के
ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक आउला?
सन्
२०२० लाई नेपालले ‘नेपाल भ्रमण वर्ष’ (Visit Nepal Year 2020) को रूपमा मनाउने निर्णय गरेको छ। साथै
उक्त भ्रमण वर्षमा विभिन्न मुलुकका करीब २० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने
लक्ष्य राखेको घोषणा पनि गरेको छ। सरकारले गरेको यो निर्णय स्वागतयोग्य त छ नै, यस्तो निर्णय गर्नु अनिवार्य पनि थियो।
दुई ठूला आर्थिक महाशक्तिहरू–भारत र चीनबीच रहेको नेपालले वस्तु–व्यापार (निर्यात)
बाट उच्च लाभ प्राप्त गर्ने सम्भावना ज्यादै न्यून हुँदै गएको छ। भारत र चीन बृहत्
बजार भए तापनि यी राष्ट्रहरूमा विभिन्न वस्तु निर्यात गरेर नेपालले उच्च लाभ
प्राप्त गर्न सक्ने स्थिति छैन, किनभने भारत र चीनभन्दा सस्तोमा वस्तुहरू उत्पादन गर्न सक्ने प्रविधि, सीप र क्षमता नेपालसँग छैन। उत्पादन
प्रवधिको विकास एवं प्रयोग र कच्चा पदार्थ उत्पादन, यी दुवै क्षेत्रमा भारत र चीनभन्दा नेपाल निकै पछाडि छ। प्रायः हरेक
वस्तु भारत र चीनले नेपालभन्दा सस्तोमा उत्पादन गर्ने क्षमता राख्दछन्। यी दुई
छिमेकी बृहत् बजारलाई केही गिनेचुनेका वस्तुहरू बिक्री गरेर नेपालले न्यून लाभ
प्राप्त गर्नु बेग्लै कुरा हो। त्यस्ता गिनेचुनेका वस्तुको बिक्रीबाट उल्लेख्य आर्थिक
फाइदा हासिल गर्न सकिंदैन। निर्यात व्यापारलाई लाभदायक तुल्याउन सकिंदैन। यस कारण
पनि नेपालले वस्तु निर्यातभन्दा सेवा व्यवसाय एवं पर्यटनमा जोड दिनु आवश्यक छ।
अहिलेको स्थितिमा नेपालको लागि आसलाग्दो व्यापारको क्षेत्र पर्यटन हो। पर्यटन
व्यवसायबाट नेपालले राम्रो आम्दानी प्राप्त गर्न सक्ने पर्याप्त सम्भावना छ।
नेपालमा २०६३ सालपछि, शान्ति र स्थिरताको स्थितिमा क्रमिक
सुधार आएको, बन्द–हडताल–चक्काजामजस्ता घटना कम
हुँदै गएको र देशको कुनै पनि भागमा कुनै समूहले अहिले अति नै रक्तपातपूर्ण किसिमले
(माओवादीहरूले ५० को दशकमा गरेझै) सशस्त्र सङ्घर्ष नगरेकोले एक किसिमको दीर्घ
शान्ति छ। यस किसिमको शान्तिले गर्दा नेपालको पर्यटन क्षेत्रलाई अति नै फाइदा
पुगेको देखिएको छ। यस स्थितिको नेपालले लाभदायक किसिमले उपयोग गर्नु पर्छ।
विगतका वर्षहरूमा नेपाल आउने विदेशी
पर्यटकहरूको सङ्ख्यामा क्रमिक वृद्धि हुँदै गएको छ। सन् २०१७ मा ९ लाख ४० हजार २१८
पर्यटक भ्रमणका लागि नेपाल आएका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकहरू
सोही उदेश्यका साथ नेपाल आएका थिए। यसरी सन् २०१७ को तुलनामा २०१८ मा नेपाल
भ्रमणमा आउने पर्यटकहरूको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको पाइन्छ। यसरी वृद्धि
हुनुले विदेशी पर्यटकहरू नेपालतिर आकर्षित भएको कुराको पुष्टि हुन्छ।
सन् २०१८ मा ९ लाख ६९ हजार २८७ पर्यटक हवाई
मार्गबाट आएका थिए भने २ लाख ३ हजार ७८५ पर्यटक स्थलमार्गबाट आएका थिए।
चीन, भारत, श्रीलङ्का, अमेरिका, अस्ट्रेलिया, बेलायत एवं युरोपका विभिन्न राष्ट्रहरूबाट नेपाल आउने पर्यटकहरूको
सङ्ख्यामा सन्तोषजनक वृद्धि हुँदै गएको देखिएको छ। सन् २०१८ मा ५० हजार चिनियाँ
भ्रमण उद्देश्यका साथ नेपाल आएका थिए। यसरी चिनियाँ पर्यटकहरू नेपालको पर्यटन
