Wikipedia

Search results

Friday, October 9, 2015

Pied Pipers of Nepalese Politics-Article-184

नेपाली राजनीतिका पाइड पाइपरहरु

मध्य युगिन युरोपमा एउटा कथा “पाइड पाइपर अफ हेमलिन” अति नै प्रचलित थियो। त्यो कथा अहिले पनि त्येति नै प्रचलित छ। त्यो कथाको सान्दर्भिकता यो समयमा झनै बढेर गएको छ। नेपालको सन्दर्भमा त त्यो कथाले नेपालको विगत र वर्तमानको राजनीति बुझ्न निकै सहयोग पुर्याउँछ पनि।
त्यो कथाको लोकप्रियता सँगै त्यसको अर्थ पनि समय अनुसार फरक फरक किसिमले लगाउने क्रम अहिले पनि जारि नै छ। विभिन्न कवि एवं लेखकहरुले अनेक किसिमले अर्थ लगाएका छन्।
कथा हो मध्य कालिन युरोपको, सन् १३०० तिरको, जर्मनीको एक सहर हेमलिनमा भएको एक अनौठो घटनाको। जुन समयमा त्यो कथा “पाइड पाइपर अफ हेमलिन” को जन्म भएर त्यो कथा लोककथामा परिणत भयो, त्यो समयमा हेमलिन सहरलाई मुसाहरुले अति नै सताएका थिए। भनिन्थ्यो, नागरिकहरुको होइन, त्यो सहरमा मुसाहरुको शासन हुन पुगेको थियो। खेतहरुमा मुसा, सडकमा मुसा, घरमा मुसा, बैठकमा मुसा, सुत्ने कोठामा मुसा, भान्सामा मुसा। अर्थात चारैतिर मुसा। जता हेर्यो उतै मुसै मुसा। मुसाहरुको लस्कर। यहाँसम्म कि काम गर्ने कर्मचारीहरुले सप्ताहन्तमा कोट झुन्ड्याएर सोमबार काममा जानेबेलामा कोट लगाउन जाँदा समेत पनि मुसाहरुले कोटको खल्तिमा बच्चाहरु जन्माइ सकेका हुन्थ्ये। कोट लगाएर खल्तिमा हात हाल्दा हातमा मुसाका बच्चाहरु समातिन्थ्ये। अनि च्याँ च्याँ चुँ चुँ को आवाज पनि उत्तिकै सुनिन्थ्यो। मुसाहरुले त्यस सहरका नागरिकहरुलाई अति नै सताएका थिए। तर्साएका थिए।
एक दिन अनेक रंगका कपडाका टुक्राहरुले बनेको पोशाक (Pied) लगाएको एक बाँसुरी बजाउने व्यक्ति (Piper)  त्यो  हेमलिन सहरमा आयो अनि उसले त्यस सरहको मेयर (प्रमुख) लाई आफूले यदि राम्रो पारिश्रमिक पाउने हो भने हेमलिन सहरलाई मुसाहरुबाट सदाको लागि छुटकारा गराइ दिने प्रस्ताव राख्यो।  मेयरले प्रस्ताब माने। पाइड पाइपरले आफूसँग रहेको विचित्रको पाइप (बाँसुरी) बजाउन आरम्भ गर्यो। कस्तो अचम्म! सहरका सम्पूर्ण मुसाहरु त्यस बाँसुरी बजाउने व्यक्तिको अगाडि पछाडि आए। अब बाँसुरी बजाउने व्यक्ति जता जता जान थाल्यो मुसाहरुले पनि उसलाई पछ्याउँदै उतै जान थाले। बाँसुरी बजाउनेले आफ्नो बाँसुरीको जादू वा विशेषताको प्रयोग गर्दै मुसाहरुलाई आफ्नो पछि मात्र लगाएन, साथै आफूले चाहेको दिशामा हिंड्यायो पनि। त्यो