Wikipedia

Search results

Wednesday, July 1, 2026

Importance of Competition in Markets-Article-635

 उपभोक्ता हितका लागि प्रतिस्पर्धात्मक बजारको महत्व

उपभोक्ताको हितका लागि उपभोक्ताले खरीद गर्ने बजार प्रतिस्पर्धापूर्ण हुनु आवश्यक छ। अर्थात् उपभोक्ताले समान खरीद गर्ने बजारमा वस्तु र सेवा आपूर्ति एवं बिक्री गर्नका लागि आपूर्तिकर्ताहरूबीच प्रतिस्पर्धा हुनुपर्छ। बजारमा केवल एक वा दुई वा केही मात्र आपूर्तिकर्ता हुनुहुँदैन। बजारमा आपूर्तिकर्ताको एकाधिकार, द्वयाधिकार वा अल्पाधिकार हुनुहुँदैन। बजारमा आपूर्तिकर्ताहरूको सङ्ख्या जति ठूलो भयो, वस्तु र सेवा बिक्री गर्न उनीहरूबीच जति बढी तीव्र प्रतिस्पर्धा भयो, उपभोक्ता (खरीदकर्ता)हरूले त्यति नै बढी फाइदा पाउँछन्। यसविपरीत बजारमा आपूर्तिकर्ताहरूबीच तीव्र प्रतिस्पर्धा भएन, बजारमा केही मात्र आपूर्तिकर्ताहरूको उपस्थिति भयो भए भने उपभोक्ताहरू सोही अनुसार वस्तु एवं सेवा खरीद गर्दा बढी मूल्य भुक्तान गर्न बाध्य हुनुपर्छ। छोटकरीमा भन्ने हो भने बजारमा आपूर्तिकर्ताहरूबीच हुने प्रतिस्पर्धाले वस्तु एवं सेवाको मूल्य स्थिर राख्न वा कम पार्न महतवपूर्ण भूमिका खेल्ने गर्छ।     

उपभोक्ता (ग्राहक)हरूलाई आकर्षित गर्न आपूर्तिकर्ताहरूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्यमा कमी ल्याउँदा, अर्को शब्दमा आपूर्तिकर्ताहरूबीच बिक्री गर्न तीव्र प्रतिस्पर्धा हुँदा उपभोक्ताहरूलाई फाइदा हुन्छ। बिक्रीको क्रममा ग्राहकहरूलाई आपूmतर्फ आकर्षित गर्न कम मूल्यमा वस्तु एवं सेवा उपलब्ध गराउन आपूर्तिकर्ताहरूबीच प्रतिस्पर्धा हुने भएकोले खरीदकर्ताहरूले वस्तु वा सेवा (प्रतिस्पर्धाका कारण) सस्तो मूल्यमा खरीद गर्न पाउने वातावरण सृजना हुन्छ। बजारमा बिक्री गर्नका लागि आपूर्तिकर्ताहरूबीच तीव्र प्रतिस्पर्धा हुनुपर्छ वा बजार प्रतिस्पर्धापूर्ण हुनुपर्छ भन्नेबारे चर्चा गर्नु पूर्व प्रतिस्पर्धा के हो र यो कति किसिमको हुन्छ त्यसबारे चर्चा गर्नु उपयुक्त हुनेछ।   

बजारमा धेरै खरीदकर्ता र एउटा मात्र आपूर्तिकर्ता (बिक्रेता) रहेको स्थिति एकाधिकारयुक्त बजारको अवस्था हो। एकाधिकारी बजार हो। यस्तो बजार पूर्णरूपमा एउटा मात्र आपूर्तिकर्ताको नियन्त्रणमा हुन्छ। उक्त आपूर्तिकर्ताले तोकेको मूल्य, सङ्ख्या र गुणमा वस्तु एवं सेवा खरीद गर्न खरीदकर्ता बाध्य हुनुपर्छ । खरिदकर्तासँग अर्को कुनै विकल्प हुँदैन।     

