Wikipedia

Search results

Friday, January 11, 2019

Special Characteristics of American Economy- Trade and Commerce-230


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

११. व्यापार पद्धति
    (ख)

फ्रेनचाइजिंग वा सम्बन्धन व्यापारको विकास र विस्तार जुन रूपमा अमेरिकामा भएको छ, अर्थात् यो व्यापार जति ठूलो सङ्ख्यामा देखिएको छ, त्यस्तै किसिमले धेरै लगानीमा स्थापना भएका ठूला व्यापारहरू पनि अमेरिकामा देखिएका छन्। अत्यधिक पूँजीमा सञ्चालित यी व्यवसायहरू अमेरिकाभित्र मात्र छैनन्, यिनका शाखाहरू विश्वका अन्य मुलुकहरूमा पनि सञ्चालित छन्। वालमार्ट, बर्कशायर हथवे, एपल, एक्सन मोबिल, मैककेसन, युनाइटेड हेल्थ ग्रुप, सिभियस हेल्थ, जेनेरल मोटर्स, एटी एन्ड टी र फोर्ड आदि मेरिकाका अति नै ठूला कम्पनीहरू हुन्। यी कम्पनीहरूले ठूलो ससङ्ख्यामा रोजगार उपलब्ध गराएका छन्। बजारमा माग सृजना गराउन यी कम्पनीहरूको पनि ठूलो हात छ।
    सन् १९६२ मा स्थापना भएको र प्रारम्भमा संस्थापकले केवल एउटा सानो खुला पसलको रूपमा, एउटा सानो भवनमा सञ्चालन गरेको वालमार्ट (खुद्रा बिक्री भण्डार) अहिले अमेरिकाको सर्वाधिक ठूलो कम्पनी हुन पुगेको छ। वालमार्ट अहिले संसारकै सर्वाधिक ठूलो खुद्रा बिक्री भण्डार हो। यो व्यापार जगत्मा चमत्कार हो। अमेरिकामा मात्र वालमार्टका ५ हजार ३ सय ५८ भण्डार विभिन्न राज्यका विभिन्न शहरहरूमा सञ्चालित छन्। सञ्चालित यी भण्डारहरूमा १४ लाख जति कर्मचारी कार्यरत छन्। विश्वका अन्य २८ देशहरूमा पनि वालमार्टका भण्डार सञ्चालित छन्। विश्वका अन्य विभिन्न राष्ट्रमा सञ्चालित वालमार्टका भण्डारहरूमा पनि ७ लाख जति कर्मचारी कार्यरत छन्। स्वदेश र विदेशमा गरी वालमार्टका २६ करोडभन्दा बढी ग्राहक छन्। वालमार्टको विशालताबाट पनि ठूला अमेरिकी काम्पनीहरू कति ठूला आकारका छन् भन्ने अनुमान लगाउन सकिन्छ। एक कम्पनी (उदाहरणका लागि वालमार्ट) को यति ठूलो ससङ्ख्यामा ग्राहक हुनु आफैंमा ठूलो आश्चर्यजनक तथ्य होइन त?  सामान्य आय भएका अमेरिकीहरूले जीवन निर्वाह (कार, भवन आदि छाडेर) का लागि आवश्यक पर्ने लगभग सम्पूर्ण वस्तु वालमार्टबाट नै खरिद गर्छन्। हुनपनि एउटै छतमुनि वालमार्टले औषधी, मोटर मरम्मत सेवा, बगैचाका सामान, औजार, उपकरणदेखि खाद्य वस्तु, शृङ्गार सामग्री, लत्ता कपडा, फर्निचर, फलफू, तरकारीजस्ता अनेक वस्तु उपलब्ध गराउँछ। यो पनि आफैंमा एउटा चमत्कार हो। वालमार्ट, व्यापार जगत्मा, आफैमा आठौं आश्चर्य हो। र यो आठौं आश्चर्य (व्यापार पद्धति) को विकास अमेरिकामा भएको हो।
    ठूला अमेरिकी कम्पनीहरूले देशमा रोजगार, मूल्य नियन्त्रण र नयाँ वस्तु वा सेवाको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। ठूला कम्पनीहरूले ठूलो सङ्ख्यामा रोजगार सृजान गरेका छन् र लाखौ व्यक्तिलाई रोजगार दिएका छन्। अमेरिकामा बेरोजगारको समस्या हुन नदिन ठूला कम्पनीहरूले महत्ववपूर्ण भूमिका खेलेका छन्। अमेरिकामा अहिले मात्र ४.५ को हाराहारीमा (सन् २०१८, डिसेम्बर मा ३.९५) बेरोजगारी छ। अर्थात् बहुसङ्ख्यक अमेरिकीसँग रोजगार छ। जीवनयापनका लागि नियमित आय छ। भोलि के खाने भन्ने चिन्ता छैन। यो स्थिति अमेरिकाको लागि ठूलो आर्थिक उपलब्धि हो।
