Wikipedia

Search results

Friday, November 6, 2015

Shouldn't the Public be Held Responsible?-Article-187

दोषी जनता पनि हुनुपर्ने होइन र ?

अहिलेका पुष्पकमल दहाल (द्वन्द्वकालीन प्रचण्ड) को कुनै समयमा टाउकोको मोल पचास लाख तोकिएको थियो, अरे। उनका विरोधीहरू उनको अगाडि त परै जाओस्, पछाडि पनि आलोचन गर्न डराउँथे। तत्कालीन सरकार र सिङगो राज्यका लागि प्रचण्ड डर एवं त्रासको प्रतीक बनेका थिए । प्रचण्ड एवं माओवादीको विरोध गरेको परिणामस्वरूप तत्कालीन माओवादी पीडित सङ्घ (Maoist Victims Association) का अध्यक्ष गणेश चिलुवाल माओवादी हमला (माओवादी भाषामा भौतिक कार्यवाही) मा परी २०६० फागुन ३ गते ज्यान गुमाए। चिलबालको गल्ती केही थियो भने उनले फकत काठमाडौंको रत्नपार्कमा माओवादी–विरोधी जुलुसको नेतृत्व गर्नु। प्रचण्डको विरोध गरेको  भोलि वा पर्सिपल्ट माओवादीद्वारा गणेश चिलुवालको गोली हानी निर्मम किसिमबाट हत्या गरिएको थियो। हिन्दी सिनेमा, शोलेमा गब्बरसिंहसँग पचास–पचास कोस टाढाका बच्चाहरू डराए झैं प्रचण्डद्वारा त्यस बेला राज्यका तत्कालीन संयन्त्रहरू (कर्मचारी, सेना, प्रहरी ) डराउने गर्दथे। त्यस बेला प्रचण्ड सरकारका लागि घृणा र भयको पात्र बनेका थिए। त्यस बेला पनि यिनै काङ्ग्रेसीजन र एमालेका हर्ताकर्ताहरूको हातमा सरकार थियो। त्यो बेलाको प्रचण्ड र अहिलेको प्रचण्ड अन्तर पाठकहरूको अगाडि नै छ। व्याखा गर्नु पर्ला र ?
    तर अहिले बितेको बीस वर्षमा, अनायास सृजित यो अति पछिल्लो नयाँ परिस्थितिमा प्रचण्ड ‘नेशनल हिरो’ भएका छन्। राष्ट्रवादको प्रतीक भएका छन्। राष्ट्रवादको नारा घन्काएबापत उनको विगतको सारा पाप पखालिएको छ। भारतसँग पंगा लिन सक्ने क्षमता भएका एक राष्ट्रवादी, दूरदर्शी, प्रखर एवं निर्भीक नेताको रूपमा अहिले आम नेपालीहरूले उनलाई हेरिरहेका छन् । प्रचण्डको यो नयाँ रूप परिवर्तनले उनको राजनैतिक चतुराइलाई उजागर त गर्छ नै, साथै नेपाली जनताको दयनीय राजनैतिक चेतनालाई पनि उदाङग पारिदिन्छ। नेपालमा कुनै पनि नेताको दैत्यीकरण र देवीकरण गर्न नेपाली जनता कति आतुर हुन्छ भन्ने कुरा पनि प्रस्ट पारिदिन्छ। केवल कुनै एउटा मुद्दालाई मात्र आधार मानेर नेताहरू प्रति नेपाली जनताको मत रातभरिमा यताको उता हुने गर्दछ, त्यो पनि वायुवेगमा।
    प्रचण्डलाई यो स्थितिमा पुर्‍याउनमा मधेसी नेताहरूको भने ठूलो हात छ। यदि मधेसी नेताहरूले मधेसीहरूको हित र अधिकारका लागि भन्दै चर्काएको आन्दोलनमा भारतको साथ र सहयोग छ भनेर उनीहरू स्वयंले नै नभनेको भए, सीमा क्षेत्रहरू धर्नाद्वारा अवरोध नपुर्‍याएको भए, प्रचण्ड यसरी चर्चामा आउने थिएनन्। भारत सरकारको द्वैध चरित्र (ओली नेतृत्वको सरकार र मधेसी दलहरू, दुवैथरीलाई भारतले समर्थन गर्नु) ले पनि प्रचण्डलाई राष्ट्रिय नायक हुन सहयोग पुर्‍याएको छ, जबकि फुटेको आफ्नो पार्टी (बादल र किरण छुट्टिएर गएपछि) को केवल एक सानो टुक्राको