Wikipedia

Search results

Friday, February 28, 2025

Nepal: Ways to Lower Down National Debt- Article-591

 राष्ट्रको ऋण कम पार्ने तरीका

नेपाललाई ऋणमुक्त राष्ट्र बनाऔं । अहिलेको लागि यो अवधारणा हास्यास्पद लाग्न सक्छ। तर भविष्यमा नेपाललाई ऋणमुक्त राष्ट्र बनाउन सकिने आधारहरू भने प्रशस्त छन्। हामी अठोटका साथ विकास पथमा लम्किने हो भने नेपाललाई ऋणमुक्त राष्ट्र बनाउन सक्छौं।

नेता र राजनीतिक दलहरूको व्यवहार इमानदार हुने हो, विकासका लागि नेताहरू फुटेर होइन, जुटेर अगाडि बढ्ने हो, उनीहरूले पद र शक्ति लोलुपता परित्याग गर्ने हो भने नेपाललाई ऋणमुक्त राष्ट्र बनाउन सकिन्छ। यसैगरी जनतामा राजनीतिक चेतना जागृत भएर जनताले असल नेता छानेर संसद्मा पठाउने हो भने नेपाललाई ऋणमुक्त राष्ट्र बनाउन सकिन्छ।

अहिले भने वर्तमानमा नेपालमाथि रहेको ऋणभार कसरी कम पार्न सकिन्छ त्यसबारे छलफल गरौं। ऋणभार कम पार्न सकिने सम्भावनाहरूको खोजी गरौं। यो आवश्यक पनि छ । नेपाल अहिले ऋणले थिचिएको छ।

नेपाललाई बढ्दो ऋणभारबाट मुक्त गर्नका लागि सङ्घीयता खारेज गर्नुपर्छ। नेपालको वर्तमान आर्थिक अवस्थाले सङ्घीयताको खर्च धान्न सक्तैन। सङ्घीयता आफैंमा राम्रो हुन सक्ला तर नेपालको वर्तमान आर्थिक स्थितिले सङ्घीयता धान्न सक्तैन। हुनत नेपालमा सङ्घीयता जनताको माग अनुसार आएको होइन पनि। नेपालमा सङ्घीयता लागू गर्ने कि भनेर जनताको स्वीकृति माग गरिएको थिएन। सङ्घीयताको लागि जनमत सङ्कलन (जनमत सङ्ग्रह) भएको थिएन। धेरै नेताहरूको अज्ञानता तथा अनुभवहीनता एवं केही नेताहरूको स्वार्थको कारण नेपालमा सङ्घीयता लागू भएको हो। नेपालीलाई कमजोर तुल्याउन मुलुकबाहिरबाट सङ्घीयता लादिएको थियो। यस्तो भन्नेहरू पनि धेरै छन्।

तीन तहको सरकारमध्ये दोस्रो तहको सरकार (प्रान्तीय सरकार) को कुनै औचित्य छैन। विगतमा प्रान्तीय सरकारले अपेक्षित कार्य गरेको पनि देखिएन। स्थानीय सरकारहरूलाई बढी स्वायतत्ता एवं अधिकार दिएर विकासको गति तीव्र पार्न सकिन्छ। दोस्रो तहको सरकारको आवश्यकता छैन । यो सरकारले आम्दानी बढाएको छैन, उल्टो खर्च बढाएको छ।

यदि राष्ट्रिय आम्दानी व्यापक किसिमले बढ्ने हो भने सङ्घीयता कायम राख्न सकिन्छ। तर राष्ट्रिय आम्दानी बढ्ने कतै कुनै सङ्केत देखिंदैन। देशमा आर्थिक विकासको गति अति नै सुस्त छ। देशभित्र रोजगार नपाएर लाखौंको सङ्ख्यामा युवाहरू केवल सामान्य रोजागारका लागि संसारका अनेक मुलुकमा पुगिरहेका छन्। त्यहाँ पुगेर कष्टकर जीवन बिताउन बाध्य भएका छन्।

देशको अर्थ व्यवस्था झन्झन् रेमिट्यान्समा अति आधारित हुँदै गएको छ। देशभित्र व्यापार एवं उद्योगको विस्तार कछुवा चालमा भइरहेको छ। यस्तो स्थितिमा रेमिट्यान्स ल्याएर सङ्घीयता चलाउनु भनेको दुइ छाक खान धौधौ हुने परिवारले रहर गरेर हात्ती पाल्नु सरह हो। तर देशको अर्थ व्यवस्था रहरले होइन आम्दानीले चल्छ। केही नेताहरूको स्वार्थको लगि सङ्घीयता राख्नु नेपालको राष्ट्रिय ढुकुटीलाई प्रत्येक वर्ष क्रमिकरूपमा कमजोर पार्नु हो, रित्तो पार्नु हो।

केवल सत्ताको खेलमा अल्मलिने र कुर्सीको खेलमा लीन रहने राजनीतिक दलका नेता एवं निर्वाचित जन प्रतिनिधिहरूले विदेशमा रहेका नेपालीहरूको आर्जनलाई नेपालको आर्थिक विकासमा कसरी खर्च (लगानी) गर्ने बारे गम्भीरतापूर्वक सोच्न सकेका छैनन्। विदेशमा रहेका नेपालीहरूलाई उनीहरूको बचत नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने प्रभावकारी ऐन, कानून, नियम राष्ट्रले अहिलेसम्म पनि तयार पार्न सकेको छैन। प्रवासी नेपालीहरू स्वदेशमा लगानी गर्न प्रोत्साहित हुने ऐन, कानून राष्ट्रले निर्माण गर्ने हो भने ठूलो परिमाणमा पूँजी, प्रविधि र व्यवस्थापन आउने सम्भावना छ। प्रवासी नेपालीहरूले नेपालमा लगानी गर्न पाउने स्थिर र भरपर्दो ऐन, कानून निर्माण हुने हो भने ठूलो परिमाणमा पूँजी आउन सक्छ। र त्यो पूँजीलाई आर्थिक विकासका पूर्वाधारहरूमा लगानी गर्न सकिन्छ। खानी उत्खनन, जल विद्युत् उत्पादन, पहाडी रेल निर्माण, सडक निर्माण, केबल कार विस्तार, होटल एवं रिसोर्टहरूको स्थापनाजस्ता क्षेत्रहरूमा त्यो पूँजी उपयोग गर्न सकिन्छ।

सम्बन्धित पक्ष एवं राजनीतिक दलहरूको आआप्mनै किसिमको कार्यक्रम एवं उद्देश्य भए तापनि आर्थिक नीति तथा कार्यक्रमहरूमा भने सम्बन्धित पक्ष एवं राजनीतिक दलहरूको समान धारणा हुनु आवश्यक छ। सम्बन्धित पक्ष एवं राजनीतिक दलहरू एकै किसिमको राष्ट्रिय आर्थिक नीतिमा सहमत हुन आवश्यक छ। अहिले नेपाली काङ्ग्रेस (नेका) र नेकपा एमाले (एमाले) मा देशमा कस्तो किसिमको अर्थ व्यवस्था अवलम्बन गर्ने भन्नेबारे ठूलो अलमल रहेको देखिन्छ। नेकाले प्रजातान्त्रिक समाजवादद्वारा देशको आर्थिक विकास गर्ने उद्देश्य राखेको देखिन्छ भने एमालेले कम्युनिस्ट–दर्शनको समाजवादद्वारा देशको आर्थिक विकास गर्ने लक्ष्य राखेको देखिन्छ। माओवादी केन्द्रसँग नेपालको आर्थिक व्यवस्था कस्तो हुनुपर्छ भन्ने सोच पनि छैन। एमाले र नेकाविरुद्ध २०५२ सालमा सशस्त्र विद्रोह गर्ने र नेपालमा कम्युनिस्ट व्यवस्था स्थापना गर्ने भनेर हतियार उठाउने र पुनः जुन दलविरुद्ध सङ्घर्ष गरेको हो उसैसँग मिलेर सत्ता साझेदारी गर्ने दल– माओवादीसँग राष्ट्रको आर्थिक विकासबारे कुनै ठोस आर्थिक नीति नहुनु आश्चर्यको कुरा होइन। माओवादीका केही नेताहरूले उक्त सङ्घर्षको उपयोग केवल आपूmहरू सत्तामा जानका लागि गरे। उज्जवल भविष्यको कामना गरेर माओवादी सङ्र्घषमा होमिने युवाहरूको सपनाको दुरुपयोग गरे।

