आर्थिक विकासका लागि वर्तमान सत्ता–समीकरण आवश्यक
कुनै पनि देशमा आर्थिक विकासको गतिले तीव्रता
पाउनका लागि त्यस देशमा सरकार छिटोछिटो परिवर्तन हुनुहुँदैन। छिटोछिटो सरकार
परिवर्तन हुनु अस्थिरताको प्रतीक हो। त्यस्तो अस्थिरताले आर्थिक विकास सम्भव
हुँदैन। आर्थिक विकास त परको कुरा, आर्थिक मन्दीको
स्थिति आउन सक्छ। रोजगारको स्तरमा ठूलो कमी आउन सक्छ। व्यक्ति र परिवारको आयमा
ठूलो कमी आउन सक्छ । देशमा गरीबी अभूतपूर्व किसिमले बढेर जनताको जीवन कठिन हुन
पुग्छ।
कुनै पनि देशको सन्दर्भमा, सरकार स्थिर नभएसम्म देशको आर्थिक विकास सम्भव
हुँदैन। राष्ट्रिय आर्थिक विकासका लागि स्थिर सरकार पूर्व शर्त हो। विश्वको आर्थिक
विकासको इतिहासले यही दर्शाउँछ। सरकार शीघ्र परिवर्तन भएर अस्थिरता भोगिरहेका
देशहरू गरीबीको कुचक्रबाट बाहिर आउन नसकेको र त्यहाँ जनता रोजगारका लागि अर्को देश
पुगेको, शरणार्थी भएको, उदाहरण थुप्रै छन्।
अहिले, वर्तमानको, नेका (नेपाली
काङ्ग्रेस) र एमाले (नेपाल कम्युनिस्ट पार्टी) को सत्ता समीकरणले देशलाई स्थिर
सरकार दिएको छ। आर्थिक विकासको लागि देशभित्र स्थिरताको स्थिति निर्माण गरेको छ।
नेपालको आर्थिक विकासको लागि यो सुखद स्थिति हो। यी दुई दलभित्रका केही नेताहरू
स्वार्थी हुन सक्छन्। सत्ता र शक्तिमुखी हुन सक्छन्, त्यो भिन्न कुरा हो। राष्ट्रको आर्थिक विकासका लागि यी दुई
ठूला दलहरू मिलेर कार्य गर्न सहमत हुनु राष्ट्रको आर्थिक विकासको लागि महत्वपूर्ण कुरा हो। प्रधानमन्त्री (केपी ओली)
फेर्ने स्थिति हुन सक्छ। मन्त्रीहरू फेर्ने स्थिति हुन सक्छ। तर यो समीकरण
फेरिनुहुन्न। यो समीकरणमा परिवर्तन आउनुहुँदैन। राष्ट्रको आर्थिक विकासको लागि यी
दुई दलबीच सहकार्य अति आवश्यक छ।
वर्तमानमा प्रम केपी ओलीको राजीनामा माग
भइरहेको छ। यो सरकार खसाल्ने कुरा भइरहेको छ। केही क्षणका लागि मानौं ओलीको
स्थानमा नेका वा एमालेबाट अन्य कुनै व्यक्ति प्रम हुने स्थिति हुन सक्छ। आवश्यक
परेमा त्यस्तो गर्नु उपयुक्त पनि हुनेछ। तर ओलीको विकल्पमा आउने को ? को प्रम हुने? ओलीको विकल्पमा आउने व्यक्ति के विवादरहित हुन सक्ला?
विकल्पमा देखिएकाहरू के स्वच्छ छवि भएका हुन
सक्छन्? विकल्प छनोट गर्दा जहिले पनि, भएको भन्दा आउने विकल्प असल हुनुपर्छ। तर यदि
उही पुरानो वा खराब विकल्प आउने हो, अक्षम व्यक्ति आउने हो भने ओलीको विकल्प खोज्नुको के अर्थ रहन जान्छ? फेरि पुष्पकमल दहाल नै प्रधानमन्त्री हुने भए
के त्यो प्रभावकारी विकल्प हुन सक्छ?
