Wikipedia

Search results

Saturday, July 28, 2012

The Moments-Poem of the week-37


The Moments

Believe me,
I turned the time backwards
at the point your beauty fascinates,
my youth  is there and your charms. 

Let’s celebrate the moment,
enjoy the sky down  while we are so up,
walking around on it.
Flowers all over as far we see.
With forever fragrant on it,
 only we feel.

Perceive the moments as
with endless dreams,
beyond the reality
But bundle of joys.

Forget the real time we are in.
Just think we are in the moments,
at that point we passed and shared,
with never ending joy.
Far from transactional life
only with love and trust.

Let’s celebrate the moment.
On the  imaginary playhouse.
Believe me,
we are years and  years back.
The moments we like most.




Bishwa Raj Adhikari
                                                

Friday, July 27, 2012

Financial Problem is Deepening in Spain-Article-52


स्पेनको गहिरिंदो आर्थिक संकट

विश्व अर्थ व्यवस्थामा सुधारको संकेत देखिनुको साटो आर्थिक समस्या झन झन गहिरिने हो कि भन्ने भय उत्पन्न हुन थालेको छ। विश्व अर्थ व्यवस्थालाई यूरोपको अर्थ व्यवस्थाले निकै प्रभाव पार्ने गर्दछ। अर्को तिर, यूरोपको आर्थिक समस्यामा सुधार आउन सकि रहेको छैन। यूरोपको आर्थिक अवस्थाले विश्व अर्थ व्यवस्थालाई धेरै प्रभाव पार्ने भएकोले विश्व अर्थ व्यवस्थामा अझै संकट आउने हो कि भनी संका गरिएको हो। यूरोपका राष्ट्रहरु- पोर्चुगल, ग्रिस, आयरलैण्ड, इटाली पहिले देखि नै समस्यग्रस्त थिए, अब स्पेन पनि गंभिर आर्थिक समस्याको भूमरिमा पर्ने हो कि भनि अनुमान गर्न थालिएको छ। स्पेनले समस्याको समाधान उचित किसिमले गर्न नसकेमामा त्यहाँ बेरोजगारी र गरिबी झनै बढ्दै जाने देखिन्छ। स्पेनको खराब आर्थिक अवस्थाको प्रभाव यूरोप हुँदै   विश्व अर्थ व्यवस्थामा समेत पर्ने छ।
स्पेन यूरो जोन भित्र पर्दछ। यूरो जोन भित्र पर्ने यूरोपका १७ राष्ट्रहरु मध्ये स्पेन चौथो ठूलो अर्थ तन्त्र हो। यसै गरी विश्वको बार्हौ ठूलो अर्थ तन्त्र हो भने यूरोपको पाँचौ।  तर अहिले स्पेनमा आर्थिक संकट गहिरिएको छ। स्पेनका प्रान्तीय सरकारहरुले केन्द्र सरकारबाट आर्थिक सहयोग माग गरि रहेका छन। स्पेनमा अहिले हरेक चार जनामा एक जना बेरोजगार रहेको उल्लेख गरिएको पाइन्छ। रोजगारी खोज्ने, २५ वर्ष मुनीकहरु, ५२ प्रतिशत छन। सरकारले लिने ऋणको लागत निकै बढेको छ। १० वर्षे बन्ड (Bonds) को दर ७.५३ पुगेको छ जुन ज्यादै उच्च मानिन्छ। स्पेनले यस वर्ष (सन् २०१२) ८६ बिलियन यूरोको बन्ड निस्कासन गर्ने योजना गरेकोमा ५९ बिलियन निस्कासन गरि सकेको छ। सन् १९९९ देखि २००७ सम्म स्पेनको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा अहिले १ प्रतिशतमा झरेको छ। स्पेनका १७ प्रान्तीय सरकारहरु माथि ठूलो ऋण भार छ। सरकारी अनुमानले, सन् २०१४ देखि मात्र देशको आर्थिक वृद्धि दरमा सुधार आउने उल्लेख गरेको छ।
