कोरोनाजनित
आर्थिक सङ्कट र बच्ने उपायहरू
कोरोना
भाइरसको चिन्ताले अहिले विश्वभरिका मानिसलाई समान किसिमले सताएको छ। गरीब होस् वा
धनी, सबै देशका नागरिक यस रोगबाट त्रस्त छन्।
यसरी त्रसित हुनुको प्रमुख कारण हो यो भाइरसविरुद्ध कुनै औषधी अहिलेसम्म पत्ता लागेको
छैन। अमेरिकाजस्तो धनी मुलुकले पनि यो रोगको औषधी पत्ता लगाउन सकेको छैन। यो
कोरोनाबाट बच्ने उपाय केवल बिरामीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नु
मात्र मानिएको छ। त्योभन्दा अर्को भरपर्दो उपाय छैन।
यस आलेखमा भने कोरोना सङ्कटले ल्याउन सक्ने
आर्थिक समस्या र त्यस आर्थिक समस्याबाट बच्ने उपायबारे चर्चा गरिने छ। यो
स्तम्भकार स्वास्थ्य विज्ञ नभएकोले कोरोना सङ्कटले स्वास्थ्यमा पार्न सक्ने
प्रतिकूल प्रभाव एवं यो सङ्कट कम पार्ने गर्नुपर्ने तयारीहरूबारे लेख्नु उचित
ठहर्दैन। सञ्चारकर्मी वा मेडियामा बोल्ने, लेख्नेहरूले आफ्नो क्षेत्रको कुरा मात्र बोल्ने, लेख्ने गर्नुपर्छ र आफूलाई ज्ञान नभएको
विषयमा लेखेर, बोलेर भ्रम फैलाउनु हुँदैन भन्ने
तथ्यमा यो स्तम्भकार विश्वास गर्दछ। अर्थात् कोरोनाले स्वास्थ्यमा पार्ने
प्रभावबारे केवल स्वास्थ्य क्षेत्रका व्यक्ति वा विज्ञहरूले लेख्नु, बोल्नु उपयुक्त हुन्छ। सम्बन्धित
क्षेत्रमा ज्ञान नभएका व्यक्तिले बोलेर समाजमा भ्रम र त्रास फैलाउनु हुँदैन। अहिले
कतिपय व्यक्ति जानेर वा नजानेर कोरोना सङ्कटबारे भ्रम फैलाइरहेका छन्। सामाजिक
सञ्जालहरूमा यसबारे अनेक खबर सम्प्रेषण, टीकाटिप्पणी गरिरहेका छन्। त्यसकारण अहिले कोरोनाको वास्तविक
सङ्क्रमणभन्दा मानिस, बजारमा
यस रोगबारे फैलिएको भ्रमले गर्दा बढी त्रसित भएका छन्।
संसारका विभिन्न मुलुकले कोरोना सङ्कटले
ल्याउन सक्ने ठूलो आर्थिक क्षतिबाट राष्ट्रलाई जोगाउन अहिलेदेखि नै पूर्व तयारी
आरम्भ गरिसकेका छन्। अमेरिका एवं युरोपका अनेक राष्ट्रले कोरोना सङ्कटको सामना
कसरी गर्नबारे विभिन्न योजना तथा कार्यक्रम घोषणा गरेरहका छन्। चीनले पनि विभिन्न
किसिमको तयारी गरेको छ र उसको यो तयारीले राष्ट्रलाई कम आर्थिक क्षति हुने कुरामा
विश्वस्त छ।
नेपालको सन्दर्भमा, कोरोना–सङ्कटले मुलुकमा ल्याउन सक्ने आर्थिक समस्याबाट बच्ने पहिलो
उपाय हामी सबैले आफूलाई गलत सूचनाबाट जोगाउनु हो। अहिले नेपालले प्रेस
स्वतन्त्रताको उपयोग गरिरहेकोले मेडियाहरूले मात्र होइन व्यक्तिले पनि आफूलाई
राम्रो ज्ञान नभएको विषयमा बोल्ने, लेख्ने, अपुष्ट
समाचार प्रसारण गर्ने (सेयर गर्ने), प्रकाशन गर्ने कार्य गरिरहेका छन्। यसरी बजारमा सूचना र जानकारी
अहिले चाहिनेभन्दा बढी आएको स्थिति छ। अहिले लगभग हरेक व्यक्तिले सूचना एवं
जानकारीको भारी बोकेको (overloaded) स्थिति छ। हरेक व्यक्ति अनावश्यक सूचना र जानकारीको बोझले थिचिएको
