दुर्योधनहरू
एक हुल दुर्योधनहरू पसेर
एक हुल दुस्सासनहरू पसेर
हस्तिनापुरलाई बरबाद
पार्न कस्सिएका छन,
सकुनीहरू मख्ख छन
आफ्ना योजनाहरू सफल
भएकोमा।
सकुनीहरू,
दुर्योधनलाई आफ्नो
महत्वाकांक्षाको घोडा बनाएर
धृतराष्ट्रलाई रथ बनाएर
कुरू क्षेत्रमा घचेट्दै
छन,
हस्तिनापुरको राजा बन्ने
सपना देख्दै छन।
आफ्नै वंश विनास गर्न
उद्धत
दुस्सासनहरू, दुर्योधनहरू अनि धृतराष्ट्रहरू
सकुनीको चालमा परेर महा
पाप गर्दै छन,
अत्याचारको पराकाष्टा पार
गर्दै छन।
दुर्योधनहरू
दुस्सासनहरू
आफ्नै इज्जत (द्रौपदी)
लाई निर्वश्त्र पारेर
नाङ्गो शरीर हेर्न
प्रतिस्पर्धा गर्दे छन,
उत्सवहरुको खुसी मनाउँदै
छन।
दुर्योधनहरू
दुस्सासनहरू
धिक्कार छ तिमीहरुलाई
सकुनीको छलमा परेर
आफ्नो विवेक आफैले लिलाम
गरेकोमा
धिक्कार छ
धृतराष्ट्रहरूलाई पनि
मोहमा परेर सत्यको पक्ष
नलिएकोमा।
अनि देवव्रत, तिमीलाई पनि धिक्कार छ
भो अब भिष्म पिताम्हको
मान पदवी फर्काइ देऊ
हस्तिनापुरको जनतालाई,
अनि घोषणा गर
मेरो मूर्खताले गर्दा
दुस्सासन, दुर्योधन, धृतराष्ट्रहरूको
अत्याचारहरु टुलु टुलु
हेर्नु बाहेक
केही पनि गर्न दिंदैन।
हस्तिनापुर बरबादको
योजनाकार
सकुनीहरूलाई दण्डित गर्न
सक्दैन।
(C) Bishwa Raj Adhikari



