नेपालले स्थापना गर्नैपर्ने रणनीतिक महत्वका उद्योग
अन्तर्राष्ट्रिय
व्यापारका अनेक सिद्धान्त छन्। त्यसमध्ये एउटा सिद्धान्तले भन्छ कुनै पनि देशले
त्यस्ता वस्तुहरू आफ्नो देशभित्र उत्पादन गर्नुपर्छ जुन सस्तोमा उत्पादन गरेर अन्य
देशहरूमा महँगोमा बिक्री गर्न सकियोस्। यसैगरी कुनै पनि देशले त्यस्ता वस्तु आयात
(खरीद) गर्नुपर्छ जुन आफ्नो देशमा उत्पादन गर्दा महँगो हुन्छ। आफ्नो देशमा उत्पादन
गर्दा महँगो पर्ने वस्तु आफैं उत्पादन गर्नुको साटो आयात गर्नुपर्छ। नेपालभित्र बस, ट्रक, कार,
मोटरसाइकल
आदि उत्पादन गर्दा उत्पादन लागत बढी परेर ती वस्तु महँगो हुने भएकाले नेपालले
भारतबाट बस, ट्रक, कार,
मोटरसाइकल
आयात गर्छ, वर्षौंदेखि गरिरहेको छ।
आफ्नो
देशमा के के वस्तु अन्य मुलुकहरूको तुलनामा सस्तोमा उत्पादन गर्न सकिन्छ त्यो
पत्ता लगाउनुपर्छ र ती वस्तुहरूको उत्पादनमा उच्च कुशलता (absolute advantage) हासिल गर्नु पर्छ। अति सस्तोमा उत्पादन
गर्नुपर्छ। आफ्नो देशमा उत्पादन गर्दा महँगो हुने वस्तुहरू उत्पादन गर्नुहुँदैन, किनभने ती वस्तुहरू देशभित्रै महँगो छ
भने विदेश निर्यात गर्दा झन् महँगो हुन्छ। यस सिद्धान्तलाई अहिले अन्तर्राष्ट्रिय
व्यापारमा निकै प्रयोग गरिएको पाइन्छ। अहिले त धनी देशहरूले गरीब मुलुकमा आफ्नै
कारखाना सञ्चालन गरेका छन् र त्यहाँ उत्पादित सामानहरू आफ्नो देश ल्याउने गरेका
छन्, साथै अन्य देशमा निर्यात पनि गरेका छन्।
राष्ट्रको
अस्तित्व र सुरक्षाका सन्दर्भमा भने अन्तर्राष्ट्रिय व्यापारका सिद्धान्तहरू र
मुख्यतः माथि भनिएको सिद्धान्त उपयोगी हुँदैन। राष्ट्रको अस्तित्व जोगाउने र
सुरक्षा प्रदान गर्ने रणनीतिक महत्वका उद्योगलाई कुनै पनि राष्ट्रले घाटा खाएर भए
पनि स्थापना र सञ्चालन गर्नुपर्छ। माथि भनिएको सिद्धान्तको बेवास्ता गर्नुपर्छ।
राष्ट्रको अस्मिताको लागि व्यापार र मुनाफा गौण हो।
नेपालमा
रणनीतिक महत्वका दुई उद्योगहरू छन्। ऊर्जा र अटोमोबिल नेपालका लागि रणनीतिक
महत्वका उद्योग हुन्। नेपालको अस्मिताको रक्षा गर्न यी दुई उद्योगको भूमिका
महत्वपूर्ण हुन आउँछ। त्यसकारण यी उद्योगहरू नेपालले घाटा खाएर भए पनि स्थापना र
सञ्चालन गर्नुपर्छ। अर्थात् यातायायका साधनहरू (ट्रक, कार, बस,
जीप
आदि) देशभित्रै उत्पादन गर्न नेपालले अटोमोबिल उद्योगमा लगानी गर्नुपर्छ। भारतको
भर पर्नुहुँदैन। यदि भोलिका दिनमा भारतले नेपाललाई यातायातका साधन बिक्री नगरे, अन्य देशबाट आयात गरिएका साधनहरू आफ्नो
भूमि प्रयोग गरी नेपाल आउन नदिए के गर्ने? यस्तो स्थिति आएमा नेपालको यातायात व्यवस्था नै धराशायी हुन्छ। नेपाल
गतिहीन हुन पुग्छ। कमजोर हुन पुग्छ।
यसैगरी
नेपालले ऊर्जा उद्योगको स्थापनामा पनि जोड दिनुपर्छ। वायुशक्ति, जलविद्युत् शक्ति, पेट्रोलियम शक्ति, सौर्य शक्ति आदि नेपालले आफैं उत्पादन
गर्नुपर्छ। यी शक्तिको लागि भारत वा चीनको भर पर्नुहुँदैन। एउटा सुखद कुरा के छ
भने नेपालले अहिले राष्ट्रलाई आवश्यक पर्ने जलविद्युत् उत्पादन गरिरहेको छ। सानो
परिमाणमा भए पनि भारतलाई जलविद्युत् निर्यात गरिरहेको छ भने बङ्गलादेशतर्फ
जलविद्युत् निर्यात गर्ने तयारी गरिरहेको छ।
अटोमोबिल उद्योग र ऊर्जा उद्योग नेपालका लागि रणनीतिक महत्वका उद्योग
किन हुन्?