नेपालको आर्थिक विकासको लागि यी दुई ठूला दलहरू– नेका र एमालेले मिलेर कार्य गर्ने हो भने राष्ट्रिय आर्थिक विकासको गतिले तीव्रता पाउने राम्रो सम्भावना छ। अहिले यी दुई दलहरूले सहमति गरेर स्थिर सरकार दिन सकेका छन्। देशमा शान्ति र स्थिरताको स्थिति देखिएको छ। यो स्थितिको विकल्प खोज्नु वा यो स्थितिमा खलल पुर्याउनु भनेको आर्थिक विकासको गति अवरुद्ध पार्नु हो।
नेका र एमालेबीच सहमतिको स्थितिमा वर्तमान ओली
सरकारले निरन्तरता पाउनु र यो सरकारले नै २०८४ सालको निर्वाचन गराउनु देशको आर्थिक
विकासको लागि उत्तम हुनेछ। नेपालको आर्थिक स्थितिले अब कुनै पनि किसिमको अस्थिरता
(छिटोछिटो सरकार परिवर्तन) सहन गर्न सक्तैन। कुनै पनि किसिमको द्वन्द्व वा सङ्घर्ष
सहन गर्न सक्तैन। नेपालको आर्थिक विकासको लागि स्थिरता आवश्यक छ। र त्यो स्थिरता
नेका र एमालेको सत्ता सहकार्यले दिएको छ।
सत्ता बाहिर रहेका दल र तिनका नेताहरूको माग
अनुसार नेका र एमालेको सरकार पतन गराएर, एमालेलाई सत्ता बाहिर पठाएर, सानासाना दलहरू र
नेकाको गठबन्धनमा अर्को सरकार निर्माण हुने हो भने के त्यो सरकारको आयु लामो होला?
त्यो सरकारले स्थिरता देला? अर्को स्थितिमा, यदि सानासाना दल र एमालेको गठबन्धनमा नयाँ सरकार निर्माण
हुने हो भने के त्यो सरकारको आयु लामो हुन सक्ला? वर्तमान सत्ता समीकरण टुटेर अर्को सरकार निर्माण हुने हो वा
नेका र एमालेबीच फुट आउने हो भने देशमा झन् ठूलो अस्थिरता आउने छ, अनिश्चितता आउने छ। त्यो स्थिति आर्थिक विकासको
लागि कदापि हितकर हुनेछैन।
देशको आर्थिक विकासको गति अवरुद्ध हुन नदिने हो
भने एमाले र नेकाको यो सहकार्यलाई हामी सबैले जनस्तरबाट सहयोग गर्नुपर्छ भन्नु
अतिशयोक्ति हुने छैन। यस्तो भन्नुका केही कारण पनि छन्। जस्तै नेका र एमालेको
सहकार्यविना निर्माण हुने सरकार लामो समयसम्म टिक्ने स्थिति छैन। एमाले र नेका
सम्मिलित नभएको सरकारले आर्थिक विकासको क्षेत्रमा कुनै नयाँ योजना दिने र
कार्यान्वयन गर्न सक्ने सम्भावना छैन। तर नेका र एमाले मिलेर कार्य गर्ने हो भने
सरकार स्थिर त हुन्छ नै, सरकारले ल्याउने
आर्थिक योजना तथा कार्यक्रमहरू सहजै कार्यान्वयन हुनेछन्। कार्य सम्पादनमा
प्रभावकारित पनि आउने छ।
वर्तमान राष्ट्रिय परिस्थितिको मूल्याङ्कन
गर्ने हो भने अन्य दल र तिनका नेताहरूको सत्तालोलुप प्रवृत्तिको गहिरो मूल्याङ्कन
गर्ने हो भने वर्तमान एमाले र नेका सहकार्य उचित देखिन्छ। यदि सत्ता बाहिर रहेका
दल र तिनका नेताहरूमा पद र सत्तालोलुपता नभएको भए उनीहरूले नेका र एमाले मिलिजुली
सरकारको राम्रो विकल्प दिने सक्ने स्थिति हुने थियो। उनीहरूलाई सत्तामा ल्याउनु
उचित हुने थियो।
