आपूर्ति
व्यवस्थामा कोरोना सङ्कटको कुप्रभाव
कोरोना
सङ्कटले गर्दा अहिले विश्व आपूर्ति व्यवस्थाले ठीकसँग काम गर्न सकिरहेको छैन।
संसारभरि फैलिएको यो सङ्कटले विकसित एवं विकासशील दुवै राष्ट्रहरूलाई फरक–फरक
किसिमले प्रतिकूल प्रभाव पारेको छ। विकसित देशहरूमा भने उपभोक्ताहरूले नियमित
आवश्यकताका लागि चाहिनेभन्दा बढी माग (खरीद) गरिरहेको हुनाले आपूर्ति व्यवस्थाले
व्यवस्थित किसिमले काम गर्न सकिरहेको छैन र बजारमा मुख्यतः खाद्य सामग्री, औषधी, स्वास्थ्य सामग्रीहरूको अभाव हुन पुगेको छ भने विकाशील मुलुकहरूमा
राम्रो मुनाफा हात पार्ने उपयुक्त मौका यही हो भनेर कालाबजारीहरूले महँगोमा बिक्री
गर्न सामान लुकाएको हुनाले आपूर्ति व्यवस्थाले व्यवस्थित किसिमले काम गर्न
सकिरहेको छैन। उत्पादन व्यवस्थाले नियमित किसिमले कार्य गरे तापनि उपभोक्ताहरूले
बढी माग गरिरहेको र केही देशमा कालाबजारीहरूले लुकाइरहेको हुनाले बजारमा अहिले एक
किसिमको अनिश्चितता देखिएको हो। उपभोक्तामा एक किसिमको त्रास देखिएको हो। हुन पनि
विकसित देशहरूमा उपभोक्ताहरूले सामान्यतया एक हप्ताका लागि सामग्री भण्डारण गर्छन्।
तर अहिले कोरोना–सङ्कटले गर्दा तीनचार महीनाका लागि सामग्री भण्डारण गर्ने प्रयास
गरिरहेका छन्। यसरी एक हप्ताका लागि भण्डारण गर्ने र सोही अनुसार उत्पादन हुने
अवस्था रहेकोमा अहिले उपभोक्ताहरूले महीनौंका लागि भण्डारण गर्दा आपूर्ति व्यवस्था
नराम्ररी प्रभावित हुन पुगेको छ।
युद्धको समयमा द्वन्द्वरत दुई पक्षमा ठूलै
हताहती निश्चित भए पनि जीवन बाँचिरहेको हुन्छ, जीवन रोकिंदैन। त्यसैगरी उत्पादन र वितरण व्यवस्थाले कार्य गरिहरेको
हुन्छ। सानो वा ठूलो परिमाणमा किन नहोस्, उत्पादन भइ नै रहन्छ। वितरण व्यवस्थाले पनि कार्य गरिरहेको हुन्छ।
उपभोक्तामाझ उपभोग्य सामग्री पुगिरहेको हुन्छ। तर कोरोना भाइरसबाट सङ्क्रमित भएपछि
निको हुने सम्भावना रहने, युद्धको तुलनामा यो रोगबाट सीमित सङ्ख्यामा मृत्यु हुने भए तापनि
मानिसहरूमा यो रोगबारे अनावश्यक त्रास फैलिएको छ। पत्रपत्रिका मात्र होइन, व्यक्तिहरूले पनि अनावश्यक, अपुष्ट एवं भ्रामक समाचार वितरण गरेर
उपभोक्तामाझ सन्त्रास फैलाउने कार्य गरिरहेका छन्। यस किसिमको कार्य गलत हो। मानिस
त्रासमा बाँचिरहेको समयमा थप त्रास फैलाएर समाजलाई आतङ्कित पार्नुहुँदैन। र यसरी
उपभोक्ताहरू आतङ्कित हुँदा आपूर्ति व्यवस्थाले ठीकसँग कार्य गर्न सकिरहेको छैन।
के उत्पादन व्यव्स्था रोकिन्छ?