आधुनिक
बजार व्यवस्थापन अनुसार कुनै पनि देशले आर्थिक विकास गर्नका लागि ऊर्जा र
यातायातमा जोड दिनुपर्छ। यी क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्दछ। र यी उद्योगहरू
विदेशीहरूको होइन,
आफ्नो
नियन्त्रणमा राख्नुपर्छ। यी दुई क्षेत्रले आधार–स्तम्भको काम गरेर राष्ट्रको अर्थ
व्यवस्थालाई बोकेका हुन्छन्। मुलुकलाई सुरक्षा प्रदान गरेका हुन्छन्। तर नेपालको
सन्दर्भमा यी दई उद्योगहरू नेपालको होइन, भारतको नियन्त्रणमा छ। नेपालले भारतबाट अटोमोबिल वा यातायातका
साधनहरू निर्विकल्परूपमा आयात गर्नुपरेको छ, खरीद गर्नुपरेको छ। भारतको मुख ताक्नुपरेको छ।
अनेक
उद्योग सञ्चालन गर्नका लागि ऊर्जा अनिवार्य चाहिन्छ। उद्योगको क्षेत्रमा मात्र
होइन, पर्यटन, व्यापार आदिको क्षेत्रमा पनि ऊर्जा आवश्यक पर्दछ। यसैगरी उत्पादित
सामग्रीहरू अनेक बजार क्षेत्रमा पुर्याउन यातायातका साधन आवश्यक पर्दछ। यातायातका
साधन र ऊर्जाविना जीवन धान्न कठिन हुन्छ। खाना पकाउनसमेत हामीलाई ऊर्जा चाहिन्छ।
जलविद्युत्
नेपालले पर्याप्त उत्पादन गरे तापनि पेट्रोलियम पदार्थ र अटोमोबिलका लागि हामी
पूर्णतया भारतमा आश्रित हुनुपरेको छ। पेट्रोलियम पदार्थ र अटोमोबिल भारतले नेपालमा
आउन नदिएको भोलिपल्टै नेपालमा हाहाकार मच्चिन्छ। नेपालको अर्थतन्त्रमा भुइँचालो
आउँछ। यस्तो स्थिति हुन सक्ने हुँदा हामीले जहिले पनि भारतलाई खुशी पार्नुपर्ने
समस्या छ, भारतले नेपालप्रति थिचोमिचो गरिरहे पनि।
हरदम भारतलाई खुशी राख्नु हाम्रो बाध्यता हुन पुगेको छ। यही हाम्रो कूटनीति वा
विदेशनीति हुन पुगेको छ। अर्को शब्दमा भन्ने हो भने भारतसँग हाम्रो सम्बन्ध, ऊर्जा र यातायातका साधनहरूले गर्दा, ‘भारतलाई सदा प्रसन्न राख’ नीतिमा
आधारित हुन पुगेको छ।
अन्तर्राष्ट्रिय राजनीतिमा कुनै पनि बेला जे पनि हुन सक्छ। यो अति गतिशील हुन्छ। सन् २०१४ मा रूसले युक्रेनको भूभाग क्रिमिया, आफ्नो भूभागमा गाभ्ने उद्देश्यका साथ युक्रेन (क्रिमिया) मा हमला गरेको थियो। त्यो हमलालाई युक्रेनले थाम्न सकेन। पछि क्रिमिया युक्रेनबाट छुट्टियो र अहिले एक स्वायत्त क्षेत्रको रूपमा छ। रूसले पुनः युक्रेनमाथि दोस्रो पटक हमला गरेको छ। युक्रेनमाथि रूसले यो हमला गरेको ६ महीनाभन्दा बढी भएको छ। यदि युक्रेनलाई अमेरिका र युरोपका केही देशहरूको हतियार र पैसा सहितको सहयोग नभएको भए युक्रेन भन्ने देशको अस्तित्व उहिले नै समाप्त भइसकेको हुन्थ्यो। युक्रेन, सिक्किम भारतमा विलय भएझै, रूसमा विलय भइसकेको हुन्थ्यो। स्वतन्त्र राष्ट्र सिक्किमलाई सन् १९७३ मा भारतले आफूमा विलय गराएको थियो। एक स्वतन्त्र राष्ट्र सिक्किम, भारतको भूभाग हुन पुगेको थियो।
पुष्टि
त भएको छैन, तर केहीको मत अनुसार युक्रेनले युरोपका