बाँसुरी बजाउनेले मुसाहरुको त्यो ठूलो बथानलाई त्यस गाउँदेखि धेरै पर लग्यो। पर पर अझ पर लग्यो। निकै पर लगेपछि त्यो बाँसुरी बजाउनेले मुसाहरुको त्यो समूहलाई एक ठूलो पहाडको पछितिर पुर्यायो तर आफू भने त्यो पहाडको अर्को पट्टि नदेखिने ठाउँमा पुगेर लुक्यो। मुसाहरुलाई झुक्याएर, त्यहाँ अलपत्र पारेर, पाइड पाइपर आफू आएको सहरतिर नै फर्क्यो।
आफ्नो परिश्रमिक लिन त्यो बाँसुरी बजाउने व्यक्ति त्यो सहरमा आएर सहरको मेयर समक्ष उपस्थित भयो। उता मुसाहरुले भने त्यस सहरमा आउने बाटो देख्न सकेनन किन भने ठूलो पहाडले उनीहरुलाई सहरतिर फर्किने बाटो देख्न स्थिति रहन दिएन, पूर्णतया छेकिदियो, छोपिदियो। सहर फर्किने बाटो नदेखेर ती मुसाहरु त्येही पहाडको कुनै कुनमा रुमलिएर बसे। उता, त्यो पाइपरले भने ठूलो रकम हात पार्यो। 
“पाइड पाइपर अफ हेमलिन” कथा यत्ति हो। तर यो कथालाई फरक फरक किसिमले बुझ्ने र भन्ने क्रम भने समाप्त भएको छैन। कोहीले त्यो पाइपर कुनै चमत्कारी व्यक्ति थियो जसले आफ्नो सेनामा भर्ना गर्न हेमलिन सहरका सम्पूर्ण बेरोजगार युवाहरुलाई आफ्नो पछि लगाएर लग्यो भन्छन्। त्यसबेला पश्चिम युरोपबाट लडाकुहरु पूर्व यूरोप जान्थ्ये र युद्ध जितेर विभिन्न स्थानहरुमा आफ्नो उपनिवेश खडा गर्थ्ये रे।
पछिल्लो समयमा नेपालियन र हिटलरलाई पनि “पाइड पाइपर अफ हेमलिन” कथासँग जोडियो र उनीहरुलाई त्येही चमत्कारी पाइड पाइपरको रुपमा हेरियो। नेपोलियन र हिटलरले पनि मुसा (युवा लगायत अन्य विभिन्न व्यक्ति) हरुलाई आफ्नो आकर्षक भाषणहरु द्वारा पछि लगाएर हिंडेका थिए। आफ्नो उद्देश्य पूर्तिका लागि उनीहरुको चरम उपयोग गरेका थिए। उनीहरुलाई गन्तव्यहीन पारेर आफ्नो उद्देश्य पूरा गरेका थिए।
अब सन्दर्भ जोडौ नेपालको राजनीतिसँग। नेपालको राजनीतिमा पनि अनेक किसिमका “पाइड पाइपर” हरु आए। २०४६/४७ को आन्दोलन, एक दलीय पंचायतको बिरुध्दमा मात्र तर जनताद्वारा संचालित आन्दोलन थियो भनेर मान्ने हो भने त्यसपछिका जति पनि आन्दोलन र संघर्षहरु भए ती सबै पाइड पाइपरहरु द्वारा संचालित र निर्देशित थिए भनि मान्न कर लाग्छ, आन्दोलनहरुका उपलब्धिहरुलाई हेर्दा, नेताहरुको स्वार्थ सिद्धिको लेखाजोखा गर्दा। २०५२ सालमा थालिएको माओवादी संघर्ष पनि “पाइड पाइपर” हरुद्वारा संचालित र निर्दैशित संघर्ष थियो। प्रचण्डले पाइड पाइपरको रुप धारण गरेर, हजारौं युवाहरुलाई आफ्नो सेनामा भर्ना गरेर, राज्यको विरुद्धमा लड्न