नेतृत्व लिएर बसेका प्रचण्ड, त्यो विग्रहको कारण, हतास मनस्थितिमा पुगिसकेका थिए। र सानो त्यो टुक्राबाट पनि बाबुराम छुट्टिएर गएपछि भने उनी त झन् एकलिएर राजनीतिक जीवनको ठूलो खाडलको डिलमा उभिसकेका थिए । तर मधेस आन्दोलनले भने प्रचण्डलाई रातोरात ‘राष्ट्रिय नायक’ बनाइदिएको छ। मधेसी दलहरूलाई भारतपरस्त, अनि भारतलाई नेपालको शत्रु देखाएर प्रचण्ड ठूलो राष्टवादी हुन पुगेका छन् । विगतमा गरेका आफ्ना रक्तपातपूर्ण क्रियाकलापहरूलाई भारत विरोधी बनेको पानीले पखालिदिएका छन्। नेपाली राजनीतिमा जनताको यो अति अदूरदर्शी व्यवहार प्रदर्शित गर्ने विशेषताले गर्दा नै नेपालमा एकातिर प्रजातन्त्र स्थिर हुन सकेको छैन भने अर्कोतिर आर्थिक विकास र राष्ट्रियता दुवै कमजोर भएर गएको छ। साथै नेताहरूलाई जनता ठगी–उद्योग (राजनीति) बढी नाफामा सञ्चालन गर्न निकै सजिलो पनि भएको छ।
    मधेस आन्दोलनको प्रारम्भको समयमा जब त्यस आन्दोलनको मोर्चाको नेतृव प्रचण्डले गरेका थिए, प्रचण्ड मधेसी नेताहरूका लागि सहयोद्धा बनेका थिए, आशाको केन्द्रबिन्दु बनेका थिए। ईश्वरको रूपमा प्रकट भएका थिए। तर अहिले तिनै सहयोगी, तिनै सहयोद्धा मधेसी नेताहरूको आँखामा पसेको कङकड हुन पुगेका छन्। यस्तै स्थिति विजयकुमार गच्छेदारको नेतृत्व–व्यवहारमा पनि देखियो । गच्छेदारबारे थप भन्नुपर्ने दरकार छैन जस्तो लाग्छ। मधेस आन्दोलनको सन्दर्भमा, मधेसीहरूलाई हक अधिकार दिन लगाउने कार्यमा, उनको भूमिका के कस्तो रहयो मधेसी जनता र नेताहरूले मूल्याङकन गर्ने कुरा हो। तर कुनै बेला मधेसी जनताको मुक्तिदाताको रूपमा गच्छेदार मधेसमा अवतरित भएका थिए।
    २०४६–४७ को आन्दोलनताका र पछि पनि, धेरै व्यक्तिले कमल थापाको राजनैतिक जीवन समाप्त भयो भनी भन्दै हिंडेका थिए। र त्यस्तो केही हदसम्म देखियो पनि। तर त्यो आन्दोलनको पूर्वाद्ध र उत्तर्राद्धमा पनि कमल थापा शक्ति केन्द्रको वरिपरि रहेको तथ्य कसैबाट लुकेको छैन। शक्ति किनबेच हुने नेपालको तातो राजनैतिक बजारमा अहिले पनि कमल थापा एक निर्णायक शक्तिको रूपमा रहेका छन्। वर्तमान सरकारमा उपप्रधान एवं विदेशमन्त्री भएका छन्। पञ्चायतको अवसानसँगै फूलझै ओइलाएका कुनै समयका कमल थापा अहिले थप चर्चा (भारत भ्रमणले गर्दा) मा छन्। २०६३ सालमा उनी गृहमन्त्री भएपछि उनको सफलताको यात्रा सहज हुँदै गयो। अहिले थापा राष्ट्रवादका कट्टर हिमायती भएका छन्। उनले बेच्ने राजनीतिको तातो केक पनि राष्ट्रवाद नै हो। नेपाली जनताले छिटै कसैलाई दैत्यीकरणबाट देवीकरण गरिदिने, कमल थापाको राजनतिक प्रगति, अर्को एक ज्वलन्त उदाहरण हो ।
