अमेरिकी अर्थ व्यवस्थाका विशेषता
१२. पूँजीवाद भित्र समाजवाद
१२. पूँजीवाद भित्र समाजवाद
कम्युनिस्टहरूले निर्माण
गरिदिएको नजरले हेर्ने हो भने संयुक्तराज्य अमेरिका पूर्णतया पूँजीवादी राष्ट्र
हो। कम्युनिस्टहरूका अनुसार–अमेरिकाको अर्थ
व्यवस्थालाई पूँजीवादले निर्देशित, नियन्त्रित र
पोषित गर्दछ। आश्चर्य त यस कुरामा छ कि अमेरिका पूर्णरूपमा पूँजीवादी राष्ट्र हो
भनेर कम्युनिस्टहरूले बनाएको धारणालाई सही मान्नेहरू अहिले पनि धेरै छन्।
कम्युनिस्ट व्यवस्थामा विश्वास गर्ने अर्थशास्त्रीहरूले त मान्छन् नै, स्वतन्त्र अर्थशास्त्रीहरूले समेत अमेरिका
पूर्णतः पूँजीवादी राष्ट्र हो भनी विश्वास गर्छन्।
तर यथार्थमा अमेरिका पूर्णरूपमा पूँजीवादी
राष्ट्र होइन। अमेरिकालाई पूँजीवादी राष्ट्र मान्नु कम्युनिस्टहरूको केवल भ्रम हो।
अमेरिकी अर्थनीतिका अनेक विशेषताहरूको अध्ययन नगरी केवल हचुवाको भरमा भन्नु सरह
हो। अमेरिकालाई पूर्णतया पूँजीवादी राष्ट्र भन्नुपूर्व अमेरिकी अर्थतन्त्रको
सूक्ष्म अध्ययन आवश्यक छ। र कम्युनिस्ट अर्थशास्त्रीहरूले त्यस किसिमबाट सूक्ष्म
अध्ययन गरेका छैनन्। बरु चीन, क्युबा, उत्तर कोरिया, भनेजुएलामा कम्युनिज्म वा सोसलिज्ममा देखिनुपर्ने खासखास
गुणहरू छैनन्। अर्थात् कम्युनिस्ट अर्थ व्यवस्था भएका राष्ट्रहरूमा समाजवादका अनेक
अवस्थाहरूको अनुपस्थिति छ।
अमेरिकाको अर्थ व्यवस्थालाई सही किसिमले
भन्नुपर्दा अमेरिकी अर्थ व्यवस्था पूँजीवादभित्र समाजवादी अर्थ व्यवस्था
भन्नुपर्ने हुन्छ। अर्थात् अमेरिकाको पूँजीवादी व्यवस्थाभित्र समाजवादी व्यवस्थाका
धेरै एवं असल तŒवहरू छन्।
अमेरिकी अर्थ व्यवस्थाको संरचना पूँजीवादी छ तर त्यस संरचनाभित्रका वस्तुहरू
समाजवादी चरित्रका छन्। यो आफैंमा अति नै अनौठो छ र उच्च विशेषताले युक्त पनि छ।
अमेरिकाको अर्थ व्यवस्थाले पूँजीवाद र समाजवादका दुर्गुण हटाएर सद्गुणहरू मात्र
लिएको छ। अर्थात् अमेरिकी अर्थ व्यवस्था पूँजीवाद र समाजवादको उचित किसिमको
सम्मिश्रण हो। ठीक मात्रामा पानी र चिनी मिसाइएको एक असल सम्मिश्रण (शर्बत) जस्तो
हो। अमेरिकी अर्थतन्त्रको यो मौलिक विशेषताप्रति विश्वका कमै अर्थशास्त्रीहरूको
ध्यान गएको छ, सामान्य
व्यक्तिहरूको त कुरै छाडौं। र यो विशेषताले अमेरिकी अर्थ व्यवस्थालाई गति र
प्रभावकारिता प्रदान गरेको छ।
पूँजीवाद भित्र समाजवादको
सद्गुण
निम्न विशेषताहरूले अमेरिकी पूँजीवादभित्र
समाजवाद रहेको पुष्टि गर्दछ। र ती विशेषताहरूले कम आय भएका व्यक्तिहरूको हितको
संरक्षण गरेको पृष्टि हुन्छ
प्रगतिशील कर प्रणाली: अमेरिकी कर प्रणाली प्रगतिशील छ, किनभने यसले धनीहरूको पक्षपोषण गरेको पाइँदैन। समाजवादी
