Wikipedia

Search results

Saturday, June 30, 2012

Forced To Think So-Poem of the week-35


यही सोंच्न कर लाग्छ

आज भोलि मान्छेहरु किन
केवल अनेक छल लाग्छ
स्वार्थ र लोभ हुर्काउने
आधुनिक मल लाग्छ

आफ्नै स्वार्थको भारले
थिचिएका छन सबै
जसलाई हेर्यो भास्सिंदै छन
कहिले नउठ्ने हुन कि
कहाली लाग्दो डर लाग्छ

कहिले नअघाउने भोक छ
अन्तहीन आवश्यकतामा न कुनै रोक छ
जिवनको हर घडिमा केवल
अपार धन सुबिधाको मोह छ

हरेक दिन मानिस लोभमा सुत्छ
लोभमा नै जाग्छ
मानिसले अब त आफूलाई नै भुल्ने हो कि
हरपल यही सोंच्न कर लाग्छ

विश्वराज अधिकारी

Friday, June 29, 2012

Relationship Between Employer and Employee-Article-48


अब साँच्चिकै मजदूरहरुको हितमा काम गर्न होस्

नेपालमा उपलब्ध भूमिको हिसाबले मानिसको बसोबास तुलनात्म रुपमा निकै धेरै छ। यसै गरी मुलुकमा एकातिर कृषियोग्य भूमिको अभाव छ भने अर्कोतिर कृषि क्षेत्रले नै जन संख्याको ठूलो हिस्सालाई अन्न र रोजगारी दिनु पर्ने वाध्यता छ। समयस्या यतिमा मात्र सीमित छैन। साथै, समतल भूमि (तराई), जुन कृषिका लागि ज्यादै उत्तम मानिन्छ, कुल उपलब्ध भूमिको केवल १७ प्रतिशत जति छ। तर यो समतल भूमिमा जन घनत्व बढ्दै गएर दिन प्रति दिन कृषि योग्य भूमि अति क्रमित हुँदै गइ रहेको छ, बारी र खेतहरु घर घडेरीमा रुपान्तरित हुँदै गइ रहेका छन ।यो समस्याले भोलिका दिनमा राष्ट्रिय कृषि उत्पादन क्रमिक रुपमा कम हुँदै जानेमा दुई मत हुन सक्तैन।
नेपालमा कृषियोग्य भूमिको अभाव रहेको कारणले गर्दा उब्जाउ जमिनको व्यवस्थापन ज्यादै व्यवहारिक किसिमले गर्नु पर्ने देखिन्छ। रोजगारीका लागि कृषि क्षेत्र प्रतिको अति निर्भरता कम पार्दै लग्न जरुरी छ। तर त्यस्तो गर्न सकिएको छैन। उद्योगको यथेष्ट विकास तथा विस्तार गरेर कृषि क्षेत्र प्रतिको अति निर्भरतालाई कम पार्न सकिएको छैन। हुन त पंचायत कालमा, विदेशी सहयोगबाट नै भए पनि विभिन्न किसिमका उद्योग (जनकपुर चुरोट कारखाना, बीरगंज चीनी कारखाना, कृषि औजार कारखाना, हेटौडा कपडा उद्योग, हेटौडा सिमेन्ट कारखाना, आदि) हरुको स्थापना गरिएको थियो। देशमा औद्योगिक विकास गर्ने ठोस प्रयास भएको थियो। तर पंचायती व्यवस्थाको समाप्ति पछि वा प्रजातन्त्रको प्रारम्भ सँगै नेपालको औद्योगिक वातावरणमा ग्रहण लाग्न शुरु भयो। रोजगारदाता-श्रमिकहरु बीचको कटुतापूर्ण सम्बन्धले गर्दा औधोगिक क्षेत्रमा गरिने लगानी जोखिमपूर्ण बन्दै गयो। उद्योगमा गरिने लगानी जोखिमपूर्ण र भरपर्दो नदेखेर उद्योगपतिहरुले पनि तुलनात्मक रुपमा सुरक्षित क्षेत्र - सेवा, व्यवसाय (बैंक, वीत्तिय संस्था, होटल, सपिंग सेन्टर, मल आदि) मा लगानी गर्न थाले। विस्तारै, दीर्घकालिन लगानी, जसले श्रमिकहरुलाई बढी फाइदा हुन्छ बाट लगानीकर्ताहरुले हात झिकेर बढी र छिटै राम्रो प्रतिफल पाउने क्षेत्रमा लगानी गर्न थाले। उद्योपति वा पूँजीपतिहरुले त्यस्तो गर्नु अस्वभाविक पनि होइन। कुनै पनि पूँजीपतिले आफूले देख्दा देख्दै असुरक्षित क्षेत्रमा आफ्नो सम्पत्ति लगानी गर्दैन। नेपाल मात्र होइन, संसार मै कहिं कसैले त्यस्तो गर्दैन, सरकारले जस्तो सुकै औधोगिक नीति बनाए पनि। सरकारी नियमहरुलाई जति सुकै खुकुलो पारे पनि।