स्पेनको खराब आर्थिक अवस्थाको प्रभाव यूरो जोनमा तत्काल पर्ने भएकोले समयमै स्पेनलाई आर्थिक समस्याबाट बाहिर ल्याउन यूरो जोनका १६ राष्ट्रहरुले स्पेनलाई १०० बिलियन यूरो ऋण प्रदान गर्ने आश्वासन दिएका छन। यो रकमको प्रयोग स्पेन सरकारले मुलुका समस्याग्रस्त बैंकहरुलाई सहयोग गर्नमा खर्च गर्नु पर्नेछ।  
स्पेनमा जन प्रदर्शनहरु भएका छन, सरकारद्वारा लागू गरिएको आर्थिक अनुशासन (Austerity) विरुद्धमा। सरकारले देशको आर्थिक अवस्थामा सुधार ल्याउन आर्थिक अनुशासन लागू गरेको छ। गएको हप्ता राजधानी मेड्रिडमा भएको सरकार विरोधी पर्दशनमा १५ जना गिरफ्तार भएका थिए भने घाइते हुनेहरुको संख्या ४० जति थियो। स्पेनको ८० भन्दा बढी शहरहरुमा भएका पर्दशनहरुमा दसौं लाख मानिसहरुले भाग लिएका थिए र भाग लिनेहरुमा कर्मचारी, ट्रेड यूनियनका सदस्यहरु एवं सर्वसाधारणहरु पनि थिए। दंगा नियन्त्र गर्नका लागि सुरक्षाकर्मीहरुले रबरको गोली, अश्रु ग्यास तथा लठ्ठी समेतको प्रयोग गर्नु परेको थियो। प्रदर्शनकारीहरुले सरकारद्वारा गरिएको खर्च कट्टौतिको व्यापक विरोध गरेका थिए।
स्पेनको आर्थिक स्थिति यस किसिमबाट कमजोर हुनुमा खराब लगानी प्रमुख रुपमा जिम्मेबार रहेको विश्वास गरिन्छ। खास गरि प्रान्तीय सरकारहरुले गरेका खराब लगानीको कारणले गर्दा देशको आर्थिक स्थिति यो अवस्थामा आइ पुगेको हो। प्रान्तीय सरकारहरुले भौतिक संरचना, शिक्षा, स्वास्थ्य सुविधा आदिमा आवश्यकता भन्दा बढी लगानी गरे। यसै गरी निजी क्षेत्रहरुले पनि सम्पत्तिमा अर्थात घर जग्गा (होटल, भिल्ला निर्माण) मा बढी लगानी गरे। बैकहरुबाट ऋण लिएर गरिएको यो लगानी त्यति बेला भयो जुन बेला रियल स्टेट (घर जग्गा) को व्यापार तेजीको स्थितिमा थियो। तर अहिले रियल स्टेट व्यापार मन्दीको स्थितिमा छ। र मन्दीको स्थितिले गर्दा लगानीकर्ताहरुलाई लगानीको उचित प्रतिफल पाउन गार्हो परि रहेको छ।
५,०५,९९२ वर्ग किलो मिटरमा फैलिएको स्पेनको जन संख्या (सन् २०११ को अनुमान अनुसार) ४ करोड ७१ लाख ९० हजार ४९३ रहेको छ भने प्रति व्यक्ति आय, अमेरिकी डलरमा, ३२,३६० रहेको छ।
१६ रौं सप्ताब्दि सम्म पनि र  १७ रौं सप्ताब्दि का केही वर्षहरुसम्म पनि, स्पेन यूरोपको अति सम्पन्न र शक्तिसाली राष्ट्र थियो। उपनिवेश कायम गरिएका मुलुकहरुसँगको व्यापार र ती राष्ट्रहरुबाट ल्याइएका सम्पत्तिले गर्दा त्यस बेलाको स्पेन विश्व मै निकै समृद्ध थियो। कुनै समयमा स्पेनको उपनिवेश दक्षिण अमेरिका, अफ्रिका, एशिया-पेसिफिकका द्विपहरु र यूरोप सम्म पनि फैलिएको थियो। स्पेन इतिहासमा पहिलो त्यस्तो सामराज्य थियो जहाँ सूर्य कहिले पनि अस्ताउँदैन भन्ने गरिन्थ्यो। कुनै समयमा त्यति समृद्ध रहेको मुलुक अहिले यो स्थितिमा छ। जबकी धेरै पछि आर्थिक प्रगति गर्न आरम्भ गरेको चीन अहिले विश्वको आर्थिक महाशक्ति राष्ट्र बन्ने सपना देख्दै छ। चीनको यस किसिमको चमत्कारी आर्थिक प्रगतिको श्रेयता भने देङ्ग जिआओ पिंगलाई जान्छ। देङ्ग जिआओ पिंगको सट्टा माओ त्से तुङ्ग अनि उनी जस्ता नेताहरुको चीनमा निरन्तरता भइ रहेको भए अहिले आम चिनियाहरुको हातमा केवल रातो डायरी बाहेक उपलब्धि अरु केही हुने थिएन।