देशको आर्थिक विकासको लागि सरकार परिवर्तन उपयुक्त उपाय होइन। देशको आर्थिक विकासका लागि सरकार परिवर्तन होइन, नेताहरूको प्रवृत्तिमा परिवर्तन ल्याउन आवश्यक छ। उनीहरूलाई राष्ट्रको आर्थिक विकासको लागि जिम्मेवार बनाउन आवश्यक छ। राष्ट्रको आर्थिक विकासको लागि नेका र एमाललेका नेताहरूलाई जिम्मेवार बनाउनु आवश्यक छ। नेका र एमालेको सहमतिको सरकारको विकल्प खोज्नुको सट्टा यी दुई ठूला दलहरूलाई जनहितमा कार्य गर्न दबाब दिन आवश्यक छ।
अब केही विश्व आर्थिक स्थिति वर्तमानमा विश्वको
आर्थिक स्थिति राम्रो छैन। अहिले विश्व दुई समूहमा नराम्ररी विभाजित छ। एउटा
समूहको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरिरहेको छ भने अर्को समूहको नेतृत्व
प्रत्यक्षरूपमा रूसले र परोक्षरूपमा चीनले गरिरहेको छ। विश्व दुई समूहमा विभाजित
भएको यो विषम स्थितिले विश्व अर्थ व्यवस्थमा अति नराम्रो प्रभाव परेको छ। यही
स्थितिले सिरियाको आर्थिक स्थिति नाजुक पारेको हो। यही स्थितिले युक्रेनको आर्थिक
स्थिति नराम्रो पारेको हो। यही स्थितिले यमनको सङ्घर्ष चर्काएको हो। यो स्थितिले
विश्वका थप राष्ट्रहरूलाई गरीब पार्ने खतरा बढेर गएको छ। यदि चमत्कार भएर
युक्रेन–रूस युद्ध समाप्त भयो भने इजराइल–फिलिस्तिन युद्ध समाप्त भयो भने विश्व
अर्थ व्यवस्थामा केही सुधार आउन सक्ने सम्भावना देखिन्छ। विश्व अर्थ व्यवस्थामा
सुधार ल्याउनका लागि इरानको शक्ति–विस्तार नीतिमा पनि परिवर्तन आउन आवश्यक छ।
यसैगरी धार्मिक कट्टरता, जातीय हिंसा आदिमा
पनि कमी आउन आवश्यक छ।
विश्वको आर्थिक अवस्था कमजोर भएको स्थितिमा
नेपालमा सरकार स्थिर हुनु झनै आवश्यक छ। विश्व अर्थ व्यवस्था अनिश्चित रहेको
अवस्थामा नेपालमा अस्थिरता हुनु, छिटोछिटो सरकार
परिवर्तन हुनु, नेपालको आर्थिक
विकासका लागि कुनै पनि किसिमले उपयुक्त हुन सक्तैन। यो तथ्यलाई नेपालका सम्पूर्ण
दल र तिनका नेताहरूले बुझ्न आवश्यक छ। देशमा गरीबी व्यापक किसिमले वृद्धि भएमा
दलहरूकै भविष्य जोखिममा पर्नेछ। देशमा अनिश्चितता आउने छ। देश नचिताएको दिशातर्फ
उन्मुख हुनेछ। त्यसकारण सरकार बाहिर रहेका दल र तिनका नेताहरूले यो सरकार ढाल्नुको
सट्टा विपक्षमा रहेर राम्रो विपक्षी भूमिका निर्वाह गर्न आवश्यक छ। राष्ट्रको
आर्थिक विकासमा समर्पित हुन आवश्यक छ। देश र जनताको लागि इमानदार बन्न आवश्यक छ।
अहिले सत्ता परिवर्तन होइन, हाम्रो मनोविज्ञान परिवर्तन गर्न आवश्यक छ। दल
र तिनका नेताहरूले आफ्नो स्वार्थी प्रवृत्तिमा परिवर्तन ल्याउन आवश्यक छ। सबै दल र
तिनका नेताहरूमा त्यागको भावना हुनु आवश्यक छ। नेताहरूमा त्याग–भाव जागृत हुने हो
भने नेपालको आर्थिक भाग्य चम्किन लामो सयम लाग्ने छैन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, January 24, 2025
No comments:
Post a Comment