बजारमा धेरै खरीदकर्ता र केवल दुई मात्र विक्रेता रहेको स्थिति द्वयाधिकारी बजारको अवस्था हो।  द्वयाधिकारी बजार हो। यो बजार पनि पूर्णरूपमा केवल दुई आपूर्तिकर्ताहरूको नियन्त्रणमा हुन्छ। ती दुई आपूर्तिकर्ताले तोकेको मूल्य, सङ्ख्या र गुणमा वस्तु एवं सेवा खरीद गर्न खरीदकर्ता बाध्य हुनुपर्छ। खरीदकर्तासँग अर्को कुनै विकल्प हुँदैन।     

बजारमा धेरै खरीदकर्ता र केवल केही मात्र विक्रेता रहेको स्थिति अल्पधिकारी बजार अवस्था हो। अल्पाधिकारी बजार हो । यो बजार पनि पूर्णरूपमा केवल केही (सामान्यतया १० भन्दा कम) आपूर्तिकर्ताहरूको नियन्त्रणमा हुन्छ। ती केही आपूर्तिकर्ताले तोकेको मूल्य, सङ्ख्या र गुणमा वस्तु एवं सेवा खरीद गर्न खरीदकर्ता बाध्य हुन्छ । खरीदकर्तासँग अर्को कुनै विकल्प हुँदैन।     

विक्रेताहरूको सङ्ख्या पनि ठूलो भएको र क्रेताहरूको सङ्ख्या पनि ठूलो भएको तथा वस्तु तथा सेवाहरू बिक्री गर्न विक्रेताहरूबीच उच्च प्रतिस्पर्धा रहेको तथा कम मूल्यमा वस्तु वा सेवा उपलब्ध गराउने विक्रेता रोजीरोजी उनीहरूबाट खरीदकर्ताहरूले स्वतन्त्र किसिमबाट वस्तु वा सेवा खरीद गर्न पाउने स्थिति रहेको बजार प्रतिस्पर्धापूर्ण बजार हो। प्रतिस्पर्धापूर्ण बजारमा खरीदकर्ताहरू आफूले इच्छा गरेको (कम मूल्यमा उपलब्ध गराउने) विक्रेताहरूबाट वस्तु तथा सेवा खरीद गर्न स्वतन्त्र हुन्छन्। बजार आपूर्तिकर्ताहरूको नियन्त्रणमा हुँदैन।

बजारमा प्रतिस्पर्धा किन आवश्यक छ?   

उपभोक्ताहरूले वस्तु एवं सेवा खरीद गर्ने बजार प्रतिस्पर्धापूर्ण हुनुपर्छ। वस्तु एवं सेवा बिक्री गर्न आपूर्तिकर्ताहरूबीच तीव्र प्रतिस्पर्धा भएमा अनावश्यक लागत वा नियन्त्रण गर्न सकिने लागतमा कटौती गरेर वा कम मुनाफा मात्र प्राप्त हुने स्थितिमा पनि आपूर्तिकर्ताहरू वस्तु वा सेवा बिक्री गर्न तत्पर हुन्छन्। यसविपरीतको स्थिति भएमा, आपूर्तिकर्ता एक वा मात्र केही मात्र भएको स्थितिमा उनीहरूले तोकेको मूल्यमा वस्तु वा सेवा खरीद गर्न उपभोक्ता बाध्य हुनुपर्छ। अर्थात् बजारमा उत्पन्न हुने आपूर्तिकर्ताहरूबीचको तीव्र प्रतिस्पर्धाले वस्तु एवं सेवाको मूल्य तल झार्ने कार्य गर्छ। यो अवस्था वा कारणले गर्दा वस्तु एवं सेवाको मूल्य कम पारेर उपभोक्ताहरूले सस्तोमा वस्तु वा सेवा प्राप्त गर्ने वातावरण सृजना गर्न बजारमा प्रतिस्पर्धा हुन आवश्यक छ।  बजारमा आपूर्तिकर्ताहरूको सङ्ख्या वृद्धि गर्न, उनीहरूबीच तीव्र प्रतिस्पर्धा सृजना गर्न, स्थानीय वा केन्द्रीय सरकारले व्यापार स्थापना एवं सञ्चालन कार्यलाई जटिल होइन सजिलो पारिदिनुपर्छ। व्यक्तिहरूलाई व्यापारमा लाग्न प्रोत्साहित गर्नुपर्छ। सरकार स्वयंले पनि उद्यमीउत्पादन गर्नमा सक्रिय भूमिका खेल्नुपर्छ। देशको शिक्षा नीतिलाई उद्यमी उत्पादन गर्ने किसिमको तुल्याउनुपर्छ। व्यापार बाधाहरू कम वा समाप्त पार्दै व्यापारीहरूलाई व्यापार गर्ने सरल वातावारण सृजना गरिदिनुपर्छ।     

