के हो गरीबहरूको अर्थशास्त्र?
गरीबहरूको अर्थशास्त्र
भनेर छुट्टै अनेक सिद्धान्तहरूको व्याख्या गरिएको छैन। अर्थशास्त्र मात्र भनिएको
पाइन्छ। तर यथार्थमा दुई किसिमको अर्थशास्त्र रहेको पाइन्छ। पहिलो धनीहरूको
अर्थशास्त्र, दोस्रो गरीबहरूको अर्थशास्त्र।
धनीहरूको अर्थशास्त्रमा
धन कसरी वृद्धि गर्ने त्यसबारे सोंचिएको हुन्छ। धन वृद्धि गर्ने अनेक
सिद्धान्तहरूको विकास गरिएको हुन्छ। राज्यले पनि, धनीहरूको अर्थ व्यवस्थामा पूँजीपतिहरूलाई सहयोग गरेको
हुन्छ। धनीहरूका लागि धन वृद्धि गर्न सजिलो हुने किसिमका नियम र कानून निर्माण
गरिदिएको हुन्छ।
धनीहरूको अर्थशास्त्रमा
पूँजीपति र उद्योगपतिहरूले आफ्नो वस्तु वा सेवाको मूल्य निर्धारण गर्न, आपूर्तिको परिमाण तोक्न एवं बजार छनोट गर्न
स्वतन्त्र हुन्छन्। कुन बजारमा व्यापार गर्ने र कुन बजारमा नगर्ने भनी निर्धारण
गर्न पूर्ण स्वतन्त्र हुन्छन्। यसैगरी बजारमा प्रवाहित गर्ने ऋणको ब्याज दरसमेत
निर्धारण गर्न उनीहरू स्वतन्त्र हुन्छन्। राज्यले निर्माण गरिदिएको खुकुलो र
अनुकूल नियमले गर्दा धनीहरूको अर्थशास्त्रमा व्यापारी एवं उद्योगपतिहरूलाई छोटो
समयमा धनी हुन र ठूलो मात्रामा धन सृजना गर्न पूर्ण छुट हुन्छ।
धनीहरूको अर्थशास्त्रमा
धनीहरू निकै शक्तिशाली हुन्छन्। देशको राजनीतिलाई आफू अनुकूल हुनेगरी प्रभावित पार्न सक्छन्। आफ्नो अनुकूलको सरकार स्थापनासमेत गर्न सक्छन्। निर्वाचनमा जनप्रतिनिधिहरूलाई चुनाव
लड्न धेरै पैसा दिएकोले जनप्रतिनिधिहरूलाई आफ्नो हित अनुसारको कार्य गर्न बाध्य
पार्न सक्छन्। धनीहरूको अर्थशास्त्रमा देशको अर्थव्यवस्था धनीहरूको नियन्त्रणमा
हुन्छ। देशको अर्थ व्यवस्था धनीहरूको वरिपरि नै घुम्छ।
अमेरिका, फ्रान्स, जर्मनी, इटाली आदिमा धनीहरूको अर्थशास्त्रलाई प्रयोगमा ल्याइएको पाइन्छ। चीनले पनि अहिले धनीहरूको अर्थशास्त्र अँगालेको छ। चीनमा अहिले धनीहरूको अर्थशास्त्रकै बोलबाला छ। कुनै बेला आफूलाई समाजवादी भन्ने भारत पनि अहिले धनीहरूको अर्थशास्त्रको उपयोगकर्ता भएको छ। यस्तो गरेर भारत छोटो समयमा धनी भएको छ, ठूलो अर्थतन्त्र भएका देशहरूमध्ये एक हुन पुगेको छ। तर भारतमा गरीबी पनि त्यसै अनुसार बढेको छ। सबैभन्दा ठूलो कुरा भारतमा अहिले गरीब र धनीबीचको फरक भने ज्यादै ठूलो हुन पुगेको छ। एक दिनमा एक रुपियाँ पनि कमाउन नसक्ने र एक दिनमा एक लाख कमाउने व्यक्तिहरू पनि छन्, अहिलेको पूँजीवादी भारतमा, धनीहरूको अर्थ व्यवस्थालाई उत्तम ठान्ने भारतमा।
जसरी कमिलाले मह सृजना
गर्दैन र मह केवल मौरीले नै सृजना गर्छ, त्यसैगरी सामान्य प्रवृत्ति भएको व्यक्तिले होइन, व्यापारी प्रवृत्ति भएको व्यक्तिले मात्र धन सृजना गर्न
