अमेरिकी अर्थ तन्त्रका विशेषता
४. अनुसन्धान एवं विकासमा ठूलो लगानी
संयुक्त राज्य अमेरिका त्यस्तो मुलुक हो जसले
अनुसन्धान एवं विकासमा संसारभरिमा नै सर्वाधिक खर्च गर्छ। साथै त्यसको प्रतिफल
(लाभ एवं मुनाफा) पनि ठूलै परिमाणमा हात पार्छ। अनुसन्धान एवं विकासमा गरिएको बढी
खर्चले नै अमेरिकी अर्थतन्त्रको गतिले उच्च तीव्रता पाएको छ। आर्थिक विकासमा अन्य
मुलुकहरू कारको गतिमा दौडेका छन् भने अमरिका रकेटको गतिमा दौडिन सफल भएको छ।
अमेरिकाको यो गतिलाई अन्य राष्ट्रहरूले उछिन्न सकेका छैनन्। चीन, भारत, ब्रजीलजस्ता ठूला अर्थतन्त्रहरूले समेत पनि उछिन्न सकेका छैनन् र उछिन्न सक्ने
सम्भावना टाढाटाढासम्म देखिंदैन। अमेरिकाको आर्थिक विकासको गतिलाई रकेटको स्तरमा
पुर्याउन अनुसन्धान तथा विकासले अहम् एवं अग्रणी भूमिका खेलेको छ। अनुसन्धानमा
गरिएको अधिक खर्चले नै अमेरिकालाई विश्वको एक नम्बर आर्थिक महाशक्ति बनाएको हो।
यसमा दुई मत हुन सक्दैन।
कुनैपनि देशले उसको आर्थिक विकासको गतिलाई
तीव्रता दिन अनुसन्धान तथा विकासमा ठूलो रकम खर्च गर्न आवश्यक छ। तर अफसोच! नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत जस्ता विकासशील देशहरूले चाहेर पनि अनुसन्धान एवं
विकासमा ठूलो रकम खर्च गर्न सक्तैनन् किनभने यी राष्ट्रहरूले गर्ने कुल राष्ट्रिय
आम्दानीको ठूलो हिस्सा केवल जनताको भरणपोषणमा नै खर्च गर्नुपर्ने हुन्छ। स्वास्थ्य
र शिक्षामा खर्च गर्नुपर्ने हुन्छ। त्यस कारण यी राष्ट्रहरूले अनुसन्धान एवं
विकासको एकदमै सानो हिस्सा प्रतिफलको रूपमा प्राप्त गर्छन्, त्योपनि अन्य राष्ट्रहरूले गरिदिएको अनुसन्धान एवं विकासको
नक्कल गरेर। तर धनी वा विकास एवं अनुसन्धानमा बढी खर्च गर्ने राष्ट्रहरूले ज्यादै
ठूलो हिस्सा प्रतिफलको रूपमा प्राप्त गर्छन्।
अमेरिकापछि अनुसन्धान तथा विकासमा सर्वाधिक
खर्च गर्ने राष्ट्र चीन एवं जापान हो। कुल गार्हस्थ्य उत्पादनको तुलनामा अनुसन्धान
तथा विकासमा बढी खर्च गर्ने राष्ट्रहरूको सूचीमा दक्षिण कोरिया तेस्रो नम्बरमा
पर्दछ। चौथो नम्बरमा इजराइल पर्दछ। सन् २०१४ मा दक्षिण कोरियाले अनुसन्धान एवं
विकासमा आप्mनो कुल गार्हस्थ्य
उत्पादनको ४.३६ र इजराइलले ३.९३ प्रतिशत खर्च गरेको थियो। अनुसन्धान तथा विकासमा र
खासगरी सूचना तथा सञ्चार क्षेत्रमा अत्यधिक खर्च गरेको कारण नै दक्षिण कोरिया
अहिले, यो दशकमा तीव्र गतिमा
आर्थिक विकास गर्ने मुलुकहरूको सूचीमा पर्न सफल भएको छ। इलेक्ट्रिक र इलेक्ट्रोनिक