नेपालमा प्रचुर मात्रामा उद्योगको विकास मुलुकको राजनैतिक वातावरण एवं नेताहरुको व्यवहारले गर्दा नभएको हो। हुन त नेपालमा उद्योगको यथेष्ट विकास हुन नसक्नुका लागि अरु तत्वहरु पनि जिम्मेवार होलान तर मुख्य तत्व भनेको नेताहरुले लगानीकर्ता वा पूँजीपति-श्रमिक बीचको सम्वन्ध लाई कटुतापूर्ण तुल्याउनु हो। नेपालका सवै दलका नेताहरु र मुख्य गरी कम्युनिष्ट नेताहरुले दलगत र व्यक्तिगत स्वार्थका लागि लगानीकर्ता-श्रमिक बीचको सम्वन्ध कहिले पनि राम्रो हुन दिएनन्। उनीहरुले लगानीकर्ता-श्रमिक बीच अविश्वासको ठूलो खाडल मात्र निर्माण गरेनन् साथै त्यो खाडलाई झन झन गहिरो र फराकिलो पार्दै लगे। लगानीकर्ताहरुलाई जहिले पनि सामन्त, शोषक, दलाल आदि इत्यादि नाम दिएर उनीहरुलाई मजदूरहरुको दिमागमा वर्गीय सत्रुको रुपमा स्थापित गराए। नेताहरुले मजदूर युनियनको प्रयोग मजदूरहरुको हित गर्नका लागि होइन आफ्नो हित गर्नका लागि गर्न थाले। कारखानाहरुमा उत्पादनका क्रियाकलापहरु कम राजनैतिक गतिविधिहरु बढी हुन थाले। कालान्तरमा त्यस्ता क्रियाकलापहरुले मजदूरहरुलाई नै वेफाइदा हुन पुग्यो। कारखानहरु बन्द हुन थाले, मजदूरहरुको जागिर गयो। कारखानाहरुमा अति राजनीति भएर मजदूरहरुले आखिर के फाइदा पाए त? वरु मजदूरको नाममा राजनीति गर्ने नेतहारु उपल्लो स्थानाम पुगे।
कुनै पनि उत्पादकले कम उत्पादन गरेर, संधै घाटा खाएर कारखाना संचालन गर्दैन। विभिन्न किसिमका अशान्तिहरुले गर्दा उत्पादन कम भएर घाटा लाग्न थाले पछि लगानीकर्ताहरुले स्वभाविक रुपमा कारखाना बन्द गर्छन नै। तर यो कार्यले बढी वेफाइदा श्रमिकहरुलाई नै हुन्छ। त्यसकारण मजदूरहरुको हित कारखाना बन्द भएर होइन, कारखाना संचालन भएर हुन्छ। जति बढी संख्यामा कारखाना स्थापना भयो, त्यसै अनुसार ठूलो संख्यामा मजदूरको आवश्यकता पर्छ, त्यसै अनुसार मजदूरहरुको मागमा वृद्धि हुन्छ। बजारमा मजदूरहरुको मागमा वृद्धि हुना साथ मजदूरहरुको मोलमोलाई क्षमता (Bargaining power) मा वृद्धि हुन्छ। मजदूरहरुले अधिक सुविधाहरु- बढी पारिश्रमिक, राम्रो आवास, औषधि उपचार आदि माग गर्न सक्छन। बजारमा उद्योग व्यापारको स्थिति राम्रो भएकोले लगानीकर्ताहरु मजदूरहरुका त्यस्ता मागहरु पूरा गर्न स्वेच्छाले तयार हुन्छन पनि। यूनियन वा सरकारले दवाव दिनु पर्दैन, मजदूरहरुको माग पूरा गर्नका लागि, विकसित वा धनी राष्ट्रहरुमा देखिए झै। बजारमा मजदूरहरुको माग बढेकोले मजदूरहरुलाई आफ्नो उद्योगतिर आकर्षित गर्न एक किसिमले लगानीकर्ताहरु बीच प्रतिस्पर्धा नै हुन्छ। यस प्रकार मजदूरहरुको हित कारखाना बन्द भएर होइन, खुला भएर हुन्छ। उद्योगहरुको संख्यामा वृद्धि भएर हुन्छ। यो कुरा नेताहरुले राम्रो गरि बुझ्न आवश्यक छ, यदि उनीहरु यथार्थमा मजदूरहरुको हित गर्न कटिवद्ध छन् भने। कम्युनिष्ट नेताहरुले बुझ्न त झन आवश्यक छ किनभने राजनैतिक कार्यका लागि मजदूरहरुको बढी प्रयोग उनीहरुले नै गर्छन।
नेपालको राजनीतिमा कम्युनिष्टहरुको उपस्थिति बाक्लो छ र प्रभाव पनि उत्तिकै कसिलो छ। कम्युनिष्ट नेताहरुले औधोगिक वातावरणलाई निकै प्रभाव पारेका छन र भविष्यमा अझै बढी प्रभाव पार्न सक्छन, मुलुकको गरिबी अहिलेको गतिमा नै बढ्दै गयो भने। अर्कोतिर कम्युनिष्ट नेताहरुले लगानीकर्ताहरुलाई हेर्ने आफ्नो परम्परागत धारणामा परिवर्तन ल्याएका छैन। अहिले पनि उनीहरु लगानी कर्ताहरुलाई शोषक र मजदूरहरुलाई शोषितको रुपमा हेर्छन। लगानीकर्ताहरुको हितको पूर्णतया वेवास्ता गर्छन। मौजुदा विश्व परिस्थितिमा उनीहरुले आफ्नो त्यो परम्परागत धारणामा परिवर्तन ल्याउन अति आवश्यक छ। नेताहरुले मजदूरहरुको हित अभिवृद्धि गर्ने हो भने सँग सँगै लगानीकर्ताहरुको हित पनि अभिवृद्धि गर्नु पर्यो। लगानीकर्ताहरुले बढी भन्दा बढी लगानी गर्ने वातावरण तयार पारि दिनु पर्यो। मजदूरहरुको हित लगानीकर्ताहरुको हित सँग गास्सिएको छ, सरकारी नियम कानून भन्दा। यो तथ्यलाई गंभिरतापूर्व लिदिनु पर्यो।
