Wikipedia

Search results

Friday, June 16, 2023

Present Challenges to World Economy: Article-417

 विश्व अर्थ व्यवस्थाका वर्तमान चुनौती

विश्व अर्थ व्यवस्था र यसका चुनौतीहरूबारे चर्चा गर्नु पूर्व विश्व अर्थ व्यवस्था भनेको के हो त्यसबारे चर्चा गरौं।

अहिलेको यो उन्नत व्यापारिक युगमा कुनै पनि राष्ट्र आफैं परिपूर्ण अवस्थामा रहन सक्तैन। विश्वका लगभग सम्पूर्ण राष्ट्रले अन्य राष्ट्र वा राष्ट्रहरूसँग अनिवार्यरूपमा व्यापार गर्नु नै पर्छ। ज्यादै निर्धन वा ज्यादै धनी, आर्थिक स्थिति भएको राष्ट्रले पनि अर्को राष्ट्रसँग व्यापार गर्नु नै पर्छ।

अहिले कुनै एक राष्ट्रले आफूलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न सम्भव छैन। र यदि सम्भव भएमा पनि उत्पादन लागतको दृष्टिकोणले कतिपय वस्तुहरू आफ्नो देशमा उत्पादन गर्दा उच्च उत्पादन लागतको कारण महँगो हुने र सोही वस्तु विदेशबाट आयात गर्दा उत्पादन लागतको कारण सस्तो हुने हुन्छ। यस कारण कुनै पनि राष्ट्रले अनेक राष्ट्रसँग व्यापार गर्नुपर्दछ र विश्व अर्थ व्यवस्थाको हिस्सेदार बन्नुपर्छ। अमेरिका, क्यानाडा र युरोपका केही देशहरूले केही वस्तुहरू, आफ्नो देशमा उत्पादन गर्दा उच्च उत्पादन लागतले गर्दा महँगो हुने र ती सामानहरू चीनबाट आयात गर्दा सस्तो हुने स्थिति छ। चीनमा उत्पादन लागत, ती देशहरूको तुलनामा, सस्तो भएकोले त्यस्तो हुन पुगेको हो। चीनमा श्रम लागत तुलनात्मकरूपमा कम छ।

केही देशहरूले केही वस्तु उत्पादन गर्न यस्तो खास किसिमको क्षमता विकास गरेका हुन्छन् कि ती वस्तुहरू अन्य देशले उत्पादन गर्न सक्नु असम्भ नै हुन्छ। यस्तो स्थितिमा, त्यस्तो क्षमताको विकास गर्ने राष्ट्रले आफ्नो उक्त क्षमताबाट फाइदा उठाउन अर्थात् आफूले उत्पादन गरेका वस्तुहरू विदेश निर्यात गर्न अनिवार्यरूपमा विश्व व्यापारमा सरिक हुनुपर्छ। उदाहरणका लागि व्यापारिक प्रयोगका विमानहरू अहिले विश्वभरिमा, केवल दुई कम्पनी– बोइङ (अमेरिकन कम्पनी) र एयरबस (युरोपियन कम्पनी) ले मात्र उत्पादन गर्छन्। अन्य केही राष्ट्रले उत्पादन गर्न सके तापनि, सानो परिमाणमा गर्छन्, जसले कुनै व्यापारिक महत्व राख्दैन।

माथि उल्लेख गरिएका अनेक कारणले गर्दा अहिले प्रत्येक राष्ट्र विश्व अर्थ व्यवस्थाको अङ्ग हुनैपर्छ। अन्तर्राष्ट्रिय व्यापारमा सरिक हुनैपर्छ। आर्थिक स्वावलम्बनको युग उहिले समाप्त भइसकेको स्थिति छ अहिले।