    कम्युनिस्ट, एमाले र पछि माओवादी पृष्ठभूमि रहेको भनी चर्चित उपेन्द्र यादव, माओवादी सङगठनको नजिक हुँदासम्म पनि राष्ट्रिय राजनीतिको छेउसम्म पनि पुगेका थिएनन्। चर्चामा पनि थिएनन्।  तर जब उनले क्षेत्रीय राजनीतिमा सक्रियतापूर्वक प्रवेश गरे, मधेसी मुद्दा उचाल्न आरम्भ गरे, मधेसीहरूको दु:ख पीडा आफूले मात्र सिंहदरबारसम्म पुर्‍याउन सक्ने हैसियत राख्ने प्रचार गर्न थाले, जब नियतवश काठमाडौले मधेसीहरूलाई सम्मान र अधिकार नदिएको भन्दै हिंड्न थाले, उनी  राष्ट्रिय राजनीतिको खेल परिवर्तनकर्ता (न्बmभ अजबलनभच) को रूपमा उदाए। २०४८ सालको चुनावमा नेकपा (एमाले) ले यादवलाई सुनसरीको ४ नम्बर क्षेत्रको उम्मेदवार बनाउँदासम्म उनी चर्चामा थिएनन्। त्यो चुनावमा उनी पराजित भएका थिए। तर पछिल्लो समयमा तराईको जनताले यादवको देवीकरण गर्न ठूलो उदारता मात्र देखाएन, उनले ल्याएका एजेन्टामा पनि सक्रियतापूर्वक भाग लियो। २०५४ सालमा गठन भएको मधेसी जन अधिकार फोरममा यादव २०५६ सालमा (माओवादी सङगठन परित्याग गरी ?) प्रवेश गरेपछि, कालान्तरमा उनले आफ्नो भूमिका त्यस सङगठनमा बढाउँदै लगे। मधेसी राजनीतिमा चर्चित र स्थापित हुँदै गए। उनको चर्चाको उज्यालोले मधेसका प्रभावशाली नेताहरूलाई पनि फोरममा प्रवेश गर्न आकर्षित गरायो। अहिले मधेसी जनताले कुनै बेला ओझलमा परेका मधेसी नेताहरूको देवीकरण गरिदिएका छन्। तर यो देवीकरण कहिलेसम्म रहने ? यो कुरा न तराईको जनता, न नेताहरूलाई थाहा छ। भारतीय राजनीतिको खेल परिवर्तनकर्ता साउथ ब्लकले आफ्नो स्वार्थ पूर्तिका लागि मधेसी नेताहरूलाई समर्थन गर्न छाडेर संस्थापन पक्ष (ओली सरकार) लाई समर्थन गर्न आरम्भ गरेपछि मधेसी आन्दोलन खटाइमा त पर्छ नै, मधेसी नेताहरूको बढेको शाख पनि, पानीमाथि उठेको बुल्बुलाझैं फुट्ने छ। त्यस बेला मधेसी नेताहरूलाई जनताले दिएको देवरूप जोगाउन धौ–धौ पर्नेछ। सभामुखमा ओनसरी घर्तीमगर र राष्ट्रपतिमा विद्या भण्डारीको निर्वाचनले स्थापन पक्ष बलियो हुँदै गएकोले साउथ ब्लकले अब मधेसी होइन, ओली सरकारसँग मित्रता बढाउने सम्भावना बढेको छ। राजनीतिको खेलमा भावी घटनाले कुन मोड लिन्छ भन्न सकिंंदैन।
    नेपाली जनताले नेताहरूलाई देवरूपमा पुर्‍याएर फेरि तत्काल झारेको उदाहरण थुप्रै छ। कुनै बेला गिरिजाप्रसाद कोइरालाई शान्तिको लागि नोबेल पुरस्कारको वकालत गर्नेहरू नै पछि नेपालको राजनीतिलाई यस्तो कमजोर तुल्याउने कोइराला नै हुन् भनी दोषारोपण गरेका थिए। राजनीतिको जोड घटाउलाई चतुराइपूर्वक उपयोग गरी जहिले पनि सत्तामा रहन सफल रहेका कुनै समयमा मधेसमा नै  अति आलोचित राजेन्द्र महतो अहिले तराईको जनताद्वारा नै देव रूपान्तरित भएका छन्।
    त्यस कारण नेपालको राजनीतिलाई अनिश्चित, अस्थिर र स्वार्थमूखी बनाउन केवल नेताहरूको मात्र हात छैन। कुनै नेताको छिटै देवीकरण र कुनै नेताको छिटै दानवीकरण गरेर नेपालको राजनीतिलाई अनिश्चित र उधो दिशामा पुर्‍याउन सक्रिय भूमिका खेल्ने जनताको पनि हात छ। अब यो भन्नुपर्ने समय आएको छ कि नेपालको राजनीतिलाई दिशाहीन र अनिश्चित तुल्याउन नेताहरूको मात्र होइन, जनताको पनि अहम् भूमिका छ।  

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, November 06, 2016

No comments:

Post a Comment