अमेरिकी अर्थ व्यवस्थाका विशेषता
७. सूचना एवं जानकारीको देश
अमेरिकालाई सूचना एवं जानकारीको देश भने पनि
हुन्छ। सूचना र जानकारीको व्यवस्थापन, प्रसारण एवम् प्रयोग अमेरिकामा जति संसारको
अन्य कुनै देशमा नहोला भने पनि हुन्छ। सूचना एवं जानकारीको व्यवस्थापन प्रभावकारी
किसिमले गर्न सकेकोले नै अमेरिका आर्थिक विकासको पथमा सबै मुलुकहरू भन्दा अगाडि छ।
अमेरिकामा सूचना एवं जानकारीलाई अत्यधिक महत्व दिने गरिन्छ। आर्थिक विकासको
क्षेत्रमा अमेरिकाले यी आवश्यकीय तत्वहरूलाई अति लाभदायक किसिमले उपयोग गरेको छ। आर्थिक
विकास र सूचना एवं जानकारी विच गहिरो सम्बन्ध पनि छ।
अमेरिकामा सूचना एवं जानकारीको उत्पत्ति,
व्यवस्थापन, प्रसार र प्रयोग कसरी गरिन्छ भन्ने कुराको एउटा सानो उदाहरण हेरौ। एउटा
कुनै व्यक्ति कुनै एक मोटेल (होटेल) मा विभिन्न समयमा बसेको छ भने त्यो मोटेलसंग
त्यस व्यक्ति (मोटेलमा बस्ने) बारे सयौ किसिमको जानकारी संकलित र सुरक्षित
अवस्थामा रहेको हुन सक्छ। जस्तै बस्ने त्यो व्यक्तिले धुम्रपान गर्छ कि गर्देन,
लामो अवधिसम्म बस्छ वा छोटो अवधिसम्म बस्छ, कोठ भित्र कस्तो तापक्रम राख्न
रुचाउँछ, आएको बेलमा विभिन्न कोठमा बस्न मन पराउँछ वा एउटै कोठा (सोही नम्भरको) मा
बस्न रुचाउँछ, कुन कम्पनीको क्रेडिट कार्ड प्रयोग गरेर मोडेलको बिल भुक्तान गर्छ,
मोटेलकै सामानहरू कुन अनुपातमा खर्च गर्छ, उसको इमेल ठेगाना के हो, ऊ कुन उमेर
समूहमा पर्छ, कुन स्थानको बासिन्दा हो, वर्ष भरिमा कति पटक मोटेलमा बस्न आउँछ,
त्यस मोटेलमा बस्दा कुनै अपराध गरेको छ कि, दिन भरिमा कतिपटक आफू बसेको कोठाको
ढोका खोल्छ आदि जस्ता अनेक किसिमका जानकारी, जुन त्यो बस्ने व्यक्ति संग सम्बन्धित
हुन्छ, त्यो मोटेलसँग हुन्छ। मोटेलले आफू कहाँ बस्न आउने व्यक्तिहरू बारे संकलन
गरेको त्यस किसिमका जानकारीहरूको उपयोग त्यहाँ बस्न आउनेहरूलाई कसरी बढी भन्दा बढी
सेवा पुर्याएर उनीहरूलाई अत्यधिक सन्तुष्टि दिने र आफ्नो व्यापारको जीवन लामो
पार्दै राम्रो आय आर्जन प्राप्त गर्ने कार्यमा व्यवस्थित किसिमले पर्योग गर्छ। ग्राहकमूखि
नया नया योजानहरू ल्याएर प्रतिस्पर्धीहरूलाई पछाडि पार्ने कार्यमा प्रयोग गर्छ। अर्थात
सूचना एवं जानकारीहरूको प्रयोग आर्थिक विकासको क्षेत्रमा व्यापक रूपमा हुन्छ।
अमेरिकी व्यापार सूचना प्रणाली यति प्रभावकारी र
व्यवस्थित छ कि कुनै एउटा महत्वपूर्ण सूचना विश्वका अनेक कुनाहरूमा पुग्न एक मिनट
पनि लाग्दैन। यस तथ्यको एउटा सानो उदाहरण यहाँ प्रस्तुत गरौ। अमेरिकाको कुनै एक
वृहत् खुद्रा बिक्री भण्डाले विभिन्न किसिमका उपभोक्ता वस्तुहरू बिक्री गर्छ।
