राष्ट्रिय राजनीति : आर्थिक विकासको प्रमुख बाधक
नेपालमा
आर्थिक विकास नहुनुका अनेक कारण छन्। राष्ट्रिय राजनीति, महँगो ऊर्जा (पेट्रोलियम पदार्थ), भौगोलिक
प्रतिकूलता (पहाडी भूभागको अधिकता), भूपरिवेष्टित
अवस्थिति, उच्च प्रविधिको अभाव, जनशक्ति पलायनजस्ता समस्याहरूलाई आर्थिक विकासको बाधकको रूपमा लिन
सकिन्छ। यी समस्याहरूले गर्दा नेपालको आर्थिक विकासको गति अति नै मन्द हुन पुगेको
छ। तर यी विभिन्न समस्याहरूमध्ये राष्ट्रिय राजनीति प्रमुख समस्याको रूपमा देखिन
थालेको छ। नेपालको राजनीति नेपालको आर्थिक विकासको अवरोधकको रूपमा देखिन थालेको छ।
नेपालको राजनीति अर्थात् हाम्रा राजनीतिक दल र तिनका नेताहरूमा रहेको सत्तालिप्सा
प्रमुख समस्याको रूपमा देखिन थालेको छ। माछा पानीविना बाँच्न नसकेझैं हाम्रा
राजनीतिक दलहरू सत्ताविना एकछिन पनि स्थिर भएर बस्न नसक्ने स्थितिमा रहेको देखिएको
छ। नेपाली काङ्ग्रेस (नेका), नेपाल
कम्युनिस्ट पार्टी (एमाले),
अनेक सानासाना कम्युनिस्ट पार्टीहरू, क्षेत्रीय दलहरू (मधेसमा रहेका अनेक दलहरू) जस्ता दलहरूलाई सर्वकालीन
शक्ति र सत्ता चाहिएको छ, जसरी भएपनि चाहिएको छ। निर्वाचनद्वारा नभए, सङ्घर्ष र द्वन्द्व गरेर भएपनि चाहिएको छ। राष्ट्रिय स्वतन्त्र
पार्टी (रास्वपा) को भने अझै परीक्षण हुन बाँकी छ। नेपालका राजनीतिक दलहरूको व्यवहार र
संस्कार तथा हाम्रो सामाजिक अवस्था हेर्दा रास्वपाको स्थिति पनि भोलिका दिनमा अन्य
दलहरूजस्तै हुने अनुमान गर्न सकिन्छ। यो दल पनि शक्ति र सत्ताको दौडमा सक्रिय हुने
अनुमान गर्न सकिन्छ।
नेपालका
सबै राजनीतिक दललाई शक्ति चाहिएको छ, सत्ता
चाहिएको छ, पद चाहिएको छ, कुर्सी चाहिएको छ। जसरी भएपनि आफ्नो दलको सरकार हुनुपर्ने स्थिति
चाहिएको छ। केवल आफ्नो दलको सरकार हुन नसक्ने स्थिति भएमा अन्य दलहरूसँग मिलेर
भएपनि सरकारमा बस्नुपरेको छ।
कुनै
पनि दल प्रतिपक्ष भएर बस्न तयार छैन। कुनै एक दललाई विश्वास गरेर पाँच वर्ष सरकार
चलाउन जनताले मत दिए तापनि अन्य दलहरूको लागि त्यो अपच हुन पुगेको छ। जनताले
चुनावद्वारा पराजित गरे पनि ती दलहरूलाई जसरी पनि शक्तिमा पुग्नुपरेको छ। आफ्नो
दलको सरकार निर्माण गर्नुपरेको छ। राजनीतिक दलहरूमा प्रतिपक्ष भएर रहन सक्ने
संस्कृतिको विकास नै भएन। त्याग–भाव कहिले पनि जाग्रत भएन। राष्ट्रको आर्थिक
विकासका लागि सरकारमा रहेको दलसँग मिलेर सहकार्य गर्ने संस्कृतिको विकास नै भएन।
एमाले
र मधेसवादी दलहरूसहित अन्य दलहरूले विगत निर्वाचन (२०८२ साल) मा ठूलो एवं ऐतिहासिक पराजय भोगे तापनि यी दल पराजित भएको मान्न तयार
छैनन्। यी दलहरूलाई शक्ति चाहिएको छ। सत्ता चाहिएको छ। सत्ताको प्यासले छटपटिएको
कारण ठूलो पराजय भोगेका दलहरू दशैं, तिहार, छठ जस्ता महत्त्वपूर्ण चाड सकिना साथ रास्वपा–सरकारको विरुद्ध सडकमा
आउने घोषणा गरेका छन्। ठूलो सङ्घर्ष गर्ने घोषणा गरेका छन्। यसरी घोषणा गर्ने यी
