अमेरिकी अर्थ व्यवस्थाका विशेषता
८. पूँजीवाद
अमेरिकी अर्थ व्यवस्था पूँजीवादी अर्थ व्यवस्था
हो। अमेरिकी अर्थ व्यवस्थाले पूँजीवादलाई आर्थिक विकासको मार्ग दर्शक मान्दछ। र
पूँजीवादको प्रयोगद्वारा मुलुक मात्र होइन, निर्धन वा सामान्य जनताको आर्थिक स्तर विकसित हुन्छ भन्ने
कुरामा बलियो विश्वास गर्दछ। हुन त केही भन्नेहरू अमेरिकी अर्थ व्यवस्था
पूर्णरूपेण पूँजीवादी होइन भन्छन्। उनीहरूका तर्क अनुसार अमेरिकाले सामाजिक
सुरक्षा (Social Security) को व्यवस्था
गरेर नागरिकहरूलाई प्रत्यक्ष एवं अप्रत्यक्ष विभिन्न आर्थिक सहयोगहरू प्रदान गर्ने
गरेको र यसैगरी उपभोक्ताहरूको हितको रक्षा गर्न आवश्यक परेको बेला स्वतन्त्र
बजारमा हस्तक्षेप गर्ने गरेकोले अमेरिकी अर्थ व्यवस्थालाई पूर्णरूपेण पूँजीवादी
मान्न सकिंदैन।
फ्रान्स, ग्रेट ब्रिटेन, जर्मनी, अस्ट्रेलिया,
सिङ्गापुर, ताइवान, निदरल्यान्ड्स,
डेनमार्क, स्वीडेन, साउथ कोरिया,
फिनल्यान्ड, नर्वेजस्ता पूँजीवादी अर्थ व्यवस्था भएका मुलुकहरूका
राष्ट्रिय अर्थतन्त्रको प्रकृति अध्ययन गर्दा पूँजीवादको मार्गमा अमेरिका निकै
अगाडि रहेको प्रस्ट हुन्छ। बजारमा अनावश्यक हस्तक्षेप नगरेर, नागरिकहरूलाई निजी सम्पत्ति सङ्ग्रह, सुरक्षा र आफूखुसी प्रयोग गर्ने अधिकार दिएर,
ठूला–ठूला कर्पोरेशनका मालिक मात्र होइन, साना–साना व्यापारका
मलिकहरूलाई पनि व्यापारमा सफल हुन सहयोग गरेर अमेरिकाले आफू पूँजीवादको प्रयोगमा अडिग रहेको परिचय पनि
दिएको छ।
अमेरिकामा वस्तु एवं सेवाहरूको मूल्य सरकारले
होइन बजारले निर्धारण गर्दछ। माग र आपूर्तिको अन्तर्सम्बन्धबाट वस्तु एवं
सेवाहरूको मूल्य निर्धारण हुने गर्दछ। यो कारणले गर्दा अमेरिकाको कुनै एक शहरको एक
कुनामा कुनै एक वस्तुको मूल्य १ डलर छ भने सोही वस्तुको मूल्य सोही शहरको अर्को
कुनामा ५ डलर पनि हुन्छ सक्छ। र यस्तो हुने गर्छपनि। अर्थात् मूल्य निर्धारण गर्न
बिक्रेताहरू पूर्णरूपमा स्वतन्त्र हुन्छन्। यस्तो गर्नाले बजारमा वस्तु एवं सेवा बिक्री गर्नका लागि बिक्रेताहरूबीच
तीव्र प्रतिस्पर्धा हुन्छ र उपभोक्ताहरूले सस्तोमा वस्तु वा सेवा खरिद गर्न सक्छन्।
प्रतिस्पर्धापूर्ण बजारले उपभोक्ताहरूको हितको रक्षा गर्दछ भने प्रतिस्पर्धाविहीन
बजारले आपूर्तिकर्ता एवं बिक्रेताहरूको मनोमानी बढाउँछ। यो कारणले गर्दा बिक्री
गरिने वस्तुहरूमा अमेरिकामा अधिकतम खुद्रा मूल्य (Minimum Retail Price) लेखिएको हुँदैन। भारत, बङ्गलादेश लगायत अन्य केही देशमा बिक्री गरिने वस्तुहरूमा
अहिलेपनि अधिकतम खुद्रा मूल्य लेख्ने चलन छ। अहिले पनि ती मुलुकका बजारहरू,
उत्पादक वा बिक्रेतामुखी छन्। अर्थात् मूल्य
नियन्त्रण गर्न सरकार सक्रिय रहेको देखिन्छ।
अमेरिकालाई आर्थिक समृद्धिको दिशामा डोयाउन
एवं संसारकै धनी राष्ट्र तुल्याउन यस राष्ट्रले अङ्गीकार गरेको पूँजीवादी अर्थ
व्यवस्थाले महŒवपूर्ण भूमिका
खेलेको छ। पूँजीवादले व्यापारीहरूलाई आफ्नो स्वेच्छा अनुसार व्यापार
रोज्न एवं सञ्चालन गर्न दिएर व्यापारीहरूको हितको रक्षा गरेको छ भने अर्कोतिर