केही देशहरूबाट सैन्य बल (लडाकू) पनि प्राप्त गरिरहेको छ। यो कारणले गर्दा
युक्रेनको अस्तित्व अहिलेसम्म विश्वको मानचित्रमा कायम छ। मानौं भोलिका दिनमा, भारतले नेपालमाथि हमला गरेमा के होला? ऊर्जा र अटोमोबिल दुवैको लागि
भारतप्रति पूर्ण आश्रित नेपालले के भारतको त्यो हमलालाई एक हप्ता पनि थेग्न सक्ला? यो एक यक्ष प्रश्न हो ? यो प्रश्नको उत्तर हरेक नेपालीले खोज्न
आवश्यक छ।
इतिहासले
भन्छ, जहिले पनि ठूला राष्ट्रले साना
राष्ट्रलाई आफूमा विलय गराउने सोचिरहेको हुन्छ, केही अपवाद बाहेक। सन् १९५१ मा चीनले तिब्बत कब्जा गरेको हो।
त्यसभन्दा पहिले तिब्बत एक स्वतन्त्र राष्ट्र थियो। इरानमाथि नियन्त्रण कायम गर्न
सन् १९८० मा इराकले सैन्य हमला गरेको थियो। इरान–इराक युद्ध लगभग ८ वर्ष चलेको
थियो। तर इराक आफ्नो उद्देश्यमा सफल हुन सकेन। इराकले इरानमाथि थिचोमिचो बढाउने
कोशिश भने गरेको थियो। कुवेतलाई आफूमा विलय गराउने उद्देश्यका साथ सन् १९९० मा
इराकले कुबेतमाथि सैन्य हमला गरेको थियो। विदेशी राष्ट्रहरूले आफ्नो स्वार्थको
कारण कुवेतलाई सैन्य सहयोग नगरेको भए अहिले कुवेत इराकको एउटा हिस्सा हुने थियो, सिक्किम र तिब्बत क्रमशः भारत र चीनको
हिस्सा भएझैं।
साना
राष्ट्रहरूमाथि ठूला राष्ट्रको गिद्धे दृष्टिका उदाहरण अनेक छन्। मुख्य कुरा के हो
भने हामीले नेपालको अस्तित्व कसरी जोगाउने भनी सोच्नुपर्छ। नेपालको स्थिति यस्तै
रहेमा भोलि चीनले पनि नेपालमाथि हमला गर्न सक्छ। आफ्ना केही नाका नेपालका लागि
नखोलिदिएर चीनले पनि नेपालको विश्वस्त मित्र नभएको सङ्केत दिइरहेको छ।
माथिका
विवरणहरूको आधारमा एउटा कुरा के प्रस्ट भन्न सकिन्छ भने नेपालका लागि ऊर्जा र अटोमोबिल
उद्योग रणनीतिक महत्व का उद्योग हुन्। यी उद्योगहरू नेपाल
आफैंले स्थापना गर्नुपर्छ। यी उद्योगहरूमा नेपालले पर्याप्त लगानी गर्नुपर्छ। यी
उद्योगहरू सके आफ्नै पूँजी र आफ्नै उद्योगपतिहरूको व्यवस्थापनमा सञ्चालन गर्नुपर्छ।
यी उद्योगहरूमा विदेशीहरूको नियन्त्रण हुनु हुँदैन, अटोमोबिलको लागि हामी भारतप्रति पूर्ण
आश्रित भएझैं।
सत्ता,
शक्ति
र कुर्सीका लागि जहिले पनि षड्यन्त्रमा सक्रिय रहने, राष्ट्रका लागि होइन,
आफ्नो
लागि राजनीति गर्ने, सिद्धान्त होइन, लेनदेनलाई महत्व दिने यी नेताहरूले
माथिका कुरा बुझिदिए हुने हो।
आफ्नो स्वार्थका लागि कहिले झगडा गर्ने, कहिले मिल्ने प्रवृत्तिका वर्तमानका यी नेताहरूले रणनीतिक महत्वका उद्योग स्थापनाको महत्व बुझ्ने आशा गर्न सकिने ठाउँ छैन। यो कारणले पनि आउने चुनावमा पुरानाहरूलाई विस्थापित गर्दै, नयाँ र युवा नेतृत्वको चयन गरेर, ती युवाहरूलाई रणनीतिक महत्वका उद्योग स्थापनाको आवश्यकता बोध गराउन जरूरी छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, September 16, 2022
No comments:
Post a Comment