Wikipedia

Search results

Friday, August 22, 2014

What Are Left Alternatives?-Article-139

कम्युनिष्टहरुसँग बाँकि रहेका विकल्पहरु

नेपालका कम्युनिष्ट नेताहरुसँग अब केवल दुईवटा विकल्पहरु मात्र बाँकि रहेका छन्। पहिले विकल्प हो, कम्युनिष्ट अर्थ व्यवस्थाको सपना जनतालाई देखाएर उनीहरुको जीवनमा एक दिन अवश्य पनि राम राज्य आउने छ भनी विश्वास दिलाउने अनि मुलुकमा सरकार विरोधी शक्तिको रुपमा रहेर छाया सत्ताको आनन्द लिने। सरकार बिरोधी भएर पनि शक्तिको आनन्द लिन सकिन्छ भन्ने कुरा उनीहरुलाई भलिभाँति थाहा छ। नेपालका कम्युनिष्ट नेताहरुको इतिहास हेर्न हो भने उनीहरुले कम्युनिष्ट व्यवस्थालाई माध्यम बनाएर जन र राजकीय शक्ति प्राप्त गरेको उदाहरणहरु पुराना भएका छैनन्।  अहिलेको विश्व परिस्थिति हेर्दा नेपालमा मार्क्स, लेनिन एवं माओका सिद्धानमा आधारित कम्युनिष्ट व्यवस्था आउने सुदूरसम्म पनि सम्भावना देखिंदैन। बिरासतको रुपमा कम्युनिष्ट व्यवस्थालाई धानिरहेका मुलुकहरु- क्युबा, उत्तर कोरिया  आदिलाई पनि अब देश भित्र कम्युनिस्ट अर्थ व्यवस्था धान्न, बुढो हात्ति पाल्न गाह्रो  भए झै भइ रहेको छ। अर्कोतिर छिमेकी मुलुक भारतमा पनि, समाजबादलाई केवल ऐतिहासिक नासोको रुपमा कायम राख्दै आएको भारतीय राष्ट्रिय कांग्रेसको सत्ता बहिर्गमन र पूँजीवादका पक्षधर मोदीको उदय पछि नेपालमा कम्युनिषट व्यवस्था आउनु भनेको दिउँसोको मध्य घाममा तारा गन्न खोज्नु जस्तो भएको छ। मोदीमय भारतले अहिले आफ्नो मुलुकको आर्थिक विकास द्रुततर गतिमा गर्न खोजेको छ र द्रुततर आर्थिक विकासको गति नेहरू, लोहिया जस्ता नेताहरुको समाजबादी सपनाबाट होइन अमेरिका र यूरोपेली मुलुकहरुले अख्तियार गरेका आर्थिक विकासको मोडेलबाट गर्न खोजेको छ। मोदीको अर्थ व्यवस्था पूर्ण रुपमा पूँजीवादमा आधारित छ तर उल्लेखनीय कुरा के छ भने प्रधान मंत्री नरेन्द्र मोदीले पूँजीवादको लाभलाई धनीहरु महलबाट अति निर्धनहरुको झोपडपट्टीसम्म पुर्याउन ठोस प्रयास गरेका छन्। त्यसकारण मोदीको पूँजीवादलाई भारतमा चैत वैशाखको आगो झै फैलिरहका नक्सलीहरुले पनि कठोरताका साथ बिरोध गर्न गार्हो छ र यदि उनीहरुले त्यस्तो गर्न खोजे पनि नया नया रणनीतिहरुको खोजी गर्नु पर्ने छ किनभने मोदीका आर्थिक नीतिहरुले कांग्रेसहरुले झै गरिबहरुको हितलाई वेवास्ता गरेको छैन। केवल पुराना नीतिहरुले मात्र मोदी सरकारको बिरोध गर्नु नक्सलीहरुका लागि ज्यादै गार्हो हुनेछ। हुन पनि मोदीको नेतृत्वमा सरकारले काम गर्न शुरु गरेदेखि नक्सलीहरुले कुनै ठूलो हमला गरेका छैनन्।  विभिन्न स्थानहरुमा अशान्ति पनि मच्चाएका छैनन्। यति मोदी सरकारले नक्सलीहरुको समयस्या समाधान गर्ने हो भने भारतीय आर्थिक विकासको गतिले झनै तिब्रता पाउने छ। भारतमा आर्थिक विकासको गतिले तिब्रता पाएर त्यहाँको गरिबीमा कमी आएमा  बाँकि रहेको सानो संख्याका कट्टर कम्युनिष्टहरु पनि समयको बहाबमा पुगेर एक तिर निष्क्रिएर भएर थन्किने छन्। नेपाल भ्रमणको समयमा मोदीले नेपालका माओवादीहरुले सस्त्र छोडेर शास्त्र समाएको र बुलेट बिसाएर बैलेट रोजेको भनी बेला बेलामा अति प्रशंसा गर्नुको अर्थ भारतका माओबादीहरुलाई कोमल भाषा प्रयोग गरेर कठोर चेतावनी दिनु थियो। मोदीको सरकारले भारतमा बढ्दै गरेको कम्युनिष्ट प्रभावलाई पटक्कै रुचाएको छैन भन्ने कुरा नेपालमा उनले दिएका भाषण, जसमा उनले माओवादीको निकै प्रशंसा गरेका थिए, बाट प्रष्ट हुन्छ।  