कम्युनिस्ट आर्थिक व्यवस्था पूर्णतया असफल भइसक्यो। समाजवादी अर्थ व्यवस्था अहिलेको विश्व परिस्थितिमा प्रभावकारी हुन सक्तैन। कुनै पनि देश विश्व अर्थ व्यवस्थासँग अनिवार्यरूपमा गाँसिनुपर्ने वर्तमान बाध्यात्मक अवस्थामा कुनै पनि राष्ट्रले समाजवादी अर्थ व्यवस्थाद्वारा देशको आर्थिक विकास गर्नु सम्भव छैन। पूर्णतया असम्भव छ। 

वर्तमान अवस्थामा ‘खुला बजार’ अथवा ‘बजार अर्थ व्यवस्था’ वा ‘उदार अर्थ व्यवस्था’ एक मात्र विकल्प रहेको छ, कुनै पनि देशको आर्थिक विकास गर्नका लागि। यो अवधारणा सबै राष्ट्रमा लागू हुन्छ। वर्तमान विश्व परिस्थितिमा कुनै राष्ट्रको आर्थिक विकासको लागि यो अर्थ व्यवस्था मात्र उपयुक्त हुन सक्छ, भोलिको दिनमा के होला भन्न सकिंदैन तर अहिलेको लागि देशको आर्थिक विकासको लगि बजार अर्थ व्यवस्था अवलम्बन गर्नु एक मात्र विकल्प देखिन्छ।

समय स्थिर रहँदैन। समय सदा परिवर्तनशील छ। कुनै समयमा समाजवाद निकै लोकप्रिय थियो। धेरै देशले समाजवादी अर्थ व्यवस्था अवलम्बन गरेका थिए। चीन र रूसमा त कम्युनिस्ट अर्थ व्यवस्था नै थियो। अहिले चीनले पूर्णतया बजार अर्थ व्यवस्था अवलम्बन गरेको छ, उसले आफूलाई कम्युनिस्ट राष्ट्र भने तापनि।

देशको अर्थ व्यवस्था बजार अर्थ व्यवस्था हुनुपर्छ र सोही अनुसार अनेक नीति तथा कार्यक्रमहरू निर्माण गर्नुपर्छ भनी नेपालका सम्पूर्ण राजनीतिक दलहरूले साझा धारणा बनाउन आवश्यक छ। सबै राजनीतिक दलहरूले आर्थिक विकासको लागि एउटा साझा धारणा नबनाएसम्म देशको आर्थिक विकासको गतिले तीव्रता लिन सक्तैन। राष्ट्रिय एवं अन्तराष्ट्र्रिय लगानीकर्ताहरू लगानी गर्न आश्वस्त हुन सक्तैनन्। लगानीकर्ताहरूले लगानी नगरे व्यापारिक एवं औद्योगिक गतिविधिहरूमा तीव्रता आउन सक्तैन।

यदि सबै राजनीतिक दलहरूले राष्ट्रको आर्थिक विकासको लागि एउटा साझा धारणा निर्माण गर्ने हो भने हाम्रो देशमा राष्ट्रिय आर्थिक विकासको गतिले तीव्रता लिन्छ। राष्ट्रिय आयमा वृद्धि हुन्छ। ऋणमाथि निर्भरता कम भएर जान्छ। अहिलेको जस्तो राष्ट्रले ठूलो परिमाणमा बाह्य ऋण लिनुपर्दैन। यस्तो गरेर निश्चय नै देशको ऋण भार कम गर्न सकिन्छ।

कुनै समय सिंगापुर, मलेशिया, इन्डोनेशिया, भिएतनाम, दक्षिण कोरिया, अंगोला, ब्रजीलजस्ता राष्ट्रहरूको आर्थिक स्थिति कमजोर थियो। अहिले यी राष्ट्रहरू आर्थिकरूपमा सक्षम हुँदै गएका छन्। दक्षिण कोरिया त धनी राष्ट्र हुने तरखरमा छ। त्यस्तो हुनुको कारण ती देशहरूमा आर्थिक विकासबारे सम्बन्धित पक्षहरूबीच साझा अवधारणा हुनु हो।

देशको आर्थिक विकासको गतिलाई तीव्रता दिन तथा राष्ट्रिय ऋण भार कम पार्न हाम्रा राजनीतिक दलहरूले आर्थिक विकासका लागि एक साझा धारणा निर्माण गर्नु आवश्यक छ। यदि दलहरूले साझा अवधारणा निर्माण नगर्ने हो भने भोलि राष्ट्रको स्थिति कस्तो होला? उनीहरूले कहाँ राजनीति गर्ने होलान्? यी गम्भीर विषयहरूमाथि सोच्न ढिलो गर्नुहुँदैन। ऋणले व्यक्ति वा परिवार मात्र होइन, देशलाई पनि बर्बाद पार्न सक्छ।



 

 




विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, February 28, 2025

https://eprateekdaily.com/2025/02/28/81895/

 

Friday, February 21, 2025

The Capital We Are Loosing Abroad: Article-590

 विदेशमा खर्च भइरहेको हाम्रो राष्ट्रिय पूँजी

पढ्न पाकिस्तान, बङ्गलादेश वा भारत जाने। पढ्नकै लागि क्यानाडा, अमेरिका, अस्ट्रेलिया, ब्रिटेन आदि देश जाने। पढ्नका लागि नेपाल छाड्नैपर्ने, विदेश जानैपर्ने। पढाइ समाप्त गरेर क्यानाडा, अमेरिका, अस्ट्रेलियाजस्ता धनी देशमा पुगेर आरामको जीवन बिताउने। अहिलेको हाम्रो सामाजिक मनोविज्ञानले यही बोलिरहेको छ। यो सामाजिक मनोविज्ञानले अहिले हाम्रा सन्तानहरूलाई नेपालमा भविष्य अँध्यारो तर विदेशमा उज्जवल देख्ने स्थितिमा पुर्याएको छ। यो मनोविज्ञानले गर्दा नै हाम्रा सन्तानहरू ठूलो सङ्ख्यामा विदेशतिर लागिरहेका छन्। स्वेच्छाले परिवार, घर र देश छाडिरहेका छन्।

के विदेश पुगेका नेपाली विद्यार्थीहरूलाई विदेशमा पढ्न सहज छ? अध्ययन र आर्जन एकैपटक गर्न सहज छ? वा ठूला–ठूला कठिनाइहरूको सामना गर्नुपरिरहेको छ? अध्ययन समाप्त भएपछि विदेश पुगेका नेपाली विद्यार्थीहरूले त्यहाँ के सजिलै किसिमले काम पाइरहेका छन्? अध्ययन समाप्त भएर पनि काम नपाएको र विदेशमा बस्न पाउने अध्ययन भिसा अवधि समाप्त भएको स्थितिमा नेपाली विद्यार्थीहरूले के कस्ता समस्याहरू भोगिरहेका छन्?

