क्युबा: क्यास्ट्रोले गरिब बनाएको देश
केही दिन पहिले (२०१६ नोभेम्बर २५ मा) दिवंगत भएका क्युवाका भूतपूर्व
राष्ट्राध्यक्ष फिडेल क्यास्ट्रोको मृत्युको समाचारले नेपालमा निकै चर्चा पाएता
पनि पश्चिमी जगत्मा भने यो समाचारले खासै महत्व पाउन सकेन। सञ्चार माध्यमहरूमा
औपचारिक किसिमका समाचारहरू आए, गए पनि। नेपालमा कम्युनिष्टहरूको प्रभाव बढी भएर हो
कि विश्वले एक महान नेता गुमाएको झै गरेर क्यास्ट्रोको निधनको खबरलाई अति
महत्वपूर्ण समाचारको रूपमा विभिन्न माध्यमहरूमा सम्प्रेषण गरिएको पाइयो। हुन त एक
नेताको दु:खान्त मृत्युको खबर सम्प्रेषण हुनु राम्रो हो। त्यस्तो हुनु पनि पर्दछ।
तर उनलालई जुन किसिमले महान बनाउने कार्य भयो त्यो भने आवश्यक थिएन। क्यास्ट्रोलाई
महान नेता भन्नु भन्दा पहिले उनले क्युबामा पचास वर्षसम्म निरंकुश शासन गरे भन्ने
यथार्थ स्मरण गर्न आवश्यक छ। उनको कार्यकालमा मानव अधिकार हननका घटनाहरू स्मरण
गर्न आवश्यक छ। नेपालमा छिटै कसैलाई देवत्वकरण गर्ने र कसैलाइ छिटै दानवत्वकरण
गर्ने चलन नया होइन।
विदेशमा बसोबास गरिरहेका क्युबालीहरूले पनि आफ्नो एक महान नेताको
देहावसान भएको रुपमा लिएनन्। क्युवा भित्र पनि अपेक्षा गरिए भन्दा कम व्यकिहरूले
गहिरो शोक व्यक्त गरे। क्यास्ट्रोको निरंकुश शासनबाट उन्मुक्ति पाउन विदेशमा र खास
गरी सं रा अमेरिकामा बसोबास गरिरहेका केही व्यक्तिहरूले उनको मृत्युको खबरप्रति प्रतिक्रिया दिंदै भने
“क्युबामा अब आर्थिक विकासको सुरुवात र मानव अधिकारको स्थितिमा सुधार आउने आशा
गर्न सकिन्छ।” क्युबा अब स्वतन्त्रतातर्फ उन्मुख हुनेछ भन्नेहरू पनि धेरै थिए।
“जसको कारण हामी विदेशमा निर्वासित जीवन बाँच्न बाध्य भएका थियो उसको मृत्युले
हामी स्वदेश फर्कने सम्भावना बढेर गएको छ” भन्नेहरू पनि कम थिएनन्। अमेरिकाको
फ्लोरिडा राज्यमा ठूलो संख्यामा आप्रवासी क्युबालीहरू बसोबास गर्छन्।
५० वर्ष (सन् २०५९-२००८) सम्म क्युबामा शासन गरेका क्यास्ट्रोले
धेरैको मन जित्न सकेनन। पचास वर्षसम्म ‘काउन्सिल अफ स्टेट’ र ‘काउन्सिल अफ
मिनिष्टर’ भएर सरकार प्रमुख र राष्ट्र पमुख दुबै पदमा आसिन रहेका क्यास्ट्रोले ती
पदमा आउन एक पटक पनि स्वतन्त्रतापूर्वक चुनाव गराएनन। लोकतान्त्रिक निर्वाचन बिधि
प्रयोग गरेनन। केवल मनोनित हुँदै सर्वोच्च पदमा रहे। एकछत्र शासन गरे।
कम्युनिष्टहरूको प्रमुख विषेशतालाई कायम गरे।
निरंकुश शासन प्रणालीका लागि विवादमा रहेका क्यास्ट्रोको निजी जीवन
पनि विवादित नै रह्यो। उनको वहु स्त्रीगामी (Womanizing) स्वभाव क्युवाको
सञ्चार व्यवस्थामा सरकारको कडा नियन्त्रण भएको कारणले गर्दा बाहिर आउन पाएन। क्युबामा,
धैरैको कान भित्र पुगेता पनि मुख बाहिर भने त्यो भेद आउन सकेन। कानूनी रूपमा दुई
महिलासँग उनको विवाह भएता पनि “भित्रिनी” हरू धेरै थिए। उनका दुई अवैध सन्तानहरू
अहिले सं रा अमेरिकामा बसोबास गर्छन। उनकी बहिनी ओनिता पनि अमेरिकामा नै बसोबास
गर्छिन। यौनको मामिलामा कम्युनिष्ट नेताहरू विवादित र चर्चित रहँदै आएको नौलो कुरा
भने होइन। कम्युनिष्ट व्यवस्थाले नै उनीहरूलाई त्यस्तो हुन सघाउ पुर्याउँछ।