विश्वराज अधिकारी

Friday, July 20, 2012

Role of Administration in Economic Development-Article-51


दक्ष प्रशासन आर्थिक विकासको मेरुदण्ड

नेपालको आर्थिक विकास कर्मचारी तन्त्रको कुशलता र दक्षता भन्दा राजनैतिक नेताहरुको सोंच र व्यवहारबाट ज्यादै प्रभावित छ।  र यो कारणले गर्दा पनि मुलुकको आर्थिक विकासको गति ज्यादै सुस्त हुन पुगेको हो, विश्वका विभिन्न मुलुकहरुले चमत्कारी किसिमले आर्थिक प्रगति गरेता पनि। नेताहरु नेपालको राजनैतिक क्षेत्र मात्र होइन आर्थिक क्षेत्रलाई पनि अति नै प्रभावित गर्न सक्ने क्षमता राख्छन, उनीहरु आफ्नै स्वार्थमा केन्द्रित भएता पनि। २०४६। ४७ को राजनैतिक परिवर्तन पछि त झन नेपालको आर्थिक क्षेत्रमा हाली मुहाली नै कायम भयो, नेताहरुको। स्थाई सरकारको रुपमा रहेको कर्मचारीतन्त्र, जसले देशलाई आर्थिक विकासको पथमा दौडाउन सक्छ, फगत नेताहरुको हातको कठपुतली बन्दै गयो। कर्मचारीहरु उनीहरुको इशारामा नाच्नु पर्ने वाध्यत्मक स्थिति उत्पन्न भयो। कर्मचारीतन्त्रमा रहेका, खास गरी ज्ञान, सिप, दक्षताले युक्त व्यक्तिहरु, जसले देशको आर्थिक विकासमा आफ्नो ज्ञान, सिप, दक्षता प्रयोग गरेर राष्ट्रलाई समृद्ध पार्न सक्छन, लाई नेताहरुले आफ्नो वरिपरि घुमाउने काम गरे,  कर्मचारीहरुको प्रतिभाको प्रयोग गर्नुको साटो। कर्मचारीहरुको वौद्धिक क्षमताको अत्यधिक उपयोग हुन दिएनन। जबकी कर्मचारीहरु, खास किसिमको शैक्षिक योग्यता हासिल गरेर, विभिन्न किसिमका परीक्षाहरु पास गरेर, लामो समयको अनुभब संगालेर कुनै जिम्मेवार पदमा पुगेका हुन्छन।  बरु, केही अपवादलाई छाडेर, भन्ने हो भने नेताहरुले सामान्य शिक्षा पनि हासिल गरेका हुँदैनन, उच्च शिक्षा त टाढाको कुरा हो।
कर्मचारीतन्त्रलाई नेताहरुको हातको कठपुतली बनाउनमा केही हदसम्म कर्मचारीहरु पनि जिम्मेवार छन। केही कर्मचारीहरुले आफ्नो स्वार्थ पूरा गर्न नेताहरुलाई बढी महत्व दिएको, उनीहरुले भने पछि गलत कार्य गर्न पनि तयार भएको, नियमको पालनाभन्दा नेताहरुको आदेशलाई बढी महत्व दिएको हुनाले प्रशासनिक क्षेत्रमा नेताहरुको भूमिका र हस्तक्षेप ह्वात्यै बढेर गयो। इमान्दार कर्मचारीहरुको भूमिका भने कम हुँदै गयो। इमान्दार कर्मचारीहरु कार्यप्रति उदासीन देखा पर्न थाले।
अर्कोतिर, नेताहरु राम्रो शैक्षिक योग्यता नभएका, जुन क्षेत्रमा कार्य गर्ने हो त्यस क्षेत्र बारे पटक्कै ज्ञान नभएका तथा देशको आर्थिक विकासमा केन्द्रित हुनुको साटो केवल आफ्नो र दलीय स्वार्थमा लिप्त रहने गरेकाले मुलुकमा आर्थिक मुद्दाहरुले महत्व पाउन सकेनन, उनीहरु जिम्मेबार प्रशासनिक पदमा बसेता पनि। र त्यो क्रम अहिले पनि जारी छ। मुलुकको प्रशासनिक क्षेत्र (मंत्रालयहरु) मा सम्बन्धित क्षेत्रका विज्ञहरुको नेतृत्व हुनुको साटो योग्यता नभएका र अनुभवहीन नेताहरुको (मंत्रीको रुपमा) नेतृत्व हुने क्रम अहिलेसम्म पनि जारी छ, टुटेको छैन। विकसित मुलुकहरुमा सरकार प्रमुख निर्वोचित व्यक्ति भएता पनि प्रशासनिक क्षेत्रको नेतृत्वदायी पदहरुमा सरकार प्रमुखद्वारा नियुक्ति पाएका, सम्बन्धित क्षेत्रका विज्ञहरु हुन्छन। र त्यसरी सरकार प्रमुखद्वारा नियुक्ति पाउने व्यक्तिहरु शिक्षित एवं आफ्नो क्षेत्रको राम्रो जानकारी राख्नेहरु हुन्छन।
