कथा सङ्ग्रह ‘नबोल्नेहरू’ को समीक्षा
कृतिकार: महेश्वर पन्त
समीक्षक: विश्वराज अधिकारी
मिति: मार्च 15, 2020
कथाकार महेश्वर पन्तको आख्यान कृति, कथा सङ्ग्रह ‘नबोल्नेहरू’
अनेक विशेषताहरूले युक्त छन्। विभिन्न विषयमा लेखिएक कथाहरूले केवल मनोरञ्जन मात्र
होइन ज्ञान पनि दिन्छन। वहुसंस्कृति समेटेका उनका कथा-कृतिले जीवनका अनेक
पक्षहरूलाई सशक्त किसिमले बयान गरेको छ। कथाहरू रोचक छन्, घोचक छन, अनि मनमोहक पनि
छन्।
कथा सङ्ग्रह ‘नबोल्नेहरू’ को पहिलो कथा हो
रजस्वला। यस कथामा परम्परागत नेपाली समाजमा एक नव युवतीले प्रथम रजस्वला हुँदा
खप्नु पर्ने शारिरीक र मानसिक पीडा अति नै मार्मिक किसिमले बयान गरिएको छ।
परम्परागत समाजले रजस्वला हुनुमा अहिले पनि युवतीहरूलाई नै दोषी देख्छ र रजस्वला
हुनेहरूसँग ठूलो भेदभाव गर्छ। रजस्वला हुने महिलाहरूलाई पीडा दिनमा महिलाहरू नै
सक्रिय रहेको देखिएको छ। यो तथ्यलाई यो कथाले यथार्थ किसिमले बयान गर्दै, प्रष्ट
पारेको छ। यो कथाले नै भन्छ- पुरुषहरू भन्दा पनि बढी महिलाहरूमा यो रुढीवादी
सोंचले गहिरो जरा गाडेको छ।
प्रथम रजस्वला हुँदा एक नव युवतीको मनोविज्ञान
कस्तो हुन्छ? उसले कस्तो मानसिक एवं भौतिक पीडा भोग्नु पर्छ? जस्ता प्रश्नहरूको
उत्तर यो कथाले प्रभावकारी किसिमले दिएको छ। साथै यो कथाले कथाकारमाथि एउटा प्रश्न
पनि खडा गरेको छ- रजस्वला, गर्भधारण, प्रशव पीडा आदि महिलाहरूले अनुभूत गर्ने कुरा
हो। यो पीडाको प्रकृति र गहिराइ पुरुषहरूलाई बोध हुन सक्तैन। तर कथाकारले यस कथामा
प्रथम रजस्वल भएको एक युवतीको मनोदासको शूक्ष्म विश्लेषण गरेका छन्। उनको त्यो विश्लेषणले
के नारी प्रकृतिको प्रतिधिनित्व गर्ला? कथाकारले यस्तो गर्नु उनको कथा लेखनको
विशेषता हो वा कमजोरी? यो प्रश्नको उत्तर दिने जिम्मा पाठकहरूमा नै छोड्न चाहन्छु।
यो कथाको मध्य भागसम्म आउँदा कथाका पात्रहरूले
आफ्नो चरित्र अनुसार कार्य गरेको देखिन्छ। तर मध्य भाग पछि कथाका पात्रहरूलाई कथाकारले
यसो गर, त्यसो गर भनेर निर्देशित गरेको पाइन्छ। मेरो विचारमा कथाकारले कथाका पात्रहरूलाई
निर्देशित गर्नु हुन्न। उनीहरूको प्रकृति र चरित्र अनुसार कार्य गर्न दिनु पर्छ।
कथालाई बढी रुचिकर एवं जनउपयोगी वा सन्देशमूलक बनाउन कथाकारले त्यस्तो गरेको हुनु
पर्छ जस्तो लाग्छ।
यस कथा सङ्ग्रहको दोस्रो कथा हो ‘द्रोपदीको
सुहागरात’। यस कथामा सडकको छेउमा सञ्चालित एक होटल र त्यसमा कार्य गर्ने एक
युवतीको कथा समेटिएको छ। एक युवती यौन व्यवसायमा लागेको र त्यस्तो गर्न समाजले नै
उनलाई बाध्य तुल्याएको स्थिति निकै मार्मिक किसिमले उल्लेख गरिएको यो कथामा सच्चा
प्रेम गर्न आउनेले पनि ती युवतिलाई कसरी ठग्यो र विवाह गर्ने भन्दै झुक्याएको
