अमेरिकी
अर्थतन्त्रका विशेषताहरू
३.
खर्चमा आधारित अर्थ व्यवस्था
संयुक्त राज्य अमेरिकाको अर्थ व्यवस्थाको
अर्को महत्वपूर्ण विशेषता के हो भने यसले नागरिकहरूले खर्च गरून् भन्ने कुरामा बढी
जोड दिन्छ। अर्थात् अमरिकी अर्थ व्यवस्था खर्चमा आधारित अर्थ व्यवस्था हो।
नागरिकले बढी खर्च (उपभोग) गरे बजारमा बढी सामग्री बिक्री हुन्छ। बढी सामग्री
बिक्री भएमा देशमा बढी उत्पादन हुन्छ। देशमा बढी उत्पादन भएमा बढी व्यक्तिले
रोजगार पाउँछन्। बढी व्यक्तिले रोजगार पाएमा बढी व्यक्तिको आर्थिक स्थिति राम्रो
हुन्छ। बढी व्यक्तिको आर्थिक स्थिति राम्रो भएमा देशले आर्थिक समृद्धि प्राप्त
गर्छ। र यस्तो समृद्धि स्थिर र दीर्घकालीन हुन्छ। यही आर्थिक अवधारणामा बलियो
विश्वास गरेर अमेरिकी अर्थ व्यवस्थाले कार्य गर्दछ। नागरिकलाई बढी खर्च गर्न
सरकारले नै बढी उत्प्रेरित गर्छ।
अमेरिकी बजारमा केवल ‘एकपटक मात्र प्रयोग’
हुने सामग्री बिक्री पनि ठूलो परिमाणमा हुन्छ र यो यस कारणले हुन्छ कि त्यस्ता
सामग्रीहरू फेरिफरि पनि निर्माण होस् र उत्पादन कार्यले निरन्तरता पाओस्। रोजगारले
निरन्तरता पाओस्। रोजगारलाई अमेरिकाले आफ्नो अर्थ व्यवस्थाको मुटुको रूपमा लिने गर्छ
र रोजगारलाई सर्वाधिक महत्व दिन्छ। चुनावको समयमा राजनैतिक दलहरूको प्रमुख चुनावी
मुद्दा नै रोजगार र जनताको आम्दानी हुने गर्छ। अर्थात् आम अमेरिकीहरूले बढी खर्च
गर्ने हुनाले केवल एकपटक प्रयोग हुने सामान पनि ठूलो परिमाण खरिद गर्छन्।
‘हेलोइन’, ‘क्रिसमस’, ‘थैक्सगिभिंग’ ‘इस्टर’ अमेरिकामा मनाइने
यस्ता ठूला चाड हुन् जसमा केवल एकपटक मात्र प्रयोग हुने सामग्री ज्यादै ठूलो
परिमाणमा र अमेरिकाभरि नै बिक्री हुन्छ। उदाहरणका लागि हेलोइनमा पम्किन (फर्सी), क्रिसमसमा उपहार र क्रिसमस ट्री सजाउने अनेक सामग्री (जस्तै रैपिंग पेपर, ओर्नामेन्ट ), थैक्सगिभिंगमा मासु (टर्कीको मासु र
त्यससँग सम्बन्धित अन्य सामग्री), इस्टरमा प्लास्टिकको आकारका अन्डाजस्ता एकपटक मात्र उपभोग हुने
सामग्री अमेरिकाभरि नै ठूलो परिमाणमा बिक्री हुन्छ। यसैगरी भेलेन्टाइन्स डे, सेन्ट पैट्रिक्स डेमा पनि केवल एकपटक
मात्र प्रयोग हुने सामग्री ठूलो परिमाणमा बिक्री हुन्छ। भेलेन्टाइन्स डेको दिन
ठूलो परिमाणमा उपहार खरिद गरेर आदानप्रदान गरिन्छ भने सेन्ट पैट्रिक्स डेका दिन
