Wikipedia

Search results

Friday, March 24, 2017

Level of Understanding and Economic Development-Article-149

हाम्रो चेतनाको स्तर नै आर्थिक विकासको बाधक हो?

हामीले जतिसुकै फोस्रे धाक लगाए तापनि हाम्रो चेतनाको स्तर निकै पछाडि छ। चेतनाको स्तरको हिसाबले अमेरिका र युरोपका धनी देशहरू एक सय वर्ष पहिले जुन अवस्थामा थिए अहिले हामी त्यही अवस्थामा छौ। हाम्रो सोच, विचार, धारणा, विश्वास, अनुभूति, चिन्तन र यी तत्ववहरूबाट निर्मित हाम्रो व्यवहार एउटा साँघुरो घेराबाट बाहिर आउन सकिरहेको छैन। सयौं वर्ष पहिले युरोपेली देशहरू र अमेरिकाले भत्क्याइसकेको सामाजिक सद्भावको शत्रु जातियताको पर्खाल भत्काउनुको साटो त्यो पर्खाललाई झन् बलियो बनाउन जोडतोडका साथ लागेका छौं। आर्थिक विकासका लागि सर्वाधिक घातक तत्व जातीयताको अग्लो र बलियो पर्खाल पुनः निर्माणमा जोश र जाँगरका साथ लागेका छौं। नयाँ नयाँ जातीय सङ्गठनहरू खोलेर, त्यसको सदस्य भएर, खास जाति भएकोमा गर्व गरिरहेका छौं। एउटा सिङ्गो नेपाली समाज निर्माण गर्नुको साटो एउटा समाजभित्र अनेक किसिमका समाज र तहहरू निर्माण गरिरहेका छौं। हाम्रो यस्तो सोचले राष्ट्रिय आर्थिक विकासको सपना केवल सपनामा सीमित रहन दिएर यथार्थमा परिणत हुन दिने छैन। जातीयताप्रति यस्तो सोच राख्नुले हामी दक्षिण एसियाका नागरिकको चेतनाको स्तर अति नै पछाडि छ भन्ने कुरा प्रमाणित हुन्छ।
   
हामी के कुरामा अगाडि छौं? हाम्रो भूखण्डतिर जतिखेर झाडापखाला लागेर व्यक्तिहरू बिरामी हुन्थे उनीहरूलाई पानी खान दिइन्थेन। बिरामीलाई पानी खान दिएमा उसको रोग झनै बढेर जाने र मृत्युसमेत हुने भयले उसलाई पानी खानबाट वञ्चित राखिन्थ्यो। त्यस्तो अवस्थमा केवल पर्याप्त पानी खान मात्र नपाएर पनि सयौंको प्रत्येक वर्ष ज्यान जान्थ्यो। तर ठीक त्यही समयमा पश्चिमकाहरूले त्यस्ता बिरामीहरूलाई पानीमा केवल नुन र चिनी मिसाए खान दिएर रोगीहरूको ज्यान जोगाउन सकिन्छ भन्ने कुरा पत्ता लगाइसकेका थिए।
   
नेपालमा २००७ सालमा मात्र प्रजातन्त्र आयो। तर अभिव्यक्ति स्वतन्त्रता नेपालमा २०४७ सालपछि  आएको हो। ठूलो सङ्ख्यामा नेपालीहरूले बाहिरी विश्वलाई २०४७ सालपछि मात्र देख्न पाएका हुन्। भारत त झनै सयौं वर्षसम्म अङ्ग्रेजहरूको दास रह्यो। लामो समयसम्म भारत अङ्ग्रेजको दास रहेकोले भारतका नेताहरूमा अहिलेसम्म पनि दास मनोवृत्तिले जरा गाडेको छ र ती नेताहरू नेपाललगायत छिमेकीहरूलाई दासको नजरले हेर्छन्। भारतीय समाजलाई त जातीय प्रथा र सामाजिक तहहरूले झनै बढी सताएको छ। तथाकथित ठूला र साना जातिबीच सद्भाव र सम्मानको सङ्कट छ। ठूला जातिहरूले साना जातिहरूलाई अहिले पनि आफूसरह ठान्दैनन्। तर युरोप, रोममा ईसापूर्व नै गणतन्त्रको विकास भइसकेको थियो। त्यहाँको जनताले त्यही समयामा प्रजातन्त्र के हो भन्ने कुरा अभ्यासद्वारा बुझिसकेको थियो। प्राचीन रोमन दरबारमा संसद्को प्रयोग हुन्थ्यो।
   
