मोदीको
अमेरिकामा स्वागत: बजार राजनीति
भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिका भ्रमणमा छन्। मोदीको कट्टर हिन्दूवादी
राजनीति मन पराउने अमेरिकामा बसेका भारतीयहरूले मोदीको भव्य स्वागत गरिरहेका छन्
भने अमेरिकी प्रशासनले पनि मोदीको मन खोलेर स्वागत गरिरहेको छ। यसरी उनले दोहरो
स्वागत पाइरहेका छन्। अमेरिकामा ३२ लाखभन्दा बढी भारतीयको बसोवास छ। र अमेरिकाको
कुल जनसङ्ख्यामा भारतीयहरूको उपस्थिति एक प्रतिशतजति छ।
गएको आइतवार (September 22, 2019) मोदीको स्वागतार्थ अमेरिकामा बसोवास गरिरहेका
भारतीयहरूले अमेरिकाका ठूला शहरमध्ये एक, ह्युस्टनमा एउटा विशाल समारोहको आयोजना गरेका थिए। उक्त समारोहमा ५०
हजारभन्दा बढी प्रवासी भारतीय सहभागी भएको अनुमान गरिएको थियो। मोदीको स्वागतार्थ
आयोजना गरिएको त्यो समारोह चर्चाको चुलीमा किन रह्यो भने त्यो समारोहमा अमेरिकी
राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित भएका थिए। उक्त समारोहमा विशाल
जन–उपस्थितिमा ट्रम्पले मोदीको निकै प्रशंसा पनि गरेका थिए। प्रतित्योत्तरमा
मोदीले पनि ट्रम्पको निकै प्रशंसा गरे। मोदीले ट्रम्पलाई आत्मीयताको धनी भनेका
थिए। साथै अमेरिकामा हुने आगामी राष्ट्रपति चुनाव (सन् २०२०) मा ट्रम्प विजयी हुने उद्घोष
पनि गरेका थिए।
मोदी र भारतलाई खुशी पार्न मात्र ट्रम्पले
मोदीको प्रशंसा गरेका थिएनन्। अमेरिकामा बसोवास गर्ने भारतीलाई पनि खुशी पार्न
मोदीको प्रशंसा गरेका थिए। ट्रम्पले अमेरिकामा बसोवास गर्ने भारतीयको प्रशंसा यसरी
गरेका थिए– “भारतीय मूलका अमेरिकीले देशको संस्कृति र मूल्य मान्यतालाई सुदृढ
पारेका छन् । तपाईंहरूलाई अमेरिकी नागरिकको रूपमा पाएर हामी गौरवान्वित छौं।” ट्रम्पको
यो भनाइले धेरै भारतीयलाई प्रफुल्ल पारेको थियो। अमेरिकामा बसोवास गर्ने विभिन्न
धनी समुदायमध्ये भारतीय पनि एक हो। अमेरिकामा बसोवास गर्ने हजारौं भारतीयले
विभिन्न अमेरिकी शहरमा साना–ठूला गरी अनेकौं व्यापार सञ्चालन गरेका छन्। र राम्रो
आय आर्जन पनि गरेका छन्।
स्मरण रहोस, एक दशक पहिले मोदीले अमेरिका प्रवेश गर्न नपाउने भनिएको थियो। तर
अहिले मोदी अमेरिकामा प्रिय पाहुना हुन पुगेका छन्। राजनीतिमा न कोही सर्वकालीन
मित्र न कोही सर्वकालीन शत्रु हुन्छ। यो जाने बुझेको कुरा हो।
ह्युस्टनको एउटा स्टेडियममा मोदीको दुर्लभ
एवं भव्य स्वागत भइरहँदा उक्त स्टेडियम बाहिर मोदीको कडा विरोध नभएको भने होइन। मोदीको
‘मानवाधिकार रेकर्ड’ राम्रो छैन भन्नेहरू धेरै छन्। मोदी गुजरातको मुख्यमन्त्री
हुँदा, अल्पसङ्ख्यक (मुस्लिम समुदाय) प्रति उनले
अन्याय गरेको आरोप छ। हालै कश्मीरप्रति उनको नीतिले गर्दा पनि उनले निकै आलोचना
खेपिरहेका छन्। केही समय पहिले मोदीको सरकारले धारा ३७० निलम्बन गरेर कश्मीरले
पाएको विशेष अधिकार खोसेको थियो। तर पनि मोदी अमेरिकामा लोकप्रियता बटुलिरहेका
छन्। किन होला?