नेपालको मौजुदा परिस्थिति हेर्दा, प्रशासनिक क्षेत्रको अति उच्च पदमा आसिने हुने व्यक्ति (मंत्री) सम्बन्धित (जिम्मेवार सुम्पिएको) क्षेत्रमा अनुभवी एवं दखल राख्ने त हुँदैन नै तर उसले आफू हरेक क्षेत्रको राम्रो ज्ञाता भएको प्रदर्शित गर्दछ। एउटै व्यक्ति कहिले कृषि मंत्री, कहिले रक्षा मंत्री, कहिले अर्थ मंत्री, कहिले परराष्ट्र मंत्री, कहिले स्वास्थ्य मंत्री, त कहिले गृह मंत्री हुन पुग्छ। यस्तो लाग्छ, नेता कुनै अर्के ग्रहबाट आएको व्यक्ति जस्तो, जसलाई हरेक क्षेत्रको बारेमा भरपुर ज्ञान छ। हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ। ३२ गुणले निपुर्ण छ। हुन पनि, हिँजोसम्म गार्हो गरी लेख पढ गर्न जान्ने व्यक्ति मंत्री हुने वित्तिकै आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको ठूलो ज्ञाता हुन पुग्छ, त्यस्तो प्रदर्शित गर्छ। त्यति मात्रै होइन, ती विषयहरुमा सार्वजनिक स्थानहरुमा भाषण समेत दिन थाल्छ। यसो गर्नु उसो गर्नु भन्न थाल्छ। यस्तो परिपाटिले कसरी हुन सक्छ मुलुकको आर्थिक विकास?
जबसम्म कर्मचारीतन्त्र (प्रशासन यन्त्र) तथा राजनैति व्यक्तिहरुको भूमिकलाई अलग अलग किसिमले प्रष्ट पारिंदैन तब सम्म मुलुकको आर्थिक विकासको गति यही कछुवा चालमा चलि रहन्छ। आर्थिक विकासको गति द्रुततर हुन सक्तैन।
नेता वा जन प्रतिनिधिहरु, जो जनताबाट निर्वाचित भएर आएका हुन्छन, को भूमिका केवल जनताद्वारा माग गरिएका नियमहरु बनाउनुमा मात्र सीमित हुनु पर्दछ, देशको आर्थिक विकासको गतिलाई तिब्र पार्ने हो भने। जनताको दैनिक जिवनलाई प्रभावित पार्ने क्षेत्रहरु- शिक्षा, स्वास्थ्य, वाणिज्य, भूमि व्यवस्थापन, कृषि आदि, सँग सम्बन्धित विषयहरुमा के कस्ता नियमहरु बनाएर जनताको जिवनलाई सरल र समृद्ध पार्ने सकिन्छ त्यस तर्फ मात्र नेताहरुको भूमिकालाई केन्द्रित गराउनु पर्दछ। जनताबाट निर्वाचित नेता वा जन प्रतिनिधिहरु प्रष्ट रुपमा विधायक हुन र उनीहरुको जिम्मेवारी केवल विधि (कानून) हरु निर्माण गर्ने कार्यमा मात्र सीमित हुनु पर्दछ। जन प्रतिनिधिहरुले निर्माण गरेका कानूनहरुको पालना गराउने कार्य प्रशासन यन्त्रले गर्नु पर्दछ। अनि प्रशासन यन्त्रले कानूनहरुको पालना ठीक सँग गर्यो गरेन भन्ने कार्यको निगरानी न्यालयले गर्नु पर्दछ। यसरी विधायिका, कार्यपालिका र न्याय पालिकाले स्वतन्त्र रहेर तर समन्वयात्मक किसिमबाट कार्य गर्नु पर्दछ। अर्थात यी तिनै अंगहरुले नियन्त्रण र सन्तुलन ( Checks and balances)  तथा सक्ति विभाजन (Separation of powers) को सिद्धान्तको आधारमा कार्य गर्नु पर्दछ। यी तिनै अंगहरुको अधिकार क्षेत्र प्रष्ट रुपमा तोकिएको हुनु पर्दछ।  एउटा अंगले आफ्नो सीमा क्षेत्र नाघेर कार्य गर्न खोजे अर्को क्षेत्रले नियन्त्रण गर्नु पर्दछ, सन्तुलनमा राख्नु पर्दछ।   

