आर्थिक
विकासको मूल्य स्वास्थ्य कमजोर बनाएर चुकाउनुपर्छ
यो
स्तम्भकारको एक मित्रले आजभन्दा तीस वर्ष जति पहिले भनेका थिए, “यदि अहिले सबै भारतीय धनी भएर त्यहाँ
गरीबी समाप्त हुने हो भने भारत बसोबास गर्न लायक देश रहने छैन,” उनले प्रस्ट पारेका थिए, “यदि सबै भारतीय धनी भएर सबैसँग आआप्mनो मोटरकार हुने हो भने करोडौंको
सङ्ख्यामा पुगेका ती कारहरूलाई गुडाउन सडक हुनेछैन । जताततै जाम नै जाम हुनेछ।”
ती मित्रले भारतको सन्दर्भमा जे कुरा भनेका
थिए, अहिले दिल्लीको स्थितिसँग ठ्याक्कै
त्यो कुरा मेल खाएको छ। दिल्लीमा ठूलो सङ्ख्यामा मोटरहरू सडकमा गुड्ने गर्छन्। ती
मोटरहरूले छाडेको धूवाँले गर्दा दिल्ली अहिले अति नै प्रदूषित हुन पुगेको छ।
दिल्लीको वायुमण्डलमा अहिले धूवाँको मात्रा यति बढी छ कि त्यहाँको हावामा सास
फेर्ने प्रत्येक व्यक्तिले दिनभरि सास लिंदा करीब २५ वटा चुरोट पिउँदा छातीमा
पुग्ने जति धूवाँ बलपूर्वक निल्नुपरेको छ। दिल्ली र वरपरका क्षेत्रमा करीब २ करोड
६० लाख व्यक्तिहरूको बसोबास रहेको छ। दिल्लीमा सवारी (जीप, कार, बस,
अटोरिक्शा
आदि) सङ्ख्या, सन् २०१८ मा १ करोड १० लाख पुगेको
अनुमान गरिएको थियो।
दिल्ली मात्र होइन भारतका अन्य शहरहरूको
स्थिति पनि यस्तै छ। आश्चर्यलाग्दो कुरा त के छ भने विश्वका २० अति प्रदूषित
शहरहरूमध्ये १५ अति प्रदूषित शहर केवल भारतमा मात्र पर्दछन्। गुडगाउ, दिल्ली, गाजियाबाद, फरिदाबाद, भिवाडी, नोएडा, पटना, लखनऊ, जोधपुर, मुजफ्फरपुर, वाराणसी, आगरा, गया
जस्ता भारतीय शहरहरू विश्वमा नै अति प्रदूषित शहर मानिन्छन्। भारतको जस्तै स्थिति
बङ्गलादेश, पाकिस्तान र चीनको पनि छ।
भारतीय शहरहरूलाई केवल मोटरहरूले फाल्ने
धूवाँले मात्र प्रदूषित पारेको छैन, औद्योगिक विसर्जनले पनि उत्तिकै प्रदूषित पारेको छ। खासमा, भारतीय शहरहरूलाई औद्योगिक विसर्जनले
उच्च मात्रामा र मुख्यरूपमा प्रदूषित पारेको छ।
केही दिन पहिले दिल्लीमा प्रदूषणको मात्रा
यति उच्च स्तरमा पुगेको थियो कि त्यहाँका विद्यालयहरू बन्द गर्नुपरेको थियो।
विद्यार्थीहरूलाई नाक छोप्ने मास्क उपलब्ध गराइएको थियो र मास्क लगाउन आवश्यक पनि
गरिएको थियो। प्रातःभ्रमण गर्नेहरूलाई केही दिनका लागि सो नगर्न सल्लाह दिइएको
थियो। त्यतिमात्र होइन, सरकारीस्तरमा
नै, केही समयका लागि दिल्लीमा स्वास्थ्य
सङ्कट (Health Emergency) लागू गरिएको थियो।