त्यसरी बिक्री गर्नु बस्तुहरू मध्ये पैन्ट र सर्ट पनि पर्छ। त्यो खुदा बिक्री
भण्डारले आफूले बिक्री गर्ने पैन्ट र सर्ट बङ्गलादेशबाट आयात गर्ने गरेको छ।
अमेरिका स्थिति त्यो खुद्रा बिक्री भण्डारले एउटा वा सो भन्दा बढी पैन्ट वा सर्ट
कुनै उपभोक्तालाई बिक्री गर्नासाथ त्यो बिक्रीबारे जानकारी बङ्गलादेश स्थित
उत्पादकले तत्काल, ठिक त्येही समयमा पाउँछ र सोही अनुसार आफ्नो उत्पादन संख्या
(सर्ट र पैन्टको) नियन्त्रित गर्छ। अर्थात बङ्गलादेश स्थित कपडाको उत्पादकले जसरी
जसरी अमेरिकी खुदा भण्डारहरूले आफ्नो सामाग्री (पैन्ट र सर्ट आदि) बिक्री गर्छन
सोही अनुसार उसले तत्काल बिक्री-सूचना पाउँछ र उत्पादन गर्छ। अर्थात बिक्रेता (Cashier) ले भुक्तानी लिनका
लागि बिक्री गरिएको वस्तु (पैन्ट वा सर्ट) स्क्यान (विद्युतीय उपकरणद्वारा बिल
तयार पार्ने कार्य) गर्नासाथै कुन संख्यामा पैन्ट वा सर्ट बिक्री भएको हो भन्ने
सूचना उत्पादकले तुरन्तै, तत्काल विश्वको जुन सुकै कुनाबाट पनि पाउन सक्छ। ऊत्पादकले
पैन्ट र सर्ट केवल यो संख्यामा माग (हप्ता वा महिनामा) होला भन्ने अनुमान गरेर
मात्र उत्पादन गर्देन। प्राप्त ताजा सूचनाहरूको आधारमा गर्छ। यस्तो गरेर बङ्गलादेश
स्थित उत्पादक र अमेरिका स्थित खुद्रा भण्डारहरू, दुबैले ‘इनभेन्ट्री’ (मोज्दात)
मा पूँजी फँसाएर मौज्दात बढी राख्नु पर्दैन। चर्को मौज्दात लागत बेहोर्नु पर्दैन।
ताजा जानकारी आदान प्रदान गरेर पनि अमेरिकी खुदा भण्डारहरूले बिक्री गरिने
वस्तुहरूको बिक्रय मूल्य कम पार्ने प्रयास गर्छन। उपभोक्ताहरूले माग गरेको समयमा
वस्तुहरू सजिलै उपलब्ध गराउँछन।
अमेरिकमा खरिद बिक्री हुँदा ज्यादै नै कम मात्रमा नगदको प्रयोग हुन्छ। सन् २०१७ मा
गरिएको एक सर्वेक्षण अनुसार लगभग ८० प्रतिशत कारोबार (खरिद-बिक्री) डेबिट वा
क्रेडिट कार्डले हुने गरेको पाइएको थियो। १२ प्रतिशत कारोबार मात्र नगदमा हुने
गरेको पाइएको थियो। यो सन्दर्भ यहाँ उल्लेख गर्न खोज्नुको उद्धेश्य कुनै
उपभोक्ताले डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर सामान खरिद गर्दा त्यस
उपभोक्ताबारे बिक्रेताले कति किसिमका जानकारी हासिल गर्छ भन्ने दर्शाउनु हो। सामन
खरिद गरेर भुक्तानी दिनका लागि उपभोक्ताले डेबिट वा क्रेडिट कार्ड घोट्ने (Swipe) बित्तिकै, एकै पटकमा,
उपभोक्ताबारे अनेक जानकारीहरू बिक्रेताको सूचना संग्राहालयमा जान्छ। जस्तै उक्त
उपभोक्ताले कति रमकको सामान खरिद गर्यो, खाद्य वस्तु कति रकमको खरिद गर्यो, फलफूल
कति रकमको खरिद गर्यो, लुगाफटो कति रकमको खरिद गर्यो, औषधी कति रमकको खरिद गर्यो,
अत्यावश्यक वस्तु कति रमकको खरिद गर्यो, विलासी वस्तु कति रकमको खरिद गर्यो, उपभोक्ताको
