नेपालमा
अति भ्रष्टाचार किन हुन्छ?
ट्रान्सपरेन्सी
इन्टरनेशनलले प्रकाशित गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क– सिपिआर (CPR: Corruption Perception
Index) का अनुसार विश्वका दश अति भ्रष्ट राष्ट्रहरू
(सन् २०१९) मा एक नम्बरमा सोमालिया, दुई नम्बरमा दक्षिण सुडान र तीन नम्बरमा सिरिया पर्दछ। यसैगरी चार, पाँच, छ,
सात, आठ, नौ र दश नम्बरमा क्रमशः अफ्गानिस्तान, येमन, सुडान, लिबिया, उत्तर कोरिया, भेनेजुएला र इराक पर्दछन्। धन्य! नेपाल दशमध्ये कुनै पनि स्थानमा
परेन। यो खुशीको कुरा हो। यस्तो हुनुको प्रमुख कारण नेपालमा सरकार र यसका
अङ्गहरूभन्दा समाजमा नै बढी भ्रष्टाचार व्याप्त हुनु हो। भ्रष्टाचार, हाम्रो सामाजिक संस्कृतिको एक अङ्ग हुन
पुगेको छ। सोझो अर्थमा भन्ने हो भने एक इमानदार व्यक्तिलाई भ्रष्टाचार गर्न हाम्रो
समाजले नै उत्प्रेरित गर्छ। यो तथ्य स्वीकार गर्न कठिन छ तर यो सत्य हो। हामीलाई
सरकारी व्यवस्थाभन्दा बढी समाजले नै भ्रष्टाचार गर्न उक्साउँछ। यो तीतो सत्य
हामीले स्वीकार गर्नै पर्छ।
सिपिआरका अनुसार भ्रष्टाचार कम हुने
राष्ट्रहरूको सूचीमा भने एक नम्बरमा डेनमार्क, दोस्रो नम्बरमा न्यूजील्यान्ड, तेस्रो नम्बरमा फिनल्यान्ड पर्दछन्। यसैगरी, संसारमा नै सर्वाधिक भ्रष्टाचार हुने
राष्ट्र सोमालिया,
सिपिआरको
उक्त सूचीमा १८० नम्बरमा पर्दछ भने नेपाल १२४ नम्बरमा पर्दछ। अर्थात् अति नै
भ्रष्टाचार हुने राष्ट्रलाई सिपिआरले यो सूचीमा सबैभन्दा पुछार (१८० नम्बर) मा
राखेको छ। भ्रष्टाचारको सन्दर्भमा, यसरी पुछारमा रहेका राष्ट्रहरूको स्थिति हेर्दा नेपालले भ्रष्टाचार
अति हुने राष्ट्रको चिनारी बलियो किसिमले पाएको प्रस्ट हुन्छ।
नेपालमा भ्रष्टाचार हुन्छ। अति नै हुन्छ। यो
हामी सबैले जाने बुझेको कुरा हो। नेपालमा हुने भ्रष्टाचारको इतिहास पुरानो छ र यो
परम्परागतरूपमा चल्दै आएको छ। नेपालको सांस्कृतिक विकास एक सामन्ती संस्कारमा भएको
हो। केही जमीनदार र बाँकी रैती भन्ने मान्यतामा भएको हो। धनीको इज्जत हुन्छ, गरीबको इज्जत हुँदैन भन्ने मान्यतामा
भएको हो।
नेपालमा भ्रष्टाचार कसरी सामाजिक संस्कृति
हुन पुगेको छ, त्यसबारे चर्चा गरौं।
नेपालमा समाजद्वारा गरीब र धनी व्यक्तिलाई
गरिने व्यवहारमा ठूलो अन्तर छ। समाजमा धनीलाई बढी इज्जत दिने गरिन्छ भने गरीबलाई
पटक्कै इज्जत दिने गरिंदैन। गरीबले आफ्नो गरीबीको कारणले गर्दा एक किसिमले अभिशप्त
जीवन बिताउनुपर्ने हुन्छ। अपमानित जीवन बिताउनुपर्ने हुन्छ। गरीबले आफ्नो गरीबीलाई
एक मानसिक पीडाको रूपमा जीवनभरि बोध गर्नुपर्छ। जबकि व्यक्तिहरू आफ्नो बौद्धिक
क्षमता, पारिवारिक स्थिति, सामाजिक व्यवस्था, सरकारी नीति, रोजगारको स्थित, अवसर आदिको कारणले गर्दा गरीब हुन