सामानहरूको उत्पादनमा दक्षिण कोरियाले विश्व–बजारमा तहलकामात्र मचाएको छैन, आफ्नो बजार क्षेत्र संसारभिर विस्तार गर्न सफलसमेत भएको छ।
अहिले दक्षिण कोरियाले चमत्कारी किसिमले आर्थिक विकास गरिरहेको छ। पचास वर्ष जति
पहिले नेपाल र दक्षिण कोरियाको आर्थिक स्थिति उस्तैउस्तै थियो। तर नेपालको आर्थिक
विकासको गति कछुवा चालमा नै छ।
अनुसन्धान तथा विकासमा बढी खर्च गर्ने
राष्ट्रहरूको सूचीमा ताइवान पनि पर्दछ। तर एशियामा सर्वाधिक खर्च गर्ने राष्ट्र
भने चीन हो। सन् २०२० सम्म चीनले अनुसन्धान तथा विकासमा आफ्नो कुल गार्हस्थ्य
उत्पादनको २.५ प्रतिशत खर्च गर्ने लक्ष्य राखेको छ। तर डलरसँग तुलना गर्दा
अनुसन्धान तथा विकासमा बढी खर्च गर्ने राष्ट्रको रूपमा रहेको अमेरिकाको स्थानलाई
अन्य राष्ट्रहरूले उछिनने सम्भावना ज्यादै पातलो छ। सन् २०१३ मा अमेरिकाले
अनुसन्धान तथा विकासमा ४ सय ५० बिलियन डलर खर्च गरेको थियो। अनुसन्धान तथा विकास
अमेरिकी अर्थ व्यवस्थाको रक्तसञ्चार हो। मुटु भने पूँजीवादी अर्थ व्यवस्था हो।
अनुसन्धान तथा विकास कार्यलाई बढी महत्व दिने र यो
क्षेत्रमा बढी लगानी गर्ने अमेरिकीको आर्थिक संस्कृति नै भएको हुनाले नै ‘युटुब’, ‘फेसबूक’, ‘उबर’, ‘अमेजन डट कम’, ‘नेटफ्लिक्स’, ‘स्काइप’, ‘माइक्रोसफ्ट’,
‘एपल’ जस्ता नयाँनयाँ व्यापारको जन्म केवल अमेरिकामा मात्र भयो। र यिनको व्यापारबाट
आएको प्रतिफल (मुनाफा) को राम्रो हिस्सा अमेरिकाले प्राप्त गर्यो। यी वस्तु वा
सेवाहरूको विकासबाट अन्य राष्ट्रहरूले केवल सेवा (प्रयोग गर्न पाएर) पाए भने
अमरिकाले ठूलो लाभ प्राप्त गर्यो। अमेरिकी अर्थतन्त्रको विशेषता नै हो, नयाँनयाँ वस्तु एवं सेवाको विकास गर्नु र
बजारमा भएको प्रतिस्पर्धा (पुराना वा बजारमा पहिलेदेखि नै विद्यमान रहेका वस्तु
एवं सेवाको बिक्रीका लागि हुने प्रतिस्पर्धा) लाई असान्दर्भिक तुल्याउनु। अर्थात्
नितान्त नयाँ वस्तु वा सेवा विकास गरेर, तिनलाई बजारमा पुर्याएर, प्रतिस्पर्धा नगर्नुपर्ने स्थिति सृजना गर्नु। आफ्नो वस्तु एवं सेवालाई
प्रतिस्पर्धाविहीन पारेर बढी मुनाफा हात पार्नु। नयाँ वस्तु एवं सेवा विकास गर्ने
कार्यलाई अमेरिकाले उच्च प्राथमिकतामा राखेको छ। यसरी यस्तो प्राथमिकता दिएको
कारणले अमेरिकाले आउँदा वर्षहरूमा नितान्त नयाँनयाँ वस्तु एवं सेवाहरूको झनै ठूलो
सङ्ख्यामा विकास गर्नेछ। ती वस्तुहरूले मानव–जीवनलाई सरल मात्र पार्ने छैनन्, बजारमा व्यापारिक क्रियाकलापमा पनि वृद्धि गराउने छन्। यस्तो अन्य राष्ट्रहरूले गर्नु सम्भव छैन।
अनुसन्धान एवं
विकासमा बढी लगानी किन आवश्यक छ ?
