प्रधानमन्त्रीको भारत भ्रमणः व्यापार वृद्धिको सम्भावना
यो
आलेख तयार पारिरहँदा प्रधानमन्त्री पुष्पकमल दहालले भारतको औपचारिक भ्रमण आरम्भ
गरिसकेका छन्। भारतको राजधानी नयाँ दिल्ली पुगिसकेका छन्।
दहालले
बुधवार (१७ जेष्ठ,
२०८०)
देखि भारतको चार दिने भ्रमण प्रारम्भ गरेका हुन्। आफ्नो यो भ्रमणको क्रममा उनले
विद्युत्, सीमा, पारवहनलगायत विषयमा भारतसँग गम्भीर वार्ता गर्ने काठमाडौंमा भएको एक
कार्यक्रममा उल्लेख गरेका थिए।
समाचारहरूमा
उल्लेख भए अनुसार प्रम दहाललाई स्वागत गर्न भारत सरकारका विदेश राज्यमन्त्री
मीनाक्षी लेखी विमानस्थल पुगेकी थिइन्। भारत प्रवेश गर्दैगर्दा विमानस्थलमा प्रम
दहाललाई स्वागत गर्न भारतका विदेश राज्यमन्त्री पुग्नुले भारत र विशेषगरी मोदी
सरकारले प्रम दहालको भारत भ्रमणलाई उच्च महत्व नदिएको र केवल औपचारिकता पूरा गरेको
भन्ने यथार्थ सहजै बुझ्न सकिन्छ। हुनत २०७८ सालमा तत्कालीन प्रम शेरबहादुर देउवा
भारत भ्रममा जाँदा उनको स्वागतार्थ इन्दिरा गाँधी विमानस्थलमा भारत सरकारका
तत्कालीन रक्षाराज्यमन्त्री अजय भट्ट पुगेका थिए। उनको स्वागत पनि राज्यमन्त्रीबाट
नै भएको थियो। परिवर्तित परिवेशमा भारत सरकारले त्यस्तो नगरेर नेपालको प्रधानको
स्वागतको लागि वरिष्ठ मन्त्रीलाई पठाउनुपर्ने हो। तर भारतले त्यस्तो गरेन। यसलाई
भारतको कूटनीतिक कमजोरी वा हेपाहा प्रवृत्ति मान्नुपर्छ।
नेपालमा
जुनसुकै दलबाट कुनै व्यक्ति प्रधानमन्त्री हुनासाथ निजले भारत भ्रमणका लागि
भारतसमक्ष निवेदन हाल्ने चलन छ। याचना गर्ने चलन छ। याचकले नै याचना गरेपछि, दाताले पनि सोही अनुसार दान दिने नौलो
कुरा होइन। भारत बोलाउने नौलो कुरा होइन।
यो स्तम्भकारको अनुभवमा, नेपालमा भएको २०४७ सालको राजनीतिक परिवर्तनपछि आज यो आलेख तयार पारिरहँदासम्म, नेपालको कुनै प्रमलाई भारतले उच्च सम्मानका साथ, भारत भ्रमणका लागि निमन्त्रण दिएको छ भने ती प्रम हुन् कृष्णप्रसाद भट्टराई। भट्टराईले शेरबहादुर, पुष्पकमल आदिले जस्तो त्यहाँ (भारत भ्रमणमा) पुग्न भारतसमक्ष निवेदन हालेका थिएनन्। भट्टराईको आफ्नै किसिमको राजनीतिक व्यक्तित्व थियो। हुनत भारत भ्रमणका लागि पुष्पकमलले व्यग्रता देखाउनु नौलो कुरा होइन। उनले आफ्नो हित र भारतको हितका लागि गर्न सकिने हरेक कार्य गर्दै आएका छन्। भारत सरकारले पुष्पकमलाई गुन लगाएको छ भने पुष्पकमलले भारतलाई गुन लगाएका छन्। स्पष्ट शब्दमा भन्ने हो भने भारतले पुष्पकमललाई उपयोग गरेको छ भने पुष्पकमलले भारतलाई। १२ बुँदे सम्झौता पुष्पकमलले आफ्नो हितका लागि गरेको र त्यो सम्झौता आफ्नो हितमा पार्न भारतले पुष्पकमलको उपयोग गरेको तथ्य अहिले घामझैं छर्लङ्ग छ।
प्रम
पुष्पकमल दहालको भारत भ्रमणको व्यापारिक महत्वको चर्चा गर्नु पूर्व दहालको
राजनीतिक व्यक्तित्व र उनको प्रम पदको तौलबारे कुरा गर्नु उपयुक्त हुन्छ। उनको
राजनीतिक व्यक्तित्व र प्रम पदको तौलले भारत प्रशासनले उनका कुराहरू कति
गम्भीरताका साथ सुन्ने छ, कार्यान्वयन गर्नेछ भन्ने कुरा निर्धारण गर्नेछ।
पुष्पकमलको
राजनीतिक व्यक्तित्वको उत्पत्ति हत्या, हिंसा, लुटपाट
