नेपालमा आर्थिक जागरणको महत्व एवं स्थिति
नेपालमा अहिलेसम्म आर्थिक जागरण
आउन सकेको छैन। नेपालमा आर्थिक जागरण नआउनुका
विभिन्न कारणहरु छन्। ती विभिन्न कारणहरु मध्ये एक तर महत्वपूर्ण कारण हो
सरकारमाथिको जनताको अति निर्भरता। सरकार माथि जनताको अति निर्भरताले गर्दा विश्वका
अन्य विकासशील मुलुकहरुको तुलनामा नेपालको आर्थिक विकास कछुबाको गतिमा अगाडि
बढिरहेको छ। तर केही क्षेत्रहरु, जसमा सरकारभन्दा बढी निजी क्षेत्रहरु सक्रिय भएका
छन्, जस्तै बैंक, वितीय संस्था, पर्यटन आदिको विकास भने केहि हदसम्म सन्तोषजनक
किसिमबाट भएको पाइन्छ। त्यसकारण आफ्नो गाउँ वा शरहरको आर्थिक विकास गर्दै समग्र
राष्ट्रको विकास गर्न सरकारको मुख ताक्ने परम्परागत धारणाको अन्त्य नगरी हुँदैन।
तर प्रश्न उठ्न सक्छ कि गाउँ वा शहरहरूले सरकारको सहयोगबिना कसरी विकास गर्न सक्छन्?
त्यसको उत्तर के हो भने प्रत्येक गाउँ वा शहरले आफूलाई एक संगठित बजारको रुपमा
विकास गर्ने लक्ष्य लिएर अगाडि बढ्नु पर्छ र आफ्नो शहर बा गाउँको विकासका लागि
योजनाहरुको निर्माण गर्नुका साथै तिनको कार्यान्वयन गर्ने आवश्यक रणनीतिहरु तयार
गर्नु पर्दछ, र यसका लागि स्थानीय व्यक्तिहरु नै सक्रिय हुनु पर्दछ। यस्तो गरेमा सरकार पनि त्यस किसिमका योजनाहरु
लिएर अगाडि बढ्ने गाउँ वा शहरलाई सहयोग गर्न बाध्य हुन्छ। आफ्नो गाउँ वा शहरको
विकासका लागि स्थानीय व्यक्तिहरु नै सक्रिय हुनुपर्छ र सरकारमाथिको निर्भरता कम
पार्नु पर्छ भन्ने कुरा सुन्दा, यो कुरा आदर्श जस्तो लाग्न सक्छ तर आदर्श जस्तो
लागेता पनि यथार्थ भने यही नै हो। विश्वका विकसित राष्ट्रहरुको आर्थिक विकासको
ढाँचा हेर्ने हो भने पनि यस कुराको पुष्टि हुन्छ। विकसित राष्ट्रहरुले आफ्ना गाउँ,
शहर, राज्य आदिलाई एउटा संगठित बजार मानेर समग्र राष्ट्रको आर्थिक विकास गरेका
छन्।
विकासशील
राष्ट्रहरुको परिप्रेक्ष्यमा भन्ने हो भने त आर्थिक विकासका लागि सरकारमाथिको
निर्भरता हटाउनु त झनै आवश्यक यस हुनाले पनि छ कि विकासशील राष्ट्रका सराकारहरु वा
भनौ सरकारमा बस्ने व्यक्तिहरुको चिन्ता र चिन्तन देशको विकास भन्दा पनि आफूलाई
शक्तिशाली कसरी तुल्याउनेमा बढी केन्द्रित हुन्छ र देशको विकास उनीहरुको लागि
दोस्रो प्राथमिकताको विषय बन्न पुग्छ। सत्तमा पुगेर त्यहाँ दीर्घकालसम्म कसरी रही
रहेने उपायहरु सोंच्नमा नै उनीहरुको बौद्धिकता र सृजनशील समय खेर जान्छ। हुनत
यस्तो समस्या विकसित राष्ट्रहरुमा नदेखिने होइन, देखिन्छ तर विकसित राष्ट्रहरुका