    रोजगारको सन्दर्भमा, विकासशील देशहरूको स्थिति भने पृथक छ। विकासशील राष्ट्रहरूमा यो अति वैश्य युगमा पनि, बेरोजगारी ठूलो समस्याको रूपमा तेर्सिएको छ। र त्यो बेरोजगारी राजनैतिक असन्तोष र गृहयुद्धको कारण बन्न पुगेको छ।
    जाम्बियामा ११.३५, येमनमा ३५.०५, भेनेजुएलामा ३३.३५, टर्कीमा १०.३५, ट्युनिसियामा १५.९५, स्वाजिल्यान्डमा २८.०५, सुडानमा १९.६५, स्पेनमा १४.८५, साउथ अफ्रिकामा २७.५५, सर्बियामा ११.८५, सेनेगलमा ४८.०५, रवान्डामा १३.२५, नाइजेरियामा १८.८५, निदरल्यान्ड्समा १०.०५, मोजाम्बिकमा २४.५५, इराकमा १६.०५, अर्मेनियामा २०.६५, अल्जेरियामा ११.२५, अल्बानियामा १२.५५, अफगानिस्तानमा २३.९५ व्यक्ति बेरोजगारी रहेको देखिएको छ। विश्वमा अहिले पनि थुप्रै राष्ट्रहरू बेरोजगारीको समस्याले पीडित रहेको देखिन्छ। त्यहाँको जनताले दुःख पाएको देखिन्छ। तर अमेरिकामा भने बेरोजगारी समस्याको रूपमा प्रस्तुत भएको छैन। अमरिकामा जुन बेरोजगारी देखिएको छ, त्यो पनि ऐच्छिक बेरोजगारी हो। वा परिस्थितजन्य बेरोजगारी हो। उल्टो कतिपय स्थान र अवस्थामा कम्पनीहरूले माग गरे अनुसार कामदार उपलब्ध हुन नसकेको समाचारहरू प्रकाशमा आएका छन्।
    ठूला कम्पनीहरूले ठूलो परिमाणमा बिक्री गरेर, विभिन्न किसिमका लागतहरू नियन्त्रण गरेर, उपभोक्ताहरूलाई सस्तोमा वस्तुहरू उपलब्ध गराउन सक्नुजस्तो कार्यले पनि अमेरिकालाई धनी राष्ट्र तुल्याउन ठूलो योगदान पुर्याएको छ। उदाहरणका लागि पुनः वालमार्टलाई नै लिउँ। सामान्य आर्थिक अवस्था भएका ग्राहकहरूलाई सस्तोमा विभिन्न वस्तु उपलब्ध गराउन वालमार्टले अमेरिकामा ख्याति नै आर्जन गरेको छ। अर्कोतिर वालमार्टले सस्तोमा वस्तुहरू उपलब्ध गराउनेआफ्नो प्रमुख उद्देश्य (Mission) रहेको उल्लेख गरेको छ। ज्यादै कम मुनाफा भए तापनि ठूलो परिमाणमा बिक्री गरेर ठूलो मुनाफा नियमित र दीर्घकालीनरूपमा हात पार्ने कुशल व्यापारिक उद्देश्य वालमार्टले राखेको पाइन्छ।
    ग्राहकहरूलाई सस्तोमा वस्तु उपलब्ध गराउन अमेरिकामा ठूलाठूला कम्पनीबीच ठूलो प्रतिस्पर्धा नै हुन्छ। अर्कोतिर सस्तोमा वस्तु उपलब्ध गराउन नसके प्रतिस्पर्धाले गर्दा, ग्राहक गुमाउनुपर्ने स्थिति भएकोले कम्पनीहरू कि आफ्ना प्रतिस्पर्धीहरूको बराबर वा उनीहरूको भन्दा कम मूल्य राख्न बजारप्रतिस्पर्धाका कारण बाध्य हुन्छन्। यसरी अमरिकी कम्पनीहरूका लागि सस्तोमा वस्तु बिक्री गर्नु एक किसिमको वाध्यता पनि हुन पुगेको छ। यो कारणले गर्दा मुख्यगरी आपूर्तिकर्ताहरूबीच हुने तीव्र प्रतिस्पर्धाले गर्दा, अमेरिका विश्वमा नै सस्तोमा वस्तु एवं सेवाहरू उपलब्ध गराउने एक नम्बर राष्ट्र हुन पुगेको छ। अमेरिकामा जुनसुकै किसिमको वस्तु वा सेवाको व्यापार किन न होस्, त्यो प्रतिस्पर्धापूर्ण हुन्छ। अन्य मुलुकहरूमा वस्तु वा सेवाहरूको बिक्रीका लागि बजारमा तीव्र प्रतिस्पर्धा भएको व्यवहारमा देखिंदैन, केवल सिद्धान्त (वा किताब) मा देखिन्छ। अमेरिकामा भने व्यवहारमा नै देखिन्छ। बजारमा बिक्रीका लागि बिक्रेताहरूबीच