अमेरिकी अर्थ व्यवस्थाका विशेषता
६. यन्त्रीकरण
कुनै पनि काम गर्दा प्रत्यक्ष मानवीय श्रमको
प्रयोग हुने प्रचलन सम्भवतः संयुक्त राज्य अमेरिकामा एक सय वर्ष पहिले रहेको होला।
अहिलेको यो अति सञ्चार र अति यन्त्रीकरणको युगमा अमेरिकामा कुनै पनि काम गर्दा
प्रत्यक्ष श्रमको प्रयोग भएको कहीं पनि देख्न पाइँदैन। कृषि, उद्योग, व्यापार, सेवा सबै
क्षेत्रमा मेशीन र यन्त्रहरूले प्रत्यक्ष मानव श्रमलाई विस्थापित गरिसकेका छन्।
यहाँसम्म कि कुनै पसलमा बिक्रेता नै हुँदैन र बिक्री गर्ने कार्य केवल मेशीनले
गर्छ। यस्तो मेशीनलाई बिक्री मेशीन (Vending Machine) भन्ने गरिन्छ।
अमेरिकामा भान्सा, चर्पीसमेतमा यन्त्रको प्रयोग गरिएको पाइन्छ। शौचालय प्रयोग
गरिसकेपछि पानी (सिटमा) फाल्ने र हाथ सफा गरेपछि पेपर टबेल दिने
काम पनि विद्युत् सञ्चालित मेशीनहरूले गर्छन्। यसैगरी भान्सामा खाना पकाउँदा कति
तापक्रममा, कति बेरसम्म पकाउने नियन्त्रण पनि उपकरणले गर्छ। यी त्यस्ता
कार्यहरू हुन् जसले लागत नियन्त्रण गर्ने कार्य गर्छ। र वस्तुको मूल्य सस्तो पार्छ।
बिक्री लागत कम पारी सस्तोमा, चाहेको जुनसुकै बेलामा पनि वस्तु उपलब्ध गराउन
सकिने उद्देश्यका साथ अमेरिकामा व्यापक प्रयोगमा ल्याइने बिक्री मेशीन, बिक्रेताविहीन यस्तो मेशीन हो जसले निर्धारित
रकम (नगद वा क्रेडिड कार्डद्वारा) क्रेताबाट प्राप्त गरेमा क्रेताले खरिद गर्न
खोजेको वस्तु जस्तै पानी, हल्का पेय पदार्थ,
तयारी खाजा, शृङ्गार सामग्री तत्काल उपलब्ध गराउँछ। यस किसिमका बिक्री
मेशीनहरूको प्रयोग अमेरिकामा साना, ठूला शहरहरूमा
व्यापकरूपमा हुन्छ। र यस किसिमका मेशीनहरू बढी मानिसहरू जम्मा हुने स्थान –
कलेज, अपार्टमेन्ट कम्प्लेक्स, सार्वजनिक
पुस्तकालय, पार्क, चोक, मोटेल, सभा सम्मेलनस्थल आदिमा
राखिएको हुन्छ र चौबीस घण्टा यी बिक्री मेशीनहरू खुला हुन्छन्। यी बिक्री
मेशीनहरूले प्रमुखरूपमा दुईटा कार्य गरेको देखिन्छ। प्रथम, प्रत्यक्ष मानवीय श्रम (बिक्रेताविहीन भएकोले) को उपयोग
नगरेकोले यी मेशीनहरूले श्रम लागत जोगाउने गर्छन् र वस्तुको बिक्री मूल्य सस्तो पार्छन्।
दोस्रो, यो केवल एक मेशीन मात्र
भएको र यसलाई आराम नचाहिने, तापक्रमको प्रभाव
नपर्ने हुनाले ग्राहकहरूलाई २४ घण्टा सेवा प्रदान गर्न सक्छ। अमेरिकामा कुनै पनि
कार्यको लागि मेशीनको कसरी र कति प्रयोग हुन्छ भन्ने तथ्यको यो केवल एक सामान्य
उदाहरण मात्र हो।
उत्पादन लागतको क्षेत्रमा अमेरिकाले मेशीन र
यन्त्रहरूको प्रयोग गरेर वस्तु वा सेवाको उत्पादन लागत विश्वभरिमा नै कम पार्न सफल
भएको छ। अमेरिकाले उत्पादन व्यवस्थामा उच्च लागत–कुशलता प्राप्त गरेकोले यसले सस्तोमा र ठूलो परिमाणमा वस्तु