नेपाली विद्यार्थीहरूलाई विदेश पढ्न पठाउँदा देशले कति रुपियाँ खर्च गरिरहनु परेको छ? विद्यार्थीहरूलाई नेपालमा अध्ययन गर्न किन हाम्रा विश्व विद्यालयहरूले आकर्षित गरिरहेका छैनन्? यति ठूलो सङ्ख्यामा नेपालीहरू अध्ययनको लागि विदेश जाँदा देशले कुन परिमाणमा जनशक्ति गुमाइरहेको छ? यस्ता विषयहरूमा चर्चा भएको पाइँदैन। यस्ता विषयहरूले महत्व पाएको पनि देखिंदैन।

नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनको लागि पठाउँदा देशले ठूलो परिमाणमा विदेशी मुद्रा (डलर, पाउन्ड, भारतीय रुपियाँ) खर्च गरिरहनुपरेको छ। हामीले विभिन्न देशबाट कमाएर ल्याएको पैसा (रेमिट्यान्स), पर्यटन क्षेत्रबाट आएको आम्दानी, वैदेशिक व्यापारबाट प्राप्त आय विदेशका अनेक विश्व विद्यालयहरूलाई भुक्तान गर्नमा खर्च गरिरहेका छौं। अहिले हामी विभिन्न देशका, विभिन्न विश्वविद्यालयका, राम्रो आम्दानी गराउने ग्राहक हुन पुगेका छौं। भारत, पाकिस्तान, बङ्गलादेशजस्ता मुलुकहरूमा पुगेका नेपाली विद्यार्थीहरूले त अध्ययन समाप्त गरेपछि ती देशहरूमा काम गर्न पनि पाउँदैनन्। अध्ययन समाप्त गरेपछि अनिवार्यरूपमा स्वदेश (नेपाल) फर्किन नै पर्छ। तर पनि बर्सेनि पाकिस्तान, भारत एवं बङ्गलादेशका अनेक विश्वविद्यालयहरूलाई राम्रो आम्दानी गराइरहेका छौं। भारतका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीमाथि हुने दुव्र्यवहार पनि टुलुटुलु हेरेर बसिरहेका छौं। के विदेशमा पाउने शिक्षा हामीले हाम्रा सन्तानहरूलाई नेपालमैं दिन सक्तैनौं? के नेपाली विश्वविद्यालहरूलाई हामी सक्षम पार्न सक्तैनौं?

आफ्ना सन्तानलाई विदेश अध्ययनका लागि पठाउँदा हामीले लाखौं रुपियाँ खर्च गरिरहेका छौं। भोलिका दिनमा उनीहरूको जीवन विदेशमा सहज र सुखद होला भन्ने कामना गरिरहेका छौं। सपना देखिरहेका छौं। तर के हाम्रा सन्तानले विदेशमा सहज अध्ययन र आर्जन गर्न पाएका छन् त? यसतर्फ हामीले गम्भीरतापूर्व सोचेका छैनौं। अध्ययनका लागि विदेश जाने योजनामा रहेका हाम्रा सन्तानले यो विषयलाई गम्भीरतापूर्व लिने त झन् कुरै भएन। विदेश पढ्न जानु जीवनमा सफल हुनु भन्ने मान्यता हाम्रो समाजमा स्थापित भएकोले हाम्रा सन्तानहरूले हाई स्कूल हुँदादेखि नै अध्ययनका लागि विदेश जाने सपना देखिसकेका हुन्छन्।

अध्ययनका लागि संसारका अनेक र खासगरी धनी देशहरूमा पुगेका नेपाली विद्यार्थीहरूको आर्थिक स्थिति कस्तो छ, आउनुहोस् त्यसबारे चर्चा गरौं। अहिले विदेश पुगेका नेपालीहरूलाई बाहिर काम पाउन सजिलो छैन। सर्वप्रथम त, नेपाली वा अर्को देशबाट आएका विद्यार्थीहरूले त्यहाँ काम गर्नु नै गैरकानूनी हो। अध्ययनका लागि विदेश पुगेका विद्यार्थीहरूलाई, धेरै देशहरूमा, काम गर्न नदिने कानूनी व्यवस्था छ। त्यस्ता विद्यार्थीहरूले केवल तोकिएको समयसम्म आफ्नो कलेज वा विश्वविद्यालयमा काम गर्न पाउने कानूनी व्यवस्था भने केही मुलुकहरूमा भने छ। तर त्यसरी र त्यति काम गरेर प्राप्त आयले बसाइ, अध्ययन एवं खानपिन खर्च भुक्तान गर्न सम्भव हुँदैन। र यस्तो अवस्थाले विद्यार्थीहरूलाई तनावको स्थितिमा पुर्याउँछ। नेपाल वा आफनो देशबाट अभिभावकहरूसँग पैसा मागेर त्यस्ता खर्चको भुक्तानी दिनु सम्भव पनि हुँदैन। नेपालबाट आउँदा नै नेपाली विद्यार्थी वा तिनका अभिभावकहरूले ठूलो ऋण लिइसकेका हुन्छन्।

स्नातकोत्तर र विद्यावारिधि गर्न विदेशका अन्य विश्वविद्यालयहरूमा पुगेका विद्यार्थीहरूले भने ठूलो आर्थिक समस्या भोग्नुपर्दैन। उनीहरूले आफू अध्ययनरत विश्वविद्यालले दिने ‘आर्थिक सहयोग’ ले अध्ययन खर्च जुटाउन सक्छन्। ठूलो मितव्ययिता गरेर मासिक सानो रकम बचत गर्न पनि सक्छन्, तर अध्ययन समाप्त गरेपछि उनीहरूले विश्व विद्यालबाट पाउने सहयोग बन्द हुन्छ र अनिवार्यरूपमा जागीर खोज्नुपर्छ। जागीर पाएपछि, जागीरेहरूले पाउने भिसा पाएपछि, अनि मात्र उनीहरूको त्यहाँको बसाइ कानूनी हुन्छ। जागीर नपाए, बसाइ गैरकानूनी हुन पुगे स्वदेश फर्किनुपर्ने स्थिति हुन्छ। अन्यथा त्यहाँको बसाइ गैरकानूनी हुन्छ।

यमनको गृहयुद्ध, सुडान–सङ्घर्ष, इजराइल–हमास युद्ध, युक्रेन–रूस युद्ध जस्ता दीर्घकालीन पिरलोहरूले विश्व अर्थ व्यवस्थालाई राम्ररी काम गर्न दिइरहेका छैनन्। विश्व अर्थ व्यवस्था अहिले राम्रो स्थितिमा छैन। रोजगारको स्थिति अहिले संसारभरि नै राम्रो छैन। यस्तो स्थितिमा अध्ययनका लागि संसारका अनेक विश्व विद्यालयमा पुगेका नेपाली विद्यार्थीहरूले, र खासगरी नेपालमा केवल प्लस टु गरेर थप शिक्षाका लागि विदेश पुगेका नेपाली विद्यार्थीहरूले आफू पुगेको देशमा काम पाउन सजिलो छैन, निकै कठिन छ। यो गम्भीर विषय हामी सबै अभिभावकले गम्भीरतापूर्वक बुझ्न आवश्यक छ। नेपालमा प्लस टु सक्याएर विदेशका विश्वविद्यालयहरूमा पढ्न जान कम्मर कसेका हाम्रा सानासाना बच्चाहरूले त झनै गम्भीरतापूर्वक बुझ्न आवश्यक छ। 

हामीले नेपालमैं शिक्षाको स्तर वृद्धि गर्न आवश्यक छ। र त्योभन्दा पनि ठूलो कुरा नेपाली शिक्षाको स्तरमा नेपाली विद्यार्थी एवं अभिभावकहरूको विश्वास जागृत गराउन आवश्यक छ। हाम्रो शिक्षा रोजगारमुखी छैन, त्यो सत्य हो। तर ज्ञानको हिसाबले संसारको कुनै पनि देशको शिक्षासँग प्रतिस्पर्धा गर्न सक्छ। ज्ञानको हिसाबले हाम्रो शिक्षा प्रणाली, शिक्षा सामग्री, शिक्षा स्रोत विश्वको नाम चलेका विश्वविद्यालयको स्तरको छ। हामीले शिक्षा प्रणालीलाई रोजगारमुखी पार्ने हो, नेपाली शिक्षामा अभिभावकहरूको विश्वास जागृत गर्ने हो भने यसरी ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू अध्ययनको लागि विदेश जाने स्थितिमा परिवर्तन ल्याउन सक्छौं। हाम्रा विद्यार्थीहरू स्वदेशमैं बसेर, परिवारसँग रहेर, पढ्न र जागीर पनि स्वदेशमैं गर्न पाउने स्थिति सृजना गर्न सक्छौं।

अब प्रसङ्ग परिवर्तन गरौं। ‘उडिसाको केआइआइटीकी विद्यार्थी मृत फेला, सबै नेपाली विद्यार्थीलाई घर फर्काइयो’, कान्तिपुर दैनिकले फागुन ५, २०८१ मा प्रकाशित गरेको समाचारको शीर्षक हो। उक्त समाचारमा भनिएको छ–‘भारतीय राज्य उडिसाको राजधानी भुवनेश्वरको कलिङ्ग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा बी–टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतवार आत्महत्या गरेकी छन्।’