विश्व अर्थ व्यवस्थमा हुने सानो परिवर्तनले पनि अहिले विश्वभरिका राष्ट्रहरूलाई प्रभावित गर्ने स्थिति छ। उदारणहरूको रूपमा युरोप र अमेरिकाको आर्थिक स्थिति कमजोर भएमा, त्यस क्षेत्रमा बेरोजगारी बढेमा, मुद्रास्फीति चुलिएमा त्यसको असर नेपालाई पनि पर्छ, अन्य राष्ट्रहरूलाई पनि पर्न सक्छ। कसरी ? प्रथम त ती क्षेत्र (अमेरिका र युरोप) बाट नेपाल आउने पर्यटकहरूको सङ्ख्या ह्वात्तै घट्न पुग्छ। दोस्रो ती क्षेत्रहरूबाट नेपालीहरूले कमाएर नेपाल पठाउने रकम (रेमिट्यान्स) कम हुन जान्छ। 

विश्व अर्थ व्यवस्थाले विश्वभरिका राष्ट्रहरूलाई प्रभावित गर्ने हुनाले विश्व अर्थ व्यवस्थाको सूक्ष्मतापूर्वक अध्ययन र विश्लेषण प्रत्येक व्यक्तिका लागि अनिवार्य हुन पुग्दछ।

विश्व अर्थ व्यवस्थाको आकाशमा अहिले अनेक चुनौतीहरू मडारिइरहेका छन् र ती चुनौतीहरूबारे चर्चा गर्नु आवश्यक छ।

विश्व अर्थ व्यवस्थाले अहिले सामना गर्नुपरिरहेको ठूलो चुनौती उत्पादन र वितरण व्यवस्थामा उच्च प्रविधिको व्यापक प्रयोग हो। उत्पादन र वितरण व्यवस्थामा अहिले विश्वभरि नै उच्च प्रविधिको प्रयोग भइरहेको छ। उच्च प्रविधिको प्रयोगले गर्दा उत्पादन र वितरण लागत कम भइरहेको छ। तर अर्कोतिर मानव श्रमको प्रयोग कम हुँदै गएको छ। उच्च प्रविधिको प्रयोग अति नै हुन थालेको छ। अर्थात् मानव श्रमलाई उच्च प्रविधिले क्रमशः विस्थापित गरिरहेको छ। मेशीनहरूको अति प्रयोग भइरहेको छ। मेशीनहरूको व्यापक प्रयोगले रोजगारमा ह्रास आएको छ। र रोजगारमा ह्रास आउनुको अर्थ व्यक्तिहरूको आम्दानीमा कमी आउनु हो। स्थिति यस्तै रहेमा विश्व अर्थ व्यवस्थाले विश्वभरि नै रोजगारीको ठूलो सङ्कट बेहोर्नु पर्ने हुन सक्छ। यो स्थितिबाट गरीब राष्ट्रका गरीब नागरिकहरूको आर्थिक जीवन झनै कष्टकर हुनेछ।

उत्पादन र वितरण प्रणालीमा प्रविधिको प्रयोगले गर्दा उत्पादकको लागि उत्पादन लागत र वितरकको लागि वितरण वा आपूर्ति लागत सस्तो हुन पुगेको छ। उत्पादन र आपूर्ति लागत कम हुनु उत्पादक र वितरकका लागि राम्रो हो। यस्तो हुनुले उनीहरूले प्राप्त गर्ने मुनाफाको परिमाणमा ठूलो वृद्धि हुन्छ। तर कामदारहरूको लागि रोजगारको क्षेत्र सङ्कुचित हुँदै जान्छ। यो स्थिति कुनै पनि राष्ट्रको लगि हितकर किन होइन भने माथि भनिएको स्थितिले गर्दा, केही व्यक्तिहरू मात्र धनी, अति धनी हुँदैजानेछन् तर बाँकी सामान्य नागरिक गरीब र झन्झन् गरीब हुँदै जानेछन्। राष्ट्रिय आय वितरण झनै असन्तुलित हुन पुग्नेछ। यो समस्या धनी देशका गरीब नागरिकहरूले पनि बेहोर्नुपर्नेछ।

उच्च प्रविधिको अति प्रयोगले गर्दा रोजगारी कसरी प्रभावित भइरहेको छ र अझै कति हुनेछ त्यसको केवल एउटा मात्र उदाहरण यहाँ हेरौं।