स्थितिको वयान प्रभावकारी छ।
तेस्रो कथा ‘नबोल्नेहरू’ मा एक अपांगको मनोदसाको
प्रभावकारी चित्रण गरिएको छ। यो एक आदर्श कथा हो जुन यथार्थ भन्दा पनि कथाकारको
कल्पनाले बढी काम गरेको देखिन्छ। अपांगहरू शरीरले विकलांग भएता पनि बौद्धिक रुपमा
मेधावी हुन सक्छन भने सन्देश दिन खोजेको यो कथाले ‘मानिसहरुले अपांगहरूलाई यसरी
बुझिदिए हुन्थ्यो’ जस्तो किसिमको अपेक्षा यस कथामा गरिएको देखिन्छ। यस कथामा
कथाकारको कल्पना पक्ष निकै सक्रिय भएको देखिन्छ। यो कल्पनाको कारणले गर्दा नै यस
कथाको प्रमुख पात्र शान्तरामलाई कथाकारले यसो गर, त्यसो गर भनेर निर्देशित गरेको
पाइन्छ। शान्तिरामले आफ्नो मनस्थिति भन्दा कथाकारको निर्देशन अनुसार कार्य गरेको
देखिन्छ। यो कारणले गर्दा यो यथार्थ नभएर एक आदर्श कथा हुन पुगेको छ।
यस कथा सङ्ग्र्हको चौथो कथा हो ‘पदुवाकाजी’ जुन
एक हास्य कथा हो। यस कथा मार्फत कथाकारले जीवनमा अनेक रङ्ग हुन्छ भन्ने सन्देश दिन
खोजेझै देखिन्छ। जीवन केवल गम्भीर घटनाहरूको सृङ्खला मात्र होइन, जीवनमा हाँसो,
उमङ्ग, मनोरञ्जन पनि उत्तिकै छ भन्ने कुरामा कथाकार विश्वस्त रहेको देखिन्छ।
पदुवाकाजी एक पदुवा व्यक्तिको प्रकृति-चित्रण हो जसमा एक व्यक्ति आफ्नो पदुवा
विमारी वा बानीले गर्दा अमार्यादित किसिमले पाद्न बाध्य छ। र हाँसोको पात्र बनेको
छ।
यो कथा एक हास्य कथा हो र यसले जीवन नौ रस
(आश्चर्य, श्रृङ्गार, हास्य, वीर, करुणा, शान्त, भयानक, रौद्र, वीभत्स) को संयोग
हो भन्ने सन्देश दिन्छ। केवल गम्भीर र दु:खद घटनाहरू मात्र कथा मार्फत प्रस्तुत
गर्नु हुँदैन हास्य र व्यंगका कथाहरू पनि प्रस्तुत गर्नु पर्छ भन्ने संकेत यस कथा
मार्फत कथाकारले व्यक्त गरेको पाइन्छ। यो एक अति नै सामान्य कथा हो।
‘नजलेका लाशहरू’ यस कथा सङ्ग्रहको पाँचौ कथा हो।
यस कथाको मूल आशय माओवादीका हिंसक आन्दोलनमा तत्कालीन राज्य पक्ष र मावोवादीहरूबाट
अतिनै क्रूरतापूर्वक सोझासाझ व्यक्तिहरूको हत्या भएको यथार्थ दर्शाउनु हो।
माओवादीका नेताहरूले सुखद जीवनको सपना देख्ने युवा युवतीहरूलाई लडाकू बनाएर कसरी
आफ्नो स्थार्थ (सत्तामा पुग्ने) पूरा गरे, युवा युवतीका रहरहरूलाई चेक बनाएर कसरी
साटे, निर्थक माओवदी अति रक्तपातपूर्ण बिद्रोहले राष्ट्रको हितमा कुनै काम गरेन उल्टो
हजारौ निर्दोष व्यक्तिहरूले ज्यान गुमाए जस्ता तथ्यहरूलाई यस कथाले समेटेको छ।
यस कथाको प्रस्तुती नितान्त नौलो किसिमको छ।
कथाका पात्रहरू मृत आत्माहरू छन्। राज्य पक्ष र माओवादीद्वारा हत्या गरिएकाहरूका
आत्मा अहिले पनि यस लोकमा भड्किरहेका छन्। प्रेत आत्मामा परिणत भए पछि भने उनीहरू