कान्तिपुर थप लेख्छ–“साँझ ४–५ बजे आत्महत्याको खबर विश्वविद्यालयमा फैलिएको र तुरुन्तै उनलाई किम्स अस्पताल लगिएको एक नेपाली विद्यार्थीले जानकारी दिए। राति १० बजेदेखि होस्टेलमा प्रदर्शन शुरू भएको र सोमवार बिहान सबैलाई ‘डिपोर्ट’ गर्न थालिएको उनले बताए। ‘म खाजा खान मेसतिर जाँदै थिएँ, वार्डेनले तिमीहरू घर फर्कनुपर्छ भने’–उनले बताए– ‘जान नमान्नेलाई सेक्युरिटी गार्डले कुटे।’

कान्तिपुरको सम्पर्कमा आएका विद्यार्थीहरूका अनुसार ५ सयभन्दा धेरै नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेशन ल्याएर छोडिदिएको छ। नेपाल जाने रेल बिहीवार मात्र चल्ने भएकाले आफूहरू अलपत्र परेको उनीहरूले बताए।

भारतको उडिसा राज्यस्थित केआइआइटीमा भएको त्यो घटनाको न्यायिक छानबीन होला। सत्य–तथ्य पछि सार्वजनिक होला।

यो प्रसङ्ग विदेशमा अध्ययन गर्न नेपाली विद्यार्थीहरूलाई, सोचेजति सहज छैन, भनी बताउनका लागि गरिएको हो।

भारत मात्र होइन, अध्ययनका लागि संसारका कुनै पनि विश्वविद्यालय पुगेका नेपाली विद्यार्थीलाई ‘विदेशमा अध्ययन’ सोचेजति सहज छैन। मानसिक र आर्थिक दुवै किसिमले सहज छैन। आर्थिक सहजता पटक्कै छैन। एउटै समयमा अध्ययन गर्नु र आर्जन पनि गर्नु, नेपाली विद्यार्थीहरूका लागि फलामको चिउरा चपाउनु सरह भएको छ। 

हाम्रा नेताहरूले नेपाली विद्यार्थीहरूको यो पीडा बुझून्! देशको आर्थिक विकास गरून्! इमानदार बनून्! सत्तामोह त्यागेर विकासका लागि सहमति गर्दै अगाडि बढून्! साधन र स्रोतले भरिएको हाम्रो देशमा अठोटको मात्र खाँचो छ। अहिलेलाई यही कामना गर्न सकिन्छ।








विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, February 21, 2025

https://eprateekdaily.com/2025/02/21/81587/ 

Friday, February 14, 2025

Bad Economic Impacts of Migration-Article-589

 स्थानान्तरणको आर्थिक कुप्रभाव

अहिले विश्वभरि ठूलो सङ्ख्यामा स्थानान्तरण भइरहेको छ। अभूतपूर्व किसिमले स्थानीय तथा अन्तर्राष्ट्रिय स्थानान्तरण भइरहेको छ। खासगरी दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एशियाका विभिन्न देशका नागरिकहरू ठूलो सङ्ख्यामा आप्mनो मुलुक छाडेर आर्थिक लाभका लागि अन्य विभिन्न राष्ट्रमा पुगिरहेका छन्। सामान्य होइन, उच्च जोखिम लिएर अनेक देशमा पुगिरहेका छन् । अल्प वा दीर्घकालका लागि विदेश बस्ने सुरमा राष्ट्रिय सिमाना काटिरहेका छन्। बाध्यताले होइन, स्वेच्छाले केवल सुविधायुक्त जीवनका लागि परिवार, समाज र देश परित्याग गरिरहेका छन्।

यस लेखमा भने अन्तर्राष्ट्रिय स्थानान्तरणबारे चर्चा गरिने छ। अन्तर्राष्ट्रिय स्थानान्तरणले पार्ने आर्थिक प्रभावबारे चर्चा गरिने छ।

अहिले पनि ठूलो सङ्ख्यामा मानिस यो विश्वास गर्छन् कि स्थानान्तरण गर्ने व्यक्ति एवं उक्त व्यक्तिको राष्ट्र आर्थिक रूपमा बढी फाइदामा हुन्छ। यो विश्वास सत्य होइन। स्थानान्तरण गर्ने व्यक्तिले लघुकालमा आर्थिक फाइदा प्राप्त गरे तापनि दीर्घकालमा सोचेजति आर्थिक लाभ प्राप्त गर्दैन। स्थानान्तरण गर्ने व्यक्तिको राष्ट्रले त कुनै पनि किसिमले आर्थिक लाभ प्राप्त गर्दैन। उल्टो ठूलो आर्थिक क्षति बेहोर्छ।

जुन देशमा बढी व्यक्ति अनेक देशहरूबाट स्थानान्तरण भएर आउँछन् त्यो देशले यथार्थमा, बढी आर्थिक लाभ प्राप्त गर्दछ। यो तथ्य अमेरिका र युरोपका राष्ट्रहरूमा बढी लागू हुन्छ। अमेरिकाको आर्थिक विकासमा यस देशमा विश्वका अनेक राष्ट्रहरूबाट स्थानान्तरण गरेर आउने व्यक्तिहरूको विशेष योगदान रहेको छ। अमेरिकालाई ‘आप्रवासीहरूको देश’ पनि भन्ने गरिन्छ।

जुन देशबाट ठूलो सङ्ख्यामा व्यक्तिहरू स्थानान्तरण भएर कामका लागि जान्छन् त्यो देशले भने ठूलो आर्थिक क्षति बेहोर्नुपर्छ। विदेश गएकाहरूले आफ्नो देशमा ठूलो परिमाणमा रेमिट्यान्स पठाउने गर्छन्। देशको आर्थिक विकासमा त्यो रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यस्तो विश्वास गर्नेहरू पनि छन्। तर यो यथार्थमा त्यो विश्वास सही होइन। रेमिट्यान्सले, रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रलाई अल्पकालमा लाभ पुर्याउँछ तर दीर्घकालमा ठूलो आर्थिक क्षति पुर्याउँछ। ठूलो परिमाणमा रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रको अर्थ व्यवस्था कालान्तरमा रेमिट्यान्समा आश्रित हुन पुग्छ र त्यस देशमा कृषि र औद्योगिक विकासको गति अति सुस्त हुन पुग्छ। रेमिट्यान्स बढी प्राप्त गर्ने देशले निर्यात कम र आयात बढी गर्न थाल्छ। रेमिट्यान्समा आश्रित राष्ट्रको स्थिति– ‘एउटा देशबाट कमाएर ल्याएको पैसा अर्को राष्ट्रमा खर्च गर्यो’ हुन पुग्दछ।

नेपालमा अहिले यही भइरहेको छ। नेपालको अर्थ व्यवस्था अहिले रेमिट्यान्समा आश्रित हुन पुगेको छ। विदेशबाट कमाएर ल्याएको पैसा हामी विकासमा होइन, दैनिक उपभोगका वस्तु खरीद गर्न खर्च गरिरहेका छौं र ती दैनिक उपभोगका वस्तुहरू भारत एवं चीनबाट ठूलो सङ्ख्या एवं परिमाणमा आयात गरिरहेका छौं। हामीले विदेशबाट आर्जन गरेर ल्याएको पैसा भारत र चीनका अनेक बजारमा पुगिरहेका छन् तर नेपालको आर्थिक विकासमा प्रयोग हुन सकिरहेको छैन। नेपालीले विदेशमा कमाएको पैसाले भारत र चीनको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। खासगरी भारतका बजारहरूलाई गुलजार बनाइरहेको छ।

सन् २०२४ मा ठूलो परमाणमा रेमिट्यान्स पाउने राष्ट्रहरूको सूची यस प्रकार रहेको थियो– १. भारत २. मेक्सिको ३. चीन, ४. फिलिपिन्स, ५. पाकिस्तान, ६. बङ्गलादेश, ७. इजिप्ट, ८. ग्वाटेमाला, ९. नाइजेरिया, १०. उज्बेकिस्तान, ११. इन्डोनेशिया, १२. भिएतनाम, १३. युक्रेन, १४. मोरक्को १५. कोलम्बिया, १६. नेपाल, १७. डोमिनिकन रिपब्लिक, १८. थाइल्यान्ड, १९. होन्डुरस र २०. एल सल्भाडोर।

