नेताहरू नै गरिबीको प्रमुख कारण
अहिलेसम्मको मेरो धारणाले कुनै पनि देशमा गरिबी हुनुको प्रमुख कारण
त्यस देशमा श्रोत र साधनहरूको कमी हुनुलाई मान्दै आएको थियो। तर मेरो यो धारणा गलत
रहेछ। मेरो नया धारणाले भन्छ कुनै पनि देश गरिब हुनुमा त्यस देशका नेताहरू जिम्मेवार
हुन्छन, उनीहरू नै राष्ट्रिय- गरिबीका प्रमुख कारण हुन। र अहिलेको यो विश्वमा
गरिबीको कारणप्रतिको धारणा अन्य सामान्य व्यक्तिहरूको पनि यो नै हुनु पर्छ। र
त्यस्तो भन्नका लागि यथेष्ठ आधार र प्रमाणहरू छन्।
एउटा नेताको घमण्डको कारणले अनेक व्यक्तिहरूको रोजगार समाप्त हुन्छ।
अनेक व्यक्तिहरू घरवार-विहीन हुन पुग्छन। निर्धन हुन पुग्छन। यति मात्र होइन, नागरिकहरू राष्ट्र विहीन नै हुन
पुग्छन। यस कुराको उदाहरण खोज्न धेरै पर पुग्नु पनि पर्दैन। नेपालको छिमेकी
राष्ट्र भुटानको स्थिति हेरे हुन्छ। निर्वासनमा रहेका नेपाली मूलका भुटानीहरूको
जीवन कति कठिन छ, हेरे हुन्छ। अहिलेका
भुटानी राजा जिग्मे क्हेसर नामग्यालका पिता वा तत्कालीन राजा जिग्मे सिन्गे
वान्चुकको घमण्ड र दुर्व्यवहारले गर्दा हजारौ नेपाली मुलका भुटानीहरू निर्धन हुन
पुगेका छन्। आफ्नो जमिन, सम्पत्ति र रोजगार गुमाएर नेपालमा शर्णार्थीको जीवन जीउन
बाध्य हुन पुगेका छन। आफ्नो मुलुकमा राम्रो स्थितिमा बसेका ती भुटानीहरू अहिले
परिचयहीन हुन पुगेका छन्, निर्धन हुन पुगेका छन्। केहीले नेपालमा नै शर्णार्थी
बनेर कष्टकर जीवन बिताइ रहेका छन् भने केहीले संसारका अनेक मुलुकमा बाध्यतावस बास
खोज्दै छन्। धेरै भुटानीहरू जो शर्णार्थी बनेर अनेक मुलुकहरूमा पुगेका छन,
विदेशबस्नु उनीहरूको रहर होइन बाध्यता हुन पुगेको छ। सन् १९९० पछि जिग्मे सिन्गे
वान्चुकले नेपाली मूलका भुटानीहरू प्रति गरेको जातीय सफाया (Ethnic Cleansing) ले केही भुटानीहरूको
भूगोल नै बदलियो। पहिचान नै बदलियो। सामान्य स्थितिमा नै भए पनि आफ्नो देशमा
बाचिरहेका अहिले निर्धन हुन पुगे। यो त भयो केवल आर्थिक पक्ष, भावनात्मक पक्ष पनि कम
दर्दनाक छैन। अमेरिकामा बसोबास गरिरहेका एक नेपाली मूलका भुटानी युवकले यस स्तम्भकारलाई
यसरी भनेका थिए, ‘मलाई कसैले भुटानी भनेर सम्वोधन गर्दा दु:ख लाग्छ। म कसरी भुटनी
भएँ? मेरा बाबु आमा भुटानी हुन। उनीहरू शर्णार्थी बनेर नेपाल आए। तर म नेपालमा
जन्मे हुर्के हो। मैले भुटान कस्तो छ भनेर आजसम्म देखेको पनि छैन। म त नेपाली हो।”
उनले थपे, ‘हामी अति दु:खद स्थितिमा बाँचिरहेका छौ। भुटान सरकारले लखेटेर पठायो।
उसले तिमी हाम्रो देशको नागरिक होइन भन्छ। नेपाल, जहाँ जन्मे हुर्के त्यस देशको
सरकारले तिमी नेपाली होइन भुटानी नागरिक हौ भन्छ। अनि हामी कहाँका कुन देशका
नागरिक त?” जिग्मेको अहंकारले गर्दा १ लाख १० हजार जति भुटानी मूलका नेपालीहरू
अहिले परिचय विहीन, घरवारविहीन भएर, शर्णार्थी हुन पुगेका छन्।
दोस्रो उदाहरण मध्यपूर्वको देश सिरियाको लिउँ। सिरियालीहरूले केवल
केही स्वतन्त्रताको माग गर्दै सन् २०११ मा मुलुकको विभिन्न भागहरूमा शान्तिपूर्ण
प्रदर्शन गरेका थिए। त्यस शान्तिपूर्ण प्रदर्शनले देखाएका समस्याहरूको समाधान