लगानीकर्ता र मजदूरहरु बीचको सम्वन्ध भनेको बगैचा र माली जस्तो हो। लगानीकर्ता माली हो भने मजदूर बगैचा हो। बगैचा नै भएन भने मालीको कुनै काम हुँदैन। अर्थात बिना मजदूरको उपस्थितिले लगानीकर्ताले कुनै पनि किसिमको व्यापारिक क्रियाकलाप गर्न सक्तैन। यसै गरी माली न भएमा बगैचाको संरक्षण राम्रो गरी हुन सक्तैन, बगैचा जंगल हुन पुग्छ, उजाड हुन सक्छ। अर्थात मजदूरहरुको कार्य कुशलताको उपयोग लगानीकर्ताले नै गर्न सक्छ। मजदूरहरुको जिवनमा आर्थिक खुसहाली लगानीकर्ताहरुको व्यापारिक क्रियाकलापले नै ल्याउन सक्छ। लगानीकर्ताहरु भनेको मौरी हुन। मौरीले कुन फुलबाट मिठो रस आउन सक्छ भनी थाहा पाए झै पूँजीपति वा लगानीकर्ताले पनि कहाँ र कसरी लगानी गरेर बढी फाइदा पाउन सकिन्छ भनी थाहा पाउन सक्छ। महको निर्माण कमिला वा अरुले होइन, केवल मौरीले मात्र गरे झै धनको निर्माण, वृद्धि पनि केवल लगानीकर्ताले नै गर्न सक्छ। तर यो कार्य गर्नका लागि लगानीकर्ताहरुलाई अनिवार्य रुपमा मजदूरहरुको सहयोग चाहिन्छ। यो यथार्थलाई चीनका कम्युनिष्टहरुले बुझे। र व्यवहारमा ल्याए पनि। मजदुरहरु मात्र होइन समग्र राष्ट्रको आर्थिक विकासमा कलगानीकर्ताहरुको भूमिका अहम् हुन्छ भन्ने यथार्थलाई बलियो गरी स्वीकारे। देङ्ग जियायोपिङले प्रारम्भ गरेका आर्थिक सुधारका कार्यहरुले गर्दा चीनले अति नै निर्धनतामा बांचिरहेका र ठूलो संख्या (यूरोपको जनसंख्या जति) मा रहेका आफ्ना नागरिकहरुलाई त्यस किसिमको गरिबी बाट बाहिर ल्याउनुका साथै विश्व अर्थ व्यवस्थामा आफ्नो स्थानलाई महत्वपूर्ण  तुल्याउने कार्यमा पनि सफलता प्राप्त गर्यो। राष्ट्रको आर्थिक स्थितिमा सुधार ल्याउन, जनताको जिवनमा खुसहाली भर्न लगानीकर्ता वा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको यथार्थलाई चीनका कम्युनिष्टहरुले स्वीकार गरेता पनि नेपालका कम्युनिष्टहरुले, व्यवहारद्वारा, स्वीकार गरेको देखिएको छैन। मार्क्स, लेनिन र माओ त्से तुङको बिचारबाट प्रशिक्षित यी नेताहरुले बदलिंदो परिस्थितिमा फरक किसिमबाट सोंच्न आवश्यक छ। कुनै पनि विचार, दर्शन, सिद्धान्त कालजयी हुँदैन। अहिलेको यो बजार अर्थ तन्त्रको युगमा, मुलुक र जनताको जिवनमा आर्थिक समृद्धि ल्याउन, राष्ट्रिय अर्थतन्त्रलाई विश्व बजारमा प्रतिस्पर्धात्मक तुल्यान, मार्क्स, लेनिन र माओका विचारहरुले काम गर्न सक्तैनन। तिनका विचारहरु म्याद नाघेका ओषधिहरु जस्तो भइ सके।  
नेताजीहरु, नेपालीहरुमा डरलाग्दो रोगको रुपमा रहेको रोग, गरीबी रोगको इलाज त्यो म्याद नाघेको औषधिले नगर्नुहोस। बरु अगाडि बढ्नुस, देश आर्थिक विकास गर्न, मजदूरहरुको हित गर्न, सिंगापुरका नेता लि क्वान यु जस्तो, मलेसियाका नेता महादिर मोहम्मद जस्तो अनि चीनका नेता देङ्ग जियायोपिङ जस्तो। तपाँई, कुनै एक नेताको पनि सकारात्मक सोंचले राष्ट्रको मुहार फेर्न सकिन्छ। मजदूरहरुको हित अभिवृद्धि गर्न सकिन्छ। राष्ट्रलाई समृद्ध पार्न सकिन्छ।