व्यवस्थामा झै अमेरिकी कर प्रणालीमा बढी आम्दानी गर्नेबाट बढी कर लिने गरिन्छ।
धनीबाट (उसले गरेको बढी आम्दानीबाट) बढी कर लिएर, सङ्कलित कर गरीबहरूका लागि अथवा सार्वजनिक कार्यमा खर्च
गरिन्छ । समाजवादमा प्रगतिशील कर प्रणाली भएझै अमेरिकी कर प्रणाली पनि प्रगतिशील
छ।
बेरोजगार भत्ता: कुनै व्यक्तिले कारणवश पाइरहेको रोजगार गुमाएर बेरोजगारी
भएमा एउटा निश्चित अवधिसम्म सरकारले उक्त व्यक्तिलाई बेरोजगार भत्ता त दिन्छ नै,
रोजगारी हुन अथवा जागिर खोज्न सहयोग पनि गर्छ।
यसरी समाजवादमाझैं नागरिकहरूलाई सामाजिक सुरक्षा प्रदान गर्छ। कमजोर वर्गको रक्षा
गर्छ।
सामूहिक सम्पत्ति: अमेरिकामा धेरै सम्पत्ति सामूहिक रहेको र तिनको उपयोग पनि
सामूहिक किसिमले गरिएको पाइन्छ। भवन, सडक, जग्गा एवं अन्य केही
सुविधा सामूहिक रहेको र सामूहिक रूपमा उपभोग भएको देख्न सकिन्छ। यसरी विभिन्न
सम्पत्तिको स्वामित्व सामूहक हुनु समाजवादी व्यवस्थाको द्योतक हो।
अमेरिकी आवसीय बस्तीहरू अनेक साना–साना बस्ती (Neighborhood) सङ्गठित भएर बनेका हुन्छन्। अन्तिम रूपमा यी बस्तीहरू राज्य
र सङ्घीय सरकारको नीति नियमद्वारा व्यवस्थित एवं नियन्त्रित भए तापनि यी
बस्तीहरूलाई विभिन्न कार्य गर्न स्वतन्त्रता दिइएको हुन्छ। यी बस्तीका बासिन्दाले
बस्तीको हेरविचार, सुरक्षा र
विकाससम्बन्धी कार्य गर्न एक घर धनी सङ्गठन (Homeowner Association)निर्माण गरेका
हुन्छन् वा गर्न सक्छन्। र त्यो सङ्गठनलाई उक्त बस्तीको व्यवस्थापनको जिम्मेवारी
दिइएको हुन्छ। प्रत्येक घरधनीले त्यो सङ्गठनलाई तोकिएको रकम वार्षिक शुल्कको रूपमा
बुझाउनुपर्छ। सुविधाको विस्तार, घरहरूको प्रकृति
(ज्यादै महँगो) आदि हेरी घरधनीहरूले घर–धनी सङ्गठनलाई मासिक १०० डलरदेखि ४०० डलरसम्म तिर्नुपर्ने हुन सक्छ। धेरै
आम्दानी वा धनीहरूको बस्ती छ भने त्यस्तो बस्तीमा बस्नेहरूले घर–धनी सङ्गठनलाई वार्षिक १०००० डलरभन्दा बढी
भुक्तान गर्नुपर्ने हुन सक्छ। माथि भनिए अनुसार प्राप्त गरेको रकमलाई घर–धनी सङ्गठनले आफ्नो बस्तीभित्रका
अनेक निर्माण कार्य (सडक मरम्मत, बिजुली, पार्क, खेल मैदान, स्विमिंग पुल,
जिम, सजावट, बागवानी) हरूमा खर्च गर्न
सक्छ। यसरी माथि भनिएका कार्यहरू गर्न बस्तीहरूले सरकार (केन्द्र, राज्य, नगर) को मुख ताक्नुपर्दैन। यस किसिमले हेर्न हो भने बस्तीहरू स्वतन्त्र र
स्वावलम्बी हुन्छन्। यसरी विभिन्न परिवारहरू मिलेर बस्नु र उनीहरूले आफ्नो हितका
लागि आफैंले साधन र स्रोत जुटाउनु समाजवादी व्यवस्था होइन त? सम्पत्ति (बस्ती) माथि सबैको समान स्वामित्व
हुनु समाजवादी व्यवस्था होइन त?