खोज्नुको सट्टा राष्ट्रपति बशार अल-असदले कुटनिति होइन बलको प्रयोग गरेर
शान्तिपूर्ण प्रदर्शनलाई बरबर किसिमले दबाउन खोजे। त्येति मात्र होइन, उनको
तानाशाही कार्यले गर्दा सिरिया भित्र पसेर राजनीति गर्न साउदी अरिबिया र इरानको
लागि बाटो पनि खुल्यो। रूसले त सिरियाभित्र आफ्नो सैनिक नै पठाएको छ। अहिले स्थिति
यस्तो भएको छ कि असद-सरकारका केही नेता, केही साउदी अरेबिया र इरानका नेताहरूको
घमण्डले गर्दा सिरिया ठूलो ‘कब्रिस्तान’ मा परिणत हुन पुगेको छ। निर्धन हुन पुगेको
छ। यी केही नेताहरूको गुरूरले गर्दा सिरियालीहरू गरिब भएर मात्र होइन, हरपल आतंकित
र मृत्युको भए लिएर बाँच्न बाध्य भएका छन। सिरियाली गृहयुद्धमा अहिलेसम्ममा लगभग ५
लाख व्यक्तिहरूको ज्यान गइसको छ। ३८ लाख सिरियालीहरू विभिन्न मुलुकमा शर्णार्थी
भएर बस्न बाध्य भएका छन्। कुल जनसंख्याको आधा भाग, अहिले देश र विदेशमा विस्थापित
हुन पुगेको छ। यसैगरी देशको ११ प्रतिशत जनताले यात मृत्यु वरण गर्नु परेको छ, या
घाइते भएर बाँच्नु परेको छ। नेताहरूको गलत नेतृत्व वा गर्वले देश र जनतालाई कति
गरिब र असुरक्षित तुल्याउँछ भन्ने यथार्थ
माथिको विवरणहरूबाट प्रष्ट हुन्छ।
नेताहरूको घमण्डले देश र जनतालाई निर्धन तुल्याउने अर्को र अति दु:खद
उदाहरण हो, केन्या स्थित ‘दद्दाब’ शर्णर्थी शिविर, जहाँ ३ लाख ५० हजार भन्दा बढी
व्यक्तिहरू निर्धनतापूर्वक, कमजोर छाप्राहरूमा शर्णार्थी जीवन बाँच्न बाध्य भएका
छन्। सोमाली नागरिकहरूले भरिएको यो शर्णार्थी शिविर संसारकाको नै सर्वाधिक ठूलो
शर्णार्थी शिविर मानिन्छ। सन् १९९० ताका जब सोमालियामा भीषण गृहयुद्ध आरम्भ भयो,
ठूलो संख्यामा सोमालीहरू जीवन रक्षाका लागि केन्या भागेर आए। उनीहरूको बसोबासको
लागि बनाइएका विभिन्न शर्णार्थी शिविरहरूको समूह नै दद्दाब शर्णार्थी शिविर हो। यी
शर्णार्थी शिविरमा बस्नेहरूको आर्थिक स्थिति दयनीय त छ नै, भविष्य पनि अनिश्चित छ।
जीवन निकै कष्टकर छ। केन्याले यो शिविर बन्द गर्ने भन्दै छ भने शर्णार्थी
सोमालीहरू आफ्नो देश फर्केमा उनीहरूको घर र जग्गाहरूमा अन्य परिवारहरूको गैर
कानूनी कब्जा छ। यस्तो स्थितिमा यी शर्णार्थी सोमालीहरू कहाँ जाने? कतिपय सोमाली युवा
युवतीहरूको जन्म केन्यामा भएको छ र उनीहरूले अहिलेसम्म सोमालिया देखेकासम्म पनि
छैनन। र सोमालिया जान पनि चाहँदैनन् किनभने उनीहरूको लालन-पालन, शिक्षा दिक्षा
केन्यामा भयो। के ती युवा युवतीहरूलाई केन्या सरकारले नागरिकता दिनेछ होला? तर
दु:खद कुरा के छ भने सबै शर्णार्थी सोमालीहरूलाई केन्याले आफ्नो मुलुक फर्के जाऊ
भन्दैछ। दद्दाब शर्णार्थी शिविरमा सोमाली कट्टर पन्थी इस्लामिक संगठन ‘अल सबाब’ का
लडाकुहरुले बेला बेलमा ती शिविरहरूमा बम बिष्फोटन गर्ने गरेका छन्। यसरी नेताहरू
कतै पनि जनतालाई चैनसँग बस्न दिएका छैनन।
नेताहरूले सामान्य जनताको जीवन दुष्कर तुल्याएको चौथो उदाहरण हो
‘इजराइली-पेलेस्टेनियन संघर्ष। इरानले भन्छ, ‘विश्वमा इजराइल भन्ने देश नै छैन।’
अर्कोतिर इजराइलीहरू भन्छन, ‘इजराइल हाम्रो हो, यो हाम्रो भूमि हो। हामी यहाँ