विश्वराज अधिकारी

Saturday, June 23, 2012

Go down-Poem of the week-34


धिक्कार छ

एक हुल दुर्योधनहरु पसेर
एक हुल दुस्सासनहरु पसेर
हस्तिनापुरलाई बरबाद पार्न कस्सिएका छन
सकुनीहरु मख्ख छन
आफ्ना योजनाहरु सफल भएकोमा

सकुनीहरु,
दुर्योधनलाई आफ्नो महत्वाकांक्षाको घोडा बनाएर
धृतराष्ट्रलाई रथ बनाएर
कुरू क्षेत्रमा घचेट्दै छन
हस्तिनापुरको राजा बन्ने सपना देख्दै छन

आफ्नै वंश विनास गर्न उद्धत
दुस्सासनहरु, दुर्योधनहरु अनि धृतराष्ट्रहरु
सकुनीको चालमा परेर महा पाप गर्दै छन
अत्याचारको पराकाष्टा पार गर्दै छन

दुर्योधनहरु
दुस्सासनहरु
आफ्नै इज्जत (द्रौपदी) लाई निर्वश्त्र पारेर
नाङ्गो शरिर हेर्न प्रतिस्पर्धा गर्दे छन
उत्सवहरुको खुसी मनाउँदै छन

दुर्योधनहरु
दुस्सासनहरु
धिक्कार छ तिमीहरुलाई
सकुनीको छलमा परेर
आफ्नो विवेक आफैले लिलाम गरेकोमा
धिक्कार छ
धृतराष्ट्रहरुलाई पनि
मोहमा परेर सत्यको पक्ष नलिएकोमा

अनि देवव्रत, तिमीलाई पनि धिक्कार छ
भो अब भिस्म पिताम्हको मन पदवी फर्काइ देउ
हस्तिनापुरको जनतालाई
अनि घोषण गर
मेरो कायरताले
दुस्सासन, दुर्योधन, धृतराष्ट्रहरुको
अत्याचारहरु टुलु टुलु हेर्नु बाहेक
केही पनि गर्न दिंदैन
हस्तिनापुर बरबादको योजनाकार
सकुनीहरुलाई दण्डित गर्न सक्दैन।   

विश्वराज अधिकारी

Friday, June 22, 2012

How Far Democracy Is From Egyptians?-Article-47


कति पर छ प्रजातन्त्र इजिप्टका जनतादेखि?