दक्षिण एसियामा व्यावहारिक किसिमबाट विश्वविद्यालयको अवधारणा धेरै पछि आयो र प्रयोग त झनै पछि भयो। नेपालमा पहिलोपटक सन् १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। तर युरोप (इटली-तत्कालीन रोम) मा भने सन् १०८८ मा विश्वविद्यालयको स्थापना भइसकेको थियो। राज्य व्यवस्थाले नागरिकहरूलाई उच्च शिक्षा त्यसै बेलादेखि दिन आरम्भ गरेको थियो। युरोपको जनता धेरै पहिले देखि शिक्षित थियो। उनीहरूको चेतनाको स्तर पनि सोही अनुसार उच्च थियो। त्यसकारण ज्ञान विज्ञानको क्षेत्रमा पनि पश्चिमी देशहरू पहिलेदेखि नै अगाडि रहँदै आए।
   
जुन समयमा हामी दक्षिण एसियालीहरू हाम्रा गाडाहरूलाई गोरु र राँगाहरू द्वारा तान्न लगाइरहेका थियौ (अहिले पनि केही मात्रामा छ) त्यही समय (सन १९०८ ) मा अर्थात् आजभन्दा १०८ वर्ष पहिले अमेरिकीहरूले मोटरकारको विकास गरिसकेका थिए। यात्रु र सामान ओसारपसार गर्न मोटरकारको प्रयोग गर्न थालिसकेका थिए। उत्पादन र वितरणमा प्रभावकारिता ल्याइसकेका थिए। उपभोग्य वस्तु सस्तो पारिसकेका थिए। तर नेपालका  कतिपय स्थानमा एक स्थानबाट अर्को स्थान पुग्न भारतीय भूमिको प्रयोग अनिवार्यरूपले गर्नुपथ्र्यो। त्यस्तो बाध्यता नेपालका केही स्थानमा अहिले पनि छ। हुनत भारतको पनि यातायातको अवस्था नेपालको जस्तो हुने थियो, तर अङ्ग्रेजहरूले भारतमा रेल सेवाको विस्तार गरिदिएको हुनाले यातायातको क्षेत्रमा दक्षिण एसियामा नै भारत अगाडि हुन पुगेको हो। भारतमा अहिले एक दिनमा औसत १२ हजार ६ सय १७ वटा रेल गन्तव्यका लागि दौडिन्छन्। एक दिनमा औसतमा दुई करोड ३० लाख यात्रु ओहोरदोहोर गर्छन् भने रेलसेवा १ लाख १९ हजार ६३० किलोमिटरमा फैलिएको छ। तर रेलसेवाको निर्माण भारत स्वयंले गरेको भने होइन। भारतका तत्कालीन शासक अङ्ग्रेजहरूले सन् १८५३ मा गरिदिएका थिए। पहिलो रेलसेवा भारतका दुई शहर बम्बई र थानेबीच सञ्चालन भएको थियो। भारतको रेल सेवालाई विश्वको लामो रेल सेवा मान्ने गरिन्छ।
   
स्वयंले यातायातको क्षेत्रमा अत्यधिक विकास गर्ने देश संयुक्त राज्य अमेरिका हो। देश भित्रका लगभग प्रत्येक घरलाई मोटर गुड्ने सडकले छुने अमेरिकामा सडकको लम्बाइ ६५ लाख ८० हजार किलोमिटर छ। भनिन्छ अमेरिकामा रहेका सबै सडकहरूलाई एक अर्कासँग जोड्ने हो भने त्यो यति लामो हुन्छ कि त्यसले यो पृथ्वीलाई एक फन्को बाँधन सक्छ। अमेरिकाको सडक सेवा लम्बाइको हिसाबले संसारको नै सर्वाधिक लामो हो। देशको आर्थिक विकासमा यातायातको भूमिका अत्यधिक हुन्छ भन्ने यथार्थ बुझेर अमेरिकीहरूले सडक निर्माणलाई सर्वाधिक महत्व दिएका हुन्। सडक निर्माणको इन्जिनियरिंग र प्रविधिमा अमेरिका विश्वमैं अगाडि छ।
   