अमेरिकामा मोदीले किन यस्तो भव्य स्वागत
पाइरहेका छन्? राष्ट्रपति ट्रम्पले किन मोदीलाई यति
महत्व दिइरहेका छन्? यी प्रश्नहरू भित्र अनेक तथ्य लुकेका छन्।
राजनीतिक विश्लेषकहरू भन्छन्– “आगामी
राष्ट्रपति चुनावमा आफ्नो पक्षमा भोट बटुल्न, अमरिकामा बसोवास गरिरहेका भारतीय मूलका अमेरिकीलाई ट्रम्प खुशी पार्न
चाहन्छन् । उनीहरू खुशी भएमा भोट दिनेछन्। यस्तो अपेक्षा ट्रम्पको रहेको छ। मोदीको
प्रशंसा गरेमा अमेरिकामा बसोवास गरिरहेका मोदी समर्थकहरूले भोट दिनेछन् भन्नेमा
राष्ट्रपति ट्रम्प विश्वस्त छन्।” अहले अमरिकामा बसोवास गर्ने भारतीयहरू माझ
मोदीको लोकप्रियता बढेको छ भन्नेहरू पनि छन्।
आगामी चुनावमा अमेरिकामा बसोवास गरिरहेका
भारतीय समुदायबाट राम्रो सहयोग पाउनमात्र ट्रम्पले मोदी एवं भारतीय सरकारको
प्रशंसा गरेका होइनन्। त्यसरी प्रशंसा गर्नुको प्रमुख कारण भने नितान्त फरक छ।
ट्रम्प त्यस्ता अमेरिकी नेता हुन् जसले, जहिले पनि, जहाँ
पनि, जे जस्तो अवस्थामा पनि, राष्ट्रिय व्यापारलाई महत्व दिने गर्छन्। यो उनको चुनावी रणनीति
पनि हो। उनको कार्यकालमा ‘राम्रो अवस्था’ मा रहेको अमेरिकी अर्थतन्त्रमा उनी कुनै
पनि किसिमको प्रतिकूल प्रभाव नपरोस् भन्ने चाहन्छन्। यो कारणले गर्दा पनि, वा व्यापारको कारणले गर्दा पनि, ट्रम्प भारतसँग ज्यादै सुमधुर सम्बन्ध
राख्न चाहन्छन्। हुन पनि, जीई,
पेप्सीको, पिजाहट, वालमार्ट, फिजर, सिस्को, क्याटापिलर, अमेजन, माइक्रोसफ्ट, मैकडोनाल्ड, आइबिएम, कोकाकोला, गुगल, अमेरिकन एक्सप्रेस, सिटीग्रुपजस्ता पचासौं अमेरिकी
कम्पनीहरूले अहिले भारतमा व्यापार गरिरेहका छन्। एशियाको दोस्रो ठूलो अर्थतन्त्र
भारतलाई, अमेरिकी प्रशासनले एउटा बलियो
व्यापारिक साझेदारको रूपमा हेर्दछ। भारतसँग राम्रो सम्बन्ध रहेमा अमेरिकी
निर्यातकर्ताहरूले भारतमा राम्रो बजार पाउने अनुमान अमेरिकी प्रशासनको छ। बजारको
हिसाबले पनि, चीनपछि भारत एशियाको सर्वाधिक ठूलो
बजार हो। बजार राजनीतिले गर्दा नै मोदीले अमेरिकामा यस्तो स्तरको स्वागत पाएका
हुन्। भारत एउटा उदीयमान बजार हो। यो बजारबाट निकै लाभ पाउन सकिन्छ भन्ने अनुमान
अमेरिकी सरकारमात्र होइन, अमेरिकी व्यापारीहरूको पनि रहेको छ। चीनको पनि रहेको छ।
दक्षिण एशियाली राजनीतिका दुई प्रमुख
खेलाडीहरू भारत र पाकिस्तानबीच कुनै पनि किसिमको तनाव नहोस्। यी दुई राष्ट्र
शान्तमात्र भएर बसिदिने हो भने दक्षिण एशिया अमेरिकाको लागि राम्रो बजार हुन सक्छ।
यस्तो विश्वास ट्रम्प प्रशासनको रहेको छ। यस्तो अवस्थमा पाकिस्तान र भारत दुवैलाई
खुशी राखेर, यो क्षेत्रलाई स्थिर पारेर, यो क्षेत्रबाट अमेरिका आर्थिक फाइदा
लिन चाहन्छ। ट्रम्प प्रशासनले जति आत्मीयताका साथ मोदीको स्वागत गर्यो त्यस्तै आत्मीयताका साथ इमरान खानको
पनि स्वागत गरेमा कुनै पनि किसिमको अचम्म हुनेछैन।