नेपालको आर्थिक विकासको गतिलाई तिब्र पार्ने हो भने वर्तमानको व्यवस्था, विधायक (जन प्रतिनिधि) प्रशासक (मंत्री) हुने स्थिति समाप्त पार्नु पर्दछ। प्रशासनीक क्षेत्रमा सम्बन्धित क्षेत्रका विज्ञहरुको मात्र नियुक्ति हुने कानूनी व्यवस्था हुनु पर्दछ। विधायकहरुको भूमिका केवल विधि निर्माणमा मात्र सीमित हुनु पर्दछ। यस्तो गर्न सकिएमा मात्र नेताहरु सत्ताको फोहरी खेलबाट बाहिर आउन सक्छन र मुलुक र जनताका लागि उपयोगी कानूनहरुको निर्माणमा केन्द्रित हुन्छन। जुट, टुट, फुट, गुट, उपगुटको राजनीतिबाट नेताहरुलाइ बाहिर ल्याउन तथा उनीहरुलाई रचनात्मक कार्यमा केन्द्रित गराउन यस्तो कानूनी व्यवस्था हुन आवश्यक छ।
तर अर्को तर्फ कटु यथार्य के पनि छ भने जन प्रतिनिधिहरुले आफ्नो भूमिका केवल विधि निर्माणमा मात्र सीमित हुने किसिमको कानून बनाउँदैनन्। बरु आफूहरुलाई फाइदा हुने किसिमको कानून बनाउनका लागि आफूहरु विभिन्न दलका भएता पनि मिल्छन, एकमत हुन्छन, विभिन्न किसिमका मतभेतहरुलाई त्यागेर। अब भने बेला आएको छ, निर्वाचनको समयमा जनताले नेताहरुलाई वाचा गराउनु पर्यो ‘म विजयी भए पछि यस क्षेत्रका जनताका लागि उपयोगी हुने  नियम कानून बनाउने कार्यमा मात्र क्रियाशील हुने छु, नेताहरु केवल सत्ताको खेलमा रमाउने स्थितिको अन्त्य गर्ने छु। प्रशासनमा हुने राजनैतिक हस्तक्षेत समाप्त पारि प्रशासनलाई निष्पक्ष र दक्ष बनाउनमा योगदान पुर्याउने छु।’
इमान्दार नेता छान्नुको सट्टा जनताले अब पनि त्येही असक्षम, भ्रष्ट, स्वार्थी नेताहरु छान्ने हो भने, उनीहरुले बाँडेका मिठा सपनाहरुको पछाडि दौडिने हो भने, उनीहरुले देखाएका विभिन्न किसिमका विभाजनहरुलाई महत्व दिएर विभाजित हुने मात्र होइन एक समूहले अर्को समूहलाई सत्रु देख्ने हो भने नेपालको गरिबी जुन अवस्थामा छ, त्यही अवस्थामा नै रही रहने छ। र यस्तो भयो भने भावि पुस्ता माथि अन्याय हुने छ। आउने पुस्ताले धिक्कार्ने छ।

विश्वराज अधिकारी

Friday, July 13, 2012

Why the price of gold is rocketing?-Article-50


किन आकासिंदै छ सुनको मूल्य?