उदाहरण, नेपालमा पनि यस्ता घटनाहरू धरै देख्न सकिन्छ।
क्यास्ट्रो राजनैतिक कारणले भन्दा आर्थिक कारणले भने अति नै आलोचित र
विवादित रहे। उनको शासन कालमा क्युवाको आर्थिक स्थित दुरावस्थामा पुग्यो।
क्युवालाई यदि कफि, सिगार र चीनीको व्यापारले सहयोग नगरेको भए यो देशको स्थिति
अफ्रिकाको कुनै अति निर्धन राष्ट्र जस्तो हुन्थ्यो होला। यसैगरी तत्कालीन सोभियत
रूसले आर्थिक सहयोग नगरेको भए क्युबाली झनै समस्याग्रस्त हुन्थे होला। रूसले
क्युबालाई धेरै आर्थिक सहयोग गर्यो।
क्युबामा आर्थिक विकासको अनेक सम्भावनाहरू नभएका होइन। कफि, आलु,
चामल, चीनी, सूर्ति र फलफुलको उत्पादनमा यो देश धेरै अगाडि छ। खास गुणको सूर्ति र
सिगार उत्पादनमा संसारभरिमा नै एक नम्बरमा छ। र सर्वाधिक महत्वपूर्ण कुरा त
संसारकै सबैभन्दा ठूलो अर्थ व्यवस्था, सं रा अमेरिका, क्युबाबाट केवल ३३० माइल
मात्र टाढा छ। भौगोलिक रूपमा, मेक्सिको, क्यानाडा गरी अमेरिकाका दश नजिकका छिमेकीहरूमा
क्युबा सातौ नजिकको छिमेकी हो। भौगोलिक रूपमा यति अनुकूल (नजिक) हुँदा हँदै पनि
क्युबाले धनी अमेरिकी बजारबाट फाइदा उठाउन सकेन। क्यास्ट्रोको “बन्द अर्थ नीति” ले
क्युबालीहरूलाई बाहिरी विश्व कस्तो छ भनेर हेर्न दिएन। सन् २००८ भन्दा पहिले सम्म,
क्यास्ट्रोको भाइ राउल क्यास्ट्रो सत्ताम आउनु भन्दा पहिलेसम्म पनि, अमेरिकाको
आर्थिक प्रगतिबाट फाइदा लिनुको साटो फिडेल क्यास्ट्रोले अमेरिकालाई गाली मात्र
गरिरहे। बरू नजिकको अर्को छिमेकी मेक्सिकोले अमेरिकाको आर्थिक समृद्धिको निकै
फाइदा उठायो, अहिले पनि उठाइ रहेको छ। मेक्सिको, अमेरिका र क्यानाडा मिलेर एक साझा
बजार (NAFTA-North American Free Trade Agreement/1994) को स्थापना गरेका
छन्। अमेरिकाले मेक्सिकोमा निर्यात गरे भन्दा बढी आयात गर्छ। सन् २०१५ मा
अमेरिकाले मेक्सिकोमा २३६ बिलियन डलर बराबर सामानहरू निर्यात गरेको थियो भने २९५
बिलियन डलर बराबर आयात गरेको थियो। अमेरिकाबाट ठूलो मात्रामा मेक्सिको तर्फ
रेमिट्यान्स जान्छ। यस बाहेक बैध र अबैध तरिकाबाट अमेरिका पसेर रोजगार र व्यापार
गर्ने मेक्सिकनहरूको संख्या हजार होइन लाखौं छ। अमेरिकासँगको निकटताले गर्दा नै
मेक्सिकोले यति अर्थिक प्रगति गर्न सकेको
हो। लागु औषधका बादसाह (Drug Lords) हरूको नियन्त्रणमा
रहेको मेक्सिको , अमेरिकाको नजिक नभएको भए, अमेरिकासँग सुमधुर
सम्बन्ध न भएको भए, आज कुन स्थितिमा हुने थियो होला, भन्न गार्हो छ। अमेरिका र
क्यानाडा पछि, मेक्सिको दक्षिण अमेरिकाको सबै भन्दा ठूलो अर्थ व्यवस्था हो। मेक्सिकोले
अमेरिकाबाट आर्थिक फाइदा लिए जस्तो क्युबाले लिन सकेन बरू सँधै भरि बक्र दृष्टिले
अमेरिकालाई हेर्यो मात्र। अमेरिका र बाँकि विश्वलाई हेर्ने फिडेल क्यास्ट्रोको
‘बक्र दृष्टि’ ले गर्दा नै क्युवा आर्थिक रुपमा बलियो हुन सकेन, अनेक
सम्भावनाहरूको बाबजुत पनि। अहिले पनि क्युवाबमा व्यापक गरिबी छ। यसरी एक साधन
सम्पन्न राष्ट्रलाई गरिब तुल्याउनमा क्यास्ट्रोको ठूलो हात छ। उनको निरंकुश शासन
व्यवस्थाले उनलाई लामो समयसम्म सत्ताको कुर्सीमा राख्यो तर क्युबाका जनतालाई भने
