नेपालको आर्थिक भविष्य उज्ज्वल छ
नेपालमा राजनीतिक स्थिरता छैन। नेताहरूमा
इमानदारी छैन। पद र सत्ता लोलुप नेताहरूको स्वार्थी व्यवहारले गर्दा देशमा आर्थिक
विकास भइरहेको छैन। देशभित्र रोजगार छैन। रोजगारका लागि दिनहुँ ठूलो सङ्ख्यामा
युवाहरू देश छोडिरहेका छन्। शहर वा गाउँका घरहरू युवाविहीन भएका छन्।
देशभित्र उद्योग एवं व्यापारको स्थिति चौपट छ।
उद्योगहरू बन्द हुँदैछन्। कृषिको स्थिति दयनीय छ। हामी दाल, चामल, फलपूmल पनि आयात गर्ने स्थितिमा छौं। भारतबाट
खाद्यान्न, ऊर्जा (पेट्रोलियम पदार्थ), औषधि आयात नगर्ने हो भने हामी बाँच्न सक्दैनौं।
आर्थिकरूपमा नेपाल जर्जर हुन पुगेको छ। विदेशमा
काम गरिरहेका नेपालीहरूले रेमिट्यान्स नपठाउने हो भने नेपालमा कर्मचारीहरूलाई तलब
दिन पनि रकम नपुग्ने स्थिति छ। नेपालभित्र उठ्ने करले साधारण खर्च पनि भुक्तान
गर्न सकिंदैन। विकास खर्चका लागि अनिवार्यरूपले वैदेशिक ऋण लिनुपर्ने स्थिति छ।
देशको टाउकोमा ठूलो ऋणभार छ। सन् २०२२ सम्म प्रत्येक नेपालीको शिरमा ऋण भार लगभग
रु ७० हजार थियो भने अहिले त्यो वृद्धि भएर (सन् २०२४) लगभग रु ८२ हजार हुन पुगेको
छ।
रोजगार दिने नसक्ने स्वदेशका विश्व
विद्यालयहरूको शिक्षा प्रणालीबाट निराश भएका नेपाली युवाहरू कलिलो उमेरमा नै
अध्ययनका लागि विश्वका अनेकौं देशका कलेज एवं विश्वविद्यालय पुगिरहेका छन्।
नेपालका कलेजहरूमा विद्यार्थीहरूको सङ्ख्यामा ठूलो कमी आएको छ। प्लस टु
गर्नेबित्तिकै नेपाली युवाहरू विदेशका कलेजहरूमा पढ्न पुगिरहेका छन्। तिनका लागि
देशले ठूलो मात्रामा वैदेशिक मुद्रा (डलर) भुक्तान गर्नुपरिरहेको दुःखद स्थिति छ।
यदि ठूलो सङ्ख्यामा नेपालीहरू अध्ययनको लगि विदेश जाने स्थिति नभएको भए यत्रो
विदेश मुद्रा खर्च गर्नुपर्ने थिएन। उक्त विदेशी मुद्रा नेपालको आर्थिक विकासमा
खर्च गर्न सकिन्थ्यो।
अहिले जनस्तरमा चरम निराशा छ। नेपालमा आर्थिक
विकास होला भनी आशासमेत गर्न नेपालीहरूले छाडिसकेका छन्। सन्तानमात्र अहिले विदेश
जाने हतारमा छैनन्, अभिभावकहरू पनि
पठाउने हतारमा छन्। अभिभावकहरूले पनि आफ्ना सन्तानको भविष्य देशभित्र सुरक्षित
देखिरहेका छैनन्। बिछोडको स्थिति सहन गरेर पनि, छातिमा ढुङ्गा राखेर पनि, अभिभावकहरू आफ्ना सन्तानलाई विदेश पठाउन इच्छुक छन्। उद्योग,
व्यापार, सेवा देशको कुनै पनि आर्थिक क्षेत्रमा अब आउँदा दिनहरूमा
प्रगति होला भनी नेपालीहरूले आशा गर्न छाडिसकेका छन्। सुखी र खुशी जीवन पाउन केवल
एक विकल्प– विदेश जानु भएको छ।
माथि गरिएका केवल निराशाजनक कुरा हुन्। तर
निराशाले मात्र जीवन चल्दैन। देशको आर्थिक विकास हुँदैन। देशको आर्थिक विकासका
लागि सर्वप्रथम हरेक नागरिक निराशाबाट मुक्त हुन जरुरी छ। निराशाका कुरामात्र
गर्नुहुँदैन। हामीले आशाको पनि खोजी गर्नुपर्छ।
हाम्रो स्थिति सदा निराश हुने किसिमको छैन।
भोलिका दिन सुखद हुने आधारहरू धेरै छन्। भोलिका दिनमा नेपालमा आर्थिक विकासको
गतिले तीव्रता लिने आधारहरू थुप्रै छन्। के–के हुन् त ती आधारहरू?