लगाएर, देशलाई धेरै पछि पुर्याए। अस्थिरता र राज्य विखण्डनका बिउहरु रोपेर राष्ट्रलाई कमजोर पारे। युवाहरुले पनि त्यस संघर्षमा केवल प्रचण्डका लागि पसिना र रगत समेत बगाए। अकलामा ज्यान दिए। तर जब प्रचण्डको उद्देश्य पूरा भयो, माथि बर्णित कथामा जस्तै उनले मुसा (योद्दा युवा) हरुलाई पहाडमा छाडेर (अलपत्र पारेर) हिंडे। प्रचण्ड आफ्नो उद्देश्य पूर्तिका लागि अर्को दिशातिर लागे। मुसाहरुलाई अलपत्र पारेर हेमलिन (सिंहदरबार) तर हिंडे।  
अहिले, मदेश आन्दोलनलाई उचाइमा पुर्याउने नेताहरु मध्ये एक दुई जनालाई छाडेर बाँकि सबै नेताहरु त्येही पाइड पाइपरको रुपमा प्रकट भएका छन्। ती नेताहरु विचित्रको एवं आकर्षक (अनेक किसिमका जातीय, क्षेत्रीय, साम्प्रदायिक नाराहरु बोकेर) लुगाहरु लगाएर, अनौठो किसिमले बाँसुरी बजाएर (आफ्ना भाषणहरु द्वारा जनतालाई मुग्ध पारेर), केवल आफ्नो स्वार्थ सिद्धिका लागि मुसा (सोझा साझा मदेसी नागरिक) हरुलाई आफ्नो पछि लगाइ रहेका छन्। सिंहदरवारमा बसेका सत्ताका चतुर खेलाडीहरुसँग मदेसका पाइड पाइपरहरुको कुरा मिल्ने बित्तिकै मदेसको आन्दोलनलाई बीचमा नै चटक्क छाडेर यी पाइड पाइपर (मदेसी नेता) हरु पारिश्रमिक लिन हेमलिन सहर (सिंहदरबार) तिर दौडिने छन्। अनि सत्तामा आसिन भएको भोलि पल्ट नै टाइ सुट लगाएर विदेशको यात्रामा निस्किने छन्। यता, मदेसमा मुसा (आन्दोलनकारी) हरु अलमलमा पर्नेछन्। यदि यस्तो होइन भने, मदेसी नेताहरुलाई सक्ति र सत्ता चाहिएको होइन, उनीहरु केवल मदेसी जनताको शोषण, विभेदको बिरुद्ध संघर्षमा उत्रेको हो भने मदेसी नेताहरुले मदर टेरेसा, महात्मा गाँधी जस्तो गरी पदमा नबसेर पनि जनताको सेवा गर्न सक्छन्। तर त्यस्तो होइन। उपेन्द यादव हुन वा राजेन्द्र महतो वा विजय गच्छेदार सबै पाइड पाइपर नै हुने। उनीहरुको पार्टीमा भएको टुट, जुट, फुटले त्येही भन्छ। अहिले मदेस आन्दोलनका लागि यी नेताहरु मिल्नु भनेको मिलेर भाग खोस्नु हो।
नेपालको राजनीतिमा जनताको राजनैतिक चेतनाको स्तर अति कमजोर र गरिबीले जरा बलियो गरि गाडेसम्म पाइड पाइपरहरु आउने क्रम रोकिने छैन। किसिम किसिमका पाइड पाइपरहरु नेपाली राजनीतिमा देखा परि नै रहने छन्। नेपाली राजनीतिले पाइड पाइपरहरुबाट छुटकारा पाउन अझै वर्षौ लाग्न सक्छ।