बीच कुनै किसिमको द्वेष छैन, द्वन्द छैन। यस किसिमका भावहरु यस कथामा प्रस्तुत
भएका छन्। कथालाई रोचक बनाउन प्रेत आत्माहरूको प्रयोग गरिएको हुन सक्छ तर त्यो
प्रयोगले यो कथालाई रोचक तुल्याउन सकेको छैन। कथाका विषय सामान्य छ किनभने माओवादी
द्वन्दका पीडाहरू समेटिएका थुप्रै कथाहरू लेखिसकिएका छन्। कथाको विषय वस्तु
नितान्त नौलो भने छैन। यो पनि एक सामान्य कथा हो।
यस कथा संग्रहको छैठो कथा हो ‘न्यूयोर्कको
गन्धर्व’ जुन एक अति हवाइ कल्पना प्रयोग गरिएको कथा हो। कथामा कल्पनाको पनि प्रयोग
गर्नु पर्छ भन्ने मान्यतालाई मान्ने हो भने बेग्लै कुरा हो तर अति हवाइ कल्पनाले
कथालाई दन्त कथा बनाइ दिन्छ भन्ने तर्क पत्याउने हो भने यो कथा कथाकारको हवाइ
कल्पना हुन पुगेको छ र यो हवाइ कल्पनाले कथाको वजनमा कमी ल्याइदिएको छ।
एक अमेरिकी अश्वेत युवती (अफ्रिकन अमेरिकन) नेपाल
पुगेको बेलामा पोखरामा एक नेपाली युवक सँग प्रेम हुनु। विभिन्न परस्थितिको चपेटामा
परेर उनीहरूको मिलन हुन नसक्नु। पछि त्यो युवती अमेरिका फर्के पछि एक यौन- दुर्घटनामा
शिकार हुनु। ऊ अपांग हुनु। त्यो युवतीबाट जन्मेको छोराले न्यूयोर्कमा भिख माग्नु।
भीख माग्ने क्रममा उसले एक नेपालीलाई भेट्नु र त्यो नेपालीलाई आफ्नी आमासँग भेट
गराइ दिनु। भिख माग्ने त्यो केटोले आफ्नी आमासँग भेट गर्ने त्यो नेपाली व्यक्ति
आमाको प्रेमी हुनु। र अन्त्यमा, पोखराको त्यो व्यक्तिले बर्षौपछि न्यूयोर्कमा आफ्नी
प्रेमीकालाई भेट्नु तर भेटे पछि आफ्नो प्रेमिकालाई त्येतिकै उसको घरमा नै छाड्नु,
कुनै किसिमको मदद गर्ने तत्परता न देखाउनु। यस्ता अनेक घटना परि घटनाहरूले यो
कथाको विषय वस्तु र प्रस्तुती दुबैलाई हल्का पारिदिएको छ। कथा पढि रहँदा लाग्छ यो
कथा, कथा लेख्नका लागि लेखिएको कथा हो। हुन त यो कथाले नेपाल, अमेरिका र
हाइटीसम्मका घटनाहरू लाई समेटेको छ। कथाकमा प्रस्तुत घटना हुन सक्ने घटना हो ( वा भएको
घटना हो) भने यस कथाबारे मैले गरेको समीक्षा कमजोर समीक्षा मान्नु पर्ने हुन्छ। यो
कथामा वर्णनन गरिएको घटना सत्यको कति वरपर छ (वा छैन) भनी पत्ता लगाउने जिम्मा पाठकहरूमा
नै छाड्न चाहन्छु।
यस कथामा कथ्य रचना पक्ष भने निकै बलियो छ। कथाले
विभिन्न उपकथाहरुलाई जोडेर एक अर्को कथा बनाएको छ जुन कुरा कथाकारको कथा लेख्ने
विषेशता हुन पुग्छ।
सातै कथा ‘चनेकी थममायाँ’ यस सङ्ग्रहको एक औसत
कथा हो। यस कथमा नेपालको एक खास जातिमा विद्यमान रहेको संस्कृतलाई रोचक किसिमले
दर्शाउने प्रयास गरिएको छ। यस कथाको मूल पात्र चनेको मनोविज्ञानको विश्लेषण कथाकारले
शुक्ष्म किसिमले गर्न खोजेको पाइन्छ।
यस सङ्ग्रहको आठौ कथा निकै रोचक किसिमको छ। कथाको
शिर्षक ‘कमिनिष्ट बाउसाप’ ले नै कथामा रोचकता रहेको पुष्टि गर्छ। यो कथा विषय
