आर्थिक विकासको शर्त: सकारात्मक सामाजिक मनोवविज्ञान
अर्थशास्त्रीहरूले
आर्थिक विकासका लागि नयाँनयाँ मोडेल तयार पार्छन्। आर्थिक विकासका लागि ती मोडेलले
सहयोग पुर्याउने विश्वास पनि गर्छन्। अर्थशास्त्रीहरूका ती सोच–मोडेलहरूले काम पनि
गर्छ। तर यी सबै कुरा विकसित राष्ट्रहरूको लागि हो। विकसित राष्ट्रमा नागरिकको
चेतनाको स्तर ज्यादै उच्च हुने हुनाले अर्थशास्त्रीहरूका आर्थिक मोडेलहरूले
प्रभावकारी किसिमले काम गर्न पाउँछन्। ती मोडलेहरूले सकारात्मक परिणाम पनि
दिन्छन्। मोडेलहरूले देश र जनताको आर्थिक अवस्थामा सुधार ल्याउँछन्। देश धनी र
विकसित हुन पुग्छ। फ्रान्स, ब्रिटेन, जर्मनी, निदरल्यान्ड्स, डेनमार्क, नर्वे, स्वीडेन, अमेरिका
धनी भएझैं।
केही
युरोपेली राष्ट्रहरूले साझा बजारको अवधारणा विकास गरे। युरोपेली युनियन (साझा
बजार) स्थापना गरे। युरोपेली युनियनका सदस्य राष्ट्रहरूको सङ्ख्या अहिले २८ छ। यो
युनियनको सहयोगबाट सदस्य राष्ट्रहरूले आआफ्नो देशभित्र व्यापारको विकास गरेका छन्।
राम्रो आर्थिक फाइदा उठाइरहेका छन्। तर यस्तै उद्देश्यले स्थापना भएको सार्क (SAARC– South Asian
Association for Regional Cooperation) ले यस क्षेत्रको जनताको आर्थिक विकासमा केही गर्न सकेको छैन। निकम्मा
भएको छ। भारत–पाकिस्तान शत्रुतापूर्ण सम्बन्धले गर्दा यो सङ्गठन अर्थहीन बन्न
पुगेको छ। भारत र पाकिस्तानबीचको सम्बन्ध किन खराब छ भन्ने कुरा सर्वविदित नै छ।
यदि
समग्रतामा कुरा गर्ने हो भने संसारभरि, पूर्वको तुलनामा पश्चिमका देशका जनतामा चेतनाको स्तर ज्यादै उच्च छ।
महत्वपूर्ण र मानव–जीवन उपयोगी खोज, अनुसन्धान, आविष्कार
पश्चिमका राष्ट्रहरूमा हुनुले पनि यस कुराको पुष्टि गर्छ। अफ्रिकी मुलुकका जनतामा
पनि चेतनाको स्तर ज्यादै दयनीय छ। दक्षिण अफ्रिकी राष्ट्रहरूमा चेतनाको स्तरको
कुरा गर्दा रवान्डामा भएको त्यो डरलाग्दो जातीय सफाया वा नरसंहार तत्काल दिमागमा
आइपुग्छ।
विकासशील
राष्ट्रमा आर्थिक विकासका नयाँनयाँ मोडेलहरूले काम गर्न पाउँदैन। विकासशील
राष्ट्रमा जनताको चेतनाको स्तर ज्यादै दयनीय हुन्छ। जनताको चेतानको स्तर न्यून भएको
हुनाले उसले छनोट गर्ने राजनीतिक नेता वा नेतृत्वकर्ता पनि अक्षम, अयोग्य, स्वार्थी हुन्छन्। नेताहरूमा शिक्षा, अनुभव, ज्ञान
आदिको अति अभाव हुन्छ। सामाजिक दायित्व वहन गर्नुपर्छ भन्ने भावना पटक्कै हुँदैन।
विकासशील राष्ट्रहरू गरीब हुनुको प्रमुख कारण नै जनतामा चेतनाको स्तर न्यून हुनु
हो। जनचेतनाको स्तर न्यून भएको कारणले नै विकासशील राष्ट्रहरूले वर्षौं सङ्घर्ष
गर्दा पनि आफ्नो मुलुकलाई गरीबीको कुचक्रबाट बाहिर ल्याउन सकेका छैनन्। नयाँनयाँ
आर्थिक मोडेलहरूले काम गर्न सकेका छैनन्।
गरीबीको
कुचक्र के हो त्यसबारे छोटो चर्चा गरौं। जनतामा चेतनाको स्तर कमजोर भएकोले उसले
आफ्नो स्वार्थका लागि वा अज्ञानताले गर्दा अक्षम नेतृत्व चयन गर्छ। अक्षम नेतृत्व
सत्ता र शक्तिमा पुग्छ। उसले केवल आफ्नो हित र आफूलाई फाइदा हुने कार्य मात्र
गर्छ। आफ्ना महत्वाकाङ्क्षाहरू मात्र पूरा गर्छ। राज्यको स्रोत तथा साधनको भरपूर
उपयोग केवल आफ्नो स्वार्थ पूर्तिको लागि गर्छ। राज्यका साधनहरूको दुरुपयोग प्रचुर
मात्रामा गर्छ। यसरी जनताद्वारा निर्वाचित त्यो नेतृत्वले जनता र देशलाई धनी त