उत्पादन गर्न सकेको छ र त्यसको असर अमेरिकी मुद्रा (डलर) को विनिमय क्षमतामा पर्न
गएको छ। अमेरिकी कागजी मुद्राको सबैभन्दा सानो एकाइ (एक डलर) ले पनि उपभोक्ताले
अमेरिकी बजारहरूबाट एक छाकका लागि पुग्ने खाना खरिद गर्न सक्छ। अर्थात मुद्राको
सबैभन्दा सानो एकाइले पनि यति बढी विनिमय क्षमता राख्दछ। आर्थिक क्षेत्रमा प्राप्त
गर्न सकिने यो ज्यादै ठूलो उपलब्धि हो। यस किसिमको उपलब्धिले पनि अमेरिकालाई
विश्वको एक नम्बर आर्थिक महाशक्ति हुन सहयोग पुर्याएको छ। अमेरिकी डलरलाई
संसारभरिका बैंकहरूले स्वीकार गर्छन्। जिम्बाब्वेमा कुनै समयमा मुद्रास्फीतिी
हजारौ प्रतिशतले बढेको थियो। कुनै सामानको भुक्तानी दिन झोलामा नोट बोकेर
जानुपर्थ्यो। त्यस्तै स्थिति अहिले भेनेजुएलामा छ। मुद्राको क्रयशक्ति ज्यादै
फितलो हुने देशहरूमध्ये नेपाल पनि एक हो।
अति यन्त्रीकरणबाट उत्पादन व्यवस्थामा
प्राप्त भएको उच्च लागत–कुशलताले अमेरिकी
अर्थ व्यवस्थामा पारेको सकारात्मक प्रभावको अर्को एक उदाहरण यसरी पनि प्रस्तुत
गर्न सकिन्छ। अमेरिकी सङ्घीय सरकारले प्रतिघण्टा न्यूनतम ज्याला दर (सन् २००९ मा) $७.२५ तोकेको छ। त्योभन्दा कम ज्याला दरमा कसैलाई काममा
लगाउन पाइँदैन। तर यहाँ सुखद कुरा के छ भने कुनै एक कामदारले पाएको त्यो न्यूनतम (प्रतिघण्टाको) ज्याला (मासिक गरेर गणना गर्दा) ले सानो परिवारलाई पुग्ने (एक)
घरको मासिक ऋण (Mortgage), भोजन खर्च,
(एक) कारको मासिक ऋण, बीमा, औषधी उपचार,
शिक्षा एवं अन्य खर्च बेहोर्न सक्छ। अर्थात्
सरकारले न्यूनतम तोकिदिएको ज्यालाले पनि एक व्यक्तिले सामान्य जीवन, विनाकुनै ऋण, सजिलै जीवनयापन गर्न सक्छ। स्मरण रहोस्, अमेरिकामा उच्च माध्यमिक शिक्षा (१२ कक्षासम्म)
नि:ल्क छ नै, स्कूलले
विद्यार्थीहरूलाई तोकिएको परिमाण र
परिकारमा भोजन पनि निश्शुल्क उपलब्ध गराउँछ। साथै तोकिएको दूरीबाट आउने
विद्यार्थीहरूलाई यातातात (बस) सेवा पनि स्थानीय सरकारले निश्शुल्क उपलब्ध गराउँछ।
अमेरिकाले सर्वत्र मेशीन र यन्त्र प्रयोग
गरेको छ, तर सर्वाधिक प्रयोग गरेको
क्षेत्र भने कृषि हो। कृत्रिम वर्षा, जोताइ, बाली रोपाइँ, बाली कटानी, सुखानी आदि काममा पनि मेशीनकै उपयोग हुन्छ। फलफूल टिप्ने,
सङ्ग्रह गर्ने, भण्डारण गर्ने काममा पनि मेशीनको व्यापक प्रयोग हुन्छ,
ज्यादै थोरै मात्रामा मात्र प्रत्यक्ष मानवीय
श्रम प्रयोग हुन्छ। कम प्रत्यक्ष मानवीय श्रम प्रयोग गरेर ठूलो परिमाणमा उत्पादन
गर्न सकिने र ती उत्पादनहरू सहजै बिक्री गर्न सकिने हुनाले रोजगारका लागि कृषि
क्षेत्र पनि आकर्षक हुन पुगेको छ। अर्कोतिर, कृषि उत्पादनहरू सस्तो हुन गएकोले अमेरिकी उपभोक्ताहरूले