सन् २०२४ मा आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको तुलनामा सर्वाधिक रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रहरूको सूची यस प्रकार थियो– १. ताजकिस्तान, २. टोंगा, ३. निकारागुवा, ४. लेबेनान, ५. समोआ, ६. नेपाल, ७. होन्डुरस, ८. किर्गिज गणतन्त्र, ९. एल सल्भाडोर, १०. गाम्बिया, ११. लेसेथो, १२. गाजा (पश्चिमी किनार) १३. क्यामरोस, १४. ग्वाटेमाला, १५. हाइटी, १६. जमैका, १७. कोसोभो, १८. उज्बेकिस्तान, १९. लाइबेरिया र २० जर्जिया।

रेमिट्यान्स ठूलो परिमाणमा प्राप्त गर्ने राष्ट्रहरू गरीब रहेको माथिको जानकारीबाट पुष्टि हुन्छ। चीन, भारत, मेक्सिकोजस्ता ठूला अर्थ व्यवस्था भएका राष्ट्रहरू पनि बढी रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रहरूको सूचीमा छन् तर अर्थ व्यवस्थाको दृष्टिकोणले चीन, भारत र मेक्सिको ठूलो देखिए तापनि यी देशहरूमा गरीबहरूको ठूलो सङ्ख्या छ। भारतको गरीबी त झनै डरलाग्दो छ। भारतमा ९ करोड ३० लाख व्यक्तिहरू अहिले पनि झोपडपट्टीमा बस्छन्। उनीहरूसँग निजी स्वामित्व तथा व्यवस्थित घर छैन।

भारतीय र मेक्सिकनहरूले त संसारका विभिन्न देशहरूलाई स्थानान्तरण गरेर धनी हुन सघाउ पुर्याएका छन्। संयुक्त अधिराज्यलगायत युरोपका अनेक देशमा भारतीय आप्रवासीहरूको बसोवास ठूलो सङ्ख्यामा छ। यसैगरी उत्तरी अमेरिकाका देशहरू– संयुक्त राज्य अमेरिका एवं क्यानाडामा भारतीय आप्रवासीहरूको बसोवास ठूलो सङ्ख्यामा छ। संयुक्त राज्य अमेरिकाको श्रम बजारमा मेक्सिकनहरूको उपस्थिति ठूलो सङ्ख्यामा छ। मेक्सिकनहरू संयुक्त राज्य अमेरिका आएर अमेरिकालाई श्रम आपूर्ति गर्न अति नै सजिलो भएको छ। अमेरिकाको निर्माण एवं मरम्मत क्षेत्रमा मेक्सिकन आप्रवासीहरूको उपस्थिति ठूलो सङ्ख्यामा रहेको छ।

ठूलो परिमाणमा रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रहरूको सूचीमा युरोपका राष्ट्रहरूको नाम बिरलै देख्न पाइन्छ। स्वीटजरल्यान्ड, नर्वे, फिनल्यान्ड, स्वीडेन जस्ता युरोपेली राष्ट्रहरूले ठूलो परिमाणमा रेमिट्यान्स प्राप्त गरेको सुनिएको छ? युरोपका धेरै राष्ट्रले आफ्ना नागरिकको श्रम स्वदेशमैं उपयोग गर्ने गरेकाले त्यहाँका नागरिक रोजगारका लागि संसारका अनेक देश पुग्नुपर्ने बाध्यता छैन। युरोपका धेरै देश, आफ्ना नागरिकको महत्वपूर्ण श्रम स्वदेशमैं उपयोग गरेर, धनी भएका छन्।

त्यस्ता देशहरूका लागि रेमिट्यान्स झनै घातक हुन्छ, जसले रेमिट्यान्सको प्रयोग केवल विदेशबाट दैनिक उपभोग्य वस्तुहरू खरीद गर्न प्रयोग गर्छन्। विकास एवं निर्माणमा गर्दैनन्। जस्तै नेपाल। नेपालमा रेमिट्यान्सको प्रयोग केवल दैनिक उपभोग्य वस्तुहरू विदेशबाट खरीद गर्नमा भइरहेको छ।

अन्तर्राष्ट्रिय स्थानान्तरणले श्रमिक गुमाउने राष्ट्रलाई आर्थिकरूपमा बढी क्षति हुन्छ। अर्थात् जुन देशबाट ठूलो सङ्ख्यामा व्यक्तिहरू रोजगारका लागि विश्वका अनेक राष्ट्रमा पुग्छन् त्यस राष्ट्रले दीर्घकालमा ठूलो आर्थिक क्षति बेहोर्नुपर्छ। हामीले यो कुरा राम्ररी बुझ्न आवश्यक छ।

अन्तर्राष्ट्रिय स्थानान्तरणले श्रमिक गुमाउने राष्ट्रलाई आर्थिकरूपमा बढी क्षति हुन्छ। यो तथ्य विश्वभरि लागू हुन्छ। यो तथ्यलाई राम्ररी मनन गरेर नेपालबाट भइरहेको ठूलो सङ्ख्याको ‘श्रम पलायन’ रोक्न राजनीतिक दल, सरकार एवं सम्बन्धित पक्षहरूले अनेक किसिमका योजना तथा कार्यक्रमहरू निर्माण गर्न आवश्यक छ। यस विषयमा गम्भीरतापूर्व सोच्न आवश्यक छ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, February 14, 2025

https://eprateekdaily.com/2025/02/14/81118/ 

Tuesday, February 11, 2025

Causes of Migration in Big Numbers Worldwide-Article- 588

 किन हुन्छ ठूलो संख्यामा स्थानान्तरण?

प्रत्येक वर्ष विश्वभरि ठूलो संख्यामा स्थानान्तरण हुन्छ। र स्थानान्तरण दुई किसिमले हुन्छ। पहिलो स्थानान्तरण स्थानीय वा राष्ट्रिय हुन्छ जस अन्तर्गत व्यक्तिहरू स्वदेशकै एक स्थानबाट अर्को स्थानमा बसाई सर्छन। स्थानान्तरण गर्छन। दोस्रो स्थानान्तरण अन्तरार्ष्ट्रिय हुन्छ जस अन्तर्गत व्यक्तिहरू स्वदेशबाट विश्वका अनेक राष्ट्रहरूमा पुग्छन। अनुमान गरिए अनुसार सन् २०२० मा विश्वभरिबाट २८ करोड ब्यक्तिहरूले स्वदेश छाडेर विदेशको लागि प्रस्थान गरेका थिए। जीवनको बाँकि काल विदेशमा बिताउने उद्देश्यका साथ त्यहाँ पुगेका थिए। संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, ग्रेट ब्रिटेन जस्ता राष्ट्रहरू आप्रवासीहरूको लागि महत्वपूर्ण गन्तब्यको रुपमा रहेका छन्। यी राष्ट्रहरूमा वर्षेनी लाखौं व्यक्तिहरूले कानूनी एवं गैर कानूनी रुपमा प्रवेश गर्ने प्रयास गर्छन।

यस आलेखमा अन्तरार्ष्ट्रिय स्थानान्तरणबारे चर्चा गरिने छ। अन्तरार्ष्ट्रिय स्तरमा ठूलो संख्यामा हुने स्थानान्तरणबारे चर्चा गरिने छ।

