Wikipedia

Search results

Saturday, December 10, 2016

Basis of Getting Literary Awards: A Review Part 4 (Last)

नेपालमा कृति वा कृतिकार उत्कृष्ट भनी निर्धारण गरिने केही आधारहरू

८ पुरस्कार दिन निर्णय गर्ने निर्णयकर्ताहरूले सम्पूर्ण पाठकहरूको मनोभावलाई प्रतिनिधित्व गर्दैन:

नेपाली साहित्यिक जगत्मा रहेको एउटा अर्को विडम्वनामाथि चर्चा गरौ। पूर्वमा चर्चा गरिए अनुसार कुनै एक कृति वा कृतिकारले पुरस्कार पाउने वित्तिकै उक्त कृति वा कृतिकारको चर्चा र लोकप्रियता नेपाली “पुस्तक बजार” मा ह्वातै बढेर जान्छ। पुरस्कार पाउने कृतिकारको बारेमा अनेक प्रशंसा सहित अन्गिन्ति लेखहरू लेखिन थाल्छन, प्रकाशित हुन थाल्छन। कृतिकारका अन्तर्वार्ताका जुलुसहरू पत्र पत्रिका, रेडियो, टिभीहरू देखिन थाल्छन। पुरस्कृत कृतकारलाई विभिन्न कार्यक्रममा प्रमुख वा विशेष अतिथि बनाउने सिलासिल जोडतोडका साथ शुरू हुन्छ। त्यसपछि शुरू हुन्छ, पुरस्कृत कृतिकारको कृति पढे, अति मन पर्यो, गज्जबको प्रस्तुति भन्दै ‘फेसबुक’ को भित्ता-भर्ने कार्य। पुरस्कृत कृतिकारको कृति पढ्नु विशेष इज्जतमा रुपान्तरित हुन पुग्छ। कतिपय पढे, अति मन पर्यो भन्नेहरूले यथार्थमा पुरस्कृत कृति पढेका पनि हुँदैनन्। केवल आफूलाई पृथक (अध्ययनशील) वा खास देखाउनका लागि पनि पढे भनी उल्लेख गरेका हुन्छन। यो कस्तो विडम्बना?
कृतिभित्र के कस्ता विषयहरू छन् भन्ने कुरा थाहा नपाएर पनि केवल चर्चाको भरमा पाठकहरूले त्यो कृति जोडतोडले खरिद गर्न आरम्भ गर्छन। तर सिक्काको अर्को पाटो पनि हेर्यौ। कुनै पनि पुरस्कार दिने समूह वा संस्थामा दुई वा सो भन्दा बढी पुरस्कार दिने भनी निर्णय गर्ने निर्णयकर्ताहरू हुन सक्छन। अनि उक्त पुरस्कार दिने संस्थामा “पुरस्कार पाउँ” भनी एक सय कृतिहरू प्रस्तुत भएका हुन सक्छन। अब मानौ, यदि पुरस्कार दिने भनी निर्णय गर्ने संस्थमा चार जना निर्णयकर्ताहरू छन् र तिनीहरूले “२०७४ सालको लागि यो कृति उत्कृष्ट” र “यो कृतिलाई पुरस्कार दिने” भनेर निर्णय गरे रे। अब प्रश्न उठ्छ, ती चार जनाले निर्णय गरेको भरमा एक सय पुस्तक मध्ये त्यो एउटा पुस्तक उत्कृष्ट र बाँकि उनान्सय कृतिहरू सामान्य वा अर्थहिन हुने हो त? नेपालको सन्दर्भमा, ती चार जना निर्णय कर्ता (पुरस्कार दिने भनी निर्णय गर्ने व्यक्तिहरू) ले तीन करोड नेपाली पाठकहरुको रुचिको प्रतिनिधित्व गर्छन त? चार जना निर्णयकर्ताले कुनै खास कृति राम्रो छ भनेको भरमा अरूले पनि त्यो कृति राम्रो छ भनी मान्नु पर्ने? अति त्यो कृति राम्रो मानेर पढ्नु पर्ने? अझै, कुनै संस्थामा म त केवल एक वा दुई जनाले यो कृतिको कृतिकारलाई पुरस्कार दिने भनी घोषणा गर्ने गर्छन्। के त्यसरी केवल दुई जनाले गरेको मूल्यांकनलाई आधार मान्दै, हामीले पनि उनीहरूको मूल्यांलनलाई उत्कृष्टताको मानक मान्दै सो कृति पढ्ने?
नेपालमा पुरस्कृत कृतिहरू मात्र उत्कृष्ट हुन्छन भन्ने आम धारणा रहेको हुनाले यो प्रशंग कोट्याएको हुँ। यसको अन्यथा अर्थ नलगाइयोस।
तर दु:ख लाग्दो यथार्थ के पनि छ भने केवल पुरस्कृत कृतिलाई राम्रो मान्ने चलन नेपाली साहित्य जगतमा ज्यादै बलियो गरी स्थापित छ।