सस्तोमा खाद्य सामग्री बजारबाट खरिद गर्न पाएका छन्। सस्तोमा खाद्य सामग्री खरिद
गर्न पाएको हुनाले अमेरिकीहरू कम आयमा पनि जीवनयापन गर्न सक्षम भएका छन्। साथै
कृषकहरूले सस्तोमा उपत्पादन गर्न सकेकाले केही कृषि (वस्तु) उत्पादनको निर्यातबाट
उनी राम्रो आम्दानी प्राप्त गर्न सफल भएका छन्। अमेरिकाले ठूलो परिमाणमा भटमास,
गहुँ, मकै विश्वभरि निर्यात गर्छ। अमेरिका केवल उच्च प्रविधिमात्र होइन, कृषिजन्य वस्तुको पनि ठूलो निर्यातक हो।
मेशीन, यन्त्र, उपकरणको प्रयोगले
प्रत्यक्ष मानवीय श्रम विस्थापित गर्न सकिने र कम समयमा ठूलो परिमाणमा वस्तु एवं
सेवाहरू उत्पादन गर्न सकिने हुनाले उत्पादन लागत स्वतः कम भएर जान्छ। र उत्पादन
लागत कम पर्ने हुनाले ती वस्तुहरू बजारमा सस्तोमा बिक्री गर्न सकिन्छ। उपभोक्ताले
कम आम्दानीबाट पनि जीवनयापनका लागि चाहिने वस्तु सहजै खरिद गर्न सक्छ। अमेरिकाले
यही गरिरहेको छ। मेशीन, यन्त्र, उपकरण प्रयोग गरेर उत्पादन लागतलाई सम्भव भएसम्म
न्यूनतम बिन्दुमा झार्न सफल भएको छ। अमेरिकामा नोकर भन्ने छैन, नोकर भनेको मेशीन हो। र यो मेशीनले नै जुठो
भाँडा सफा गरिदिने, लुगा धोइदिने,
सुकाइदिने र खाना पकाइदिने, घर बढार्ने कार्य गर्छ।
मेशीन, उपकारण आदिको व्यापक प्रयोगको एउटा सानो अर्को उदाहरण हेरौं।
अमेरिकाका खुद्रा भण्डार वा कुनै पनि बिक्री भण्डारमा अथवा कुनै पनि खरीद–बिक्रीमा कोरा श्रम प्रयोग भएको देख्न पाइँदैन।
अर्थात् कुनै पनि बिक्रेताले बिक्री भएको विभिन्न वस्तुको मूल्य जोड्ने र भुक्तानी
लिने कार्यमा मानवीय श्रमको प्रयोग गर्दैन। प्रत्येक वस्तुमा टाँसिएको बारकोड
हेर्छ, त्यसलाई स्क्यान गर्छ,
प्रत्येक वस्तु स्क्यान गरिसके पछि मेशीन
(क्यास रजिस्टर) मा कुल रकम हेर्छ र सो रकम क्रेताबाट क्रेडिट वा डेबिट
कार्डद्वारा वा नगदमा प्राप्त गर्छ। यसरी एउटा बिक्रेताले मेशीन (क्यास रजिस्टर र स्क्यानर) प्रयोग गरेर एक
दिनमा हजरौंको सङ्ख्यामा वस्तुहरू छरितो किसिमले बिक्री गर्न सक्छ। र बिक्री लागत
नियन्त्रणमा योगदान पुर्याउन सक्छ। नोट गन्नपनि बिक्रेताको बढी समय खर्च हुँदैन
किनभने अमेरिकामा हुने खरीदबिक्रीमा नोटको प्रयोग केवल २० प्रतिशतजति मात्र हुन्छ।
अमेरिकामा मेशीन, औजार र उपकरणको प्रयोग अत्यधिक मात्रामा हुने अर्को क्षेत्र
हो, भवन निर्माण र यो कारणले
गर्दा नै भवन निर्माण र खरिद उपभोक्तामाझ सस्तो हुन पुगेको हो। अमेरिकामा सामान्य
आर्थिक अवस्थाको व्यक्तिले पनि आफ्नो आम्दानी अनुसार, साधारण वा अर्ध विलासी भवन खरिद गर्न सक्छ। तुलनात्मक रूपमा
हेर्दा बरमुडा, स्वीट्जरल्यान्ड,