अमेरिकामा, विश्वभरिमा नै सर्वाधिक आप्रवासीहरूको बसोबास रहेको विश्वास गरिन्छ। सन् २०२३ मा संयुक्त राज्य अमेरिकमा बस्ने आप्रवासीहरूको संख्या ४ करोड ७८ लाख थियो जुन अमेरिकाको तत्कालीन कुल जनसंख्याको १४.३ प्रतिशत थियो। सन् २०२२ मा अमेरिकामा गैर कानूनी रुपमा बस्ने आप्रवासीहरूको संख्या १ करोड १० लाख थियो जुन अमेरिकाको तत्कालीन कुल जनसंख्याको ३.३ प्रतिशत थियो। अमेरिकाको दक्षिणी निकट छिमेकी राष्ट्र मेक्सिको र त्यस वरपरका अनेक राष्ट्रहरू- ग्वाटेमाला, होण्डुरस, यल साल्भाडोर, क्युवा, भेनेजुएला, कोल्मबियाबाट ठूलो संख्यामा प्रत्येक दिन हजारौं व्यक्तिहरूले अमेरिका बसाई सर्ने उद्देश्यका साथ गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने प्रयास गर्छन। यसैगरी दक्षिण एशियाको भारत, बंगलादेश, पाकिस्तान, नेपालबाट पनि ठूलो संख्यामा आप्रवासीहरूले गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्न प्रयास गरेको पाइन्छ। अफ्रिकाका देशहरूबाट पनि ठूलो सख्यामा व्यक्तिहरुले गैर कानूनी रुपमा अमरिका प्रवेश गर्ने प्रयास गरेको पाइन्छ। मेक्सिको हुँदै गैरकानूनी रुपमा अमेरिका पस्न खोज्ने बाटो जुन तल्लो बाटो’ को रुपमा पनि चर्चित छ, ज्यादै दर्दनाक रहेको सुनिएको छ। यो बाटो हुँदै, अनेक देशहरूबाट गैर कानूनी रुपमा अमेरिका पस्न खोज्नेहरू मध्ये सयौं अमेरिका आउन नपाएर बाटोमा अलपत्र परेको, सयौंको ज्यान समेत गएको समाचारहरूमा उल्लेख गरिएको पाइन्छ। माथिको विवरण त गैर कानूनी रुपमा अमेरिका पस्नेहरूको रहेको पाइयो। कानूनी रुपमा पनि वर्षेनी हजारौ व्यक्तिहरू विश्वका अनेक देशहरूबाट अमेरिका प्रवेश गर्छन।

युरोपको कथा पनि त्येतिकै दु:खान्त छ। इटालीको एक सानो टापु लाम्पेडुसा, जुन उत्तर अफ्रिकाबाट केवल १०० किलोमिटर पर छ, मानव तस्करीका लागि जहिले पनि चर्चामा रहने गरेको छ। अफ्रिकी मानव तस्कहरूले ठूलो संक्यामा अफ्रिकाका अनेक देशहरूबाट अनेक व्यक्तिहरूलाई ‘युरोपका अनेक देशहरूमा पुग्ने लोभमा’ लाम्पेडुसा पुर्याउछन। लाम्पेडुसाबाट सजिलै युरोपका देशहरूमा ‘सरणार्थी’ भएर पुग्न सकिने लोभ देखाउँछन। यी मानव तस्करहरूले एक जनालाई अफ्रिकाको नाकाबाट लाम्पेडुसा पुर्याए बापत हजारौं डलर लिन्छन। मानव तस्कारहरूले तिन वा चार सय जना अटाउने डुंगमा एक हजार जति मानिसहरुलाई सबार गराएर लाम्पेडुसा पुर्याउन खोज्दा डुंगाको क्षमताले नभ्याएर, डुंगा समुन्द्रमा डुबेर, बर्षेनी हजारौ व्यक्तिहरूको ज्यान जानेक गरेको छ। सन् २०२३ यसै किसिमले अफ्रिकी मानव तस्करहरूले विभिन्न अफ्रिकीहरूलाई लाम्पेडुसा पुर्याउँदा डुंगा पल्टेर २ हजार अफ्रिकीहरूको ज्यान गएको थियो। मानव तस्करहरूको यस्तो कुकृत्यले गर्दा लाम्पेडुसा ‘मृत्युघाट’ हुन पुगेको छ। अफ्रिकी मानव तस्करहरूले एकजनाई लाम्पेडुसा पुर्याए बापत दुई देखि १० हजार डलरसम्म लिने गर्दछन रे।   

यस आलेखमा व्यक्तिहरूले विश्वभरिबाट नै आफ्नो देश त्यागेर अन्य देश पस्ने इच्छा किन राख्छन त्यस बारे विशेष चर्चा गर्न खोजिएको छ। ज्यान नै जोखिममा राखेर किन आप्रवासी हुन रुचाउँछन त्यसबारे विशेष चर्चा गर्न खोजिएको छ।। उन्नतिको बाटो केवल स्वदेश परित्याग हो भन्ने निर्णय किन गर्छन त्यसबारे विशेष चर्चा गर्न खोजिएको छ।

अन्तरार्ष्ट्रिय स्थानान्तरणको प्रमुख कारण आर्थिक नै हो। आर्थिक लोभलेले गर्दा नै वर्षेनी हजारौं, लाखौंको संख्यामा व्यक्तिहरूले स्वदेस परित्याग गर्छन। परिवार, समाज र राष्ट्र परित्याग गरेर विदेशमा बस्न रुचाउँछन। प्रवासी जीवन रोज्छन।

विदेशमा पुगेर आर्थिक सम्पन्नता हासिल होला। धन आर्जन गरिएला। जीवन सरल होला। राम्रो घरमा बस्न पाइएला। आफ्नै मोटर कारमा घुम्न पाइने सपना पूरा होला। यस्तै यस्तै सपनाका साथ आप्रवासीहरू विदेशका विभिन्न राष्ट्रहरूमा पुगेको पाइन्छ। हुन त केहीले स्वदेशमा भएको हत्या, हिंसा र अनवरत संघर्ष छल्न व्यक्तिहरूल स्वदेश परित्याग गरेको भन्ने गरेका छन्। यसैगरी गृह युद्ध छल्न पनि धेरैले स्वदेश परित्याग गरि विदेशको जीवन रोजेको सुनिएको छ। तर यथार्थमा अन्तरार्ष्ट्रिय स्थानान्तरणको ठूलो कारण आर्थिक लाभ नै हो। स्वदेश भन्दा बढी आर्जन होला। जीवन सुखमय एवं सरल होला भन्ने उद्देश्यका साथ नै ठूलो संख्यामा व्यक्तिहरूले स्वदेश परित्याग गरेर विदेशी जीवन रोजेको पाइन्छ। वर्तमान अनुभवले त्येही देखाइरहेको छ।  

तर विदेश पुगेर के साँच्चिकै आप्रवासीहरूले सोच जस्तो, योजना गरे जस्तो, सपना देखे जस्तो, धन आर्जन गर्न सकेका छन् त? यो प्रश्नको स्पष्ट उत्तर छ, छैनन।

केही आप्रवासीहरूले विदेशी-भूमिमा प्रशस्त धन कमाएको र आरामको जीवन बिताएको उदाहरणहरू भने छन्। तर वहुसंख्यक आप्रवासीहरूको स्थिति भने त्यस्तो छैन। वहुसंख्यकले केवल स्वदेश भन्दा विदेशमा आर्थिक जीवन केही सरल भएको अनुभूत मात्र गरेका छन। आर्थिक जीवन केही सजिलो भएको पाएका छन्। स्थिति यस्तो हुँदा हुँदै पनि किन लाखोंको संख्यामा व्यक्तिहरूले स्वदेश परित्याग गरिरहेका छन् त? किन आप्रवासी जीवन रोजिरहेका छन् त? गुमनाम भएरनै पनि विदेशमा बस्न किन रुचाइरहेका छन् त? यी प्रश्नहरूको अनुसन्धानमा आधारित उत्तर त छैन। तर आप्रवासी हुने प्रवृतिको प्रकृति अनुसार माथिका प्रश्नहरूको उत्तर के होला भनी अनुमान भने लगाउन सकिन्छ। र त्यो अनुमानले के भन्छ भने वर्षेनी लाखौ व्यक्तिहरूले केवल लहैलहैमा लागेर स्वदेश परित्याग गरिरहेका छन्। केवल देखासिकी गरेर स्वदेश परित्याग गरिरहेका छन्। केवल रहरमा स्वदेश परित्याग गरिरहेका छन। स्वदेश भन्दा विदशमा मज्जाको जीवन बाँच्न पाइएला भन्ने आशमा स्वदेश परित्या गरिरहेका छन। र यो अनुमान विश्वभरिका अन्तरार्ष्ट्रिय रुपमा स्थानान्तरण गर्ने व्यक्तिहरूमा लागु हुन्छ। लहैलहैमा लागेर संसार भरिका लाखौ व्यक्तिहरूले स्वदेश परित्याग गरिरहेका छन्। प्रवाशी जीवन रोजिरहेका छन।