कानूनी व्यवस्था र कानूनको पालना कडाइका साथ गर्ने परिपाटीले गर्दा सरकारका बस्ने
व्यक्तिहरु रेल केवल पटरीमा चल्न बाध्य हुनु परेझै देशको विकास कार्यमा केन्द्रित
हुन बाध्य हुन पुग्छन। विकसित राष्ट्रहरुमा आवश्यक सूचना एवं जानकारीहरु आम जनताले
सजिलैसँग प्राप्त गर्छ र त्यसले गर्दा पनि उनीहरुलाई योग्य जनप्रतिनिधिको छनौट
गर्न सजिलो मात्र हुँदैन साथै उनीहरुले स्थानीय विकास कार्यका लागि
जनप्रतिनिधिहरुलाई जिम्मेबार पनि बनाउन सक्छन।
नेपालमा
आर्थिक जागरणको लहर नआउनुको अर्को कारण हो आम जनताले उद्यमी एवं व्यवसायीलाई
हेर्ने दृष्टिकोण। नेपालमा अहिले पनि वहुसंख्यक जनताले उद्यमी एवं व्यवसायीलाई
मुनाफामा मात्र केन्द्रित रहने व्यक्तिको रुपमा अनुभूत गर्छन। केही उद्यमी एवं
व्यवसायीहरुले अधिक मुनाफाका लागि गलत कार्य गरेको हुनाले वहुसंख्यक जनताले आम
उद्यमी एवं व्यवसायीहरु प्रति त्यस्तो धारणा बनाएका हुन सक्छन। तर केही उद्यमी एवं
व्यवसायीहरुले अधिक मुनाफाका लागि गलत कार्य गरे भन्दैमा सबै उद्यमी एवं
व्यवसायीहरुलाई एउटै दृष्टिले हेर्नु न्यायोचित हुँदैन। र यसरी एउटै दृष्टिले
हेर्नु नै परम्परागत दृष्टिकोण वा धारणा हो। यथार्थ भन्ने हो भने उद्यमी एवं
व्यवसायीहरु समाज र देशका आर्थीक सम्पत्ति हुन। देशलाई समृद्ध तुल्याउनमा उनीहरुको
भूमिका ज्यादै महत्वपूर्ण हुन्छ। उनीहरुको सक्रिय प्रयासबाट नै देशको आर्थिक विकास
हुन्छ। देशको समग्र आर्थिक विकासमा सरकारको भूमिका गौण हुन्छ, प्रमुख भूमिका
व्यापारीहरुको नै हुन्छ। सरकारले त केवल सहजकर्ताको भूमिका मात्र निर्वाह गरेको
हुन्छ। यस्तो परिपाटि खास गरी विकसित मुलुकहरुमा देख्न सकिन्छ।
व्यापारीहरुमा
मौरीको गुण वा विशेषता हुन्छ। मौरीले जसरी कुन फूलमा मह छ भन्ने कुरा सजिलै थाहा
पाउन सक्छ त्यसै गरी व्यापारीले सजिलैसँग व्यापारका अवसरहरु थाहा पाउन सक्छ र
मुनाफा आर्जन गर्छ। एउटा व्यापारीले व्यापारिक अवसरको पहिचान गर्दछ, त्यस अवसरको
प्रयोग गर्ने रणनीति तर्जुमा गर्दछ, विभिन्न क्रियाकलापहरु लाई संगठित गर्दछ, आइ पर्ने जोखिमको सामना गर्दछ र अनि व्यापार
संचालन गरेर मुनाफा आर्जन गर्दछ। करोडौमा व्यापार गर्ने कुनै ठूलो आर्थिक औकातको
व्यापारी होस वा सानो बजारमा तरकारी बिक्री गर्ने सामान्य व्यापारी होस दुवै थरिले
माथि उल्लेख गरिएका क्रियाकलापहरु गर्छन र आफ्नै आर्थिक स्तर अनुसार मुनाफा
प्राप्त गर्छन। त्यसकारण व्यापारी भनेको एक खास किसिमको बौद्धिक विशेषताले युक्त
एक विशेष व्यक्ति हो। र यस्तो विषेशता आम व्यक्तिमा हुँदैन। त्यसैले पनि भनिएको