दलहरू अन्य समयमा काटाकाटको स्थितिमा रहे तापनि शक्ति र सत्ता प्राप्तिका लागि
गरिने सङ्घर्षका लागि एकजुट हुन पुगेका छन्। पुराना मतभेदहरू बिर्सिदिने गरेका छन्।
छेपारोजस्तो रङ्ग परिवर्तन गरेका छन्।
२०४७
सालमा भएको राजनीतिक परिवर्तनपछि केही राजनीतिक दलहरूले सत्ताको स्वाद चाख्ने
राम्रो अवसर पाए। त्यो अवसरले यी राजनीतिक दलहरूलाई सर्वकालीन सत्ता चाहिने
मनस्थितिमा पुर्यायो। एमाले र नेका, दुवै
दल सत्ताको लागि निरन्तर सङ्घर्ष गर्ने स्थितिमा पुगे। तोडफोड गरेर हुन्छ, सडकको छेउमा रहेको बार भत्क्याएर हुन्छ, जसरी पनि सरकारमा पुग्ने मनस्थितिमा पुगे।
दुवै
प्रमुख दल नेका र एमाले प्रतिपक्षी भएर बस्न कहिले तयार भएनन्। सत्तामा पुग्न यी
दलहरूले दाउपेच खेले, निरन्तर सङ्घर्ष गरे। नेपालको राजनीतिलाई
सधैं अस्थिर पारे। सत्तामा पुग्ने दौडको पछाडि लागेर यी दुवै दलले नेपालको आर्थिक
विकासलाई महत्त्व नै दिएनन्। देशमा शान्ति कायम गर्ने प्रयास नै गरेनन्।
२०५२
सालमा नेकपा माओवादीको उत्थान भयो। माओवादी दलको उत्पत्ति पनि सत्ता र शक्ति
प्राप्तिको लागि नै भएको थियो। केही स्वार्थी नेताहरूले शक्ति र सत्ता प्राप्त
गर्न माओवादी दलको स्थापना गरेका थिए। लाखौं सोझा युवायुवतीहरूलाई आफ्नो स्वार्थका
लागि गरिने सङ्घर्षमा उपयोग गरेका थिए। लडाकू बनाएका थिए। सत्ता र शक्ति
प्राप्तिका लागि केही स्वार्थी नेताहरूले चलाएका सङ्घर्षले, माओवादी सशस्त्र सङ्घर्षले, १७
हजार नेपालीको ज्यान लियो। त्यति मात्र होइन, आर्थिक
विकासका अनेक संरचनाहरू तहसनहस पार्यो। नेपालको आर्थिक विकासको गतिलाई सुस्त मात्र
पारेन, ३०–४० वर्ष पछि धकेलिदियो।
२०४७
सालपछिको नेपालको राजनीतिक स्थितिको सिंहFवलोकन
गर्ने हो भने नेपालको राजनीति जहिले पनि अस्थिर रहेको देखिन्छ। कुनै एक दल वा केही
दलहरू मिलेर बनेको सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको देखिन्छ। नेपालको
राजनीतिलाई यी दलहरूले जहिले पनि अस्थिर नै गरेका हुन्। नेपालको राजनीति जहिले पनि
अस्थिर भएकोले नेपालको आर्थिक विकासको गति मन्द हुन पुगेको हो। युवाहरूमा
नैराश्यता उत्पन्न भएको हो। र त्यो नैराश्यताले युवाहरूलाई विदेश जान बाध्य पारेको
हो।
नेपालको राष्ट्रिय राजनीतिले, राजनीतिक दल र नेताहरूमा भएको सत्तालिप्साले, नेपालको आर्थिक विकास हुन दिइरहेको छैन। यो कुरा हामीले राम्ररी मनन गर्न आवश्यक छ।
मौखिकरूपमा
नेपालका राजनीतिक दलहरूले र ती दलका नेताहरूले, हाम्रो
प्रमुख उद्देश्य राष्ट्रको विकास गर्नु हो भने तापनि विकासप्रति यी नेताहरूको रुचि
नै छैन, किनभने यी नेताहरूमा त्याग–भाव नै छैन। यी नेताहरूको व्यवहारले त्यही नै
देखाएको छ।
राष्ट्रको
आर्थिक विकासको लागि नेताहरूमा त्याग–भाव हुन आवश्यक छ। कुनै पनि देशको आर्थिक