भएको भन्दा होला भन्ने मा रमाउने मानिसमा पाइने एक विशेष किसिमको प्रवृति हो। कुनै व्यक्ति आफ्नो देशमा रहँदा आफूलाई खुसी र खुसी पाउँदैन। विदेश पुगेपछि मात्र सुखी हुने विश्वास लिन्छ। र यो विश्वासले नै उक्त व्यक्तिलाई ‘रकेट लन्चर’ ले झै विदेशी भूमिमा हुत्याएर पुर्याउँछ। वर्तमान विश्वमा व्यक्तिहरू आफ्नो इच्छाले भन्दा देखासिकीले गर्दा विश्वका अनेक देशमा पुगिरहेका छन्। बाध्यताले गर्दा होइन, स्वेच्छा प्रवाशी जीवन रोजिरहेका छन्। सुखी र खुसी जीवनका लागि विदेश जानु पर्छ भन्ने अहिले एक किसिमको ‘अन्तरार्ष्ट्रिय मनोविज्ञान’ हुन पुगेको छ। यो अन्तरार्ष्ट्रिय मनोविज्ञानले अहिले विश्वभरिका नागरिकहरूलाई शान्तिसङ्ग बस्न दिएको छैन।

दक्षिण एशियालाई अहिले ‘स्वदेश परित्याग’ गर्नु पर्छ, यदि आर्थिक प्रगति गर्न हो भने, भन्ने मनोविज्ञानले बढी सताएको छ। नेपाललाई त झनै बढी सताएको छ। अति नै सताएको छ। अहिले नेपालीहरूले स्वदेशमा आफ्नो भविष्य सुरक्षितसम्म पनि देखिरहेका छैनन। अनुमान गरिए अनुसार अहिले १ करोड नेपालीहरूले स्वदेश परित्याग गरिसकेका छन। यो ज्यादै दु:खद स्थिति हो।

जुन देशको नागरिक जति ठूलो संख्यामा विदेशतिर लाग्छन त्यो देशको आर्थिक विकासको गति त्येति नै मन्द हुन पुग्छ। उत्तम कुरा आफ्नो देशको आर्थिक विकास गरेर आफ्नो देशमा नै बस्नु हो। अहिले हामी नेपालीहरूलाई हाम्रो गरिबीले होइन विदेश जानु पर्छ भन्ने मनोविज्ञानले विश्वका अनेक राष्ट्रहरूमा पुर्याइ रहेको छ।

दुई कुराहरू राम्रो गरी मनन गर्न आश्यक छ। ती हुन्- जति सुकै ठूलो परिमाणमा रेमिट्यान्स कुनै देशमा आए पनि त्यो रेमिट्यान्सले त्यस देशको आर्थिक विकास हुन सक्तैन। कुनै राष्ट्रको जनसंख्याको  ठूलो भाग विदेश पलायन भएमा त्यस देशले आर्थिक विकास गर्न सक्तैन।

अन्तिम महत्वपूर्ण कुरा- आप्रवासीहरूको आगमनले धेरै देशहरू धनी भएका छन। तर जुन देशका नागरिकहरुले, ठूलो संख्यामा आप्रवासी भएर विदेशी जीवन बिताइरहेका छन, उनीहरूको देश गरिब हुन पुगेको छ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, February 7, 2025

Sunday, February 2, 2025

Bright Nepali Economy Future-Article-587

 नेपालको आर्थिक भविष्य उज्ज्वल छ

नेपालमा राजनीतिक स्थिरता छैन। नेताहरूमा इमानदारी छैन। पद र सत्ता लोलुप नेताहरूको स्वार्थी व्यवहारले गर्दा देशमा आर्थिक विकास भइरहेको छैन। देशभित्र रोजगार छैन। रोजगारका लागि दिनहुँ ठूलो सङ्ख्यामा युवाहरू देश छोडिरहेका छन्। शहर वा गाउँका घरहरू युवाविहीन भएका छन्।

देशभित्र उद्योग एवं व्यापारको स्थिति चौपट छ। उद्योगहरू बन्द हुँदैछन्। कृषिको स्थिति दयनीय छ। हामी दाल, चामल, फलपूmल पनि आयात गर्ने स्थितिमा छौं। भारतबाट खाद्यान्न, ऊर्जा (पेट्रोलियम पदार्थ), औषधि आयात नगर्ने हो भने हामी बाँच्न सक्दैनौं।

आर्थिकरूपमा नेपाल जर्जर हुन पुगेको छ। विदेशमा काम गरिरहेका नेपालीहरूले रेमिट्यान्स नपठाउने हो भने नेपालमा कर्मचारीहरूलाई तलब दिन पनि रकम नपुग्ने स्थिति छ। नेपालभित्र उठ्ने करले साधारण खर्च पनि भुक्तान गर्न सकिंदैन। विकास खर्चका लागि अनिवार्यरूपले वैदेशिक ऋण लिनुपर्ने स्थिति छ। देशको टाउकोमा ठूलो ऋणभार छ। सन् २०२२ सम्म प्रत्येक नेपालीको शिरमा ऋण भार लगभग रु ७० हजार थियो भने अहिले त्यो वृद्धि भएर (सन् २०२४) लगभग रु ८२ हजार हुन पुगेको छ।

रोजगार दिने नसक्ने स्वदेशका विश्व विद्यालयहरूको शिक्षा प्रणालीबाट निराश भएका नेपाली युवाहरू कलिलो उमेरमा नै अध्ययनका लागि विश्वका अनेकौं देशका कलेज एवं विश्वविद्यालय पुगिरहेका छन्। नेपालका कलेजहरूमा विद्यार्थीहरूको सङ्ख्यामा ठूलो कमी आएको छ। प्लस टु गर्नेबित्तिकै नेपाली युवाहरू विदेशका कलेजहरूमा पढ्न पुगिरहेका छन्। तिनका लागि देशले ठूलो मात्रामा वैदेशिक मुद्रा (डलर) भुक्तान गर्नुपरिरहेको दुःखद स्थिति छ। यदि ठूलो सङ्ख्यामा नेपालीहरू अध्ययनको लगि विदेश जाने स्थिति नभएको भए यत्रो विदेश मुद्रा खर्च गर्नुपर्ने थिएन। उक्त विदेशी मुद्रा नेपालको आर्थिक विकासमा खर्च गर्न सकिन्थ्यो।

अहिले जनस्तरमा चरम निराशा छ। नेपालमा आर्थिक विकास होला भनी आशासमेत गर्न नेपालीहरूले छाडिसकेका छन्। सन्तानमात्र अहिले विदेश जाने हतारमा छैनन्, अभिभावकहरू पनि पठाउने हतारमा छन्। अभिभावकहरूले पनि आफ्ना सन्तानको भविष्य देशभित्र सुरक्षित देखिरहेका छैनन्। बिछोडको स्थिति सहन गरेर पनि, छातिमा ढुङ्गा राखेर पनि, अभिभावकहरू आफ्ना सन्तानलाई विदेश पठाउन इच्छुक छन्। उद्योग, व्यापार, सेवा देशको कुनै पनि आर्थिक क्षेत्रमा अब आउँदा दिनहरूमा प्रगति होला भनी नेपालीहरूले आशा गर्न छाडिसकेका छन्। सुखी र खुशी जीवन पाउन केवल एक विकल्प– विदेश जानु भएको छ।

माथि गरिएका केवल निराशाजनक कुरा हुन्। तर निराशाले मात्र जीवन चल्दैन। देशको आर्थिक विकास हुँदैन। देशको आर्थिक विकासका लागि सर्वप्रथम हरेक नागरिक निराशाबाट मुक्त हुन जरुरी छ। निराशाका कुरामात्र गर्नुहुँदैन। हामीले आशाको पनि खोजी गर्नुपर्छ।

हाम्रो स्थिति सदा निराश हुने किसिमको छैन। भोलिका दिन सुखद हुने आधारहरू धेरै छन्। भोलिका दिनमा नेपालमा आर्थिक विकासको गतिले तीव्रता लिने आधारहरू थुप्रै छन्। के–के हुन् त ती आधारहरू?