मूल्य निर्धारण कार्य बजारलाई गर्न दिएर उपभोक्ताहरूको हित अभिवृद्धि गरेको छ। यो
कारणले गर्दा अमेरिकी अर्थ व्यवस्था दिन प्रतिदिन बलियो हुँदै गएको छ। पूँजीवादको
प्रयोगले अमेरिकालाई आर्थिकरूपमा यति बलियो तुल्याइदिएको छ कि आउँदो पचास
वर्षसम्मपनि अमेरिकी अर्थ व्यवस्था कमजोर हुने सम्भावना देखिंदैन। अमेरिकालाई साना
त के चीन, रूस, ब्रजील, भारतजस्ता ठूला अर्थ व्यवस्था भएका राष्ट्रहरूले पनि
दशकौंसम्म उछिन्न सक्ने सम्भावना देखिंदैन।
पूँजीवादले अमेरिकी अर्थ व्यवस्थालाई पारेको
अति सकारात्मक प्रभावबारे चर्चा गर्दा पूँजीवाद के हो भन्नेबारे पनि चर्चा गर्नु
पनि आवश्यक रहेकोले आउनुहोस्, पूFजीवादबारे पनि छोटो चर्चा गरौं।
सामान्य किसिमले परिभाषित गर्दा पूँजीवाद
भनेको उत्पादन व्यवस्थामा पूँजीको भूमिकालाई प्रमुख मान्नु हो। बजार प्रणालीलाई
स्वतन्त्ररूपले कार्य गर्न दिनु हो। उत्पादक एवं बिक्रेतालाई, विनाहस्तक्षेप, काम गर्न दिनु हो। स्वतन्त्र बजार अवधारणामार्फत
श्रमिकहरूको हितको रक्षा गर्नु हो। व्यापरको मुटु मुनाफालाई मान्नु हो।
पूँजीवादलाई राम्ररी बुझ्न आउनुहोस्, पूँजीवादका केही महत्वपूर्ण विषेशताहरूको छोटो
चर्चा गरौं –
निजी सम्पत्ति: पूँजीवादी व्यवस्थामा कुनै व्यक्तिले आफूल
आर्जन गरेको वा पाएको सम्पत्तिलाई आफ्नो निजी बनाएर राख्न सक्छ र त्यसको उपभोग पनि
स्वेच्छा अनुसार गर्न सक्छ। सरकार वा राज्यले व्यक्तिको सम्पत्तिमा कुनै पनि
किसिमको नियन्त्रण गर्न पाउँदैन बरु प्रत्येक नागरिकको निजी सम्पत्तिको सुरक्षा
गर्दछ। साम्यवादी अर्थ व्यवस्थामा निजी सम्पत्ति भन्ने हुँदैन। समाजवादी अर्थ
व्यवस्थामा व्यक्तिको निजी सम्पत्ति सरकारले कुनै पनि बेला समाजको हितमा उपयोग
गर्न सक्छ। समाजवादी अर्थ व्यवस्थामा सरकारले निजी सम्मत्ति केवल सम्पत्तिको
मालिकले मात्र प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्दैन।
मूल्य व्यवस्था: पूँजीवादी अर्थ
व्यवस्थामा सरकार वा राज्यको हस्तक्षेपविना, अर्थात् माग र आपूर्तिको अन्तक्र्रियाद्वारा मूल्य निर्धारण
हुन्छ। मूल्य निर्धारणमा बजारको भूमिका सर्वेसर्वा हुन्छ। समाजवादी एवं साम्यवादी
अर्थ व्यवस्थामा मूल्य निर्धारण सरकारले गर्दछ।
व्यापार छनोट
गर्ने स्वतन्त्रता: पूँजीवादको सर्वाधिक असल पक्ष हो कुन व्यापार
वा पेशा गर्ने भन्ने कुरा व्यक्ति स्वयंले स्वतन्त्ररूपले निर्धारण गर्न पाउनु।
कुन व्यापारमा आफू सफल हुने हो भन्ने तत्वले व्यक्तिलाई यो वा त्यो व्यापार गर्न निर्देशित
गर्दछ। साम्यवादी अर्थ व्यवस्थमा व्यापार व्यक्तिले होइन, सरकारले गर्छ।
उपभोक्ता बजारको
सर्वेसर्वाः “उपभोक्ता (क्रेता) छ र त व्यापार छ, उपभोक्ता छ र त व्यापारी छ। अर्थात् उपभोक्ताको
कारण नै व्यापार एवं व्यापारीको सृजना भएको हो”–यो सिद्धान्तलाई शिरोपर गरेर पूँजीवादले कार्य गर्दछ।
पूँजीवादको मूल मन्त्र उपभोक्ता व्यापारको जन्मदाता हो। उपभोक्ताको हात जहिले पनि
माथि छ र सदैव रहनु पनि पर्छ। उपभोक्ताले खरीद गरेको सामान फर्काउन आउँछ भने