सामान्य आर्थिक स्थितिका नेपालीहरुको पहुँचबाट सुन दिन प्रति दिन धेरै टाढा हुँदै गइ रहेको छ। यो  पँहेलो धातु महँगो हुँदै जानुले सुनको गहना लगाउने मध्यम वर्गीय नेपालीहरु समेतको सपना अब केवल सपनामा मात्रै सीमित हुने र सुन केवल बलियो आर्थिक हैसियत वा अति धनीहरुले मात्र किन्न सक्ने स्थिति उत्पन्न हुँदैछ। धेरै मानिसलाई लागेको हुन सक्छ, सुनको गहना बनाउनका लागि सुनको माग बढेकोले सुनको मूल्य बढेको होला। तर त्यस्तो होइन। समाजले सुनको गहनालाई ज्यादै नै महत्व दिने केवल नेपाल, भारत र केही मुलुकहरुमा मात्र हो। नेपाल, भारतमा सुन बिहेको बेलामा, गहना बनाउनका लागि, अति नै प्रयोग हुन्छ। साथै अन्य समयमा पनि गहना बनाउन सुनको निकै प्रयोग हुने गर्छ। हुनत सुनको प्रयोग गहना बनाउनका लागि नेपाल, भारत बाहेक चीन, मध्य पूर्वका देशहरुमा पनि हुन्छ। र हल्का किसिमका गहना निर्माणका लागि सुनको प्रयोग अमेरिका, यूरोप लगाएत संसार भरि नै हुन्छ। तर अहिले जुन किसिमले सुनको मूल्य दिन प्रति दिन वृद्धि भइ रहेको छ, त्यस्तो वृद्धि केवल गहना निर्माणका लागि सुनको मागमा वृद्धि भएर मात्र भएको होइन।
सुनको माग अहिले अन्तरार्ष्ट्रिय बजारमा नै बढि रहेको छ। अन्य क्षेत्रमा गरिने लगानी भन्दा सुनमा गरिएको लगानीलाई ज्यादै सुरक्षति ठानिदै छ, आज भोलि। व्यक्ति विषेश, बैंक, अन्य संघ संस्था लगाएत सरकारहरुले समेत पनि अन्य क्षेत्रमा गरिने लगानीलाई असुरक्षित महसुस गर्दै सुनमा लगानी गरि रहेका छन, सुन खरिद गरि रहेका छन, लगानीलाई अति सुरक्षित पार्ने उद्देश्यले। यसरी चौतर्फी किसिमबाट सुनको मागमा वृद्धि भइ रहेकोले यसको मूल्य झन झन आकासिने स्थितिमा छ।
खास गरी यूरोपको आर्थिक संकटले गर्दा लगानीकर्ताहरु अन्य किसिमका लगानीहरु- विदेशी मुद्रा, शेयर आदि प्रति ससंकित हुँदै गइ रहेका छन। हुनत सन् २००२ तिर एशियाको बजारमा देखिएको वीत्तिय संकटले पनि लगानीकर्ताहरुलाई सुनमा लगानी गर्न प्रेरित गरेको थियो, त्यस बेला। तर अहिले यूरोपको आर्थिक संकटले गर्दा लगानीकर्ताहरु सुनमा लगानी गर्न बढी नै उत्साहित भएका छन। रुस, चीन, दक्षिण कोरिया लगाएत केही अन्य राष्ट्रहरुले सुन खरिदमा जोड दिइ रहेका छन। रुस र चीनले वैदेशिक संचिति (foreign reserve) मा सुनको मात्रालाई बढाउँदै लगेका छन। करिब एक वर्ष पहिले दक्षिण कोरियाको केन्द्रिय बैंकले वैदेशिक विनिमय संचिति ( foreign exchange reserve ) मा अमेरिकी डलरको हिस्सा कम पार्न १.२४ बिलियन (अमेरिकी डलर) भुक्तान गरेर २५ टन सुन खरिद गरेको थियो।
बजारमा हालको जस्तो अनिश्चितता कायमै नै रह्यो, खास गरि यूरोपको आर्थिक अवस्थामा नाटकीय किसिमले सुधार आएन भने सुनेको भाउ वृद्धि हुने क्रम रोकिने देखिंदैन। सुनको भाउ क्रमिक रुपमा बढी नै रहने छ। बजारको पृवृतिले त्यही नै देखाउँदै छ। अन्तरार्ष्ट्रिय बजारमा, सन् २००० ताका प्रति आउन्स ३०० अमेरिकी डलर रहेको सुन मूल्य अहिले लगभग १६०० पुगेको छ। यसरी सुनको भाउ आकासिंदै गइ रहेको छ, दिन प्रति दिन।