समाचारहरूले जनाए अनुसार अहिले करीब १ करोड नेपाली मुलुक बाहिर छन्। अध्ययन र आर्जनका लागि विश्वका अनेक देश पुगेका छन्। केही अपवाद बाहेक, केही वर्षपछि ठूलो सङ्ख्यामा नेपाल बाहिर रहेका नेपालीहरू फर्कने निश्चित छ। जब ठूलो सङ्ख्यामा नेपालीहरू सीप, शिक्षा र पूँजीसहित स्वदेश फर्कनेछन् उनीहरूले त्यो सीप, शिक्षा र पूँजी स्वदेशको आर्थिक विकासमा प्रयोग गर्नेछन्। यो कल्पनाको कुरा होइन। अहिले संसारका अनेक देश पुगेका भियतनामका नागरिकहरू स्वदेश फर्कंदैछन्। यसैगरी आइटीमा राम्रो शिक्षा पाएका भारतीय युवाहरू संसारका अनेक मुलुकबाट स्वदेश फिर्दैछन्। भारतमा नै उनीहरूले राम्रो अवसर देखिरहेका छन्। अफ्रिकी देश अंगोलामा पनि, संसारका अनेक मुलुक पुगेका नागरिकहरू स्वदेश फर्कंदै छन्। यस्तै स्थिति अफ्रिका अन्य देशमा पनि देखिएको छ। संसारका अन्य मुलुकका घटनालाई उदाहरण मानेर हेर्दा नेपालीहरू भविष्यमा स्वदेश फिर्ने कुरामा विश्वास गर्न सकिन्छ।

आर्जन र नौलोपनाले गर्दा विदेशको बसाइँ रोमाञ्चक लागे पनि कालान्तरमा त्यो आकर्षण विकर्षणमा रूपान्तरित हुन्छ। स्वदेशजस्तो सामाजिक वातावरण पाउन कुनै पनि व्यक्तिलाई कठिन हुन्छ। अहिले देश बाहिर रहेका नेपालीहरूले विदेशको बसाइँलाई रोमाञ्चक मानिरहेका छन्। तर यो रोमाञ्चकताको आयु लामो हुँदैन, हुनेछैन। नेपालीहरूमा स्वदेश फिर्ने रहर स्वतः उत्पन्न हुन्छ, हुनेछ। उदाहरणका लागि, कुनै समय रोजगार एवं व्यापारका लागि बर्मा पुगेका धेरै नेपालीहरू पछि नेपाल फर्केका थिए। बर्माबाट नेपाल फर्केका धेरैको बसोवास भैरहवाको एक स्थानमा रहेको हुनाले त्यस स्थानको नाम नै ‘बर्मेली टोल’ राखिएको छ। यसैगरी भारतबाट पनि थुप्रै नेपाली नेपाल फर्केको उदाहरण पनि अनगिन्ति छ। मानिसहरू स्वदेश फर्कन इच्छुक हुन्छन् भन्ने कुरा हवाई कल्पना होइन, स्वयं यो लेखकले बोध गरेको यथार्थ हो। केही स्वेच्छा र बढी बाध्यताले गर्दा व्यक्तिहरू दूर देश पुगे तापनि उनीहरूको इच्छा भने आफ्नै देश फिर्ने रहेको हुन्छ।

नेपालको राजनीति अहिले अति अस्थिर देखिएको छ तर त्यस्तो सदाकाल रहने छैन। हाम्रा राजनीतिक दल र तिनका नेताहरू पनि बिस्तारै अनुभवी हुँदै जान्छन्। परिस्थितिले पनि उनीहरूलाई अनेक शिक्षा दिन्छ र उनीहरूले सिक्छन् पनि। नेताहरूमा पनि परिपक्वता आउँछ र उनीहरूको नेतृत्व शैलीमा पनि परिपक्वता आउँछ।

अङ्ग्रेजबाट मुक्त भएपछि भारत पनि कुनै समय, राजनीतिकरूपमा ज्यादै अस्थिर हुन पुगेको थियो। अहिले यति स्वतन्त्रता उपभोग गरिरहेका भारतीयहरूले कुनै समय प्रधानमन्त्री इन्दिरा गाँधीको ‘इमरजेन्सी’ भोग्नुपरेको थियो। नसबन्दी देख्नुपरेको थियो। एक समय भारतमा छ–छ महीनामा प्रधानमन्त्री फेरिने स्थिति थियो। तर भारतीय राजनीति र नेताहरू अनुभवी हुँदै गएपछि अहिले भारतको राजनीतिले स्थिरता प्राप्त गरेको छ। र त्यही राजनीतिक स्थिरताको बलमा भारत अहिले विश्वको पाँचौं ठूलो (जिडिपी ३.३८५ ट्रिलियन डलर) अर्थतन्त्र हुन पुगेको छ। भारतले यस्तै राजनीतिक स्थिरता निरन्तर पाउने हो भने भविष्यमा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुने सम्भावना छ। बौद्धिक क्षमता र प्राविधिक दक्षतामा भारतका नागरिकहरू विश्वका विकासशील देशका नागरिकको तुलनमा निकै–निकै अगाडि छन्।

नेपालको राजनीति परिपक्व हुँदै गएपछि, नेताहरू पनि अनुभवी हुँदै गएपछि नेपालको राजनीतिमा स्थिरता आउने छ। आर्थिक विकासको गतिमा पनि तीव्रता आउने छ। यो कुरा विश्वासका साथ भन्न सकिन्छ।

निराशा जगाउनु ठूलो कुरा होइन। निराशा जगाएर आफ्नो स्वार्थ पूरा हुन सक्छ तर निराशा जगाउने कार्यले देश र जनतालाई नै बर्बाद पार्छ। अहिले नेपालमा त्यही भइरहेको छ। जानेर वा नजानेर धेरै नेपालीहरूले निराशा उत्पादन गर्ने काम गरिरहेका छन्।  निराशा उत्पादन गर्ने कारखाना नै खोलेका छन्।  हामी प्रत्येक दिन निराशा उत्पालन गर्ने कार्यमा लागेजस्तो छ।

सन्दर्भ परिवर्तन गरौं। एउटा साधारण उदाहरण प्रस्तुत गरौं। अहिले अध्ययन र आर्जनका लागि कानूनी र गैरकानूनीरूपमा विश्वका अनेक देशहरूमा पुगेका नेपाली विद्यार्थीहरूमध्ये धेरैको भविष्य अनिश्चित हुन पुगेको छ। कहाँ र कसरी ? यो प्रश्नको उत्तर खोज्न म आदरणीय पाठकहरूलाई समाचारहरू पढ्न, सुन्न र हेर्न विनम्र अनुरोध गर्दछु।

आर्थिक विकासको दृष्टिकोणले, भोलिका दिनहरू नेपालका लागि सुन्दर छन्। सुखद छन्। आर्थिक विकासका लागि आवश्यक पर्ने अनेक पूर्वाधारहरू हामीसँग पर्याप्त मात्रामा छ। प्राकृतिक स्रोत र साधन पनि पर्याप्त मात्रामा छ। हाम्रो राष्ट्रिय जलवायु पनि आर्थिक विकासका लागि अनुकूल छ। आर्थिक विकासका लागि आवश्यक पर्ने लगभग सम्पूर्ण कुराहरू नेपालमा पर्याप्त मात्रामा छन्। अस्थिर राजनीति र अनुभवहीन नेताहरूले गर्दा आर्थिक विकासको गति अहिले सुस्त हुन पुगेको हो। हाम्रो राजनीति स्थिर र नेताहरू अनुभवी एवं त्यागी भएपछि नेपालको आर्थिक विकासको गतिमा तीव्रता आउने छ। नेपालमा अवश्य पनि आर्थिक विकास हुनेछ। नेपाली धनी हुनेछन्।






विश्वराज अधिकारी

akoutilya@gmail.com

Published in prateekdaily on Friday, January 31, 2025

https://eprateekdaily.com/2025/01/31/80041/