कम्युनिष्टहरुसँग बाँकि रहेको अर्को विकल्प हो, समयको मागसँगै आफूमा परिवर्तन ल्याउने, उदार अर्थ तन्त्र (पूँजीवाद) को अभ्यास गरेर मुलुकमा राजनीति गर्ने। सत्ता र सक्तिमा कायम रहने। यस्तो गर्ने कम्युनिष्ट पार्टीहरु नेपालमा धेरै छन्। र कुन कुन त्यस किसिमका कम्युनिष्ट पार्टीहरु हुन भन्ने कुरा जग जाहेर छ, त्यो कुरा यहाँ उल्लेख गर्न आवश्यक छैन जस्तो लाग्छ। तर त्यस किसिमका कम्युनिष्टहरुले आफूहरुले पहिलेदेखि प्रयोग गर्दै आएका नाम फेर्न र आफूहरु पूर्ण रुपमा पूँजीवादको पक्षमा रहेको जनतालाई प्रष्ट पार्न भने आवश्यक छ। त्यति मात्र होइन, त्यस किसिमका कम्युनिष्ट पार्टीहरुले आफूहरु राष्ट्रिय अर्थ तन्त्रमा निजी क्षेत्रको भूमिकालाई सर्वाधिक महत्व दिन तयार रहेको भन्न पनि जरुरी छ। मजदूरहरुलाई उचालेर राजनीति गर्ने पारि पाटि छाड्न तयार रहेको भन्न पनि आवश्यक छ। र त्यस्तो व्यवहारद्वारा प्रदर्शन गर्न पनि उत्तिकै आवश्यक छ। आफ्नो दलको नामको अगाडि उनीहरुले लेख्ने गरेको मार्क्स, लेनिन, माओ आदिको नाम समेत पनि हटाउन आवश्यक छ। हुन पनि यी कट्टर कम्युनिष्ट नेताहरुको नाम आफ्नो पार्टी संग जोड्ने तर व्यवहार भने पूँजीवाद अनुरुपको गर्ने कार्य बिरोधाभासपूर्ण मात्र होइन, हास्यास्पद समेत देखिन्छ। यस्तो कार्यले जनतामा भ्रम समेत श्रृजना हुन्छ।
त्यसकारण अब नेपालका कम्युनिष्टहरुमा ध्रुवीकरण हुनेछ। उनीहरुले माथि उल्लेख गरिएका दुई विकल्पहरु मध्ये एउटा रोज्ने छन्। आफूलाई कट्टर देखाउन खोज्ने नेपाली कम्युनिष्टहरुले छाया सत्ता रोज्ने छन भने आफूलाई उदार देखाउन खोज्ने नेपाली कम्युनिष्टहरुले आफूमा समय अनुसारको परिवर्तन ल्याउँदै सरकारसम्म पुग्ने बाटो रोज्ने छन्। सक्रिए सत्ता रोज्ने छन्।
आफूलाई कट्टर देखाउन खोज्ने कम्युनिष्टहरुको लागि पनि अब पहिलेको जस्तो अति सुगम स्थिति भने रहने छैन किनभने उनीहरुले पूर्व झै नेपालमा हिंसात्मक किसिमका आन्दोलनहरु गर्न खोजे मुलुक भित्र सरकारले अति नियन्त्रण गर्ने छ भने  मुलुक बाहिर अर्थात भारतले उनीहरुलाई कुनै पनि किसिमको छुट दिने छैन। भारतले, आफ्नो देश भित्र नक्सलीहरुलाई नियन्त्रण गर्न खोजे झै नेपाली कम्युनिष्टहरुलाई पनि नियन्त्रण गर्ने छ। आफ्नो देश भित्र पहिलेको झै विभिन्न किसिमका गतिविधिहरु गर्न दिने छैन्। नेपालका कम्युनिष्टहरुलाई भारतमा छुट दिनुको अर्थ आफ्नो देश भित्र नक्सलीहरुलाई प्रोत्साहित गरे सरह हुने भारतलाई भलिभांति थाहा छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, August 22, 2014

No comments:

Post a Comment