बजारका लागि आशालाग्दो ग्राहकको रूपमा देखिन थालेका छन्।
अहिलेको चीन ‘माओ’कालीन चीन होइन । माओको
पालामा चिनियाँहरूले मुलुक छाड्न (विदेश भ्रमणमा जान) विभिन्न बाधाको सामना
गर्नुपर्दथ्यो। ज्यादै न्यून सङ्ख्यामा चिनियाँहरू भ्रमण गर्ने उद्देश्यले मुलुक
बाहिर जान पाउँथे। माओकालीन चीन ‘बन्द चीन’ थियो। तर चीनमा देङ सियाओपिंगको उदय भएपछि केही राजनैतिक खुलापन आयो।
खासगरी आर्थिक क्षेत्रमा चीनमा ठूलो परिवर्तन देखियो। राज्य नियन्त्रित राष्ट्रिय
अर्थ व्यवस्थालाई सरकारको नियन्त्रणबाट बाहिर लगेर देङ सियाओपेङले राष्ट्रिय
अर्थतन्त्रलाई उदार र खुला मात्र पारेनन्, राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको व्यापक सहभागिता गराए। यो
परिवर्तनले चीनको अर्थतन्त्र कछुवाको गतिबाट खरायोको गतिमा पुग्यो। चिनियाँ
नागरिकको आम्दानी ह्वात्तै बढ्यो। परिवर्तित राजनैतिक परिवेशको उपयोग गर्दै
चिनियाँहरू ठूलो सङ्ख्यामा विदेश भ्रमणमा निस्किन थाले। त्यस्तो गर्न उनीहरूलाई
वृद्धि भएको आम्दानीले उत्प्रेरित गर्यो, सघायो पनि।
हालका चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको
आर्थिक विकासलाई राष्ट्रको प्रमुख मुद्दा नै बनाएका छन्। अहिले चिनियाँ
लगानीकर्ताहरू संसारका विभिन्न मुलुकहरूमा पुगेका छन्, त्यहाँ पुगेर व्यापार गरिरहेका छन्।
सीको समयमा चीनले आर्थिक स्वतन्त्रतामात्र देखेको छैन, राजनैतिक स्वतन्त्रता पनि देखेको छ।
अहिले लाखौको सङ्ख्यामा चिनियाँहरू भ्रमणको उद्देश्य लिएर संसारका अनेक मुलुकहरूमा
पुगिरहेका छन्। माओका समयमा झैं विदेश जान अहिले चिनियाँहरूले अनेक बाधाको सामना
गर्नुपर्दैन। यो कारणले गर्दा विश्व पर्यटन बजारमा चिनियाँहरू पनि बलियो क्रय
शक्ति भएको र भरपर्दो ग्राहकको रूपमा देखिएका छन्। यो मौकाको उपयोग नेपालले पनि
गर्नुपर्छ, चुक्नुहुँदैन।
चिनियाँहरूलाई नेपाल भ्रमणका लागि
प्रोत्साहित गर्न केही दिन पहिले काठमाडौमा आयोजित एक समारोहमा ‘नेपाल भ्रमण वर्ष
२०२०’ का राष्ट्रिय समन्वयकर्ता सुरज वैद्यले चिनियाँ कलाकार (अभिनेत्री) स्वी
छिङ्लाई नेपालको तर्फबाट ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत (Tourism Goodwill Ambassador
for Visit Nepal Year 2020) मनोनय गरिएको
प्रमाणपत्र हस्तान्तरण गरेका थिए। उक्त मनोनयन (पर्यटनदूत नियुक्ति) लाई नेपाल
सरकारका संस्कृति,
पर्यटन
तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनुमोदन गरेका थिए। नेपालबाट पर्यटनदूत
नियुक्त हुन पाएकोमा अति हर्षित हुँदै कलाकार स्वीले नेपालमा चिनियाँहरू ठूलो
सङ्ख्यामा भित्र्याउन आफूले विशेष भूमिका निर्वाह गर्ने उल्लेख गरेकी थिइन्।
नेपालका तर्फबाट पर्यटनदूत नियुक्त भएकी स्वी, चीन र अमेरिका (हलिउड) दुवैतिर निकै
चर्चित छिन्। चीनमा उनलाई मन पराउनेहरूको सङ्ख्या ठूलो छ। चीनमा, सामाजिक सञ्जालमा उनलाई ‘फौलो’ गर्नेहरूको
पनि बाक्लो उपस्थिति छ।
अभिनेत्री स्वीको पर्यटनदूतको नियुक्तिलाई
चिनियाँ युवाहरूले ज्यादै सकारात्मकरूपमा लिएका छन्।
के ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक नेपाल आउला?