अफगान मुलका अमेरिकी नागरिक खालिद हुसेनीद्वारा लिखित उपन्यास “द काइट रनर” जुन नौलो वा बाहिरी दुनियाका सामन्य पाठकहरूले थाहा नपाएका विषयहरूमा आधारति रहेर लेखिएको छ, कुनै समयमा अति नै चर्चामा थियो। अहिले पनि उत्तिकै चर्चामा छ। चर्चामा कमी आएको छैन्। ‘रिभरहेड बुक्स’ द्वारा सन् २००३ मा प्रकाशित यो पुस्तक अमेरिकामा मात्र ७० लाखप्रति बिक्री भइसकेको छ। अफगानी राजसंस्था (जहिर शाह) को पतन, तत्कालीन सोभियत रूसको अफगानिस्तानमा सैनिक हस्तक्षेप, पाकिस्तान र संयुक्त राज्य अमेरिकामा अफगान शर्णार्थीहरूको ओइरो र क्रुर तालिबानी शासकहरूको उदय जस्ता समयलाई पृष्ठभूमि बनाएर लेखिएको यो पुस्तकले ती कालमहरूमा अफगानीस्तानमा भएका उथल पुथलको स्थितिलाई यथार्थ किसिमले दर्शाएको छ।
विभिन्न विषयका पुस्तकहरू पढ्ने रुचि अमेरिकीहरूमा नभएको भए, अफगानिस्तानको विषय-वस्तुमा, अफगानीमुलका व्यक्तिद्वारा लेखिएको यस किसिमको पुस्तक लगभग एक करोडको संख्यामा बिक्री हुने थिएन। संसारभरिमा हुने अनेक किसिमका घटना, विचार, समस्या आदिमा लेखिएका पुस्तकहरू अमेरिकीहरू रूचिका साथ किनेर पढ्छन।   
पश्चिममा वा विकसित मुलुकहरूमा केवल पुरस्कृत कृतिलाई मात्र राम्रो मानेर पढ्ने चलन छैन। सबै किसिमका कृति वा पुस्तकहरू पढ्ने चलन छ। यस क्षेत्रका पाठकहरूले कृतिकारको कृतिमा नौलो कुरा खोज्छन्, रोचक कुरा खोज्छन, मौलिक कुरा खोज्छन। इतिहास, भुगोल, राजनीति, संस्कृति, दर्शन, धर्म आदि आदिमा लेखिएका सर्वाधिक नौलो कुराहरूको खोजि गर्छन।
तर सर्वाधिक महत्वपूर्ण कुरा हो, पाठकको रुचि र मनोविज्ञान। अमेरिकामा व्यक्तिहरू अति नै पढ्ने गर्छन। अमेरिकीहरू नौलो वा रोचक विषयमा लेखिएका पुस्तक खोजी खोजी पढ्छन्। पुस्तक पढ्ने केवल एउटा ढर्रा मात्र छैन। इतिहास, भूगोल, साहित्य, मनोविज्ञान, स्वास्थ, कल्नरी, तरकारी खेति, बागवानी, शिशु स्यहार, गर्वाअवस्थामा स्याहार, आदि आदि विषयमा लेखिएका विभिन्न पुस्तक खोजि खोजि पढ्छन्।
कसै कसैको त पढ्ने बानी नै जस्तो हुन्छ र बडो रुचिका साथ पढ्छन्। र यहाँसम्म कि कतिपय पुस्तक पसलमा लामो समयसम्म बसेर पढ्न कै लागि भनेर मेच वा सोफहरू राखिएका हुन्छन। अमेरिकामा हरेक साना ठूला सहर वा गाउँ (नगर) मा पुस्तकालय हुन्छ नै। यसैगरी “इ-बुक” वा “किन्डल” नै लिएर हिंड्छन र बाटो वा यात्रामा पढ्न रुचाउँछन, अमेरिकीहरू।
कुनै किताब वा कृतिलाई लोकप्रिय तुल्याउनमा पाठकहरूमा विविध क्षेत्रहरूमा लेखिएका कृतिहरू पढ्ने रुचि हुन नितान्त आवश्यक छ।

र निष्कर्षमा, पुरस्कार पाउनु मात्र कुनै कृति उत्कृष्ट हुनका लागि मानक होइन। पुरस्कार पाउँदैमा कुनै कृति उत्कृष्ट छ भन्नु अन्य कृतिकारहरू माथि अन्याय हो। चार जना (पुरस्कार दिने व्यक्तिहरू) ले कुनै कृति राम्रो वा उत्कृष्ट छ भन्दैमा त्यो कृति कदापि पनि उत्कृष्ट हुँदैन।

यस श्रृङ्खलाको अन्तिम भाग

(c) विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Saturday, December 10, 2016

No comments:

Post a Comment