हरियो लगाउने प्रचलन रहेकोले त्यस दिन हरियो रङ्गको टोपी, मोजा, टिशर्ट, टाई, रूमाल, सर्ट, पैन्ट
आदि ठूलो परिमाणमा बिक्री हुन्छ। अर्थात् गैरआवश्यकीय वा एकपटक प्रयोग गरिने
सामानमा पनि अमेरिकीहरू बढी खर्छ गर्छन्। र यस्तो धेरै खर्च गर्ने बानीले गर्दा
गर्छन्।
उल्लेखनीय कुरा त के छ भने अमेरिकाभरि
धुमधामले मनाइने उपरोक्त चाड, जुन क्रिश्चियन धर्मावलम्बीहरूले मनाउँछन्, गैर क्रिश्चियनहरू (जस्तै हिन्दू, इस्लाम, सिख,
बौद्ध, ताओ, बहाइ एवं अन्य) ले पनि उत्साह र उमङ्गले मनाउने गर्छन्। यो एक ठूलो
सामाजिक विशेषता हो। यो परम्पराले अमेरिका आएपछि सबै अमेरिकी हुन्छन् भन्ने
भनाइलाई पुष्टि गर्छ। अर्थात् अमेरिका आएपछि अमेरिकी सेन्डविच, पिज्जा र बर्गर सबैको प्रिय हुन्छ।
सेन्डविच कल्चरमा सबै रमाउन थाल्छन, चाहे चीन, भारत, केन्या, सुडान, इथोपिया, साउदी अरेबियाबाट आएका किन नहुन्। र यस
किसिमको सामाजिक विशेषताले राष्ट्रिय अर्थ व्यवस्थाको विकास र विस्तारमा महत्वपूर्ण
भूमिका खेलेको छ।
अमेरिकामा हरेक वर्ष नोभेम्बर महीनामा ‘थैंक्सगिभिंग’ चाड मनाउने गरिन्छ र
यो चाड अनिवार्यरूपले नै बिहीवारको दिन मनाउने गरिन्छ। अर्थात् कुनै पनि वर्षको
थैंक्सगिभिंग बिहीवारका दिन नै मनाउने गरिन्छ। र यो थैंक्सगिभिंगको पनि अमेरिकी
अर्थ तन्त्रसँग गहिरो सम्बन्ध छ। त्यस्तो कसरी होला? थैक्सगिभिंगको भोलिपल्ट शुक्रवार पर्छ र त्यो शुक्रवारलाई ‘ब्लेक
फ्राइडे’ भन्ने गरिन्छ। ब्लेक फ्राइडेको दिन स्टोरमा गएर होस् वा अनलाइन, ठूलो परिमाणमा खरिद हुन्छ। कतिपयले त
ब्लेक फ्राइडेको दिन सस्तोमा सामान पाइन्छ भनेर वर्षभरि नै यो दिनलाई कुरेर बसेका
हुन्छन् र यो दिन नै खरिद गर्छन्। हुन पनि यो दिन बिक्रेताहरूले ठूलो छुट दिएर
बिक्री गर्छन्। र कुनै सामान, सीमित सङ्ख्यामा, आधा वा त्योभन्दा पनि कम मोलमा बिक्रेताहरूले बिक्री गर्छन्।
थैंक्सगिभिंगको दिनदेखि नै क्रिसमसका लागि खरिदारी शुरु हुन्छ भन्ने जनविश्वास पनि
रहेको पाइन्छ। अमरिकामा ब्लेक फ्राइडेको दिन ज्यादै ठूलो परिमाणमा सामान बिक्री
हुन्छ।
सन् २०१७ को ब्लेक फ्राइडेमा अमेरिकीहरूले
विभिन्न सामग्रीहरूको खरिदमा ६ सय ८२ बिलियन डलर
खर्च गरेका थिए। सन् २०१८ मा ७ सय १७.५ बिलियन खर्च गर्ने अनुमान गरिएको छ।
यसैगरी प्रतिव्यक्ति यस वर्षको ब्लेक फ्राइडेमा औसतमा १ हजार ७ डलर खर्च गर्ने