पुगेका हुन्छन्। त्यसरी गरीब हुनमा उनीहरूको व्यक्तिगतरूपमा कुनै पनि किसिमको
भूमिका हुँदैन, केही अपवादलाई छाडेर कुरा गर्ने हो
भने। अर्कातिर उक्त व्यक्तिले गरीब भएको कारणले गर्दा नै समाजमा दुव्र्यवहारको
सामना गर्नुपर्छ। यसरी व्यक्ति गरीब भएको कारणले दुव्र्यवहार सहन गर्नुपरेकोले
उसले जहिले पनि गरीबीबाट छुटकारा पाउन अनेक किसिमका जायज, नाजायज कोशिश जीवनकालभरि जारी राख्छ। र, गरीबीबाट छुटकारा पाउने सबैभन्दा सजिलो
उपाय उसको लागि भ्रष्टाचार हुन पुग्दछ। एउटा वर्ग (गरीब)बाट उक्लेर अर्को वर्ग
(धनी)मा पुगी इज्जतपूर्वक बाँच्न नेपालमा ठूलो मात्रामा भ्रष्टाचार हुने गर्दछ।
यसरी नेपालमा भ्रष्टाचार धनको लालसाले भन्दा पनि स्तर उन्नतिको चाहनाले हुने गरेको
पाइन्छ। यो कारणले गर्दा पनि बहुसङ्ख्यक व्यक्तिहरू भ्रष्टाचारमा लिप्त हुन
पुग्छन्। भ्रष्टाचार गर्नेहरूलाई राम्रो गरी थाहा हुन्छ कि आर्थिक उन्नति भएमा
उसलाई कसलै पनि कहाँबाट यति धेरै पैसा कमाइस् भनेर सोध्दैन, बरु यो परिवर्तित स्थिति (धनी भएको) को
सराहना गर्दै इज्जत दिन्छ। यो कारणले गर्दा पनि कानून लागू गराउने निकायका अङ्गहरू
(प्रहरी, प्रशासकीय कर्मचारी, अदालतका कर्मचारी आदि) समेत पनि
भ्रष्टाचारमा संलग्न हुन पुग्छन्। विकसित मुलुकहरूमा प्रहरीले भ्रष्टाचार गरेको
विरलै देखिन्छ। जबकि नेपालमा प्रहरीले भ्रष्टाचार गर्नु सामान्य कुरा हो।
केही वर्ष पहिलेसम्म पनि धनीहरूको भोजभतेरमा
मधेसमा तल्लो जाति मानिएको डोम जातिलाई आमन्त्रितहरूसँगै पङ्क्तिमा बसेर खान
दिइँथेन। त्यतिमात्र होइन, डोमहरूलाई आमन्त्रितहरूले भोजन गरिरहेको स्थानभन्दा धेरै पर बस्न
बाध्य पारिन्थ्यो। र, सर्वाधिक
अमानवीय पक्ष त के हुन्थ्यो भने भोजका आमन्त्रितहरूले खाएर छोडेका, जूठो खानेकुराहरू समारोह स्थलभन्दा
धेरै पर बसेका डोमहरूलाई दिने गरिन्थ्यो। त्यसरी दिने तरीका पनि झनै अमानवीय
हुन्थ्यो किनभने त्यसरी खाएका जूठा कुराहरू जुन केराको पातमा हुन्थ्यो, परबाट फालेर दिने गरिन्थ्यो। भोजहरूमा
केराको पात खाने थालको रूपमा प्रयोग हुन्थ्यो। डोमहरूलाई आमन्त्रित गरेर बोलाउनु त
परको कुरा हुन्थ्यो। कस्तो अचम्म! आफूलाई माथिल्लो दर्जामा राख्नेहरूले तल्लो
दर्जा मानिएकाहरूलाई कतिसम्मको पशुतुल्य व्यवहार गर्न सकेका थिए? हाम्रो समाजले गरीबहरूलाई यतिसम्म
अपमान गरेको छ।
हामी किन गरीब भयौं भनेर कारणहरू
अर्थशास्त्रका ठूलाठूला किताबहरूमा खोजेर हुँदैन। ठूलाठूला नाम चलेका
अर्थशास्त्रीहरूको गहकिला अनुसन्धानपत्रमा खोजेर हुँदैन। लखपति ठाकुर रामानारायण
सिंहले गरीब झगडू डोमलाई गरीब भएको आधारमा कस्तो व्यवहार गरे, त्यो व्यवहारमा गरीबीको कारण
खोज्नुपर्छ, त्यो व्यवहारमा भ्रष्टाचारको कारण
