Monday, June 11, 2018

The Formulas of Success Part 3

सुत्र ३

कठोर परिश्रमको विकल्प छैन

सफलता एक यस्तो फल हो जुन केवल परिश्रमको वृक्षमा मात्र फल्ने गर्दछ। अर्थात सफलता प्राप्त गर्नका लागि कठोर परिश्रम गर्नु नै पर्छ। कठोर परिश्रमको विकल्प छैन। धेरै व्यक्तिहरू यस्ता हुन्छन जसले सफलतालाई भाग्यसँग जोडेर हेर्छन र कठोर परिश्रम गर्न रुचाउँदैनन। तर कठोर परिश्रम र अवरिल प्रयत्न गर्ने हो भने सफलता हात पर्छ नै। सफलता कुनै चिट्ठा होइन, जुन संयोगको भरमा, प्रत्येकलाई पर्ने उत्तिकै वा समान सम्भावना हुन्छ। जस्तै, यदि कुनै चिट्ठा १०० जनालाई बिक्री गरिएको छ भने प्रत्येकलाई त्यो चिट्ठा पर्ने सम्भावना १/१०० हुन्छ। चिट्ठा परिश्रम बिना प्राप्त गरिने एक संयोगको प्रतिफल हो। सम्भावनाको खेति हो।

म अनिश्वरवादी होइन। ईश्वरको अस्तित्वप्रति ममा कुनै द्विधा छैन्। ईश्वर छन भन्ने धारणमा म पूर्णतया विश्वास गर्छु। ईश्वरप्रति मेरो अगाध भक्ति र श्रद्धा छ। तर म भाग्यवादी होइन।  र न त म धर्मको अन्धभक्त नै हो। मेरो लागि धर्म र ईश्वर पृथक पृथक विषय हुन। ईश्वर सत्य छन, धर्म असत्य पनि हुन सक्छ। ईश्वर सदा स्थिर छन्, धर्म गतिशील हुने गर्दछ। ईश्वरको श्रृजना ईश्वरबाट नै भएको हो। धर्मको श्रृजना विभिन्न युगका मानवहरूद्वारा भएको हो। समाजद्वारा भएको हो। ईश्वर श्रृष्टिका कारण हुन, धर्म होइन। धर्मले कसैको हत्या गर पनि भन्न सक्छ तर ईश्वरले कसैको हत्या गर्न कहिले पनि भन्दैनन्।

मेरो विचारमा जसलाई भाग्य भन्ने गरिन्छ त्यो विभिन्न संयोगहरूको श्रृंखला हो। भाग्य भन्ने नै छैन्। भाग्य मानिसहरूले बनाएको एक सुन्दर सपना हो जुन सपना मानिसले जीवनभर, बाँचुनजेलसस्म देख्ने गर्छ। अविरल रूपमा देख्छ।  

भाग्य विभिन्न संयोगहरूको श्रृंखला कसरी हो? कुनै पनि व्यक्तिले आफ्नो जीवनकाल भरिमा, प्रत्येक दिन सयौं घटनाहरूसँग अन्तरक्रिया गर्दछ। प्रत्येक घटनाहरूसँग अन्तरक्रिया गर्दा वा कुनै कार्य गर्दा व्यक्तिको हातमा अनेक विकल्पहरू हुन्छन र उसले उपलब्ध विकल्पहरू मध्ये उत्तम विकल्प रोज्नु पर्ने हुन्छ। उदाहरणको रूपमा,  दुई मित्रहरू मध्ये एउटाले काठमाडौमा बसेर स्वरोजगार गर्ने निधो गर्यो। अर्को मित्रले विदेशमा, अरबमा गएर जागिर खाने निधो गर्यो। तर संयोगवस अरब जाने मित्रको विदेशमा कार्यरत रहँदा सबारी दुर्घटनामा परि ज्यान गयो। यस घटनामा अरब जाने मित्रले विदेश जानुलाई उत्तम विकल्पको रूपमा न छानेर नेपालमा नै स्वरोजगार गरेरे बसेको भए उसको ज्यान त्यस किसिमको दुर्घटनामा जाने थिएन। उसले त्यस किसिमको विकल्पको छनौट गरेको हुनाले उसको ज्यान गयो। दुर्घटनामा पर्ने ती मित्रलाई उक्त संयोगले नै मृत्युको नगरीमा पुर्यायो। अर्थात व्यक्तिहरूले प्रत्येक पल विभिन्न संयोगहरूसँग अन्तरक्रिया गर्नु पर्दछ र यसैगरी उसले असल निर्णय गरेर उपलब्ध विकल्पहरू मध्ये (जुन जीनवका गतिविधिहरू संग सम्बन्धित हुन्छन्) उत्तम विकल्पको छनौट गर्नु पर्छ। तर कहिले काहिं एक व्यक्तिले उत्तम भनी छनौट गरेको विकल्प दुष्कार हुन पुग्छ।
भाग्य र व्यक्तिको वौद्धिक क्षमता बीच के सम्भन्ध छ?