माथि उल्लेख गरिएका घर–धनी सङ्गठनहरू मिलेर सामुदायिक सङ्गठनहरूको निर्माण भएको
हुन्छ। यी सामुदायिक सङ्गठनहरू बस्तीहरूको विकास कार्यमा सक्रिय रहेका हुन्छन्।
सन् २०१७ मा अमेरिकाभरिमा ३ लाख ४५ हजार सामुदायिक सङ्गठनहरू र ती सामुदायिक सङ्गठनहरूभित्र ७ करोड जति आवास रहेको अनुमान गरिएको थियो।
सामाजिक सुरक्षा:
अमेरिकामा व्यक्तिको पहिचान उसको सामाजिक सुरक्षा नम्बर र जन्म मितिद्वारा हुन्छ।
त्यसपछि परिचयपत्र (ड्राइभिंग लाइसेन्स) द्वारा हुन्छ। प्रत्येक व्यक्तिलाई
अनिवार्य रूपमा सामाजिक सुरक्षा नम्बर (Social Security Number) दिइएको हुन्छ। र
यो नम्बरको उपयोग, सेवा निवृत्त
भएपछि सहयोगार्थ तोकिएको रकम (व्यक्तिले मासिक वा वार्षिक आय आर्जन गरेको आधारमा)
दिनका लागि गरिन्छ। यसरी अमेरिकाले आफ्ना नागरिकलाई निश्चित उमेर पार गरेपछि
तोकिएको रकम आजीवन सामाजिक सुरक्षा अन्तर्गत दिएर समाजवादी व्यवस्था अनुरूप कार्य
गर्दछ। जसले तोकिएको अवधिभरि कार्य गरेर तोकिएको रकम सामाजिक सुरक्षा प्रशासन
(सङ्गठन) लाई बुझाएको छ उसले आजीवन तोकिएको रकम सामाजिक सुरक्षा प्रशासनबाट पाउँछ।
यो रकम प्रत्येक (उक्त रकम पाउने योग्य) नागरिकले पाउँछ। यो एक किसिमले हेर्ने हो
भने प्रत्येक नागरिकले पाउने निवृत्तिभरण वा पेन्सन जस्तो हो।
माथि उल्लेख गरिएबाहेक तोकिएको स्थितिमा
रहेका एवं तोकिएको उमेरका व्यक्तिलाई, यदि उसको आय कम छ भने राज्य सरकारले निश्शुल्क वा कम शुल्कमा स्वास्थ्यसेवा
उपलब्ध गराउँछ। साथै स्थानीय सरकारले उच्च माध्यमिक तहसम्मको शिक्षा निश्शुल्क
उपलब्ध गराउँछ। यसैगरी सामुदायिकरूपमा कलेज एवं अस्पतालहरू सञ्चालित हुन्छन्।
अस्पतालहरूले पहिले उपचार गर्छन् त्यसपछि बिल भुक्तानीको कुरा गर्छन्। कम आय भएका
व्यक्तिलाई सहुलियत भाडा दरमा घर वा आवास उपलब्ध गराइएको हुन्छ। यी माथिका
व्यवस्थाहरू समाजवादी व्यवस्था होइनन् त?
अमेरिका पूर्णरूपमा पूँजीवादी नहुनुले पनि
अमेरिकालाई आर्थिक समृद्धि दिन महŒवपूर्ण भूमिका
खेलेको छ। अमेरिकी अर्थ व्यवस्थाको अर्ध पूँजीवादी र अर्ध समाजवादी चरित्र भएकोले
राष्ट्रिय आयको वितरण सन्तुलित छ। अमेरिकामा विश्वकै धनाढ्यहरू छन् भने ज्यादै
निर्धन पनि छन्। तर महत्वपूर्ण तथ्य के छ भने अमेरिकाका अति निर्धन व्यक्तिसँग पनि
चढ्नका लागि गाडी छ, बस्नका लागि घर छ
र साथै शिक्षामा पहुँचपनि छ। विकासशील राष्ट्र (जस्तै भारत) का नागरिकहरू जस्तो
झोपडपट्टीमा बस्नु पर्ने स्थिति छैन। पेट भर्ने समस्या पनि छैन। दुई छाक ढुक्क खान
पाउने स्थिति अति निर्धनहरूको पनि छ।
यसरी पूँजीवादभित्र समाजवादको स्थितिले
अमेरिकालाई आर्थिकरूपमा सबल हुन र प्रत्येक अमेरिकी नागरिकलाई अति गरीबीबाट
उन्मुक्ति दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ र समग्र राष्ट्रलाई अति धनी तुल्याउन
पनि भूमिका खेलेको छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 18, 2019
No comments:
Post a Comment