पुरानै भएता पनि प्रस्तुति पृथक र नौलो किसिमको छ, आकर्षक पनि छ। यो कथाले नेपाल
भएको माओवादी सङ्घर्षमा सामान्य व्यक्तिहरू पनि कसरी माओवादी हुन पुगे, परिस्थितिले
उनीहरूलाई कसरी माओवादी बन्न बाध्य तुल्यायो, सामान्य व्यक्तिहरू परिस्थितिले
गर्दा माओवादी बनेपछि माओवादीका चलाख नेताहरूले त्यो स्थितिको कसरी फाइदा उठाए
जस्ता मुद्दाहरू प्रभावकारी एवं विश्वनीय किसिमले प्रस्तुत गरेको छ। यो कथा यस
सङ्ग्रहको बेजोड कथा हो। गाउँका शोषकहरूको क्रियाकलापले गर्दा पनि कतिपय
व्यक्तिहरू माओवादी हुने पुगे भन्ने कुरालाई पनि यो कथाले खास किसिमले उजागर गरेको
छ।
‘पातालको नर्क’ यस सङ्ग्रहको नवौं कथा हो। यो कथा
अमेरिकामा थुप्रै नेपाली विद्यार्थीहरूले भोग्ने सत्य कथा हो। यो कथाले ठूलो सपना
बोकेर नेपालबाट अमेरिका आउने एक युवतीको पीडा वर्णनन् अति नै मार्मिक किसिमले
गरेको छ। केवल क्षमतावान् व्यक्तिहरूको लागि मात्र अमेरिका सपनाको देश हो, सामान्य
व्यक्तिहरूको लागि भने अमेरिका जता ततै समस्याहरूको पहाडै पहाड भएको देश हो।
त्यसकारण क्षमता (सिप, शिक्षा, कला, वौद्धिकता, आंट) भएका व्यक्तिहरू मात्र
अमेरिका आउन उपयुक्त हुन्छ। सामान्य व्यक्तिहरू स्वदेश (नेपाल) मा बस्नु नै बेस
हुन्छ। यस किसिमका सन्देशहरू बोकेको यो कथा एक सशक्त कथा हो। यो कथाले नेपाली
विद्यार्थीहरूले अमरिकामा भोग्ने यथार्थ समस्याहरू दर्शाएको छ। अमेरिका सबैको लागि
स्वर्ग हुन सक्तैन। कसैको लागि मृत्यु पनि हुन सक्छ। यो कथाले यसरी नेपालबाट आउने
युवा युवती एवं तिनका अभिभावकहरूलाई सचेत गराएको छ। यस कथामा नेपाली
विद्यार्थीहरूको अमेरिकी बसाइ-पीडाको चर्चा भएझै यो समीक्ष स्यवंले एक नेपाली
युवकले अमेरिकामा भिक्षा माग्दै हिंडेको देखेको छ।
यस्ता कथाहरू अझै लेखिनु पर्छ र नेपालमा भएका
व्यक्तिहरू जसले अमेरिकामा पैसाको बोट छ र त्यहँ पुगेर पैसा टिप्न सकिन्छ भन्ने
किसिको सपना देख्छन, त्यस किसिमका व्यक्तिहरू त्यो सपना यस्ता कथाहरू लेखेर तोडिनु
पर्छ।
‘सिपाहीको बढुवा’ यस सङ्ग्रहको दसौं कथा हो। यो
कथालाई यस सङ्ग्रहको उत्कष्ट कथाको रुपमा लिन सकिन्छ। नेपालको कर्मचारी तन्त्रको
जाँतोमा सोझा सोझा र इमान्दार राष्ट्रसेवकहरु कसरी पिसिएर धूलो हुन पुग्छन,
सोर्स-फोर्स नेपालको कसरी संस्कृति हुन पुगेको छ, हाकिमको चाकडी गरेर छोटो समयमा
माथिल्लो ओहदामा कसरी पुग्न सकिन्छ, इमान्दा कर्मचारीहरुलाई आफ्नो स्वाभिमानको
रक्षा गर्दै काम गर्न कति कठिन छ भन्ने यथार्थहरू यस कथामा सजीव एवं नौलो किसिमले
दैखाइएको छ।
यो कथा एक मनोवैज्ञानिक कथा पनि हो। यो कथामा कथाकारले
यस कथाको मुल पात्रको मनोविज्ञानको विश्लेषण अति नै प्रभावकारी किसिमले गरेका छन।