गरिब तुल्यायो। क्युवालाई निर्धन पार्यो। विश्वभरिका कम्युनिष्टहरूले उनलाई महान
नेता भनेता पनि।
सन् २००८ तिर फिडेल क्यास्ट्रो अति नै बिरामी हुन थाले पछि उनले सत्ता
हस्तान्तरण आफ्नो भाइ राउल क्यास्ट्रोलाई गरे। राउल आफ्नो दाजु भन्दा केही उदार
रहेको र क्युबा झन झन गरिब हुँदै गएकोले उनले क्युबामा केही सुधार गर्ने संकेतहरू
दिए। सुधार गर्न बाध्य भए पनि। र पछि केही सुधारका कार्यक्रमहरूको घोषणा पनि गरे।
अमेरिकासँगको सम्बन्ध सुधारमा चाँसो देखाए। क्युबामा पचास वर्ष पछि, पहिलो पटक अमेरिकी
दूतावास स्थापना गर्ने अनुमति सन् २०१५मा दिए। अर्कोतिर अमेरिकी राष्ट्रपति बाराक ओबामाले
पनि क्युबासँग रहेको “अमिलो सम्बन्ध” सुधारमा सुभेच्छा देखाए। सन् २००८ पछि, अहिले,
क्युबामा ठूलो मात्रामा अमेरिकाबाट गएको रेमिट्यान्स पुगिरहेको छ। सन् २०१५ मा
क्युबामा अमेरिकाबाट ३,३५४.१ मिलियन डलर रेमिट्यान्स पठाइएको थियो।
राउल क्यास्ट्रोले सुधारका कार्यक्रमहरू नल्याएको भए, दाजु फिडेल क्यास्ट्रो जस्तो
आर्थिक नीति अबलम्वन गरेको भए, क्युबाको आर्थिक हालत तेलको भाउ घटेर भनेज्युएलाको जस्तो
जर्जर हुने थियो। अहिले लैटिन अमेरिकन देशहरूमा बढी रेमिट्यान्स भित्र्याउनेमा
क्युबा पनि एक पर्छ।
केलव १ करोड १२ लाख ३९ हजार जनसंख्या (सन् २०१५) भएको क्युबाको प्रति
व्यक्ति आय अमेरिकी डलरमा ७, २७४ (सन् २०१४)
छ भने ११ करोड ९५ लाख ३० हजार (सन् २०१५) जनसंख्या भएको मेक्सिकोको प्रति व्यक्ति
आय अमेरिकी डलरमा १० हजार १७४ (सन् २०१५) छ। यसबाट पनि क्युबाको गरिबीको अन्दाज
गर्न सकिन्छ।
क्युबालाई जसरी
फिडेल क्यास्ट्रोको निरंकुशस कम्युनिष्ट व्यवस्थाले गरिब पार्यो त्यसै गरी
नेपाललाई पनि जडसुत्रवादी वा अव्यवहारिक कम्युनिष्टहरूको नीतिले गरिब पार्यो र
अहिले पनि गरिब पार्ने कार्य गरि रहेको छ। नेपाललाई गरिब तुल्याउनमा नेपालका कम्युनिष्टहरूको
ठूलो हात छ। अझै, माओवादीहरूले त भरखर फुल्न थालेको नेपालको अर्थ व्यवस्थाको
मुन्टो नै भाँच्ने काम गरे। दस वर्षसम्म अनेक किसिमका आतंकहरू मच्चाएर, भौतिक
संरचनाहरू नष्ट पारेर माओवादीहरूले आर्थिक विकास हुने वातावरण नै नष्ट पारे।
माओवादीको कारणले गर्दा (भारतको पहलमा भएको एघार बंदे सम्झौताले गर्दा) नै नेपालको
आर्थिक स्थिति झन झन कमजोर हुन थाल्यो। नेपाल भारतको एक बलियो बजारको रूपमा
रुपान्तरित हुन थाल्यो। नेपालको आन्तरिक उत्पादन घट्ने क्रम प्रारम्भ भयो। क्रमश:
नेपालले एक स्वतन्त्र र बलियो बजारको स्थिति अति भारतीय प्रभावले गर्दा गुमाउँदै
गयो। अहिले नेपाल भारतको एक बलियो प्रान्तीय बजार हुँदै गएको छ। एक दिन मात्र पनि
भारतबाट नेपालतर्फ सामान आउन रोकिने हो भने नेपाल बिना पेट्रोलको कार जस्तै स्थिर
हुन पुग्छ। नेपाललाई यो स्थितिमा ल्याउनमा माओवादीहरू ठूलो हात छ। उनीहरूले भारतको
प्रभाव नेपालमा बढाउनमा खास भूमिका खेले। प्रम पुष्पकमल दहाल अहिले पनि भारतलाई
खुस पार्नमा व्यस्त छन्।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 16, 2016
No comments:
Post a Comment