अनुमान गरिएको छ। प्रत्येक व्यक्तिले १ हजार ७ डलर खर्च गर्नेमध्ये, प्रत्येक व्यक्तिले ६ सय ३८ डलर केवल
उपहार सामग्री खरिदमा, २
सय १५ डलर खाद्य सामग्री, सजावटका सामान, फूल,
ग्रिटिंग
कार्ड आदि खरिद गर्नमा र १ सय ५५ डलर छुट प्रदान गरिने सामग्री आदिको खरिदमा खर्च
गर्ने अनुमान गरिएको छ। अमेरिकामा ब्लेक फ्राइडलाई ‘खरिद दिवस’ को रूपमा मनाइन्छ
भने पनि हुन्छ। यो दिनमा आम अमेरिकीहरू खरिद (खर्च) गर्न मनोवैज्ञानिकरूपमा तयार
भएका हुन्छन्। यस दिन दैनिक आवश्यकताका वस्तुहरू कम, गैरदैनिक आवश्यकता (विलासी वा अर्धविलासी) वस्तुहरू ठूलो परिमाणमा
खरिद बिक्री हुन्छ।
अमेरिकामा जनताले खर्च गरोस् भन्ने विषयलाई
सरकारले कति महत्व दिन्छ भन्ने कुराको एउटा उदाहरण यहाँ
पेश गर्न चाहन्छु। सन् २००७ देखि अमेरिकी अर्थ व्यवस्था सुस्त हुन पुगेको थियो।
त्यो स्थिति सन् २००८ सम्म रह्यो। सुस्ताएको अवस्थाबाट अर्थ तन्त्रलाई बाहिर
ल्याउन एवं अमेरिकी अर्थ व्यवस्थालाई गति प्रदान गर्न सङ्घीय सरकारले प्रत्येक
व्यक्तिलाई, खर्च गर भनेर २५० डलर, सित्तैमा, प्रदान गरेको थियो। यस्तो रकम
पाउनेहरूको सङ्ख्या ५ करोड २० लाख जति थियो। यस किसिमको ‘प्रोत्साहन’ (Stimulus) रकम जनतालाई प्रदान गर्न सरकारले १३
बिलियन डलर खर्च गरेको थियो र त्यो १३ बिलियन डलर प्रोत्साहन रकम
प्राप्तकर्ताहरूले बजारमा पुगेर विभिन्न वस्तु एवं सेवाहरू खरिद गर्नेछन् र
राष्ट्रिय अर्थ व्यवस्थामा सुधार अउने छ भनी सरकारले दृढ विश्वास लिएको थियो। हुन
पनि प्राप्तकर्ताहरूले त्यो रकम विभिन्न सामग्री खरिदमा खर्च गरे, अर्थ व्यवस्थाले गति लियो पनि।
फेब्रुअरी १७, २००९ मा अमेरिकी काङ्ग्रेसले एउटा -ARRA: The American Recovery and Reinvestment Act of 2009 को निर्माण गरेर जनतामाझ उक्त
प्रोत्साहन रकम बाँडेको थियो।
आम अमेरिकीले प्रयोग गर्ने विभिन्न सामग्री
(जुन घरभित्र हुन्छ जस्तै फर्निचर, कपडा, खाद्य
सामग्री, लुगा, सरसफाइका समान आदि) को गणना गर्ने हो भने तिनको सङ्ख्या लगभग ३ लाख
हुन आउँछ। यस जानकारीबाट पनि थाहा पाउन सकिन्छ कि आम अमेरिकी कति खर्च गर्ने
रहेछन्। गएको पचास वर्षमा आम अमेरिकीले प्रयोग गर्न घरको आकार तीन गुनाले बढेको छ, तर पनि कतिपयले घरमा सामान नअटाएर