खोज्नुपर्छ। हामीकहाँ हुने भ्रष्टाचारलाई जन्म दिन र हुर्काउनमा गरीबसँग गरिने
व्यवहारले मलजलको काम गरेको छ। गरीब भएकै कारणले समाजमा अपमानित जीवन बिताउनुपर्ने
भएकोले त्यो अपमानित जीवनबाट छुटकारा पाउन भ्रष्टाचार गरिन्छ। नेपालमा गरीब भएर
भौतिक सुख सुविधा नपाएकोमा अनुभव गरिने पीडाभन्दा गरीब भएको कारणले समाजबाट
तिरस्कार पाउँदा हुने मानसिक पीडा ज्यादै ठूलो र अति नै दर्दनाक छ।
अमेरिका वा युरोपतिर कुनै पनि व्यक्तिलाई
गरीब भएकै भरमा हेला गरिंदैन। सम्बोधन गर्दा पनि सम्बोधनका लागि अमर्यादित शब्द
जस्तै तिमी, तँ प्रयोग गरिंदैन। अङ्ग्रेजीमा त झन्
‘यू’ भनेर सम्बोधन गरे पुग्छ। अर्थात् सबैलाई समान किसिमले ‘यू’ भनेर सम्बोधन
गरिन्छ। हाम्रो भाषा र व्यवहारमा जस्तो धनीलाई हजुर, बकस्योस् र गरीबलाई तिमी वा तँ भनिंदैन। हामी गरीबलाई इज्जत दिंदैनौं
मात्र होइन, गरीबलाई इज्जत दिंदा आफ्नो इज्जत गएको
महसूससमेत गर्छौ। यस्तो अनुभूतिले पनि कहीं भ्रष्टाचार समाप्त हुन्छ?
अमेरिका वा युरोपतिर गरीबी एक मानसिक बोझको
रूपमा हुँदैन। गरीबीलाई भौतिक वस्तु सुविधा–विहीनतासँग जोडेर हेरिन्छ। एक
व्यक्तिले गरीबलाई नराम्रो गरी बोध गर्नुपर्दैन। यो कारणले गर्दा पनि अमेरिकी एवं
युरोपेली समाजमा भ्रष्टाचार ज्यादै न्यून मात्रमा हुने गर्दछ।
भ्रष्टाचार के हो? ट्रान्सपरेन्सी इन्टरनेशनलले “निजी
फाइदाका लागि सार्वजनिक शक्तिको दुरुपयोग गर्नु”लाई भ्रष्टाचार मानेको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको यो परिभाषा हेर्दा यसले सार्वजनिक पद धारण गर्ने
व्यक्तिहरूले गर्ने भ्रष्टाचारलाई बढी जोड दिएको छ।
हाम्रो सामाजिक सन्दर्भमा कुरा गर्दा भने
भ्रष्टाचारलाई व्यापक अर्थमा लिनुपर्ने हुन्छ। कसैसँग पैसा पैचौ लिएर पछि फिर्ता
नगर्नु पनि भ्रष्टाचार नै हो। गलत सामान बिक्री गर्नु पनि भ्रष्टाचार हो।
खानेकुरामा मिसावट गर्नु भ्रष्टाचार हो। राम्रो आम्दानी पाउनका लागि बालीमा जानीजानी
विषादी मिसाउनु पनि भ्रष्टाचार हो। पारिश्रमिक लिएर तोकिएको काम गर्छु भनी लिएको
जिम्मेवारी पूरा नगर्नु (काम नगर्नु) पनि भ्रष्टाचार नै हो। अनुचित किसिमले लाभ
प्राप्त गर्नु (ठग्नु) पनि भ्रष्टाचार नै हो। र, हामीकहाँ यी सबै किसिमका भ्रष्टाचार धनी र छिट्टै धनी हुने लालसाका
साथ गरिन्छ।
गरीब हुनु अभिशाप होइन। हरेक समाजमा धनी र
गरीब हुन्छन्। गरीब हुने कारणहरू पनि धेरै छन्। तर गरीब हुँदैमा कसैको इज्जत
हुँदैन भन्ने होइन। एक सभ्य समाज निर्माणका लागि गरीबहरूलाई गरिने विभेदी व्यवहार
परित्याग गर्न अति आवश्यक छ। यस्तो गर्नाले सम्पूर्ण समाजलाई आर्थिकरूपमा धनी
तुल्याउन पनि सहयोग मिल्छ।
विश्वराज अधिकारी
Friday, November 8, 2019
No comments:
Post a Comment