अमेरिकामा हालै सूचना एवं जानकारीको क्षेत्रमा एक उच्च प्रविधि च्याट जिपिटी (ChatGPT) प्रयोगमा आएको छ। यसको प्रयोग सशुल्क र निश्शुल्क दुवै किसिमबाट गर्न सकिन्छ। यो एक अर्टिफिसियल इन्टेलिजेन्स (AI–Artificial Intelligence) प्रविधि हो। यो प्रविधि प्रयोग गरेर इमेल लेख्ने, निबन्ध लेख्ने, कुनै प्रश्नको उत्तर लेख्ने, गीत तथा कविता लेख्नेजस्ता कार्यहरू गर्न सकिन्छ। तर अचम्मको कुरा त के छ भने इमेल, निबन्ध, उत्तर, गीत, कविता आदि आफूले लेख्नुपर्दैन। केवल विषय मात्र दिएमा च्याटजिपिटीले नै लेखिदिन्छ। सारांशमा भन्ने हो भने च्याटजिपिटी ज्यादै उच्च बौद्धिक क्षमता भएको एक सहायक हो जसबाट आफूले चाहेको कार्य गराउन सकिन्छ। नोभेम्बर ३०, २०२२ मा व्यापारिक क्षेत्रमा अवतरण भएको यस प्रविधिको प्रयोगकर्ताहरूको सङ्ख्या अहिले १० करोड हुन पुगेको छ। मानव मष्तिष्कले झैं काम गर्ने यो प्रवधिले एउटा व्यक्ति सरह कुराकानी गर्ने क्षमता राख्न सक्छ र सूचना एवं जानकारीको विश्लेषण पनि मान्छले झैं गर्न सक्छ।

यदि यो च्याटजिपिटीको प्रयोग व्यापक हुने हो र यसले ठूलो सफलता प्राप्त गर्ने हो भने यको प्रयोगले कुनै पनि कार्यमा प्रत्यक्षरूपमा प्रयोग हुने मानव श्रमको ठूलो कटौती हुनेछ। मुख्यगरी प्रकाशन (पुस्तक) एवं शिक्षण क्षेत्रमा रहेका व्यक्तिहरूको रोजगार प्रभावित हुनेछ। पुनः स्मरण गरौं। अहिले विश्वभरि भइरहेका अनेक प्रविधिहरूको विकासको सन्दर्ममा च्याटजिपिटी मात्र एक उदाहरण हो।

विश्व अहिले राजनीतिक र सामरिक रूपमा दुई भागमा विभाजित हुनु विश्व अर्थ व्यवस्थाले भोगिरहेको अर्को, तर ज्यादै डरलाग्दो चुनौती हो। अमेरिका र रूस, अहिले यी दुई महाशक्ति राष्ट्रहरूले दुई भागमा विभाजित समूको नेतृत्व गरिरहेका छन्। सोभियत युनियनको विघटनपछि, रूस ज्यादै कमजोर भएको अवस्थामा, विश्वमा केवल अमेरिका मात्र एक महाशक्ति राष्ट्रको रूपमा विश्व राजनीतिमा रहेको थियो। तर भ्लादमिर पुटिनको उदय र महत्वाकाङ्क्षाले गर्दा रूस पनि महाशक्ति राष्ट्र हुने दौडमा छ। र उसको त्यो दौड तीव्र गतिमा छ। यसरी यी दुई महाशक्ति राष्ट्रहरू– अमेरिका र रूसको चासो र चाहनाले गर्दा विभिन्न देशहरूमा सङ्घर्ष बढ्दै गएको छ। सुडान, सिरिया, येमन, पाकिस्तान, युक्रेन आदिमा भइरहेका सङ्घर्षहरूमा रूस र अमेरिका, दुवैको चासो छ। अप्रत्यक्ष संलग्नता छ। यी दुई राष्ट्रबीचको अप्रत्यक्ष सङ्घर्षले गर्दा अन्य राष्ट्रहरूमा युद्ध भइरहेको छ।