पूँजीवादी अर्थव्यवस्था भएका देशहरूले उपभोक्ताहरूको हितको संरक्षण गर्न बजारलाई प्रतिस्पर्धापूर्ण तुल्याउने प्रयास गरेका हुन्छन्। कम मूल्यका वस्तु एवं सेवा बिक्री हुने बजारहरूलाई प्रतिस्पर्धापूर्ण तुल्याएका हुन्छन्। यसविपरीत साम्यवादी वा समाजवादी अर्थव्यवस्था भएका देशहरूका बजारहरू प्रतिस्पर्धापूर्ण हुँदैनन्। सम्पूर्ण बजारमा, राष्ट्रिय बजारमा, केवल सरकारको नियन्त्रण हुन्छ । कतै पनि कुनै पनि बजारमा प्रतिस्पर्धा देखिंदैन। बजार एकाधिकारी हुन्छ।   

नेपालमा धेरै वस्तु एवं सेवाका बजारहरू अहिले पनि प्रतिस्पर्धापूर्ण हुन सकेका छैनन्। केही बजारहरूमा त अहिले पनि एकाधिकार वा द्वयाधिकार कायम छ। उदाहरणका लागि नेपालको ऊर्जा (पेट्रोलियम पदार्थ एवं जलविद्युत्) बजार प्रतिस्पर्धापूर्ण हुन सकेको छैन।      

अल्परूपमा, नेपालमा स्थानीय यातायात (बस, मिनीबस, माइक्रो बस, टेक्सी, टेम्पो, मोटरसाइकल) सेवा उपलब्ध गराउने सेवाप्रदायकहरूबीच प्रतिस्पर्धा भएको देखिएको छ । मुख्यगरी काठमाडौं उपत्यकामा याङ्गो, पठाओ, इन्ड्राइभजस्ता यातायात सेवाप्रदायकबीच (यातायात सेवा उपलब्ध गराउन) प्रतिस्पर्धा रहेकाले उपभोक्ताहरू, केही मात्रामा भएपनि सस्तोमा स्थानीय यातायात सेवा उपभोग गर्ने स्थितिमा रहेका छन् । माथि उल्लेख गरिएका स्थानीय यातायात सेवाप्रदायकबीच, केही मात्रामा भए तापनि, कम मूल्यमा यातायात सेवा उपलब्ध गराउने प्रतिस्पर्धा रहेको देखिन्छ । उपभोक्ताहरूको लागि यो सुखद स्थिति हो।     

उपभोक्ताहरूले सस्तोमा वस्तु एवं सेवा प्राप्त गर्न सक्ने वातावरण सृजना गर्न सरकारले बजारहरूलाई प्रतिस्पर्धापूर्ण तुल्याउनुपर्छ । बजारमा एकाधिकार, द्वयाधिकार वा अल्पाधिकारको स्थिति रहन दिनुहुन्न । यस्तो भएमा वा बजार प्रतिस्पर्धापूर्ण भएमा मात्र आपूर्तिकर्ता (उत्पादक)हरू अनावश्यक लागत नियन्त्रण गरेर सस्तोमा वस्तु तथा सेवा उपलब्ध गराउन बाध्य हुन्छन् । कम मुनाफा लिएर वस्तु एवं सेवा उपलब्ध गराउन बाध्य हुन्छन्।   

उपभोक्ताहरूले सस्तोमा वस्तु एवं सेवा पाउनका लागि उनीहरूले खरीद गर्ने बजार प्रतिस्पर्धापूर्ण हुन आवश्यक छ । सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउन बजार प्रतिस्पर्धापूर्ण हुनुपर्छ भन्ने यथार्थलाई उपभोक्ता हित संरक्ष्Fणको पूर्वशर्तको रूपमा लिनुपर्छ।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, June 26, 2026

https://www.eprateekdaily.com/detail/99481