(बैंक) बाट भएको हो। आज उनी जे छन्, जहाँ छन्, त्यो
उनले गरेका अति रक्तपातपूर्ण कार्यहरूको देन हो। बाँदरे मूढामा भएको निर्दोष
नागरिकको क्रूरतापूर्वक हत्या होस्, शिक्षक लेखनाथ अधिकारीको हत्या, यस्ता अनेक हत्याहरूको जिम्मेवारी पुष्पकमलले लिनैपर्छ। उनले यो
जिम्मेवारी नलिए पनि, इतिहासले
मृत्युपर्यन्त यी कार्यका लागि उनलाई पछ्याइ नै रहने छ। उनी तत्कालीन माओवादी दलका
अध्यक्ष थिए, उनले जिम्मेवारी नलिए, कसले लिने? पाँच हजार मानिसको हत्याको म
जिम्मेवारी लिन्छु भनेर स्वयं पुष्पकमलले भनिसकेका छन्।
राजनीतिक
अडान नभएको, पदका लागि जे पनि गर्न तयार रहने, परे हदैसम्म झूट बोल्ने पहिचान बनाएका
पुष्पकमलको राजनीति व्यक्तित्व उच्च छैन। लडाकूहरूको सङ्ख्या उल्लेख गर्दा दलसँग
केवल ६/७ हजार लडाकू रहेको तर पच्चीस हजार लडाकू देखाई पार्टीलाई फाइदा पुर्याएको
झूट बोलेको र यस्तो झूट बोलेकोमा उनले गर्व गरेको भिडियो पुरानै भए तापनि बेलाबेला
भाइरल हुने गर्दछ।
अब
दहालको प्रम पदको तौलको कुरा गरौं। संसदीय व्यवस्थाको छिद्र र कमजोरी प्रयोग गरेर
दहाल चुनावमा निर्वाचित भएका हुन्। आफ्नो चुनाव क्षेत्र त्यागेर गोरखाबाट चुनाव
लड्नु र विजयी हुनु उनको लोकप्रियता होइन, उनले तयार पारेको कुटिल रणनीतिको उपहार थियो। त्यसपछि उनी प्रम हुनु
पनि एक लोभीपापी सम्झौताको परिणाम थियो। राजनीतिमा सदा सफल रहन र उच्च पद (प्रम)
हात पार्न उनले इमानदार राजनीति होइन, रणनीति र षडयन्त्र प्रयोग गरेका छन्। संसद्मा पहिलो ठूलो दल, दोस्रो ठूलो दल क्रमशः नेपाली
काङ्ग्रेस र नेकपा एमाले हुँदाहुँदै तेस्रो ठूलो दल, अर्थात् नकपा मओवादी केन्द्रबाट पुष्पकमल दहाल प्रम हुनु संसदीय
व्यवस्थाको खिल्ली उडाउनु थियो। उनको दल सम्मिलित गठबन्धन बनाएर चुनाव लड्नु पनि
जनतालाई दिइएको धोखा थियो।
पुष्पकमल
दहाल प्रम भए तापनि उनी प्रम हुने आधार राजनीतिकरूपमा बलियो त छैन नै, नैतिकरूपमा त झनै बलियो छैन। ज्यादै
कमजोर छ। उनको प्रम पद मुख्यगरी नेपाली काङ्ग्रेस र नेकपा एमालेको लोभ र कमजोरीको
परिणाम हो। अझै निष्कर्षमा भन्ने हो भने नेपाली काङ्ग्रेसमा आफू सदा बलियो रहिरहने, सातै–आठौंपटक नेपालको प्रम हुने र
नेपालको राजनीतिलाई नित्य आफ्नो वरिपरि घुमाउने देउवाको कुचेष्टाले गर्दा पुष्पकमल
पटकपटक र तेस्रोपटक नेपालको प्रम हुन पुगेका हुन्। उनको राजनीतिक सफलताको सिंढी
अहिले देउवा बनेका छन्।
नेपालको
राजनीतिमा पुष्पकमलको व्यक्तित्व कागजको बाघजस्तो बनेको छ। उनी प्रम त हुन्, तर उनले कार्य भने नेपाली काङ्ग्रेसको
लागि गर्नुपर्ने स्थिति छ। अर्कोतिर आफू प्रम पदमा रहनका लागि दहाल जे पनि गर्न
तयार छन् र त्यो जे पनि गर्दा राष्ट्रिय अहित भए पनि उनलाई त्यसले केही लछार्दैन।
अब
कुरा गरौं दहालको चारदिने भारत भ्रमणले नेपालीको व्यापार विकासमा पार्ने सम्भावना
बारे।
नेपालको
प्रमको हैसियतमा,
उच्च
प्रशासकको हैसियतमा, दिल्ली
पुगेका पुष्पकमल दहालको व्यक्तित्वको विस्तृत तथा पूर्ण विवरण भरतका प्रशासक
(प्रधानमन्त्री,
मन्त्री
आदि) हरूले राखेका छन्। सो विवरणको अध्ययन एवं मूल्याङ्कनसमेत गरेका छन्। नेपालको