हङकङ, आइसल्यान्ड, सिङ्गापुर,
नर्वे, बहमास, युनाइटेड अरब इमिरेट्स,
कतार, लगजम्बर्गजस्ता देशहरूको तुलनामा अमेरिकामा भवन निर्माण वा खरीद ज्यादै सस्तो
छ। न्युयोर्क र लस एन्जलसजस्ता महँगा शहरहरूलाई छाडेर कुरा गर्ने हो भने अमेरिकाका
साना शहरहरूमा घर निर्माण वा खरिद, क्रय शक्तिको
आधारमा संसारमैं सस्तो छ भने पनि हुन्छ। हुनत अमेरिकामा भवन निर्माण सस्तो हुनुको
अर्को महत्वपूर्ण कारण यहाँ प्रशस्त मात्रामा जग्गा उपलब्ध हुनु पनि हो,
तर भवन निर्माण मात्रको कुरा गर्ने हो भने
अमेरिकामा भवन निर्माण संसारमैं सस्तो होला। हुन पनि अमेरिकामा भवन निर्माण गर्दा
माटो खन्ने, पर्खाल लगाउने, छत बनाउने काम मात्र होइन, किल्ला ठोक्ने काम पनि मेशीनले नै गर्छ। भवन
निर्माणमा समेत पनि कोरा प्रत्यक्ष मानवीय श्रम प्रयोग भएको देख्न पाइँदैन। भवन
निर्माणमा प्रयोग हुने सामग्रीहरू पहिले नै तयारी अवस्थामा हुन्छ।
औद्योगिक क्रान्तिको सूत्रपात ग्रेट
ब्रिटेनमा भयो। ग्रेट ब्रिटेनको मुख्यगरी इङ्गल्यान्डमा सन् १७६० देखि १८४० बीचको
समयावधिमा औद्योगिक क्रान्ति भएको थियो। र त्यो औद्योगिक क्रान्तिले कोरा मानीवय
श्रमलाई मेशीन, औजार र उपकरणले
विस्थापित गरेको थियो। खासगरी कटन उत्पादनको क्षेत्रमा मेशीनको प्रयोग व्यापक हुन
थाल्यो।
अमेरिकामा पनि औद्योगिक क्रान्तिको ठूलो
प्रभाव पर्यो। ग्रेट ब्रिटेनबाट धेरै प्राविधिक (मेशीनको
आविष्कार र प्रयोग गर्न सक्षम व्यक्ति) अमेरिका आए र अमेरिकामा मेशीन, औजारको प्रयोगमा ठूलो वृद्धि गरे। तर
कृषिक्षेत्रमा भने अमेरिकीहरूले गगनचुम्बी विकास आफ्नै सीप र परिश्रम प्रयोग गरेर
गरे।
दोस्रो विश्वयुद्धपछि र खासगरी सन् १९६० को
दशकपछि अमेरिका उद्योगको क्षेत्रमा विश्वमैं नम्बर एक हुन पुग्यो। सन् १९९० पछि
आएको डटकम क्रान्ति (इन्टरनेटको व्यापक प्रयोग) ले अमेरिका लाई उत्पादन र
व्यापारको को क्षेत्रमा कसैले प्रतिस्पर्धा गर्न नसक्नेगरी निकै अगाडि पुर्यायो। यो अवधिदेखि उत्पादनको क्षेत्रमा केवल मेशीनमात्र होइन सूचना प्रविधिको पनि
व्यापक उपयोग हुन थाल्यो। सन् १९९० देखि २००० सम्मको समयावधिलाई अमेरिकामा डटकम
क्रान्तिको युग भन्ने गरिन्छ। इबे, अमेजनजस्ता
अनलाइन शपिंग ज्यान्टहरूले मानिसको खरिद व्यवहारमा नै परिवर्तन ल्याइदिए। भण्डारमा
(in store) हुने खरिदलाई अन लाइन शपिंगले उछिन्न थाल्यो।
यसरी अमेरिकाले उत्पादनको क्षेत्रमा मेशीन,
औजार, उपकरण आदिको प्रयोग गरेर उत्पादन र लागत–कुशलताको क्षेत्रमा सर्वकालीन अग्रणी स्थान हासिल गर्यो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 07,
2018
No comments:
Post a Comment