आर्थिकरूपमा बलियो हुँदै गएको स्थितिले भारतलाई
विश्व रङ्गमञ्चमा एक प्रमुख पात्रको रूपमा स्थापित गर्दै लगिरहेको छ। आर्थिकरूपमा
बलियो हुनु नै रणनीतिकरूपमा बलियो हुनु हो। वर्तमान वैश्य युगले यही भन्छ।
यो व्यापारको युग हो। कुनैपनि कुरा चल्दा
सर्वप्रथम व्यापार नै आइपुग्छ। कुनै समय चीनले छिमेकी नेपाललाई भारतभन्दा बढी महत्व
दिने गथ्र्यो। तर अहिलो यो वैश्य युगमा समय फेरिएको छ। अहिले व्यापारको कारण चीनले
तुलनात्मकरूपमा भारतलाई बढी र नेपाललाई कम महत्व दिने गर्छ। मननीय कुरा त के छ भने
भारत–चीनबीच सन् १९६२ मा युद्ध भइसकेको छ। र अहिलेसम्म भारत र चीनबीच रहेको
सीमा–विवाद समाधान भएको छैन। भारतले ‘एक चीन नीति’ मान्दैन। तिब्बती धार्मिक नेता
दलाई लामालाई भारतले शरण दिएको छ। भारतले एक चीन नीति नमान्नु, दलाई लामालाई भारतमा शरण दिनु, भारतसँग सीमा विवाद रहनुजस्ता विषयलाई
थाती राखेर चीनले अहिले केवल व्यापारमा ध्यान केन्द्रित गरेको छ। र यस्ता
विवादहरूलाई अहिले पन्छ्याएर भारतबाट कति बढी आर्थिक फाइदा लिन सकिन्छ भन्नेतर्फ
चीनले ध्यान केन्द्रित गरेको छ। राजनीतिभन्दा व्यापारमा बढी ध्यान केन्द्रित गर्ने
मामिलामा चीन भारतभन्दा निकै अगाडि छ। कश्मीरको सन्दर्भमा, दक्षिण एशियाको व्यापार नराम्ररी
प्रभावित हुन सक्ने खतरा देख्दादेख्दै पनि मोदी सरकारले धारा ३७० निलम्बन गर्यो। अर्कोतिर धारा ३७० निलम्बन गरेर भारत
राजनीतिकरूपमा निकै बलियो भएको तथा पाकिस्तानलाई मात्र होइन, एशियाको राजनीतिलाई समेत चुनौती दिन
सक्ने सङ्केत मोदी सरकारले विश्व समक्ष दिंदा पनि चीन चुप लागेर बस्यो। अनावश्यक
राजनीतिक विवादमा पर्न चाहेन। चीनले कश्मीर मामिलालाई टाढा राखेर भारत–चीन व्यापार
सम्बन्धलाई अत्यधिक महत्व दियो।
राजनीतिकरूपमा बलियो हुनका लागि आर्थिकरूपमा
बलियो हुन आवश्यक छ। नेपालले त झन् यो कुरा अति गम्भीरताका साथ बुझ्न आवश्यक छ।
नेपाललाई राजनीतिकरूपमा बलियो बनाउन आर्थिकरूपमा बलियो हुनु आवश्यक छ।
अमेरिका आर्थिकरूपमा बलियो भएको हुनाले नै
अहिले विश्वको राजनैतिक महाशक्ति हुन पुगेको हो। अमेरिकाले राजनीतिभन्दा
अर्थतन्त्रलाई बढी महत्व दिन्छ। अर्थतन्त्र बलियो भएमा अरू
समस्या बिस्तारै समाधान हुँदै जान्छ भन्ने कुरामा अमेरिकालाई बलियो विश्वास छ।
अमेरिकाको यस्तो विश्वासको बीच मोदीले अमेरिकामा, अहिले, यति
ठूलो र न्यानो स्वागत पाउनुलाई आश्चर्यको रूपमा लिन सकिंदैन । न मोदीको
लोकप्रियताको विस्तार तीव्र गतिमा भएको मान्न सकिन्छ।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित Friday, September 27,
2019
I didn't understand how Modi becomes hard core Hindu leaders? He is the leader who made us think to be proud of our religion. Should we still proud of Mugal were great king or proud of great Hindu Kings?
ReplyDelete