यो।
मेरा भाषणहरु पनि ज्यादै लोकप्रिय हुन थाले। धेरै ठाउँहरुबाट आमन्त्रण आउन थाल्यो भाषण गर्न। मेरो भाषण जनताले ढुंगा जस्तो स्थिर भएर सुन्न थाले। मेरो आम सभालाई कतैबाट कसैले बिथोल्ने प्रयास गर्नु असम्भ मात्र भएन बरु उल्टो अरु उम्मेदबारका आम सभाहरु खाली हुन थाले, वहुसंख्यक जनता मेरो भाषण सुन्न आउन थालेकोले।
जनताको समर्थनको बाढी केवल मेरा सभाहरुमा मात्र उर्लेर बग्न थालेको स्थितिले मलाई ज्यादै उत्साही तुल्यायो। आशा र विश्वास दुबै जागेर आयो। मैले कल्पना समेत पनि गर्न थाले, म मन्त्री, प्रधान मन्त्री भए पछि मैले कस्ता कस्ता काम गर्ने, जुन देश र जनताको पक्षमा होस। मेरो व्यक्तिगत स्वार्थ भन्दा धेरै टाढा होस।
मैले, मेरा चुनावी भाषणहरुमा भन्न थाले- म विजयी भएर, यदि मन्त्री भएमा, सरकारी निवासमा बस्दिन, अति साधारण आवासमा बस्छु। आम नेपालीले थेग्न सक्ने सवारीको साधन, साइकल प्रयोग गर्छु। पदमा बसरे  विदेश कहिले पनि जान्न, राष्ट्रले धेरै पैसा खर्च गर्नु पर्ने स्थिति उत्पन्न हुन दिन्न। दाजु, भाइ, दिदी, बहिनी, आफन्त वा कार्यकर्ता कसैले लाई पनि मेरो पदको प्रभाव प्रयोग गरेर जागिर लगाउँ दिन। पदबाट हटे पछि न त कुनै भौतिक न त कुनै आर्थिक, कुनै पनि किसिमको सुबिधा लिने छैन। परम्परादेखिको संस्कार, जुन वहुसंख्यक जनताले मान्दै आएका छन, हरुको अपहेलना गर्ने वा तिनलाई भत्काउने काम गर्दिन। सबै जात जाति, भाषा भाषीलाई एक जुट पार्ने, मिलाएर लाने काम गर्ने छु। जातीय कलह, क्षेत्रीय मनोमालिन्य हुने कुनै पनि किसिमको प्रचार गरेर हिँडदिन। आफ्नो स्वार्थका लागि दल फोड्ने, जोड्ने र जनतालाई भड्काउने काम गर्दिन। मासिक तलब, जुन श्रेणी विहीन कर्मचारीले पाउँछ, अर्थात ज्यादै कम लिन्छु। 
मेरो यस्ता विचारहरु सुनेर भाषण सुन्न आउनेहरु हर्षले गद्गद हुन थाले। धेरैले, नेता भनेको यस्तो पो हुनु, भनेको मैले आफ्नै कानले सुने पनि।
म चुनावमा विजयी हुनेमा ढुक्क भए। देश र जनताको सेवा गर्ने मेरो उद्देश्य पुरा हुन थालेको देखेर हर्षले विभोर भएँ, पनि।
चुनावको दिन आयो पनि। विहानैदेखि मत दाताहरु पुग्न थाले, मतदान केन्द्रहरुमा। मत दिएर आउने केहीले यस्तो पनि भने - दिवाकर दाइ ढुक्क हुनु होस, तपाँईको विजय सुनिश्चित छ, तपाँई सांसद हुनु भयो। तपाँई जस्तो योग्य र इमान्दार उम्मेदबारले नजिते अरु कसले जित्ने?
मतदान सम्पन्न भएको केही घण्टा पछि नै मत गणना शुरु भयो। म आफू विजयी हुने कुरामा ढुक्क भएकोले जोसुकैलाई प्रतिनिधि राखे पनि मेरो मंजुरी हुने भने, सरोकारबालाहरुलाई।
चुनावको परिणाम आयो। परिणाम सुनेर म छक्क परे। आकाशबाट खसे जस्तो भएँ। जनतालाई, देशलाई सताउने तिनै नेताहरु भारी मतले विजयी भए। मैले केवल पाँच मत पाएको रहेछु। ती मत कस कसको होला भन्ने अनुमान गर्न मलाई कठिन भएन। एउटा मत मेरो आफ्नै, एउटा मत मेरी श्रीमतीको र बाँकी तिन ओटा मत मेरै तिनवटी छोरीहरुको हुनु पर्छ भनी अनुमान लगाउन मलाई गार्हो भएन।
चुनाव परिणामले मलाई निकै दिक्कदार बनायो। बौलाउन मात्र सकिन। आफ्नो टाउकोमा आफैले हिर्काउन थाले। मेरो छेउमा सुति रहेकी मेरी पत्नी, मालतीले, मेरो हात समातेर के गरेको यस्तो भने पछि म झसँग भए।  सपना पो देखेको रहेछु। सपना हेर्न बन्द भइ सकेको थियो तर निद्रा भने पुरै टुटेको थिएन। अर्ध निद्रा मै मेरो मुखबाट निस्कयो – धन्य! चुनावमा उठिन, जनताले त मूर्ख पो बनाउने रहेछन, मलाई।
त्यो मध्य रातमा पनि, छोटकारीमा, त्यो सपना बारे मालतीलाई भने। मालतीले हाँस्दै भनिन् ‘चुनावमा उठ्ने इच्छा मनको, कतै, कुनै कुनामा छ भने फालि हाल्नुस। यो जमानामा तपाँई जस्तो इमान्दार मान्छेले चुनावमा जित्ने कुनै सम्भावना नै छैन। चुनाबमा उठ्नु भयो भने, सपनामा देखे झै, मूर्ख मात्र बन्नु हुनेछ। उल्लू बनाउने छन, मतदाताहरुले, तपाँईलाई। यो गणतन्त्रको जमानामा, यो नया नेपालको जमानामा।

 विश्वराज अधिकारी