कोरोना सङ्कटको विस्तार भएपनि उत्पादन
व्यवस्था रोकिंदैन। केही समय (एक वा दुई महीना) को लागि उत्पादन अनियमित वा बन्द
नै भए पनि पछि उत्पादन सञ्चालन हुन्छ, हुनैपर्छ। कारखानामा काम गर्ने कर्मचारीहरूले काम गर्न आरम्भ गर्छन्।
श्रमिकहरूले काम नगरी (बचत नभएकोले) खान नपाउने हुनाले जीवन निर्वाहका लागि उनीहरू
कार्य गर्न अनिवार्यरूपमा कारखानामा उपस्थित हुन्छन्। कोरोना भाइरसबाट जोगिने अनेक
उपायहरू प्रयोग गरेर भए तापनि श्रमिकहरू कार्य गर्न कारखानामा पुग्छन् नै। जीवन
निर्वाहका अनेक आवश्यकता (पारिश्रमिक वा ज्याला आर्जन गर्नुपर्ने अनिवार्यता)
हरूले धकेलेर भएपनि श्रमिकहरूलाई काम गर्न कारखानासम्म पुर्याउने छन्। र यसरी दीर्घकालका लागि
उत्पादन व्यवस्था रोकिने छैन। उत्पादन व्यवस्था सञ्चालन हुन्छ नै। त्यसकारण लामो
समयसम्म उत्पादन रोकिन्छ, आपूर्ति व्यवस्था अनियमित (सामानको अभाव) हुन्छ भन्ने आशङ्का
पूर्णतया गलत हो। जीवन निर्वाहका लागि कोरोनाको जोखिम लिएर भएपनि श्रमिक एवं
कर्मचारीहरू कारखाना पुग्छन् र आपूर्ति व्यवस्था क्रियाशील हुन्छ।
किन पर्छ अल्पकालीन प्रभाव?
अहिले केही यथार्थ घटना तर अधिक कोरोना
भाइरससम्बन्धी अनावश्यक समाचार, विचार, सामग्री
आदिको प्रसारण एवं वितरणले समाजमा एक किसिमको सन्त्रास एवं अनिश्चितता फैलाएको छ
जसले गर्दा मानिस आतङ्कित भएका छन्। बाढीले एकैपटक धेरै पानी ल्याएर बस्तीमा
चारैतिर पानी नै पानी भएको स्थिति पारिदिएझैं अहिले जताततै, जुनसुकै देशमा अति जानकारी प्रवाह
हुँदा मानिसमा एक किसिमको अनिश्चितता छ, त्रास छ। पछि बाढीको पानी गएपछि बस्ती सुखा भएझैं केही समयपछि
व्यक्तिको मनोविज्ञान सफा र स्थिर हुन्छ। अति डरबाट मुक्त हुन्छ। सङ्कटपूर्ण घडीमा
पनि व्यवस्थित किसिमले समाजमा बस्ने एक खास किसिमको मनोविज्ञान मानिसमा निर्माण
हुन्छ। मानिसहरूले स्थिरताको अनुभूति गर्न थाल्छन्। र एक खास अवधिपछि जीवन सामान्य
हुन्छ। जीवन सामान्य हुनुको अर्को विकल्प नै छैन। यसरी जीवन सामान्य अवस्थामा
फर्केपछि आपूर्ति व्यवस्था पनि सामान्य हुन आउँछ। त्यसकारण अहिलेको यो त्रासदि
अल्पकालीन हो, दीर्घकालीन होइन। र हुन पनि सक्तैन।
भ्रमको खेती किन?
