किन फितलो हुँदैछन्
मदेसी ऐजेन्डाहरु?
खास गरी मदेसका
जनतालाई यो सुन्दा अचम्म र अपत्यारिलो लाग्न सक्छ कि मदेसका कहलिएका शिर्ष
नेताहरुमा धैर्यता, दूरदर्शिता राजनीतिक सुझबुझको अभावको कारणले गर्दा नै मदेशका
मुद्दाहरु या त सिंहदरबारको कानसम्म पुगिरहेका छैनन् या सिंहदरबारको कान भित्र पसे
पनि सिंहदरबारले दिनु पर्ने जति महत्व दिइरहेको छैन। मदेसी नेताहरुका कमजोरीहरुका
दुई प्रमुख उदाहरणहरु छन्। पहिलो हो, मदेसको मागहरु पूरा गराउन यहाँका नेताहरु एक
जुट हुन नसक्नु र एकजुट भए पनि त्यस्तो बेलामा हुनु जुन बेलामा मदेसको होइन, आफ्नो
हित पूरा हुने अवस्था सृजना भएको होस। अर्थात यी नेताहरुबाट मदेसको मागको केवल
उपयोग हुनु। उदाहरणका लागि, संविधान सभाको चुनावको बेलामा यी नेताहरु एकजुट भएर
अगाडि बढेको भए, चुनाव लडेको भए, जस्तो कि एमाले वा क्रांग्रेसीहरुले गरे, संविधान
निर्माणको समयमा मदेस मैत्री संविधान बनाउन संस्थापन पक्षलाई दबाब दिन सडक तताउने
आवश्यकता पर्ने थिएन। मदेसी विधायकहरुको पनि संविधानसभामा बाक्लो उपस्थिति हुन
सक्दथ्यो र माग सहज किसिमले पूरा हुने अवस्था सृजना हुन्थ्यो। दोस्रो हो, मदेसी
नेताहरुले आफूलाई राष्ट्रिय स्तरको नेताबाट झारेर क्षेत्रीय स्तरकोमा पुर्याउनु,
आफ्नो साख आफैले कम पार्नु। राष्ट्रिय
राजनीतिमा आफ्नो वजन आफैले हल्का तुल्याउनु। अर्थात आफ्नो भूमिकालाई आफैले संकुचित
तुल्याउँदै जानु। उदाहरणका लागि, महन्त ठाकुर, विजय गच्छेदार, हृदयेश त्रिपाठी,
उपेन्द्र यादव यस्ता नेताहरु हुन जसलाई आम नेपालीहरुले राष्ट्रिय नेताको रुपमा
अनुभूत गरेका थिए। २०४६।४७ सालको आन्दोलन पछि मदेसका आवाजलाई राष्ट्रिय स्तरमा
पुर्याउने क्षमता यी नेताहरुमा देखेका थिए। तर यी नेताहरुले आफूलाई केवल एक जातीय
वा क्षेत्रीय नेताको रुपमा आफ्नै क्रियाकलापहरु द्वारा परिणत गर्दै लगे। नेताहरुको
यस किसिमको लघु दृष्टि (myopia ) ले
गर्दा नै मदेसी जनताको माग बेवारिस हुन त पुगेको छ नै साथै मदेसीको यो माग मदेस
जनताको हित गर्ने भन्दा पनि अन्तरार्ष्ट्रिय सक्तिहरुको सक्तिको खेल खेल्ने
भकुण्डो हुन पुगेको छ।
अहिले, मदेसीहरुको
माग सक्ति राष्ट्रहरुको भकुण्डो बनेर भारत र चीनको शक्ति पर्दशन गर्ने माध्यम हुन
पुगेको छ। भय त अब यो छ कि, यो प्रतिस्पर्धामा विश्वका राष्ट्रहरु मध्ये कुन कुन
राष्ट्र चीन र कुन कुन राष्ट्र भारतको पक्षमा उभिने हुन।
तथाकथित पहाडे र
मदेसी नेताहरुको हठ, अहम् र अदूरदर्शिताले गर्दा कुनै बेला शान्ति क्षेत्रको रुपमा