प्रेत्येक व्यक्तिले आफ्नो निराशा एवं क्रोधको निकास खोज्छ र ती कुराहरू उचित
स्थानमा पोख्न नपाए कुण्डित भएर एक विशेष किसिमको मनोविज्ञानको सिकार हुन पुग्छ।
यो विषयलाई सिपाहीको बढुवा कथाले रोचक एवं प्रभाव किसिमले प्रस्तुत गरेको छ।
“एS नारना !’ यस कथा सङ्ग्रहको एघारौं
कथा हो। यो कथा अनेक विशेषाहरूले युक्त छ र यो यस सङ्ग्रहको उत्कृष्ट कथा पनि हो।
यस कथाको प्रमुख विशेषता के हो भने यो कथा पढ्न आरम्भ गरेपछि कतै नरोकिएर कथा समाप्त
गर्न मन लाग्छ। अर्थात यो कथाले पाठकलाई निरन्त बाँधिनै रहन्छ। यो कथा पढिरहँदा यस
पछि के हुन्छ, यस पछि के हुन्छ भन्ने खुलदुली पाठकको मनमा निरन्तर चलिनै रहन्छ। कथाहरूमा
यस्तो विशेषता हुनु पर्दछ।
यो एख कथाको रुपमा प्रस्तुत भएता पनि यसले
उपन्यासको रुप लिन सक्ने क्षमता राखेको पाइन्छ। यो कथामा एउटा चलचित्र नै पनि
बनाउन सकिन्छ। यस कथाका पात्रहरू सशक्त भूमिका लिएर उपस्थित भएका छन। उनीहरुका कार्य
पनि समाजका लागि उपयोगी एवं उदाहरणीय छन्।
सत्यको वरपर चक्कर काट्ने यो कथाले एक खास सन्देश
दिन्छ जुन पाठकले पढे पछि मात्र थाहा पाउँछ। नेपाल र अमेरिका जोड्ने यो कथाले एक
खास परिस्थितिको सजीव चित्रण गर्दछ जुन अति नै कौतुहलतापूर्ण अनि रोचक पनि छ। कथाकारले
यस कथामा सामान्य शब्द र भावहरू प्रयोग
गरेर उत्कृष्ट कथा-शिल्पको प्रयोग गरेका छन्। वोधगम्य र सरलशैलीको यो कथा यति
शक्तिसाली छ कि यो कथा पढेको कैयौं दिनसम्म यो कथा पाठकको दिमागमा नाचिरहन्छ।
कथाका पात्रहरू पाठकको मानस पटलबाट छिटै हराउँदैनन्, हिन्दी ‘कला फिल्ल’ का
पात्रहरूझै। यो कथाले एक चर्चित हिन्दी फिल्मको यो गीत “ठोकर तु जबतक नखाएगा,
जिन्दगी है चिज क्या नही जान पाएगा, रोता हुआ आया है रोता चला जाएगा’ याद गराउँछ।
बारौं कथा ‘पिटर जोनले देह त्याग्यो’ पूर्णतया अमेरिकी
जीवनको कथा हो। धनी र शक्तिसाली राष्ट्र हुनाका लागि अमेरिकीहरूले कति मूल्य चुकाएका
(भावना, माया, दया, प्रेम हराएका) छन् भन्ने कुराको व्यवस्थित किसिमले यो कथाले
पुष्टि गरेको छ। अमेरिकीहरू धनी त छन् तर धेरे निरास पनि छन्। जिन्दगीको ‘भागदौड’
मा यति दौडिरहेका छन् कि जिन्दगी के हो भनी गहिरिएर बुझ्ने उनीहरूसँग समय छैन।
प्रत्येक पललाई डलरमा रुपान्तरण गर्दा उनीहरूसँग केवल डलर र समयको मात्र गणना छ,
भौतिक साधनहरू प्राप्तिको पहाड-चाहनाहरू छ तर भावना र प्रेम छैन। यथार्थ रुपमा जिन्दगीले
के खोजेको हो र के कुराले जिन्दगीलाई खुसी तुल्याउँ छ भन्ने यथार्थ थाहा पाउन पनि
उनीहरूसँग समय छैन। कार्यस्थलमा ‘व्यवसायिक हाँसो’ हाँस्दा हाँस्दै उनीहरूले