समाचारहरूले जनाए अनुसार अहिले करीब १ करोड
नेपाली मुलुक बाहिर छन्। अध्ययन र आर्जनका लागि विश्वका अनेक देश पुगेका छन्। केही
अपवाद बाहेक, केही वर्षपछि ठूलो सङ्ख्यामा नेपाल बाहिर रहेका
नेपालीहरू फर्कने निश्चित छ। जब ठूलो सङ्ख्यामा नेपालीहरू सीप, शिक्षा र पूँजीसहित स्वदेश फर्कनेछन् उनीहरूले
त्यो सीप, शिक्षा र पूँजी स्वदेशको आर्थिक विकासमा प्रयोग
गर्नेछन्। यो कल्पनाको कुरा होइन। अहिले संसारका अनेक देश पुगेका भियतनामका
नागरिकहरू स्वदेश फर्कंदैछन्। यसैगरी आइटीमा राम्रो शिक्षा पाएका भारतीय युवाहरू
संसारका अनेक मुलुकबाट स्वदेश फिर्दैछन्। भारतमा नै उनीहरूले राम्रो अवसर
देखिरहेका छन्। अफ्रिकी देश अंगोलामा पनि, संसारका अनेक मुलुक पुगेका नागरिकहरू स्वदेश फर्कंदै छन्। यस्तै स्थिति
अफ्रिका अन्य देशमा पनि देखिएको छ। संसारका अन्य मुलुकका घटनालाई उदाहरण मानेर
हेर्दा नेपालीहरू भविष्यमा स्वदेश फिर्ने कुरामा विश्वास गर्न सकिन्छ।
आर्जन र नौलोपनाले गर्दा विदेशको बसाइँ
रोमाञ्चक लागे पनि कालान्तरमा त्यो आकर्षण विकर्षणमा रूपान्तरित हुन्छ।
स्वदेशजस्तो सामाजिक वातावरण पाउन कुनै पनि व्यक्तिलाई कठिन हुन्छ। अहिले देश
बाहिर रहेका नेपालीहरूले विदेशको बसाइँलाई रोमाञ्चक मानिरहेका छन्। तर यो
रोमाञ्चकताको आयु लामो हुँदैन, हुनेछैन।
नेपालीहरूमा स्वदेश फिर्ने रहर स्वतः उत्पन्न हुन्छ, हुनेछ। उदाहरणका लागि, कुनै समय रोजगार एवं व्यापारका लागि बर्मा पुगेका धेरै
नेपालीहरू पछि नेपाल फर्केका थिए। बर्माबाट नेपाल फर्केका धेरैको बसोवास भैरहवाको
एक स्थानमा रहेको हुनाले त्यस स्थानको नाम नै ‘बर्मेली टोल’ राखिएको छ। यसैगरी
भारतबाट पनि थुप्रै नेपाली नेपाल फर्केको उदाहरण पनि अनगिन्ति छ। मानिसहरू स्वदेश
फर्कन इच्छुक हुन्छन् भन्ने कुरा हवाई कल्पना होइन, स्वयं यो लेखकले बोध गरेको यथार्थ हो। केही स्वेच्छा र बढी
बाध्यताले गर्दा व्यक्तिहरू दूर देश पुगे तापनि उनीहरूको इच्छा भने आफ्नै देश
फिर्ने रहेको हुन्छ।
नेपालको राजनीति अहिले अति अस्थिर देखिएको छ तर
त्यस्तो सदाकाल रहने छैन। हाम्रा राजनीतिक दल र तिनका नेताहरू पनि बिस्तारै अनुभवी
हुँदै जान्छन्। परिस्थितिले पनि उनीहरूलाई अनेक शिक्षा दिन्छ र उनीहरूले सिक्छन्
पनि। नेताहरूमा पनि परिपक्वता आउँछ र उनीहरूको नेतृत्व शैलीमा पनि परिपक्वता आउँछ।
अङ्ग्रेजबाट मुक्त भएपछि भारत पनि कुनै समय,
राजनीतिकरूपमा ज्यादै अस्थिर हुन पुगेको थियो।
अहिले यति स्वतन्त्रता उपभोग गरिरहेका भारतीयहरूले कुनै समय प्रधानमन्त्री इन्दिरा