हजारौ हजार वर्षदेखिक बसिरहेका छौ।’ सन १९४८ मा स्वतन्त्र इजराइलको स्थापना भए
देखि अरब राष्ट्रहरू र इजराइल बिच धेरै पटक युद्ध भइसको छ भने विवादित पेलेस्टाइन
राष्ट्र र इजराइल बीच सन् १९८७ देखि प्रत्येक वर्ष निरन्तर रूपमा युद्ध हुँदै आएको
छ। र ती युद्धहरुले हजारौंको ज्यान लिसकेको छ। पेलेस्टाइनहरूलाई गरिब हुन वाध्य
पारेको छ।
पेलेस्टाइनहरूले दुई-राष्ट्र
समाधान माग गरिरहेका छन भने इजराइलले एक राष्ट्र समाधान। पेलेस्टाइनहरू आफ्नो एक
छुट्टै राज्य हुनु पर्ने भनिरहेका छन् तर इजराइल त्यो समाधान मान्न तयार छैन।
शान्तिपूर्वक बस्नका लागि कुनै एउटा समाधानलाई पनि मानेर दुवै भूमिका नागरिकहरू
शान्तिपूर्वक बस्न सक्छन। तर पेलेस्टाइन र इजराइल दुवैतिरका नेताहरू र उनीहरूलाई
उचाल्ने अन्य मुलुकका नेताहरुले यी दुबै क्षेत्रका जनतालाई शान्तिसँग बस्न दिरहेका
छैनन्। नेताहरूको कारणले पेलेस्टाइनहरूको जीवन अनिश्चित र कष्टकर हुन पुगेको छ। पेलेस्टाइनहरूले
युद्ध मैदानमा बाँच्नु परेको छ।
नेपालमा नेताहरूले कसरी नेपालीहरूलाई गरिब तुल्याइ रहेका छन भन्ने
बारे न त अनेक तर्कहरू दिनु पर्ने स्थिति छ, न त प्रमाण नै। नेपाललाई नेताहरूले झन
झन गरिब बनाउँदै लगेको स्वत: सिध्द तथ्य हो। २०५२ सालमा माओवादीका केही उच्च
नेताहरूले चलाएको खुनी संघर्षले नेपाललाई कति गरिब पार्यो भन्ने तथ्य घाम जतिकै
छर्लंग छ। अन्य दलका नेताहरूले सत्ताका लागि गरेका अनेक अघोषित र आन्तरिक
संघर्षहरूले नेपाललाई गरिब पार्नमा के कस्तो भूमिका निर्वाह गर्यो, सामान्य
नेपालीलाई पनि थाहा छ। भन्ने हो भने नेपालीहरू पनि अहिले एक किसिमले शर्णार्थी हुन
पुगेका छन। देश भित्र भएको संधैको सत्ता संघर्षले नेपालीहरूमा निराशा उत्पन्न
गराएर उनीहरू विश्वका अनेक मुलुकहरूमा पुगेका छन्, पुग्ने क्रम अहिले पनि जारी नै
छ। देशभित्र रोजगारी नपाएर अहिले ४० लाख भन्दा बढी नेपालीहरू वाध्यतावस विदेशका
अनेक राष्ट्रहरुमा पलायन भएका छन। आफ्नो देशमा रोजगार नपाएर अनेक मुलुक पुगेका
नेपालीहरू के शर्णार्थी सरह नै होइनन त? रोजगारका लागि विदेश पुगेका नेपालीहरूको
रोजगार र जीवन के सुरक्षित छ? ४० लाख नेपालीहरूलाई के नेताहरूले नै शर्णार्थी
तुल्याएका होइनन त?
नेपालमा अहिले पनि, विना कुनै अवरोध, नेताहरूले आफ्नो महत्वाकांक्षा
पूरा गर्न, आफ्नो स्वार्थ सिद्धि गर्न, जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता, धार्मिक,
भाषकिक, भेषभूषा आदिका कुराहरु गरेर नेपाली-नेपाली बीच फुट उत्प्न गराइ रहेका छन।
नेपालीहरू माझ युद्ध गराएर आफूहरू महान नेता हुन खोजिरहेका छन्। यसरी नेताहरूको स्वार्थी
व्यवहारको कारणले गर्दा नै साधन र स्रोतहरूले सम्पन्न मुलुक नेपाल, झन झन गरिब
हुँदै गएको छ। नेताहरूको गलत एजेन्डाहरूको पछाडि दौडिने नेपाली जनताले सतहमुनि
रहेको नेताहरूको अहंम् र व्यक्तिगत स्थार्थ
कहिले देख्ने हो? जनता, नेताहरूको हातको गोटी बनेर झन झन गरिब कहिलेसम्म हुने हो?
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 10,
2017
No comments:
Post a Comment