सक्छ भनी धनीहरूको अर्थशास्त्रले बलियोगरी विश्वास गर्दछ। धन कमाउने व्यक्तिमा
विशेष किसिमको सीप हुन्छ भन्ने कुरामा जोड दिन्छ।
गरीबहरूको अर्थशास्त्रमा
गरीबका निर्वाहका कुराहरू गरिएको हुन्छ। गरीबहरूको हितको संरक्षण कसरी गर्ने भनी
विचार पु-याइएको हुन्छ।
समाजमा सबै क्षमतावान्
हुँदैनन्। धेरै व्यक्ति बौद्धिकरूपमा र कोही शारीरिकरूपमा कमजोर हुन्छन्। तर
अर्कोतिर सामाज अति नै प्रतिस्पर्धापूर्ण हुन्छ। समाजमा भएको अति प्रतिस्पर्धाले
गर्दा कमजोर वा कम क्षमता भएका व्यक्तिहरूलाई बाँच्न कठिन हुन्छ। यस्तो स्थिति
भएकोले कम क्षमता भएका तथा कमजोर व्यक्तिहरूलाई पनि बाँच्न सजिलो होस् भन्ने सोच
गरीबहरूको अर्थशास्त्रले राखेको पाइन्छ।
कुनै पनि देशले गरीबहरूको
अर्थशास्त्रलाई आफ्नो देशको अर्थ व्यवस्थाको रूपमा अङ्गीगकार गरेको
भने पाइँदैन। तर गरीबहरूको अर्थशास्त्रलाई महत्व दिएको भने पाइन्छ। गरीबहरूको
अर्थशास्त्रको महत्व बुझेर अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्सजस्ता पूँजीवादी देशहरूले पनि गरीबहरूको
हित संरक्षण गर्न केही कार्यक्रमको व्यवस्था गरेको पाइन्छ। अमेरिकाले आफ्ना नागरिकलाई सेवा निवृत्तिपछि दिने ‘सोसल सेक्युरिटि रकम’ लाई लिन सकिन्छ।
प्रत्येक अमेरिकी, जसले तोकिएको
अवधिभरि काम गरेर र तोकिएको रकम कमाएर आफूलाई ‘सोसल सेक्युरिटी’
प्राप्त गर्न योग्य पारेको छ, सोसल सेक्युरिटी
रकम पाउन सक्छ। सोसल सेक्युरिटी रकम, जुन तोकिएको रकम हुन्छ, सार्वजनिक
क्षेत्र, निजी क्षेत्र र सरकारी
निकायमा काम गर्नेले पाउन सक्छ। सरकारी निकायमा काम गर्नेले मात्र सोसल सेक्युरिटी
रकम पाउँछ भन्ने छैन। यो रकम जुनसुकै क्षेत्रमा काम गरेको व्यक्तिले पनि पाउन
सक्छ। यो रकम पेन्सन पाउनेहरूले पनि पाउन सक्छन्। यो रकम दिनुको उद्देश्य नै गरीब
नागरिकलाई सहयोग गर्नु हो। उनीहरूको वृद्धावस्था आम्दानी नभएको कारणले गर्दा
दुःखमय हुन नदिनु हो। सर्वाधिक ठूलो कुरा त के छ भने अमेरिका पूँजीवादी देश भए
तापनि अमेरिकासँग गरीबहरूसम्म पुगेर उनीहरूलाई आर्थिक सहयोग गर्ने संयन्त्र वा
व्यवस्था छ। यस्तो व्यवस्था चीन, भारतजस्ता
नवधनाड्य कहलिएका राष्ट्रहरूमा छैन।
विभिन्न देशहरूले गरीबको अर्थशास्त्रलाई
आफ्नो राष्ट्रिय अर्थनीति भित्र नराखे तापनि त्यस्ता
देशहरू भित्र अनेक व्यक्ति वा सङ्घ संस्थाहरूले गरीबहरूको लागि काम गरेको वा
गरीबहरूको अर्थशास्त्र अङ्गीकार गरेको पाइन्छ।
गरीबहरूको अर्थशास्त्रलाई
महत्व दिने अनेक सङ्घ, संस्था र व्यक्ति
संसारभरि सक्रिय रहेको पाइन्छ। यस्तै सक्रिय रहने व्यक्तिहरूमध्ये एक हुन्
बङ्गलादेशी नागरिक मुहम्मद युनुस। युनुसले गरीबहरूको आर्थिक उत्थान गर्नका लागि