हुनत सुनको माग गहना प्रयोजनका लागि अहिले पनि उच्च छ। सुनको कुल माग मध्ये गहनाका लागि ५५, लगानीका लागि ३३ र प्रविधिका लागि १२ प्रतिशत माग भएको पाइन्छ। सुनको सबै भन्दा ठूलो मागकर्ता एवं प्रयोगकर्ता भारत हो। केही मात्रामा लगानीका लागि भएता पनि मुख्य गरी गहना कै लागि भनेर भारतमा ठूलो परिमाणमा परिवारहरुले सुन खरिद गर्छन।
सुनको आपूर्ति ठूलो मात्रामा खानीबाट हुन्छ। खानीले सुनको कुल आपूर्ति मध्ये ६१ प्रतिशत आपूर्ति गर्छ। यसै गरी संगठनहरुले २ प्रतिशत जति गर्छन। पुन प्रयोग (recycling) बाट ३७ प्रतिशत जति सुनको आपूर्ति हुन्छ।  
लण्डन स्थित मेटल्स-कन्सल्टिंग कम्पनी सि आर यू का अनुसार सन् २०११ मा विश्व मै सर्वाधिक सुन उत्पादनका गर्ने राष्ट्रहरुको सूचि यस प्रकार रहेको छ-
देश                                   उत्पादन (मेट्रिक टन)
१ चीन                                 ३८०
२ अष्ट्रेलिया                             २७२
३ स रा अमेरिका                        २४३
४ दक्षिण अफ्रिका                        २२१
५ रसिया                               २०५
६ पेरु                                 १५६
७ घाना                                १०२ 
८ क्यानाडा                             १०१
९ इन्डोनेसिया                           ९७
१० मेक्सिको                            ८२
सोही अवधिमा विश्व भरिमा सुनको कुल उत्पादन २,७८९ मेट्रिक टन भएको थियो।
अन्य तथ्यांकहरुले देखाए अनुसार विश्वमा सुन बढी उपभोग गर्ने राष्ट्रहरुमा (खरिद मूल्य अनुसार) भारत, चीन, यूरोपेली राष्ट्रहरु, मध्य पूर्वका राष्ट्रहरु, स रा अमेरिका, जर्मनी, टर्की, स्विट्जरलैंड, थाइलैण्ड आदि पर्दछन।
नेपालमा, हाल सुनको मूल्य प्रति तोला (छापावाल) रू ४८, ३५० जति रहेको देखिन्छ। माथि उल्लेख गरिएका कारणहरुले गर्दा अन्तरार्ष्ट्रिय बजारमा सुनको मल्यमा वृद्धि यसै गरी भइ नै रहने हो भने नेपालमा पनि सुनको मूल्यमा अवश्य पनि वृद्धि हुने छ। नेपालमा पनि गहना प्रयोजनका लागि ठूलो परिणाममा सुनको माग हुन्छ। तर सुनको मूल्य आकासिंदो अवस्थामा रहेकोले तुलनात्मक रुपमा कमै परिवारहरुले सुन खरिद गर्न सकि रहेका छन, मौजुदा स्थितिमा। नेपालमा खास गरी विवाहको समयमा सुनको माग ठूलो परिणाममा हुन्छ। परम्परागत रुपमा, संस्कृति धान्ने हिसाबले पनि मुलुकमा विवाहको समयमा सुनको मागमा वृद्धि हुन्छ। तर अर्कोतिर सुनको मूल्य आकासिंदो छ दिन प्रति दिन। सामान्य आर्थिक हैसियत भएका परिवारहरुको पहुँचबाट सुन निकै टाढा पुगेको छ। यस किसिमको परिस्थितिमा परम्परा, संस्कृति धान्न नेपालीहरुले गहनाका लागि सुनको प्रयोगको विकल्प खोज्नु पर्नै देखिन्छ। सुनको साटो चाँदीलाई प्रयोगमा ल्याउने हो कि गहना बनाउनका लागि?

विश्वराज अधिकारी