कुन स्तरमा प्रतिस्पर्धा छ भन्ने कुरा एउटा सामान्य ग्राहकले पनि थाहा पाउन सक्छ। बजारमा बिक्रीका लागि तीव्र प्रतिस्पर्धाको उपस्थिति अमेरिकी व्यापारको महत्वपूर्ण पद्धति हुन पुगेको छ। र यो पद्धति आपूर्तिकर्ता र उपभोक्ता दुवैका लागि हितकर हुन पुगेको छ भने समग्र अर्थ व्यवस्था लागि पनि। प्रतिस्पर्धमा नयाँ नयाँ उपाय एवं वस्तुहरू ल्याएर, बजारमा रहेको तीव्र प्रतिस्पर्धा आफ्नो लागि असान्दर्भिक तुल्याएर केही कम्पनीहरूले ठूलो मुनाफा हात पारेका छन्। जस्तै एपल, माइक्रोसफ्ट, गुगल, अमेजन, फेसबूक आदि जस्ता व्यापार (पद्धति) हरूले बजारमा रहेको तीव्र प्रतिस्पर्धाको चिन्ता गर्नुपरेको छैन।
    अत्यधिक ठूला व्यापार सञ्चालनले, जुन एउटा महत्वपूर्ण अमेरिकी व्यापार पद्धति हुन पुगेको छ, अमेरिकी एवं विश्व बजारमा नयाँनयाँ वस्तु एवं सेवा ल्याउन महŒवपूर्ण भूमिका खेलेका छ। ठूलाठूला कम्पनीहरूले अध्ययनअनुसन्धानमा ठूलो धनराशि खर्च गर्न सक्ने हुनाले अमेरिकामा नयाँनयाँ वस्तुको सृजना (आविष्कार) हुन सकेको हो। नयाँनयाँ वस्तु एवं सेवा आविष्कार गर्न अमेरिकाको स्थान अहिले अग्रणी छ।
    जीवन निर्वाहका लगि आवश्यक पर्ने सामान्य वस्तु होस् वा जीवन रक्षा गर्ने महत्वपूर्ण औषधि एवं मेडिकल उपकारण होस्, यस किसिमका वस्तुहरूको (माग एवं आवश्यकता अनुसार) विकास गर्न लामो अध्ययन एवं अनुसन्धान गर्नुपर्ने हुन्छ। अध्ययन र अनुसन्धान अत्यधिक खर्चिला पनि हुन्छन्। केही अपवादबाहेक, ठूला कम्पनीहरूले मात्र, आफ्नो बलियो आर्थिक क्षमताको कारण, अध्ययन एवं अनुसन्धानमा ठूलो रकम खर्च गर्न सक्छन्। अमेरिकी ठूला कम्पनीहरूले अध्ययन र अनुसन्धानमा ठूलो रकम लगानी गर्न सकेकाले नै अमेरिकामा अनेक नयाँ वस्तु एवं सेवाको विकास हुन सकेको हो।
    यसरी अमेरिकी व्यापार पद्धतिले, जुन अन्य मुलुकहरूभन्दा धेरै भिन्न छ, अमेरिकालाई धनी तुल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। अमेरिकी व्यापार पद्धतिको आफ्नै किसिमको प्रकृति छ। अमेरिकाले कसैको व्यापार पद्धतिको नक्कल गर्दैन। आफैंले नयाँनयाँ किसिमका व्यापार पद्धतिको विकास गर्छ। होमडेलिभरी, ड्राइभ थ्रु, अनलाइन सपिंग, फास्ट फूड, अनलाइन बैंकिग जस्ता व्यापार पद्धतिका जनक अमेरिकी व्यापारीहरू नै हुन्। बाँकी अन्य राष्ट्र जस्तै भारत, चीन, ब्रजील, रूस, साउथ अफ्रिकाले अमरिकी व्यापार पद्धतिको नक्कल मात्र गर्छन्। यी राष्ट्रहरू विश्वका ठूला अर्थ व्यवस्थामध्ये परे तापनि यिनीहरूले नयाँनयाँ व्यापार पद्धतिको विकास गरेको पाइँदैन। अर्थात् व्यापारज्ञानको मामिलामा यी राष्ट्रहरू अमरिका भन्दा निकै पछाडि छन्।
    अमेरिका पूर्णरूपमा व्यापारी राष्ट्र हो। व्यापारलाई महत्व दिन अमेरिकाले कुनै कसर बाँकी राखेको पाइँदैन। र अर्कोतिर अमेरिकालाई राजनैतिकरूपमा एक शक्तिशाली राष्ट्र तुल्याउन यस राष्ट्रको आर्थिक अवस्थाले विशेष भूमिका खेलेको छ। र अन्त्यमा, अमेरिकी व्यापार पद्धतिले नै अमेरिकालाई आर्थिक रूपमा सबल तुल्याएको छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 11, 2019

No comments:

Post a Comment