मोटरबाट निस्कने धूवाँ र औद्योगिक विसर्जनले
भारतीय शहरहरूलाई तीव्र गतिमा प्रदूषित पारिरहेको छ। यदि ती शहरहरूमा प्रदूषणको
मात्रा कम पार्ने ठोस कार्य गरिएन भने केही वर्षपछि ती शहरहरू मान्छे बस्ने लायक
हुने छैनन्। ठूलो सङ्ख्यामा व्यक्तिहरू स्थानान्तरण भएर अन्य स्थानहरूमा
पुग्नेछन्। स्थानान्तरण गर्न नसक्नेहरूले भने ती शहरहरूमा बसेर अनेक किसिमका
स्वास्थ्य समस्याहरू झेल्नुपर्नेछ।
भारतले अहिले तीव्र गतिमा आर्थिक विकास
गरिरहेको छ। भारत अहिले ‘काङ्ग्रेसराज’ (नेहरू र इन्दिरा गाँधीको समयको समाजवाद) को
जस्तो स्थितिमा छैन। त्यहाँ अहिले ‘लाइसेन्सराज’ पूर्णतया समाप्त भइसकेको छ। पहिले
भारतमा व्यापारीहरूले विदेशबाट सामान आयात गर्दा लाइसेन्स लिनुपथ्र्यो। अर्थात्
कुनै समयमा रूस,
बेलायत
आदिसँग आर्थिक सहयोग लिने भारत अहिले विश्वको पाँचौं आर्थिक महाशक्ति (सन् २०१९
मा) हुन पुगेको छ। तर सन् १९७० तिर भारत आर्थिक र सामरिकरूपमा यति कमजोर थियो कि
छिमेकीहरूले कुन बेला आक्रमण गर्ने हुन् (खासगरी पाकिस्तानले) भन्ने भयले भारतले
तत्कालीन सोभियत सङ्घसँग सन् १९७१ मा बीस वर्षे ‘मैत्री सन्धि’ गरेको थियो। सन्धि
गरेर भारतले आफूलाई सुरक्षित पार्ने प्रयास गरेको थियो। कुनै बेला भारतलाई आर्थिक
सहयोग गर्ने रूस अहिले भारतभन्दा पछाडि छ, आर्थिक र सामरिक दुवै किसिमले।
भारतले गरेको अभूतपूर्व आर्थिक प्रगतिले
त्यहाँका नागरिकहरूको आर्थिक जीवनमा निकै सकारात्मक असर पारेको छ। खासगरी औद्योगिक
क्षेत्रमा गरेको आर्थिक प्रगतिले गर्दा भारतका धेरै निम्नवर्गहरू मध्यमवर्गमा
उक्लेका छन्। र मध्यमवर्गकाहरू उच्चमध्यमवर्गमा उक्लेका छन्। यसरी निम्नवर्गहरू
मोटर साइकल खरीद गर्ने स्थितिमा पुगेका छन् भने मध्यमवर्गहरू मोटर खरीद गर्ने
स्थितिमा पुगेका छन्। सवारीका साधनहरूको माग एकातिर ह्वात्तै बढेको छ भने अर्कोतिर
तिनीहरूको मूल्यमा भएको कमीले गर्दा खरीद गर्न सजिलो पनि भएको छ। भारतले अहिले आफैले
सवारीसाधनहरू उत्पादन गरेकोले सवारीसाधनहरूको उत्पादन लागत घटाउन सफल पनि भएको छ।
भारतले गरेको अति औद्योगिक विकासले गर्दा
धेरै भारतीय आर्थिकरूपमा सम्पन्न भएका छन्। गरीबी घटेर गएको छ। तर अफसोच! त्यो
आर्थिक प्रगतिको मूल्य भारतीय नागरिकले स्वास्थ्य खराब पारेर चुकाइरहेका छन्। अनेक
किसिमका रोगहरूको शिकार भएर चुकाइरहेका छन्। ताजा उदाहरणको रूपमा भारतको भोपालमा