पार्दैन नै, उल्टो गरीब पार्छ। राष्ट्रले असल
नेतृत्व नपाउँदा देश धनी हुनुको साटो उल्टो गरीब हुन पुग्छ। देश गरीब भएपछि उसले
आफ्ना नागरिकलाई असल शिक्षा, सूचना, जानकारी, संस्कृति दिन सक्तैन। असल शिक्षा, जानकारी, संस्कृतिको अभावमा जनताको चेतनाको स्तर दयनीय हुन पुग्छ। चेतनाको
स्तर दयनीय हुँदा जनताले पुनः अक्षम नेतृत्व चयन गर्छ। अक्षम नेता पुनः शक्ति र
सत्तामा पुग्छ। अक्षम नेतृत्वले पुनः देश र जनतालाई गरीब पार्ने कार्य गर्छ। यसरी
कुनै पनि राष्ट्रमा गरीबीको कुचक्रले कार्य गर्छ। गरीबीको कुचक्र भनेको एउटा खास
स्थिति हो। एउटा खास समयमा पश्चिमका राष्ट्रहरू आफ्नो देशभित्र रहेको गरीबीको
कुचक्र तोड्न सफल भए। पूर्वका देशहरूले भने तोड्न सकेका छैनन्।
संसारमा
त्यस्ता धेरै देश छन् जो गरीबीको कुचक्रभित्र परेका छन्। दक्षिण अमेरिकाको
ग्वाटेमाला, होन्डुरस, अल्साल्भाडोर आदि राष्ट्र हुन् वा
अफ्रिकाका नाइजेरिया, सुडान, सोमालिया, कंगो, रवान्डा, माली
आदि सबै गरीबीको कुचक्रभित्र परेका छन्। एशियाका अफ्गानिस्तान, पाकिस्तान, नेपाल, भारत, बर्मा
आदि राष्ट्र पनि गरीबीको कुचक्रमा परेका छन्।
अफगानिस्तानको
कुरा गरौं। अफगानिस्तान यस किसिमले गरीबीको कुचक्रमा परेको छ कि यो राष्ट्र आउने
पचास वर्षसम्म यसबाट बाहिर आउने सम्भावना देखिंदैन। अहिलेको युगमा शिक्षालाई
आर्थिक, सामाजिक र राजनीतिक विकासको सर्वाधिक
महत्वपूर्ण कारक मानिन्छ। अर्थात् शिक्षाद्वारा नै सामाजिक रूपान्तरण गर्न सकिन्छ।
तर अफगानिस्तान मात्र यस्तो देश हुन पुगेको छ, जसले महिला शिक्षाको विरोध गर्छ। महिलाहरूलाई स्कूल, कलेज, विश्वविद्यालय जान दिंदैन। शिक्षालय जान खोज्ने महिलाहरूलाई दण्डित
गर्छ, ज्यान लिने धम्की दिन्छ। अफगानिस्तानको
जनताको चेतनाको स्तर दयनीय भएको हुनाले नै अक्षम समूहको हातमा देशको नेतृत्व रहन
पुगेको छ।
आफ्नै
देशको कुरा गरौं–हाम्रो देशमा जनताको चेतनाको स्तर उच्च भएको भए एउटै व्यक्ति
पाँचपटक प्रधानमन्त्री हुने स्थिति आउने थिएन। पाँचौंपटक प्रम भएको व्यक्तिले
आजीवन प्रम हुने (सत्ता र शक्तिमा हुने) आकाङ्क्षा राख्ने थिएन।
अमेरिकामा
कुनै व्यक्ति दुईपटक राष्ट्रपति भएमा तेस्रोपटक राष्ट्रपति हुन नपाउने व्यवस्था छ।
साथै राष्ट्रपति भइसकेको व्यक्तिले राष्ट्रिय राजनीतिबाट सन्न्यास लिने वा
निष्क्रिय हुने चलन छ। अझै अमेरिकामा राष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिबाट
सदाका लागि बिदा भएर समाजसेवामा लाग्ने परम्परा छ। जस्तै पूर्व अमेरिकी राष्ट्रपति
जिम्मी कार्टरले ‘कार्टर सेन्टर’ स्थापना गरेर समाजसेवा गरिरहेका छन् भने पूर्व
अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले ‘क्लिन्टन फाउन्डेशन’ स्थापना गरेर समाजसेवा
गरिरहेका छन्। जिम्मी कार्टर ९८ वर्षको उमेरमा पुग्दा पनि समाजसेवामा सक्रिय छन्।
तर दक्षिण एशियाका नेताहरू एकपटक सत्ता र शक्तिमा पुगेपछि सदाकाल सत्ता र शक्तिमा
रहन खोज्छन्। त्यसका लागि अनेक दाउपेच गर्छन्। गाउँबाट निर्वाचित भएर शहर पुग्छन्।
शहर पुगेपछि राजधानी शहर पुग्छन् र आजीवन राजधानी शहरमैं बस्छन्। आफू निर्वाचित
भएर आएको गाउँमा कहिले पनि फर्केर जाँदैनन्। देउवा, झलनाथ खनाल, माधव नेपाल, ओली,
पुष्पकमल
दहाल आदि के आफ्नो क्षेत्रमा पुगेर, आफूलाई स्थानीय विकासमा समर्पित गर्लान्?