होला ‘सक्षम व्यक्तिको लागि गार्हो भन्ने हुँदैन, व्यापारीको लागि टाढा भन्ने
हुँदैन।’
जब कुनै
व्यापारीले व्यापार संचालन गर्दछ, यदि सानो आकारमा संचालन गरेको छ भने, उसले आफूले
एक्लैले नै सम्पूर्ण कार्यहरु गर्दछ। तर जब व्यापारको आकार बढदै जान्छ उसले
एक्लैले सम्पूर्ण काम भ्याउन सक्तैन र सहयोगी राख्न बाध्य हुन्छ। यहाँ भन्न के
खोजिएको हो भने व्यापारीको व्यापारीक क्रियाकलापमा बिस्तार हुना साथ रोजगारीको
विस्तार हुन पुग्छ। त्यसकारण रोजगारी सृजनामा उद्योगी एवं व्यवसायीहरुको भूमिका
महत्वपूर्ण हुन्छ। साइकल मर्मत गर्ने एउटा सानो पसलको संचालक किन न होस उसले
रोजगारी सृजना गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
आफ्नो
गाउँ वा शहरको आर्थिक विकास द्रुततर गतिमा गर्ने हो भने त्यहाँका व्यापारीहरुलाई,
सर्व प्रथम त स्थानीय स्तरबाट त्यसपछि राष्ट्रिय स्तरबाट, सम्मान, प्रोत्साहन र
सुबिधा दिन आवश्यक छ। सम्मान, प्रोत्साहन र सुबिधा दिने तरिकाहरु अनेक किसिमका हुन
सक्छन। उदाहरणका लागि कुनै एक नगर पालिकाले आफ्नो नगर क्षेत्रमा सेवारत उद्योग एवं
व्यापारिक प्रतिष्ठानहरु मध्ये जसले सबैभन्दा बढि व्यक्तिहरुलाई रोजगारी दिएको छ
त्यसलाई कदरपत्र वा नागरिक सम्मान दिन सक्छ। सानो आर्थिक हैसियतमा व्यवसाय गर्ने
व्यापारीहरुलाई नगरपालिकाले नि:शुल्कमा जमिन उपल्ध गराएर खुला बजार संचालन गर्न
सहयोग गर्न सक्छ।
देशमा
आर्थिक जागरणको लहर ल्याउन हामीले उद्यमी एवं व्यापारीलाई हेर्ने परम्परागत
दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक छ। यसै गरी उद्यमी एवं व्यवसायीहरुलाई कुन
किसिमबाट सहयोग गर्न सकिन्छ त्यस तर्फ ध्यान दिन पनि त्यतिकै आवश्यक छ। हामीले
उद्यमी एवं व्यवसायीहरुलाई प्रोत्साहिग गर्न सक्यौ भने मात्र देशमा आर्थिक
क्रान्ति हुन्छ र नेपालबाट बाढी जस्तो समुन्द्रपार र खाडीका मुलुकहरुमा बगिरहेको
जन शक्तिलाई देशमै रोकेर नया नेपाल निर्माणमा उपयोग गर्न सकिन्छ। खाडीका मुलुकको
तातो हवा र अनेक किसिमका यातनाहरु बाट नेपालका होनहारहरुले विरान विदेशमा गर्नु
पर्ने मृत्यु बरणलाई रोक्न सकिन्छ। छोरा छोरी रोजगारीका लागि विदेशतिर लागे पछि
नेपाली आमा बाबुले भोग्नु पर्ने सन्तान बिछोडको पीडालाई कम पार्न सकिन्छ।
नेपालमा
आर्थिक जागरण ल्याउन अति आवश्यक छ। प्रत्येक व्यक्ति आफ्नो स्थानको आर्थिक विकासमा
जुट्न आवश्यक छ।
विश्वराज अधिकारी
Wednesday, July 1, 2026

No comments:
Post a Comment