जति ठूलाठूला मेसिन, औजार, प्रविधि, औषधि आदिको आविष्कार भएको छ ती सबै पश्चिमका देशहरूमा भएका हुन्। सियोदेखि हवाईजहाजसम्म, पानी जहाजदेखि रेलइन्जनसम्म सबै आविष्कार पश्चिममा भएको हो। चेतना र ज्ञानको स्तरमा पश्चिमीहरू धेरै अगाडि रहेको हुनाले नै उनीहरूले मानव जीवन सरल तुल्याउने प्रायः हरेक कुराको आविष्कार गरेका हुन्। दोस्रो विश्वयुद्ध पछि त ज्ञान र विज्ञानको क्षेत्रमा ठूल्ठूला आविष्कार गर्ने त अमेरिकाले एक किसिमले जिम्मा नै लियो। गुगलजस्तो अति तीव्र सर्ज इन्जिन, संसारभरि नै व्यापार सरल गर्न सक्ने इबे वा अमेजन जस्तो ठूलो अनलाइन सपिंग, बोइंग, चालकविहीन वायुयान (ड्रोन), संसारभरि फैलिएको भीमकाय खुद्रा भण्डार (वालमार्ट) आदिको अवधारणा अमेरिकामैं जन्म्यो। अमेरिकाको प्रजातन्त्रलाई संसारभरिमा स्थिर र पुरानो मानिन्छ। यो स्थिति यहाँको जनतामा भएको उच्च चेतनाले गर्दा प्राप्त भएको हो।
   
ज्ञान र चेतनाको स्तरमा हामी दक्षिण एसियालीहरू निकै पछाडि छौं। हाम्रो आर्थिक विकासको बाधक नै हामीभित्र रहेको अपर्याप्त ज्ञान र चेतना हो।
   
हामी दक्षिण एसियालीहरूले र खास गरेर नेपालीहरूले लामो समयसम्म के विश्वास गर्यो भने मुलुकभित्र एउटा राम्रो राजनैतिक पद्धतिको विकास नभएसम्म देशको आर्थिक विकास हुन सक्तैन। हाम्रो त्यो विश्वासले हामीलाई नेपालबाट पञ्चायती व्यवस्था समाप्त पार्न प्रेरित गर्यो। देशबाट पञ्चायती व्यवस्था समाप्त भएर प्रजातन्त्रको अभ्यास भए तापनि नेपालको आर्थिक विकासको गति कछुवाको चालमैं सीमित छ। त्यस्तो किन भयो त? त्यस्तो किन भयो भने अरू (पश्चिमी) मुलुकहरूमा जनताको चेतना र ज्ञानको स्तर उच्च भएको हुनाले आर्थिक विकास गर्न उनीहरूलाई प्रजातान्त्रिक व्यवस्थाले सहयोग पुर्यायो। नेपालमा ज्ञान र चेतनाको स्तर अति तल भएको हुनाले प्रजातन्त्रले आर्थिक विकास गर्न सहयोग पुर्याउन सकेन। नेपालीहरूमा ज्ञान र चेतनाको स्तर तल भएको हुनाले नै उत्कृष्ट राजनैतिक व्यवस्था, प्रजातान्त्रिक व्यवस्था फस्टाउन सकेको छैन। नेपालमा प्रजातन्त्रले उल्टो विग्रह, सङ्घर्ष, विभाजन ल्यायो।
   