११२ राष्ट्रहरुबाट मान्यता पाएको नेपाल अब गृह युद्धको चपेटामा फँस्ने हो कि भन्ने
चिंता गर्न थालिएको छ। मदेसी नेताहरुद्वारा संचालित यी रक्तपातपूर्ण आन्दोलनहरुले
सृजना गरेका राष्ट्रिय अन्यौलको स्थितिको फाइदा उठाउँदै भारतले नेपालका
दक्षिणतिरका हरुलाई उचालिरहेको छ भने चीनले उत्तरतिरका हरुलाई। उचालिनेहरु पनि
भोलिको परिणामलाई बिर्सेर भारत र चीन माथि गालिको वर्षा गरिरहेका छन्। अदूरदर्शिता
प्रदर्शन गर्दै कसैले चीनको त कसैले भारतको झण्डा जलाई रहेका छन्। भारतसँग नेपालको
‘बेटी रोटी’ को सम्बन्ध मात्र छैन, हाम्रा पित्रीहरुको श्राद्ध गर्न हामी गया जाने
परम्परा समेत पनि छ। हाम्रा धेरै तिर्थ स्थलहरु भारतमा नै छन्। नेपालमा हिन्दु
संस्कृति रहेसम्म यो परम्परा समाप्त हुनेछैन्। यसै गरी नेपालमा उद्योगको
पूर्वाधारको स्थापना चीनले गरिदिएको हो। कपडा कारखाना, सिमेन्ट कारखाना लगायत अन्य
विभिन्न कारखानाहरु चीनले नै नेपालमा स्थापना गरि दिएको हो। यस्ता तथ्यहरु अहिले
बिर्सेर एकथरिले भारत र अर्कोथरिले चीनलाई गाली गर्नुमा नै राष्ट्रवादीता
देखिरहेको छन्।
अर्को किसिमले
हेर्दा र वर्तमान परिप्रेक्ष्मया मनन गर्दा, मदेस र पहाडको बीचमा विभाजन रेखा
नकोरेर आम नेपालीहरुले बुझ्नु पर्ने कुरा के हो भने न त चीन, न त भारत, दुबैले
आफ्नो मुल स्वार्थ र हित बिर्सेर नेपाललाई सहयोग गर्ने उदारता देखाउने टाढा टाढा
सम्म पनि कुनै सम्भावना देखिंदैन्। दुबै राष्ट्रका आ-आफ्ना निहित स्वार्थहरु छन्। अहिले
चीन एक पक्का व्यापारी देश हो। उसले नेपाललाई आर्थिक लाभहानीको दृष्टिकोणले हर्ने
छ। अर्कोतिर, तिब्वतको मामलामा उसलाई वर्तमान स्थितिमा कुनै पनि शक्ति राष्ट्रले
हल्लाउन सक्ने क्षमता छैन। तिब्वतको लागि उसले नेपालमा निकै पैसा खर्च गर्ने
स्थिति छैन। त्यसकारण, नेपालमा भारतको बिरुद्ध सैन्य सक्ति प्रयोग गर्दा चीनले खर्चको
सम्बन्धमा दस पटक सोंच विचार गर्नेछ। यसै गरी भारत, एशियामा आफू महाशक्ति भएको
व्यवहारद्वारा पुष्टि गर्न चाहन्छ र त्यस कारणले मदेसको मागको निंहुमा नेपालको
आन्तरिक मामिलामा हस्तक्षेत गरेर, नेपाललाई माध्यम बनाएर छिमेकी राष्ट्रहरु-
पाकिस्तान, बंगलादेश, श्रीलंका आदिलाई तर्साउन चाहिरहेको छ। धेरै मेदेसी नेताहरुले
यो रहस्य बुझ्न सकेका छैनन्। बुझेका केही थोरैले आफ्नो स्वार्थको कारण ‘त पनि चुप
म पनि चुप’ को स्थितिमा छन्। आम तराइबासीहरुले त झन पटक्कै बुझेका छैनन् जस्तो छ।
त्यसैले गर्दा यी नेताहरुको भनाइमा लागेर, तराइ बन्द गरेर, आफ्नै क्षेत्रको