वौद्धिकता भन्नाले यहाँ व्यक्तिको उच्च बौद्धिक क्षमता भन्न खोजिएको भने होइन। बौद्धिक क्षमता भन्नाले, यस सन्दर्भमा, व्यक्तिमा रहेको चलाखीपना भन्न खोजेको हो। बौद्धिक क्षमता भन्नाले व्यक्तिमा रहेको धूर्त प्रवृति वा छट्टु स्वभाव भन्न खोजेको हो। यस किसिमक व्यक्तिहरू, जसले केवल आफ्ना स्वार्थका कुराहरू मात्र देख्छन, ले प्रगति गरेको देखिन्छ। यिनीहरूले गरेको यस किसिमको प्रगतिलाई सामाजले यिनीहरूको भाग्यसँग जोडेर यिनीहरूलाई भाग्यमानी भन्ने गरेको पाइन्छ। तर यथार्थमा यिनीहरू भाग्यमानी नभएर छट्टु हुन। र यस किसिमका छट्टुहरूलाई प्रगति गर्न हाम्रो समाजले नै बाटो निर्माण गरि दिने कार्य गर्छ। हाम्रो समाजले छट्टु (खुस खाने, अपराध गर्ने, ठग्ने, झूठो बोल्ने, झुक्याउने) लाई अपमानित नगरेर उल्टो उनीहरूको प्रशंसा गरेर उनीहरूलाई प्रोत्साहित गर्छ। 

ईश्वरप्रतिको धारणा सही छ?

मलाई कहिलेकांहि लाग्छ ईश्वरप्रतिको हाम्रो धारणा पूर्णतया त्रुटीपूर्ण छ। ईश्वरप्रतिको हाम्रो सोंच गलत छ। हामी ईश्वरको मन्दिरमा श्रद्धा कम तर माग धेरै लिएर पुग्छौ। जति पटक हामी भगवान्को मन्दिरमा पुग्छौ, भगवानसँग माग्ने हामीसँग हजार मागहरू हुन्छन। अर्थात हामी प्रभु कहाँ मागको लामो सूचि लिएर पुग्ने गर्छौ। कहिले कांहि त कस्तो लाग्छ भने हामी यसरी पनि सोंच्छौ- हामीले भगवान्सँग जे माग्यौ त्यो पूरा हुन्छ। हामीलाई दिन भगवान्सँग सबै थोक छ। यस्तो विश्वास पालेर बस्ने हामीहरू कर्म गर्न चाहँदैनौ र भगवान्को अगाडि गएर हात पसारेर भगवानसँग अनेक कुराहरू माग्छौ। र आफूले प्राप्त गर्न खोजेको कुरा प्राप्त गर्न कठोर परिश्रम गर्दैनौ। यथार्थमा हामीले ईश्वरलाई केवल श्रद्धासँग जोड्नु पर्छ। हामीले ईश्वरलाई लाभ (इच्छा गरेको वा कामना पूरा हुने) वा हानी (कामना पूरा नभएको) जोडेर हेर्नु हुँदैन। हामीले कठोर परिश्रममाथि विश्वास गर्नु पर्दछ, ईश्वरलाई गरिने त केवल श्रद्धा हो।

हामी आफ्नो कठोर परिश्रमद्वारा नै अगाडि पुग्न सक्छौ। त्यसकारण कुनै पनि उपल्धि, जुन हामीले कठोर परिश्रमद्वारा प्राप्त गरेका हुन्छौ, लाई हामीले आफ्नो परिश्रमद्वारा प्राप्त गरेको ठान्नु पर्छ र त्यस उपलब्धिको यस आफ्नो कठोर परिश्रमलाई दिनु पर्छ, भगवान्लाई होइन। भगवान्लाई लाभ हानी र यस अपयस सँग जोड्नु हुँदैन। भगवान्लाई मात्र श्रद्धा गर्नु पर्छ।

परिश्रमले निरन्तरा खोज्छ। धेरै खोज्छ। निरन्तर परिश्रम सम्बन्धी एक अति नै प्रचलित चीनिया लोक कथा छ। कथा यस्तो छ।

एक पटक एक अधवैंसे व्यक्ति आफ्नो बारीमा रहेको घरभन्दा पनि अग्लो ढुंगा घनले तोड्दै थियो। ढुंगाको आकार ज्यादै नै विशाल र केवल अति सानो यत्न (एक व्यक्ति) द्वारा त्यो ढुंगा फोड्न थालिएको स्थिति देखेर कुनै व्यक्तिले ती ढुंगा फोड्ने व्यक्तिलाई भनेछ, “पहाड जत्तिकै अति अग्लो र फैलिएको यो ढुंगा तिमीले कहिलेसम्म फोडेर समाप्त पार्ने छौ? यस्तो अनुत्पादक काममा समय खेरे फाल्नु भन्दा तिमीले अन्य कुनै काम गर्नु असल हुनेछ।” त्यो व्यक्तिको कुरा सुनेर ढुंगा फोड्ने व्यक्तिले भनेछ, “यो ढुंगालाई यथा स्थितिमा नै रहन दिने हो भने यो ढुंगा यही स्थितिमा नै रहिरहने छ। मेरा आउने पुस्ताहरूले पनि यो ढुंगालाई यही रूपमा देख्ने छन्। तर मलै केही मात्रमा नै भएपनि यो ढुंगा फोड्ने हो भने र त्यो क्रमलाई मेरो सन्तान र आउने पुस्ताले पनि जारि राख्ने हो भने एक दिन यो ढुंगा यहाँबाट समाप्त भएर जानेछ। टुक्रा टुक्रा भएर कालान्तर मा समाप्त भएर जानेछ।”

माथिको चिनिया लोक कथाले पनि परिश्रमको विकल्प छैन भन्ने कुराको पुष्टि गर्छ। 


अल्छिपना विकास र सफलताको बाधक हो भने कठोर परिश्रम सफलताको सिखरमा पुर्याउने एक बलियो र भरपर्दो सिंढी हो। 

No comments:

Post a Comment