छ। कोरोना भाइरस सम्बन्धी अनावश्यक सूचना एवं जानकारीको भारी बोक्नु राम्रो होइन
किनभने त्यो भारी (गलत सूचना एवं जानकारी) ले ब्यक्तिलाई नकारात्मक सोच बनाउन
बाध्य पार्छ। र व्यक्तिको त्यस्तो नकारात्मक सोचले राष्ट्रिय उत्पादन र आपूर्ति
व्यवस्थालाई नराम्ररी प्रभावित पार्न सक्छ। व्यक्तिले अनावश्यकरूपमा उपभोग्य
सामग्री भण्डारण गर्ने, सामान
लुकाउने कार्य गर्न सक्छन् । बजारमा कृत्रिम अभाव सृजना भएर मूल्य वृद्धि गर्न
सक्छन्।
बजारमा फैलिएको भ्रम र अनिश्चितताको कारण
उत्पादन बन्द पनि हुन सक्छ। त्यसकारण हामी गलत सूचना एवं जानकारीबाट जोगिनुपर्छ र
अरूलाई जोगाउनु पनि पर्छ। र जोगिन र जोगाउन हामीले गर्नुपर्ने प्रमुख कार्य हो
आधिकारिक र भरपर्दो स्रोतबाट सम्प्रेषित समाचार (सूचना एवं जानकारी) मात्र ग्रहण
गर्ने, विश्वसनीय समाचार मात्र पत्याउने। गलत
सूचना एवं जानकारी (स्रोत नखुलाइएको, स्रोत अविश्वसनीय लागेको) बाट पर रहने।
नेपालको आपूर्ति व्यवस्था लगभग पूर्णरूपमा
भारतमाथि आश्रित छ। खाद्य वस्तु एवं तरकारीसमेत भारतबाट ठूलो मात्रामा नेपालमा
आयात हुन्छ। कोरोना सङ्कट विस्तार भएमा भारतले पनि आफ्नो लागि अपुग हुने भन्दै
निर्यातमा कटौती गर्नेछ जसले गर्दा नेपालका बजारहरूमा विभिन्न किसिमका सामानको
अभाव भएर हाहाकार मच्चिन सक्छ। यो स्थितिबाट जोगिन हामीले आफ्नो उत्पादन
व्यवस्थामा जोड नुपर्छ। खासगरी कृषि उत्पादन बढाउन जनस्तरमा नै जोड दिनुपर्छ। कहीं
कतै खाली जग्गा रहन नदिई त्यसमा कुनै न कुनै बाली लगाउनुपर्छ।
स्थानीय सरकारले आफ्नो गाउँ एवं नगरमा, प्रान्तीय सरकारले आफ्नो क्षेत्रमा तथा
सङ्घीय सकारले राष्ट्रिय स्तरमा अहिलेदेखि नै ‘कृषि उत्पादनमा वृद्धि ल्याउने
अभियान’ सञ्चालन गर्नुपर्छ। र यो उत्पादन वृद्धि अभियानलाई कोरोना सङ्कटबाट बच्ने
रणनीतिको रूपमा लिनुपर्छ। र यो कुरा जनतामाझ पनि पुर्याउनुपर्छ। उत्पादन वृद्धि कार्यमा
जनतालाई पनि संलग्न गराउनुपर्छ।
ऊर्जाका लागि पनि हामी ठूलो मात्रामा भारतमा
नै भर पर्छौ। खान पकाउनका लागि आवश्यक पर्ने एलपिजी (ग्याँस) हामी पूर्णरूपमा
भारतबाट नै आयात गर्छौ। भान्सामा प्रयोग हुने इन्धनमा बिजुलीको हिस्सा एकदमै कम छ।
अर्कोतिर बिजुली पनि हामीले चाहिएको परिमाणमा उत्पादन गर्न सकेका छैनौं। शहरी
क्षेत्रका भान्सामा ग्याँसको उपयोग अत्यधिक हुन्छ। दाउरा एवं पशु–अवशेष (चिपरी, गोइँठा) आदिको प्रयोग केवल ग्रामीण
क्षेत्रमा हुन्छ तर ज्यादै सीमितरूपमा। कोरोना सङ्कटको सामना गर्न हामीले तत्काल, अहिलेदेखि, आजैदेखि एलपिजीको विकल्प खोज्न आवश्यक
छ। सरकारले ‘कार्यदल’ निर्माण गरेर तत्काल ग्याँसको विकल्प खोज्ने जिम्मा उक्त