बसोबास कुन क्षेत्रमा रहेको छ, स्थानीय हो वा अर्को राज्यको हो, सस्तो सामान बढी
खरिद गर्ने वानी रहेछ वा केलव महँगो सामान खरिद गर्ने बानी रहेछ जस्ता क्रेता
सम्बन्धी अनेक किसिमका तर अति महत्वपूर्ण जानकारीहरू बिक्रेताले सजिलै प्राप्त
गर्छ। यस किसिमका जानकारीहरू खरिदका लागि प्रयोग गरिएको क्रेडिट कार्डको कम्पनीले
पनि प्राप्त गर्छ। यस किसिमका सूचना एवं जानकारीसूचनाहरूको उपयोग क्रेडिट कार्ड
कम्पनी र बिक्रेता, दुबै पक्षहरूल क्रेताहरूको व्यवहार विश्लेषण गर्नका लागि
गर्छन। क्रेता वा उपभोक्ताहरूको खरिद-व्यवहार व्यवस्थित किसिमल अध्ययन र विश्लेषण
गरेर उनीहरूले उपभोक्ताहरूलाई अत्यधिक सेवा पुर्याउने नया नया तरिकाहरूको खोजि
गर्छन।
व्यापारको क्षेत्रमा सूचना एवं जानकारी अति नै
महत्वपूर्ण भएकोले सूचना एवं जानकारीहरू खरिद बिक्री पनि हुन्छ।
“दिनहु प्राप्त हुने मेल अमेरिकामा प्रत्येक दिन
नच्यात्ने हो भने ती मेलहरूले एउटा मान्छेलाई छोप्न सकिन्छ।” यो भनाइ अमेरिकामा
निकै प्रचलित छ। हुन पनि एक व्यक्ति वा परिवारले अमेरिकामा प्रत्येक दिन ठूलो
संख्यामा मेल (चिठ्ठी-पत्र, विज्ञापन, सूचना, जानकारी आदि) प्राप्त गर्छ। केही मेल
आवश्यक हुन्छन भने केही अनावश्यक। तर अनावश्यक ठानिएका मेलहरूले पनि महत्वपूर्ण
जानकारी ल्याएका हुन्छन। अनावश्यक ठानिएका ती मेलहरू प्राप्तकर्ताका लागि उपयोगि
नभएता पनि प्रेषकका लागि भने निकै उपयोगी हुन्छ। यस किसिका मेलहरूको उपयोग गरेर
बिक्रेताहरूले आफ्ना वस्तु एवं सेवाहरूबारे जानकारी उपभोक्ताहरूलाई दिन्छन। साथै
सम्भाव्य ग्राहकहरूको खोजि पनि गर्छन।
अमेरिकामा सूचना एवं जानकारीको सम्प्रेषण पनि
निकै स्पष्ट किसिमले हुने गर्दछ। अर्थात पत्रमा जे लेखिएको छ, प्राप्तकर्ताले सोही
मात्र बुझोस, अन्य अर्थ नलगाओस भन्ने उद्धेश्य राखिएको हुन्छ। गलत अर्थ लाग्ने,
भ्रम सृजना हुने, बुझ्न अस्पष्ट हुने कमजोरीबाट सूचना वा जानकारीलाई अलग राख्ने
प्रयास गरिएको हुन्छ। उदाहरणका लागि कसैलाई तिन पृष्ठको पत्र लेखिएको छ भने त्यस
पत्रको पाना संख्यामा यो पत्र तिन पानाको हो भनेर उल्लेख गरिएको हुन्छ। यसैगरी,
तेस्रो पानामा केही लेखिएको छैन, सादा छ भने, सादा पानको बीचमा ‘यो पाना सादा नै
हो, यसमा केहि लेखिएको छैन” भनेर स्पष्ट संग उल्लेख गरिएको हुन्छ। स्पष्ट सूचना-प्रवाहका
यस्ता अनेक उदाहरणहरू छन्।
सूचना र जानकारी अमेरिकी अर्थ व्यवस्थाको रक्त
सञ्चार हो भने पनि हुन्छ। आर्थिक क्षेत्रमा त सूचना एवं जानकारीको व्यापक प्रयोग
हुन्छ। कतिपय क्षेत्रमा सरकारले नै व्यवसायीहरूलाई आवश्यक सूचना एवं जानकारी
उपलब्ध गराउँछ।
एक अर्को उदाहरण। पानी परेको बेलामा पसल वा