महाशक्ति राष्ट्रको रूपमा रूसको पुनः उदय र अमेरिकाझैं महाशक्ति राष्ट्र हुने पुटिनको महत्वाकाङ्क्षाले निश्चय नै संसारका अनेक राष्ट्रमा सङ्घर्ष वृद्धि हुनेछ। अस्थिरता थपिने छ। र यी कुराहरूले विश्व अर्थ व्यवस्थालाई नराम्ररी प्रभावित गर्ने यथार्थ नकार्न सकिंंदैन। रूसले युक्रेनमाथि प्रत्यक्ष हस्तक्षेप गरेको, सिरियालाई सघाएको, इरानको असल मित्र (हातहतियार आपूर्ति र सैन्य सहयोग गर्ने) हुन खोजेको स्थितिले संसारका अनेक राष्ट्रलाई पनि अस्थिर तुल्याउने छ। र त्यो अस्थिरताले गर्दा विश्व अर्थ व्यवस्था नराम्ररी प्रभावित हुनेछ।

वर्तमानमा विश्व अर्थ व्यवस्थाले भोग्नुपरेको अर्को चुनौती युक्रेन–रूस युद्ध समाप्त नहुनु हो। जतिजति यी दुई राष्ट्रबीचको युद्ध लम्बिने छ, विश्व अर्थ व्यवस्था पनि सोही अनुसार कमजोर हुनेछ। युक्रेन क्षेत्रफलको आधारमा सानो भए तापनि यो राष्ट्रले ठूलो मात्रामा खाद्यान्न उत्पादन गर्छ र विश्वका अनेक राष्ट्रमा आपूर्ति पनि गर्छ। युक्रेनले ऊर्जा पनि ठूलो परिमाणमा युरोपका अनेक देशहरूलाई निर्यात गर्दछ। विश्वामा नै, एक ‘पावर हाउस’ को रूपमा रहेको युक्रेन कमजोर हुनुको अर्थ विश्व अर्थ व्यवस्था नराम्ररी प्रभावित हुनु हो। 

रूस, विश्व अर्थ व्यवस्थाको एउटा प्रमुख साझेदार हो। युरोपको एउटा शक्तिशाली बजार हो। रूसले ठूलो मात्रामा युरोपका अनेक राष्ट्रलाई ऊर्जा निर्यात गर्छ। अहिले युक्रेन–रूस युद्धले गर्दा रूसको ऊर्जा आपूर्ति र वितरण नराम्ररी प्रभावित भएको छ। उत्पादन व्यवस्था ठूलो मात्रामा ऊर्जामा भर पर्ने र रूसबाट युरोपतर्फ हुने ऊर्जा निर्यात अनियमित हुनुले युरोपका केही राष्ट्रहरूको आर्थिक स्थिति पनि नराम्ररी प्रभावित हुन पुगेको छ। अर्कोतिर रूसको आर्थिक स्थिति कमजोर हुनु पनि विश्व अर्थ व्यवस्थाको लागि राम्रो होइन। रूस आर्थिकरूपमा कमजोर हुनु विश्व अर्थ व्यवस्थामा प्रतिकूल प्रभाव पर्नु हो।

रूस लामो समयसम्म युद्धमा संलग्न हुनुको अर्थ यो राष्ट्र आर्थिकरूपमा झन् झन् कमजोर हुँदै जानु हो। रूस–युक्रेन युद्धमा, रूसमा ठूलो धन जनको क्षति भइसकेको छ।

माथि उल्लेख गरिएका चुनौतीहरूको सामना गर्दै विश्व अर्थ व्यवस्थामा सुधार ल्याउन सम्बन्धित पक्षले के कस्ता भूमिका खेल्नेछन् त्यो कुरा आउने भविष्यले देखाउने छ। सम्बन्धित पक्षको यसतर्फ छिटै ध्यान जाओस् भन्ने कामनाबाहेक बढी, हामी के नै गर्न सक्छौं र?



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, June 16, 2023

https://eprateekdaily.com/2023/06/15/52694/

 

 

No comments:

Post a Comment