इजिप्टमा त्यहाँका जनताले ठूलो उत्साह र उमंगका साथ गएको वर्ष सडकहरुमा ओर्लेर तत्कालिन राष्ट्रपति होस्नी मुबारकको व्यापक विरोध गरेका थिए। जनताको निरन्तरको बिरोध एवं सडक संघर्षले गर्दा लामो सयम देखि तानाशाही कायम गरेर बसेका मुबारक सत्ता छाड्न बाध्य हुनु परेको थियो। मुबारकको पतन पछि इजिप्टमा पूर्ण प्रजातन्त्रको बहाली हुने सपना देखेका थिए त्यहाँका जनताले। तर जनताको त्यो सपना पूरा नहुने स्थिति देखा पर्न थालेको छ। सेनाले जनताबाट निर्वाचित भएर आएको प्रतिनिधिलाई राजकीय सत्ता सुम्पिनुको साटो सत्ता माथि आफ्नो पकड झन झन बलियो पार्दै लगि रहेको छ। इजिप्टमा देखिएका ताजा घटना क्रमहरुले यसै कुराको पुष्टि गर्दैछन्।  
गएको आइतवार इजिप्टमा भएको राष्ट्रपतिय निर्वाचनमा मुस्लिम ब्रदरहुडका मोह्म्मद मुर्सीले ५२ र पूर्व प्रधान मंत्री अहमद शफिकले ४८ प्रतिशत जति मत प्राप्त गरेको समाचारहरुमा उल्लेख गरिएको छ। विचारणीय कुरा त के छ भने मुबारकको शासनकालमा प्रधान मंत्री रहि सकेका शफिकले एक करोड भन्दा बढी मत प्राप्त गरका छन। मोर्सीले भने केही बढी, एक करोड दस लाख भन्दा माथि मत प्राप्त गरेका छन। दुबैले प्राप्त गरेको मतको तुलना गर्दा ज्यादै नै ठूलो अन्तर रहेको देखिंदैन। र मुबारकको पालामा प्रधान मंत्री रहेका शफिकले अपेक्षा गरिए भन्दा बढी मत प्राप्त गर्नुले मुबारकको शासन शैली मन पराउने वा मुस्लिम ब्रदरहुडका मोर्सीलाई नरुचाउनेहरुको जमात पनि ठूलै रहेछ भन्ने कुराको पुष्टि हुन्छ। हुन त निर्वाचनको परिणाम ओपचारिक रुपमा घोषणा हुन भने बाँकी नै छ।
इजिप्टमा अहिले राजकीय सत्ता एक किसिमले भन्ने हो भने सेनाको हातमा छ। सेनाको नेतृत्व रहेको ‘द सुप्रिम काउन्सिल अफ आर्मड फोर्सेस’ ले शासन व्यवस्था संचालन गरि रहेको छ।  सुप्रिम काउन्सिलले हालै अन्तरिम संविधान जारी गर्दै आफूमा विभिन्न किसिमका अधिकारहरु रहेको भनी घोषणा गरेको छ। आफूलाई अझै शक्तिसाली पारेको छ। यो अन्तरिम संविधानमा व्यवस्था भए अनुसार राष्ट्रपतिले विभिन्न महत्वपूर्ण कार्यहरु सुप्रिम काउन्सिलको अनुमति लिएर मात्र गर्न पाउने छन। 
जस्तै राष्ट्रपतिले सरकार बनाउन एवं वर्खास्त गर्नु पाउने छन, कानून स्वीकृत गर्न एवं खारेज गर्न सक्ने छन, यसै गरी युद्धको घोषणा गर्न पाउने छन्। तर यी कार्यहरु राष्ट्रपतिले केवल सुप्रिम काउन्सिलको स्वीकृति लिएर मात्र गर्न पाउने छन्। सेनाको यो कार्यलाई विरोधीहरुले एक किसिमको सैनिक विद्रोह ( Coup) को रुपमा लिएका छन। विरोधीहरुको भनाई अनुसार यो विद्रोह केही नरम र कानून मान्ने किसिमको भएता पनि विद्रोह नै हो। यो विद्रोहले राजकीय सत्ता माथि निर्वाचित जन प्रतिनिधिहरुको पकडलाई कमजोर तुल्याउने छ र सेनाको उपस्थितिलाई बलियो पार्दै लग्ने छ।  