फरक किसिमको सोच र व्यवस्था हुनुपर्छ भन्ने अवधारणाको विकास एवं प्रयोग
बङ्गलादेशजस्तो गरीब राष्ट्रमा गरे। गरीबहरूका लागि काम गरेबापत उनले सन् २००६ मा
नोबेल शान्ति पुरस्कार पाए। गरीबहरूको आर्थिक अवस्थामा सुधार ल्याउन उनले ग्रामीण
बैंकको स्थापना गरे। गरीबहरूसम्म पुग्न ‘माइक्रो क्रेडिट’ र ‘माइक्रो फाइनान्स’ को
व्यवस्था गरे। उनले ग्रामीण बैंकबाट त्यस्ता गरीब व्यक्ति र परिवारहरूले ऋण पाउने
व्यवस्था मिलाए जसलाई प्रचलनमा रहेका वा चलनचल्तिका बैंकहरूले ऋण दिन अस्वीकार
गरेका थिए वा अस्वीकार गर्न सक्थे।
गरीबहरूलाई सहयोग गर्ने
युनुसको यो कार्य संसारभरि प्रख्यात भयो। कतिपय राष्ट्रले युनुसको यो कार्यक्रमबाट
प्रभावित भएर गरीबहरूलाई सहयोग गर्ने केही नयाँ कार्यक्रमको व्यवस्था पनि गरे।
युनुसले स्थापना गरेको
संस्था ‘ग्रामीण बैंक’ लाई गरीबहरूको अर्थशास्त्र अनुसार काम गर्ने संस्थाको रूपमा
लिन सकिन्छ। यो संस्थाले त्यस्ता निर्धन परिवारलाई पनि व्यवसाय गर्न ऋण दिन्छ
जोसँग ऋण लिन योग्य धितो राख्ने केही हुँदैन।
नेपालमा गरीबहरूको
अर्थशास्त्र भन्ने सोचको विकासम्म भएको पाइँदैन। सम्बन्धित क्षेत्रको ज्ञान नभएका
(अर्थशास्त्र अध्ययन नगरेको) अर्थमन्त्रीहरूमा गरीबहरूको अर्थशास्त्रको ज्ञानको
अभाव देखिएको त छ नै, सम्बन्धित
क्षेत्रको ज्ञान भएको, अर्थशास्त्री,
मन्त्रीहरूमा पनि गरीबहरूको अर्थशास्त्रबारे
ज्ञान नभएको पाइन्छ।
२०४६ सालपछि, नेपालको कुनै पनि अर्थमन्त्रीले अति
निर्धनहरूलाई लक्षित गरेर, उनीहरूको आर्थिक
स्थिति सुधारका लागि कुनै विशेष आर्थिक कार्यक्रम ल्याएको देखिएको छैन। गरीबहरूको
आर्थिक सुधार गर्न कुनै सोच उनीहरूबाट आएको छैन।
हुनत हाम्रा सत्ता र
स्वार्थमुखी नेताहरूबाट आर्थिक विकासको अपेक्षा गर्नु दिनमा जून देख्न खोज्नु हो।
तर पनि आशा गर्न त छाड्नुहुँदैन। भोलिका दिनमा नयाँनयाँ र इमानदार नेताहरूको पनि
उदय हुन सक्छ। अब आउने नयाँ, इमानदार एवं
निस्वार्थी नेताहरूले भने गरीबहरूको अर्थशास्त्रको गहिरो अध्ययन गर्नेछन्। त्यसको
व्यवहारिक प्रयोग पनि गर्नेछन्।
यो लेखको उद्देश्य
पूँजीवादी व्यवस्थाको विरोध गर्नु भने होइन। संसारका अनेक देश पूँजीवादी अर्थ
व्यवस्था अङ्गीकार गरेर नै धनी भएका हुन्। अमेरिका, क्यानाडा, जर्मनी, इटाली, फ्रान्सजस्ता धनी देशहरूले पूँजीवाद नै अङ्गीकार गरेका छन्। कुनै पनि देशले
आफ्नो आर्थिक विकास गर्नका लागि पूँजीवादी अर्थ व्यवस्थालाई जति जोड दिन्छ,
त्यतिकै जोड गरीबहरूको अर्थशास्त्रलाई पनि
दिनुपर्छ। यो लेखको उद्देश्य यही हो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, February 02, 2024
No comments:
Post a Comment