विकासको गति उल्टो दिशामा दौडाएर, तराइको प्रगति देखिरहेका छन। सन्तुष्ट देखिएका
छन्। काठमाडौका केही अल्प बुद्धि भएकाहरुले गरेको अपमान जनक व्यवहार (धोती,
मर्ष्य, भैया आदि भनेको) बदला लिएको ठानेका छन्। तर भारतले नेपालमा केवल आफ्नो
स्वार्थ बाहेक केही पनि देखेको छैन्। भारतको ‘ब्युरोक्रेसी’ ले त झन नेपाल आफ्नो
मुलुकको एक भाग हो झै व्यवहार गर्न चाहन्छ, भारत सरकारको दृष्टिकोणलाई अर्कोतिर
पन्छ्याएर भए पनि।
अर्को उदेक लाग्दो
कुरा त के छ भने आम शोषित, पीडीत र गरिब मदेसीहरुको माग एकातिर छ भने मदेसी
नेताहरुको माग अर्कोतिर। आम मदेसीहरुको माग र मदेसी नेताहरुको माग एउटै वृत भित्र
रहेको जस्तो अहिलेको यो स्थितिमा देखिए
पनि दुवै थरिको मागको अवस्थिति भने ३६ जस्तो छ। दुबै थरिको माग दुई तिर मुख
फर्काएर बसेका छन्। सर्लाहीका दिपक मलिकको पीडा (डोम भएको कारणले इनारमा पानी लिन
बंचित गरिएको छ), जसले सिंगो तराइको शोषणको प्रतिनिधित्व गर्छ एकातिर मुख फर्काएर
बसेको छ भने मदेसी नेताहरुका माग, जुन उनीहरुको निहित स्वार्थमा डुबेको छ, ले
अर्कोतिर मुख फर्काएको छ। यो तथ्यको पुष्टि गर्न थप व्याखाहरु आवश्यक नभएको म
देख्दछु। हुन पनि तराइका अधिकार विहीन, आवाज विहिन, शोषित पीडित एवं काठमाडौबाट
अपमानित जनताले समान अधिकार, न्याय र इज्जत खोजेको हो, भूमिको विभाजन खोजेको होइन।
उदाहरणका लागि, सिरहा, सर्लाही, चन्द्रनिगाहपुर लाई दुई चिरमा, नारायणघाटलाई तीन
चिरमा, कैलालीलाई चार चिरमा टुक्रा परिदेउ भनी खोजेका होइन, माग गरेका होइन।
क्षेत्रको चिरफार वा यो विषयसँग गाँसिएका अनेका झमेलाहरु मदेसी नेताहरुले खोजेका
हुन वा सिर्जेका हुन।
त्यस बेलाको,
संयुक्त सुडानको स्थिति पनि करिब करिब नेपालको जस्तो थियो, अहिले तथाकथित रुपमा
मदेस र पहाड मनोवैज्ञानिक रुपमा विभाजित भए झै। त्यसबेलाको संयुक्त सुडानको उत्तरी
क्षेत्रमा अरब मुलका एवं मुस्लिमहरुको वाहुल्यता थियो भने दक्षिण क्षेत्रमा
विभिन्न जातिय समूहरुको वाहुल्यता थियो। उत्तरमा इस्लाम धर्म मान्नेहरुको संख्या
बढी थियो भने दक्षिणमा क्रिस्चियन धर्मको। उतरमा तेल (पेट्रोलियम पदार्थ) का
प्रसोधन केन्द्रहरु थिए भने दक्षिणमा तेलका खानीहरु। उत्तर सुडान र दक्षिण सुडान
बीच कलहका कारणहरु धेरै भएता पनि प्रमुख कारण भने धर्मनै थियो। यी दुई क्षेत्रहरु
बीचमा कहिले मेल हुन सकेन। दुईतिरका नेताहरुले त्यहाँका नागरिकहरुलाई निकै उक्साए
र गृह युद्ध पनि निकै समयसम्म मच्याए। यी दुई क्षेत्रका नागरिकहरु मिलेर बस्न