क्रेताले सहर्ष स्वीकार गर्ने मात्र होइन, उपभोक्तालाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने कुरामा बिक्रेता हरदम क्रियाशील
रहनुपर्छ। दसचोटी सामान फर्काउन आउँदा पनि बिक्रेताले सहर्ष स्वीकार गर्नुपर्छ।
मुनाफा प्रमुख: पूँजीवादको प्रमुख उद्देश्य उत्पादक एवं बिक्रेतालाई राज्यको प्रचलित कानून
अनुसार जति सक्छ, कमाउन दिनु हो। अर्थात् पूँजीवादमा कुनैपनि व्यापारिक कार्य
मुनाफा गर्ने उद्देश्यबाट अभिप्रेरित भएर गरिएको हुन्छ। कुनै पनि उत्पादकले के
उत्पादन गर्ने र कुनै पनि बिक्रेताले के बिक्री गर्ने भन्ने कुराको निर्धारण
मुनाफाले गरेको हुन्छ।
अहस्तक्षेपकारी सरकारी
भूमिकाः उत्पादनका साधनहरू (भूमि, प्राकृतिक स्रोत,
श्रम, पूँजी र सङ्गठन प्रयोग गर्न नागरिक (व्यापारी) हरू पूर्णरूपमा स्वतन्त्र
हुन्छन्। उनीहरूले गर्ने व्यापारमा सरकारले कुनै पनि किसिमको हस्तक्षेप गर्दैन।
आफ्नो व्यापारबारे व्यापारीहरूले स्वतन्त्र किसिमले निर्णय लिन सक्छन्।
प्रजातान्त्रिक: अन्य (मिश्रित, समाजवादी, साम्यवादी) अर्थ व्यवस्थाको तुलनामा पूँजीवादी अर्थ
व्यवस्था ज्यादै प्रजातान्त्रिक मानिन्छ। प्रजातन्त्रमा जसरी प्रत्येक नागरिकसँग
स्थानीय एवं केन्द्रीय सरकार (निवार्चनद्वारा) छान्ने अधिकार हुन्छ, त्यसैगरी पूँजीवादमा पनि प्रत्येक नागरिकसँग
आफूले चाहेको व्यापार सञ्चालन गर्न पाउने अधिकार हुन्छ।
स्वरुचि: पूँजीवादी अर्थ व्यवस्थामा व्यक्तिको रुचिले कस्तो व्यपार कहाँ र कसरी सञ्चालन
गर्ने भनी निर्धारण गर्दछ। व्यक्तिको रुचि नै सर्वेसर्वा हुन्छ। यसरी पूँजीवादमा
व्यक्तिले आफ्नो रुचि (अनुभव, दक्षता, कुशलता, योग्यता, सीप, विशिष्ट ज्ञान
आदि) को आधारमा व्यापार स्थापना र सञ्चालन गर्न सक्छ। तर
साम्यवादी व्यवस्थामा कुनै पनि व्यक्तिले कस्तो कार्य गर्ने भन्ने कुराको निर्धारण
सरकारले गर्दछ।
अनियमन: ती नियमहरू, जसको प्रयोगले व्यापार विकासमा अवरोध पुग्छ,
हटाउँदै अर्थात् विनियमन (Deregulation) गर्दै जानुलाई पूँजीवादको लक्ष्यको रूपमा लिन
सकिन्छ। व्यापार गर्न, व्यापारमा संलग्न
पक्षलाई सजिलो होस् र व्यापारले उपभोक्ताहरूको हितको सुरक्षा गरोस् भन्ने उद्देश्य
पूँजीवादले राखेको हुन्छ। हुनपनि नियमहरू सार्वकालिक हुनुहुँदैन। नियमहरू समय,
परिस्थिति अनुसार निर्माण हुने भएकाले कुनै
समयमा प्रयोजनहीन हुने नियमहरू हटाउनु आवश्यक हुन्छ।
अमेरिकी अर्थ व्यवस्थमा पूँजीवादका उपरोक्त
विशेषताहरू स्पष्ट देख्न पाइन्छ। ती विशेषताहरूको प्रयोग पनि प्रभावकारी किसिमले
भएको अनुभव गर्न सकिन्छ। अमेरिकामा पूँजीवाद केवल सैद्धान्तिक रूपमा मात्र छैन,
व्यवहारमा पनि रहेको देख्न सकिन्छ। अझै
व्यवहारमा बढी रहेको देखिन्छ। र यो पूँजीवादको स्पष्ट, निरन्तर र व्यावहारिक प्रयोगले नै अमेरिकालाई आर्थिकरूपमा
सर्वाधिक शक्तिशाली तुल्याइदिएको छ। आर्थिक महाशक्तिको दर्जा दिलाएको छ। पूँजीवाद
अमेरिकी अर्थ व्यवस्थाको मेरुदण्ड हुन पुगेको छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, December 21, 2018
akoutilya@gmail.com
No comments:
Post a Comment