बढी लाभ एवं मुनाफा प्राप्त गर्न तथा बजारमा
आफ्नो वर्चस्व कायम गर्न उत्पादक एवं बिक्रेताहरूले नयाँनयाँ वस्तु एवं सेवाको
विकास वा अविष्कार गर्न अति आवश्यक हुन्छ। नयाँनयाँ वस्तु एवं सेवाहरूको विकास
गरेर तीव्र प्रतिस्पर्धाको स्थितिबाट जोगिन सकिन्छ। यसैगरी नयाँ वस्तु वा सेवा
बजारमा नितान्त नौलो भएकोले तिनको बिक्रीबाट भरपूर फाइदा (मुनाफा) प्राप्त गर्न
सकिन्छ। अहिले उबर, फेसबूक, युटुब, अमेजनले त्यस्तै गरिरहेका छन्। नितान्त नौलो वस्तु एवं सेवा विकास गरेकोले
त्यसबाट ठूलो परिमाणमा मुनाफा प्राप्त गरिरहेका छन्। नयाँ वस्तु एवं सेवाहरूको
खरीदमा उपभोक्ताहरूले बढी खर्च गर्छन् पनि। उदाहरणका लागि स्मार्ट फोनलाई लिन
सकिन्छ।
नयाँनयाँ वस्तु एवं सेवाको विकास गरेर पुराना
वस्तु एवं सेवाहरूलाई विस्थापित गर्न सकिन्छ। त्यति मात्र होइन, नयाँ वस्तुको विकास गरेर, नयाँ आवश्यकता सृजना गर्न सकिन्छ। नयाँ
आवश्यकता सृजना गरेर नयाँ माग सृजना गर्न सकिन्छ। नयाँ माग सृजना गरेर थप उत्पादन
गर्न सकिन्छ। थप उत्पादनले थप रोजगार सृजना गर्छ। अमेरिकी अर्थतन्त्रले यही
अवधारणमा विश्वास गरेर कार्य गर्दछ।
नयाँ वस्तु वा सेवाको विकास गरेर कार्य
कुशलता एवं कार्य दक्षतामा वृद्धि गर्न सकिन्छ। उत्पादकत्वमा पनि वृद्धि गर्न
सकिन्छ। केही वर्ष पूर्वसम्म अमेरिकामा व्यक्तिहरू लामो वा छोटो सडक–यात्रामा जाँदा, सडक अपरिचित रहेको अवस्थमा, सडकबारे जानकारी लिन कागजमा छापिएको सडक–नक्शा कार वा गाडीमा राखेर हिंड्थे। कारमा
राखिएको कगजी नक्शा अपरिचित सडकहरूमा कार चलाउँदा अपरिचित बाटो थाहा पाउन सजिलो त
हुन्थ्यो, तर प्रभावकारी हुन्थेन
किनभने कार चलाउँदै नक्शा हेर्नु सजिलो थिएन।
बाटो पत्ता लगाउने (Navigation), त्यो समस्या समाधान गर्न बजारमा जिपिएस (GPS-Global Positioning
System) आयो। जिपिएस नयाँ वस्तु
विकासको क्रममा नै बजारमा आएको थियो। जिपिएसको बजार प्रवेशले कागजी नक्शालाई
विस्थापित मात्र गरेन, गाडी चलाउँदै
अपरिचित बाटो थाहा पाउने काम पनि सजिलो पारिदियो। किनभने जिपिएसमा सडकको डिजिटल
नक्सा हुन्छ र साथै जिपएसले ध्वनिद्वारा पनि चालकलाई कुन दिशामा जाने भनी
निर्देशित गर्दछ। अर्थात् जिपिएस बोल्छ पनि। तर जिपिएस पनि प्रभावकारी देखिएन
किनभने सानो कचौरा आकारमा हुने त्यो जिपिएसलाई नयाँ गन्तव्यमा जाँदा चालकले साथ
लिएर जानुपर्ने भयो। साथै त्यो जिपिएसलाई गाडीसँग (प्लगमा) जोडेर पनि राख्नुपर्यो। जिपिएसमा देखिएको त्यो समस्या सामाधान गर्न आजभोलि ‘बिल्टइन’ जिपिएस बजारमा
पाइन्छ। अर्थात् आजभोलि जिपियस कारमा नै जडान गरिएको हुन्छ, थप जिपिएस किन्नुपर्दैन। यसरी नयाँ वस्तु विकासको क्रम