सक्ने स्थितिको समाप्ति भएपछि सन् २०११ को जुलाई मा सुडान औपचारिक रुपमा विभाजित
भयो। उत्तरी क्षेत्र, ‘सुडान’ कै नाममा रहेयो भने दक्षिणी क्षेत्रले ‘दक्षिणी
सुडान’ को नाम पायो र विश्वमा एउटा अर्को देशको जन्म भयो। यसको नामाकरण गरियो,
दक्षिणी सुडान। विभाजन पछि दुबै सुडानमा शान्ति र स्थिरता कायम हुने कामना गरिएको
थियो तर त्यस्तो हुन सकेन। दक्षिणी सुडान र उत्तरी सुडान बीच युद्ध हुन क्रम अहिले
पनि रोकिएको छैन। मुख्य गरी तेलको विषयलाई लिएर दुई सुडान बीच अनेक पटक साना ठूला
युद्धहरु भइसके र अहिले पनि युद्ध हुने क्रम जारी छ। अर्कोतिर दक्षिणी सुडान, जुन
सुडानबाट छुट्टिएर अर्को राष्ट्र बन्यो, मा रातोरात प्रगति होला भन्ने सोचिएको
थियो। त्यस्तो केही पनि भएन। दक्षिणी सुडानमा गरिबी र हिंसा व्यापक रुपमा बढ्यो।
आफ्नो मुलुक छाडेर विदेशमा सर्णार्थी हुन पुग्नेहरुको भीडमा दक्षिण सुडानीहरुको
लर्को लामो नै छ। लाखौका संख्यामा सुडानीहरु नित्यको कलह र गरिबीले गर्दा मुलुक
छाडेर हिंडेका छन्। धेरैले त अबैध रुपमा लिबियाको नाका प्रयोग गर्दै इटली भएर
युरोपका अन्य मुलुकहरु प्रवेश गर्ने क्रममा बाटोमा नै ज्यान गुमाएका छन्। ‘मेडिटेरेनियन
सि’ भएर त्यसरी ज्यान जोखिममा राखेर यूरोप पुग्न खोज्दा मेडिटेरेनियन सि उनीहरुका
लागि ‘चिहान’ बन्न पुगेको छ। यसरी के देखियो भने,
देश टुक्र्याएर अलग भएर जाने र नया राष्ट्र निर्माण हुने राष्ट्रमा प्रगति
जादुगरी किसिमले हुने रहेन्छ। शान्ति पनि हुने रहेनछ। केवल केही नेताहरुको अहंम
मात्र पूरा हुने रहेछ। विकास र शान्ति हुन्छ भनी सोच्नु भूल हुने रहेछ। नेपालमा
देश टुक्रयाउँछु भन्नेहरुले यो कुराको हेक्का राखे हुन्छ। विशेषगरी नेताहरुले।
अनि जाँदा जाँदै,
मदेसी नेताहरुमा दुरदर्शिताको अभाव रहेको एक अर्को र यसलेखको अन्तिम उदाहरण; आफ्नो
माग पूरा गराउन मदेसी नेताहरुले भारतको सीमा क्षेत्रमा बसेर, भारतको अन्न पात खाएर
यो आन्दोलन चर्काउनुको साटो काठमाडौलाई घरेर, सिंहदरबारलाई छेकेर आन्दोलन चर्काएको
भए, भोलिका दिनहरुमा मागहरु पुरा भएको अवस्था माग पुरा हुनुको स्वामित्व पूर्ण
रुपमा मदेशका नेताहरुमा जाने थियो। भारतलाई सारथी बनाएको अपजसको भारि बोक्नु पर्ने
थिएन। यसैगरी मदेसका नेताहरुलाई लगाइने ‘भारत परस्त’ को बिल्ला पनि उछिट्टिएर भारत
तिर जाने थियो, नेपालतिर आउन पाउने थिएन।
बाँकि के भन्ने? शोषित, पीडित, र विभेदमा
परेका मदेसीहरुको जय होस।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 02, 2015
No comments:
Post a Comment