अब यस यक्ष प्रश्नको उत्तर खोजौ ।
जुन
सङ्ख्यामा भारतीयहरू नेपालमा भ्रमणका लागि आउँछन त्यो सङ्ख्यामा चिनियाँहरू आउने
छैनन्। नेपाल र भारतबीच धर्म र संस्कृतिमा निकै समानता भएकोले तीर्थ गर्ने
उद्देश्यले नै पनि ठूलो सङ्ख्यामा भारतीयहरू नेपाल आउने गर्छन्। तर चीन र नेपालबीच
न धार्मिक, न सांस्कृतिक समानता छ। त्यसकारण
चीनबाट ठूलो सङ्ख्यामा पर्यटकहरू नेपाल आउने सम्भावना छैन। यस्तो भन्नेहरू पनि
नेपालमा धेरै छन्। तर यो भनाइमा सत्यता छैन।
चिनियाँहरूका लागि नेपाल सस्तो भ्रमण–गन्तव्य
हो। यस कारण धेरै चिनियाँहरू नेपालतर्फ विशेष किसिमले आकर्षित छन्। नेपाल भ्रमण
सस्तो (अमेरिका,
युरोपको
तुलनामा) भएकोले कम आय भएका चिनियाँहरू पनि नेपाल आउन सक्छन्। यसैगरी नेपाल, चीनबाट ज्यादै नजीक भएकोले
चिनियाँहरूले छोटो समयमा नेपालको भ्रमण गर्न सक्छन्। केही सांस्कृतिक क्षेत्रमा
नेपाल र चीनबीच धेरै समानता छ। यो समानताले पनि चिनियाँहरूलाई नेपाल भ्रमाणमा आउन प्रोत्साहित
गर्नेछ।
बौद्ध दर्शनबारे जान्न अहिले धेरै चिनियाँ
उत्सुक छन्। केही चिनियाँले लुम्बिनीलाई तीर्थस्थलको रूपमा मानेका छन्। लुम्बिनी र
विभिन्न गुम्बाहरूको अवलोकन गर्न ठूलो सङ्ख्यामा चिनियाँहरू आउने अति बलियो
सम्भावना छ।
भारतका धेरै बजार नेपालको सीमासँग जसरी
जोडिएका छन् त्यसैगरी चिनियाँ बजारहरू जोडिएका छैनन्। तर पनि नेपालतर्फ आउने, थोरै सङ्ख्यामा भए पनि स्थलमार्गहरूले
चिनियाँहरूलाई नेपाल आउन सजिलो पार्नेछ। आउन प्रोत्साहित गर्नेछ।
चिनियाँहरूमा अहिले घुमफिर गर्ने उत्सुकता
निकै जागेर आएको छ। बन्द समाजमा बसेका चिनियाँहरू अहिले खुकुलो वातावरणको भरपूर
उपयोग गर्ने पक्षमा छन्। आर्थिकरूपमा पनि सक्षम छन्। यो स्थिति नेपाली पर्यटन
बजारको लागि ठूलो अवसर हो। यस अवसरको प्रयोग सुझबुझ र दीर्घकालीन योजनाका साथ
गर्नुपर्छ। यो अवसर गुमाउनुहुँदैन। चिनियाँ पर्यटकहरूको नेपालमा बाक्लो उपस्थितिले
नेपालको उत्तरी क्षेत्र (पहाड र हिमाल) को आर्थिक विकासमा ठूलो योगदान पुर्याउने छ।
आर्थिकरूपमा यो क्षेत्र उत्पादक हुनेछ।
यस स्थितिको महत्व बुझेर नै नेपालले कलाकार स्वीलाई
पर्यटनदूत मनोनयन गरेको हुनुपर्छ।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक
दैनिकमा प्रकाशित Friday, November 1, 2019
No comments:
Post a Comment