कार्यालयको भूँइ सेवाग्राहीको आवागमनले गर्दा भिज्न पुगेको हुन्छ। भूँइ भिजेको छ
भन्ने कुरा त्यस्तो अवस्थमा सबैले सजिलै गरी बुझ्न सक्छन। तर पनि पानी परेको
बेलामा त्यस किसिमका स्थानहरूमा “भूँइ भिजेको छ” भन्ने सूचना राखिएको हुन्छ। यसै
गरी तातो कफी तातो नै नै हुन्छ। उपभोक्ताले कफी तातो मानेर नै खरिद गरेको हुन्छ र
त्यो कफी तातो छ भन्ने कुरा उसलाई भलिभाँति थाहा हुन्छ। तैपनि उपभोक्ताले कुनै
दूर्घटनाको सामना गर्न नपरोस वा उपभोक्ताले झुक्किएर तातो तातो कफी मुखमान नहालोस
भनेर बिक्रेताहरूले कफीको कपमा “ज्यादै तातो छ” लेखि दिएका हुन्छन।
माथि उल्लेख गरिएका सूचना वा जानकारी-प्रवाह सामान्य
उदाहरणहरू हुन। नया वस्तु वा सेवाको विकास, विद्यमान वस्तुमा सुधार, वितरण
प्रणालीमा विकास, उपभोक्ताको हित-खोजी जस्ता कार्यहरूमा सूचना एवं जानकारीको अति
व्यवस्थित किसिमले उपयोग गरिन्छ। सूचना एवं जानकारीहरूको अति व्यवस्थित किसिमले
प्रयोग गरिएकोले नै अमेरिकामा गुगल, उबर, फेसबुक, युटुब, स्काइप, ट्विटर, इन्सटेग्राम,
ह्वाट्स एप, माइक्रो सफ्ट, एपल, अमेजन, इबे जस्ता नया नया व्यापारको विकास भएको
हो।
सूचना वा जानकारी व्यवस्थापनको एक अर्को उदाहरण।
रिटा, कट्रिना, गुस्ताभ, आइक, माइकल, फ्लोरेन्स, हारभी आदि व्यक्तिहरूका नाम
होइनन। अमेरिकामा आएका ठूला ठूला समुन्द्री आँधीहरूका नाम हुन। अमेरिकामा
समुन्द्री आँधी वा यस किसिमका घटनाहरूलाई नाम दिने गरिन्छ। यसरी नाम दिएर ती
आँधीबारे विभिन्न सूचना वा जानकारी संकलन कार्य सजिलो पारिन्छ। तिनले पुर्याएका जन
धनको क्षतिबारे अभिलेख राख्ने कार्यलाई चुस्त पारिन्छ। भविष्यमा आँधीको असरलाई
कसरी कम पार्न सकिन्छ त्यस कार्यमा ती सूचना एवं जानकारीहरूको उपयोग गरिन्छ।
अमेरिकामा सूचना एवं जानकारी अति व्यवस्थित
किसिमले प्रयोग गरिएको क्षेत्र हो मौसम सम्बन्धी भविष्यवाणी। प्रकृतिको प्रवृति र
व्यवहारबारे यति शुक्ष्म किसिमले सूचना एवं जानकारी संकलन, अध्ययन र विश्लेषण
गरिएको हुन्छ कि जुन दिन पानी पर्ने भनिएको हुन्छ पानी पर्छ नै। जुन दिए हिँउ
पर्ने भनिएको हुन्छ त्यस दिन हिउँ पर्छ नै। जुन दिन बरफ जम्न भनेको हुन्छ त्यस दिन
बरफ जम्छ नै। यसैगरी जुन दिन समुनद्री आँधी आउने भनिएको हुन्छ त्यस दिन समुन्द्री
आँधी आउँछ नै। जुन दिन, जुन स्थानमा टोरनाडो (वेग वायु) आउँछ भनिएको हुन्छ त्यस
दिन त्यस किसिमबाट टोरनाडो आउँछ।
यसरी सूचना एवं जानकारीको प्रयोग अमेरिकामा
व्यवस्थित किसिमले गरेर आर्थिक विकासको गतिलाई मात्र तिब्र पारिदैंन समाज-विकासको
गतिलाई पनि वेगवान पारिन्छ।
विश्वराज अधिकारी
Wednesday,
December 12, 2018
No comments:
Post a Comment