यथार्थ हाँसो के भन्ने कुरा पनि भूल्ने स्थिति भइसकेको छ। यस्ता यस्ता अनेक सन्देश
यो कथाले दिन्छ। यो कथाको मूल भाव के हो भने अमेरिकीहरू बाहिरबाट जति खुसी देखिन्छन
त्येति खुसी भित्रबाट छैनन र व्यस्त अमेरिकी जीवनले उनीहरूलाई मानवबाट यन्त्र
तुल्याइ दिएको छ र यो यथार्थ उनीहरूलाई पनि थाहा छैन। यो कथामा पनि कथाकारले अति
राम्रो कथा-शिल्पीको प्रयोग गरेको पाइन्छ। यथार्थ समस्या बोल्ने यो कथा पनि यस
सङ्ग्रहको एक उम्दा कथा हो।
यस सङ्ग्रहको अन्तिम कथा ‘हजुरबाको पुनर्जन्म’ एक
ऐतिहासिक कथा हो। यो कथा ‘सत्य कथा’ हो जस्तो लाग्छ। कथामा वर्णनन् गरिएका घटनाहरू
यथार्थ जस्तो लाग्छन। कथाका मूल पात्र पनि कुनै राजनीतिक व्यक्तिझै लाग्छन।
त्यसकारण, यो कथाको अन्तमा ‘सत्य कथा’ लेखिदिएको भए पाठकहरूलाई स्पष्ट हुन सजिलो
हुने थियो। र कथालाई यथार्थ कथा मानेर कथाको विषयमा केन्द्रित हुन्थै।
नेपाली राजनीतिक इतिहासका विभिन्न कालखण्ड जान्न
र नेपालमा भएका विभिन्न राजनैतिक परिवर्तनहरू बुझ्न यो कथाले पाठकहरूलाई सहयोग
पुर्याउँछ। संस्मरणलाई केन्द्रमा राखेर लेखिएको यो कथा एक सामान्य कथा हो तर एक ऐतिहासिक
घटनाको सशक्त विवरण पनि हो।
ज्यादै सरल किसिमले प्रस्तुत गरिएकोले यस
सङ्ग्रहका कथाहरूमा क्लिष्टता छैन जसले गर्दा कथाहरू बुझन सजिलो छ। अर्थात कथा
सङ्ग्रह सुवोध छ। कथाकारको यो मौलिकतालाई उनको विशेषताको रुपमा लिन सकिन्छ।
कथाहरू पढिरहँदा आफू गाउँघरमा डुलेझै लाग्छ। कुनै
बेला भने अमेरिका पुगेझै पनि लाग्छ। कथाका पात्रहरू सँग आफूले पनि विभिन्न
स्थानहरूको विचरण गरेझैं लाग्छ। कथाहरूमा कहिं कहिं भने लामा लामा बयानहरू भएको
पाइन्छ। यो कारणले गर्दा पाठकको ध्यान कतै कतै विकेन्द्रित हुन पुग्छ। यथार्थमा
केही कथाहरूलाई छोटो छोटो पनि पार्न सकिन्थ्यो। तर कतिपयको विचारमा आख्यानहरू लामा
लामा नै हुन्छ भन्ने पनि छ।
कथाहरू अति सरल किसिमका छन्। बुझ्न कुनै पनि
किसिमको कठिनाइ हुँदैन। र कथाकारको यो तरिकालाई उनको लेखन-विशेषताको रुपमा लिन
सकिन्छ। कथाहरूमा विविधता छ। केही कथाल सशक्त विषयहरू ऊठएका छन् भने केहीले अति नै
सामन्य विषय उठाएक छन। वहु प्रतिभाका धनी महेश्वर पन्तले आफू साँच्चै वहु
प्रतिभाको धनी रहेको भन्ने प्रमाण, परीक्षा उतिर्ण गरेर (असल कृति- नबोल्नेहरू लेखेर)
प्रमाणित गरेका छन्। विभिन्न किसिमका अनुभब बटुलेका एवं वहुसंस्कृतिका अध्येता
पन्त एक असल प्रस्तोता पनि हुन पुगेका छन्। कथाहरूहरूमा सामान्य किसिमका भाषागत त्रुटीहरू
छन् तर ती क्षम्य छन्।
कथाकार महेश्वर पन्तको कथा-यात्राको सफलताको
कामना गर्दछु। यस किसिमको कृति प्रकाशन गरेकोमा शिखा प्रकाशन, काठमाडौलाई धन्यवाद
दिन चाहन्छु।
No comments:
Post a Comment