कहिले पनि रोकिंदैन। नयाँ वस्तु विकासको क्रम चलि नै रहन्छ। यो तथ्यलाई अमेरिकी
व्यवसायीहरूले राम्ररी बुझेका छन्। त्यसकारण नयाँ नयाँ वस्तु वा सेवा लिएर बजारमा
उपस्थित हुन्छन्। नेपाल वा भारतमा दुई सय वर्षदेखि एकै किसिमको जिलेबी बनिरहेको
स्थिति अमेरिकी बजारमा देख्न पाइँदैन। अमेरिकामा जिलेबी बन्ने भइदिएको भए, जिलेबीको निर्माणमा पचासौ किसिमको सुधार भएको
देख्न सकिन्थ्यो। उदाहरणका लागि अमेरिकामा गुड्ने कारहरूमा कारको अगाडि र पछाडिको
दृश्य चालकले आफ्नो अगाडि देख्न सक्ने सुविधा (कारमा क्यामेरा जडान गरिएको) हुनु त
सामान्य भइसक्यो। थप के पनि सुविधा पाउन सकिन्छ भने कार ठीक लेन (सडकमा कोरिएको
दुई सेतो धर्काको बीचमा) गुडिरहेको छ कि छैन भनी हेर्न पाउनु। गुडिहरेको कार लेन
बाहिर गएमा कारले ध्वनिद्वारा चालकलाई सङ्केत गर्छ। साथै आफ्नो कारको ठीक छेउबाट
अर्को कार गुडिरहेको छ भने त्यो जानकारी पनि कारले चालकलाई दिन्छ। चलिरहेको कारको
अगाडिको कारले अचानक ब्रेक हान्दा चलिरहेको त्यो पछाडिको कारले पनि आफैं (कार)
ब्रेक हान्छ। यति मात्र होइन, अब केही
वर्षभित्र अमेरिकी बजारमा चालक नचाहिने, कार स्वयंले आफूलाई सञ्चालन गर्ने (Self-driving Car)) कारहरू देखा पर्नेछन्, बिक्री हुनेछन्।
माथिका कुराहरू के सन्दर्भमा उल्लेख गरिएको
हो भने नयाँ वस्तु एवं सेवाहरूको विकास गर्ने ठाउँ प्रशस्त हुन्छ। तर विकासशील
राष्ट्रहरूले नयाँ वस्तु वा सेवाहरूको विकास गर्न सक्तैनन् किनभने नयाँ वस्तु एवं
सेवाको विकास गर्न, अनुसन्धान र
विकासमा पर्याप्त लगानी गर्न उनीहरूसँग बजेट नै हुँदैन। अर्कोतिर बजारले जहिले पनि
नयाँ वस्तु एवं सेवा माग गरिरहेको हुन्छ।
अमेरिकामा देख्न पाइने एउटा विशेष कुरा के छ
भने यहाँ कुनै पनि वस्तु जो अहिले बजारमा छ, दशकौसम्म समान अवस्थामा रहँदैन। अर्थात् हरेक वस्तु वा
सेवाको स्वरूप वा विशेषतामा क्रमिक सुधार भइरहेको हुन्छ। नयाँ वस्तु वा सेवाको
विकास अविरल र आवश्यक रूपमा भइ नै रहन्छ।
अमेरिकाको शिक्षा पद्धतिले नै
विद्यार्थीहरूलाई नयाँनयाँ वस्तु एवं सेवा विकास गर्न उत्पेरित गर्छ। हुनपनि अमेरिकी
शिक्षानीति, र खासगरी व्यापारिक
शिक्षाले विद्यार्थीहरूलाई व्यापारीभन्दा उद्यमी (Entrepreneur) बन्न जोड दिन्छ।
व्यापारी त्यो हो जसले अरूले गरेको व्यापारको अनुसरण गर्छ। तर उद्यमी त्यो हो जसले
स्वयं नयाँ व्यापार विकास गर्छ, अनि त्यो
व्यापारको सञ्चालन गर्छ। यो कारणले पनि अमेरिकामा धेरै नयाँनयाँ वस्तु एवं सेवाको
विकास भएको हो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 23, 2018
No comments:
Post a Comment