इजिप्टको राजनीति अहिले निकै असजिलो स्थितिमा छ। सेनाका जर्नेलहरु जन निर्वाचित प्रतिनिधिहरुलाई पूर्ण अधिकार दिन तयार देखिएका छैनन्। प्रथम त, उनीहरु, सत्तामाथि उनीहरुको एक किसिमको नियन्त्रण जुन पहिलेदेखि कायम रहँदै आएको छ, त्यसलाई छाड्न चाहि रहेका छैनन्। दोस्रो, राष्ट्रिय राजनीतिमा मुस्लिम ब्रदरहुडको  भूमिका बढ्दै गएमा इजिप्टमा कट्टर पन्थीहरुको उदय भएर जातीय सद्भाव खल्बलिनु का साथै अन्य किसिमका समस्याहरु पनि आउने हो कि भन्ने भय उनीहरुमा छ। इजिप्टमा ५ प्रतिशत भन्दा बढी जनता क्रिस्चियन धर्म मान्नेहरु छन। क्रिस्चियनहरु जातीय दंगाको सिकार भएको घटनाहरु विगतमा देखिएका छन् पनि ।
अर्कोतिर, मुस्लिम ब्रदरहुड लगाएत त्यस्तो जन समुदाय पनि छ जसले इजिप्टको राजनीतिमा सेनाको भूमिका नहोस र मुलुकमा जन निर्वाचित प्रतिनिधिहरुद्वारा पूर्ण प्रजातन्त्रको अभ्यास होस भन्ने चाहि रहेको छ। मुबारकको पालादेखि नै रहँदै आएको सेनाहरुको अप्रत्यक्ष्य तर शक्तिसाली भूमिकाबाट उनीहरु पहिले देखि नै ससंकित र अप्रसन्न थिए।
इजिप्टको राजनीति त्यस किसिमको ताना तानमा अल्झिएको छ, अहिले। र अब आउने दिनहरु इजिप्टका लागि सरल नहुने संकेत पाउन थालिएको छ, नेपालमा देखिए जस्तै। तर जब जनता मुबारकको तानाशाही शासन समाप्त पार्न सडकहरुमा संघर्षरत थिए, उनीहरुले मुबारकको पतन पछि इजिप्टमा आर्थिक विकासको गतिले तिब्रता पाउने, रोजगारी बढ्ने, उनीहरुको जिवनमा आर्थिक खुसहाली आउने सपना देखेका थिए। जनसंख्याको चाप धेरै रहेको उत्तर अफ्रिकी देश, इजिप्ट अन्य अरब राष्ट्रहरु झै धनी भने होइन। वहु संख्यक जनता गरिब छन।
विश्वका विभिन्न राष्ट्रहरु, र खास गरि विकासशील राष्ट्रहरुमा भएका परिवर्तनहरुको विश्लेष गर्दा एउटा कुरा के छर्लंग हुन्छ भने मुलुकमा सकारात्मक परिवर्तन ल्याउन अति गाह्रो हुँदो रहेछ। अर्थात, मुलुकमा रहेको तानाशाही व्यवस्था समाप्त पार्न जति सजिलो हुँदो रहेछ स्वच्छ, द्वन्दरहित, अशल र प्रभावकारी कानून व्यवस्था सहितको प्रजातन्त्र स्थापना गर्न त्यति सजिलो हुँदो रहेनछ। संघर्ष, मनमुटाव र जातीय कलह रहितको प्रजातन्त्रको स्थापना गर्न अति नै गार्हो पर्दो रहेछ। इराक, अफगानीस्तान, लिबिया, इजिप्ट, नेपाल मा भएको राजनैतिक