गाँधीको ‘इमरजेन्सी’ भोग्नुपरेको थियो। नसबन्दी देख्नुपरेको थियो। एक समय भारतमा
छ–छ महीनामा प्रधानमन्त्री फेरिने स्थिति थियो। तर भारतीय राजनीति र नेताहरू
अनुभवी हुँदै गएपछि अहिले भारतको राजनीतिले स्थिरता प्राप्त गरेको छ। र त्यही
राजनीतिक स्थिरताको बलमा भारत अहिले विश्वको पाँचौं ठूलो (जिडिपी ३.३८५ ट्रिलियन
डलर) अर्थतन्त्र हुन पुगेको छ। भारतले यस्तै राजनीतिक स्थिरता निरन्तर पाउने हो
भने भविष्यमा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुने सम्भावना छ। बौद्धिक
क्षमता र प्राविधिक दक्षतामा भारतका नागरिकहरू विश्वका विकासशील देशका नागरिकको
तुलनमा निकै–निकै अगाडि छन्।
नेपालको राजनीति परिपक्व हुँदै गएपछि, नेताहरू पनि अनुभवी हुँदै गएपछि नेपालको
राजनीतिमा स्थिरता आउने छ। आर्थिक विकासको गतिमा पनि तीव्रता आउने छ। यो कुरा
विश्वासका साथ भन्न सकिन्छ।
निराशा जगाउनु ठूलो कुरा होइन। निराशा जगाएर आफ्नो
स्वार्थ पूरा हुन सक्छ तर निराशा जगाउने कार्यले देश र जनतालाई नै बर्बाद पार्छ।
अहिले नेपालमा त्यही भइरहेको छ। जानेर वा नजानेर धेरै नेपालीहरूले निराशा उत्पादन
गर्ने काम गरिरहेका छन्। निराशा उत्पादन
गर्ने कारखाना नै खोलेका छन्। हामी
प्रत्येक दिन निराशा उत्पालन गर्ने कार्यमा लागेजस्तो छ।
सन्दर्भ परिवर्तन गरौं। एउटा साधारण उदाहरण
प्रस्तुत गरौं। अहिले अध्ययन र आर्जनका लागि कानूनी र गैरकानूनीरूपमा विश्वका अनेक
देशहरूमा पुगेका नेपाली विद्यार्थीहरूमध्ये धेरैको भविष्य अनिश्चित हुन पुगेको छ।
कहाँ र कसरी ? यो प्रश्नको उत्तर
खोज्न म आदरणीय पाठकहरूलाई समाचारहरू पढ्न, सुन्न र हेर्न विनम्र अनुरोध गर्दछु।
आर्थिक विकासको दृष्टिकोणले, भोलिका दिनहरू नेपालका लागि सुन्दर छन्। सुखद
छन्। आर्थिक विकासका लागि आवश्यक पर्ने अनेक पूर्वाधारहरू हामीसँग पर्याप्त
मात्रामा छ। प्राकृतिक स्रोत र साधन पनि पर्याप्त मात्रामा छ। हाम्रो राष्ट्रिय
जलवायु पनि आर्थिक विकासका लागि अनुकूल छ। आर्थिक विकासका लागि आवश्यक पर्ने लगभग
सम्पूर्ण कुराहरू नेपालमा पर्याप्त मात्रामा छन्। अस्थिर राजनीति र अनुभवहीन
नेताहरूले गर्दा आर्थिक विकासको गति अहिले सुस्त हुन पुगेको हो। हाम्रो राजनीति
स्थिर र नेताहरू अनुभवी एवं त्यागी भएपछि नेपालको आर्थिक विकासको गतिमा तीव्रता
आउने छ। नेपालमा अवश्य पनि आर्थिक विकास हुनेछ। नेपाली धनी हुनेछन्।
विश्वराज अधिकारी
Published
in prateekdaily on Friday, January 31, 2025
No comments:
Post a Comment