हितमा आफ्ना अडानहरू ठोसरूपमा भारतका उच्च प्रशासकहरू समक्ष राख्न सक्ने क्षमता र
आत्मविश्वास दहालमा छैन भन्ने कुरा भारतका उच्च प्रशासकहरूलाई राम्ररी थाहा छ।
यसैगरी राष्ट्रको हितभन्दा आफ्नो हित विकासका लागि दहाल भारतको औपचारिक भ्रमणमा
आएका हुन् भन्ने कुरा चतुर एवं अनुभवी नेता तथा वर्तमान प्रम नरेन्द्र मोदीलाई
थाहा छैन भनी मान्न सकिंदैन।
विभिन्न
तथ्य, सूचना एवं जानकारी विश्लेषण गर्दा
दहालको यो भ्रमणले नेपालको व्यापार–विकासमा कुनै ठोस योगदान पुर्याउने सम्भावना
देखिंदैन। दहालको यो भ्रमण नेपालको व्यापार विकासमा महत्वपूर्ण होला भन्ने विश्वास
यो स्तम्भकारलाई पटक्कै छैन। यो स्तम्भकारको त्यो विश्वास पूर्णतया गलत होस् भन्ने
कामना यस स्तम्भकारको छ।
अब
निष्कर्षतिर लागौं। नेपाल–भारत बीच समानताको आधारमा व्यापार हुनुपर्छ। नेपालले
आफूलाई नेपाल–भारत व्यापारमा एउटा बलियो साझेदारको रूपमा प्रस्तुत गर्नुपर्छ। हुन
पनि नेपाल अहिले भारतको लागि एउटा ठूलो र राम्रो आम्दानी दिने बजार भएको छ।
नेपालीहरूले खाडी मुलुक, युरोपेली
मुलुक, क्यानाडा, अस्ट्रेलिया, अमेरिकामा श्रम बेचेर ल्याएको पैसा
घुमाउरो बाटो भएर भारत पुग्ने गरेको छ । सबैले सजिलै बुझ्ने भाषामा भन्ने हो भने
नेपालीहरूले आफ्नो आम्दानीको ठूलो अंश भारतीय वस्तु एवं सेवा खरीद गर्न खर्च
गरिरहेका छन्। यी तथ्यहरूको आलोकमा नेपालले आफूलाई भारतसँग हुने व्यापारमा बलियो
साझेदार रहेको भारतीय पक्षलाई बोध गराउनु आवश्यक छ।
नेपालका
उच्च प्रसाशक (प्रम, मन्त्री)
हरू भारत पुगेर याचना गर्ने होइन। हामीलाई यी सुविधा दिएर, हामीमाथि दया गर भन्ने होइन। तर
नेपालका नेताहरू भारत पुग्नासाथ लम्पसार पर्छन् र भारतसँग याचना गर्छन्। कमजोरी
हाम्रा नेताहरूमा छ। हाम्रा नेताहरू नै हीन भावनाको शिकार छन्। यस्तो किन भएको
होला? यस्तो हुनुको प्रमुख कारण हो हाम्रा
नेताहरूले आफ्नो स्वार्थका लागि भारतसँग अनेक सहयोगको याचना गर्नु, देश र जनताको हितमा अडान लिन नसक्नुस
अडान नलिनु।
सर्वाधिक
महत्वपूर्ण कुरा त के हो भने विभिन्न किसिमका वस्तुहरू हामीले नेपालमैं उत्पादन
गरेर, आर्मनिर्भरता प्राप्त गरेर, भारतबाट हुने आयात परिमाणमा ठूलो कटौति
गर्न अति आवश्यक छ। लागतको हिसाबले नेपालमा उत्पादन गर्दा महँगो पर्ने, तर भारतबाट आयात गर्दा सस्तो पर्ने
प्रकृतिका वस्तुहरू समेत हामीले नेपालमैं उत्पादन गर्नुपर्छ। अनेक लागतमाथि
नियन्त्रण गरेर,
उच्च
प्रवधि प्रयोग गरेर, हामीले
नेपालभित्र सस्तोमा अनेक वस्तु उत्पादन गर्ने अठोट गर्नुपर्छ। हामी भारतको ठूलो
बजार भएर उसलाई ठूलो आर्थिक फाइदा पुर्याउने, अनि उल्टो उसलाई ‘लौ न हामीमाथि दया गरिदेऊ’ भन्न जाने परम्परा अब
हामीले तोड्नुपर्छ। हामी समान व्यापार साझेदार हौंस याचक कदापि होइनौं।
के
नेपालका प्रम पुष्पकमल दहालले भारत समक्ष नेपालको पक्षमा बलियो भएर उभिने साहस गर्लान्?
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, June 2, 2023
https://eprateekdaily.com/2023/06/01/52006/
No comments:
Post a Comment