परिवर्तनले यो तथ्यको पुष्टि गर्दछ। सबै भन्दा गार्हो त के हुन्छ भने, प्रजातन्त्रको स्थापना पछि, जनताका इच्छा र आकांक्षाहरु  चुलिएर जान्छन। साथै सही र गलत इच्छा तथा आकांक्षाहरु पनि एकै पटक देखिन्छन, सतहमा। अर्कोतिर नया एवं अनुभवहीन सरकारले छोटो समयमा जनताको सही माग पूरा गर्न सक्तैन। न त गलत मागलाई बल पूर्वक दबाउन नै सक्छ। बरु उल्टो नेता र सरकारमा भएका व्यक्ति सत्ता हात पार्ने खेलमा लिप्त हुन्छ र भ्रष्टाचारको पृष्ठपोषण गर्न थाल्छन। यसले गर्दा तानाशाही व्यवस्था पछिको प्रजातन्त्र धान्न झन गार्हो हुँदो रहेछ, मुलुकहरु लाई। तानाशाही पछिको प्रजातन्त्र यति भद्रगोल र मुलुकलाई अस्त व्यस्त पार्ने किसिमको हुन पुग्छ कि जनता, यस्तो प्रजातन्त्र भन्दा त तानाशाही व्यवस्था नै ठीक थियो कि भन्ने स्थितिमा पुग्छन। नेपालको स्थिति मा नै पनि हेर्न हो भने जुन जनता राजाको शासन फाल्न सडकमा उत्रेका थिए त्यही जनता राजाको शासनको कट्टर पक्षधर कमल थापाको भाषण सुन्न पुगेका थिए, त्यो पनि ठूलो संख्यामा। नेपाली जनता, वर्तमानका प्रजातन्त्रवादी एवं  प्रजातन्त्र पक्षधर नेताहरुको उराठ र उदेक लाग्दो सत्ताको खेलबाट दिक्कदार भएर, यी पचासौं नया राजाहरुको खेलभन्दा पुरानै तर एउटै राजाको खेल राम्रो हुने हो कि भन्ने स्थितिमा पुग्न थालेका छन।
हुन त प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अझै अशल प्रजातन्त्र उत्तम विकल्प हो। तर जनतामा पर्याप्त शिक्षाको विकास, आफ्नो दीर्घकालीन हित हेर्न सक्ने क्षमता, एक आपसमा मिलेर बस्ने प्रवृति र नेताहरुमा इमान्दारी एवं सिंगो देशको विकास गर्ने चाहना र अनुशासन नभएसम्म प्रजातन्त्र धान्न गार्हो पर्दो रहेछ। नेताहरुको स्वार्थी व्यवहारले त मुलुकको अस्तित्वलाई नै संकटतिर धकेल्दो रहेछ, देशमा प्रजातन्त्र वहाल रहेता पनि। अनुभवहरुले त्यस्तै भन्दै छन्।        
प्रजातन्त्रलाई धान्न यस्तै किसिमका चुनौतिहरुको सामना अहिले इजिप्टका जनताले गरि रहेका छन। आउने दिनहरुमा, लामो तानाशाही व्यवस्था पछि प्राप्त भएको प्रजातन्त्रलाई इजिप्टले कसरी संस्थागत पार्दै लाने छ, त्यहाँका जनताको जिवनमा आर्थिक खुस हाली ल्याउने छ के के गर्नेछ, जस्ता कुराहरु त्यहाँका नेताहरुको क्रियाकलापमा भर पर्ने छ। आशा गरौ, आउने दिनहरुमा इजिप्टका जनताको जिवनमा खुस हाली आओस। त्यहाँ अमन चयन कायम होस। तर, अहिलेको भन्दा मुबारकको शासन व्यवस्था राम्रो थियो भनी त्यहाँका जनताले भन्न नपरोस। 

विश्वराज अधिकारी