१९८४ डिसेम्बर २ र ३ मा भएको औद्योगिक दुर्घटनालाई लिन सकिन्छ।
आर्थिक विकास त्यत्तिकै आउँदैन। कुनै पनि
किसिमको आर्थिक विकासको मूल्य चुकाउनुपर्दछ। आर्थिक विकासले आफ्नो मूल्य माग्छ।
कस्तो अचम्म छ! अति औद्योगिक विकासले एकातिर देशवासीहरूलाई आर्थिकरूपमा धनी पार्छ
भने अर्कोतिर त्यो औद्योगिक विकासले शहरहरू अति प्रदूषित पारेर देशवासीहरूको
स्वास्थ्य खराब पार्छ। अनेक किसिमका रोगहरूलाई आमन्त्रित गर्छ। जीवन कठिन
पारिदिन्छ।
चीनको अति औद्योगिक शहर ग्वान्झाउका
बासिन्दाहरूको फोक्सो क्रमिकरूपमा कालो हुँदैछ। चीनको अर्को शहर जिगंताइको स्थित
पनि त्यस्तै छ। त्यहाँ घरबाट बाहिर निस्किंदा अनिवार्यरूपमा मास्क लगाएर
निस्किनुपर्छ। चीनमा त्यस्ता धेरै शहर छन्, जहाँ प्रदूषणको मात्रा उच्च छ। केही शहरका आकाश कालो छन्। अति
औद्योगिक विकासको कारणले गर्दा चीनका नागरिकले अनेक किसिमका स्वास्थ्य समस्याहरू
झेलिरहेको छ। औषधोपचारमा ठूलो धनराशि खर्च गरिरहेका छन्।
सुविधाको लालसाले गर्दा सवारीसाधनहरूको
सङ्ख्या यस्तै उच्च दरमा वृद्धि हुने हो, धनी हुने उच्च महत्वाङ्क्षाका साथ अनेक राष्ट्रहरूले तीव्र
गतिमा औद्योगिक विकास गरेर यसरी नै औद्योगिक विसर्जन मात्रामा वृद्धि गर्दै लग्ने
हो भने विकसित राष्ट्रका शहरहरू पनि बस्ने लायक हुने छैनन्।
अब प्रश्न के उठ्छ भने आर्थिक सम्पन्नताले के
सबै सुख ल्याउन सक्छ ? आर्थिक
सम्पन्नताप्रतिको हाम्रो उच्च लालसा कति जयाज छ?
हामी गरीबीलाई घृणा गर्छौं। गरीबीबाट
उन्मुक्ति पाउने हरपल प्रयास गर्छौं। गरीबीबाट उन्मुक्ति पाउन अनेक किसिमका
हरसम्भव प्रयास गर्न बाँकी राख्दैनौं। यहाँसम्म त ठीक छ। तर धनी हुने अति लालसाका
साथ हामीले अनेक किसिमका जुन कार्यहरू गरिरहेका छौं, त्यो उपयुक्त छ जस्तो लाग्दैन किनभने धनी हुने हाम्रो अति लालसाले
हामीलाई अनेक किसिमका शारीरिक एवं मानसिक कष्ट दिइरहेको छ। अनेक किसिमका भौतिक
वस्तुहरू (कार, फ्रिज, टिभी, मोबाइल
फोन, कम्प्युटर आदि) उपभोग गर्ने लालसाले
हाम्रो मानसिक शान्ति कम पार्दै लगे जस्तो छ।
गरीबीबाट उन्मुक्ति पाउने प्रयास त
गर्नुपर्छ। र, त्यो गर्न आवश्यक पनि छ। तर छिट्टै धनी
हुने हाम्रो अति लालसा भने उपयुक्त देखिंदैन। आर्थिक प्रगतिले पनि एक किसिमको
सन्तुलनको माग गर्दछ।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक
दैनिकमा प्रकाशित: Friday, November 22,
2019
No comments:
Post a Comment