विकासको लागि यो एउटा पूर्वशर्त हो। सत्ता सङ्घर्षले कुनै पनि राष्ट्रको आर्थिक
विकास हुन सक्दैन।
विकासप्रति
कुनै रुचि नभएको र यिनीहरूको अर्जुनदृष्टि केवल शक्ति र सत्तामा रहेको हुनाले नै
जनताले विगतको चुनाव (२०८२) द्वारा यी राजनीतिक दल र तिनका नेताहरूलाई नयाँ
व्यक्तिहरूको चयन गरेर विस्थापित गर्न खोजेको हो। विस्थापित नै गरेको हो। तर यी
पुराना नेताहरू त्यो यथार्थ मान्न तयार छैनन्। यी नेताहरूलाई अनेक किसिमका आन्दोलन
गरेर भएपनि, आर्थिक विकासको गतिलाई अवरुद्ध पारेर
भएपनि, त्यति मात्र होइन,
राष्ट्रलाई बर्बाद पारेर भएपनि सत्ता र
शक्तिमा पुग्नुपरेको छ।
नेका, एमाले, मधेसी दलहरूलगायत सबै दलले रास्वपालाई
तथा यो दलको सरकारलाई पाँच वर्षसम्म शान्तिपूर्वक काम गर्न दिनुपर्छ। देशमा शान्ति
कायम रहे मात्र रास्वपा मात्र होइन, कुनै
पनि दलले आर्थिक विकासको गतिलाई तीव्र पार्न सक्छ। आफ्नो ध्यान केवल आर्थिक
विकासमा केन्द्रित गर्न सक्छ। तसर्थ यो आन्दोलनको समय होइन, देशमा शान्ति कायम गर्ने समय हो। यो तथ्य नेका, एमालेलगायत अन्य दलहरूले राम्ररी बुझ्न आवश्यक छ।
रास्वपा
र यो दलका नेताहरूले आफ्नो ध्यान केवल सत्ता र शक्तिमा केन्द्रित गरेमा भोलिका
दिनमा जनताले यो दललाई पनि चुनावको माध्यमद्वारा शक्ति र सत्ताबाट च्युत गर्नेछ।
यो दललाई पनि खराब कार्यको लागि दण्डित (पराजित) गर्नेछ।
अब
हामीले राजनीतिक दल तथा ती दलका नेताहरूलाई सङ्घर्ष र द्वन्द्वद्वारा होइन, चुनावको माध्यमद्वारा शक्ति र सत्ताबाट च्युत गर्नुपर्छ।
हाम्रो
देशले अब कुनै पनि किसिमको सङ्घर्ष र द्वन्द्व थेग्न सक्तैन। अब हामीलाई शान्ति
चाहिएको छ। सङ्घर्ष चाहिएको छैन। हामीले विगतमा धेरै सङ्घर्ष गर्यौं। परिणाम के
भयो? हामीले अनेक सङ्घर्षद्वारा राष्ट्रको
आर्थिक विकासको गतिलाई मन्द पार्यौं। युवाहरूलाई चरम निराशाको स्थितिमा पुर्यायौं।
आमाबुबाको काखमा खेल्ने स्थितिमा रहेका नवयुवाहरूलाई पनि खाडीको तातो हावा खान
पुर्यायौं।
बक्सामा बन्द भएर, मुर्दा बनेर हजारौं नेपाली नेपाल फर्केको हामीले टुलुटुलु हेर्यौं। राष्ट्रको आर्थिक स्थिति जर्जर पार्यौं। देशलाई विप्रेषणमा चल्ने स्थितिमा पुर्यायौं।
भो अब
अति भयो। हामीलाई कुनै पनि बहानामा हुने कुनै पनि किसिमको सङ्घर्ष चाहिएको छैन।
द्वन्द्व चाहिएको छैन। हामीलाई केवल शान्ति चाहिएको छ। स्थिरता चाहिएको छ।
स्वार्थी नेताहरूको कपटी उद्घोषमा लागेर सडकमा जान, सङ्घर्ष गर्न अब हामीले बन्द गर्नुपर्छ।
यो
युग आर्थिक विकासको युग हो। कृत्रिम बुद्धिमता (एआई )को युग हो। यो युगको उपयोग अब
हामीले राष्ट्रको आर्थिक विकासको लागि गर्नुपर्छ। अब सङ्घर्षलाई बिदा दिनुपर्छ।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: शुक्रबार, असोज २३, २०८३ (Friday, October 09, 2026)
https://www.eprateekdaily.com/detail/100792

No comments:
Post a Comment