अहिले पछिल्लो समयमा, नेपालको राजनीति ज्यादै नै तरल भएको अवस्थामा, डा बाबुराम भट्टराई अर्को मोडिफाइड भर्सन (संसोधित स्वरुप) को पाइड पाइपर भएर नेपाली राजनीतिमा देखा परेका छन्।  उनको उच्च महत्वाकांक्षाले उनलाई “एउटा म्यानमा दुई तलबार?” (दलको सर्वोच्च पदमा पुष्पकमल दहाल वा बाबुराम?) को स्थितिले पार्टीबाट बहिर्गमन गराएर सडक सकड, जिल्ला जिल्ल, नेताहरुको दैलो दैलो को स्थितिमा पुर्याएको छ। अहिले उनलाई आफ्नो उच्च महत्वाकांक्षा पूरा गर्ने क-कसलाई भर्यांग बनाउने भन्ने चिंताले सताएको छ। बाबुराम आजभोलि कहिले जनकपुर कहिले बुटबल, कहिले नवलपरासी, कहिले पाल्पा पुगिरहेका छन्। उनी दाङसम्म पुग्न पनि पछि परेका छैनन्। यसै गरी बाबुरामले कुनै बेला “नेपालले भारतलाई धेरै चिढाउन नहुने” भन्दै छन् भने कुनै बेला भने “भारतले सानो चित्त देखायो” भन्दै छन्। कहिले भने “एमाओवादीलाई नराम्रो भनेको छैन”, “दहालसँग पनि सहकार्य गर्छु” पनि भन्दै छन्। कहिले फेरि “तीन दलले चाहे मदेस क्षणभरमै शान्त हुने” भन्दै छन्। यसै गरी बाबुराम कहिले, कतै, कुर्ता र गम्छामा देखिएका छन् भने कतै पैट सर्टमा, अर्थात थरि थरिको पोसाकमा। अहिले बाबुराम आफ्नो उच्च महत्वकांक्षाका कारण मदेसी दलहरुसँग नया साइनो जोडन पुगेका छन्।
बाबुराम यो समय विन्दुमा, नया सक्ति निर्माणको सन्दर्भमा, उनको पछि लाग्ने पुन: नया मुसाहरुको खोजिमा लागेका छन्, हिंडेका छन्। र उदेक लाग्दो कुरा! उनको पाइपको धुनमा लठ्ठिएर, उचालिएर, हर्षिएर नया नया मुसाहरु उनको पछि पछि हिड्न सडकमा उत्रिने क्रम सुरु भएको छ। अर्कोतिर भने उनका पुराना मुसाहरु जो २०५२ सालको संघर्षमा रोल्पा, रुकुम, गोर्खा आदि स्थानहरुमा उनको पछि लागेका थिए अहिले भने कता हो कता भएर हराउन पुगेका छन्। अलमलिएका छन्। दिशाहीन हुन पुगेका  छन्। यी आफै हराएका मुसाहरुले हराएका पुरानो बाबुरामलाई कसरी खोज्ने? हराएका मुसाहरु मध्ये केही अझै हराएर अरबको तातो बालुबामा पोलिन पुगेका छन्। सुन्दर भविष्यको चम्किलो अनुहार उराठ लाग्दो तातो बालुबामा खोज्न बाध्य भएका छन्। बालुवाको तापमा जल्दैछन। र नेपाल फर्किंदा धेरै बाक्सामा बन्द भएर फर्किंदै छन्।
कामना गरौ मदेसका नेताहरुले भने आफ्नो पछि लगाएका मुसाहरुलाई बिचमा नै अलपत्र पारेर अन्यत्र लुक्न जाने छैनन्। उनीहरुको  पछि लागेका मुसाहरुलाई झुक्याउने छैनन्। यसै गरी कामना गरौ, नेपाली जनताले पाइड पाइपहरुलाई चिन्न सकुन र उनीहरुको पछि यसरी नलागुन। नेपाल र नेपालीको जय होस।


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 09, 2015

No comments:

Post a Comment