एकथरी मानिस, खासगरी केही व्यापारीहरूले यस्तो स्थितिमा थप अनिश्चितता सृजना गरेर
बजारमा अस्थिरता ल्याउने कार्य योजनाबद्ध र सुनियोजित किसिमले गर्छन्। र यो कार्य
गोप्य किसिमले गर्छन्। यस्तो स्थितिको सृजना गरेर, त्यही समयमा कालाबजारी गरेर, ठूलो नाफा हात पार्ने रणनीति बनाउँछन् । त्यसकारण यस किसिमका
व्यापारीहरूबाट निर्मित ‘कालाबजारी रणनीति’ बाट उपभोक्ताहरू जोगिएर बस्नुपर्छ। यो
समस्या खासगरी विकासशील मुलुकहरूमा देखिन्छ। विकासशील मुलुकहरूमा संवेदनाहीन
व्यक्तिको ठूलै जमात हुने हुँदा उनीहरूले मानवीय सङ्कटको घडीलाई राम्रो मुनाफा
कमाउने अवसरको रूपमा देख्छन्।
बजारमा चलेको हल्लाको पछि लागेर
आवश्यकताभन्दा बढी सामग्री खरीद गर्ने मनोविज्ञान उपभोक्ताहरूले त्याग्नुपर्छ।
कालाबजारीहरूले गर्ने भ्रमको खेतीबाट उपभोक्ताहरू जोगिएर बस्नुपर्छ। सरकारले पनि
कालाबजारीहरूलाई त्यस्तो नगर्न आग्रह गर्नुपर्छ। अटेर गर्नेलाई कठोर दण्ड दिनुपर्छ।
विकासशील मुलुकहरू, मुख्यगरी
नेपाल भारतजस्ता देशमा सरकारले अभावको हल्ला फैलिन दिनुहुँदैन र अभावको हल्ला
फिजाउने र कालाबजारी गर्नेलाई दण्डित गर्नुपर्छ।
माग र आपूर्तिको अन्तक्र्रिया किन र कसरी?
यो अति व्यापारिक युगमा माग र आपूर्तिबीच
स्वाभाविक अन्तक्रिया चलिरहेको हुन्छ। र त्यस्तो अन्तक्र्रिया छोटो समयका लागि
रोकिएपनि लामो समयसम्म रोकिंदैन। अर्थात् अहिले बजारमा देखिएको अनिश्चितता
(आपूर्तिमा बाधा) लामो अवधिसम्म रहँदैन, कोराना सङ्कटले छिटै उन्मुक्ति नदिएपनि। व्यापारलाई निरन्तरता दिन
उत्पादकहरूले उत्पादन कार्यलाई निरन्तरता दिन्छ नै। उत्पादित वस्तुहरू लिएर
आपूर्तिकर्ताहरू बजार पुग्छन् नै। उपभोक्ताहरूले विभिन्न सामग्री खरीद गर्छन् नै।
यसरी बाह्य शक्ति (कोरोना–सङ्कट, युद्ध, गृहयुद्ध, प्राकृतिक प्रकोप, महामारी) ले प्रतिकूल स्थिति सृजना गरे
पनि माग र आपूर्तिबीच हुने अन्तक्र्रिया रोकिंदैन। यो चलि नै रहन्छ। अर्थात्
उत्पादन, वितरण र उपभोग कहिले रोकिंदैन, चलि नै रहन्छ। यो बहुसम्बन्ध (multi
relations) र
परस्पर निर्भरता (interdependence) को युग हो। एकलाई अर्कोको सहयोग आवश्यक
हुने भएकोले अर्थतन्त्र गतिहीन हुनै सक्तैन। त्यसकारण भोलि आपूर्ति व्यवस्था
तहसनहस होला, बजारमा सामान नपाइएला भनेर डराउनुपर्ने
स्थिति छैन।
के उपाय प्रयोग गर्ने?
यस्तो स्थितिमा सरकारहरू सक्रिय हुनुपर्छ।
नेपालको सन्दर्भमा तीनै तहका सरकारहरू आपूर्ति व्यवस्था नियमित पार्न हरदम
क्रियाशील रहनुपर्छ। कालाबजारीलाई नौतिकता र कानून दुवै किसिमका औजार प्रयोग गरेर
आपूर्ति व्यवस्था सहज पार्न उत्प्रेरित र बाध्य पार्नुपर्छ। न टेर्नेलाई दण्डित
गर्नुपर्छ।
विश्वराज अधिकारी
Friday,
March 20, 2020
No comments:
Post a Comment