कार्यदललाई छिटोभन्दा छिटो दिन आवश्यक छ। वन पैदावारलाई ग्याँसको विकल्पको रूपमा
प्रयोग गर्न सकिन्छ कि त्यसवारे सोंच्न आवश्यक छ।
नेपाली बजारमा अधिकांश बिक्रेताको नैतिकता र
इमानदारिताको स्तर (Business Ethical Standard) ज्यादै तल झरेको छ। कोरोना–सङ्कटलाई धेरै
व्यापारी (उत्पादक, वितरक
एवं आपूर्तिकर्ता) ले उच्च मुनाफा हात पार्ने सुनौलो अवसरको रूपमा पनि प्रयोग गर्न
सक्छन्। उनीहरूले कृत्रिम अभाव सृजना गरेर मूल्य वृद्धि गर्न सक्छन्। रातोरात
करोडपति बन्ने सपना देख्न सक्छन्। हाम्रा व्यापारीहरू आफ्नै नैतिकताभन्दा नियम
कानूनले बढी डराउने गर्छन्। यस्तो मनोविज्ञानको निर्माण जन चेतनाको अभावले गर्दा
भएको हो। त्यसकारण सरकारले कडा कानून बनाएर, पालना गर्न लगाएर, कालाबाजारी गर्ने व्यापारीहरूलाई दण्डित गर्ने घोषणा गर्नुपर्छ। साथै
यस्तो राष्ट्रिय सङ्कटको घडीमा मुनाफा मात्र उद्देश्य हो भन्ने भावना त्यागेर देश
र जनताको सेवा गर्न सरकारले व्यापारीहरूलाई अनुरोध (अपील) पनि गर्नुपर्छ। अर्को
शब्दमा, सरकारले व्यापारीहरूलाई जनसेवामा लाग्न
उत्प्रेरित गर्नुपर्छ। उत्प्रेरित हुने वातावरण तयार पार्नुपर्छ।
कोरोना–सङ्कटको सामना गर्न सरकारले (राष्ट्र
बैंकमार्फत) वाणिज्य बैंकहरूलाई ब्याजदर (ऋणमा) घटाउन आग्रह गर्नु उपयुक्त हुन्छ।
ब्याज दर घटेमा लगानीकर्ताहरू ऋण लिएर लगानी गर्न उत्प्रेरित हुन्छन्, लगानीको राम्रो वातावरण तयार हुन्छ।
उत्पादनमा वृद्धि भएर एकातिर आपूर्तिको परिमाणमा वृद्धि हुन्छ भने अर्कोतिर रोजगार, श्रम बजार स्थिर हुन्छ। अर्थात्
ब्याजदर कम पारेर राष्ट्रिय श्रम बजारलाई स्थिर पार्न सकिन्छ।
त्यस्तो स्थिति न आउला, तर यदि आएमा (कम आय भएका व्यक्तिहरू
बेरोजगारी भएमा) सरकारले निर्धन परिवारहरूलाई प्रोत्साहन रकम (Stimulus check) दिने सोच राख्नु उपयुक्त हुन्छ।
अन्तर्राष्ट्रियस्तरमा यस्तो गरिएको पनि छ। सन् २००८ मा अमेरिकी अर्थतन्त्रमा
सुस्तता (recession) आएको बेला राष्ट्रिय अर्थतन्त्रलाई गति
प्रदान गर्न अमेरिकाको सङ्घीय सरकारले जनतालाई प्रोत्साहन रकम बाँडेको थियो र
त्यसको असर प्रभावकारी देखिएको थियो। त्यो प्रोत्साहन रकमले अमेरिकी बजारमा आर्थिक
क्रिया कलाप बढाएको थियो। त्यो बेला एक व्यक्तिलाई तिन सय डलर चेक मार्फत दिइएको
थियो।
कोरोना सङ्कटले ल्याउन सक्ने आर्थिक समस्याको
प्रमुख समाधान भनेको नै राष्ट्रिय उत्पादनमा तीव्र अभिवृद्धि हो, तत्काल उत्पादन वृद्धि गर्न सकिने
क्षेत्र पहिचान गर्नु हो। र प्रमुखरूपमा खाद्यान्न उत्पादनको परिमाणमा वृद्धि
गर्नु हो।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक
दैनिकमा प्रकाशित: Friday, March 13, 2020
No comments:
Post a Comment