प्रजातन्त्रमा मुलुकमा आइपर्ने ठूल्ठूला सङ्कट समाधान गर्न जनताको मत लिने गरिन्छ। त्यस्ता समस्या कसरी समाप्त पार्ने भनी जनताले मत दिएर जुन बाटो देखाउँछ, सोही अनुसार समाधान खोजिन्छ। नेपालमा विपरीत परिस्थिति छ। हरेक समस्याको समाधान बल र हिंसाद्वारा खोजिन्छ। माओवादीहरूले २०५२ सालतिर राष्ट्रिय समस्या समाधानको लागि प्रयोग गरेको तरिका होस्, अहिले मधेसी दलहरूले राष्ट्रिय समस्या समाधानका लागि प्रयोग गरेको तरिका होस्, सबै किसिमका तरिकामा हिंसाको अत्यधिक प्रयोग भएको थियो र भइरहेको छ । भोलिका दिनमा कुनै राष्ट्रिय समस्या परेमा एमाले वा नेपाली काङ्ग्रेसले पनि समाधान खोज्ने तरिका यही हुनेछ। यी दलहरूले पनि समस्या समाधानका लागि हिंसा नै प्रयोग गर्नेछन्। यस्तो किन हुन्छ? किनभने हिंसा हाम्रो संस्कार हुन पुगेको छ। हामी हिंसामा विश्वास गर्छौ। शान्तिमाथि हामीलाई पटक्कै विश्वास छैन। प्रश्न उठ्छ जब हिंसामाथि नै  विश्वास छ भने जनमतको कदर गर्ने प्रजातान्त्रिक व्यवस्थाको अभ्यास किन गर्ने? पुनः पश्चगमन गर्दै निरङ्कुश व्यवस्था (पञ्चायत) मा किन नफर्कने? फ्नै देशको सम्पत्ति (घर, सवारी साधन, फर्निचर आदि) भत्क्याएर, फ्नै दाजुभाइ, दिदीबहिनी (प्रहरी, सुरक्षाकर्मी आदि) लाई कुटपिट गरेर, हत्या गरेर के समस्याको समाधन हुन्छ?
   
आर्थिक विकासका लागि प्रजातान्त्रिक चरित्र चाहिन्छ। विरोधीहरूको आवाज सुन्ने धैर्य चाहिन्छ। बल होइन, सहमतिमा विश्वास चाहिन्छ। तर अचम्म! हामी प्रत्येक समस्याको समाधन हिंसामा देख्छौं। आफ्नै दल सरकारमा रहेको कार्यकर्ताले पनि समस्याको समाधान सडकमा देख्छ। त्यस्तो दलले प्रत्यक्षरूपमा सरकारमा सम्मिलित आप्mनो नेतालाई समस्या समाधान गर्न भन्दा हुँदैन? उदाहरणका लागि केही दिन पहिले राप्रपाका कार्यकर्ताहरूले पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएकोमा विरोध प्रदर्शन गरेका थिए। कार्यकर्ताहरूले निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै निवार्चान आयोगको कार्यालय बहादुर भवन अगाडि प्रदर्शन गरेका थिए। सुरक्षाका लागि प्रहरीले बनाएको घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले कार्यकर्ताहरू माथि लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। सो झडपमा तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। आश्चर्य! वर्तमान सरकारमा राप्रपाका पाँचजना मन्त्री छन् र यो दल सत्तारूढ दलहरूमध्ये तेस्रो ठूलो दल हो। प्रदर्शन र तोडफोड किन गर्नु पर्यो? फ्ना नेताहरूलाई भने भैहाल्थ्यो नि। होइन र?
   
आर्थिक विकासका लागि वा मुलुकको बहुपक्षीय विकासका लागि जनताको बौद्धिक र चेतनाको स्तर माथि नउठेसम्म देशको विकास कछुवा चालमा नै चलिरहन्छ। जनता सर्वदा हार्छ, स्वार्थी नेता जात, सम्प्रदाय, प्रदेश, विश्वास आदिको आधारमा विभाजन ल्याएर जिति

Bishwa Raj Adhikari
published in Prateekdaily on Friday, March 24, 2017

No comments:

Post a Comment