बारितिर वा भाडाको कोठामा राख्ने गरेका छन्। औसतमा एक अमेरिकी बच्चा (औसत दस वर्ष
उमेरका) को हातमा २३८ वटा खेलौना रहेको हुन्छ। संसारभरिका बच्चाहरूमध्ये ७.३१
प्रतिशत बच्चाहरू अमेरिकामा बस्छन् तर तिनीहरूले संसारभिरका बच्चाहरूले प्रयोग
गर्ने खेलौनाको ४० प्रतिशत खेलौना प्रयोग गर्छन्। यसैगरी प्रत्येक महिलासँग औसतमा
३० जोर लुगा हुन्छ। आम अमेरिकाले औसतमा, वर्षभरिमा १ हजार ७ सय डलर केवल लुगा कपडामा मात्र खर्च गर्छन्। र
प्रत्येक वर्ष ६५ पौण्डको पुराना लुगाहरू फाल्छन्। आम अमेरिकीहरूले गैरआवश्यकीय
वस्तु (घडी, फैसन जुत्ता, गहना आदि) जुन नभई नहुने होइन, मा खर्च गर्ने रकमको लेखाजोखा गर्ने हो भने त्यो वार्षिक १.२
ट्रिलियन डलर हुन आउँछ।
विकासशील देशहरू जस्तै नेपाल, भारत, पाकिस्तानमा प्रत्येक व्यक्तिले घर घरायसी आवश्यकताका लागि प्रयोग
गर्ने सामग्रीहरूको सङ्ख्या ३० हजारभन्दा माथि जान सक्तैन।
अब यहाँ एउटा प्रसङ्ग जोडौं। हाम्रो समाजमा
भनाइ छ। ‘आप का कि बाप का’। आफ्नो कमाइ हो भने ज्यादै कम खर्च गरेर पाइपाइ
जोगाउने। बाबुको कमाइ हो भने मात्र हात खोलेर खर्च गर्ने। उपरोक्त भनाइको आशय यही
हो। अर्थात् आफ्नो कमाइ खर्च नगर्ने, सकेसम्म जोगाउने। खर्च नगर्ने र पाइपाइ जोगाउने व्यवहारलाई हाम्रो
समाजले उत्तम व्यवहारको रूपमा लिन्छ। आवश्यकता बाहेकका वस्तु खरिद गर्नुलाई हाम्रो
समाजले फजुलखर्ची मान्छ। तर हाम्रो यो सामाजिक धारणा राष्ट्रिय अर्थतन्त्रको लागि
नकारात्मक सोच हो। नकारात्मक व्यवहार हो। अर्थ नीतप्रतिकूल हो। यस्तो सन्देशले, जसले बचत गर, बचत गर भन्छ, आर्थिक विकासको गतिलाई अति नै मन्द
पारिदिन्छ।
अमेरिकीहरूको बढी खर्च गर्ने बानीलाई डेबिट
कार्ड, क्रेडिट कार्डले पनि सघाएको छ। तत्काल
कुनै सामान खरिद गर्न मन लाग्यो भने ती कार्ड प्रयोग गरेर तत्काल सामान खरिद गर्न
सकिन्छ। अर्थात् मनको वेग (केवल रहरले गर्ने खरिद) र आवश्यकता (जरुरी भएर गरिने
खरिद) लाई रोक्नुपर्दैन। डेबिट कार्ड र क्रेडिट कार्ड बोक्दा हरबखत पैसा बोके सरह
हुन्छ।
यसरी
आम अमेरिकीहरूको बढी खर्च गर्ने बानीले अमेरिकी अर्थ व्यवस्थालाई गति दिएको छ, कुनै पनि गाडीलाई पेट्रोल वा डिजेलले
गति दिएझैं।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा
प्रकाशित Sunday,
November 11, 2018
No comments:
Post a Comment