जागरुक, प्रगतिशील, चेतनशील र बौद्धिक समाजले नै इमानदार र
असल नेतृत्व उत्पादन गर्छ। देशले इमानदार र असल नेतृत्व पाएपछि मात्र मुलुकको
आर्थिक, सामाजिक विकास हुन्छ। पाकिस्तानको समाज
परम्परागत रहेकोले नै त्यहाँ सेनाले लामो समयदेखि शासन गरिरहेको छ। बाहिरबाट
हेर्दा देशमा प्रजातन्त्र भए तापनि भित्र भने जनप्रतिनिधिहरूले होइन, सेनाले देशको शासन व्यवस्था आफ्नो
हातमा लिएको स्थिति छ। भारत र पाकिस्तान एकैपटक स्वतन्त्र भएका राष्ट्र हुन्।
भारतको आर्थिक स्थिति दिन प्रतिदिन मजबुत (पाकिस्तानको तुलनामा) हुँदै गएको छ भने
पाकिस्तान यथास्थितिमैं छ। त्यस्तो किन भएको होला? किनभने तुलनात्मक रूपमा भारतीय समाज पाकिस्तानी समाजभन्दा प्रगतिशील
छ। जागरुक छ।
हाम्रो
नेपालमा जनताको चेतनाको स्तर उच्च नभएकोले नै केही नेता पटक पटक निर्वाचित भएका
छन्। उनीहरूले आजीवन राजनीति गर्ने र सदा शक्ति र सत्तामा बस्ने मौका पाएका छन्।
नेपालको राष्ट्रिय राजनीति केवल पाँच–सात नेताको वरिपरि घुमिरहने स्थिति हाम्रो
चेतनाको स्तर र खास सामाजिक मनोविज्ञानले गर्दा हो।
हाम्रो
चेतनाको स्तर कमजोर भएको हुनाले नै एउटा नेता आउँछ, हामीलाई त्यो हाम्रो शत्रु हो भन्छ। त्यो शत्रुलाई नाश पारौं भन्छ।
हामी त्यसै नेताको पछि लागेर उसले भनेको शत्रुलाई नाश पार्नतिर लाग्छौं। उसले
शत्रु भनेको व्यक्ति वा वर्गलाई समाप्त पार्न आफ्नो ज्यान दिन्छौं। तर आश्चर्य के
भने, जसलाई त्यो हाम्रो शत्रु हो भनेर
नेताले देखाएको हुन्छ, पछि
त्यही शत्रुसँग मिल्न पुग्छ। अहिले हाम्रो राष्ट्रिय राजनीतिको प्रकृति र संस्कृति
यस्तै हुन पुगेको छ।
एउटा
नेता आउँछ र हामीलाई भन्छ–“यी शोषक, दलाल र निरङ्कुशहरूलाई समाप्त पारौं। आर्थिक समृद्धिका लागि देशमा
सङ्घीयता र गणतन्त्र ल्याऔं।” हामीलाई त्यस नेताको भनाइ ठीक लाग्छ। १७ हजारभन्दा
बढीको ज्यान दिएर हामी त्यो नेताको अभियानमा लाग्छौं। पछि त्यो नेता तिनै शोषक, दलाल र निरङ्कुशहरूको असल मित्र बन्न
पुग्छ।
समस्याको
बयान गरेर मात्र हुँदैन, समाधान
पनि दिन सक्नुपर्छ। हाम्रो समस्याको समाधान के हो भने स्थानीय स्तरमा गाउँगाउँ, शहरशहरमा शिक्षाको विस्तार र विकास
गरौं । मतदाताहरूलाई जागरुक र चेतनशील तुल्याएर उनीहरूले असल प्रतिनिधि निर्वाचित
गरेर पठाउने वातावरण सृजना गरौं। जनतामा चेतनाको स्तर उच्च नभएसम्म, सामाजिक मनोविज्ञान सकारात्मक नभएसम्म
असल जनप्रतिनिधि निर्वाचित हुने वातावरण तयार हुँदैन। र असल जनप्रतिनिधि निर्वाचित
नभएसम्म देशको आर्थिक विकास सम्भव छैन। यी सन्देशहरू हरेक मतदातासम्म पुर्याऔं।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, March 3, 2023
No comments:
Post a Comment